Monday, December 9, 2019

सूचीकृत कम्पनीको लाभांश : अन्योल नै अन्योल


लगानी लाभका लागि गरिन्छ । कम्पनीले वार्षिक रूपमा आयव्यय हिसाब गरी खुद नाफाबाट शेयरधनीलाई लाभांश बाँड्ने गर्छन् । यस्तो लाभांश त्रैमासिक रूपमा पनि वितरण गर्न सक्छन् । नेपालमा त्रैमासिक रूपमा लाभांश बाँड्न सक्ने कानून नभए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एक कम्पनीले आर्थिक वर्ष २०७५/७६ नसकिँदै अन्तरिम लाभांश वितरण गरिसकेको छ । एकातिर आर्थिक वर्ष नसकिँदै अन्तरिम लाभांश बाँड्ने कम्पनी पनि छन् भने अर्कातिर वार्षिक रूपमा बाँड्न प्रस्ताव गरेको लाभांश विवादमा पार्ने कम्पनी पनि छन् । लाभांश विवादमा पार्ने, घोषित लाभांश संशोधन र रद्द गर्ने कार्य बेहिसाब छ, तैपनि यस्ता कम्पनीका अधिकारी र पदाधिकारीले न जवाफदेही भएर जिम्मेवारी लिनुपरेको छ न तालुकी निकायले जिम्मेवार बनाएका छन् । यसको मार भने शेयरधनीले निरन्तर भोग्नुपरेको छ र कतिन्जेलसम्म भोगिरहनुपर्ने हो प्रश्नको उत्तर पनि छैन । 
दुई कम्पनी : एकै व्यवहार 
नेप्सेमा सूचीकृत समता र ग्लोबल आइएमई लघुवित्तले घोषणा गरेको लाभांशमा अनौठो घटनाक्रम र चर्तिकला देखिएको छ । दुवै कम्पनी (लघुवित्त) ले आर्थिक वर्ष २०७६/७७ शुरू भएपछि हकप्रद शेयर जारी गरेका थिए । ग्लोबल आइएमईले साउन १ गते बुक क्लोज गरी सोही महीनाको २१ गतेदेखि २३ भदौसम्म १ बराबर १ र समताले असोज १ गते बुक क्लोज गरी सोही महीनाको २६ गतेदेखि १ मंसिरसम्म १ बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर विक्री गरेका थिए । कम्पनीले आवश्यकता अनुसार हकप्रद जारी गर्नसक्ने कुरालाई अन्यथा भन्न र अस्वीकार गर्न सकिन्न । तर, लाभांश घोषणा गर्ने बेलामा यी दुवै कम्पनीले लगानीकर्तामाथि अन्यथा (घात) गरेका छन् । 
ग्लोबल आइएमईले असोज १ गते असार मसान्तसम्मको चुक्ता पूँजीलाई आधार मानेर ३५ प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने सम्बन्धमा नेप्सेलाई पत्राचार ग¥यो । कात्तिक १७ गते साधारणसभा आह्वान गरिएको सूचनामा पनि असार मसान्तसम्म कायम रहेको पूँजीलाई ३५ प्रतिशत बोनस लाभांश वितरण गरिने भनेर कात्तिक २५ गते बुक क्लोज गर्ने भनिएको छ । तर, बुक क्लोजको १ दिनअघि नेप्सेलाई गरेको पत्राचारमा सम्पूर्ण हकप्रद विक्री भएको हुँदा लाभांश दर १७ दशमलव ५ प्रतिशत अनुसार बुक क्लोज गरिदिनु हुन भन्दै अर्को पत्राचार गरिएको थियो । लाभांश र साधारणसभा घोषणामा एउटा कुरा लेखेर बुक क्लोजको अघिल्लो दिन अर्को व्यहोराको पत्राचार गराउने कार्य निन्दनीय र आपत्तिजनक कार्य हो । 
झन् गजबको समता
ग्लोबल आइएमईकोभन्दा अझ गजबको चर्तिकला समताको छ । नाम भने समता अर्थात् समान तर, व्यवहार हेर्दा भने नामले मात्र हुन्न, नाम त चिनिने माध्यम मात्र हो भन्ने बुझ्नुपर्ने भएको छ । समताले ९ असोजमा असार मसान्तसम्म कायम पूँजीलाई आधार मानेर नगद र बोनस गरी ३१ प्रतिशत लाभांश घोषणा गरेको भनेर नेप्सेलाई पत्राचार ग¥यो । तर, असोज २४ गते अर्को पत्राचार गर्दै विक्री जारी रहेको हकप्रद शेयर साधारणसभा अगावै बाँडफाँट भएमा चुक्ता पूँजी बढ्न जाँदा पूर्व घोषित लाभांशको अंकमा कमी आउने र बाँडफाँट नभएमा यथावत् कायम रहने अचम्मको चिठी पठायो । समताले अहिलेसम्म साधारणसभा आह्वान गरेको छैन । यसको हकप्रद विक्री १ मंसिरमा बन्द भएको छ । हकप्रद पूरै विक्री हुने सम्भावना कम हुने हुँदा बाँकी रहने अवितरित हकप्रद लीलामी गर्दासम्म पनि साधारणसभा आह्वान गर्ने वा नगर्ने भन्ने कम्पनीका सञ्चालकमा निहित रहेकोले जे जस्तो पत्राचार गरे पनि यसको कुनै तात्विक अर्थ छैन । 
सूचीकरण भएमा लाभांश
आर्थिक वर्ष शुरू भएपछि हकप्रद जारी भएका वा बाँडफाँट गरेका  उदाहरण प्रशस्त छन् । यस्तो अवस्थामा बाँडफाँट भएका र जारी भएका हकप्रदलाई कम्पनीले ३ थरी व्यवहार गरेको दृष्टान्त भेटिन्छ : पहिलो, आर्थिक वर्ष समाप्त भएपछि जारी भएका वा बाँडफाँट भएको हकप्रद शेयरलाई लाभांशका लागि अयोग्य मान्ने दोस्रो, यस्तो हकप्रद शेयर नेप्सेमा सूचीकरण गराएर लाभांश दिएको र तेस्रो, आर्थिक वर्ष शुरू भएपछि बाँडफाँट भएका तर, सूचीकरण नभएका वा हकप्रद जारी गर्न बुक क्लोज हुनासाथ लाभांश दिएका छन् । यी ३ थरी व्यवहारमध्ये पहिलो विकल्प साह्रै कम उपयोगमा आएको छ भने दोस्रो र तेस्रो विकल्प अनुकूलता अनुसार हुँदै आएको छ । यस्तो अवस्थामा यही गर्नुपर्छ भन्ने कुनै परिपत्र वा निर्देशन कुनै निकायबाट आएको छैन । कम्पनी ऐनले यस्ता सबै कुरा बोल्न नपर्ने हुँदा केही बोलेको देखिन्न तर, नेप्सेमा सूचीकरण भएका कम्पनीको हकमा बोल्नुपर्ने धितोपत्र बोर्डले पनि यस विषयमा केही बोलेको देखिन्न । 
जिम्मेवार निकाय 
नेपाल धितोपत्र बोर्ड शेयरबजारको तालुकी अड्डा हो । धितोपत्र सम्बन्धी ऐन २०६३ को प्रस्तावनामै बोर्डलाई लगानीकर्ता हित संरक्षकभनिएको हुँदा लगानीकर्ता हित संरक्षणमा पहिलो कदम चाल्ने जिम्मा बोर्डकै हो । शेयरबजारमा लाभांशका यस्ता अन्योल देखिएको धेरै भइसकेको छ । शेयरबजारमा बारम्बार देखिने यस्ता व्यवहारले स्वच्छ र स्वस्थ लगानीको वातावरण छ भनेर परिचय दिंदैन । कम्पनीले मनपरी गरे भनिहाल्न पनि कुनै स्पष्ट नियम वा निर्देशन नभएको हुँदा कम्पनी नै अराजक हुन् भन्न पनि मिल्ने ठाउँ हुन्न । यद्यपि कम्पनीले लगानीकर्तालाई प्रष्ट र खँदिलो व्यवहार गरेर शेयरधनीप्रति उत्तरदायी हुनुपर्ने हो । कम्पनीले गरेका माथिका दुईटा पत्राचार हेर्दा कम्पनीगत नीति र लगानीकर्ताप्रति जालसाजीगरेको भन्न सकिने अवस्था छ । 
शेयर लगानी (कुनै पनि लगानी) जोखिमयुक्त हुन्छ । जोखिमलाई न्यूनीकरण गराइदिने कार्य सरकार र यस मातहतका निकायको हो । कारोबारी र लगानीकर्ता शेयरबजारका आधारभूत पक्ष हुन् । शेयर लगानीमा जोखिम छँदै छ, झन् त्यसमाथि अन्योल सृजना गरिदिएपछि जोखिम अझ बढ्छ । शेयरबजारको जोखिमलाई न्यूनीकरण गराइदिने कार्य धितोपत्र बोर्डको हुँदाहुँदै पनि नियामक नै उदासीन हुँदा कसलाई सुनाउने ? कम्पनीले लाभांश घोषणामा अराजकता ल्याएको प्रष्ट देखिएको अवस्थामा त्यसलाई नियमन गर्ने निकायले आवश्यक नीतिनियम वा निर्देशन जारी गरी एकरूपता ल्याउन पहल नगर्नु खेदजन्य कार्य हो । लाभांश सम्बन्धमा भएका अराजक गतिविधिलाई उचित सम्बोधन गरी एकरूपता ल्याउने कार्य नियामकले नगरिदिएमा कर्पोरेट डिसअर्डरले संस्थागत स्वरूप लिन्छ र यसले फस्टाउँदो, विस्तारित र व्यावसायिक हुने क्रममा रहेको शेयरबजारलाई गम्भीर असर पार्दा आमलगानीकर्ता विचलित हुन्छन् । जोखिमलाई न्यूनीकरण गराउनका लागि बेलैमा सही र यथार्थ सूचना सम्प्रेषण गर्नु र गर्न लगाउनु नियामकको प्राथमिक कर्तव्य एवम् दायित्व हो । सही अर्थमा नियमन भनेको पनि यही हो । 
अबको बाटो 
सही र यथार्थ सूचना प्राप्त गर्ने विषयलाई संविधानले मौलिक हकको रूपमा राखेको छ । धितोपत्र कानूनमा लाभांश घोषणासहित २५ ओटा घटनालाई कम्पनीको शेयर मूल्यमा प्रभाव पार्ने विशेष परिस्थिति भनिएको छ । अहिलेको अवस्था हेर्दा हकप्रद जारी गर्ने समय पनि किटान गरिदिनुपर्ने देखिन्छ । समग्रमा निम्न कार्य अविलम्ब गरिनुपर्ने आवश्यकता देखिन्छ । 
लाभांश वितरण गर्ने प्रयोजनको लागि एक आर्थिक वर्षमा कायम रहेको चुक्ता पूँजीलाई मूल आधार बनाइनुपर्छ । हकप्रद जारी गर्दा असार मसान्तसम्म बाँडफाँट हुनेगरी स्वीकृति दिनुपर्छ । आर्थिक वर्ष शुरू भएपछि हकप्रद जारी गर्ने भएमा साधारणसभाको लागि बुक क्लोजपछि मात्र विक्री गर्ने गरी स्वीकृति दिनुपर्छ । नियमित साधारणसभा नगरेका कम्पनीलाई हकप्रद जारी गर्न रोक लगाउनुपर्छ । साधारणसभा हुन नसक्नु भनेको कम्पनीमा सुशासनको पक्ष कमजोर हो भनेर बुझ्न सकिन्छ । हकप्रद शेयर जारी विक्री आदि विषयमा एकीकृत निर्देशन अविलम्ब जारी गरिनुपर्छ ।  
३ मंगसिर २०७६, आर्थिक अभियान दैनिक 


