नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्षको रुपमा भिष्मराज ढुङ्गानालाई पाएको छ । निवर्तमान
अध्यक्षको कार्यकाल नसकिंदै ढुङ्गानालाई सम्भावित अध्यक्षको रुपमा हेरिएको थियो । नेपाल
राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि ढुङ्गाना बोर्डमा विज्ञ संचालक
बनेर भित्रिनासाथ उनलाई भावी अध्यक्षको रुपमा हेरिएको हो । बोर्ड अध्यक्ष भएपछि
ढुङ्गानाले दिएका अभिव्यक्ति हेर्दा आगामी ४ वर्षमा नेपालको धितोपत्र बजारले नयाँ
उचाई लिनसक्नेमा आशावादी हुन सकिन्छ । यसका लागि अध्यक्ष ढुङ्गानाले गर्नुपर्ने
धेरै कामहरु मध्ये केही काम सूचीवद्ध गरिएको छ, जुन ढुङ्गानाका लागि सामान्य
मार्गदर्शन हुनसक्छ ।
अध्यक्षको सारांश
बिक्रम सम्बत २०५० साल जेठ २५ गते गठन भएको बोर्डले २७ वर्ष पूरा गर्न लाग्दा
ढुङ्गानालाई सातौं अध्यक्षको रुपमा पाएको छ । २६ वर्षमा ६ जना अध्यक्ष भएर विदा भए
। यी ६ जनामध्ये डा. ढुङ्गेल र डा. नेपाल (चिरन्जीवी) सबैभन्दा धेरै र थोरै क्रमशः
१० वर्ष र १५ महिना अध्यक्ष बने । कार्यकाल थोरै भए पनि डा. नेपाल (चिरन्जीवी) को
पालामा धितोपत्र बजार केही व्यवस्थित हुनमा मद्दत पुगेको मानिन्छ । बोर्डका कतिपय
अध्यक्षलाई ‘अदक्ष’ पनि भनेर ‘समीक्षा र सम्बोधन’ गरिएको
पाइन्छ ।
क्र.सं.
|
अध्यक्ष
|
कार्यकाल
|
|
देखि
|
सम्म
|
||
१
|
डा. डम्बरप्रसाद ढुंगेल
|
२०५० जेठ २५
|
२०६० भदौ १४
|
२
|
दीपकराज काफ्ले
|
२०६० भदौ १५
|
२०६४ भदौ १०
|
३
|
डा. चिरन्जीवी नेपाल
|
२०६४ भदौ ११
|
२०६५ मंगसिर ११
|
४
|
डा. शुरवीर पौडेल
|
२०६५ पुष ९
|
२०६८ भदौ १०
|
५
|
बाबुराम श्रेष्ठ
|
२०६८ असोज ३०
|
२०७२ असोज २९
|
६
|
डा. रेवतबहादुर कार्की
|
२०७२ कात्तिक १
|
२०७६ असोज ३०
|
निवर्तमानको समीक्षा
निवर्तमान अध्यक्ष कार्की नेपाल राष्ट्र बैंकबाट अवकाश पाएपछि नेपाल स्टक
एक्सचेन्ज (नेप्से) को कार्यकारी प्रमुख हुँदै बोर्ड आइपुगेका हुन् । नेप्सेमा
कार्कीको आगमन विशेष भयो । ‘चिच्याएर भाउ लगाउँदै’ हुने
शेयरकारोबारले दलालको कार्यालयमा स्थानान्तर हुने अवसरसँगै अनलाइन कारोबारको जग
बस्यो । त्यसैको परिणामस्वरूप अहिले आफैँले खरिद र बिक्री आदेश हाल्न मिल्ने
अनलाइन आएको छ । नेप्सेमा हुँदा कार्कीले जे जति कार्य गरेर शेयरबजारलाई ‘गुण’ लगाए त्यही ‘गुण’ बोर्डमा आएर लाउन सकेनन् । यसो हुनुमा कार्कीमा केही हदसम्म राजनीतिक
पूर्वाग्रह देखिनु पनि एक हो । बोर्ड आगमनदेखि नै दलालप्रति तीव्र रोष प्रकट गर्दै
आइरहेका कार्की कार्यकालको अन्तिमतिर संसदको अर्थ समितिमा दलाललाई ‘सक्षम, सुशासित र पारदर्शी’ नभएको
बताएर आफैँ उदांगिए । शेयरबजारको प्राथमिक अंग दलाल प्रणालीलाई संस्थागतरूपमा
