Monday, December 9, 2019

सूचीकृत कम्पनीका कर्मकाण्डी विवरण


स्टकक एक्सचेन्जमा सूचीकृत भएका संसारभरका कम्पनीले हरेक त्रैमासिक अवधि समाप्त भएपछि वित्तीय र अन्य विवरण प्रकाशन गर्नुपर्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका ११ ओटा समूहका २ सयओटा भन्दा बढी कम्पनीले त्रैमासिक रूपमा सावर्जनिक गर्दै आएका यस्ता विवरण कर्मकाण्ड पूरा गर्न मात्र प्रकाशन गरिरहेका छन् ।
अनुसूचीको बुँदा नं २
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसूची १४ मा सूचीकृत कम्पनीले त्रमौसिक रूपमा प्रकाशन गनर्पुर्ने विवरणको बेहोरा उल्लेख छ । अनुसूचीमा अन्य विवरणका अतिरिक्त(१) वित्तीय विवरण, (२) व्यवस्थापकीय विश्लेषण र (३) कार्यकारी प्रमुख वा कार्यकारी अध्यक्षको घोषणासहित सातअ‍ेटा बुँदा समावशे गरी विवरण प्रकाशन गर्नुपर्छ । प्रकाशन भएका विवरणमा लक्षित वर्गले मिति बाहेक तात्विक असर पर्ने विषयमा धारणा बनाउन सक्ने आधार हुँदैन ।
अनुसूचीको बुँदा नं. १ मा उल्लिखित वित्तीय विवरण (वासलात र नाफानोक्सान) समेत गोलमालयुक्त हुन्छ । पहिलो बुँदा (वित्तीय विवरण) नै गोलमालयुक्त भएपछि बुँदा नं. २ (व्यवस्थापकीय विश्लेषण) सही हुने प्रश्नै आउँदैन । बुँदा नं.२ अन्तर्गत (१) त्रमौसिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण, (२) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण र (३) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्नसक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण उल्लखे गर्नुपर्ने हुन्छ । तर, प्रकाशित हुने त्रैमासिक प्रतिवेदनमा यस्ता कुरा कमै उल्लेख हुने गरेका छन् ।
बुँदा नं २ अन्तर्गतका त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरणमा कुनै पनि कम्पनीले स्पष्ट रूपमा केही लेखेको भेटिदैन । दिनहुँ प्रातकालमा जपिने गायत्री मन्त्र जस्तो एकै वाक्य हरेक त्रैमासिकमा उल्लेख हुन्छ । त्यस्तै,‘आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरणमा त केही देख्नै पाइँदैन । अनि, ‘विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्नसक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरणमा पनि केही भेटिँदैन ।
जेठो र कान्छो मामा
नेप्सेमा सूचीकृत कम्पनीमध्ये तुलनात्मक रूपमा बैकिङ (खासगरी वाणिज्य बैंक) लाई अब्बल सुशासनयुक्त मानिन्छ । तर, यिनै बैकिङ कम्पनीले प्रकाशन गर्ने विवरण पूर्ण हुँदैनन भने अरूको के कुरा गर्नु ? ‘जेठो मामाको त भांग्राको धोती, कान्छो मामाको कुन गतिभने जस्तो बैकिङ कम्पनीले त शुद्ध र स्पष्ट विवरण दिएका छैनन् भने अन्य नियमन नै नहुने कम्पनीले कस्तो विवरण देलान भनेर अनुमान गर्ने ? नेप्सेमा सूचीकरण भएका कयौं कम्पनी अहिले हराएका छन् । कम्पनीलाई सूचीकरणमा ल्याएपछि न्यनूतम सपुरिवेक्षण र नियमन  गर्ने जिम्मा धितोपत्र बोर्डको हो । तर, बोर्डलाई कति कम्पनी सूचीकरणमा छन् र कति कम्पनीलाई सूचीकरणको अनुमति दिइयो भन्ने पनि थाहा नहुन सक्छ ।
व्यापार समूहको विशाल बजार कम्पनी सूचीकरणमा छ र फाट्टफुट्ट कारोबार पनि हुन्छ तर, यसको वित्तीय प्रतिवेदन कस्तो छ भनेर शायद कमैले मात्र देखेका होलान् । त्यस्तै विशेष कानून अनुसार गठन भएको नागरिक लगानी कोष भन्ने कम्पनी सरहको संस्थाले पनि त्रैमासिक वित्तीय विवरण विरलै प्रकाशन गर्छ ।
के आउनुपर्छ विवरणमा
विवरण प्रकाशन गर्न लगाउनुको कारण कम्पनीको स्थिति के छ, भविष्यमा कम्पनीले के गर्न लागेको रहेछ, लगानी बढाउन वा घटाउन वा उपयुक्त लागेन भने त्यसलाई बेचेर  अर्कोमा जान सकून् भन्ने अभिप्राय हो । तर, कम्पनीले बिरालो बाँधेजस्तो विवरण दिने हुँदा लक्षित वर्गले यस्ता विवरण पढरे लगानी बढाउन, घटाउन र बेचेर निस्कन सक्ने निर्णय गर्न सक्ने अवस्था छैन ।
अधुरा वा प्रकाशन नै नहुने जानकारीले लगानीकर्ताको लगानीमा जोखिम बढाएकोछ । कम्पनी आफ्नो कमजोरी लुकाएर लगानीलाई जोखिममा हाल्न उद्यत छन् । सूचना वा जानकारी दिएपछि पूर्णरूपमा दिनुपर्छ । सही र यथार्थ सूचना पाउने संवैधानिक हक भए पनि अधुरा र कर्मकाण्डी जानकारीले लगानीकर्ताको हित संरक्षण हुन सक्दैन ।
नेप्सेमा सूचीकृत ११ ओटा (म्युचुअल फन्ड बाहके ) बैकिङ (वाणिज्य, विकास बैंक, वित्त र लघुवित्त), बीमा (जीवन र निर्जीवन), जलविद्युत्,उत्पादन तथा प्रशोधन, होटेल, व्यापार र अन्य समूहले विवरण प्रकाशन गर्दा अनुसूचीको २ न. बुँदा अन्तर्गत १, २ र ३ नं. मा उल्लिखित विषयलाई पटक्कै ध्यान दिएको देखिन्न ।
अनुसूचीको यो बुँदा आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरणलगानीका हिसाबले अत्यन्त महत्वपूर्ण छ । तर, यस बुँदाका बारेमा प्रतिवेदन केही बोल्दैन ।