असान्दर्भिक मूल्य समायोजन


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी (बैंक तथा वित्तीय संस्था) गाभिने (मर्ज), प्राप्ति (एक्वीजिशन) सँगसँगै पुनः सूचीकरण हुने क्रम पनि बढ्दैछ । पछिल्लोपटक एउटा वाणिज्य बैंक (एनएमबी) र अर्को राष्ट्रियस्तरको विकास बैंक (ओम) गाभिएर शेयर कारोबार खुलेको छ । गाभिने वा प्राप्ति हुने र पुनः सूचीकरण नियमित प्रक्रिया हो । तर, यसपटकको कारोबार खुलाइमा नेप्सेले मूल्य सीमा तोकेका कारण केही हदसम्म विवादास्पद बन्यो । निकट भविष्यमै अन्य कम्पनी पनि पुनः सूचीकरण हुन लागेका बेला शेयरधनीमा मनोवैज्ञानिक रूपमा त्रासको वातावरण सृजना भएको छ । 
विवादको जड 
एनएमबी र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिएपछि नेप्सेमा पुनः सूचीकरण भएर कारोबार खुल्नुपर्ने स्वाभाविक थियो र खुल्यो । तर, गाभिएपछिको कारोबारको लागि नेप्सेले ३ सय ५१ रुपैयाँ माथिल्लो मूल्य सीमा तोकिदियो । नेप्सेले पहिलो कारोबारको लागि तोकेको मूल्यलाई विधिवत् (डिजुरे) रूपमा समायोजन नभने पनि तथ्यगत (डिफ्याक्टो) रूपमा समायोजन गरेको देखिन्छ । तर, के आधारमा किन मूल्य समायोजन गरियो भन्ने बारेमा कुनै हिसाब र कारण जानकारी गराइएन । यी दुई बैंकले गाभिने सम्झौता गर्दा एनएमबी र ओमको बजार मूल्य क्रमशः ३ सय ८२ रुपैयाँ र १ सय ९७ रुपैयाँ थियो । प्रतिकित्ता ७६ रुपैयाँ दिएर एनएमबीले ओम बैंकलाई गाभेको थियो । गाभिने सम्झौता हुनुअघि कायम रहेको गाभ्ने कम्पनी (एनएमबी) को बजारले निर्धारण गरेको मूल्य गाभिएपछि समायोजित हुनुको न्यायोचित जवाफ शेयरधनीले पाउन सकेका छैनन् । निकट भविष्यमै दुई वाणिज्य बैंक (ग्लोबल र जनता) लगायत गाभिने र प्राप्ति हुन लागेका अन्य कम्पनी (बैंक) को हकमा के हुन्छ भन्ने चर्चा शुरू भएको छ । 
गाभिने वा प्राप्ति 
कम्पनी ऐन २०६३ को दफा १७७ मा उल्लिखित व्यवस्थाको अधीनमा रहेर कम्पनी गाभिन सक्छन् र दिनहुँ जस्तो कम्पनी गाभिने गर्छन् । प्राइभेट, पब्लिक (सूचीकृत र असूचीकृत) र नाफा वितरण नगर्ने सबै कम्पनी गाभिन सक्छन् । ऐनको दफा १७७ (५) अनुसार गाभिने कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्वहरू गाभ्ने कम्पनीमा सरेको मानिने व्यवस्था छ । बैंक पनि कम्पनी नै भएको हुँदा कम्पनी ऐनको व्यवस्था लागू हुन्छ । तर, बैंकिङ कम्पनी केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को नियमनमा रहने र बैंक गाभ्ने सम्बन्धमा केन्द्रीय बैंकको नीतिगत व्यवस्था पनि लागू हुने हुँदा बैंकको गाभ्ने सम्बन्धी नीतिको पनि संक्षिप्त अध्ययन सान्दर्भिक हुन्छ । 
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को दफा २(श) अनुसार प्राप्त गर्ने संस्थाभन्नाले यस ऐन बमोजिम इजाजतपत्रप्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल बैंक वा वित्तीय संस्था सम्झनुपर्छ ।त्यस्तै दफा २(ष) मा प्राप्ति गर्ने (एक्वीजिशन)भन्नाले एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थाको सम्पूर्ण सम्पत्ति तथा सम्भावित दायित्वको हरहिसाब गरी इजाजतपत्र प्राप्त संस्थाको कानूनी हैसियत समाप्त हुने गरी आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्वसमेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँछभनिएको छ । दफा २ (कग)मा लक्षित संस्थाभन्नाले यस ऐनबमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत समाहित हुन जाने इजाजतपत्र प्राप्त संस्था सम्झनुपर्छभनिएको छ । बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिशन) सम्बन्धी विनियमावली २०७३ को विनियम २ (छ) मा प्राप्ति (एक्वीजिशन)भन्नाले एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई खरीद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्यसमेतलाई जनाउँछ ।त्यस्तै २(ज)अनुसार प्राप्त गर्ने संस्था (एक्वायरर)भन्नाले विनियम २(छ) बमोजिम अर्को इजाजतपत्र प्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल संस्था सम्झनुपर्छ ।विनियम २(झ) मा लक्षित संस्थाभन्नाले विनियम २(छ) बमोजिम खरीद गरेको संस्थालाई सम्झनुपर्छभनिएको छ । विनियम २(ञ) मा प्राप्ति (एक्वीजिशन) मा संलग्न संस्थाभन्नाले प्राप्त गर्ने संस्था (एक्वायरर) र लक्षित संस्था दुवैलाई सम्झनुपर्छभनिएको छ ।
समायोजनको सान्दर्भिकता
कम्पनी र बैंकिङ कानूनमा भएका गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी नीतिको चर्चापछि समायोजनको सान्दर्भिकता खोज्नु अघि समायोजन के हो भन्ने बुझ्नुपर्ने हुन्छ । समायोजनको अर्थ मिलाउने वा मिलान गर्ने काम भन्ने हुन्छ । शेयरबजारको सन्दर्भमा यसको प्रयोजन शेयरको मूल्यलाई मिलाउने भन्ने बुझिन्छ । शेयरबजारमा यस्तो अवस्था कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरेपछि सोही अनुपातमा कम्पनीको तत्काल कायम रहेको बजार मूल्यलाई मिलाउने भन्ने हुन्छ । बोनस वा हकप्रद शेयर जारी गर्न शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) का लागि कम्पनीको तोकेको दिन एक्सचेन्जले मूल्य समायोजन गर्छ । समायोजन पश्चात् मूल्यमा कमी देखिए पनि बुक क्लोज अघिका शेयरधनीको कित्ता बढ्ने हुँदा हिसाब भने बराबर हुन्छ । यसले शेयरधनीको सम्पत्तिमा तात्विक असर पर्दैन । 
समायोजनको बारेमा सामान्य बुझेपछि अब एनएमबी बैंकका साविकका शेयरधनीले ओम गाभिएपछि के लाभ पाए भन्ने प्रत्यक्ष प्रश्न आउँछ । अप्रत्यक्ष रूपमा दुई कम्पनी गाभिँदा व्यापार विस्तार हुँदा बढी लाभ प्राप्त हुने कुरालाई नकार्न सकिन्न तर, यो सुनिश्चित भने हुन्न र छैन । शेयरको बजार मूल्यबाट प्राप्त हुने लाभ र प्रतिफलबाट प्राप्त हुने लाभ दुई अलग कुरा हुन् । यद्यपि कम्पनीको आर्थिक सबलताले बजार मूल्य निर्धारण हुन्छ । तर, सबै अवस्थामा यही नियम लागू हुन्छ भन्ने पनि छैन । नेप्सेले विना आधार र कारण मूल्य समायोजन गरिदिँदा एनएमबीका शेयरधनीले ३१ रुपैयाँ क्षति व्यहोर्नुपर्यो । ओमको हकमा यसको अन्तिम मूल्यलाई आधार मान्दा ९० रुपैयाँ प्रत्यक्ष लाभ पाएका छन् । तर, के पनि स्मरणमा राख्नुपर्छ भने ओमको सबै शेयरधनीले बन्द हुँदाका मूल्यमा शेयर लिएका थिएनन् । स्मरणको लागि ओम बैंकको शेयर मूल्य कुनै बेला झन्डै ८ सय रुपैयाँको हाराहारीमा पनि पुगेको थियो । त्यति बेलादेखि धारण गर्नेले भने ९० रुपैयाँको लाभले लागतमा केही राहत मात्र पाएका छन् । बन्द मूल्यलाई मात्र हिसाब गरेर ओमका शेयरधनीले अकूत कमाए भनेर निरपेक्ष अनुमान गर्न सकिन्न । शेयरधनीले पाएको लाभ र हानिलाई सापेक्ष रूपमा मूल्यांकन गरिनुपर्छ ।  
अब के गर्ने ?
कम्पनी र बैंक सम्बन्धी ऐन एवं बैंक प्राप्ति वा गाभिने विनियम अनुसार गाभिने वा प्राप्ति हुने कम्पनीको अस्तित्व समाप्त भएर गाभ्ने वा प्राप्त गर्ने कम्पनीको अस्तित्वमा समाहित हुन्छ । यस हिसाबले हेर्दा गाभ्ने वा प्राप्त गर्ने कम्पनीको निरन्तरतालाई गाभिन वा प्राप्त हुन आएको कम्पनीले कुनै असर पर्दैन र नयाँ अस्तित्व पनि सिर्जना गर्दैन । गाभिने कम्पनीको सम्पत्ति र करारीय दायित्व समेत गाभ्ने कम्पनीले गरेसरह हुने हुँदा गाभ्ने कम्पनीको साविकको परिस्थितिमा कुनै तात्विक असर पर्ने देखिन्न । कम्पनी गाभिँदा गाभ्ने कम्पनीका शेयरधनीलाई कुनै तात्विक (प्रत्यक्ष मौद्रिक) लाभ देखिन्न भने मूल्य समायोजनको पनि औचित्य देखिन्न । निकट भविष्यमै नेप्सेमा कारोबार खुल्न लागेको ग्लोबल बैंक (जनता गाभेपछि) को कारोबार खोल्दा गाभिने सम्झौता गर्दाका बखत कायम रहेको मूल्यमा प्रस्तावित बोनस शेयरको मूल्य समायोजनसम्म गरी कारोबार खोल्नेतर्फ ध्यान जाओस् । दुई कम्पनी गाभिएपछि सिद्धान्ततः नयाँ कम्पनी बन्छ भनिए पनि व्यवहारतः पुरानै कम्पनीको निरन्तरता हो । गाभ्ने कम्पनीको बजारमा कायम रहेको मूल्यलाई निरन्तरता दिइयोस् । 
२६ कार्तिक, २०७६ आर्थिक अभियान दैनिक 


