नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १२ ओटा
समूहमध्ये एउटा जलविद्युत पनि हो । सरकारले जलविद्युत्मा लगानी गरेर ‘समृद्ध’ भइने
र ‘ज्वाइँ
खोज्दै आउने’ भने
पनि मूल रूपमा सरकारकै कारण उत्साह आउन सकेन । सरकारपछि लगानीकर्ताका कारण पनि
जलविद्युत् मात्र होइन, समग्र
शेयरबजार प्रताडित भएको छ । समग्र शेयरबजारमा कमी आउनुमा केही हदसम्म सरकार कारक
देखिए पनि लगानीकर्ता पनि कम अंशियार छैनन् । शेयरमा लगानी गरेर ‘रातारात
धनी हुन्छन् र भइन्छ’ भन्ने
सरकार र लगानीकर्ताको अतिवादी सोच त्याग्नुपर्ने देखिन्छ ।
जलविद्युत्को सारांश
नेप्सेमा
हालसम्म सूचीकृत ३२ ओटा जलविद्युत् कम्पनीको कुल चुक्ता पूँजी ५० अर्ब ५६ करोड ७८
लाख ४ हजार २ सय रुपैयाँ छ । सबैभन्दा ठूलो (जडित ४५६ मेगावाटको आधारमा)
निर्माणाधीन तामाकोशी सूचीकरण भइसकेको छ । सबैभन्दा धेरै र थोरै पूँजी क्रमशः अपर
तामाकोशी (१० अर्ब ५९ करोड रुपैयाँ) र वरुण हाइड्रोपावरको (२५ करोड ५१ लाख ५० हजार
रुपैयाँ) छ । जलविद्युत् कम्पनीको बजार पूँजीकरण ९३ अर्ब ४० करोड ८७ लाख ६८ हजार ९
सय ६० रुपैयाँ र कुल बजार पूँजीकरणमा ६ दशमलव ४५ प्रतिशत योगदान छ । (नेप्से, १७
कात्तिक, २०७६)
मनोगत होइन, यथार्थ
कुनै
बेला चिलिमे र बीपीसीको प्रतिशेयर मूल्य क्रमशः झन्डै ३ हजार र २ हजार
रुपैयाँभन्दा माथि पुगेको थियो । हिमाल पावर (खिम्ती) मा रहेको १५ प्रतिशत
लगानीबाट प्राप्त लाभांशले बीपीसीले र सञ्चित कोषबाट चिलिमेले राम्रै लाभांश
बाँडिरहेका छन् । जलविद्युत् क्षेत्रका यी दुई कम्पनी अन्य कम्पनीका लागि पनि
पथप्रदर्शक बन्ने अनुमान शेयर कारोबारी र लगानीकर्ताले गरेका थिए । तर, यस्तो
अनुमान गर्नुका पछाडि मनोगतबाहेक तथ्यगत विश्लेषणको आधार थिएन । मनोगत विश्लेषणकै
आधारमा तामाकोशीको शेयर मूल्य ५ हजार रुपैयाँसम्म पुग्ने भन्दै भित्रभित्रै २ हजार
रुपैयाँसम्म किनबेच भयो । व्यावसायिक उत्पादनपश्चात् कम्तीमा ५ वर्ष वा त्योभन्दा
बढी समय सञ्चालन घाटामा रहन सक्ने तथ्यगत विश्लेषणलाई अहिले पनि बेवास्ता गरिएको छ
। ‘आयोजना
कहिले पूरा हुन्छ र लागत कति पुग्ला’ भन्ने अनिश्चितताको स्थिति
देखिएपछि अहिले तामाकोशीलाई ‘लागत चमेलिया र समय मेलम्ची’ भनिन
थालिएको छ । लागत १ खर्व रुपैयाँ नाघ्ने सम्भावना (निर्माण अवधिको ब्याजसमेत)
देखिन्छ । तामाकोशी वा अन्य जलविद्युत् कम्पनीको शेयर मूल्यमा बढोत्तरी आउन यसले
दिने प्रतिफल अहम् पक्ष बन्छ । कुनै समय भारतमा एक व्यक्ति (हर्षद मेहता र केतन
पारेख) वा संस्थाले बजार हल्लाउन सक्ने सामर्थ्य राख्थे । अब बजारलाई हल्लाउने
यस्ता सामथ्र्यको दिन सकिएको छ । शेयर मूल्य कम्पनीको आर्थिक सबलताले निर्धारण
गर्न थालिसकेको छ ।
जलविद्युत्
स्थिर आम्दानी हुने क्षेत्र हो । आधार विक्री मूल्यमा बढीमा ९ पटक ३ प्रतिशतका
दरले हुने मूल्य वृद्धिबाहेक अन्य कुनै प्रकारले पनि आम्दानी बढ्ने ठाउँ हुँदैन ।
जलविद्युत् कम्पनीलाई १० वर्षपछि आधा र १५ वर्षपछि पूरै आयकर लाग्छ । विक्री आयमा
कमी नआए पनि आयकर, रोयल्टी, सञ्चालन, मर्मत
र प्रशासकीय खर्च आदि बढ्दै जान्छ र परिणामस्वरूप प्रतिशेयर आयमा कमी देखिन्छ ।
किन घट्यो भाउ ?