शसक्त ढंगले विस्तारित गरेर अझ बढी गुण लगाउनुपर्नेमा गालीगलौजमा उत्रिए । आफू
मातहतका शेयरबजार सम्वद्ध निकाय (दलाल, स्टक, केन्द्रीय निक्षेपक आदि) प्रति त पूर्वाग्रही देखिए-देखिए कुनै दलीय टाँचा
नलागेका लगानीकर्ताप्रति पनि पूर्वाग्रह राखेर दलीय स्वभाव पनि राम्रैसँग देखाउन
भ्याए । वित्तीय क्षेत्रको नियमन निकायमा रहेको व्यक्ति तटस्थ हुनुपर्छ भन्ने
मान्यतालाई विर्सेर पत्रपत्रिकामा ‘सल्लाहकारी’ लेख छाप्न पनि भ्याए ।
शेयरबजारमा खपत हुने सूचना बैंकले बढी उत्पादन गर्छन र यिनै बैंकको सर्वाधिक
शेयर सूचीकरणमा छ भन्ने जानेर पनि उही बैंकलाई ‘दलाल अनुमति’ दिन्छु भन्दै
बारम्बार बोलेर लगानीकर्तालाइ रनभुल्लमा पारिरहे । माग भयो भन्दैमा दिन हुने-नहुने
बिषयमा अध्ययन गरेर मात्र दिन सकिने वा नसकिने निर्णय गर्नुपर्नेमा ‘बातैपिच्छे’
बैंकलाई दलाल दिन्छु भन्ने रटान लगाउन बिर्सेनन । दलाल अनुमति दिनैहुन्न भन्ने पनि
हैन तर, ‘कार्यविशिष्टीकरण’ को सिद्धान्तलाई स्वीकार गर्ने हो भने
व्यापारको प्रकृति अनुसार स्थापित संस्थाकै क्षमता अभिवृद्धि गर्नुपर्छ । बैंक-बैंक
भनेर चिच्याउनुको सट्टा फुल सर्भिस र डिस्काउन्ट दलालको अवधारणा विकास गर्न लागेनन्
। संसार बहुबाट एकल स्टक एक्सचेन्जमा गईरहेको बेला भएको एक्सचेन्जको पुनसंरचना
कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुको सट्टा ‘एउटा पोखरीको
पानी अर्को पोखरीमा सारेर दुइटै पोखरी’ सुकाउने बहुस्टकको
अनावश्यक बहस गरेर समय वर्वाद पारे । भारत, पाकिस्तान लगायत एसियाली र यूरोपियन
देशमा एक्सचेन्ज बन्द गरिएको र गाभिएको देख्दै देखेनन । नेप्से र बोर्ड एकै
प्रकृतिको संस्था हैनन् भन्ने बुझेर पनि एक्सचेन्जका अधिकारी र पदाधिकारीसँग व्यक्तिगत
टकराव लिएकै कारण एक्सचेन्जलाइ दिनुपर्ने अधिकार पनि दिएनन । उदाहरणका लागि
सूचीकरण विनियमावली अनुसार सूचीकरण नवीकरण नगर्ने कम्पनीलाई एक्सचेन्जले कारवाही
गर्नसक्ने अधिकार दिँदै दिएनन ।
कार्कीले बोर्ड अध्यक्षको रुपमा ‘लगानीकर्ता’ र ‘देश हित’ भन्दा कम्पनी हितमा
बढी समय खर्च गरे । कम्पनीलाई अवान्छित गैर-व्यवसायिक लाभ दिनकै लागि रातारात
कार्यदल बनाएर बाटो खोलिदिएका कारण कम्पनीले ४ अर्बभन्दा बढी गैर-व्यवसायिक लाभ पाउँदा
लगानीकर्ताले बढी मूल्य तिरे भने सरकारले राजश्व गुमायो । माघ १ गतेबाट लागु हुनलागेको
आस्बा प्रणाली लागु हुनु २ दिन पूर्व उक्त कम्पनीलाई बिक्री अनुमति दिएर त्यसको बिक्री
प्रवन्धक र निष्कासन बैंकलाई समेत अवान्छित लाभ दिलाए । कार्कीले ‘तथास्तु’
भनिदिएका कारण बिक्री प्रवन्धक र निष्काशन बैंकले २ महिनाभन्दा बढी