सबै समूहले कुनैपनि त्रैमासको प्रतिवेदन सार्वजनिक गर्दा आगामी त्रैमासको प्रक्षेपण समेत प्रकाशित गर्नुपर्छ । तर, यस्तो प्रक्षेपण शायदै देख्न पाइएको छ । यसरी प्रक्षेपण गरिए अनुसारको प्रगति भयो वा भएन, पछिल्लो पटक प्रकाशन हुने विवरणमा हुन नसकेको भएत्यसको कारण खुलाउनुपर्छ ।
एवम क्रमले एउटा त्रैमासिक अवधिको विवरण सार्वजनिक गर्दा त्यसपछि आउने त्रैमासिक अवधिको व्यावसायिक गतिविधि प्रक्षेपणा  गर्दै जानुपर्छ र त्यसको समीक्षा अर्को त्रैमासिक विवरण  प्रकाशन गर्दा गर्नुपर्छ ।
हास्य संवाद जस्तो उद्घोष
नभई नहुने वित्तीय विवरण र व्यवस्थापकीय विश्लेषण प्रकाशन नग रेपनि  अनुसूचीको ७ नं बुँदाको सत्यतथ्य सम्बन्धमा कार्यकारी प्रमुखको घोषणामा चाँहि म जिम्मेवार छुभन्ने वाक्य छुट्दैन । 
दिनपर्ने सत्य र तथ्य नदिए पनि आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उदघोष गर्दछु, कि मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।भन्ने अनुसूचीको वाक्यमा सहीछाप गरिएको हुन्छ । 
यस्तो जिम्मेवारीको सहीछाप देख्दा हास्य नाटकको संवाद पढेझैं लाग्छ । अनुसूचीको २ नं बुँदाको आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरणमा आगामी त्रैमासिक अवधिको लागि प्रक्षेपण गरिएको आधार र कारण दिएर गरिएको उद्घोषको जिम्मेवारी लिन्छु भनेको भए बल्ल सही अर्थमा जिम्मेवार भएछन् वा रहेछन् भनेर अनुमान गर्न सकिन्थ्यो । 
दिंदै नदिएको विवरणका लागि के सत्यतथ्य उद्घोष गरिरहन पर्छ र ? तिनै कार्यकारी प्रमुख वा अध्यक्ष बेला न कुबेला पत्रपत्रिका, टेलिभिजन र रेडियोमा यति र उति प्रगति भयो भन्दै फलाकेको भने जति पनि सुन्न पाइन्छ । 
बोल्ने ठाउँमा बोल्दै नबोल्ने अनि नबोल्ने ठाउँमा आकाशै खसाल्न लागेझैं तँछाडमछाड गर्दै बोलिलरहेका हुन्छन् । यसरी बोल्नु व्यावसायिक मर्यादाभित्र पर्छ कि पर्दैन तीसगँ धितोपत्र बोर्डले जवाफ माग्नुपर्ने भएको  छ ।
केही सुझाव
अनुसूचीको २ नं. को प्रक्षेपण र त्यसको समीक्षा अनिवार्य प्रकाशन गर्नुपर्ने, त्रैमासिक विवरण बढीमा १५ दिनभित्र नेप्सेमार्फत त सार्वजनिक गर्नुपर्ने, प्रक्षेपणको लक्ष्य प्राप्त नभएमा त्यसको कारण खोल्न लगाउनुपर्ने, सत्य र यथार्थ विवरण प्रकाशन नगर्नेलाई व्यक्तिगत रूपमा नगद जरीवाना र अयोग्य घोषित गरी सोही तहमा निश्चित वर्षसम्म नियुक्त हुनसमेत रोक लगाउन आवश्यक देखिन्छ । त्यस्तै, मनपरीसँग आकाश खसाल्न लागेझैं मिडियामा फलाक्ने कार्यकारी तहका अधिकारीलाई लगाम लगाउन पनि आवश्यक छ । 
१० मंगसिर २०७६, आर्थिक अभियान दैनिक 


सूचीकृत कम्पनीको लाभांश : अन्योल नै अन्योल


लगानी लाभका लागि गरिन्छ । कम्पनीले वार्षिक रूपमा आयव्यय हिसाब गरी खुद नाफाबाट शेयरधनीलाई लाभांश बाँड्ने गर्छन् । यस्तो लाभांश त्रैमासिक रूपमा पनि वितरण गर्न सक्छन् । नेपालमा त्रैमासिक रूपमा लाभांश बाँड्न सक्ने कानून नभए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एक कम्पनीले आर्थिक वर्ष २०७५/७६ नसकिँदै अन्तरिम लाभांश वितरण गरिसकेको छ । एकातिर आर्थिक वर्ष नसकिँदै अन्तरिम लाभांश बाँड्ने कम्पनी पनि छन् भने अर्कातिर वार्षिक रूपमा बाँड्न प्रस्ताव गरेको लाभांश विवादमा पार्ने कम्पनी पनि छन् । लाभांश विवादमा पार्ने, घोषित लाभांश संशोधन र रद्द गर्ने कार्य बेहिसाब छ, तैपनि यस्ता कम्पनीका अधिकारी र पदाधिकारीले न जवाफदेही भएर जिम्मेवारी लिनुपरेको छ न तालुकी निकायले जिम्मेवार बनाएका छन् । यसको मार भने शेयरधनीले निरन्तर भोग्नुपरेको छ र कतिन्जेलसम्म भोगिरहनुपर्ने हो प्रश्नको उत्तर पनि छैन । 
दुई कम्पनी : एकै व्यवहार 
नेप्सेमा सूचीकृत समता र ग्लोबल आइएमई लघुवित्तले घोषणा गरेको लाभांशमा अनौठो घटनाक्रम र चर्तिकला देखिएको छ । दुवै कम्पनी (लघुवित्त) ले आर्थिक वर्ष २०७६/७७ शुरू भएपछि हकप्रद शेयर जारी गरेका थिए । ग्लोबल आइएमईले साउन १ गते बुक क्लोज गरी सोही महीनाको २१ गतेदेखि २३ भदौसम्म १ बराबर १ र समताले असोज १ गते बुक क्लोज गरी सोही महीनाको २६ गतेदेखि १ मंसिरसम्म १ बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर विक्री गरेका थिए । कम्पनीले आवश्यकता अनुसार हकप्रद जारी गर्नसक्ने कुरालाई अन्यथा भन्न र अस्वीकार गर्न सकिन्न । तर, लाभांश घोषणा गर्ने बेलामा यी दुवै कम्पनीले लगानीकर्तामाथि अन्यथा (घात) गरेका छन् । 
