मलेपले अध्ययन नगरेको नियम र अनुसूची
महालेखा परीक्षक (मलेप) को ५७औँ प्रतिवेदनमा हकप्रद शेयरको हक हस्तान्तरणबाट
कर (पूँजीगत लाभ) तिर्ने र तिराउने नगरेको हुँदा कर छली भएकोले उक्त रकम ब्याजसमेत
असुल गर्न निर्देशन दिएको छ l प्रतिवेदनको अर्थमन्त्रालय शीर्षक अन्तर्गत बुँदा
नं. ५७ मा यस्तो निर्देशन आएको हो l प्रतिवेदनमा धितोपत्र दर्ता तथा निर्गमन
(निष्कासन) नियमावली, २०७३ को उल्लेख गरे पनि नियमावलीमा हक हस्तान्तरण सम्बन्धमा
के कस्ता व्यवस्था छ भन्ने कुराको गहन अध्ययन बिना नै प्रतिवेदन तयार भएको देखिन्छ
l प्रतिवेदनमा नियमावलीको नियम नै गलत उल्लेख गरिएको छ l त्यस्तै, हक
हस्तान्तरणसम्बन्धी सोही नियमसँग सम्बन्धित अनुसूचीको अध्ययन गरेकै देखिन्न l मलेपले
शेयरको सर्वोच्च कानुन (धितोपत्रसम्बन्धी ऐन, २०६३) लाई पनि पूरै उपेक्षा गरेको छ
l
हकप्रद र
मनोनयन
कम्पनीलाई व्यवसायिक गतिविधि विस्तार
गर्न पूँजी आवश्यक पर्छ l यसको प्रवन्धन गर्न विभिन्न वित्तीय उपकरण परिचालन
गर्नुपर्छ l त्यसैमध्येको एउटा वित्तीय उपकरण हकप्रद हो l हकप्रद तत्काल कायम
शेयरधनीको निरपेक्ष हक हुने वित्तीय उपकरण हो l कम्पनी ऐन, २०६३ दफा ५६(७) मा
हकप्रद शेयर खरिद गर्ने पहिलो हक तत्काल कायम रहेका शेयरधनीले लिई राखेको अनुपातको
आधारमा हुनेछ भन्ने व्यवस्था गरेको छ l शेयरको सर्वेसर्वा कानुन धितोपत्रसम्बन्धी ऐन, २०६३ ले ‘संगठित संस्थाले
निर्गमन गरेको कुनै धितोपत्र साविकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले
खरीद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनुपर्छ’ भनेर ’हकप्रद
निर्गमन’ को परिभाषा गरेको छ । त्यस्तै, धितोपत्र दर्ता
तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को नियम १७(१)
मा ‘संगठित संस्थाले तोकेको मितिमा कायम रहेका
शेयरधनीहरूलाई धितोपत्र जारी गरी पूँजी बढाउने भएमा धितोपत्रको हकप्रद निर्गमन
गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । यस्तो हकप्रदमा
कायम शेयरधनीको ‘निरपेक्ष हक’ हुने भए पनि आवेदन नगरी हकको त्याग गर्न वा अरु
कसैलाई हस्तान्तरण गर्नसक्छ l हक हस्तान्तरण गर्नसक्ने व्यवस्थाका शर्तबन्देजसमेत
रहेको हुँदा यस्तो हक सापेक्ष हो, निरपेक्ष हैन l नियमावलीको नियम १९ मा बिक्री
खुल्ला रहेको अवधीभित्र तोकिएको ढाँचामा निवेदन दिई हस्तान्तरण वा मनोनयन गर्न
सकिने व्यवस्था छ l
हकप्रद हस्तान्तरण वा मनोनयन गर्दा (१) अन्य कुनै व्यक्ति वा निकायलाई हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्था सम्बन्धित कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा व्यवस्था भएको, (१) मनोनयन भै शेयरको लागि आवेदन गर्दा धितोपत्र बजार (स्टक एक्सचेन्ज) को कारोबार एकाई अनुसार हुने विवरणमा व्यवस्था गरिएको, (३) कम्पनीको प्रबन्धपत्र, नियमावली वा सम्बन्धित नियामक निकायले शेयरको स्वामित्व संख्याको सीमा तोकेकोमा त्यस्तो सिमा भित्र रहेको, (४) संगठित संस्थाको प्रबन्धपत्र र नियमावलीको व्यवस्था अनुसार स्वामित्व तथा संचालक समिति समूहकृत गरिएको भएमा सोही समूहभित्र रहने गरी मात्र मनोनयन गरिएको, (५) मनोनयन गरिने व्यक्ति प्रचलित कानून बमोजिम कालोसूचीमा नरहेको, (६) मनोनयन गरिने व्यक्ति प्रचलित कानून बमोजिम त्यस्तो कम्पनीको शेयर खरीद गर्न अयोग्य नभएको, (७) मनोनयन गर्दा एक व्यक्तिलाई मात्र गर्नुपर्ने शर्तबन्देज तोकिएको छ l मनोनयनका लागि निवेदन दिँदा चुक्ता रकमको १ प्रतिशतले हुन आउने रकम समेत समावेश गर्नुपर्ने अर्को व्यवस्था छ । आफ्नो हक हस्तान्तरण गरेका शेयरधनीले अरु शेयरधनीको शेयर मनोनयनमार्फत खरिद गर्न नपाउने व्यवस्था छ l एक्सचेन्जले पनि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई यस्तो हस्तान्तरणसम्बन्धी कार्य गर्नसक्ने व्यवस्था गरेको भए पनि यससम्बन्धी कानुनी प्रवन्ध नभएको हुँदा कार्यान्वयनमा आएको छैन l हकप्रदको निस्सा कारोबारसम्बन्धी कानुन तर्जुमा भए पनि यस्तो व्यवस्था कार्यान्वयनमा आएको छैन l
