नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी (बैंक
तथा वित्तीय संस्था) गाभिने (मर्ज), प्राप्ति (एक्वीजिशन) सँगसँगै पुनः
सूचीकरण हुने क्रम पनि बढ्दैछ । पछिल्लोपटक एउटा वाणिज्य बैंक (एनएमबी) र अर्को
राष्ट्रियस्तरको विकास बैंक (ओम) गाभिएर शेयर कारोबार खुलेको छ । गाभिने वा
प्राप्ति हुने र पुनः सूचीकरण नियमित प्रक्रिया हो । तर, यसपटकको
कारोबार खुलाइमा नेप्सेले मूल्य सीमा तोकेका कारण केही हदसम्म विवादास्पद बन्यो ।
निकट भविष्यमै अन्य कम्पनी पनि पुनः सूचीकरण हुन लागेका बेला शेयरधनीमा
मनोवैज्ञानिक रूपमा त्रासको वातावरण सृजना भएको छ ।
विवादको जड
एनएमबी
र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिएपछि नेप्सेमा पुनः सूचीकरण भएर कारोबार खुल्नुपर्ने
स्वाभाविक थियो र खुल्यो । तर, गाभिएपछिको कारोबारको लागि नेप्सेले ३ सय ५१ रुपैयाँ
माथिल्लो मूल्य सीमा तोकिदियो । नेप्सेले पहिलो कारोबारको लागि तोकेको मूल्यलाई
विधिवत् (डिजुरे) रूपमा ‘समायोजन’ नभने
पनि तथ्यगत (डिफ्याक्टो) रूपमा समायोजन गरेको देखिन्छ । तर, के
आधारमा किन मूल्य समायोजन गरियो भन्ने बारेमा कुनै हिसाब र कारण जानकारी गराइएन ।
यी दुई बैंकले गाभिने सम्झौता गर्दा एनएमबी र ओमको बजार मूल्य क्रमशः ३ सय ८२
रुपैयाँ र १ सय ९७ रुपैयाँ थियो । प्रतिकित्ता ७६ रुपैयाँ दिएर एनएमबीले ओम
बैंकलाई गाभेको थियो । गाभिने सम्झौता हुनुअघि कायम रहेको गाभ्ने कम्पनी (एनएमबी)
को बजारले निर्धारण गरेको मूल्य गाभिएपछि समायोजित हुनुको न्यायोचित जवाफ
शेयरधनीले पाउन सकेका छैनन् । निकट भविष्यमै दुई वाणिज्य बैंक (ग्लोबल र जनता)
लगायत गाभिने र प्राप्ति हुन लागेका अन्य कम्पनी (बैंक) को हकमा के हुन्छ भन्ने
चर्चा शुरू भएको छ ।
गाभिने
वा प्राप्ति
कम्पनी
ऐन २०६३ को दफा १७७ मा उल्लिखित व्यवस्थाको अधीनमा रहेर कम्पनी गाभिन सक्छन् र
दिनहुँ जस्तो कम्पनी गाभिने गर्छन् । प्राइभेट, पब्लिक (सूचीकृत र असूचीकृत) र
नाफा वितरण नगर्ने सबै कम्पनी गाभिन सक्छन् । ऐनको दफा १७७ (५) अनुसार गाभिने
कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्वहरू गाभ्ने कम्पनीमा सरेको मानिने व्यवस्था
छ । बैंक पनि कम्पनी नै भएको हुँदा कम्पनी ऐनको व्यवस्था लागू हुन्छ । तर, बैंकिङ
कम्पनी केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को नियमनमा रहने र बैंक गाभ्ने
सम्बन्धमा केन्द्रीय बैंकको नीतिगत व्यवस्था पनि लागू हुने हुँदा बैंकको गाभ्ने
सम्बन्धी नीतिको पनि संक्षिप्त अध्ययन सान्दर्भिक हुन्छ ।
बैंक
तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को दफा २(श) अनुसार ‘प्राप्त
गर्ने संस्था’ भन्नाले
यस ऐन बमोजिम इजाजतपत्रप्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल बैंक वा वित्तीय
संस्था सम्झनुपर्छ ।’ त्यस्तै
दफा २(ष) मा ‘प्राप्ति
गर्ने (एक्वीजिशन)’ भन्नाले
एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थाको सम्पूर्ण
सम्पत्ति तथा सम्भावित दायित्वको हरहिसाब गरी इजाजतपत्र प्राप्त संस्थाको कानूनी
हैसियत समाप्त हुने गरी आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित
संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय
दायित्वसमेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँछ’ भनिएको छ । दफा २ (कग)मा ‘लक्षित
संस्था’ भन्नाले
यस ऐनबमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत समाहित हुन
जाने इजाजतपत्र प्राप्त संस्था सम्झनुपर्छ’ भनिएको छ । बैंक तथा वित्तीय
संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिशन) सम्बन्धी विनियमावली
२०७३ को विनियम २ (छ) मा ‘प्राप्ति
(एक्वीजिशन)’ भन्नाले
एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई खरीद
प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले
प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार
