व्यापारिक कि पुँजीगत लाभ
शेयर लगानीबाट मूलतः लाभांश प्राप्त
हुन्छ l शेयर तरल बिक्रीयोग्य सम्पत्ति हो l कुनै पनि कम्पनीमा शेयरधनी आउने-जाने
क्रम चलिरहन्छ l आउने-जाने क्रममा एकजनाले बिक्री गर्छ र अर्कोले किन्छ l स्टक एक्सचेञ्जमा
पब्लिक कम्पनीको शेयर सूचीकरण हुन्छ l एक्सचेञ्जमार्फत सहज आगमन र बहिर्गमन गर्न
सकिन्छ l कम्पनीको वित्तीय अवस्था र शेयरको उपलब्धताको आधारमा बजारले शेयर मूल्य
निर्धारण गर्छ l धारण गरेको मूल्यभन्दा बढी मूल्यमा शेयर बिक्री गर्दा नाफा वा
फाइदा हुन्छ l यस्तो फाइदालाई सामान्यतया: पुँजीगत लाभ भनिन्छ l तर, यस्तो नाफालाई
कर प्रयोजनका लागि कहिलेकाहीं पुँजीगत लाभको सट्टा व्यापारिक लाभको रूपमा गणना
गरिन्छ l सामान्य बुझाईअनुसार संस्थाले शेयर बिक्री गर्दा प्राप्त भएको लाभलाई व्यापारिक
लाभ र व्यक्तिको लागि पुँजीगत लाभ भन्ने छ l
तर, यो बुझाई संधै सही नहुन सक्छ l यस्तो कुरा पढेपछि पाठकको मनमा
स्वाभाविकरुपमा किन र कसरी सही हुन्न प्रश्न उठ्न सक्छ l यही
प्रश्नको जवाफ यस आलेखमा खोज्ने प्रयास गरिएको छ l
धनको वैदिक चर्चा
व्यापारिक लाभ र पुँजीगत लाभबारे
चर्चा गर्नु अघि धनको प्राप्तिका सम्बन्धमा केही चर्चा गर्नु सान्दर्भिक हुन्छ l धनको
उत्पत्ति वैदिककालदेखि नै हुँदै आएको देख्न सकिन्छ l ऋग्वेदमा ‘उत्तिष्ठ जाग्रत
प्राप्य वरान्निबोधत’ अर्थात् उठ, जाग, परिश्रम गर र उत्तम
ज्ञान तथा सम्पत्ति (धन) प्राप्त गर भनिएको छ
l ऋग्वेदमै ‘अधर्मेण हि यः वित्तं संजिघृक्षति दुष्कृतः। सन्तापं प्राप्नुयात्पापं
वित्तं तस्य विनश्यति॥‘ अर्थात अधर्मबाट कमाएको धन नष्ट हुन्छ भनिएको
छ ।
मनुस्मृतिअनुसार ‘सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो
जय:। प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ।। ’दाय (उत्तराधिकार वा अंश), लाभ (व्यवसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदी सेवाबाट प्राप्त
पारिश्रमिक), सतप्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ । व्यापारबाट
धनार्जन गर्ने कुरा देवर्षि नारदले पनि उल्लेख गरेका छन् l नारदले ‘वणिकप्रभृतयो
यत्र कर्म सम्भूय कुर्वते’ अर्थात व्यक्ति-व्यक्ति मिलेर व्यवसाय गर्छन् भनेका छन्
l यसको उद्देश्य ‘फलाहेतोरुपायन कर्म सम्भूय कुर्वताम्’ अर्थात् लाभ आर्जन हो ।
यस्तै किसिमको उल्लेख याज्ञवल्क्यले पनि गरेका छन् l
धनको महिमा र कर
धनको महत्वको बारेमा देवनागरी लिपिको
‘त’ वर्णको अन्तिम दुइवटा वर्णलाई एक डिकोमा राखी पढ्नुपर्छ भन्ने लोकोक्ति छ l त’
वर्णका अन्तिम दुई वर्ण भनेको ‘ध’ र ‘न’ हो l यसलाई एक डिकोमा लेख्दा ‘धन’ हुन्छ l
यसलाई अनुप्रास मिलाएर ‘त’ वर्णका अन्तिम दुइवटा वर्ण खाली, पढी दुई बन भाग्यशाली’ भन्ने गरिन्छ l
