Friday, April 24, 2026

कम्पनी कानुनको उद्भव र विकास

 वैदिककालमा कि बेलायतबाट ?

कम्पनी भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा ‘कम्पानियो’ भन्नाले ‘साथी’ वा ‘सहयात्री’ भन्ने बुझाउँछ । ‘कम’ को अर्थ ‘सङ्गै’ र ‘प्यानिस’ को अर्थ ‘रोटी’ भएकाले यसको मौलिक अर्थ ‘सङ्गै रोटी खाने साथीको समूह’ भन्ने थियो । पछि यो शब्द व्यापारिक वा व्यवसायिक रूपमा उपयोग हुन थाल्यो । कम्पनी शब्दको पदवियोग गर्दा ‘कम’ भनेको ‘सँगै, संयुक्त’ र ‘पनि’ भनेको ‘साथी, समूह’ भन्ने बुझाउँछ । त्यसैले, कम्पनी भन्नाले सङ्गठितरूपमा कुनै उद्देश्य पूरा गर्न बनेको समूह वा संस्था जनाउँछ । हाल यसको मुख्य उपयोग व्यापारिक सङ्गठन लागि गरिन्छ । यसबाहेक यस शब्दको उपयोग ‘कसैको सङ्गत वा साथ’ को अर्थमा पनि हुन्छ । त्यस्तै, सैनिक क्षेत्रमा एकाइ जनाउन वा साङ्गीतिक तथा नाट्य समूहलाई इङ्गित गर्न पनि कम्पनी शब्द उपयोग गरिन्छ । वर्तमान समयमा कम्पनी व्यावसायिक सङ्गठनको सर्वव्यापी स्वरूप बनेको छ । विश्वव्यापी बनेको कम्पनी अवधारणको शुरुआत बेलायतबाट भएको हो भनेर सम्भवत: संसारभरका विश्वविद्यालयमा अध्ययन/अध्यापन गराइन्छ । कम्पनीको अवधारण बेलायतबाटै शुरु भएको हो त ? वैदिक काल वा वैदिक ग्रन्थमा यस्ता संगठनको कुनै अस्तित्व थिएन ? थियो भने कस्तो थियो ? यस आलेखमा कम्पनीको उद्भव र विकासबारे चर्चा गरिन्छ।

व्यवसायको शास्त्रीय चर्चा

व्यापार/व्यवसाय वैदिककालदेखि नै अस्तित्वमा थियो l पराशरस्मृतिमा ‘........वाणिज्यं वैश्यवृत्तिरुदाहृता’ अर्थात् चातुर्वर्णमध्येको एक वर्ण वैश्यले व्यापार गर्ने गरेर जीवनयापन गर्नुपर्छ भन्ने उल्लेख गरेका छन् l यसले कार्यविभाजन गरेर जीविकोपार्जनलाई सुनिश्चित गराएको देखिन्छ l मनुस्मृतिमा संभूय स्वानि कर्माणि कुर्वद्भिरिह मानवैः । अनेन विधियोगेन कर्तव्यांशप्रकल्पना ।। अर्थात निर्धारित विधिबाट सँगसँगै मिलेर कर्तव्य पूरा गर्दा प्रत्येकले जिम्मेवारीको हिस्सा निर्धारण गर्नुपर्छ । याज्ञवल्क्य स्मृतिमा संभूय वणिज पण्यमनर्वेणोपरुन्धताम् । विक्रीणतां वा विहितो दण्ड उत्तमसाहसः ll अर्थात् व्यापारीले मिलेमतोमा कुनै सामान (वस्तु) लुकाउने वा रोक्ने वा त्यसलाई मिलेर बेचेको खण्डमा यस्ता व्यापारीलाई उत्तमसाहस (कठोर) दण्ड दिनुपर्छ भनेका छन् l यसले वैदिककालमा व्यापारलाई नैतिकतासँग जोडेको देखिन्छ l वैदिककालमा स्वदेशी र विदेशी सामान बिक्री गर्दा लिन पाउने नाफाको दर निश्चित गरिएको पाइन्छ l याज्ञवल्क्य स्मृतिमै स्वदेशपण्ये तु शतं वणिग्गृह्णीत पञ्चकम् ।  दशकं पारदेश्ये तु यः सद्यः क्रयविक्रयी ॥ अर्थात स्वदेशी वस्तु (पण्य) मा पाँच र विदेशी वस्तु क्रयबिक्रय गर्दा दश १० प्रतिशत नाफा लिन पाइन्छ l याज्ञवल्क्य स्मृतिमै ‘संभूयसमुत्थानं नाम विवादपदमिदानीमभिधीयते समवायेन वणिजां लाभार्थ कर्म कुर्वताम् । लाभालाभौ यथाद्रव्यं यथा वा संविदा कृतौ अर्थात व्यक्तिहरू समान उद्देश्य लिई एकजुट भएर उन्नतिका लागि कार्य (व्यवसाय) गर्छन्, यसरी कार्य गर्दा त्यहाँ विवाद पनि आउन सक्छ । लाभ प्राप्त गर्नको लागि सहकार्य गर्छन् l व्यवसायमा लाभ र हानि उनीहरूको लगानी वा सम्झौतामा आधारित हुन्छ । यस अनुच्छेदमा उल्लेख भएका ‘सम्भूयसमुत्थान शब्द अहिलेको कम्पनी जस्तै थियो l नारद स्मृतिको एउटा सिङ्गो अध्यायमा चर्चा गरिएको सम्भूयसमुत्थान मा के के छ त्यसको बारेमा यसपछिक अनुच्छेदमा क्रमशः चर्चा गरिन्छ l  