जलविद्युत्को शेयर : कहिले आउला भाउ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १२ ओटा समूहमध्ये एउटा जलविद्युत पनि हो । सरकारले जलविद्युत्मा लगानी गरेर समृद्धभइने र ज्वाइँ खोज्दै आउनेभने पनि मूल रूपमा सरकारकै कारण उत्साह आउन सकेन । सरकारपछि लगानीकर्ताका कारण पनि जलविद्युत् मात्र होइन, समग्र शेयरबजार प्रताडित भएको छ । समग्र शेयरबजारमा कमी आउनुमा केही हदसम्म सरकार कारक देखिए पनि लगानीकर्ता पनि कम अंशियार छैनन् । शेयरमा लगानी गरेर रातारात धनी हुन्छन् र भइन्छभन्ने सरकार र लगानीकर्ताको अतिवादी सोच त्याग्नुपर्ने देखिन्छ । 
जलविद्युत्को सारांश 
नेप्सेमा हालसम्म सूचीकृत ३२ ओटा जलविद्युत् कम्पनीको कुल चुक्ता पूँजी ५० अर्ब ५६ करोड ७८ लाख ४ हजार २ सय रुपैयाँ छ । सबैभन्दा ठूलो (जडित ४५६ मेगावाटको आधारमा) निर्माणाधीन तामाकोशी सूचीकरण भइसकेको छ । सबैभन्दा धेरै र थोरै पूँजी क्रमशः अपर तामाकोशी (१० अर्ब ५९ करोड रुपैयाँ) र वरुण हाइड्रोपावरको (२५ करोड ५१ लाख ५० हजार रुपैयाँ) छ । जलविद्युत् कम्पनीको बजार पूँजीकरण ९३ अर्ब ४० करोड ८७ लाख ६८ हजार ९ सय ६० रुपैयाँ र कुल बजार पूँजीकरणमा ६ दशमलव ४५ प्रतिशत योगदान छ । (नेप्से, १७ कात्तिक, २०७६) 
मनोगत होइन, यथार्थ 
कुनै बेला चिलिमे र बीपीसीको प्रतिशेयर मूल्य क्रमशः झन्डै ३ हजार र २ हजार रुपैयाँभन्दा माथि पुगेको थियो । हिमाल पावर (खिम्ती) मा रहेको १५ प्रतिशत लगानीबाट प्राप्त लाभांशले बीपीसीले र सञ्चित कोषबाट चिलिमेले राम्रै लाभांश बाँडिरहेका छन् । जलविद्युत् क्षेत्रका यी दुई कम्पनी अन्य कम्पनीका लागि पनि पथप्रदर्शक बन्ने अनुमान शेयर कारोबारी र लगानीकर्ताले गरेका थिए । तर, यस्तो अनुमान गर्नुका पछाडि मनोगतबाहेक तथ्यगत विश्लेषणको आधार थिएन । मनोगत विश्लेषणकै आधारमा तामाकोशीको शेयर मूल्य ५ हजार रुपैयाँसम्म पुग्ने भन्दै भित्रभित्रै २ हजार रुपैयाँसम्म किनबेच भयो । व्यावसायिक उत्पादनपश्चात् कम्तीमा ५ वर्ष वा त्योभन्दा बढी समय सञ्चालन घाटामा रहन सक्ने तथ्यगत विश्लेषणलाई अहिले पनि बेवास्ता गरिएको छ । आयोजना कहिले पूरा हुन्छ र लागत कति पुग्लाभन्ने अनिश्चितताको स्थिति देखिएपछि अहिले तामाकोशीलाई लागत चमेलिया र समय मेलम्चीभनिन थालिएको छ । लागत १ खर्व रुपैयाँ नाघ्ने सम्भावना (निर्माण अवधिको ब्याजसमेत) देखिन्छ । तामाकोशी वा अन्य जलविद्युत् कम्पनीको शेयर मूल्यमा बढोत्तरी आउन यसले दिने प्रतिफल अहम् पक्ष बन्छ । कुनै समय भारतमा एक व्यक्ति (हर्षद मेहता र केतन पारेख) वा संस्थाले बजार हल्लाउन सक्ने सामर्थ्य राख्थे । अब बजारलाई हल्लाउने यस्ता सामथ्र्यको दिन सकिएको छ । शेयर मूल्य कम्पनीको आर्थिक सबलताले निर्धारण गर्न थालिसकेको छ ।
जलविद्युत् स्थिर आम्दानी हुने क्षेत्र हो । आधार विक्री मूल्यमा बढीमा ९ पटक ३ प्रतिशतका दरले हुने मूल्य वृद्धिबाहेक अन्य कुनै प्रकारले पनि आम्दानी बढ्ने ठाउँ हुँदैन । जलविद्युत् कम्पनीलाई १० वर्षपछि आधा र १५ वर्षपछि पूरै आयकर लाग्छ । विक्री आयमा कमी नआए पनि आयकर, रोयल्टी, सञ्चालन, मर्मत र प्रशासकीय खर्च आदि बढ्दै जान्छ र परिणामस्वरूप प्रतिशेयर आयमा कमी देखिन्छ । 
किन घट्यो भाउ
धेरैको मनमा यही प्रश्न छ कि जलविद्युत् कम्पनीको शेयर भाउ किन घट्यो ?  के अब बढ्दैन ? कहिले बढ्छ ? यस्ता प्रश्न मात्र छन् तर यसको यथार्थता बुझ्नुको साटो फलानोव्यक्तिका कारण भनेर सत्तोसरापमा लागेको देखिन्छ । शेयर लगानी गरेर छिट्टै धनी हुने मनोकांक्षाका कारण शेयरबजारमा तीव्र गिरावट देखिएको हो । शेयरबजारमा लाभ नहुने होइन तर, एकै वर्ष वा त्योभन्दा कम समयमा हुँदैन । आफूले किन्नासाथ अर्कोले भाउ बढाएर किनिदेओस् भन्ने मनोकांक्षा सबैमा छ । तर, अरूलाई धनी बनाउने गरी किन्न को तयार हुने ? आर्थिक सबलता नै नभएको कम्पनीको शेयरमा लगानी गरेर बजारमा भाउ खोज्नु मूर्खता हो । रोपिएको बीउ सबै नउम्रने वा उम्रे पनि फल नदिएजस्तै प्राथमिक शेयर भन्नेबित्तिकै सबै राम्रो हुन्छ भन्ने हुँदैन । १ सय रुपैयाँमा किनेको हो, २ सय रुपैयाँ त गइहाल्छ भन्ने सोच अकबर बादशाहको दूधपोखरीबनाउने अभिलाषा विपरीत पानीपोखरीबने जस्तै हो । नगरवासीलाई अकबरको दूध ल्याएर हाल्नु भन्ने उर्दी विपरीत दूध त सबैले लगिहाल्छन्, म पानी लान्छुभन्ने सोचेर सबैले पानी लगेर हालेपछि दूध होइन, पानीपोखरीबने जस्तै बढेपछि बेचिहाल्छुभन्ने यस्तै सोच एकजना होइन, सबैले राखेका हुन्छन् । प्राथमिक वा दोस्रो बजारमा शेयर किन्ने सबैले यही सोच राखेपछि प्राथमिकमै लगानी नगरेका व्यक्ति आएर २ सय रुपैयाँमा किनिदिने प्रश्नै उठ्दैन । 
शेयर भनेको पूँजीको अंश हो, पूँजीको कमी पूरा गर्न शेयर जारी गरिन्छ । जारी गर्नासाथ लाभ वा प्रतिफल प्राप्त हुँदैन । यसका लागि एउटा निश्चित समय पूरा हुनुपर्छ । लगानी (शेयर) बाट लाभ प्राप्त हुन्छ भन्ने अपेक्षा मात्र हो, सुनिश्चितता होइन । शेयर जारी गर्दा प्रकाशन गरिने विवरणपत्रमा जोखिम पक्ष, जोखिम न्यूनीकरण, नाफाको अंक, नाफा वितरण गर्न सकिने सम्भावित समयको प्रक्षेपण गरिएको हुन्छ । लगानी अघि सोच्नु र बुझ्नुपर्ने यो पाटो गौण बनेको छ, जबकी मुख्य चुरो कुरो यसैमा अन्तनिर्हित हुन्छ । 
 निर्माणाधीन र लाइनविहीन 
अंकित मूल्यभन्दा तल झरेका अधिकांश जलविद्युत् कम्पनी निर्माणको चरणमा रहेका र निर्माण सम्पन्न भएर पनि प्रसारण लाइन नपाएका धेरै छन् । आयोजना निर्माणमा अनेकौं प्रशासकीय अवरोध र अन्य हस्तक्षेपले ढिलाइ हुँदा व्याज बढ्दा लागत पनि बढेको छ । प्राथमिकता प्राप्त क्षेत्रभन्ने सरकारी वाक्य अलंकार मात्र बनेको छ । यस्ता अनेकौं हन्डर र ठक्कर खाएर आयोजना बनिसक्छ तर, सरकार (नेपाल विद्युत् प्राधिकरण) ले प्रसारण लाइन बनाइदिँदैन । उदाहरणको लागि खानीखोला आयोजना व्यावसायिक उत्पादन भएको दिनदेखि उत्पादित बिजुली बेच्न नपाउँदा टाट पल्टिने स्थितिमा पुगेको छ । सिनर्जी पावर (सिप्रिङ खोला) ले अहिलेसम्म पूर्ण क्षमतामा बिजुली विक्री गर्न नपाउँदा वर्षेनि १० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेको छ । सिप्रिङ (सिनर्जी) जस्तै अन्य धेरै आयोजना प्रसारण लाइनको पीडामा परेर घाटा बेहोरिरहेका छन् । हेर्दा यो घाटा कम्पनी र त्यसको शेयरधनीको हो तर, यथार्थमा राज्यको हो । 
यसबाहेक आयोजनाले हिउँद र वर्षामा यति बिजुली दिन्छु भनेर घोषणा गर्नुपर्छ जुन विशुद्ध अनुमान मात्र हो र अनुमान मिल्छ भन्ने छैन तर प्राधिकरणले अनुमान नमिलेको भन्दै त्यसबापत क्षतिपूर्ति लगाउँछ । यस्तो क्षतिपूर्तिका कारण वर्षायाममा भएको विक्री आम्दानी हिउँदमा क्षतिपूर्ति तिर्दै सकिन्छ । प्रशासकीय र अन्य अवरोध, प्रसारण लाइनको अनुपलब्धता, पाइहाले पनि घोषणाको क्षतिपूर्ति तिर्दै रकम सकिएपछि कम्पनीको आर्थिक सबलता कसरी देखिन्छ र शेयरको भाउ बढ्ला
अन्त्यमा, अधिकांश जलविद्युत् कम्पनी सरकारकै कारण धराशयी बनेका हुँदा आर्थिक रूपमा सबल बन्न नसक्दा शेयर मूल्य घटेको हो । अर्को एउटा कारण भनेको माथि विभिन्न अनुच्छेदमा चर्चा गरिएको रातारातमालामाल हुनुपर्ने मानसिकता पनि एक हो । केही कम्पनी अधिक पूँजीको भारले थिचिएका कारण बिक्री आम्दानी उही भए पनि गुणात्मक (प्रतिशेयर) आम्दानीमा कमि हुँदै गएको कारण शेयर मूल्य घट्दै गएको पाटोलाई पनि बेवास्ता गरिएको छ । सरकारले प्रशासकीय र अन्य रूपमा हुने अवरोधलाई निमिट्यान्न पारेर बाधारहित वातावरण र प्रसारण लाइनको सुनिश्चित गरिदिनुपर्छ भने लगानीकर्ताले पनि पनि तातै खाऊँ जली मरूँभन्ने शैली त्यागेर गुण दोषको आधारमा लगानी बढाउनुपर्छ ।

