Saturday, May 29, 2021

हकप्रद हस्तान्तरण र सम्पत्ति नि:सर्ग

बजार मूल्यअनुसार परिमाणीकरण र चारित्रिकरण निरर्थक

महालेखा परीक्षक (मलेप) को ५७औं प्रतिवेदनमा हकप्रद हस्तान्तरणको विषयलाई बेरुजु कायम गरिएको छ l मलेपले प्रतिवेदनमा ३ वटा कुरामा अनियमितता भएको विषय उठाएको थियो l पहिलो, हकप्रद हस्तान्तरण सम्पत्ति नि:सर्ग हो, दोस्रो हकप्रद हस्तान्तरण हुँदा कर (पूँजीगत लाभ) छली भयो र तेस्रो सम्पत्ति हस्तान्तरण हुँदा पनि बजार मूल्यअनुसार परिमाणीकरण र चारित्रीकरण गरिएन l प्रतिवेदनमा उठान भएका ३ वटा विषय अनियमितता हो वा हैन भन्ने अन्तरवस्तुमा यसका सम्वद्ध कानुनी पाटोबाट यसलाई मलेपले परीक्षण गरेको देखिँदैन l  

नि:सर्ग र नि:सर्गको कानुन

नि:सर्ग भनेको निकाल्ने वा अलग गर्ने कार्य बुझिए पनि शब्दकोषमा यसको परिभाषा वा अर्थ भेटिन्न l आयकर कानुनमा नि:सर्गलाई सम्पत्ति त्याग वा हस्तान्तणको अर्थमा उपयोग गरिएको छ l आयकर ऐन, २०५८ को दफा २(य) मा ‘निःसर्ग (डिस्पोजल)’ भन्नाले ‘दफा ४० मा उल्लेख भएबमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निःसर्ग सम्झनुपर्छ’ भनेको छ l दफा ४० मा के कस्तो अवस्थामा सम्पत्ति वा दायित्वको निःसर्ग हुन्छ भन्ने व्यवस्था छ l उक्त दफाअनुसार कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सम्पत्तिको निःसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु, रद्द गरिनु, विना हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समाविष्ट छ l त्यस्तै, कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निःसर्ग गरेको मानिनेछ । दायित्वको निःसर्गमा दायित्व फर्छ्यौट, रद्द, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश हुन्छ l यसका अतिरिक्त (क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि(ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिबापतका आम्दानीको योग सो सम्पत्तिबापतका खर्चको योगभन्दा बढी भएमा नि:सर्ग गरेको मानिन्छ l ऋण दावी भएको सम्पत्तिको सम्बन्धमा (१) बैङ्क वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा(२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दाबी असुलउपर नहुने भनी मनासिब रूपमा विश्वास गरेको अवस्थामा पनि नि:सर्ग गरेको मानिन्छ l तर, सो ऋण दाबी असुल उपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अवलम्बन गरीसकेको हुनपर्नेछ ।

त्यस्तै, कुनै व्यक्तिले व्यवसायिक सम्पत्ति, गैरव्यवसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरूप प्रयोग गर्नु भन्दा तत्काल अघि पनि नि:सर्ग गरेको मानिन्छ l आयकर ऐनको दफा ५७ अनुसार निकायको नियन्त्रणमा परिवर्तन र नेपालमा अवस्थित जग्गाजमिन वा भवन बाहेक, सो व्यक्ति गैरबासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघिको अवस्थामा पनि नि:सर्ग भएको मानिन्छ l यस्ता नि:सर्गबाट हुने लाभ गणना गर्दा आयकर ऐन, २०५८ प्रारम्भ हुँदाका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै सम्पत्तिबापतका खुद खर्च र आम्दानीको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ व्यवस्था छ l

परिमाणीकरण र चारित्रीकरण

मलेपले सम्पत्ति हस्तान्तरण हुँदा पनि बजार मूल्यअनुसार परिमाणीकरण र चारित्रीकरण गरिएन भन्ने विषयमा जानु अघि यसको बारेमा संक्षेपमा बुझ्नु राम्रो हुन्छ l  परिमाणीकरण भनेको कुनै बिक्री भएको वा नभएको सम्पत्तिको कुल बजार मूल्य हो l कुनै सम्पत्ति धारकले शेयर, डिवेन्चर र अग्राधिकार शेयर बजार मूल्यअनुसार १० लाख रुपैयाँमा बिक्री गर्छ भने यही १० लाख रुपैयाँलाई परिमाणीकरण मूल्य भनिन्छ l  उल्लेखित सम्पत्ति के कति परिमाण कति मूल्यमा बिक्री गरेको हो त्यसलाई चारित्रिकरण मूल्य भनिन्छ l अझ सजिलोसँग बुझ्न अमुक कम्पनीको १ हजार कित्ता  शेयर ५ सय रुपैयाँको दरले, अर्को अमुक कम्पनीको ५ सय कित्ता शेयर ३ सय रुपैयाँमा, अमुक कम्पनीको १० एकाई डिवेन्चर १ हजार रुपैयाँमा र अमुक कम्पनीको २ हजार कित्ता अग्राधिकार शेयर २ सय रुपैयाँमा बिक्री गरिन्छ भने यसलाई चारित्रीकरण मूल्य भनिन्छ l रकमको परिमाणीकरण सम्बन्धमा आयकर ऐन, २०५८ दफा २७(१) मा ‘कुनै भुक्तानीलाई कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम’ परिमाणीकरण गर्नुपर्ने’ व्यवस्था छ l यसका अतिरिक्त परिमाणीकरण गर्नुपर्ने’ अन्य विषय पनि ऐनमा उल्लेख गरिएको छ l यहाँ सम्पत्ति बिक्रीबाट सिर्जित परिमाणीकरण वा चारित्रिकरणको कुरा उल्लेख भएको हुँदा सोही विषयलाई मात्र उल्लेख गरिएको छ l