धेरैको
मनमा यही प्रश्न छ कि जलविद्युत् कम्पनीको शेयर भाउ किन घट्यो ? के अब बढ्दैन ? कहिले बढ्छ ? यस्ता
प्रश्न मात्र छन् तर यसको यथार्थता बुझ्नुको साटो ‘फलानो’ व्यक्तिका
कारण भनेर सत्तोसरापमा लागेको देखिन्छ । शेयर लगानी गरेर छिट्टै धनी हुने
मनोकांक्षाका कारण शेयरबजारमा तीव्र गिरावट देखिएको हो । शेयरबजारमा लाभ नहुने
होइन तर, एकै वर्ष वा त्योभन्दा कम समयमा हुँदैन । आफूले किन्नासाथ अर्कोले भाउ
बढाएर किनिदेओस् भन्ने मनोकांक्षा सबैमा छ । तर, अरूलाई धनी बनाउने गरी किन्न को
तयार हुने ? आर्थिक
सबलता नै नभएको कम्पनीको शेयरमा लगानी गरेर बजारमा भाउ खोज्नु मूर्खता हो ।
रोपिएको बीउ सबै नउम्रने वा उम्रे पनि फल नदिएजस्तै प्राथमिक शेयर भन्नेबित्तिकै
सबै राम्रो हुन्छ भन्ने हुँदैन । १ सय रुपैयाँमा किनेको हो, २ सय
रुपैयाँ त गइहाल्छ भन्ने सोच अकबर बादशाहको ‘दूधपोखरी’ बनाउने
अभिलाषा विपरीत ‘पानीपोखरी’ बने
जस्तै हो । नगरवासीलाई अकबरको दूध ल्याएर हाल्नु भन्ने उर्दी विपरीत ‘दूध त
सबैले लगिहाल्छन्, म
पानी लान्छु’ भन्ने
सोचेर सबैले पानी लगेर हालेपछि ‘दूध होइन, पानीपोखरी’ बने
जस्तै ‘बढेपछि
बेचिहाल्छु’ भन्ने
यस्तै सोच एकजना होइन, सबैले
राखेका हुन्छन् । प्राथमिक वा दोस्रो बजारमा शेयर किन्ने सबैले यही सोच राखेपछि
प्राथमिकमै लगानी नगरेका व्यक्ति आएर २ सय रुपैयाँमा किनिदिने प्रश्नै उठ्दैन ।
शेयर
भनेको पूँजीको अंश हो, पूँजीको
कमी पूरा गर्न शेयर जारी गरिन्छ । जारी गर्नासाथ लाभ वा प्रतिफल प्राप्त हुँदैन ।
यसका लागि एउटा निश्चित समय पूरा हुनुपर्छ । लगानी (शेयर) बाट लाभ प्राप्त हुन्छ
भन्ने अपेक्षा मात्र हो, सुनिश्चितता
होइन । शेयर जारी गर्दा प्रकाशन गरिने विवरणपत्रमा जोखिम पक्ष, जोखिम
न्यूनीकरण, नाफाको
अंक, नाफा
वितरण गर्न सकिने सम्भावित समयको प्रक्षेपण गरिएको हुन्छ । लगानी अघि सोच्नु र
बुझ्नुपर्ने यो पाटो गौण बनेको छ, जबकी मुख्य चुरो कुरो यसैमा अन्तनिर्हित
हुन्छ ।
अंकित
मूल्यभन्दा तल झरेका अधिकांश जलविद्युत् कम्पनी निर्माणको चरणमा रहेका र निर्माण
सम्पन्न भएर पनि प्रसारण लाइन नपाएका धेरै छन् । आयोजना निर्माणमा अनेकौं