ग्लोबल आइएमईले असोज १ गते असार मसान्तसम्मको चुक्ता पूँजीलाई आधार मानेर ३५ प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने सम्बन्धमा नेप्सेलाई पत्राचार ग¥यो । कात्तिक १७ गते साधारणसभा आह्वान गरिएको सूचनामा पनि असार मसान्तसम्म कायम रहेको पूँजीलाई ३५ प्रतिशत बोनस लाभांश वितरण गरिने भनेर कात्तिक २५ गते बुक क्लोज गर्ने भनिएको छ । तर, बुक क्लोजको १ दिनअघि नेप्सेलाई गरेको पत्राचारमा सम्पूर्ण हकप्रद विक्री भएको हुँदा लाभांश दर १७ दशमलव ५ प्रतिशत अनुसार बुक क्लोज गरिदिनु हुन भन्दै अर्को पत्राचार गरिएको थियो । लाभांश र साधारणसभा घोषणामा एउटा कुरा लेखेर बुक क्लोजको अघिल्लो दिन अर्को व्यहोराको पत्राचार गराउने कार्य निन्दनीय र आपत्तिजनक कार्य हो । 
झन् गजबको समता
ग्लोबल आइएमईकोभन्दा अझ गजबको चर्तिकला समताको छ । नाम भने समता अर्थात् समान तर, व्यवहार हेर्दा भने नामले मात्र हुन्न, नाम त चिनिने माध्यम मात्र हो भन्ने बुझ्नुपर्ने भएको छ । समताले ९ असोजमा असार मसान्तसम्म कायम पूँजीलाई आधार मानेर नगद र बोनस गरी ३१ प्रतिशत लाभांश घोषणा गरेको भनेर नेप्सेलाई पत्राचार ग¥यो । तर, असोज २४ गते अर्को पत्राचार गर्दै विक्री जारी रहेको हकप्रद शेयर साधारणसभा अगावै बाँडफाँट भएमा चुक्ता पूँजी बढ्न जाँदा पूर्व घोषित लाभांशको अंकमा कमी आउने र बाँडफाँट नभएमा यथावत् कायम रहने अचम्मको चिठी पठायो । समताले अहिलेसम्म साधारणसभा आह्वान गरेको छैन । यसको हकप्रद विक्री १ मंसिरमा बन्द भएको छ । हकप्रद पूरै विक्री हुने सम्भावना कम हुने हुँदा बाँकी रहने अवितरित हकप्रद लीलामी गर्दासम्म पनि साधारणसभा आह्वान गर्ने वा नगर्ने भन्ने कम्पनीका सञ्चालकमा निहित रहेकोले जे जस्तो पत्राचार गरे पनि यसको कुनै तात्विक अर्थ छैन । 
सूचीकरण भएमा लाभांश
आर्थिक वर्ष शुरू भएपछि हकप्रद जारी भएका वा बाँडफाँट गरेका  उदाहरण प्रशस्त छन् । यस्तो अवस्थामा बाँडफाँट भएका र जारी भएका हकप्रदलाई कम्पनीले ३ थरी व्यवहार गरेको दृष्टान्त भेटिन्छ : पहिलो, आर्थिक वर्ष समाप्त भएपछि जारी भएका वा बाँडफाँट भएको हकप्रद शेयरलाई लाभांशका लागि अयोग्य मान्ने दोस्रो, यस्तो हकप्रद शेयर नेप्सेमा सूचीकरण गराएर लाभांश दिएको र तेस्रो, आर्थिक वर्ष शुरू भएपछि बाँडफाँट भएका तर, सूचीकरण नभएका वा हकप्रद जारी गर्न बुक क्लोज हुनासाथ लाभांश दिएका छन् । यी ३ थरी व्यवहारमध्ये पहिलो विकल्प साह्रै कम उपयोगमा आएको छ भने दोस्रो र तेस्रो विकल्प अनुकूलता अनुसार हुँदै आएको छ । यस्तो अवस्थामा यही गर्नुपर्छ भन्ने कुनै परिपत्र वा निर्देशन कुनै निकायबाट आएको छैन । कम्पनी ऐनले यस्ता सबै कुरा बोल्न नपर्ने हुँदा केही बोलेको देखिन्न तर, नेप्सेमा सूचीकरण भएका कम्पनीको हकमा बोल्नुपर्ने धितोपत्र बोर्डले पनि यस विषयमा केही बोलेको देखिन्न । 
जिम्मेवार निकाय 
नेपाल धितोपत्र बोर्ड शेयरबजारको तालुकी अड्डा हो । धितोपत्र सम्बन्धी ऐन २०६३ को प्रस्तावनामै बोर्डलाई लगानीकर्ता हित संरक्षकभनिएको हुँदा लगानीकर्ता हित संरक्षणमा पहिलो कदम चाल्ने जिम्मा बोर्डकै हो । शेयरबजारमा लाभांशका यस्ता अन्योल देखिएको धेरै भइसकेको छ । शेयरबजारमा बारम्बार देखिने यस्ता व्यवहारले स्वच्छ र स्वस्थ लगानीको वातावरण छ भनेर परिचय दिंदैन । कम्पनीले मनपरी गरे भनिहाल्न पनि कुनै स्पष्ट नियम वा निर्देशन नभएको हुँदा कम्पनी नै अराजक हुन् भन्न पनि मिल्ने ठाउँ हुन्न । यद्यपि कम्पनीले लगानीकर्तालाई प्रष्ट र खँदिलो व्यवहार गरेर शेयरधनीप्रति उत्तरदायी हुनुपर्ने हो । कम्पनीले गरेका माथिका दुईटा पत्राचार हेर्दा कम्पनीगत नीति र लगानीकर्ताप्रति जालसाजीगरेको भन्न सकिने अवस्था छ । 
शेयर लगानी (कुनै पनि लगानी) जोखिमयुक्त हुन्छ । जोखिमलाई न्यूनीकरण गराइदिने कार्य सरकार र यस मातहतका निकायको हो । कारोबारी र लगानीकर्ता शेयरबजारका आधारभूत पक्ष हुन् । शेयर लगानीमा जोखिम छँदै छ, झन् त्यसमाथि अन्योल सृजना गरिदिएपछि जोखिम अझ बढ्छ । शेयरबजारको जोखिमलाई न्यूनीकरण गराइदिने कार्य धितोपत्र बोर्डको हुँदाहुँदै पनि नियामक नै उदासीन हुँदा कसलाई सुनाउने ? कम्पनीले लाभांश घोषणामा अराजकता ल्याएको प्रष्ट देखिएको अवस्थामा त्यसलाई नियमन गर्ने निकायले आवश्यक नीतिनियम वा निर्देशन जारी गरी एकरूपता ल्याउन पहल नगर्नु खेदजन्य कार्य हो । लाभांश सम्बन्धमा भएका अराजक गतिविधिलाई उचित सम्बोधन गरी एकरूपता ल्याउने कार्य नियामकले नगरिदिएमा कर्पोरेट डिसअर्डरले संस्थागत स्वरूप लिन्छ र यसले फस्टाउँदो, विस्तारित र व्यावसायिक हुने क्रममा रहेको शेयरबजारलाई गम्भीर असर पार्दा आमलगानीकर्ता विचलित हुन्छन् । जोखिमलाई न्यूनीकरण गराउनका लागि बेलैमा सही र यथार्थ सूचना सम्प्रेषण गर्नु र गर्न लगाउनु नियामकको प्राथमिक कर्तव्य एवम् दायित्व हो । सही अर्थमा नियमन भनेको पनि यही हो । 
अबको बाटो 
सही र यथार्थ सूचना प्राप्त गर्ने विषयलाई संविधानले मौलिक हकको रूपमा राखेको छ । धितोपत्र कानूनमा लाभांश घोषणासहित २५ ओटा घटनालाई कम्पनीको शेयर मूल्यमा प्रभाव पार्ने विशेष परिस्थिति भनिएको छ । अहिलेको अवस्था हेर्दा हकप्रद जारी गर्ने समय पनि किटान गरिदिनुपर्ने देखिन्छ । समग्रमा निम्न कार्य अविलम्ब गरिनुपर्ने आवश्यकता देखिन्छ । 