१९ कार्तिक, २०७६ आर्थिक अभियान दैनिक 


भारित औसत कार्यान्वयनमा कानूनी सुधार


आर्थिक वर्ष (आव) २०७५/७६ को बजेट वक्तव्य लगत्तै आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरलाई अंकित मूल्यमा गणना गरी लाभकर उठाउन निर्देशन दिएपछि शुरू भएको लाभकर सम्बन्धी विवाद लगभग समाप्त भएको छ । आव २०७६/७७ को आर्थिक विधेयकले आयकर ऐन २०५८ मा दफा ९५क(२) पछि ९५क(२)क थप गरी लाभकर गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नुपर्नेछभन्ने व्यवस्थापछि साउन १ गतेदेखि शेयरधनीले स्वघोषणा गर्दै दलाल कार्यालयमा गएर हस्ताक्षर गर्नुपर्ने स्थिति आयो । यही अवस्थालाई अन्त्य गर्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस) ले विधिवत् रूपमा भारित औसत गणना गर्न विद्युतीय प्रणाली लागू गरेको छ । प्राविधिक जटिलता बिस्तारै समाधान हुँदै गए पनि कानूनी जटिलताका बारेमा भने केही सुधारको आवश्यकता देखिएको छ । 
के हो भारित औसत 
साधारण अर्थमा भारित औसत वा औसतलाई एकै अर्थमा बुझ्न सकिन्छ । जोड, घटाउ, गुणन, भाग र प्रतिशत जस्तै औसत पनि व्यावहारिक गणित भएकाले कुनै विद्यालय, महाविद्यालय वा विश्वविद्यालयको औपचारिक प्रमाणपत्र चाहिँदैन । दैनिक क्रियाकलापमा विभिन्न मूल्यमा सामान किनिएको हुन्छ र त्यसको सरदर लागत कति पर्यो होला भनेर हिसाब गरिएकै हुन्छ । यही नै औसत वा भारित औसत हो । सामान जस्तै शेयर पनि विभिन्न मूल्यमा किनिएको हुन्छ । सामान्यतया शेयर अंकित (१ सय रुपैयाँ), प्रिमियम (अंकित मूल्यमा थप रकमसहित), दोस्रो बजार र लीलामीबाट किनिन्छ । यसबाहेक हकप्रद र बोनसबाट पनि शेयर प्राप्त हुन्छ । यी दुवैको मूल्य १ सय रुपैयाँ हुन्छ । यसरी विभिन्न विधिबाट प्राप्त भएको शेयरको मूल्य जोडी त्यसलाई कित्ताले भाग गर्दा औसत लागत प्राप्त हुन्छ, यसलाई नै भारित औसत नाम दिइएको हो । पूँजीमा नाफा भएमा पूँजीगत लाभकर तिर्न यस्तो विधि अवलम्बन गरिएको हो । मूल्य सम्बन्धी यी साना तर, महत्वपूर्ण पक्ष बुझेपछि शेयर कारोबारमा के गर्ने भन्ने विषयमा केही हदसम्म निष्कर्षमा पुग्न सकिने आधार प्राप्त हुन सक्छ ।
हकप्रद र बोनसमा जटिलता 
हुन त भर्खर सीडीएसले भारित औसत गणनालाई विद्युतीय स्वरूपमा ढालेको हुँदा धेरै अपेक्षा एकैपटक गरिहाल्नु हुँदैन तर, पनि तत्काल गर्न सकिने कुरालाई सम्बोधन गर्नुपर्ने हुन्छ । भारित औसतको गणनामा मुख्य रूपमा हकप्रद र बोनसले भने निकै सताउने देखिएको छ । पहिले पनि हकप्रद र बोनसपछिको समायोजित मूल्यले घाटामा कर तिराएको थियो । अहिले पनि त्यो सिलसिलाले निरन्तरता पाउने देखिएको छ । उदाहरणको लागि कुनै कम्पनीले २० प्रतिशत बोनस शेयरसहित साधारणसभाका लागि बुक क्लोज गर्नासाथ मूल्य समायोजन हुन्छ । तर, शेयरधनीको नाममा उक्त बोनस शेयर आइपुग्न महीनौं लाग्छ । कुनै व्यक्तिले उक्त कम्पनीको शेयर ५ सय रुपैयाँका दरले १ सय कित्ता किनेको छ भने उसको लागत कमिशन र अन्य दस्तुरबाहेक ५० हजार रुपैयाँ हुन्छ र सोही किनिएको मूल्य नै औसत लागत हुन्छ । बुक क्लोज हुँदा उसको औसत लागत मूल्य ४ सय १६ रुपैयाँ हुन्छ तर, खातामा बोनस शेयर आइनसकेको हुँदा विधिवत् औसत गर्न सकिँदैन र किनेको माउ (१ सय कित्ता) शेयर बेचेमा उसको भारित औसत किनेकै मूल्य (५ सय रुपैयाँ) हुन्छ । ४/५ महीनापछि हिताग्राही खातामा २० कित्ता बोनस शेयर आउँदा त्यसको औसत मूल्य अंकित मूल्य (१ सय रुपैयाँ) नै कायम हुन्छ । ४ सय १६ रुपैयाँ लागत भएको शेयर भए पनि बोनस शेयर ढिला आएका कारण माउ शेयर बेचिसकेको अवस्थामा बोनसको औसत मूल्य १ सय रुपैयाँ कायम हुन्छ र बेच्दा त्योभन्दा बढीको लाभकर तिर्नुपर्ने हुँदा यहाँ घाटामा कर तिर्नुपर्छ । यस्तै समस्या हकप्रदमा पर्ने स्थिति छ । 
समाधानको बाटो 
भारित औसत गणनामा त्रुटि रहेका केही प्राविधिक विषय पनि होलान् र छन् पनि । यस्ता समस्या उपयोग गर्दै जाँदा देखिन्छ र यसरी देखिएका विषय समाधान हुँदै जानेछ । प्राविधिक बाहेक कानूनी प्रश्नका केही पाटाको समाधान भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डले गर्नुपर्ने हुन्छ । बोनस शेयर हितग्राही खातामा जम्मा हुन लाग्ने समयको समाधानमा नेप्से र बोर्ड नलागेका कारण यस्तो भएको हो । साधारणसभाले पारित गरेको महीनौं बितिसक्दा पनि प्रशासकीय प्रक्रियाका कारण सभाले पारित गर्नासाथ सूचीकरणमा आउन सक्दैन । 
नेपालमा लाभांश वितरणमा अपनाइएको विधि नै गलत हुनु पनि हो । साधारणसभामा प्रस्ताव मात्र पारित गराउनुपर्नेमा लाभांश वितरण गर्ने प्रस्ताव लगिन्छ र लाभांश वितरणकै लागि बुक क्लोज गरिन्छ । सिद्धान्ततः यस्तो विधि गलत हो । कम्पनीको सर्वोच्च निकाय साधारणसभा हो । साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित प्रस्ताव (लाभांश) पारित गर्छ भन्ने हुन्न र सभालाई प्रस्ताव अस्वीकार गर्ने अधिकार निहित छ । प्रचलनमा कम्पनीले प्रस्ताव गरेको लाभांश (नगद वा बोनस) साधारणसभाका लागि हुने बुक क्लोजकै बेला मूल्य समायोजन (तोकिएको शर्तअनुसार नगद लाभांशको पनि) गर्ने गरिएको छ । सभाले कथंकदाचित् प्रस्तावित लाभांश स्वीकार गरेन भने समायोजित मूल्यअनुसार भएको कारोबार के हुने भोलिका दिनमा जटिल स्थिति आउनसक्ने सम्भावनालाइ टार्न सकिँदैन । यो विषयमा नेप्से र बोर्ड जानकार छैनन् भन्ने पनि हैन तर, पनि यी दुई निकाय कानमा तेल हालेर बसेका छन् । 
यो समस्या होइन, तर जटिलता थप्ने कार्य मात्र हो । यसको लागि साधारणसभाको बुक क्लोजमा रहेको त्रुटि सच्याउन दुईपटक बुक क्लोज मिति निर्धारण गर्न एउटा परिपत्र मात्र गरे पुग्छ । पहिलोपटकको बुक क्लोज अहिले जस्तै सभा आव्हान भएको सातौं दिन र सभाले प्रस्ताव (नगद वा बोनस वा दुवै) पारित गरेपछि पुनः अर्को बुक क्लोज मिति तय गरी लाभांश वितरण गर्न जरुरी भएको छ । नगद लाभांशका लागि सभा सकिएको १५ दिनभित्र र बोनस लाभांश वितरण गर्न प्रशासकीय निकायमा दर्ता र अभिलेख गरेपछि ७ दिनअघि बुक क्लोजको सूचना दिई बुक क्लोज गरी सो मितिसम्म कायम हुने शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएपछि सूचीकरण गराउन सकिने सरल र सहज बाटोको कार्यान्वयनमा नेप्से र बोर्ड लाग्नुपर्छ । यसो गर्दा औसतमा लागत गणना गर्न सहज हुन्छ ।
हकप्रदको हकमा भने अहिलेको स्थितिमा आमूल परिवर्तन गर्नु जरुरी भइसकेको छ । कागजी युगमा झैँ आवेदन गर्नै ३५ दिनको अवधि औचित्यहीन भइसकेको छ । हकप्रदको लागि आवेदन, बाँडफाँट र सूचीकरण गर्ने समय प्रारम्भमा बढीमा १ महीना र पछि यसलाई अझ छोट्याएर ७ दिनमा नै सूचीकरण हुने व्यवस्था मिलाउनुपर्छ । अहिले जस्तो हकप्रदका लागि बुक क्लोज गरेर निकै दिनपछि आव्हान र विवरणपत्र प्रकाशन गरी आवेदन लिने कार्यको सट्टा सबै तारतम्य मिलाई बुक क्लोजकै दिनदेखि आवेदन लिने प्रक्रिया अवलम्बन गर्नुपर्छ । यसलाई प्राथमिक शेयर जस्तै ३/४ कार्य दिन आवेदन मिति कायम गरी हप्ता दिनमै सूचीकरण गराउन सकिन्छ । हकप्रदमा हकभन्दा बढी आवेदन गर्न पाइने नियम आउन लागेको हुँदा लिलामीको प्रसंग अब नआउन पनि सक्छ । आइहालेमा पनि लीलामी हुँदै गर्छ, वितरित हकप्रद सूचीकरण गर्नमा कुनै बाधा पर्दैन र छैन । 
हकप्रद र बोनसको सम्बन्धमा यति कार्य हुनासाथ शेयरधनीलाई औसत लागत निकाल्न सहज र सरल हुने हुँदा नेप्से र बोर्डले अविलम्ब कदम चाल्नु आवश्यक छ । 