कम्पनीका आधारभूत पक्ष

देवर्षि नारदकृत नारदस्मृतिको चौथो अध्यायमा ‘सम्भूयसमुत्थान, भन्ने प्रकरणl यस प्रकरणमा वर्तमान समयमा कम्पनी भनिने व्यावसायिक स्वरुपकै मिल्दोजुल्दो व्यवस्था छ l सामूहिकरुपमा मिलेर गरिने व्यवसायलाई ‘सम्भूयसमुत्थान’ भनिएको छ l व्यवसायिक ढाँचाको लागि दिएको नाम ‘सम्भूयसमुत्थान’ को पदवियोग गर्दा ‘सम्भूय’ को अर्थ ‘एकसाथ, संयुक्त भई’ र  ‘समुत्थान’ को अर्थ माथि उठ्नु, उन्नति गर्नु हुन्छ l वर्तमान समयमा पनि व्यवसाय सामूहिक र व्यक्तिगत दुवै प्रकारका हुन्छन् र यसको उद्देश्य उन्नति गर्नु नै हुन्छ l सामूहिकरुपमा गरिने व्यवसाय मूलतः कम्पनीमार्फत गरिन्छ l नारदले सामूहिकरुपमा गरिने व्यवसायको बारेमा वणिकप्रभृतयो यत्र कर्म सम्भूय कुर्वते । अर्थात व्यक्ति (व्यापारी) मिलेर संयुक्तरूपमा कार्य (व्यापार) गर्छन् । तत्सभूयसमुत्थानं व्यवहारपदं स्मृतम्॥ अर्थात यस्तो संयुक्तरूपमा गरिएको कार्य व्यवहारमा स्वीकार्य हुन्छ l व्यवहारमा स्वीकार्य हुन्छ भन्नुको अर्थ राज्यले मान्यता दिन्छ भनिएको हो l यस्तो सामूहिक कार्यको उद्देश्य ‘फलहेतोरुपायेन कर्म सम्भूय कुर्वताम् । अर्थात फल प्राप्तिको उद्देश्यले संयुक्तरूपमा कार्य गर्छन् l कसले कति प्रतिफल पाउँछन र कसरी बाँडफाँड हुन्छ भन्ने सन्दर्भमा आधारभूतः प्रक्षेपस्तेनोत्तिष्ठेयुरंशतः ॥ अर्थात जसको जति लगानी छ, सोही आधारमा प्रतिफल प्राप्त हुन्छ l यी श्लोक अहिलेको शेयरधनी, उद्देश्य र लाभांशसँग मेल खान्छ l व्यापारमा हुने हानिनोक्सानी वहन गर्ने सम्बन्धमा समोऽतिरिक्तो हीनो वा तत्रांशे यस्य यादृशः । क्षयव्ययौ तदा वृद्धिस्तत्र तस्य तथाविधाः ॥ अर्थात जसको अंश (हिस्सा) जति छ, हानि, खर्च र नाफा पनि त्यहीअनुसार हुन्छ । यो श्लोक आधुनिक कम्पनी कानुनले व्यवस्था गरेको सिमित दायित्वसँग मेल खान्छ l शेयर, शेयरधनी, उद्देश्य, प्रतिफल (लाभांश) र शेयरधनीको दायित्व कम्पनीका आधारभूत पक्ष हुन् l