अनुसूची - ११
हकप्रद हस्तान्तरण सम्बन्धमा धितोपत्रसम्बन्धी ऐन, २०६३ र धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को
नियमको अतिरिक्त अनुसूची पनि छ l नियमावलीको नियम १९(१)
सँगसम्बन्धित अनुसूची - ११ मा शेयरधनीले आफूले
पाएको हक अरु कसैलाई मनोनयन गर्दा सम्बन्धित कम्पनीसमक्ष दिनुपर्ने
निवेदनको ढाँचा उल्लेख गरेको
छ l अनुसूचीको ढाँचामा ‘त्यस कम्पनीको प्रतिशेयर अमुक अंकित मूल्यको शेयर
संख्या अमुकदेखि
अमुकसम्मको
मेरो/हाम्रो
नाममा कायम रहेको अमुक
कित्ता शेयरवापत प्राप्त हुने अमुक कित्ता हकप्रद शेयर खरीद गर्ने हक
मध्ये अमुक कित्ता
हकप्रद शेयर खरीद गर्न अमुक
बस्ने अमुकले खरीद गर्न पाउने
गरी मनोनयन गरी पठाएको छु/छौं
। निजले मैले/हामीले
मनोनयन गरेको संख्यामा हकप्रद शेयर खरिद गर्न कम्पनीले तोकिदिएको
प्रकृया पूरा गरी हकप्रद शेयर खरीद गरेमा मेरो/हाम्रो मन्जुरी छ पछि मेरो/हाम्रो हकको शेयर अरुले
खरीद गर्न पाउने होइन वा मेरो हक मनोनयन गरेको होइन/छैन भनी कही कतै उजुर
गर्ने छैन/छैंनौं
गरे यसै कागजले बदर होस् भनी माथि उल्लिखित शेयर निजले आफ्नो नाममा खरीद गर्न
पाउने गरी व्यवस्था गरिदिन अनुरोध गरेको छु/छौं । व्यहोरा सत्य छ, झुठ्ठो ठहरे कानून
बमोजिम सहुँला बुझाउँला ।‘
भन्ने पूर्वसंरचित ढाँचामा निवेदन दिनुपर्छ l निवेदनमा मनोनयनकर्ताको ३ पुस्तेसमेत
खुलाएर दस्तखत समेत प्रमाणित गराउनुपर्ने हुन्छ l
नियम र अनुसूची
महालेखाको प्रतिवेदनमा ‘धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को नियम १२ मा
साविकको शेयरवालाले हकप्रद शेयर अन्य व्यक्तिले खरिद गर्न पाईने गरी मनोनयन
गर्नसक्ने व्यवस्था छ’ उल्लेख गरिएको छ l महालेखाले उल्लेख गरेको नियमावलीको नियम
१२ मा यस्तो व्यवस्थै छैन l नियम १२ मा कम्पनीले प्राथमिक शेयर जारी गर्न पेश
गरेको विवरणपत्रको जाँचबुझसम्बन्धी व्यवस्था छ l मनोनयनसम्बन्धी मूल व्यवस्था धितोपत्रसम्बन्धी ऐन, २०६३ मै छ l यसका
कार्यविधिको व्यवस्था नियमावलीको नियम १९ मा गरिएको छ l नियम १९ मा पनि थुप्रै
शर्तबन्देज पूरा गरेपछि मात्र मनोनयन गर्न पाइन्छ l शर्तबन्देज अघिल्लो अनुच्छेदमा
उल्लेख भइसकेको छ l हकप्रद हस्तान्तरण सम्बन्धी व्यवस्थालाई अझ प्रष्ट पार्न
अनुसूचीको समेत व्यवस्था गरिएको छ l अनुसूची - ११ नियमावलीको नियम १९(१)
को अभिन्न अंग हो l अनुसूचीमा कहीं कतै पनि रकम लेनदेन गरेर हस्तान्तरण हुने कुरा
उल्लेख गरिएको छैन l अनुसूचीमा दिईएको निवेदनको व्यहोरा अघिल्लो अनुच्छेदमा उल्लेख
भईसकेको छ l
मलेपको प्रतिवेदनका
अंश हेर्दा ‘रे !’ वा सुनेका भरमा ईवी साँध्न उल्लेख भए झैँ देखिन्छ l पूँजी लगानी
गरी राष्ट्रिय आय वृद्धि गर्दै रोजगार सिर्जना गर्ने लगानीकर्ताको मनोवललाई यस्ता हचुवा प्रतिवेदनले लगानीको वातावरणलाइ सकारात्मक दिशातर्फ लैजान नसक्ने हुँदा संबैधानिक निकायको रुपमा रहेको
महालेखापरीक्षकले सचेत भएर परीक्षण गर्नुपर्ने देखिन्छ l
https://www.abhiyandaily.com/newscategory-detail/386267
No comments:
Post a Comment