५ कार्तिक २०७६, आर्थिक अभियान दैनिक 


Thursday, October 17, 2019

म्युचुअल कि मनपरी फन्ड


सिद्धार्थ बैंक प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमनामक सामूहिक कोष (म्युचुअल फन्ड) को अवधि सकिएको छ । अवधि सकिएसँगै योजना खारेज गरी एकाइधनीलाई रकम फिर्ता शुरू गरे पनि रकम फिर्ता प्रक्रिया विवादमा परेको छ । यस अघि यही समूहको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ को अवधि समाप्तिपछि फिर्ता भुक्तानीमा यस्तो विवाद आएको थिएन । त्यस्तै, नबिल बैंक प्रवर्द्धक र नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नविल ब्यालेन्स फन्ड १ पनि सहज रूपमा खारेज भएको थियो । यस आलेखको ठाउँठाउँमा परेका फन्ड, कोष वा योजना शब्दलाई एकै अर्थमा बुझ्नुपर्नेछ । 
विवादको जड 
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ नामक पाँचवर्षे योजना व्यवस्थापन गरिरहेको सिद्धार्थ क्यापिटलले दोस्रो योजनाका रूपमा २०७१ साउन ६ गतेबाट सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम नामक अर्को पाँचवर्षे योजनासमेत व्यवस्थापन गरेको थियो । यही योजना २०७६ साउन ६ गते परिपक्व भयो । यस्ता योजना नवीकरण नहुने हुँदा अवधि सकिएपछि अनिवार्य खारेजीमा गएर एकाइधनीलाई मूलधनसहित आर्जित सम्पत्ति फिर्ता गर्नुपर्छ । व्यवस्थापकले योजना अवधिसम्म विक्री गर्न नभ्याएको, गाभिने र विलयमा गएका कम्पनीको शेयर लीलामीमार्फत विक्री गर्‍यो । व्यवस्थापकले प्रकाशन गरेको असार मसान्तसम्म कायम रहेको प्रतिएकाइ खुद सम्पति ११ रुपैयाँ ३१ पैसा र साउन ४ सम्म कायम रहेको साप्ताहिक विवरण अनुसार प्रतिएकाइ खुद सम्पत्ति ११ रुपैयाँ ३३ पैसा थियो । समयावधिभित्र विक्री हुन बाँकी सम्पत्ति विक्री गर्दा प्रतिएकाइ ११ रुपैयाँ ५० पैसा वा त्योभन्दा केही बढी हुनसक्ने अनुमान एकाइधनीले गरेका थिए । योजना अवधि सकिएको ३ महीनाभित्र बाँकी रहेको सम्पत्ति (शेयर ऋणपत्र आदि) विक्री गरी योजना खारेज गर्नुपर्ने कानूनी व्यवस्थाअनुरूप व्यवस्थापकले बाँकी रहेको सम्पत्ति विक्री गर्न भदौ १६ गतेदेखि २२ गतेसम्म लीलामीको लागि सूचना प्रकाशन गर्‍यो । 
सम्पत्ति लीलामी विक्रीपश्चात् कायम हुन आएको खुद सम्पत्ति एकाइधनीलाई एकाइधनीकै बैंक खातामा असोज १६ गतेदेखि जम्मा गरिने सूचना प्रकाशन गरेको थियो । दशैं पर्वको पूर्वसन्ध्यामा लगानीबाट लाभ प्राप्त हुनु एकाइधनीका लागि खुशीको समाचार भए पनि रकम प्राप्त हुँदा झस्किनु परेको थियो । प्रायः सबै धारकले साउनको पहिलो हप्ता कायम रहेको खुद सम्पत्तिको आधारमा आफूले पाउन सक्ने रकम अनुमान गरिसकेका थिए । तर, रकम प्राप्त हुँदा कसैलाई प्रतिएकाइ १८ रुपैयाँको दरले र कसैलाई ६ रुपैयाँको दरले प्राप्त भएको थियो । अचम्म के थियो भने रकम फिर्ता सूचनामा प्रतिएकाइ कति रुपैयाँका दरले फिर्ता गर्न लगिएको भन्ने उल्लेख थिएन । सामान्यतया यस्ता फन्डले योजना खारेजीपछि प्रतिएकाइ कति रुपैयाँका दरले रकम फिर्ता गर्न लागिएको हो सो कुराको जानकारी सूचनामा दिनुपर्छ । रकम फिर्ता गर्दा एकैपटक नगरेर पटकपटक वा अन्तरिम रूपमा समेत गर्न सक्छन् । उदाहरणका लागि यस्ता कोष सम्बन्धी छुट्टै कानुन बन्नु अघि एनआईडीसी क्यापिटल मार्केट्स (हाल सनराइज बैंकमा विलय भएको) ले प्रवर्द्धन र व्यवस्थापन गरेको एनसीएम म्युचुअल फन्डले सम्भवतः ४ पटक गरेर भुक्तानी गरेको थियो । यस अघिका दुई योजना सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र नबिल ब्यालेन्स फन्ड १ ले रकम फिर्ता भुक्तानी गर्दा प्रकाशन गरेको सूचनामा प्रतिएकाइ यति रकम भनेर किटिएको थियो । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमलाई फिर्ता भुक्तानी रकम किटान गर्न के कुराले बाधा पुर्‍याएको थियो भन्ने कुरा कतै खुल्दैन । जसको सम्पत्ति लिएर कोष चलायो, उसैलाई त्यसको यथोचित जानकारी नदिनु बेइमानीको अधिकतम पराकाष्ठा हो । अनौपचारिक रूपमा एकाइधारकले व्यवस्थापकसँग लिएको जानकारी अनुसार प्रतिएकाइ ११ रुपैयाँ ४९ पैसा फिर्ता गरिएको भनिए पनि खातामा भनिए जति रकम पठाएन । बढी रकम भुक्तान गरिएका धारकको बैंक खाताबाट धारकलाई जानकारी नै नदिई खुसुक्क रकम तानिएको छ । बैंकले पनि आफ्नो ग्राहकको खातामा आएको रकम व्यवस्थापकले लैजान्छु भन्नासाथ फिर्ता लाने अनुमति किन के आधारमा दिए ? के आफ्नो ग्राहकप्रतिको जिम्मेवारी बैंकले लिनु नपर्ने हो ? बढी रकम गएको (प्रतिएकाइ फिर्ता रकम औपचारिक जानकारी नगराएको हुँदा घटी वा बढी भन्ने आधार थिएन) भन्ने आधारमा तानिएको छ तर, कम रकम (यसको पनि आधार छैन) गएकालाई थप गरिएन । बढी रकम तुरुन्त फिर्ता लिन सक्नेले कम रकम गएकालाई तुरुन्त थप गरिदिनु पर्ने हो कि होइन ? प्रश्नको उत्तर धारकले यथासमयमा पाएनन् । यस विषयमा व्यापक प्रश्न उठेपछि व्यवस्थापकले १२ दिनपछि झाराटाराइ वक्तव्य निकालेर प्रतिएकाइ फिर्ता गरिएको रकम ११ रुपैयाँ ४९ पैसा हो भनेर औपचारिक जानकारी गराएको छ । 
बेजिम्मेवारहरू 
कोष सञ्चालन गर्न अनुमति दिने निकाय नेपाल धितोपत्र बोर्ड हो । कोष प्रवद्र्धक नेपाल राष्ट्र बैंकबाट वर्गको इजाजतप्राप्त सिद्धार्थ बैंक, प्रवद्र्धककै कम्तीमा ५१ प्रतिशत शेयर रहेको बोर्डबाट योजना व्यवस्थापन गर्न अनुमतिप्राप्त सिद्धार्थ क्यापिटल व्यवस्थापक हो । एकाइधनीको अभिलेख राख्ने डिपोजिटरी पनि व्यवस्थापक आफै हो । यसका साथै प्रवद्र्धकले फरकफरक क्षेत्रका तोकिएका योग्यता पुगेका कम्तीमा ५ जना विशिष्ट व्यक्तिलाई सुपरिवेक्षकका रूपमा नियुक्त गरेको हुन्छ । सुपरिवेक्षकको भूमिका व्यवस्थापकको भन्दा बढी हुन्छ । सामूहिक कोष नियमावली २०६७ को नियम १९ मा सुपरिवेक्षकको काम, कर्तव्य र अधिकार तोकिएको छ । उक्त नियम अनुसार (१) सहभागी (एकाइधनी) को हित संरक्षण गर्ने, (२) योजना व्यवस्थापक तथा डिपोजिटरीको कामकारबाहीको सुपरिवेक्षण गर्ने, (३) योजनाको खुद सम्पत्ति मूल्यको जाँच गर्ने, (४) योजना अन्तर्गतको सम्पत्ति तथा कागजातहरू सुरक्षित साथ राखिए नराखिएको सुपरिवेक्षण गर्ने र (५) व्यवस्थापकले राखेको अभिलेख दुरुस्त रहे नरहेको सुपरिवेक्षण गर्ने लगायतका छन् । तर, यी काम कर्तव्यबाट सुपरिवेक्षक चुकेका छन् र सहभागीको हित संरक्षण हुनसकेको छैन । नियमावलीले व्यवस्थापकको पनि कामकर्तव्य तोकेको छ तर, सुपरिवेक्षक नै एकाइधनीको हित भक्षक बनेका हुँदा व्यवस्थापक र डिपोजिटरी गौण जस्तै बनेका छन् । यद्यपि व्यवस्थापक र डिपोजिटरी पनि गैरजिम्मेवार बनेकै हुन् । 
बोर्ड पनि बेजिम्मेवार 
म्युचुअल फन्ड सञ्चालन गर्न अनुमति दिने बोर्ड यस मामलामा एक शब्द उच्चारण नगरी बस्नु अर्को आश्चर्य हो । बोर्ड लगानीकर्ताको सर्वोच्च हित संरक्षक हो । तर, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले गरेको गतिविधिलाई लिएर यसको प्रवर्द्धक, व्यवस्थापक र सुपरिवेक्षकलाई के भएको भनेर सोधेको सार्वजनिक रूपमा जानकारी गराएको छैन । के उसो भए सहभागीको सर्वोच्च हित संरक्षक बोर्डको मौन स्वीकृति प्रवर्द्धक, सुपरिवेक्षक र व्यवस्थापकले पाएका हुन् ? वा बोर्डले यिनलाई अभयदान दिएको हो ? बोर्डले यथाशीघ्र यस विषयमा छानविन गरी प्रवर्द्धक सिद्धार्थ बैंक, व्यवस्थापक सिद्धार्थ क्यापिटल र सुपरिवेक्षकलाई ५ वर्षसम्म कालोसूचीमा राखी यस्ता कोष प्रवर्द्धन, व्यवस्थापन र सुपरिवेक्षण गर्न नपाउने गरी रोक लगाउनुपर्छ । लापरबाहीको पराकाष्ठा नाघेको हुँदा यही समूहले प्रवर्द्धन र व्यवस्थापन गरीरहेको सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ नामक कोषलाई अहिले नै खारेजीमा लानेतर्फ पनि सोच्नुपर्ने भएको छ । अबका दिनमा यस्ता व्यवस्थापन गर्ने जिम्मेवारी प्रवर्द्धकको कुनै स्वार्थ नहुने तेस्रो पक्षलाई दिनुपर्ने र सुपरिवेक्षकको भूमिका संस्थागत निकायलाइ दिने गरी कानून संशोधनको प्रक्रिया अविलम्ब अघि बढाओस् ।
आर्थिक अभियान दैनिक, २८ असोज, २०७६
https://www.abhiyandaily.com/newscategory-detail/359475


