Saturday, July 14, 2018

अर्थमन्त्री खतिवडाको शेयर लाइन

अधिकांश समय कर्मचारी भएर बिताएका डा. युवराज खतिवडा केन्द्रीय बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि गभर्नरसमेत बने । उनले सम्हालेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मात्र राजनीतिक पद थियो । अहिले प्रत्याशित र अप्रत्याशित वा अपेक्षित र अनपेक्षित रूपमा अर्थमन्त्रीको कार्यभार सम्हालेपछि केन्द्रीय बैङ्कको गभर्नर हुँदा शुरूमा जुन आलोचना खेपेका थिए, अहिले पनि त्यस्तै प्रकारको आलोचना खेपिरहेका छन् ।

अनुत्पादकको अभिव्यक्ति

निरन्तर घटिरहेको शेयरबजार अझ घट्नुमा घरजग्गा, शेयर, अटोमोबाइल र उपभोगमा लगानी हुँदाभनिदिएको अभिव्यक्तिमा शेयर पनि परेकाले यसलाई अनुत्पादक भनिएको भनेर आलोचना भयो । अभिव्यक्तिमा परेको वाक्य वा वाक्यांशले समग्रताको प्रतिनिधित्व गर्दैन, त्यसका लागि सिङ्गो वाक्य वा परिच्छेदको व्याख्या र विश्लेषण गर्नुपर्छ । वाक्यांशमा आएको शेयर प्रासङ्गिक कथन मात्र हो । समग्रतामा राखेर हेर्दा भने यसको अन्तर्य पूँजी वृद्धि, कर्जा प्रवाह, निक्षेप सङ्कलन, विप्रेषण र लगानीसम्म गएर टुङ्गिन्छ । उपलब्ध आन्तरिक स्रोत परिचालन गर्दा लक्ष्य पूरा हुन नसकेमा अन्तरराष्ट्रिय बजारबाट पनि पूँजी प्रवेश गराएर यस्तो समस्या समाधान गर्न सकिने तर, यसरी आएको स्रोत (पूँजी) माथि उल्लिखित क्षेत्रमा बढी लगानी भएमा त्यसको कुनै अर्थ नहुने तर्फ गरेको खबरदारीलाई शेयर र शेयरबजारप्रति नकारात्मक टिप्पणी गरेको भन्दै अरण्यरोदन गरेको देखिन्छ । उनले प्राथमिकतामा राखिएको उत्पादनमूलक क्षेत्रमा लगानी गर्न कर्जाको आकार बढाउने र त्यसको गुणात्मक पक्षलाई ध्यान दिएर समाधान गर्न सकिनेउपाय पनि सुझाएका छन् । अर्थ मन्त्रालयले समग्र अर्थतन्त्रको कुरालाई हेरेर उपलब्ध सीमित साधन आय र रोजगारी दिने सबैभन्दा उत्पादक क्षेत्रमा लगाउनुपर्छभनेका छन् ।

शेयरबजार र पूँजीबजार

शेयरबजारप्रतिको धारणा सम्बन्धमा थप स्पष्ट पार्दै शेयरबजारलाई पूँजीबजारका रूपमा हेरेको र पूँजीबजारबाट ऋणपत्र (डिबेञ्चर) र शेयर (इक्विटी) मार्फत पूँजी परिचालन हुने भएकाले पूँजीबजार (इक्विटी मार्केट) लाई अनुत्पादक भनिएको भनी गरिएको प्रचार बजारलाई प्रभावित पार्ने प्रयास मात्र हुन्भनेका छन् । उनले लामो समय वित्तीय प्रणालीमा काम गरेकाले विषय संवेदशील भएकोसमेत बताएका छन् । शेयरबजार राष्ट्रिय पूँजी निर्माणको प्रक्रिया भएकाले यसमा आमनागरिक सहभागी भएर शेयर स्वामित्व लिँदै पूँजीको फैलावट केही व्यक्ति, क्षेत्र, संस्थाहरूबाट विस्तारित होस् भन्ने चाहेकोबताएका छन् । यसो हुनुलाई पूँजीबजारलाई अझ सघन, व्यवस्थित, सुदृढ र पारदर्शी बनाउने काम सरकारको भएकाले केही विषय बजेटमा समेत उल्लेख गरेका’  छन् । यसको शुरुआतका रूपमा दलाल कमिशन (कारोबार) मा मूल्य अभिवृद्धि कर (मुअक) को समस्या समाधान गरेको र दलाललाई सामान्य करको दायरा (ल्याउनुपर्ने वित्तीय दायरा) मा ल्याएर पूँजीबजारमा सधैं बल्झिरहने विषय सदाका लागि समाप्त पारिदिएका छन् । शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर गणना विधिमा कर प्रशासनले गरेको पत्राचारको सन्दर्भमा अन्योल उत्पन्न भएकाले छिटै टुङ्गो लगाउने बताएका छन् ।