कायम रहेका शेयरधनीको निरपेक्ष हक हुने हकप्रद शेयरमा आवेदन गर्ने अधिकार मनोनयन गरी हस्तान्तरण हुँदा यसमा शेयरको बजार मूल्य अनुरुप परिमाणिकरण र चारित्रिकरण गर्नुपर्ने प्रश्नै उठ्दैन l शर्त बन्देजसहित हकप्रद हस्तान्तरण गर्ने अधिकारको सिर्जना गर्ने धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को नियम १९ सँग सम्बन्धित अनुसूची - ११ मा ‘अमुकदेखि अमुकसम्मको मेरो/हाम्रो नाममा कायम रहेको अमुक कित्ता शेयरवापत प्राप्त हुने अमुक कित्ता हकप्रद शेयर खरीद गर्ने हकमध्ये अमुक कित्ता हकप्रद शेयर खरीद गर्न अमुक बस्ने अमुकले खरीद गर्न पाउने गरी मनोनयन गरी पठाएको छु/छौं; भन्ने वाक्यांशले समेत हकप्रद हस्तान्तरणमा मौद्रिक कारोबार हुन्न भन्ने प्रष्ट पारेको छ l हकप्रद स्वामित्वमा आइसकेको शेयर पनि हैन l कम्पनीले तत्काल कायम रहेका शेयरधनीलाई थप लगानी गर्नसक्ने गरी सिर्जना गरिदिएको निरपेक्ष अधिकार मात्र हो l कायम शेयरधनी वा हस्तान्तरण गरिएको व्यक्ति जसले खरिद गरे पनि त्यसवापत भुक्तान हुने रकम कम्पनीले प्राप्त गर्ने हो l हकप्रदबाट प्राप्त हुने रकम कम्पनीको वासलातमा पूँजी शीर्षकमा लेखांकित गरिन्छ l कायम शेयरधनी र हस्तान्तरण लिने बीचमा कुनै पनि प्रकारको मौद्रिक कारोबार नहुने हुँदा यसमा न परिमाणिकरण न चारित्रिकरणको नै कुरो आउँछ l परिमाणिकरण र चारित्रिकरण गर्नको लागि मौद्रिकरुपमा कारोबार हुनुपर्छ l

समाधान निस्सा कारोबार

हकप्रद हस्तान्तरणबाट सिर्जित समस्या समाधान गर्ने सहज बाटो धितोपत्र बोर्डसँग हुँदाहुँदै पनि यसलाई जटिल बनाईदिएको कारण यसले निकास पाउन सकेको छैन l बजार संचालक नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हकप्रदको निस्सा कारोबारसम्बन्धी विनियमावली बनाएर कारोबार गराउन आफू सक्षम रहेको बताउँदा पनि यसलाई मूर्तरूप दिन सक्दा बारम्बर यस्ता समस्या आएको छ l महालेखाले पटकपटक शेयरबजारको विषयलाई लिएर अवान्छित प्रश्न मात्र उठाएको छ l दलाल कमिसनमा मूल्य अभिवृद्धि कर लगाउने कुरा, एक्सचेन्जमा कारोबार हुने कम्पनीले जारी गरेका हकप्रद र बोनस शेयरलाई परल (अङ्कित) मूल्यमा लाभकर लगाउनु पर्ने कुरा र म्युचुअल फण्डलाई आयकर लगाउने जस्ता थुप्रै औचित्यहिन कुरा उठाईसकेको छ l मलेपले परीक्षण गर्दा कानुनी व्यवस्था किन गरिएन वा तर्जुमा गरिसकिएको अवस्थामा किन लागु गरिएन भनेर प्रश्न उठाएको भए सान्दर्भिक हुने थियो l महालेखाले वास्तविक तथ्यमा गएर परीक्षण गरोस l 

२१ वैशाख २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/386707 

हकप्रद मनोनयनको कानुनी पक्ष

मलेपले अध्ययन नगरेको नियम र अनुसूची

महालेखा परीक्षक (मलेप) को ५७औँ प्रतिवेदनमा हकप्रद शेयरको हक हस्तान्तरणबाट कर (पूँजीगत लाभ) तिर्ने र तिराउने नगरेको हुँदा कर छली भएकोले उक्त रकम ब्याजसमेत असुल गर्न निर्देशन दिएको छ l प्रतिवेदनको अर्थमन्त्रालय शीर्षक अन्तर्गत बुँदा नं. ५७ मा यस्तो निर्देशन आएको हो l प्रतिवेदनमा धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को उल्लेख गरे पनि नियमावलीमा हक हस्तान्तरण सम्बन्धमा के कस्ता व्यवस्था छ भन्ने कुराको गहन अध्ययन बिना नै प्रतिवेदन तयार भएको देखिन्छ l प्रतिवेदनमा नियमावलीको नियम नै गलत उल्लेख गरिएको छ l त्यस्तै, हक हस्तान्तरणसम्बन्धी सोही नियमसँग सम्बन्धित अनुसूचीको अध्ययन गरेकै देखिन्न l मलेपले शेयरको सर्वोच्च कानुन (धितोपत्रसम्बन्धी ऐन, २०६३) लाई पनि पूरै उपेक्षा गरेको छ l