लाभांश वितरण गर्ने प्रयोजनको लागि एक आर्थिक वर्षमा कायम रहेको चुक्ता पूँजीलाई मूल आधार बनाइनुपर्छ । हकप्रद जारी गर्दा असार मसान्तसम्म बाँडफाँट हुनेगरी स्वीकृति दिनुपर्छ । आर्थिक वर्ष शुरू भएपछि हकप्रद जारी गर्ने भएमा साधारणसभाको लागि बुक क्लोजपछि मात्र विक्री गर्ने गरी स्वीकृति दिनुपर्छ । नियमित साधारणसभा नगरेका कम्पनीलाई हकप्रद जारी गर्न रोक लगाउनुपर्छ । साधारणसभा हुन नसक्नु भनेको कम्पनीमा सुशासनको पक्ष कमजोर हो भनेर बुझ्न सकिन्छ । हकप्रद शेयर जारी विक्री आदि विषयमा एकीकृत निर्देशन अविलम्ब जारी गरिनुपर्छ ।  
३ मंगसिर २०७६, आर्थिक अभियान दैनिक 


असान्दर्भिक मूल्य समायोजन


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी (बैंक तथा वित्तीय संस्था) गाभिने (मर्ज), प्राप्ति (एक्वीजिशन) सँगसँगै पुनः सूचीकरण हुने क्रम पनि बढ्दैछ । पछिल्लोपटक एउटा वाणिज्य बैंक (एनएमबी) र अर्को राष्ट्रियस्तरको विकास बैंक (ओम) गाभिएर शेयर कारोबार खुलेको छ । गाभिने वा प्राप्ति हुने र पुनः सूचीकरण नियमित प्रक्रिया हो । तर, यसपटकको कारोबार खुलाइमा नेप्सेले मूल्य सीमा तोकेका कारण केही हदसम्म विवादास्पद बन्यो । निकट भविष्यमै अन्य कम्पनी पनि पुनः सूचीकरण हुन लागेका बेला शेयरधनीमा मनोवैज्ञानिक रूपमा त्रासको वातावरण सृजना भएको छ । 
विवादको जड 
एनएमबी र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिएपछि नेप्सेमा पुनः सूचीकरण भएर कारोबार खुल्नुपर्ने स्वाभाविक थियो र खुल्यो । तर, गाभिएपछिको कारोबारको लागि नेप्सेले ३ सय ५१ रुपैयाँ माथिल्लो मूल्य सीमा तोकिदियो । नेप्सेले पहिलो कारोबारको लागि तोकेको मूल्यलाई विधिवत् (डिजुरे) रूपमा समायोजन नभने पनि तथ्यगत (डिफ्याक्टो) रूपमा समायोजन गरेको देखिन्छ । तर, के आधारमा किन मूल्य समायोजन गरियो भन्ने बारेमा कुनै हिसाब र कारण जानकारी गराइएन । यी दुई बैंकले गाभिने सम्झौता गर्दा एनएमबी र ओमको बजार मूल्य क्रमशः ३ सय ८२ रुपैयाँ र १ सय ९७ रुपैयाँ थियो । प्रतिकित्ता ७६ रुपैयाँ दिएर एनएमबीले ओम बैंकलाई गाभेको थियो । गाभिने सम्झौता हुनुअघि कायम रहेको गाभ्ने कम्पनी (एनएमबी) को बजारले निर्धारण गरेको मूल्य गाभिएपछि समायोजित हुनुको न्यायोचित जवाफ शेयरधनीले पाउन सकेका छैनन् । निकट भविष्यमै दुई वाणिज्य बैंक (ग्लोबल र जनता) लगायत गाभिने र प्राप्ति हुन लागेका अन्य कम्पनी (बैंक) को हकमा के हुन्छ भन्ने चर्चा शुरू भएको छ । 
गाभिने वा प्राप्ति 
कम्पनी ऐन २०६३ को दफा १७७ मा उल्लिखित व्यवस्थाको अधीनमा रहेर कम्पनी गाभिन सक्छन् र दिनहुँ जस्तो कम्पनी गाभिने गर्छन् । प्राइभेट, पब्लिक (सूचीकृत र असूचीकृत) र नाफा वितरण नगर्ने सबै कम्पनी गाभिन सक्छन् । ऐनको दफा १७७ (५) अनुसार गाभिने कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्वहरू गाभ्ने कम्पनीमा सरेको मानिने व्यवस्था छ । बैंक पनि कम्पनी नै भएको हुँदा कम्पनी ऐनको व्यवस्था लागू हुन्छ । तर, बैंकिङ कम्पनी केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को नियमनमा रहने र बैंक गाभ्ने सम्बन्धमा केन्द्रीय बैंकको नीतिगत व्यवस्था पनि लागू हुने हुँदा बैंकको गाभ्ने सम्बन्धी नीतिको पनि संक्षिप्त अध्ययन सान्दर्भिक हुन्छ । 
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को दफा २(श) अनुसार प्राप्त गर्ने संस्थाभन्नाले यस ऐन बमोजिम इजाजतपत्रप्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल बैंक वा वित्तीय संस्था सम्झनुपर्छ ।त्यस्तै दफा २(ष) मा प्राप्ति गर्ने (एक्वीजिशन)भन्नाले एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थाको सम्पूर्ण सम्पत्ति तथा सम्भावित दायित्वको हरहिसाब गरी इजाजतपत्र प्राप्त संस्थाको कानूनी हैसियत समाप्त हुने गरी आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्वसमेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँछभनिएको छ । दफा २ (कग)मा लक्षित संस्थाभन्नाले यस ऐनबमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत समाहित हुन जाने इजाजतपत्र प्राप्त संस्था सम्झनुपर्छभनिएको छ । बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिशन) सम्बन्धी विनियमावली २०७३ को विनियम २ (छ) मा प्राप्ति (एक्वीजिशन)भन्नाले एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई खरीद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्यसमेतलाई जनाउँछ ।त्यस्तै २(ज)अनुसार प्राप्त गर्ने संस्था (एक्वायरर)भन्नाले विनियम २(छ) बमोजिम अर्को इजाजतपत्र प्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल संस्था सम्झनुपर्छ ।विनियम २(झ) मा लक्षित संस्थाभन्नाले विनियम २(छ) बमोजिम खरीद गरेको संस्थालाई सम्झनुपर्छभनिएको छ । विनियम २(ञ) मा प्राप्ति (एक्वीजिशन) मा संलग्न संस्थाभन्नाले प्राप्त गर्ने संस्था (एक्वायरर) र लक्षित संस्था दुवैलाई सम्झनुपर्छभनिएको छ ।
