बजार मूल्यअनुसार परिमाणीकरण र
चारित्रिकरण निरर्थक
महालेखा परीक्षक (मलेप) को ५७औं
प्रतिवेदनमा हकप्रद हस्तान्तरणको विषयलाई बेरुजु कायम गरिएको छ l मलेपले
प्रतिवेदनमा ३ वटा कुरामा अनियमितता भएको विषय उठाएको थियो l पहिलो, हकप्रद हस्तान्तरण सम्पत्ति नि:सर्ग हो, दोस्रो हकप्रद हस्तान्तरण हुँदा
कर (पूँजीगत लाभ) छली भयो र तेस्रो सम्पत्ति हस्तान्तरण हुँदा पनि बजार मूल्यअनुसार
परिमाणीकरण र चारित्रीकरण गरिएन l प्रतिवेदनमा उठान भएका ३ वटा विषय अनियमितता हो
वा हैन भन्ने अन्तरवस्तुमा यसका सम्वद्ध कानुनी पाटोबाट यसलाई मलेपले परीक्षण
गरेको देखिँदैन l
नि:सर्ग र नि:सर्गको कानुन
नि:सर्ग भनेको निकाल्ने वा अलग
गर्ने कार्य बुझिए पनि शब्दकोषमा यसको परिभाषा वा अर्थ भेटिन्न l आयकर कानुनमा नि:सर्गलाई
सम्पत्ति त्याग वा हस्तान्तणको अर्थमा उपयोग गरिएको छ l आयकर ऐन, २०५८ को दफा २(य)
मा ‘निःसर्ग (डिस्पोजल)’ भन्नाले ‘दफा ४० मा उल्लेख भएबमोजिम कुनै सम्पत्ति वा
दायित्वको बिक्री वा हस्तान्तरण समेतको निःसर्ग सम्झनुपर्छ’ भनेको छ l दफा ४० मा
के कस्तो अवस्थामा सम्पत्ति वा दायित्वको निःसर्ग हुन्छ भन्ने
व्यवस्था छ l उक्त दफाअनुसार कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व
हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सम्पत्तिको निःसर्गमा
सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु
सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट
बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा
दिइनु, रद्द
गरिनु, विनाश
हुनु, हराउनु, म्याद सकिनु
वा समर्पण गरिनु जस्ता कार्य समाविष्ट छ l त्यस्तै, कुनै
व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको
निःसर्ग गरेको मानिनेछ । दायित्वको निःसर्गमा दायित्व फर्छ्यौट, रद्द, मुक्त, समापन हुनु
वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य
समेत समावेश हुन्छ l यसका अतिरिक्त (क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल
अघि र (ख)
कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिबापतका आम्दानीको
योग सो सम्पत्तिबापतका खर्चको योगभन्दा बढी भएमा नि:सर्ग
गरेको मानिन्छ l ऋण दावी भएको सम्पत्तिको सम्बन्धमा (१) बैङ्क वा
वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार
खराब ऋण हुन पुगेकोमा र (२)
अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दाबी असुलउपर
नहुने भनी मनासिब रूपमा विश्वास गरेको अवस्थामा पनि नि:सर्ग गरेको
मानिन्छ l तर, सो ऋण दाबी असुल उपर गर्न सो
व्यक्तिले सबै उपयुक्त उपायहरू अवलम्बन गरीसकेको हुनपर्नेछ ।
त्यस्तै, कुनै
व्यक्तिले व्यवसायिक सम्पत्ति,
गैरव्यवसायिक करयोग्य सम्पत्ति,
ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले
प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको
स्वरूप प्रयोग गर्नु भन्दा तत्काल अघि पनि नि:सर्ग गरेको मानिन्छ l
आयकर ऐनको दफा ५७ अनुसार निकायको नियन्त्रणमा परिवर्तन र नेपालमा
अवस्थित जग्गाजमिन वा भवन बाहेक, सो
व्यक्ति गैरबासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघिको अवस्थामा
पनि नि:सर्ग भएको मानिन्छ l यस्ता नि:सर्गबाट हुने लाभ गणना गर्दा आयकर ऐन, २०५८ प्रारम्भ
हुँदाका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै
सम्पत्तिबापतका खुद खर्च र आम्दानीको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ
व्यवस्था छ l
परिमाणीकरण र चारित्रीकरण
मलेपले सम्पत्ति हस्तान्तरण
हुँदा पनि बजार मूल्यअनुसार परिमाणीकरण र चारित्रीकरण गरिएन भन्ने विषयमा जानु अघि
यसको बारेमा संक्षेपमा बुझ्नु राम्रो हुन्छ l
परिमाणीकरण भनेको कुनै बिक्री भएको वा नभएको सम्पत्तिको कुल बजार मूल्य हो