हकप्रद र मनोनयन

कम्पनीलाई व्यवसायिक गतिविधि विस्तार गर्न पूँजी आवश्यक पर्छ l यसको प्रवन्धन गर्न विभिन्न वित्तीय उपकरण परिचालन गर्नुपर्छ l त्यसैमध्येको एउटा वित्तीय उपकरण हकप्रद हो l हकप्रद तत्काल कायम शेयरधनीको निरपेक्ष हक हुने वित्तीय उपकरण हो l कम्पनी ऐन, २०६३ दफा ५६(७) मा हकप्रद शेयर खरिद गर्ने पहिलो हक तत्काल कायम रहेका शेयरधनीले लिई राखेको अनुपातको आधारमा हुनेछ भन्ने व्यवस्था गरेको छ l शेयरको सर्वेसर्वा कानुन धितोपत्रसम्बन्धी ऐन, २०६३ ले संगठित संस्थाले निर्गमन गरेको कुनै धितोपत्र साविकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरीद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनुपर्छ’ भनेर ’हकप्रद निर्गमन’ को परिभाषा गरेको छ त्यस्तैधितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली२०७३ को नियम १७(१) मा ‘संगठित संस्थाले तोकेको मितिमा कायम रहेका शेयरधनीहरूलाई धितोपत्र जारी गरी पूँजी बढाउने भएमा धितोपत्रको हकप्रद निर्गमन गर्न सक्नेछ’ भन्ने व्यवस्था छ यस्तो हकप्रदमा कायम शेयरधनीको ‘निरपेक्ष हक’ हुने भए पनि आवेदन नगरी हकको त्याग गर्न वा अरु कसैलाई हस्तान्तरण गर्नसक्छ l हक हस्तान्तरण गर्नसक्ने व्यवस्थाका शर्तबन्देजसमेत रहेको हुँदा यस्तो हक सापेक्ष हो, निरपेक्ष हैन l नियमावलीको नियम १९ मा बिक्री खुल्ला रहेको अवधीभित्र तोकिएको ढाँचामा निवेदन दिई हस्तान्तरण वा मनोनयन गर्न सकिने व्यवस्था छ l

हकप्रद हस्तान्तरण वा मनोनयन गर्दा (१) अन्य कुनै व्यक्ति वा निकायलाई हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्था सम्बन्धित कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा व्यवस्था भएको, (१) मनोनयन भै शेयरको लागि आवेदन गर्दा धितोपत्र बजार (स्टक एक्सचेन्ज) को कारोबार एकाई अनुसार हुने विवरणमा व्यवस्था गरिएको, (३) कम्पनीको प्रबन्धपत्र, नियमावली वा सम्बन्धित नियामक निकायले शेयरको स्वामित्व संख्याको सीमा तोकेकोमा त्यस्तो सिमा भित्र रहेको, () संगठित संस्थाको प्रबन्धपत्र र नियमावलीको व्यवस्था अनुसार स्वामित्व तथा संचालक समिति समूहकृत गरिएको भएमा सोही समूहभित्र रहने गरी मात्र मनोनयन गरिएको, () मनोनयन गरिने व्यक्ति प्रचलित कानून बमोजिम कालोसूचीमा नरहेको, () मनोनयन गरिने व्यक्ति प्रचलित कानून बमोजिम त्यस्तो कम्पनीको शेयर खरीद गर्न अयोग्य नभएको, (७) मनोनयन गर्दा एक व्यक्तिलाई मात्र गर्नुपर्ने शर्तबन्देज तोकिएको छ l मनोनयनका लागि निवेदन दिँदा चुक्ता रकमको प्रतिशतले हुन आउने रकम समेत समावेश गर्नुपर्ने अर्को व्यवस्था छ । आफ्नो हक हस्तान्तरण गरेका शेयरधनीले अरु शेयरधनीको शेयर मनोनयनमार्फत खरिद गर्न नपाउने व्यवस्था छ l एक्सचेन्जले पनि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई यस्तो हस्तान्तरणसम्बन्धी कार्य गर्नसक्ने व्यवस्था गरेको भए पनि यससम्बन्धी कानुनी प्रवन्ध नभएको हुँदा कार्यान्वयनमा आएको छैन l हकप्रदको निस्सा कारोबारसम्बन्धी कानुन तर्जुमा भए पनि यस्तो व्यवस्था कार्यान्वयनमा आएको छैन l 