सञ्चालक र दायित्व

सञ्चालक समितिको जिम्मेवारी के र कस्तो हुन्छ भन्ने सन्दर्भमा भाण्डपिण्डव्ययोद्धारभारसारान्ववेक्षणम् l कुर्युस्तेऽव्यभिचारेण समये स्वे व्यवस्थिताः ॥ अर्थात सञ्चालकले सम्पत्ति, आम्दानी र खर्च व्यवस्थापनसहित सञ्चालनका महत्त्वपूर्ण पक्षको निरीक्षण, निष्पक्ष एवम् व्यवस्थित ढङ्गले जिम्मेवार भएर निर्धारित समयमा गर्नुपर्छ। श्लोकमा प्रष्टरुपमा सञ्चालक उल्लेख नगरे पनि ‘कुर्युस्तेऽव्यभिचारेण’ अर्थात् ‘तिनीहरूले इमानदारीपूर्वक गर्नुपर्छ’ भन्ने वाक्यांशले मुख्य भई काम गर्ने व्यक्तिलाई जनाउँछ l यहाँ मुख्य भई काम गर्ने व्यक्ति अहिलेको कम्पनीमा जस्तै सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्ति अध्यक्ष, प्रबन्ध सञ्चालक हुन् भन्ने बुझ्नुपर्ने हुन्छ l ‘अन्ववेक्षणम्’ अर्थात् निरीक्षण भनेको कुनै पनि कार्यको पर्यवेक्षण वा नेतृत्व गर्नु हो यस्तो कार्य गर्ने व्यक्ति सञ्चालकबाहेक अरु हुँदैनन् l सञ्चालकको के दायित्व हुन्छ भन्ने सन्दर्भमा प्रमादान्नाशितं दाप्यः प्रतिषिद्धकृतं च यत् । असन्दिष्टश्च यत् कुर्य्यात् सर्वसम्भूयकारिभिः ॥ अर्थात व्यवस्थापकीय कार्य गर्ने साझेदारले लापरवाही गरि हानिनोक्सानी पुर्‍याएमा, निषेध गरिएको कार्य गरेमा वा निर्देशन बिना कुनै कार्य गरेमा क्षतिपूर्ति बेहोर्नुपर्छ l तर, यहाँ उल्लेखित शब्दावली ‘प्रमादात् नाशितं (लापरवाहीबाट हानि)’, ‘प्रतिषिद्धकृतं (निषेधित कार्य)’ र ‘असन्दिष्टश्च यत् कुर्य्यात् (निर्देशनबिना)’ साझेदारको सहमति वा निर्देशन बिना कुनै कार्य गर्छ र त्यसले हानिनोक्सानी निम्त्याउँछ भने त्यस्तो हानि व्यवस्थापकको रुपमा कार्य गर्ने साझेदारले बेहोर्नुपर्छ l अहिलेको कम्पनी कानुनमा सञ्चालकले शेयरधनीको सहमतिविना कुनै पनि कार्य गर्न सक्दैनन् l सञ्चालकले संधै शेयरधनीको हितमा शेयरधनीको प्रतिनिधि भएर काम गर्नुपर्छ l यसलाई न्यासी कर्तव्य (फ्युडुशियरी ड्युटी) भनिन्छ l