प्रशासकीय अवरोध र अन्य हस्तक्षेपले ढिलाइ हुँदा व्याज बढ्दा लागत पनि बढेको छ । ‘प्राथमिकता
प्राप्त क्षेत्र’ भन्ने
सरकारी वाक्य अलंकार मात्र बनेको छ । यस्ता अनेकौं हन्डर र ठक्कर खाएर आयोजना
बनिसक्छ तर, सरकार
(नेपाल विद्युत् प्राधिकरण) ले प्रसारण लाइन बनाइदिँदैन । उदाहरणको लागि खानीखोला
आयोजना व्यावसायिक उत्पादन भएको दिनदेखि उत्पादित बिजुली बेच्न नपाउँदा टाट
पल्टिने स्थितिमा पुगेको छ । सिनर्जी पावर (सिप्रिङ खोला) ले अहिलेसम्म पूर्ण
क्षमतामा बिजुली विक्री गर्न नपाउँदा वर्षेनि १० करोड रुपैयाँभन्दा बढी घाटा
बेहोरिरहेको छ । सिप्रिङ (सिनर्जी) जस्तै अन्य धेरै आयोजना प्रसारण लाइनको पीडामा
परेर घाटा बेहोरिरहेका छन् । हेर्दा यो घाटा कम्पनी र त्यसको शेयरधनीको हो तर, यथार्थमा
राज्यको हो ।
यसबाहेक
आयोजनाले हिउँद र वर्षामा यति बिजुली दिन्छु भनेर घोषणा गर्नुपर्छ जुन विशुद्ध
अनुमान मात्र हो र अनुमान मिल्छ भन्ने छैन तर प्राधिकरणले अनुमान नमिलेको भन्दै
त्यसबापत क्षतिपूर्ति लगाउँछ । यस्तो क्षतिपूर्तिका कारण वर्षायाममा भएको विक्री
आम्दानी हिउँदमा क्षतिपूर्ति तिर्दै सकिन्छ । प्रशासकीय र अन्य अवरोध, प्रसारण
लाइनको अनुपलब्धता, पाइहाले
पनि ‘घोषणा’को
क्षतिपूर्ति तिर्दै रकम सकिएपछि कम्पनीको आर्थिक सबलता कसरी देखिन्छ र शेयरको भाउ
बढ्ला ?
अन्त्यमा, अधिकांश जलविद्युत् कम्पनी सरकारकै
कारण धराशयी बनेका हुँदा आर्थिक रूपमा सबल बन्न नसक्दा शेयर मूल्य घटेको हो ।
अर्को एउटा कारण भनेको माथि विभिन्न अनुच्छेदमा चर्चा गरिएको ‘रातारात’ मालामाल
हुनुपर्ने मानसिकता पनि एक हो । केही कम्पनी अधिक पूँजीको भारले थिचिएका कारण
बिक्री आम्दानी उही भए पनि गुणात्मक (प्रतिशेयर) आम्दानीमा कमि हुँदै गएको कारण
शेयर मूल्य घट्दै गएको पाटोलाई पनि बेवास्ता गरिएको छ । सरकारले प्रशासकीय र अन्य
रूपमा हुने अवरोधलाई निमिट्यान्न पारेर बाधारहित वातावरण र प्रसारण लाइनको
सुनिश्चित गरिदिनुपर्छ भने लगानीकर्ताले पनि पनि ‘तातै खाऊँ जली मरूँ’ भन्ने
शैली त्यागेर गुण दोषको आधारमा लगानी बढाउनुपर्छ ।
१९ कार्तिक, २०७६ आर्थिक अभियान दैनिक
No comments:
Post a Comment