एक प्रसङ्गमा पूँजीबजारकै विभिन्न पाटोका रूपमा रहेका भेञ्चर क्यापिटल, म्युचुअल फण्ड र हेज फण्ड मार्फत पूँजी परिचालन गरेर स्व-लगानी बढाउन खोजेको तथा शेयरबजारका सम्पूर्ण द्विविधा (करसमेत) लाई हटाएर सुदृढ गर्न चाहेको बेला बजारलाई प्रभावित पारेर एक/दुई व्यक्तिले 'हिट एण्ड रन' को शैलीमा लाभ लिन नसक्नेबताएका छन् । लगानीकर्तालाई सुसूचित नभई र कम्पनीबारे जानकारी नलिई शेयर कारोबार नगर्नर अर्थमन्त्रीले शेयरको मूल्य बढ्छ नभन्ने, शेयर सूचक घट्नु र बढ्नुलाई सफलतासँग नजोड्नेबताएका छन् । शेयर किनबेच गर्दा कम्पनीको प्रोफाइल, नाफा, व्यवसाय विस्तार कस्तो छ भन्ने नबुझीकन लगानी गर्ने लगानीकर्ताले नाफा होउन्जेल आफूले लिने अनि घाटा भएपछि अर्थमन्त्री र नियमकलाई गाली गर्ने प्रवृत्तिप्रति आपत्ति प्रकट गरेका छन् । शेयरमा गरिने लगानी जोखीममा खेल्ने हो र सधैं मूल्य बढिरहन्छ भनेर गरिने परिकल्पना गलत हो । शेयरमा लगानी गरेको रकम अनुत्पादक हो । यो काम लाग्दैन । यसले मुलुकको समृद्धि गर्दैन भनेर पूँजी परिचानमार्फत राष्ट्रिय पूँजी निर्माण गर्न चाहने अर्थमन्त्रीले यसो भन्ने कुरै हुन्नउनले भनेका छन् ।

श्वेतपत्रमा पूँजीबजार

नेपालको पूँजीबजार सतही रहनुका साथै दायरा सङ्कुचित छ । अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजीबजार सशक्त माध्यम भए पनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित छ । पूँजीबजारको महत्वपूर्ण अङ्ग ऋण बजारको भने विकास गर्न सकिएको छैन । समग्र पूँजीबजार मार्फत ठूलो परिमाणको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ । (श्वेतपत्र ३२) पूँजीबजारको कारोबारको मूल्य दर्शाउने नेप्से सूचक अस्थिर छ । संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्कासन र आपूर्तिमा भएको वृद्धिले शेयर मूल्य प्रभावित बहेको छ । पूँजीबजारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचकमा उच्चदरले उतारचढाव आउने गरेको छ । (ऐऐ ३३) वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय साधनलाई उत्पादनमुखी बनाउने र सेवाको गुणस्तर अभिवृद्धि गर्नेतर्फ जोड दिइनेछ । समग्र वित्तीय नीति मार्फत मुद्रा तथा पूँजीबजारको स्थायित्व र समावेशी विकासमा जोड दिइनेछ । (ऐऐ ८८)