धनसम्बन्धी अर्को लोकोक्ति ‘कि धन ससुराली पाटोबाट, कि धन लामो बाटोबाट, कि धन
बाख्रापाठोबाट’ भन्ने पनि छ l जापानी भाषामा ‘काने गा नाइ तो, आतामा मो मावारानु’ अर्थात ‘धन नभएपछि
दिमागले पनि काम गर्दैन’ भन्ने उक्ति छ l मानिसको एउटा अभिष्ट नै धन आर्जन गर्नु हुन्छ l धन प्राप्तिका बाटो
अनेकौं छन् l धन व्यापारिक गतिविधि, कृषि, पशुपालनबाहेक पुँजीगत आयको रुपमा पनि
प्राप्त हुन्छ l
धन प्राप्त गरेपछि प्राप्तकर्ताले
राज्यलाई केही अंश तिर्नुपर्छ l यसलाई कर भनिछ l राज्यले कर लिने कुरा
वैदिककालदेखि नै थियो l त्यतिबेला अहिले जस्तो बाध्यकारी भने थिएन, स्वेच्छिकरुपमा
दिन सकिन्थ्यो l ऋग्वेदमा ‘बलिं हरन्ति सत्पतेः’ अर्थात राजा वा सभाका लागि जनताले
बलि (स्वेच्छिक कर) दिनुपर्छ भनिएको छ l शतपथ ब्राह्मणले ‘राजा प्रजायाः पालकः, बलिं गृह्णाति धर्मेण’ अर्थात राजा
प्रजाको पालनकर्ता हो, त्यसैले उनले धर्मपूर्वक कर उठाउँछ
भनेका छन् l वैदिककालदेखि नै अस्तित्वमा रहेको करप्रणाली आधुनिककालमा आइपुग्दा
अनिवार्य योगदान बनेको छ l धन प्राप्त हुने अनेकौं विधिमध्ये व्यापारिक लाभ र
पुँजीगत लाभ दुवैमा कर लाग्छ l शेयर पनि धनको एउटा स्वरूप हो l शेयरबाट लाभांश
प्राप्त हुन्छ l यही शेयर बिक्री गर्दा पुँजीगत लाभ हुन्छ l शेयर बिक्रीबाट हुने
लाभ पुँजीगत हो कि व्यापारिक भन्ने विषय बेला-बेलामा देखापर्ने गर्छ l त्यस्तै, शेयर
सम्पत्ति हो कि व्यापारिक वस्तु यसमा पनि बेला-बेलामा चर्चा चल्ने गर्छ l
व्यापारिक
लाभ र पुँजीगत लाभ
व्यापारिक लाभ भन्नाले उपभोक्तालाई
कुनै पनि उत्पादन वा सेवा उपलब्ध गराएबापत नियमित रूपमा प्राप्त हुने नाफा हो । व्यवसाय
सेवामूलक र उत्पादनमूलक जुनसुकै प्रकारको हुनसक्छ l सेवामूलक व्यवसायमा कुनै पनि
प्रकारको सेवा उपलब्ध गराएबापत नगद प्राप्त हुन्छ l जस्तो होटेल सेवामूलक व्यवसाय
हो l यसले सेवाग्राहीलाई आतिथ्य सेवा उपलब्ध गराउँछ l सेवाग्राहीले सेवा उपभोग गरेबापत
मूल्य तिर्छ l उत्पादनमूलक व्यवसायमा बस्तु वा सामान उपलब्ध गराइन्छ l जस्तो दाल,
चामल, तेललगायत वस्तु उत्पादनमूलक व्यवसाय हो l यसलाई उपभोक्ताले आवश्यकताअनुसार
उपभोग गर्ने गर्छन l कुनै उत्पादन वा सेवा बेचेर भएको आम्दानीबाट करलगायतका
सम्पूर्ण खर्च कटाएपछि बाँकी रहने रकम व्यापारिक लाभ हो। व्यापारिक लाभ नियमित आय
मानिन्छ र त्यसअनुसार कर लाग्छ।
पुँजीगत लाभ भनेको कुनै सम्पत्ति
(जस्तै: शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा, म्युचुअल फण्डका एकाइ)
बिक्री गर्दा प्राप्त हुने फाइदा हो l खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तर नै
यसमा हुने लाभ वा फाइदा हो l यस्तो लाभ नियमित हुन्न l यो सम्पत्तिमाथि गरिने अल्पकालीन