समय ५० अर्ब रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा तिनले शुभलाभ पाए तर, वित्तीय प्रणाली भने असन्तुलित बन्दा त्यसको असर लामैसमय देखियो । एक
हिसाबले कार्कीले गरेको यो गम्भीर आर्थिक कसुर थियो । कार्कीको कसुर यतिमा सकिन्न ।
लगानीकर्तालाई त्रसित पार्न अधिकारक्षेत्र विहिन सम्पत्ति शुद्धीकरण कानुन विपरीत ‘कालोधन छानविन’ गर्ने भन्दै छानविन समिति पनि बनाए ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा
वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनलाई बारम्बार हतियार बनाएर
प्रहार गरीरहे । यस्तै निर्देशन नेपाल राष्ट्र बैंक, बिमा समिति र अरु सूचक
संस्थाले पनि जारी गरेका छन् तर, कार्कीले जति यसको त्रास अरुले देखाएनन र नियमति
प्रक्रियाको रुपमा लिए । यी त कार्कीका केही प्रसंग मात्र हुन् ।
वर्तमानको अपेक्षा
ढुङ्गानाको आगमनपश्चात बजारमा देखिएको उत्साह सायद उनका सन्तुलित अभिव्यक्ति
एउटा कारण हुनसक्छ । ढुङ्गानाले तत्काल (१) बुक बिल्डिङ विधि शुरु गराउने, (२)
ऋणपत्रको कारोबार गराउने, (३) अल्पकालीन र दीर्घकालीन
लगानीको परिभाषा गरी दीर्घकालीन लगानीलाई लाभकर मुक्त गर्ने, (४) संवेदनशील सूचना
प्रवाहलाई व्यवस्थित गर्ने, (५) सूचीकृत कम्पनीका अधिकारी र
पदाधिकारीलाई कुनै पनि संचार माध्यममा जुनसुकै बेला बोल्न रोक लगाएर त्रैमासिक
विवरणमा मात्र बोल्न लगाउने, (६) कारोबार मापन गर्ने नयाँ सूचक निर्माण गर्ने, (७)
सूचीकरणमा हुने विलम्ब हटाउन समय तोक्ने, (८), म्युचुअल फन्डको योजना व्यवस्थापक
प्रवर्द्धक कम्पनीको सहायक कम्पनी हुन् नपाउने व्यवस्था अविलम्ब गर्ने, (९) दश कित्ते बाँडफाँड नीति अविलम्ब खारेज गरी समानुपातिक बाँडफाँड नीति लागु
गर्ने, (१०) प्रविधिगत सुधार गरी स्वचालित प्रणाली विकास गर्ने, (११) भित्रि
कारोबार नियन्त्रण गर्ने, (१२) धितोपत्र न्यायाधिकरण स्थापना गर्ने, (१३) हकप्रद
सम्बधि कानुन जारी गर्ने, (१४) नियमन नहुने कम्पनीको आफैँले नियमन गर्ने, (१५)
गाभ्ने-गाभिने सम्बन्धि निर्देशिका जारी गर्ने, (१६) सूचीकृत कम्पनीका अधिकारी
पदाधिकारीलाई कारवाही गर्ने अधिकार एक्सचेन्जलाई दिने, (१७) डेरीभेटिभ उपकरण
ल्याउने जस्ता कार्यलाई प्राथमिकतामा राख्नु जरुरी छ ।
सन्तुलित विचार प्रवाह गरेर बजारमा उत्साह थपेका ढुङ्गानाले आगामी ४ वर्षमा
अब्बल कार्य गरेर अब्बल अध्यक्ष बन्न सकेमा नामका ‘भिष्म’ महाभारतका
अविस्मरणीय पात्र ‘भिष्म’ बन्नसक्ने
सम्भावना छ । बोर्डको एक/एक वाक्य शेयरबजारका लागि अमूल्य हुन्छ । ढुङ्गानाले कार्कीपथ
नलिउन, शेयरबजारको गुणात्मक विकास गरुन शुभेच्छा र शुभकामना ।
२१ माघ २०७६, आर्थिक अभियान दैनिक