पुरस्कार र कर्मचारी

सञ्चालकलाई पुरस्कार दिने कुराको सन्दर्भमा देवतस्करराजभ्यो व्यसने समुपस्थिते । यस्तत्स्वशक्त्या रक्षेत तस्यांशो दशमः स्मृतः ॥ यो श्लोक सम्भुयसमुत्थान प्रकरणमा भए पनि यसको प्रत्यक्ष सम्बन्ध सम्भुयसमुत्थानसँग देखिन्न l यद्यपि यसको अर्थानुसार देवता (दैवी), चोर, शत्रुबाट आउने संकटको समयमा जो व्यक्तिले सम्पत्तिको रक्षा गर्छ, उसलाई त्यस्तो सम्पत्तिको १० भागको एक भाग दिनुपर्छ l यसलाई सम्भुयसमुत्थानसँग जोड्दा कम्पनीको सञ्चालकलाई पुरस्कार दिने कुरासँग मेल खान्छ l आधुनिक कम्पनी कानुनले पनि सञ्चालकलाई पुरस्कार र पसिना शेयर (स्वेट इक्विटी) दिने व्यवस्था छ l यस्तो प्रचलनको मूल स्रोत वैदिककालका ग्रन्थ हो l संस्थामा विभिन्न प्रकारका कर्मचारी आवश्यक पर्छ l कर्मचारी कति प्रकारका हुन्छन भन्ने सन्दर्भमा ऋत्विक् तु त्रिविधो दृष्टः पूर्वजुष्टः स्वयं कृतः । यदृच्छया च यः कुर्याद्यर्त्विज्यं प्रीतिपूर्वकम् ॥ अर्थात कर्मचारी/कामदार (ऋत्विक्) छनौट प्रकिया पूरा गरेर नियुक्त गरिएका (स्थायी), परामर्शदाता, स्वयमसेवक वा प्रशिक्षार्थी गरि तीन प्रकारका हुन्छन् l ‘ऋत्विक’ शब्दलाई सन्दर्भअनुसार कर्मचारी अर्थ लगाउँदा सान्दर्भिक हुन्छ l आधुनिक कर्मचारी प्रशासनमा पनि स्थायी, परामर्शदाता र प्रशिक्षार्थी कर्मचारी हुन्छन् l आधुनिक कर्मचारी प्रशासनको आधार पनि यही श्लोक हो भन्दा अत्युक्ति हुन्न l