समायोजनको सान्दर्भिकता
कम्पनी र बैंकिङ कानूनमा भएका गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी नीतिको चर्चापछि समायोजनको सान्दर्भिकता खोज्नु अघि समायोजन के हो भन्ने बुझ्नुपर्ने हुन्छ । समायोजनको अर्थ मिलाउने वा मिलान गर्ने काम भन्ने हुन्छ । शेयरबजारको सन्दर्भमा यसको प्रयोजन शेयरको मूल्यलाई मिलाउने भन्ने बुझिन्छ । शेयरबजारमा यस्तो अवस्था कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरेपछि सोही अनुपातमा कम्पनीको तत्काल कायम रहेको बजार मूल्यलाई मिलाउने भन्ने हुन्छ । बोनस वा हकप्रद शेयर जारी गर्न शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) का लागि कम्पनीको तोकेको दिन एक्सचेन्जले मूल्य समायोजन गर्छ । समायोजन पश्चात् मूल्यमा कमी देखिए पनि बुक क्लोज अघिका शेयरधनीको कित्ता बढ्ने हुँदा हिसाब भने बराबर हुन्छ । यसले शेयरधनीको सम्पत्तिमा तात्विक असर पर्दैन । 
समायोजनको बारेमा सामान्य बुझेपछि अब एनएमबी बैंकका साविकका शेयरधनीले ओम गाभिएपछि के लाभ पाए भन्ने प्रत्यक्ष प्रश्न आउँछ । अप्रत्यक्ष रूपमा दुई कम्पनी गाभिँदा व्यापार विस्तार हुँदा बढी लाभ प्राप्त हुने कुरालाई नकार्न सकिन्न तर, यो सुनिश्चित भने हुन्न र छैन । शेयरको बजार मूल्यबाट प्राप्त हुने लाभ र प्रतिफलबाट प्राप्त हुने लाभ दुई अलग कुरा हुन् । यद्यपि कम्पनीको आर्थिक सबलताले बजार मूल्य निर्धारण हुन्छ । तर, सबै अवस्थामा यही नियम लागू हुन्छ भन्ने पनि छैन । नेप्सेले विना आधार र कारण मूल्य समायोजन गरिदिँदा एनएमबीका शेयरधनीले ३१ रुपैयाँ क्षति व्यहोर्नुपर्यो । ओमको हकमा यसको अन्तिम मूल्यलाई आधार मान्दा ९० रुपैयाँ प्रत्यक्ष लाभ पाएका छन् । तर, के पनि स्मरणमा राख्नुपर्छ भने ओमको सबै शेयरधनीले बन्द हुँदाका मूल्यमा शेयर लिएका थिएनन् । स्मरणको लागि ओम बैंकको शेयर मूल्य कुनै बेला झन्डै ८ सय रुपैयाँको हाराहारीमा पनि पुगेको थियो । त्यति बेलादेखि धारण गर्नेले भने ९० रुपैयाँको लाभले लागतमा केही राहत मात्र पाएका छन् । बन्द मूल्यलाई मात्र हिसाब गरेर ओमका शेयरधनीले अकूत कमाए भनेर निरपेक्ष अनुमान गर्न सकिन्न । शेयरधनीले पाएको लाभ र हानिलाई सापेक्ष रूपमा मूल्यांकन गरिनुपर्छ ।  
अब के गर्ने ?
कम्पनी र बैंक सम्बन्धी ऐन एवं बैंक प्राप्ति वा गाभिने विनियम अनुसार गाभिने वा प्राप्ति हुने कम्पनीको अस्तित्व समाप्त भएर गाभ्ने वा प्राप्त गर्ने कम्पनीको अस्तित्वमा समाहित हुन्छ । यस हिसाबले हेर्दा गाभ्ने वा प्राप्त गर्ने कम्पनीको निरन्तरतालाई गाभिन वा प्राप्त हुन आएको कम्पनीले कुनै असर पर्दैन र नयाँ अस्तित्व पनि सिर्जना गर्दैन । गाभिने कम्पनीको सम्पत्ति र करारीय दायित्व समेत गाभ्ने कम्पनीले गरेसरह हुने हुँदा गाभ्ने कम्पनीको साविकको परिस्थितिमा कुनै तात्विक असर पर्ने देखिन्न । कम्पनी गाभिँदा गाभ्ने कम्पनीका शेयरधनीलाई कुनै तात्विक (प्रत्यक्ष मौद्रिक) लाभ देखिन्न भने मूल्य समायोजनको पनि औचित्य देखिन्न । निकट भविष्यमै नेप्सेमा कारोबार खुल्न लागेको ग्लोबल बैंक (जनता गाभेपछि) को कारोबार खोल्दा गाभिने सम्झौता गर्दाका बखत कायम रहेको मूल्यमा प्रस्तावित बोनस शेयरको मूल्य समायोजनसम्म गरी कारोबार खोल्नेतर्फ ध्यान जाओस् । दुई कम्पनी गाभिएपछि सिद्धान्ततः नयाँ कम्पनी बन्छ भनिए पनि व्यवहारतः पुरानै कम्पनीको निरन्तरता हो । गाभ्ने कम्पनीको बजारमा कायम रहेको मूल्यलाई निरन्तरता दिइयोस् । 
२६ कार्तिक, २०७६ आर्थिक अभियान दैनिक 


जलविद्युत्को शेयर : कहिले आउला भाउ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १२ ओटा समूहमध्ये एउटा जलविद्युत पनि हो । सरकारले जलविद्युत्मा लगानी गरेर समृद्धभइने र ज्वाइँ खोज्दै आउनेभने पनि मूल रूपमा सरकारकै कारण उत्साह आउन सकेन । सरकारपछि लगानीकर्ताका कारण पनि जलविद्युत् मात्र होइन, समग्र शेयरबजार प्रताडित भएको छ । समग्र शेयरबजारमा कमी आउनुमा केही हदसम्म सरकार कारक देखिए पनि लगानीकर्ता पनि कम अंशियार छैनन् । शेयरमा लगानी गरेर रातारात धनी हुन्छन् र भइन्छभन्ने सरकार र लगानीकर्ताको अतिवादी सोच त्याग्नुपर्ने देखिन्छ । 
जलविद्युत्को सारांश 