नीति र कार्यक्रममा पूँजीबजार

आन्तरिक स्रोत परिचालनमा वृद्धि गर्ने (नीति र कार्यक्रम २८) उल्लेख गरेर पूँजीबजारको प्राथमिक पक्षलाई सम्बोधन गर्न खोजिएको छ । वित्तीय क्षेत्रको लगानीका प्रमुख अंश पूँजी निर्माण र उत्पादन वृद्धिमा प्रवाहित गरिने, पूँजीबजारको विस्तार गरी आन्तरिक लगानी परिचालनलाई गतिशील बनाइने, विभिन्न सङ्घसंस्था र कोषहरूमा निष्क्रिय रहेको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन (उही २८) गरिनेछ । वित्तीय क्षेत्रका नियमकहरूको क्षमता अभिववृद्धि गरी नियमन र सुपरिवेक्षण प्रभावकारी बनाइने र वित्तीय पहुँच सुनिश्चित गरिने उल्लेख छ । (ऐऐ २९)

बजेट र आर्थिक विधेयकमा पूँजीबजार

वित्तीय सेवामा सबैको सहज पहुँच वृद्धि गरिने र वित्तीय क्षेत्रमा नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्न नेपाल राष्ट्र बैङ्क, बीमा र धितोपत्र ऐनमा समयानुकूल संशोधन गरिनेछ (बजेट वक्तव्य १९५) । १ अर्ब वा सोभन्दा बढी पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पूँजीबजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ । प्राइभेट इक्विटी, भेञ्चर र हेज फण्ड लगायत नयाँ संस्थालाई पूँजीबजारमा प्रवेश गराइनेछ । (ऐऐ १९९) । धितोपत्र दलाल सेवामा मूअक नलाग्ने स्पष्ट पारिएको छ । (आर्थिक विधेयक २०७५ दफा २२)

अन्त्यमा, माथिका विभिन्न अनुच्छेदमा गरिएको वर्णनलाई आधार मान्ने हो भने शेयर बजार घट्नुमा अर्थमन्त्री होइन, लगानीकर्ताको मनोविज्ञान दोषी छ । शेयरबजारमा अहिले देखिएको परिस्थितिलाई हाइपोकोण्ड्रियाभन्न मिल्छ । शरीरको कुनै अङ्गमा रोगको कल्पना, आफ्नो स्वास्थ्यको सम्बन्धमा निरन्तर दुश्चिन्ता, अटुट व्यग्रता र अतिचिन्ताको स्थितिलाई हाइपोकोण्ड्रिया भनिन्छ । सूचीकृत कम्पनीको स्थिति, व्यावसायिक अवसर, नाफामा वृद्धि, व्यवसायिक विस्तार सरल रेखीय ढङ्गमा अगाडि बढिरहेको छ भने शेयर कारोबारमा नवीनतम प्रविधिको अवलम्बन पनि दिनहुँ बढिरहेको छ । निकट भविष्यमै स्वचालित विद्युतीय कारोबार प्रणालीको शुरुआत, रियल टाइम सेटलमेण्ट, दलालमार्फत मार्जिन कारोबार सेवा शुरू हुन लागेको बेला नियामक र तालुकदार मन्त्रालयप्रति बेमौसमी राग अलाप्नुको कुनै अर्थ छैन । बजेटमा धितोपत्र कानून संशोधन र नियमक निकायको क्षमता अभिवृद्धिको प्रसङ्ग आएको हुँदा अविलम्ब यो कार्य शुरू हुनु जरुरी छ । तत्काल भने बाँडफाँट निर्देशिका  संशोधन गरेर समानुपातिक बाँडफाँट प्रणाली अवलम्बन गर्न अत्यन्त जरुरी छ ।

अभियान दैनिकमा २५ आषाढ २०७५ 
http://www.abhiyan.com.np/?p=258146


No comments:

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...