कर र स्वामीविहिन सम्पत्ति  

कर नागरिकको सुरक्षा र राज्यको विकासका लागि नागरिकबाटै उठाइन्छ। सम्भुयसमुत्थानलाई देवर्षि नारदले संस्थाको रुपमा परिकल्पना गरेका छन् l यस्ता संस्थाले पनि राज्यलाई कर बुझाउनुपर्छ l करका सम्बन्धमा ‘शुल्कस्थानं वणिक् प्राप्तः शुल्कं दद्यात् यथोदितम्। न तदव्यतिहरेद्राजो बलिरेष प्रकीर्तितः अर्थात्, सम्भुयसमुत्थानले तोकिएको स्थानमा कर बुझाउनुपर्छ l राज्य र करदाता दुबैले यो नियम उल्लङ्घन गर्नुहुँदैन, किनकि कर अनिवार्य योगदान हो। करकै सन्दर्भमा शुल्कस्थानं परिहरन्नकाले क्रयविक्रयो । मिथ्योक्त्वा च परीमाणं दाप्योऽष्टगुणमत्ययम् अर्थात कर छल्ने, कालाबजारी गर्ने (अकाले क्रयविक्रयो), सामानको परिमाणबारे झुटो विवरण दिनेलाई आठ गुणा दण्ड लिनुपर्छ । कुनै साझेदारको मृत्यु भएमा उसको हिस्सा के हुन्छ भन्ने सन्दर्भमा दायादेऽसति बन्धुभ्यो जातिभ्यो वा समर्पयेत् । तदभावे सुगुप्तं तद्वारयेद्दशतीः समाः l अर्थात् सम्भुयसमुत्थानका कुनै हिस्सेदारको दायाद (उत्तराधिकारी) नभएमा बन्धु (दाजुभाई/नातेदार) वा जातिभ्यो (एउटै जाति वा समुदायका व्यक्ति) लाई दिनुपर्छ। कोही नभए राज्यले १० पुस्तासम्म सुरक्षित राख्नुपर्छ l यस्ता स्वामीविहीन सम्पत्ति व्यवस्थापनका सम्बन्धमा अस्वामिकमदायादं दशवर्षस्थितं ततः। राजा तदात्मसात् कुर्यादेवं धर्मो न हीयते॥ अर्थात् स्वामीविहीन सम्पत्ति १० वर्षसम्म कसैले दावी नगरे राज्यले आफ्नो बनाउँछ, यसो गर्दा धर्मनाश वा हानि हुँदैन । यो कुरा सम्पर्कमा नआएका साझेदार र संस्था खारेज भएमा बाँकी रहेको सम्पत्तिमा कोही दावी गर्न नआएमा कुनै पनि सम्पत्ति वेवारिस वा स्वामीविहिन नहुने सिद्धान्तसँग सम्बन्धित छ l कसैको दावी नपरेको सम्पत्ति राज्यको हुन्छ l यस कुरालाई स्थापित गर्ने आधार वैदिकदेखि अस्तित्वमा छ l

निचोडमा, माथिका विभिन्न अनुच्छेदमा गरिएको शास्त्रीय चर्चापछि कम्पनी स्वरुपको व्यवसायिक ढाँचाको प्रस्थान विन्दु वैदिककालमै भएको थियो भन्ने निष्कर्षमा पुगिन्छ l वैदिककालमा अहिलेको कम्पनी कानुनमा जस्तो धेरै कुरा भेटिन्न तर, विषय उठान भएको छ l विश्वविद्यालयको पाठ्यक्रममा कम्पनीको विकासक्रममा नारदस्मृतिको उल्लेख नहुनु र एकोहोरो कम्पनीको शुरुआत वेलायतबाट भएको हो भनेर अध्ययन/अध्यपान गराइनु ‘कस्तुरीले आफ्नो जिउबाट आएको सुगन्ध थाहा नपाएर अन्यत्र भौतारिंदै हिंड्नु जत्तिकै’ हो l वेलायतले गर्दै गरेन भन्ने हैन, त्यसमा केही परिस्कार गरेको कुरालाई अस्विकार गर्न पनि सकिन्न l बेलायतभन्दा अगाडि नै रोमन कालमा पनि कम्पनीको विकास भएको पाइन्छ l सिसेरोले त्यतिबेला शेयरको मूल्य अधिक थियो भनेर उल्लेख गरेका छन् । कम्पनी नभई शेयरको मूल्य हुने कुरै हुन्न l नेपालको विश्वविद्यालयले कम्पनी कानुनको पाठयक्रममा कम्पनीको प्रारम्भिक स्वरूपको रुपमा सम्भुयसमुत्थानलाई मान्यता दिंदै नारदस्मृतिको सम्भुयसमुत्थान प्रकरणलाई अविलम्ब समावेश गर्नु आवश्यक छ l


आर्थिक अभियान 


बुधबार, २० चैत, २०८१


https://abhiyandaily.com/news/448337/kmpnii-kaanuunko-udbhv-r-vikaas-vaidik-kaalmaa-ki-belaaytbaatt/

 

No comments:

शेयरबजारका शुरुआती दुई दशक

घोषणा धेरै , काम कम धितोपत्र कारोबार ऐन, २०४० जारी भएपछि नेपालमा शेयरबजारको विधिवत शुरुआत भएको मान्न सकिन्छ l यो ऐन आउनु अघि २०३३ सालमा सेक्...