नेप्सेमा हालसम्म सूचीकृत ३२ ओटा जलविद्युत् कम्पनीको कुल चुक्ता पूँजी ५० अर्ब ५६ करोड ७८ लाख ४ हजार २ सय रुपैयाँ छ । सबैभन्दा ठूलो (जडित ४५६ मेगावाटको आधारमा) निर्माणाधीन तामाकोशी सूचीकरण भइसकेको छ । सबैभन्दा धेरै र थोरै पूँजी क्रमशः अपर तामाकोशी (१० अर्ब ५९ करोड रुपैयाँ) र वरुण हाइड्रोपावरको (२५ करोड ५१ लाख ५० हजार रुपैयाँ) छ । जलविद्युत् कम्पनीको बजार पूँजीकरण ९३ अर्ब ४० करोड ८७ लाख ६८ हजार ९ सय ६० रुपैयाँ र कुल बजार पूँजीकरणमा ६ दशमलव ४५ प्रतिशत योगदान छ । (नेप्से, १७ कात्तिक, २०७६) 
मनोगत होइन, यथार्थ 
कुनै बेला चिलिमे र बीपीसीको प्रतिशेयर मूल्य क्रमशः झन्डै ३ हजार र २ हजार रुपैयाँभन्दा माथि पुगेको थियो । हिमाल पावर (खिम्ती) मा रहेको १५ प्रतिशत लगानीबाट प्राप्त लाभांशले बीपीसीले र सञ्चित कोषबाट चिलिमेले राम्रै लाभांश बाँडिरहेका छन् । जलविद्युत् क्षेत्रका यी दुई कम्पनी अन्य कम्पनीका लागि पनि पथप्रदर्शक बन्ने अनुमान शेयर कारोबारी र लगानीकर्ताले गरेका थिए । तर, यस्तो अनुमान गर्नुका पछाडि मनोगतबाहेक तथ्यगत विश्लेषणको आधार थिएन । मनोगत विश्लेषणकै आधारमा तामाकोशीको शेयर मूल्य ५ हजार रुपैयाँसम्म पुग्ने भन्दै भित्रभित्रै २ हजार रुपैयाँसम्म किनबेच भयो । व्यावसायिक उत्पादनपश्चात् कम्तीमा ५ वर्ष वा त्योभन्दा बढी समय सञ्चालन घाटामा रहन सक्ने तथ्यगत विश्लेषणलाई अहिले पनि बेवास्ता गरिएको छ । आयोजना कहिले पूरा हुन्छ र लागत कति पुग्लाभन्ने अनिश्चितताको स्थिति देखिएपछि अहिले तामाकोशीलाई लागत चमेलिया र समय मेलम्चीभनिन थालिएको छ । लागत १ खर्व रुपैयाँ नाघ्ने सम्भावना (निर्माण अवधिको ब्याजसमेत) देखिन्छ । तामाकोशी वा अन्य जलविद्युत् कम्पनीको शेयर मूल्यमा बढोत्तरी आउन यसले दिने प्रतिफल अहम् पक्ष बन्छ । कुनै समय भारतमा एक व्यक्ति (हर्षद मेहता र केतन पारेख) वा संस्थाले बजार हल्लाउन सक्ने सामर्थ्य राख्थे । अब बजारलाई हल्लाउने यस्ता सामथ्र्यको दिन सकिएको छ । शेयर मूल्य कम्पनीको आर्थिक सबलताले निर्धारण गर्न थालिसकेको छ ।
जलविद्युत् स्थिर आम्दानी हुने क्षेत्र हो । आधार विक्री मूल्यमा बढीमा ९ पटक ३ प्रतिशतका दरले हुने मूल्य वृद्धिबाहेक अन्य कुनै प्रकारले पनि आम्दानी बढ्ने ठाउँ हुँदैन । जलविद्युत् कम्पनीलाई १० वर्षपछि आधा र १५ वर्षपछि पूरै आयकर लाग्छ । विक्री आयमा कमी नआए पनि आयकर, रोयल्टी, सञ्चालन, मर्मत र प्रशासकीय खर्च आदि बढ्दै जान्छ र परिणामस्वरूप प्रतिशेयर आयमा कमी देखिन्छ । 
किन घट्यो भाउ
धेरैको मनमा यही प्रश्न छ कि जलविद्युत् कम्पनीको शेयर भाउ किन घट्यो ?  के अब बढ्दैन ? कहिले बढ्छ ? यस्ता प्रश्न मात्र छन् तर यसको यथार्थता बुझ्नुको साटो फलानोव्यक्तिका कारण भनेर सत्तोसरापमा लागेको देखिन्छ । शेयर लगानी गरेर छिट्टै धनी हुने मनोकांक्षाका कारण शेयरबजारमा तीव्र गिरावट देखिएको हो । शेयरबजारमा लाभ नहुने होइन तर, एकै वर्ष वा त्योभन्दा कम समयमा हुँदैन । आफूले किन्नासाथ अर्कोले भाउ बढाएर किनिदेओस् भन्ने मनोकांक्षा सबैमा छ । तर, अरूलाई धनी बनाउने गरी किन्न को तयार हुने ? आर्थिक सबलता नै नभएको कम्पनीको शेयरमा लगानी गरेर बजारमा भाउ खोज्नु मूर्खता हो । रोपिएको बीउ सबै नउम्रने वा उम्रे पनि फल नदिएजस्तै प्राथमिक शेयर भन्नेबित्तिकै सबै राम्रो हुन्छ भन्ने हुँदैन । १ सय रुपैयाँमा किनेको हो, २ सय रुपैयाँ त गइहाल्छ भन्ने सोच अकबर बादशाहको दूधपोखरीबनाउने अभिलाषा विपरीत पानीपोखरीबने जस्तै हो । नगरवासीलाई अकबरको दूध ल्याएर हाल्नु भन्ने उर्दी विपरीत दूध त सबैले लगिहाल्छन्, म पानी लान्छुभन्ने सोचेर सबैले पानी लगेर हालेपछि दूध होइन, पानीपोखरीबने जस्तै बढेपछि बेचिहाल्छुभन्ने यस्तै सोच एकजना होइन, सबैले राखेका हुन्छन् । प्राथमिक वा दोस्रो बजारमा शेयर किन्ने सबैले यही सोच राखेपछि प्राथमिकमै लगानी नगरेका व्यक्ति आएर २ सय रुपैयाँमा किनिदिने प्रश्नै उठ्दैन । 
शेयर भनेको पूँजीको अंश हो, पूँजीको कमी पूरा गर्न शेयर जारी गरिन्छ । जारी गर्नासाथ लाभ वा प्रतिफल प्राप्त हुँदैन । यसका लागि एउटा निश्चित समय पूरा हुनुपर्छ । लगानी (शेयर) बाट लाभ प्राप्त हुन्छ भन्ने अपेक्षा मात्र हो, सुनिश्चितता होइन । शेयर जारी गर्दा प्रकाशन गरिने विवरणपत्रमा जोखिम पक्ष, जोखिम न्यूनीकरण, नाफाको अंक, नाफा वितरण गर्न सकिने सम्भावित समयको प्रक्षेपण गरिएको हुन्छ । लगानी अघि सोच्नु र बुझ्नुपर्ने यो पाटो गौण बनेको छ, जबकी मुख्य चुरो कुरो यसैमा अन्तनिर्हित हुन्छ । 
 निर्माणाधीन र लाइनविहीन 