अनुसूची - ११

हकप्रद हस्तान्तरण सम्बन्धमा धितोपत्रसम्बन्धी ऐन, २०६३ धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली२०७३ को नियमको अतिरिक्त अनुसूची पनि छ l नियमावलीको नियम १९(१) सँगसम्बन्धित अनुसूची - ११ मा शेयरधनीले आफूले पाएको हक अरु कसैलाई मनोनयन गर्दा सम्बन्धित कम्पनीसमक्ष दिनुपर्ने निवेदनको ढाँचा उल्लेख गरेको छ l अनुसूचीको ढाँचामा ‘त्यस कम्पनीको प्रतिशेयर अमुक अंकित मूल्यको शेयर संख्या अमुकदेखि अमुकसम्मको मेरो/हाम्रो नाममा कायम रहेको अमुक कित्ता शेयरवापत प्राप्त हुने अमुक कित्ता हकप्रद शेयर खरीद गर्ने हक मध्ये अमुक कित्ता हकप्रद शेयर खरीद गर्न अमुक बस्ने अमुकले खरीद गर्न पाउने गरी मनोनयन गरी पठाएको छु/छौं । निजले मैले/हामीले मनोनयन गरेको संख्यामा हकप्रद शेयर खरिद गर्न कम्पनीले तोकिदिएको प्रकृया पूरा गरी हकप्रद शेयर खरीद गरेमा मेरो/हाम्रो मन्जुरी छ पछि मेरो/हाम्रो हकको शेयर अरुले खरीद गर्न पाउने होइन वा मेरो हक मनोनयन गरेको होइन/छैन भनी कही कतै उजुर गर्ने छैन/छैंनौं गरे यसै कागजले बदर होस् भनी माथि उल्लिखित शेयर निजले आफ्नो नाममा खरीद गर्न पाउने गरी व्यवस्था गरिदिन अनुरोध गरेको छु/छौं । व्यहोरा सत्य छ, झुठ्ठो ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।‘ भन्ने पूर्वसंरचित ढाँचामा निवेदन दिनुपर्छ l निवेदनमा मनोनयनकर्ताको ३ पुस्तेसमेत खुलाएर दस्तखत समेत प्रमाणित गराउनुपर्ने हुन्छ l

नियम र अनुसूची

महालेखाको प्रतिवेदनमा ‘धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली२०७३ को नियम १२ मा साविकको शेयरवालाले हकप्रद शेयर अन्य व्यक्तिले खरिद गर्न पाईने गरी मनोनयन गर्नसक्ने व्यवस्था छ’ उल्लेख गरिएको छ l महालेखाले उल्लेख गरेको नियमावलीको नियम १२ मा यस्तो व्यवस्थै छैन l नियम १२ मा कम्पनीले प्राथमिक शेयर जारी गर्न पेश गरेको विवरणपत्रको जाँचबुझसम्बन्धी व्यवस्था छ l मनोनयनसम्बन्धी मूल व्यवस्था धितोपत्रसम्बन्धी ऐन, २०६३ मै छ l यसका कार्यविधिको व्यवस्था नियमावलीको नियम १९ मा गरिएको छ l नियम १९ मा पनि थुप्रै शर्तबन्देज पूरा गरेपछि मात्र मनोनयन गर्न पाइन्छ l शर्तबन्देज अघिल्लो अनुच्छेदमा उल्लेख भइसकेको छ l हकप्रद हस्तान्तरण सम्बन्धी व्यवस्थालाई अझ प्रष्ट पार्न अनुसूचीको समेत व्यवस्था गरिएको छ l अनुसूची - ११ नियमावलीको नियम १९(१) को अभिन्न अंग हो l अनुसूचीमा कहीं कतै पनि रकम लेनदेन गरेर हस्तान्तरण हुने कुरा उल्लेख गरिएको छैन l अनुसूचीमा दिईएको निवेदनको व्यहोरा अघिल्लो अनुच्छेदमा उल्लेख भईसकेको छ l

मलेपको प्रतिवेदनका अंश हेर्दा ‘रे !’ वा सुनेका भरमा ईवी साँध्न उल्लेख भए झैँ देखिन्छ l पूँजी लगानी गरी राष्ट्रिय आय वृद्धि गर्दै रोजगार सिर्जना गर्ने लगानीकर्ताको मनोवललाई यस्ता हचुवा प्रतिवेदनले लगानीको वातावरणलाइ सकारात्मक दिशातर्फ लैजान नसक्ने हुँदा संबैधानिक निकायको रुपमा रहेको महालेखापरीक्षकले सचेत भएर परीक्षण गर्नुपर्ने देखिन्छ l

 १४ वैशाख २०७, आर्थिक अभियान

https://www.abhiyandaily.com/newscategory-detail/386267


हकप्रद मनोनयनमा बेरुजुको निरर्थक प्रश्न

सम्पत्ति त्याग गरेको भन्ने प्रश्न नै औचित्यहिन

महालेखा परीक्षक (मलेप) ले शेयरबजारलाई केही वर्ष यता निरन्तर प्रहार गरिरहेको छ l मलेपको कमिसन (दलाल) आम्दानीमा मूल्य अभिवृद्धि करको प्रसंगले पिरोल्नु पिरोल्यो l बोनस र हकप्रद शेयरको अङ्कित मूल्यमा लाभकर लिनुपर्ने भन्दै अर्को प्रहार गर्यो l प्रहारको सिलसिलामा अर्को वाण म्युचुअल फन्डलाई हानेको थियो l ५७औं प्रतिवेदनले हकप्रद शेयरमा गरिएको मनोनयनबाट लाभकर छलिएको भन्दै गरेको प्रहारले फेरी खैलाबैला मच्चिएको छ l विभिन्न प्रतिवेदनमा मलेप शेयरबजारको आधारभूत कुराबाट पूरै विचलित  भएको छ l मलेपको ५८औँ प्रतिवेदन सार्वजनिक हुने बेला भईरहँदा अब केमा प्रहार गर्ला भन्ने चासो देखिन थालेको छ l