वा दीर्घकालीन लगानीबाट प्राप्त हुने लाभ हो । सामान्यतया: सम्पत्ति
खरिद-बिक्रीलाई व्यापारको रुपमा लिईन्न l यस्ता सम्पत्ति बिक्री गर्दा प्राप्त
हुने पुँजीगत लाभमा कर लाग्छ तर, यो कर व्यवसायिक कारोबारमा लाग्ने करको दरभन्दा फरक
हुन्छ l यसमा धारण अवधि पनि महत्वपूर्ण हुन्छ l धारण अवधि बढी (दीर्घकालीन) छ भने कम
कर लाग्छ र धारण अवधि कम (अल्पकालीन) छ भने बढी कर लाग्छ l पुँजीगत सम्पत्ति (शेयर
वा जग्गा) किन्दै बेच्दै गरिन्छ भने यसलाई व्यापारिक गतिविधि मानिन्छ र करको दर
पनि फरक हुनसक्छ l व्यापारिक लाभ र
पुँजीगत लाभको बीचमा मूलभूत भिन्नता के कस्ता छन् तालिकामा पेश गरिएको छ l
व्यापारिक लाभ र पुँजीगत लाभ
|
आधार |
व्यापारिक लाभ |
पुँजीगत लाभ |
|
परिभाषा |
कुनै वस्तु वा सेवा बिक्रीबाट प्राप्त हुन्छ l |
लगानी (शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा आदि)
सम्पत्ति बिक्रीबाट प्राप्त हुन्छ l |
|
उद्देश्य |
नियमित मुनाफा कमाउने उद्देश्यले गरिने कारोबार । |
लगानीको मूल्यवृद्धि वा लाभांशमार्फत दीर्घकालीन लाभ प्राप्त
गर्ने । |
|
कारोबारको प्रकृति |
बारम्बार र नियमित । |
अनियमित । |
|
सम्पत्ति प्रकार |
व्यापारिक स्टक, सामान वा सेवा । |
शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा l |
|
स्रोत |
व्यापार वा व्यवसायबाट प्राप्त। |
लगानी (शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा आदि)
बिक्रीबाट प्राप्त । |
|
करको गणना |
व्यापारिक लाभमा लाग्ने आयकर दर अनुसार। |
पुँजीगत लाभमा लाग्ने अल्पकालीन र दीघकालीन करका दरअनुसार ।
दीर्घकालीन अवधिको दर प्राप्त नाफाअनुसार शून्य पनि हुनसक्छ l |
|
लेनदेन चक्र |
उच्च आवृत्ति, बारम्बार बिक्री । |
कम आवृत्ति, लामो अवधिमा थोरै कारोबार। |
|
खर्च कटौती |
व्यापारमा हुने सबै प्रकारका खर्च कटौती गर्न मिल्छ । जस्तै
: सञ्चालन/कर्मचारी खर्च, कच्चापदार्थको लागत, लाग्ने कर आदि l |
सम्पत्तिको लागत र त्यसमा अन्तर्निहित खर्च कटौती गर्न मिल्छ
। जस्तै : जग्गाको हकमा रजिष्ट्रेसन दस्तुर, आदि कट्टा गर्न सकिन्छ भने शेयर
आदिको हकमा दलाल कमिसन, नियमन दस्तुर, डिपी शुल्क आदि l |
|
करको दायरा |
सामान्य आयको रूपमा गणना गरिन्छ । |
पुँजीगत लाभअन्तर्गत गणना गरिन्छ । |
|
प्रकृति |
स्थायी आम्दानी |
अस्थायी वा अवसरजन्य आम्दानी |
पुँजीगत
लाभ कि व्यापारिक लाभ
माथिका विभिन्न अनुच्छेदमा धन, धन
प्राप्ति, कर, व्यापारिक लाभ र पुँजीगत लाभका विविध पक्षमा चर्चा गरियो l यस
अनुच्छेदमा सम्पत्ति बिक्रीबाट प्राप्त हुने लाभ व्यापारिक हो कि पुँजीगत हो भन्ने
प्रश्नमा केन्द्रित रहेर चर्चा गरिन्छ l सामान्यता: आम बुझाइअनुसार शेयर बिक्रीबाट
हुने नाफा पुँजीगत लाभ हो l तर, शेयर बिक्रीबाट हुने लाभलाई संधै पुँजीगत लाभको