पर्व र अर्थको अध्यात्म


दशैं पर्वसँग आएर तिहारसँग शरदको याम बिदा हुन्छ । पूर्वीय पात्रोअनुसार असोज र कात्तिक महीना शरदऋतु हो । वर्षायामको समाप्ति र हिउँद यामको शुरुआत हुनुअघिको शारदीय यामलाई सामवेदमा वर्षाण्यनु शरदो हेमतः शिशिर इन्नु रन्त्यअर्थात् वर्षा (साउनभदौ) ऋतुपछि आउने शरद, हेमन्त र शिशिर ऋतु आनन्ददायक हुन्छ भनिएको छ । शारदीय याममा धानका बालाले खेल्ने बयेली, आकाश जस्तै नीला नदी, जाडो न गर्मीयुक्त समय हुनुका कारण सामवेदले यसो भनेको हो । अघिपछि कहिल्यै नबज्ने नेपालकै मौलिक मालश्री धुन घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म बजाइन्छ । दशैं (पर्व) एक तर, प्रभाव अनेक छ । 
पर्वका चार पक्ष 
कुनै पनि पर्वका चारओटा महत्त्वपूर्ण पक्ष हुने हुँदा फजूल खर्च वा आडम्बर मात्र पनि ठान्नु हुँदैन । पहिलो, आफ्नो सांस्कृतिक विरासत पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने अवसर हो । त्यसैले यजुर्वेदमा सा प्रथमा संस्कृतिर्विश्ववाराभनिएको हो । दोस्रो, समाजमा भ्रातृत्व, मैत्रेय, सद्भाव, प्रेम र स्नेह जगाउने उत्तम अवसर पर्व हो । ऋग्वेदले पर्वको सामाजिक पक्षलाई इंगित गर्दै आनो भद्राः क्रतवो, यन्तु विश्वतःअर्थात् सबैतिरबाट शुभ प्राप्त होस् र अन्यो अन्यमभिर्यत’ (एकअर्कासँग प्रेम बढ्छ) भनेको छ । तेस्रो, चार पुरुषार्थ मध्येको एक पुरुषार्थ धर्म हो । मानवले धारण गरेको नीति-नियम, सदाचार र आचार-विचार नै धर्म हो । मनुले इति धारयते धर्मभनेका छन् । त्यस्तै, चाणक्यले सुखस्य मूलम् धर्मभनेका छन् । शास्त्रले धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षतः । तस्माद्धर्मो न हन्तव्यः मा नो धर्मो हतोवधीत् ।। अर्थात् नाश भएका धर्मले नाश गर्छ, रक्षा गरेका धर्मले रक्षा गर्छ । त्यसैले नाश हुने धर्मले कहिल्यै नाश नगरोस् भन्नका लागि कहिल्यै धर्मको नाश गर्नु हुँदैन । त्यसैले, पर्वको धार्मिक स्थान महत्त्वपूर्ण छ । चौथो, पक्षका रूपमा आर्थिक पक्ष अत्यन्त महत्त्वपूर्ण छ । पर्वमा हुने खर्चले मुद्रा परिचालन बढाउँछ र यसले देशको आर्थिक विकासमा गति ल्याउँछ । 
जीवन र धन 
पर्वका चार पक्ष भएजस्तै मानव जीवनका पनि चारै पक्ष छन् । धर्म, अर्थ, कर्म र मोक्ष चार पुरुषार्थ हुन् । मानव यी चार कुरा प्राप्तिको मार्गमा लाग्नुपर्ने हुन्छ । अर्थशब्द ऋग्धातुबाट बनेको छ । यसको अर्थ गति हो । जीवन गतिशील हुनु नै अर्थ हो । अर्थलाई मानव जीवनको मूलशास्त्र मानिएको छ । चाणक्यले मनुष्याणां वृत्तिरर्थः मनुष्यवती भूमिरित्यंर्थः । त्यस्याः पृथिव्यां लाभपालनोपायःअर्थात् मानिसको व्यवहार वा जीविका, मनुष्ययुक्त भूमिको नाम, भूमि प्राप्त गर्ने र रक्षा गर्ने शास्त्रलाई अर्थशास्त्रभनेका छन् । अर्थको विषयमा आचार्य वात्स्यायनले कामसूत्रमा विद्या भूमिहिरण्य पशुधान्य भाण्डोपस्कर मित्रादीनामर्जनमर्जितस्य विवर्धनमर्थअर्थात् विद्या, सुनचाँदी, धनधान्य, भाँडावर्तन, काठपात, घरगृहस्थी र मित्र सबै अर्थ हुन् भनेका छन् । ऋग्वेदमा रयी दवो दुहितरो विभातीः प्रजावन्तं यच्चातास्मु देवीःअर्थात् हे ! ईश्वर हामीलाई धन र सन्तानबाट परिपूर्ण गर्नुहोस् भनिएको छ ।
धनार्जनको बाटो 
माथिका दुई अनुच्छेदमा पर्व र जीवनका विविध पक्षका बारेमा सामान्य चर्चापश्चात् जीवनलाई सुखमय बनाउने बाटो धनार्जन के कसरी हुन्छ वा गर्न सकिन्छ भन्ने बारेमा संक्षेपमा चर्चा गरिन्छ । सम्पत्ति वा धन प्राप्त हुने बाटो अनेकौं हुन्छन् । देवर्षि नारदले १२ ओटा र मनुले सातओटा विधि बताएका छन् । मनुले सप्त वित्तगमा धर्मा दायो लाभः क्रयो जयः । प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ।।अर्थात् दाय (उत्तराधिकार वा अंश), लाभ (व्यावसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदि सेवाबाट प्राप्त पारिश्रमिक), सत् प्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ भनेका छन् । आधुनिक समयमा पनि धन प्राप्त हुने विधि यिनै सातओटा हुन् । 
महाभारतमा उद्योगं पुरुषलक्षणम्’ (उद्योग पौरखीको लक्षण हो) भनिएको छ । धनार्जनको बाटो सहज छैन कठिन छ त्यसैले मज्ज्यन्त्य विचेतः’ (ज्ञानविना धोका खाइने) तथा अनुब्रुवाणो अध्येति न स्वपन्’ (अभ्यासबाट सिकिने) हुँदा लगानीका कुनै पनि क्षेत्रमा प्रवेश गर्नुअघि त्यसका बारेमा जानेर बुझेर मात्र लाग्नुपर्छ । लगानीमा सुझबुझको महत्त्वलाई यजुर्वेदमा अशिक्षायै प्रश्निनम्भनिएको छ । देवर्षि नारदले यत्रश्रीर्यौवनं वापि परदारोपि तिष्ठति । तत्र सर्वान्धिता नित्यं मूर्खत्वं चापि जायते’ (जहाँ धन, यौवन र परस्त्री हुन्छ, त्यहाँ सबै अन्धा र मूर्ख हुन्छन्) भनेका छन् । ऐतरेय ब्राह्मणले इन्द्र इच्चरतः सखालगनशील व्यक्तिलाई सदा ईश्वरले साथ दिन्छन् भनेका छन् । महाभारतमा उत्थानं संयमो दाक्ष्यमप्रमादो धृतिः स्मृतिः । समीक्षं च समारम्भो विद्धि मूलं भवस्य तुअर्थात् उद्योग, संयम, दक्षता, सावधानी, धैर्य, स्मृति र सोचविचार नै उन्नतिको मूल होभनिएको छ । धनार्जनको बाटोमा हिँड्दा आप्mनो बुद्धिविवेकको बढी उपयोग गर्नुपर्ने तथ्यलाई मनन गराउन ऋग्वेदमा न स्रेधन्तं रयिर्नशतभनिएको छ । 
शेयरबजारमा लगानी 
महर्षि मनुले भनेका धन कमाउने सातओटा बाटामध्ये शेयर लगानीलाई लाभ (व्यावसायिक नाफा), प्रयोग (लगानी) र क्रय (खरीद)को स्वरूप मान्न सकिन्छ । तर, यसरी लगानी गर्नुअघि सोचविचारको पनि उत्तिकै भूमिका हुन्छ । शेयरबजारमा हुने लगानी जोखिमयुक्त हुन्छ । तर, शेयरबजारबाट अथाह लाभ पनि हुन सक्छ । कसरी लाभ लिने भन्नेमा आफ्नो रणनीतिक योजना, लगानी गरिने कम्पनीका बारेमा पर्याप्त जानकारी लिनु आवश्यक हुन्छ । यस्ता जानकारी कम्पनीले त्रैमासिक रूपमा प्रकाशन गर्ने वित्तीय विवरण, वार्षिक प्रतिवेदन, व्यवसाय नियमन गर्ने सम्बद्ध कानून, नियामकीय निर्देशन र परिपत्र, देशीय अर्थतन्त्र आदिको पनि ज्ञान लिनुपर्छ । शेयर लगानी गर्दा वार्षिक प्रतिफललाई एउटा आधार बनाएमा दीर्घकालमा राम्रो लाभ पाउन सकिन्छ । 
भद्रं कर्णेभिः श्रणुयामराम्रा कुरा सुनेर (ज्ञान लिएर) शेयरबजारमा लगानी गर्न सकिन्छ । शेयरबजार अत्यन्त जोखिमयुक्त लगानीको क्षेत्र भएकाले ऋग्वेदमा भनिएको अचेतनस्य पथः मा विदृक्षः’ (अज्ञानको बाटोमा) लागेर धनार्जन हुँदैन भन्ने तथ्यमा ध्यान दिनुपर्छ । थाहा नभएको र नबुझेको क्षेत्रमा लगानी गर्दा त्यसबाट पनि लाभ पाउन सकिँदैन । अकेतवे केतुं कृण्वन्’ (अज्ञानीलाई ज्ञान देऊ) भनेर ऋग्वेदमा भनिएको हुँदा ज्ञान लिने विषयमा लगानी गर्दा सचेत हुनुपर्छ । ज्ञान मात्र लिएर हुँदैन प्रयत्नशील पनि हुनुपर्छ भनेर अथर्ववेदमा सहो रूरोह रोहितःभनिएको छ । पाएको ज्ञानको सदुपयोग गरेर उन्नति गर्नु अवनति हुने कार्य नगर्नु भनेर अथर्ववेदमा नै उद्यानं ते पुरुष नावयानम्भनिएको छ । रमन्त्यां पुण्या लक्ष्मीः’ (इमानदारीपूर्वक आर्जन गरेको धन दिगो हुन्छ) भनेर अथर्ववेदले बताएको छ । 
महाभारतको शान्तिपर्वमा आसीनश्च शयानश्च विचरन्नपि वा स्थितः । अर्थ योगं दृढं कुर्याद् योगरुचावाचैरपि ।अर्थात् जागृत र सुषुप्त हरेक अवस्थामा अर्थ प्राप्तिको बाटोमा लागेर आय बढाउनुपर्छ भनिएको छ । तर, मनुले अक्लेशेन शरीरस्य कुर्वीत अर्थ संश्रयम्अर्थात् शरीरलाई कष्ट दिएर धन कमाउनु हुँदैन भनेका छन् । 