l कुनै सम्पत्ति धारकले शेयर, डिवेन्चर र अग्राधिकार शेयर बजार मूल्यअनुसार १० लाख
रुपैयाँमा बिक्री गर्छ भने यही १० लाख रुपैयाँलाई परिमाणीकरण मूल्य भनिन्छ l उल्लेखित सम्पत्ति के कति परिमाण कति मूल्यमा
बिक्री गरेको हो त्यसलाई चारित्रिकरण मूल्य भनिन्छ l अझ सजिलोसँग बुझ्न अमुक
कम्पनीको १ हजार कित्ता शेयर ५ सय रुपैयाँको
दरले, अर्को अमुक कम्पनीको ५ सय कित्ता शेयर ३ सय रुपैयाँमा, अमुक कम्पनीको १०
एकाई डिवेन्चर १ हजार रुपैयाँमा र अमुक कम्पनीको २ हजार कित्ता अग्राधिकार शेयर २
सय रुपैयाँमा बिक्री गरिन्छ भने यसलाई चारित्रीकरण मूल्य भनिन्छ l रकमको परिमाणीकरण
सम्बन्धमा आयकर ऐन, २०५८ दफा २७(१) मा ‘कुनै भुक्तानीलाई कुनै एक व्यक्तिले अर्को
व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित सम्पत्तिको
बजार मूल्य बराबरको रकम’ परिमाणीकरण गर्नुपर्ने’ व्यवस्था छ
l यसका अतिरिक्त परिमाणीकरण गर्नुपर्ने’ अन्य विषय
पनि ऐनमा उल्लेख गरिएको छ l यहाँ सम्पत्ति बिक्रीबाट सिर्जित परिमाणीकरण
वा चारित्रिकरणको कुरा उल्लेख भएको हुँदा सोही विषयलाई मात्र उल्लेख गरिएको छ
l
कायम रहेका शेयरधनीको निरपेक्ष
हक हुने हकप्रद शेयरमा आवेदन गर्ने अधिकार मनोनयन गरी हस्तान्तरण हुँदा यसमा
शेयरको बजार मूल्य अनुरुप परिमाणिकरण र चारित्रिकरण गर्नुपर्ने प्रश्नै उठ्दैन l
शर्त बन्देजसहित हकप्रद हस्तान्तरण गर्ने अधिकारको सिर्जना गर्ने धितोपत्र दर्ता
तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को नियम १९ सँग सम्बन्धित अनुसूची - ११ मा
‘अमुकदेखि अमुकसम्मको मेरो/हाम्रो नाममा कायम रहेको अमुक
कित्ता शेयरवापत प्राप्त हुने अमुक कित्ता हकप्रद शेयर खरीद गर्ने हकमध्ये अमुक
कित्ता हकप्रद शेयर खरीद गर्न अमुक बस्ने अमुकले खरीद गर्न पाउने गरी मनोनयन गरी पठाएको छु/छौं;
भन्ने वाक्यांशले समेत हकप्रद हस्तान्तरणमा मौद्रिक कारोबार हुन्न भन्ने प्रष्ट
पारेको छ l हकप्रद स्वामित्वमा आइसकेको शेयर पनि हैन l कम्पनीले तत्काल कायम रहेका
शेयरधनीलाई थप लगानी गर्नसक्ने गरी सिर्जना गरिदिएको निरपेक्ष अधिकार मात्र हो l
कायम शेयरधनी वा हस्तान्तरण गरिएको व्यक्ति जसले खरिद गरे पनि त्यसवापत भुक्तान
हुने रकम कम्पनीले प्राप्त गर्ने हो l हकप्रदबाट प्राप्त हुने रकम कम्पनीको
वासलातमा पूँजी शीर्षकमा लेखांकित गरिन्छ l कायम शेयरधनी र हस्तान्तरण लिने बीचमा
कुनै पनि प्रकारको मौद्रिक कारोबार नहुने हुँदा यसमा न परिमाणिकरण न चारित्रिकरणको
नै कुरो आउँछ l परिमाणिकरण र चारित्रिकरण गर्नको लागि मौद्रिकरुपमा कारोबार
हुनुपर्छ l
समाधान निस्सा कारोबार
हकप्रद हस्तान्तरणबाट सिर्जित समस्या समाधान गर्ने सहज बाटो धितोपत्र बोर्डसँग हुँदाहुँदै पनि यसलाई जटिल बनाईदिएको कारण यसले निकास पाउन सकेको छैन l बजार संचालक नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हकप्रदको निस्सा कारोबारसम्बन्धी विनियमावली बनाएर कारोबार गराउन आफू सक्षम रहेको बताउँदा पनि यसलाई मूर्तरूप दिन सक्दा बारम्बर यस्ता समस्या आएको छ l महालेखाले पटकपटक शेयरबजारको विषयलाई लिएर अवान्छित प्रश्न मात्र उठाएको छ l दलाल कमिसनमा मूल्य अभिवृद्धि कर लगाउने कुरा, एक्सचेन्जमा कारोबार हुने कम्पनीले जारी गरेका हकप्रद र बोनस शेयरलाई परल (अङ्कित) मूल्यमा लाभकर लगाउनु पर्ने कुरा र म्युचुअल फण्डलाई आयकर लगाउने जस्ता थुप्रै औचित्यहिन कुरा उठाईसकेको छ l मलेपले परीक्षण गर्दा कानुनी व्यवस्था किन गरिएन वा तर्जुमा गरिसकिएको अवस्थामा किन लागु गरिएन भनेर प्रश्न उठाएको भए सान्दर्भिक हुने थियो l महालेखाले वास्तविक तथ्यमा गएर परीक्षण गरोस l
२१ वैशाख २०७८, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/386707