रुपमा गणना गरिन्न l यस विषयमा भएका न्यायिक (अदालती) व्याख्याले पनि यही कुरालाई
स्थापित गरेको छ l सामान्य बुझाईअनुसार संस्थाले शेयर बिक्री गरेर पाएको लाभ
व्यापारिक र व्यक्तिले पाएको लाभ पुँजीगत भन्ने पनि छ l यसैको सेरोफेरोमा विभिन्न
न्यायिक व्याख्याको सन्दर्भलाई लिएर पुँजीगत लाभ र व्यापारिक लाभको अन्तरवस्तु
केलाइन्छ l शेयरलाई वस्तुसरह कारोबार गरेमा व्यक्ति र संस्था दुवैले आर्जन गरेको
नाफालाई व्यापारिक लाभ मानिन्छ l तर, दुबैले आक्कल-झुक्कल
किनबेच गरेको छ भने दुवैलाई पुँजीगत लाभ मानिन्छ l भारतको
सर्वोच्च अदालतले कमिसनर अफ इनकम ट्याक्स विरुद्ध एसोसियटेड इन्डस्ट्रियल डेभलपमेण्ट
प्रा.लि. को मुद्दा (१९७१) मा दैनिक शेयर कारोबार वा बारम्बार खरिद/बिक्रीलाई व्यापारिक
कारोबार मानेको थियो l यस्तो मानिनुको कारण कारोबारको आवृत्ति, नियमितता, व्यवसायिकता
हो l उच्च आवृत्तिमा शेयर बिक्री गरि हुने नाफालाई व्यापारिक लाभको रूपमा व्याख्या
गरेको थियो। एसोसिएटेड इन्डस्ट्रियल डेभलपमेण्ट कम्पनी (प्रा.) लिमिटेड सन १९५७/५८
आफ्नो लगानी रहेका तीनवटा कम्पनीको शेयर बिक्री गर्दा उल्लेखनीय नाफा कमाएको थियो
l कम्पनीले उक्त नाफालाई पुँजीगत लाभको रूपमा दाबी गर्यो l तर,
आयकर विभागले यसलाई व्यापारिक लाभको रुपमा ग्रहण गर्यो l आयकर
अपील न्यायधिकरणले शेयर कारोबारको व्यापकता र आवृत्तिको आधारमा उक्त कम्पनीलाई
शेयर कारोबारीको रूपमा वर्गीकृत गर्यो र उक्त नाफा व्यापारिक आम्दानी भएको ठहर
गर्यो l तर, हाईकोर्टले होल्डिङ्ग कम्पनीले धारण गरेको शेयरलाई लगानी भन्दै यस्तो
शेयर बेचेर प्राप्त भएको नाफालाई पुँजीगत लाभको रूपमा लिनुपर्ने निर्णय दियो l
सर्वोच्च अदालतले हाइकोर्टको निर्णय उल्ट्याएर आयकर अपील न्यायधिकरणले व्यापारिक आय भनेर गरेको निर्णयलाई
सदर गरेको थियो l
अन्तमा,
कुनै संस्थाले नियमित वा उच्च आवृत्तिमा नाफा कमाउने उद्देश्यले शेयर, बोण्ड वा अन्य
सम्पत्ति बिक्री गर्छ भने यसरी प्राप्त हुने आय व्यापारिक लाभ हुन्छ l व्यापारिक
वा पुँजीगत लाभ निर्धारणका लागि आवृत्ति, उद्देश्य र लगानीको
प्रकार हेरिन्छ l उच्च आवृत्तिमा शेयर कारोबार गरेर लाभ लिन्छ भने यसलाई व्यापारिक
लाभ मानिन्छ l त्यसैले, व्यक्ति वा संस्था जोसुकैले गरेको शेयर कारोबारबाट प्राप्त
नाफालाई आवृत्तिको आधारमा व्यापारिक वा पुँजीगत लाभको रुपमा पहिचान गरिन्छ l सामान्य बुझाइअनुसारको संस्थाको लागि व्यापारिक र व्यक्तिको लागि पुँजीगत
लाभ हो भन्ने तथ्य यी माथि विभिन्न अनुच्छेदमा गरिएको चर्चाबाट खण्डित हुन्छ l
आर्थिक अभियान
बुधबार, २१ फागुन, २०८१
https://abhiyandaily.com/news/447491/sheyr-vikriibaatt-hune-aamdaanii-vyaapaarik-ki-puunjiigt-laabh/
No comments:
Post a Comment