अंकित मूल्यभन्दा तल झरेका अधिकांश जलविद्युत् कम्पनी निर्माणको चरणमा रहेका र निर्माण सम्पन्न भएर पनि प्रसारण लाइन नपाएका धेरै छन् । आयोजना निर्माणमा अनेकौं प्रशासकीय अवरोध र अन्य हस्तक्षेपले ढिलाइ हुँदा व्याज बढ्दा लागत पनि बढेको छ । प्राथमिकता प्राप्त क्षेत्रभन्ने सरकारी वाक्य अलंकार मात्र बनेको छ । यस्ता अनेकौं हन्डर र ठक्कर खाएर आयोजना बनिसक्छ तर, सरकार (नेपाल विद्युत् प्राधिकरण) ले प्रसारण लाइन बनाइदिँदैन । उदाहरणको लागि खानीखोला आयोजना व्यावसायिक उत्पादन भएको दिनदेखि उत्पादित बिजुली बेच्न नपाउँदा टाट पल्टिने स्थितिमा पुगेको छ । सिनर्जी पावर (सिप्रिङ खोला) ले अहिलेसम्म पूर्ण क्षमतामा बिजुली विक्री गर्न नपाउँदा वर्षेनि १० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेको छ । सिप्रिङ (सिनर्जी) जस्तै अन्य धेरै आयोजना प्रसारण लाइनको पीडामा परेर घाटा बेहोरिरहेका छन् । हेर्दा यो घाटा कम्पनी र त्यसको शेयरधनीको हो तर, यथार्थमा राज्यको हो । 
यसबाहेक आयोजनाले हिउँद र वर्षामा यति बिजुली दिन्छु भनेर घोषणा गर्नुपर्छ जुन विशुद्ध अनुमान मात्र हो र अनुमान मिल्छ भन्ने छैन तर प्राधिकरणले अनुमान नमिलेको भन्दै त्यसबापत क्षतिपूर्ति लगाउँछ । यस्तो क्षतिपूर्तिका कारण वर्षायाममा भएको विक्री आम्दानी हिउँदमा क्षतिपूर्ति तिर्दै सकिन्छ । प्रशासकीय र अन्य अवरोध, प्रसारण लाइनको अनुपलब्धता, पाइहाले पनि घोषणाको क्षतिपूर्ति तिर्दै रकम सकिएपछि कम्पनीको आर्थिक सबलता कसरी देखिन्छ र शेयरको भाउ बढ्ला
अन्त्यमा, अधिकांश जलविद्युत् कम्पनी सरकारकै कारण धराशयी बनेका हुँदा आर्थिक रूपमा सबल बन्न नसक्दा शेयर मूल्य घटेको हो । अर्को एउटा कारण भनेको माथि विभिन्न अनुच्छेदमा चर्चा गरिएको रातारातमालामाल हुनुपर्ने मानसिकता पनि एक हो । केही कम्पनी अधिक पूँजीको भारले थिचिएका कारण बिक्री आम्दानी उही भए पनि गुणात्मक (प्रतिशेयर) आम्दानीमा कमि हुँदै गएको कारण शेयर मूल्य घट्दै गएको पाटोलाई पनि बेवास्ता गरिएको छ । सरकारले प्रशासकीय र अन्य रूपमा हुने अवरोधलाई निमिट्यान्न पारेर बाधारहित वातावरण र प्रसारण लाइनको सुनिश्चित गरिदिनुपर्छ भने लगानीकर्ताले पनि पनि तातै खाऊँ जली मरूँभन्ने शैली त्यागेर गुण दोषको आधारमा लगानी बढाउनुपर्छ ।

१९ कार्तिक, २०७६ आर्थिक अभियान दैनिक 


भारित औसत कार्यान्वयनमा कानूनी सुधार


आर्थिक वर्ष (आव) २०७५/७६ को बजेट वक्तव्य लगत्तै आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरलाई अंकित मूल्यमा गणना गरी लाभकर उठाउन निर्देशन दिएपछि शुरू भएको लाभकर सम्बन्धी विवाद लगभग समाप्त भएको छ । आव २०७६/७७ को आर्थिक विधेयकले आयकर ऐन २०५८ मा दफा ९५क(२) पछि ९५क(२)क थप गरी लाभकर गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नुपर्नेछभन्ने व्यवस्थापछि साउन १ गतेदेखि शेयरधनीले स्वघोषणा गर्दै दलाल कार्यालयमा गएर हस्ताक्षर गर्नुपर्ने स्थिति आयो । यही अवस्थालाई अन्त्य गर्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस) ले विधिवत् रूपमा भारित औसत गणना गर्न विद्युतीय प्रणाली लागू गरेको छ । प्राविधिक जटिलता बिस्तारै समाधान हुँदै गए पनि कानूनी जटिलताका बारेमा भने केही सुधारको आवश्यकता देखिएको छ । 
के हो भारित औसत 
साधारण अर्थमा भारित औसत वा औसतलाई एकै अर्थमा बुझ्न सकिन्छ । जोड, घटाउ, गुणन, भाग र प्रतिशत जस्तै औसत पनि व्यावहारिक गणित भएकाले कुनै विद्यालय, महाविद्यालय वा विश्वविद्यालयको औपचारिक प्रमाणपत्र चाहिँदैन । दैनिक क्रियाकलापमा विभिन्न मूल्यमा सामान किनिएको हुन्छ र त्यसको सरदर लागत कति पर्यो होला भनेर हिसाब गरिएकै हुन्छ । यही नै औसत वा भारित औसत हो । सामान जस्तै शेयर पनि विभिन्न मूल्यमा किनिएको हुन्छ । सामान्यतया शेयर अंकित (१ सय रुपैयाँ), प्रिमियम (अंकित मूल्यमा थप रकमसहित), दोस्रो बजार र लीलामीबाट किनिन्छ । यसबाहेक हकप्रद र बोनसबाट पनि शेयर प्राप्त हुन्छ । यी दुवैको मूल्य १ सय रुपैयाँ हुन्छ । यसरी विभिन्न विधिबाट प्राप्त भएको शेयरको मूल्य जोडी त्यसलाई कित्ताले भाग गर्दा औसत लागत प्राप्त हुन्छ, यसलाई नै भारित औसत नाम दिइएको हो । पूँजीमा नाफा भएमा पूँजीगत लाभकर तिर्न यस्तो विधि अवलम्बन गरिएको हो । मूल्य सम्बन्धी यी साना तर, महत्वपूर्ण पक्ष बुझेपछि शेयर कारोबारमा के गर्ने भन्ने विषयमा केही हदसम्म निष्कर्षमा पुग्न सकिने आधार प्राप्त हुन सक्छ ।
हकप्रद र बोनसमा जटिलता 