आर्थिक अभियान दैनिक, १४ असोज २०७६


सेन्सेटिभ इन्डेक्सको नालीबेली


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गणना गरिरहेको सेन्सेटिभ इन्डेक्सको विषयमा एउटा अनलाइन पत्रिकाले प्रश्न उठाएपछि नेप्से र उक्त पत्रिकाबीच जुहारी चल्यो । पत्रिकाले सम्पादकीय समेत लेख्यो । तर, नेप्सेका जिम्मेवार तहमा रहेका अधिकारीले यसको जिम्मेवारी लिएको देखिएन । समाचार आए लगत्तै नेप्सेले विज्ञप्ति निकालेर स्पष्टीकरण दिन खोजे पनि त्यो पर्याप्त देखिएन । नाम र पद नलेखी हस्ताक्षर मात्र गरिएको विज्ञप्तिले तथ्य लुकाएको देखियो । सेन्सेटिभ इन्डेक्स गणनाको विषयमा विज्ञप्ति निकाले पनि त्यसमा परेका कम्पनी आमसर्वसाधारणले देख्ने गरी नेप्सेको वेबसाइटमा नराखी विषय उठान गर्ने पत्रिकालाई मात्र दिइयो । पत्रिकालाई दिन हुने कम्पनीको सूची नेप्सेको वेबसाइटमा नअटाउनु आश्चर्यलाग्दो छ । 
केही कुरा इन्डेक्सको 
सेन्सेटिभ इन्डेक्सको नालीबेली लगाउनुभन्दा अघि इन्डेक्स बुझ्नु जरुरी छ । इन्डेक्स शेयर कारोबार मापन गर्ने विधि हो । शेयर कारोबार मापन गर्दा आधार बजार पूँजीकरण र तत्कालीन बजार पूँजीकरण गरी दुईओटा तथ्यांक लिइन्छ । आधार बजार पूँजीकरण कुनै एक दिनलाई आधार मानेर लिइन्छ । त्यसपछि हरेक पटक नयाँ कम्पनी सूचीकरण र हकप्रद शेयर थपिँदै जाँदा आधार बजार पूँजीकरण परिवर्तन हुँदै जान्छ । शुरूमा आ-आफ्नै ढङ्गले हुँदै आएको शेयर कारोबार मापन पछि एक्सचेन्ज आफैले मापन गरेर हरेक दिन सार्वजनिक गर्न थालेको हो । अहिले पनि आफूखुशी मापन गर्न सकिन्छ । सीधा अर्थमा इन्डेक्स भनेको पहिलो दिनको तुलनामा पछिल्लो दिन कारोबार कति बढ्यो भनेर हेर्ने सामान्य सूचना मात्र हो । इन्डेक्स प्रत्यक्ष रूपमा कम्पनीको नाफा र लाभांश वितरण गर्ने क्षमता होइन ।
एक्सचेन्जमा सूचीकरण हुन सिद्धान्ततः एक्सचेन्जले तोकेको न्यूनतम चुक्ता पूँजीयुक्त कम्पनी हुनुपर्छ । इन्डेक्स गणनामा अधिक पूँजी भएका कम्पनीको स्वाभाविक रूपमा बढी र न्यून पूँजीयुक्त कम्पनीको खास योगदान हुँदैन । संसारका ठूला भनिएका एक्सचेन्जको इन्डेक्सलाई हल्लाउने कम्पनीको संख्या सीमित हुन्छ । नेपालमा अहिले पनि नेपाल टेलिकम इन्डेक्सलाई एक्लै हल्लाउन सक्षम छ । १५ करोड कित्ता शेयर सूचीकरण भएको टेलिकमको अहिले घट्दो बजारमा पनि ९३ अर्ब ७५ करोड रुपैयाँ (बजार मूल्य ६ सय २५ रुपैयाँ) बजार पूँजीकरण छ । कुल बजार पूँजीकरण १४ खर्ब ४७ अर्ब करोड २८ लाख रुपैयाँको आधारमा ६ दशमलव ५ प्रतिशत योगदान हुन आउँछ । (२०७६ असोज ५ गतेको कारोबारमा आधारित) नेपालमा जस्तै बंगलादेशको ढाका स्टक एक्सचेन्जमा सूचीकृत ग्रामीण फोन दूरसञ्चार कम्पनीले त्यहाँको बजारलाई हल्लाउन सामथ्र्य राख्छ ।
नेपालका इन्डेक्सहरू 
नेप्सेले समग्र बजार सूचक जनाउने नेप्से’, ‘नेप्से फ्लोट’, ‘सेन्सेटिभ’, ‘सेन्सेटिभ फ्लोटसमूहगत १२ ओटाइन्डेक्ससहित कुल १६ ओटा इन्डेक्समार्फत शेयर कारोबार मापन गरिरहेको छ । यी १६ ओटा समूहगत इन्डेक्स एकैपटक गणना शुरू गरिएका होइनन् । आवश्यकता अनुसार यी इन्डेक्स जतिबेला आवश्यक देखियो त्यति बेलादेखि शुरू गरिएका हुन् । पछिल्लोपटक म्युचुअल फन्डको मात्र इन्डेक्स गणना शुरू गरी इन्डेक्सको संख्या १६ ओटा पुगेको हो । कुनै बेला जीवन र निर्जीवन बीमा कम्पनीका इन्डेक्स संयुक्तरूपमा गणना गरिन्थ्यो र अहिले अलग-अलग बनाइएको छ । त्यस्तै, विकास बैंक समूहमा राखेर गणना गरिएको लघुवित्त समूह अहिले अलग भइसकेको छ । चर्चामा रहेको सेन्सेटिभ इन्डेक्सको गणना २०६३ पुस १७ गतेबाट शुरू गरिएको थियो । त्यसको २ वर्षपछि २०६५ भदौ ३० गतेबाट सेन्सेटिभ फ्लोट इन्डेक्सगणना शुरू गरियो । समग्र नेप्से इन्डेक्समा सूचीकृत सबै (संस्थापक र साधारण) शेयरको कारोबार भएको दिनको अन्तिम मूल्यले गुणन गरी बजार पूँजीकरण निकाली इन्डेक्स गणना गरिन्छ भने नेप्से फ्लोट इन्डेक्समा फ्लोटेड अर्थात् कारोबारयोग्य शेयरको मात्र पूँजीकरण गणना गरी इन्डेक्स गणना गरिन्छ । फ्लोटेड शेयरलाई सामान्य अर्थमा संस्थापक बाहेकको सर्वसाधारण समूहमा रहेको शेयर भन्ने बुझिन्छ । यसमा संस्थापकले धारण गरेको सर्वसाधारण समूहमा परिवर्तित शेयर समेत पर्छ । 