प्रतिवेदनको अंश

प्रतिवेदनको अर्थमन्त्रालय खण्डको बुँदा नं. ५७ मा ‘कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी भुक्तानी (कुनै एक व्यक्तिबाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जनापछि अर्को व्यक्तिको स्वामित्वमा भएमा) गरिएको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम परिमाणिकरण गर्नुपर्ने व्यवस्था छ l विभिन्न हिताधिकारी (शेयरहोल्डर) ले मनोनयनबाट शेयरको हक हस्तान्तरण गर्दा हुने लाभ गणना तथा यस्तो लाभमा कर तिर्ने, तिराउने गरेको पाइएन’ भनिएको छ l त्यस्तै, प्रतिवेदनको बुँदा नं. ५७.१ देखि ५७.४ सम्म केही करदाता तथा व्यक्तिले हकप्रद शेयर खरिद गर्ने हक मनोनयनमार्फत हस्तान्तरण गर्दा मनोनयनकर्तालाई शेयरको बजार मूल्य अनुसार भएको लाभमा पूँजीगत लाभकर नतिरेको भन्दै बेरुजु कायम गरेको छ

हकप्रद र हकप्रदको कानुन

हकप्रद एउटा वित्तीय उपकरण हो l व्यवसायको विस्तार हुँदै जाँदा र वा नियमन गर्ने निकायले जोखिमवहन गर्नको लागि निर्देशन दिँदा पूँजी थप गर्नुपर्छ l कम्पनीको आफ्नै आर्जनले मात्र पूँजीको प्रवन्ध हुन नसक्दा हकप्रदमार्फत कायम शेयरधनीसँग पूँजी माग्नुपर्छ l हकप्रद तत्काल कायम शेयरधनीको मात्र निरपेक्ष हक हुने वित्तीय उपकरण हो l कम्पनी ऐन, २०६३ दफा ५६(६) मा पब्लिक कम्पनीले शेयर सार्वजनिक निर्गमन गर्नुपरेमा यस ऐन र धितोपत्रसम्बन्धी प्रचलित कानूनमा निर्धारित प्रक्रिया पुरा गर्नुपर्नेछ भन्ने व्यवस्था गरेर धितोपत्रसम्बन्धी कानुनलाई सर्वेसर्वा तोकेको छ l दफा ५६(७) मा हकप्रद शेयर खरिद गर्ने पहिलो हक तत्काल कायम रहेका शेयरधनीले लिई राखेको अनुपातको आधारमा हुनेछ भन्ने व्यवस्था गरेको छ l

शेयरको सर्वेसर्वा कानुन धितोपत्रसम्बन्धी ऐन, २०६३ ले संगठित संस्थाले निर्गमन गरेको कुनै धितोपत्र साविकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरीद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनुपर्छ’ भनेर ’हकप्रद निर्गमन’ को परिभाषा गरेको छ त्यस्तैधितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली२०७३ को नियम १७(१) मा ‘संगठित संस्थाले तोकेको मितिमा कायम रहेका शेयरधनीहरूलाई धितोपत्र जारी गरी पूँजी बढाउने भएमा धितोपत्रको हकप्रद निर्गमन गर्न सक्नेछ’ भन्ने व्यवस्था छ

मनोनयन र मनोनयनको परिणाम

शेयरसम्बन्धी सर्बोच्च कानुन धितोपत्रसम्बन्धी ऐन, २०६३ ले हकप्रद शेयर कायम शेयरधनी बाहेक निजले मनोनयन गरेको व्यक्तिले खरिद गर्न पाउने भनेको छ l कम्पनीले जारी गरेको हकप्रदमा शेयरधनीको सापेक्ष र निरपेक्ष दुवै अधिकार निहित छ l कायम शेयरधनी बाहेकले यस्तो शेयर खरिद गर्न नसक्ने हुँदा निरपेक्ष अधिकार हो तर, शेयरधनीले आवेदन गर्ने वा नगर्ने (किन्ने वा नकिन्ने) सापेक्ष अधिकार हो l कम्पनीले माग गरेको थप रकम (हकप्रद) स्वीकार, अस्वीकार (आवेदन नै नगर्ने) वा मनोनयन (हक हस्तान्तरण) गर्नसक्छ l ऐन (धितोपत्रसमबन्धी) ले सुनिश्चित गरेको मनोनयनलाई अझ व्यवस्थित गर्दै धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को नियम १९ मा तोकिएको शर्त बन्देजको अधीनमा रहेर मनोनयन गर्न पाइने व्यवस्था छ l मनोनयनले कानुनी वैधता प्राप्त गरेपछिको अवस्थामा यस्तो शेयरले सिर्जना गर्न समस्त हकअधिकार (मतदान, लाभांश आदि) मनोनयन लिनेमा सर्छ l