हुन त भर्खर सीडीएसले भारित औसत गणनालाई विद्युतीय स्वरूपमा ढालेको हुँदा धेरै अपेक्षा एकैपटक गरिहाल्नु हुँदैन तर, पनि तत्काल गर्न सकिने कुरालाई सम्बोधन गर्नुपर्ने हुन्छ । भारित औसतको गणनामा मुख्य रूपमा हकप्रद र बोनसले भने निकै सताउने देखिएको छ । पहिले पनि हकप्रद र बोनसपछिको समायोजित मूल्यले घाटामा कर तिराएको थियो । अहिले पनि त्यो सिलसिलाले निरन्तरता पाउने देखिएको छ । उदाहरणको लागि कुनै कम्पनीले २० प्रतिशत बोनस शेयरसहित साधारणसभाका लागि बुक क्लोज गर्नासाथ मूल्य समायोजन हुन्छ । तर, शेयरधनीको नाममा उक्त बोनस शेयर आइपुग्न महीनौं लाग्छ । कुनै व्यक्तिले उक्त कम्पनीको शेयर ५ सय रुपैयाँका दरले १ सय कित्ता किनेको छ भने उसको लागत कमिशन र अन्य दस्तुरबाहेक ५० हजार रुपैयाँ हुन्छ र सोही किनिएको मूल्य नै औसत लागत हुन्छ । बुक क्लोज हुँदा उसको औसत लागत मूल्य ४ सय १६ रुपैयाँ हुन्छ तर, खातामा बोनस शेयर आइनसकेको हुँदा विधिवत् औसत गर्न सकिँदैन र किनेको माउ (१ सय कित्ता) शेयर बेचेमा उसको भारित औसत किनेकै मूल्य (५ सय रुपैयाँ) हुन्छ । ४/५ महीनापछि हिताग्राही खातामा २० कित्ता बोनस शेयर आउँदा त्यसको औसत मूल्य अंकित मूल्य (१ सय रुपैयाँ) नै कायम हुन्छ । ४ सय १६ रुपैयाँ लागत भएको शेयर भए पनि बोनस शेयर ढिला आएका कारण माउ शेयर बेचिसकेको अवस्थामा बोनसको औसत मूल्य १ सय रुपैयाँ कायम हुन्छ र बेच्दा त्योभन्दा बढीको लाभकर तिर्नुपर्ने हुँदा यहाँ घाटामा कर तिर्नुपर्छ । यस्तै समस्या हकप्रदमा पर्ने स्थिति छ । 
समाधानको बाटो 
भारित औसत गणनामा त्रुटि रहेका केही प्राविधिक विषय पनि होलान् र छन् पनि । यस्ता समस्या उपयोग गर्दै जाँदा देखिन्छ र यसरी देखिएका विषय समाधान हुँदै जानेछ । प्राविधिक बाहेक कानूनी प्रश्नका केही पाटाको समाधान भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डले गर्नुपर्ने हुन्छ । बोनस शेयर हितग्राही खातामा जम्मा हुन लाग्ने समयको समाधानमा नेप्से र बोर्ड नलागेका कारण यस्तो भएको हो । साधारणसभाले पारित गरेको महीनौं बितिसक्दा पनि प्रशासकीय प्रक्रियाका कारण सभाले पारित गर्नासाथ सूचीकरणमा आउन सक्दैन । 
नेपालमा लाभांश वितरणमा अपनाइएको विधि नै गलत हुनु पनि हो । साधारणसभामा प्रस्ताव मात्र पारित गराउनुपर्नेमा लाभांश वितरण गर्ने प्रस्ताव लगिन्छ र लाभांश वितरणकै लागि बुक क्लोज गरिन्छ । सिद्धान्ततः यस्तो विधि गलत हो । कम्पनीको सर्वोच्च निकाय साधारणसभा हो । साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित प्रस्ताव (लाभांश) पारित गर्छ भन्ने हुन्न र सभालाई प्रस्ताव अस्वीकार गर्ने अधिकार निहित छ । प्रचलनमा कम्पनीले प्रस्ताव गरेको लाभांश (नगद वा बोनस) साधारणसभाका लागि हुने बुक क्लोजकै बेला मूल्य समायोजन (तोकिएको शर्तअनुसार नगद लाभांशको पनि) गर्ने गरिएको छ । सभाले कथंकदाचित् प्रस्तावित लाभांश स्वीकार गरेन भने समायोजित मूल्यअनुसार भएको कारोबार के हुने भोलिका दिनमा जटिल स्थिति आउनसक्ने सम्भावनालाइ टार्न सकिँदैन । यो विषयमा नेप्से र बोर्ड जानकार छैनन् भन्ने पनि हैन तर, पनि यी दुई निकाय कानमा तेल हालेर बसेका छन् । 
यो समस्या होइन, तर जटिलता थप्ने कार्य मात्र हो । यसको लागि साधारणसभाको बुक क्लोजमा रहेको त्रुटि सच्याउन दुईपटक बुक क्लोज मिति निर्धारण गर्न एउटा परिपत्र मात्र गरे पुग्छ । पहिलोपटकको बुक क्लोज अहिले जस्तै सभा आव्हान भएको सातौं दिन र सभाले प्रस्ताव (नगद वा बोनस वा दुवै) पारित गरेपछि पुनः अर्को बुक क्लोज मिति तय गरी लाभांश वितरण गर्न जरुरी भएको छ । नगद लाभांशका लागि सभा सकिएको १५ दिनभित्र र बोनस लाभांश वितरण गर्न प्रशासकीय निकायमा दर्ता र अभिलेख गरेपछि ७ दिनअघि बुक क्लोजको सूचना दिई बुक क्लोज गरी सो मितिसम्म कायम हुने शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएपछि सूचीकरण गराउन सकिने सरल र सहज बाटोको कार्यान्वयनमा नेप्से र बोर्ड लाग्नुपर्छ । यसो गर्दा औसतमा लागत गणना गर्न सहज हुन्छ ।
हकप्रदको हकमा भने अहिलेको स्थितिमा आमूल परिवर्तन गर्नु जरुरी भइसकेको छ । कागजी युगमा झैँ आवेदन गर्नै ३५ दिनको अवधि औचित्यहीन भइसकेको छ । हकप्रदको लागि आवेदन, बाँडफाँट र सूचीकरण गर्ने समय प्रारम्भमा बढीमा १ महीना र पछि यसलाई अझ छोट्याएर ७ दिनमा नै सूचीकरण हुने व्यवस्था मिलाउनुपर्छ । अहिले जस्तो हकप्रदका लागि बुक क्लोज गरेर निकै दिनपछि आव्हान र विवरणपत्र प्रकाशन गरी आवेदन लिने कार्यको सट्टा सबै तारतम्य मिलाई बुक क्लोजकै दिनदेखि आवेदन लिने प्रक्रिया अवलम्बन गर्नुपर्छ । यसलाई प्राथमिक शेयर जस्तै ३/४ कार्य दिन आवेदन मिति कायम गरी हप्ता दिनमै सूचीकरण गराउन सकिन्छ । हकप्रदमा हकभन्दा बढी आवेदन गर्न पाइने नियम आउन लागेको हुँदा लिलामीको प्रसंग अब नआउन पनि सक्छ । आइहालेमा पनि लीलामी हुँदै गर्छ, वितरित हकप्रद सूचीकरण गर्नमा कुनै बाधा पर्दैन र छैन । 
हकप्रद र बोनसको सम्बन्धमा यति कार्य हुनासाथ शेयरधनीलाई औसत लागत निकाल्न सहज र सरल हुने हुँदा नेप्से र बोर्डले अविलम्ब कदम चाल्नु आवश्यक छ । 

५ कार्तिक २०७६, आर्थिक अभियान दैनिक 


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...