पहिलेको र अहिलेको ’ 
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम ६ ले कम्पनीलाई ’, ‘बी’, ‘जीजेडवर्गमा विभाजन गर्नुपर्ने व्यवस्था गरेपछि साविकमा नेप्सेले विभाजन गर्दै आइरहेको र अन्य वर्ग स्वतः विस्थापनमा पर्यो । त्यतिबेला यिनै वर्गमा पर्ने कम्पनीको मात्र छुट्टै इन्डेक्स गणना गरियो र यसलाई सेन्सेटिभ इन्डेक्सनामकरण गरियो । सेन्सेटिभ इन्डेक्समा नेप्से इन्डेक्समा झैं सूचीकृत वर्गमा पर्ने सबै शेयरको समग्र पूँजीकरण लिइन्थ्यो भने सेन्सेटिभ फ्लोट मा नेप्से फ्लोट इन्डेक्स झैं कारोबारयोग्य शेयरको मात्र पूँजीकरण लिइन्थ्यो । तत्कालीन अवस्थामा उचित देखिएको सेन्सेटिभ इन्डेक्ससेन्सेटिभ फ्लोटगणना वर्तमानमा आइपुग्दा औचित्यहीन हुनपुग्यो । नियमावली लागू भएल गत्तै नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ पनि लागू गरी नयाँ व्यवस्था अनुरूप कम्पनीको वर्गीकरण सार्वजनिक गर्‍यो । अहिले पनि सोही विनियम अनुसार कम्पनीको वर्गीकरण हुँदै आएको छ ।
तोकिएका सूचकहरूको आधारमा गरिएको वर्तमान वर्गीकरण प्रणालीले लगानीकर्ताको लागि लगानी छनोट गर्न सहयोग पुर्‍याउने हुन्छ । वर्गीकरणको वर्गमा पर्ने कम्पनीलाई अब्बल मान्न सकिन्छ । त्यस्तै बीवर्गमा पर्नेलाई सामान्य मध्यमस्तरमा परेको मान्न सकिन्छ । जीवर्गमा परेका कम्पनी नवसूचीकृत हुन् । यस्ता कम्पनीले बीको शर्त पूरा गरे पनि २ वर्ष यही समूहमा बस्नुपर्छ । २ वर्षपछि यी कम्पनी ’, ‘बीवा जेडवर्गमा जानुपर्ने हुन्छ । जेडवर्गमा वर्गीकृत हुनु भनेको सामान्य अर्थमा रद्दी वा जिरोभन्ने अर्थ लाग्छ । बंगलादेशमा यस्ता कम्पनीको राफसाफ १० दिनमा गरिन्छ । 
अर्थहीन सेन्सेटिभ इन्डेक्स 
पहिले पनि खासै अर्थ नराखेको सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोटको अहिले त झन् कुनै अर्थ नै छैन । यसले लगानीकर्तालाई नै झुक्याएको छ । सामान्यतया को एकै अर्थ लाग्छ । तर, त्यतिबेलाको वर्गमा वर्गीकृत हुने आधार र अहिलेको वर्गमा वर्गीकृत हुने आधार नै आकाश र जमीनको अन्तर छ । वर्गीकरणको आधार नै फरक परेको बेला नेप्सेको वर्गमा परेको कम्पनी भन्नु हास्यास्पद हुनजान्छ । यसलाई बम्बे स्टक एक्सचेन्जको सेन्सेक्ससँग कतिपयले तुलना गरेको पनि देखिन्छ । बम्बे स्टकको सेन्सेक्सअर्थात् सेन्सेटिभ इन्डेक्सत्यहाँको आधारभूत इन्डेक्स हो भने नेपालको सेन्सेटिभ इन्डेक्सले बम्बे स्टकको सेन्सेटिभ इन्डेक्स मापनको कुनै आधार र शर्त पूरा गरेको छैन । त्यहाँको सेन्सेक्स गणनाका लागि तय गरिएका आधार हाम्रोभन्दा फरक छ । 
कस्तो इन्डेक्स 
नेपालमा पनि बम्बे स्टकको जस्तै इन्डेक्स (सेन्सेक्स) बनाउने हो भने हाम्रो इन्डेक्स गणना विधिमा सामेल कम्पनी पुनर्विचार गर्ने समय आइसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भनेझैं हाम्रो इन्डेक्स अहिलेको सन्दर्भमा बढी देखिएको सत्य हो । यसलाई पुनर्विचार गर्ने हो भने वर्तमान इन्डेक्सको अंक आधा देखिन सक्छ । अहिले गणना गरिएको नेप्से इन्डेक्स गणनामा कहीँ न कहीँ त्रुटि छ । त्रुटि सच्याएर भरपर्दो र यथार्थवादी इन्डेक्स बनाउने बेला आइसकेको छ । इन्डेक्स थोरै वा धेरै अंकभन्दा पनि सत्यतथ्य र यथार्थवादी हुनुपर्छ । यसको लागि यथाशीघ्र नेप्से इन्डेक्स गणनाका लागि सीमित कम्पनी सामेल गर्नु जरुरी भएको छ । बम्बे स्टकमा ६ हजारभन्दा बढी कम्पनी सूचीकरण भए पनि सेनसेक्समा ३० ओटा कम्पनी मात्र रहेको हुँदा यहाँ पनि नेप्से २० अर्थात् २० ओटा कम्पनी राखेर इन्डेक्स गणना गर्न उपयुक्त हुन्छ ।  

आर्थिक अभियान दैनिक, ७ असोज २०७६

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...