सम्पत्ति र निःसर्ग

मलेपले हकप्रदको अधिकारलाई सम्पत्ति मान्दै यसको नि:सर्ग भएको तर्क दिएको छ l आयकर ऐन, २०५८ दफा २(कध) मा  सम्पत्ति भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनुपर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलार्ई जनाउँछ’ भनिएको छ ऐनको परिभाषा अनुसार ‘हकप्रद शेयर’ मा आवेदन गर्न पाउने अधिकार सम्पत्ति हैन भन्ने प्रष्ट छ l हकप्रदमा आवेदन गर्न पाउने अधिकार मनोनयनमार्फत हक हस्तान्तरण गर्दा सम्पत्ति हस्तान्तरण हुँदैन l  मनोनयनकर्ताले शेयरको पूरै मूल्य भुक्तानी गरेपश्चात सो शेयर अन्य व्यक्तिलाइ मनोनयनमार्फत हस्तान्तरण गर्ने पनि हैन एउटा व्यक्तिको नाममा आइसकेको शेयर बाख्रा पाठा बेचे जस्तो आफू-आफूमा कारोबार हुन्न l सूचीकृत कम्पनीको शेयर कारोबार गर्न धितोपत्र बजार संचालक (नेपाल स्टक एक्सचेन्ज) ले तोकेको नियम-विनियमको अधीनमा रही प्रणालीमा आवद्ध भएर गर्नुपर्छ l नेपालमा हकप्रदको निस्सा कारोबार हुने व्यवस्था नभएको हुँदा मनोनित व्यक्ति स्वयमले सो शेयरवापतको रकम सोझै निर्गमक कम्पनीलाई भुक्तान गरी निजकै नाममा शेयर स्वामित्व कायम हुन्छ l यसर्थ खरीद नै गरेको शेयरलाई सम्पत्ति हो भन्न मिल्ने कुरै हुन्न l

आफ्नो अधीनमा रहेको सम्पत्ति मात्र नि:सर्ग हुन्छ l आयकर ऐन, २०५८ दफा ४०(१) मा ‘कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सम्पत्तिको निःसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु, रद्द गरिनु, विनास हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्नुपर्ने’ व्यवस्था गरेको छ l हकप्रदमा आवेदन गर्ने अधिकार मात्र हुन्छ l आवेदन नगरेसम्म त्यसले सम्पत्तिको रुप धारण गर्दैन र हित पनि सिर्जना गर्दैन l सम्पत्तिको रुप धारण नगरेसम्म नि:सर्ग गर्नसक्ने वा हुने अवस्था हुँदैन । आयकर ऐनको व्यवस्था अनुसार कुनै व्यक्तिले कुनै सम्पत्ति नि:सर्ग गर्नका लागि सो सम्पत्तिमा सो व्यक्तिको स्वामित्व हुनु र सो व्यक्तिले कुनै तरिकाबाट सो सम्पत्ति माथिको स्वामित्व त्याग गरेको हुनुपर्दछ । मलेपले नि:सर्ग भयो भनेको सम्पत्ति (शेयर) कुनै पनि निकाय वा व्यक्तिको स्वामित्वमा आएकै हुन्न l यस्तो अवस्थामा सम्पत्ति त्याग गरेको भन्ने प्रश्न नै औचित्यहिन बनेको छ l

त्यस्तै, आयकर ऐन, २०५८ दफा २(म) ले निकायमा रहेको हित को परिभाषा गर्दै ‘कुनै निकायको आय वा पुँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनुपर्छ‘ भनेको छ l  यसको अर्थ कुनै निकाय वा व्यक्तिले खरीद गरी लिन पाउने अधिकारको व्यवस्था मात्र हो । खरिद गर्न पाउने तर, खरीद नगरेको शेयरवापत कुनै निकाय वा व्यक्तिले आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार’ दुवै र हक हस्तान्तरण गर्दा  शेयरपूँजी वापतको रकम समेत प्राप्त हुन्न l यस अवस्थामा कुनै निकाय वा व्यक्तिले खरिद नै नगरेको र स्वामित्वमा नै नरहेको शेयर (अधिकार) लाइ हस्तान्तरणसम्म गरिएको विषयलाई सो निकायमा रहेको हितको रुपमा व्याख्या गर्नु आयकर ऐनको व्यवस्था विपरित छ ।