गर्ने कार्यसमेतलाई जनाउँछ ।’ त्यस्तै २(ज)अनुसार ‘प्राप्त गर्ने संस्था (एक्वायरर)’ भन्नाले
‘विनियम
२(छ) बमोजिम अर्को इजाजतपत्र प्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल संस्था
सम्झनुपर्छ ।’ विनियम
२(झ) मा ‘लक्षित
संस्था’ भन्नाले
‘विनियम
२(छ) बमोजिम खरीद गरेको संस्थालाई सम्झनुपर्छ’ भनिएको छ । विनियम २(ञ) मा ‘प्राप्ति
(एक्वीजिशन) मा संलग्न संस्था’ भन्नाले प्राप्त गर्ने संस्था (एक्वायरर) र लक्षित
संस्था दुवैलाई सम्झनुपर्छ’ भनिएको
छ ।
समायोजनको सान्दर्भिकता
कम्पनी
र बैंकिङ कानूनमा भएका गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी नीतिको चर्चापछि समायोजनको
सान्दर्भिकता खोज्नु अघि समायोजन के हो भन्ने बुझ्नुपर्ने हुन्छ । समायोजनको अर्थ
मिलाउने वा मिलान गर्ने काम भन्ने हुन्छ । शेयरबजारको सन्दर्भमा यसको प्रयोजन
शेयरको मूल्यलाई मिलाउने भन्ने बुझिन्छ । शेयरबजारमा यस्तो अवस्था कम्पनीले हकप्रद
वा बोनस शेयर जारी गरेपछि सोही अनुपातमा कम्पनीको तत्काल कायम रहेको बजार मूल्यलाई
मिलाउने भन्ने हुन्छ । बोनस वा हकप्रद शेयर जारी गर्न शेयरधनी दर्ता पुस्तिका बन्द
(बुक क्लोज) का लागि कम्पनीको तोकेको दिन एक्सचेन्जले मूल्य समायोजन गर्छ ।
समायोजन पश्चात् मूल्यमा कमी देखिए पनि बुक क्लोज अघिका शेयरधनीको कित्ता बढ्ने
हुँदा हिसाब भने बराबर हुन्छ । यसले शेयरधनीको सम्पत्तिमा तात्विक असर पर्दैन ।
समायोजनको
बारेमा सामान्य बुझेपछि अब एनएमबी बैंकका साविकका शेयरधनीले ओम गाभिएपछि के लाभ
पाए भन्ने प्रत्यक्ष प्रश्न आउँछ । अप्रत्यक्ष रूपमा दुई कम्पनी गाभिँदा व्यापार
विस्तार हुँदा बढी लाभ प्राप्त हुने कुरालाई नकार्न सकिन्न तर, यो
सुनिश्चित भने हुन्न र छैन । शेयरको बजार मूल्यबाट प्राप्त हुने लाभ र प्रतिफलबाट
प्राप्त हुने लाभ दुई अलग कुरा हुन् । यद्यपि कम्पनीको आर्थिक सबलताले बजार मूल्य
निर्धारण हुन्छ । तर, सबै
अवस्थामा यही नियम लागू हुन्छ भन्ने पनि छैन । नेप्सेले विना आधार र कारण मूल्य
समायोजन गरिदिँदा एनएमबीका शेयरधनीले ३१ रुपैयाँ क्षति व्यहोर्नुपर्यो । ओमको हकमा
यसको अन्तिम मूल्यलाई आधार मान्दा ९० रुपैयाँ प्रत्यक्ष लाभ पाएका छन् । तर, के
पनि स्मरणमा राख्नुपर्छ भने ओमको सबै शेयरधनीले बन्द हुँदाका मूल्यमा
शेयर लिएका थिएनन् । स्मरणको लागि ओम बैंकको शेयर मूल्य कुनै बेला झन्डै ८ सय
रुपैयाँको हाराहारीमा पनि पुगेको थियो । त्यति बेलादेखि धारण गर्नेले भने ९०
रुपैयाँको लाभले लागतमा केही राहत मात्र पाएका छन् । बन्द मूल्यलाई मात्र हिसाब
गरेर ओमका शेयरधनीले अकूत कमाए भनेर निरपेक्ष अनुमान गर्न सकिन्न । शेयरधनीले
पाएको लाभ र हानिलाई सापेक्ष रूपमा मूल्यांकन गरिनुपर्छ ।
अब के गर्ने ?
कम्पनी
र बैंक सम्बन्धी ऐन एवं बैंक प्राप्ति वा गाभिने विनियम अनुसार गाभिने वा प्राप्ति
हुने कम्पनीको अस्तित्व समाप्त भएर गाभ्ने वा प्राप्त गर्ने कम्पनीको अस्तित्वमा
समाहित हुन्छ । यस हिसाबले हेर्दा गाभ्ने वा प्राप्त गर्ने कम्पनीको निरन्तरतालाई
गाभिन वा प्राप्त हुन आएको कम्पनीले कुनै असर पर्दैन र नयाँ अस्तित्व पनि सिर्जना
गर्दैन । गाभिने कम्पनीको सम्पत्ति र करारीय दायित्व समेत गाभ्ने कम्पनीले गरेसरह
हुने हुँदा गाभ्ने कम्पनीको साविकको परिस्थितिमा कुनै तात्विक असर पर्ने देखिन्न ।
कम्पनी गाभिँदा गाभ्ने कम्पनीका शेयरधनीलाई कुनै तात्विक (प्रत्यक्ष मौद्रिक) लाभ
देखिन्न भने मूल्य समायोजनको पनि औचित्य देखिन्न । निकट भविष्यमै नेप्सेमा कारोबार
खुल्न लागेको ग्लोबल बैंक (जनता गाभेपछि) को कारोबार खोल्दा गाभिने सम्झौता
गर्दाका बखत कायम रहेको मूल्यमा प्रस्तावित बोनस शेयरको मूल्य समायोजनसम्म गरी
कारोबार खोल्नेतर्फ ध्यान जाओस् । दुई कम्पनी गाभिएपछि सिद्धान्ततः नयाँ कम्पनी
बन्छ भनिए पनि व्यवहारतः पुरानै कम्पनीको निरन्तरता हो । गाभ्ने कम्पनीको बजारमा
कायम रहेको मूल्यलाई निरन्तरता दिइयोस् ।
२६ कार्तिक, २०७६ आर्थिक अभियान दैनिक
No comments:
Post a Comment