 ७ वैशाख २०७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/385882

शेयरबजारको इन्डेक्स र पूँजीकरण

आधार पूँजीकरण प्रकाशन आवश्यक

भारतको बीएसई (बम्बे स्टक एक्सचेन्ज) को सेन्सेक्स (सेन्सेटिभ इन्डेक्स) ५० हजारभन्दा माथि पुगेको छ l बीएसई संसारका ठूला एक्सचेन्जको सूचीमा १०सौं स्थानमा पर्छ l भारतकै नेशनल स्टक एक्सचेन्जको निफ्टीफिफ्टी पनि १६ हजारको  बाटोमा छ l सेन्सेक्स ३० र निफ्टी ५१ वटा कम्पनीको कारोबार मापन गर्ने इन्डेक्स हो l ३० र ५१ भित्र पनि प्रभाव जमाउने कम्पनीले इन्डेक्सलाई तलमाथि पारिरहेका हुन्छन् l नेपालमा कारोबार मापन गर्ने विशेष समूह छैन l नेपालको इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार मापन हुन्छ l सबै कम्पनीको मापन गरिए पनि १ वा २ कम्पनीको कारोबार र मूल्य वृद्धि वा कमिले इन्डेक्सलाई तलमाथि पार्छ l अहिलेसम्म नेपालको इन्डेक्स र पूँजीकरणलाई तलमाथि पार्नमा पूँजीका हिसाबले छैठौं ठूलो कम्पनी नेपाल टेलिकम अग्रस्थानमा छ र यो क्रम अझ केही वर्षसम्म कायम रहने अनुमान गर्न सकिन्छ l

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई (१) वाणिज्य बैंक, (२) विकास बैंक, (३) वित्त कम्पनी, (४) व्यापार, (५) होटेल तथा पर्यटन, (६) जलविद्युत, (७) जीवन विमा, (८) निर्जीव विमा, (९) उत्पादन तथा प्रशोधन (१०), लघुवित्त (११), लगानी र (१२) अन्य गरी १२ वटा समूहमा बाँडेको छ l म्युचुअल फण्डलाई पनि छुट्टै समूहमा राखेको छ l ऋणपत्र सूचीकरण भएर कारोबार भईरहे पनि यसको समूह छैन l यसको कारोबार गणनामा आएको छैन l म्युचुअल फन्डको समूहगत इन्डेक्स गणना गरिए पनि नेप्से इन्डेक्स गणनामा समावेश गरिएको छैन l यी हरेक समूहको आ-आफ्नो समूहगत सूचक गणना हुन्छ l

इन्डेक्स गणनाका आधार

इन्डेक्स गणनामा पूँजीकरण मुख्य आधार हुन्छ l पूँजीकरण भनेको एक कम्पनीको हकमा कुल सूचीकृत शेयर र कारोबार दिनको अन्तिम मूल्यको गुणनफल हो l बजार पूँजीकरणको हकमा सम्पूर्ण सूचीकृत कम्पनीको पूँजीकरणको योग हो l कारोबार समयमा यो बदलिरहन्छ l शेयर मूल्य घट्न वा बढ्नासाथ् पूँजीकरण र इन्डेक्समा हुने उतारचढाव वास्तविक समय (रियल टाइम) मा हेर्न देख्न सकिन्छ l सिद्धान्तत पूँजीकरणका लागि प्रवाहित (फ्लोटेट) शेयरलाई मात्र लिईन्छ l नेपालमा सम्पूर्ण शेयरलाई गणना गरिन्छ l इन्डेक्स आधार र दैनिक पूँजीकरणको अनुपात हो l आधार पूँजीकरण कुनै एकदिनको कारोबारलाई आधार मानेर लिईन्छ र नयाँ कम्पनी र हकप्रद शेयर थप हुँदै जाँदा आधार पूँजीकरण पनि बढ्दै जान्छ l मानौं पहिलो दिन १ अर्ब रुपैयाँ आधार पूँजीकरण थियो र त्यसको १० दिनपछि १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी सूचीकरण भएर त्यसको अन्तिम कारोबार मूल्य ३ सय रुपैयाँ भएमा ३ करोड रुपैयाँ थप भई आधार पूँजीकरण १ अर्ब ३ करोड रुपैयाँ कायम हुन्छ l भोलिपल्टदेखि दैनिक पूँजीकरण (थपिएको कम्पनीसहित) लाई पछिल्लो आधार पूँजीकरण १ अर्ब ३ करोड रुपैयाँले पहिले जस्तै भाग गरेर दैनिक इन्डेक्स मापन गरिन्छ l त्यस्तै, ३० दिनपछि २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज गरेको भोलिपल्ट आधार पूँजीकरण थपिन्छ l अन्तिम कारोबार मूल्य ३ सय रुपैयाँ भएमा समायोजित मूल्य २ सय ३३ रुपैयाँ हुन्छ र ३ लाख कित्ता शेयरको पूँजीकरण ६ करोड ९९ लाख रुपैयाँ हुन्छ l यहाँ हकप्रद शेयरले ९९ लाख रुपैयाँ पूँजीकरण थप भएको हुँदा आधार पूँजीकरणमा ९९ सय लाख रुपैयाँ थप भएर १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ कायम हुन्छ l एवम् क्रमले आधार पूँजीकरण बढ्दै जान्छ l बोनस शेयरले आधार पूँजीकरण नबढाउने कारणको रुपमा यसमा थप हुने अङ्कित मूल्यलाई मूल्य समायोजनमा समावेश नगरिएको कारण यस्तो भएको हो l माथिको हकप्रदको उदाहरणमा यदि उल्लेखित ५० प्रतिशत बोनस भएको भए मूल्य समायोजन मूल्य २ सय रुपैयाँ हुन्थ्यो l  समायोजन अघिको अन्तिम मूल्य र समायोजन पछिको मूल्यले पूँजीकरणमा कुनै परिवर्तन नल्याउने हुँदा बोनसले आधार पूँजीकरण परिवर्तन हुन्न l   

पूँजीकरण र इन्डेक्समा योगदान

नेपालको शेयरबजारको कुल पूँजीकरण ३७ खर्ब २ अर्ब ८१ करोड ८९ लाख ५० हजार रुपैयाँ  र नेप्से इन्डेक्स २ हजार ६ सय ७४ दशमलव ३५ छ l (२६ चैत, २०७७, नेप्से) नेप्सेले देखाएको पूँजीकरणमा कारोबार रोक्का रहेका कम्पनी पनि समावेश देखिन्छ l समूह र कम्पनिगतरुपमा हेर्दा पूँजीकरण र इन्डेक्समा कति योगदान छ तालिकामा देखाईएको छ l

 

समूहगत पूँजीकरण र इन्डेक्समा योगदान

क्रसं

समूह

पूँजीकरण

योगदान (प्रतिशत)

पूँजीकरण

इन्डेक्स 

वाणिज्य बैंक

१३,९५,५६,८१,३७,६२३

३७.६८

१,००७.६९

जीवन बिमा

३,६४,९२,९९,३१,५३२

९.८५

२६३.४२

लघुवित्त

३,६०,३०,१८,४१,७८२

९.७३

२६०.२१

अन्य

३,४७,४५,००,००,०००

९.३८

२५०.८५

जलविद्युत

२,९७,४०,५४,०२,५४७

८.०३

२१४.७५

लगानी

२,९६,२४,३६,६७,८७५

८.००

२१३.९४

निर्जीव बिमा

२,६०,०८,०७,४०,१९८

७.०२

१८७.७३

उत्पादन तथा प्रशोधन

१,३५,२७,५६,९२,३४०

३.६५

९७.६१

विकास बैंक

९७,६७,६५,३९,७८२

२.६३

७०.३३

१०

होटेल तथा पर्यटन

६४,९०,११,२२,६००

१.७५

४६.८०

११

वित्त कम्पनी

३८,२१,४०,६३,८४३

१.०३

२७.५४

१२

व्यापार

२२,९२,३९,०७,४४६

०.६१

१६.३१

कम्पनीगत हिसाबले पूँजीकरण र इन्डेक्समा योगदान

क्रसं

समूह

पूँजीकरण

योगदान (प्रतिशत)

पूँजीकरण

इन्डेक्स 

नेपाल टेलिकम

२,०२,६५,००,००,०००

५.४०

१४४.४१

नविल बैंक लि

१,७९,२८,६१,०६,७२०

४.८४

१२९.४३

नेपाल लाईफ इन्स्योरेन्स लि

१,५२,१३,५३,७४,५५२

४.१०

१०९.६४’

नेपाल रिइन्स्योरेन्स लि

१,४४,८०,००,००,०००

३.९१

१०४.५६

नागरिक लगानी कोष

१,२६,१४,७०,९८,५५०

३.४०

९१.९१

नेपाल पूर्वाधार बैंक लि

१,१७,८०,००,००,०००

३.१८

८५.०४

एनआईसी एसिया बैंक लि

१,०६,१५,७५,७१,४०८

२.८६

७६.४८

ग्लोबल आईएमई बैंक लि

९५,८३,१९,८८,७३३

२.५८

६८.९९

अपर तामाकोशी हाइड्रोपावर लि

९४,४६,२८,००,०००

२.५५

६८.१९

१०

नेपाल इन्भेष्टमेन्ट बैंक लि

७४,४५,५८,५१,४५६

२.०१

५३.७५

     स्रोत: २६ चैत, २०७७ को कारोबारमा आधारित

इन्डेक्सको तुलना

इन्डेक्सलाई चलायमान गराउन केही कम्पनीको मात्र भूमिका हुन्छ भन्ने तालिकामा उल्लेखित १० वटा कम्पनीले देखाएको छ l इन्डेक्स र अङ्कमा झन्डै क्रमशः ३५ प्रतिशत र ८ सय २७ को योगदान दिएको छ l अर्को पाटो भनेको सूचीकरणमा थपिने कम्पनीले पनि यसमा योगदान दिएको हुन्छ l नयाँ थपिएका दश स्थानमा परेका रिइन्स्योरेन्स, पूर्वाधार बैंक र तामाकोशीले मात्र अङ्कमा २ सय ५८ र इन्डेक्समा १० प्रतिशतको योगदान दिएका छन् l २०७२ सालको करिव १९ सय र अहिलेको करिव २७ सय अङ्कको हिसाबले बढी भए पनि  गुणात्मक हिसाबले कुन बढी हो भन्नलाई यसको आधार पूँजीकरणसँग तुलना गर्दा मात्र थाहा हुन्छ l ५ रोपनी जग्गामा ५ मुरी फल्नु र १० रोपनी जग्गामा १० मुरी फल्नु मुरीको अङ्क बढी भए पनि गुणात्मकरुपमा बराबर हो l अहिले यस्तै ५ रोपनी जग्गा थपिएको हो l नेप्सेले बजार अध्येयताका लागि साप्ताहिकरुपमा आधार पूँजीकरण सार्वजनिक गर्नु आवश्यक छ l

३१ चैत २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/385526


 

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...