Wednesday, September 11, 2019

भारित औसतको अन्योल

शेयरबजारमा हरेक वर्ष कुनै न कुनै विवाद आइरहेको सन्दर्भमा शेयरबजार र विवाद एकअर्काका परिपूरक जस्तै बनेको छ । २०७५ सालको बजेट वक्तव्य लगत्तै आन्तरिक राजस्व विभाग (आरावि)ले सिडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस)लाई दिएको निर्देशनपछि सरकारीस्तरबाट शुरू भएको करसम्बन्धी विवादले १ वर्ष अवधि पूरा गरिसक्दा पनि टुंगिनुको सट्टा झन्झन् कसिंँदै छ । शेयर कारोबारमा कर गणनाका लागि २०६५ साल मङ्सिरमा मन्त्रीस्तरीय तदर्थ पाराले गरिएको गणना विधि १० वर्षभन्दा बढी समय चल्यो । यो विधिले पनि हकप्रद र बोनस दुवै शेयरमा घाटामा कर तिराएको थियो । यसैलाई विस्थापन गर्दै गतवर्ष आराविले दिएको निर्देशन सर्वस्व नै लिने किसिमको थियो । 
आराविको आदेशपछि 
आराविले हकप्रद र बोनस शेयरको कर गणना अंकित मूल्यलाई आधार मानेर गर्न निर्देशन दिएपछि एक दिन शेयर कारोबार नै ठप्प भयो । यसैको परिमाणस्वरूप सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्यो । उक्त कार्यदलले भारित औसत विधिबाट लागत गणना गरी कर लगाउन सुझाव दिएको अनौपचारिक रूपमा बाहिर आयो । तर, प्रतिवेदन कस्तो थियो भन्ने सार्वजनिक भएन । आर्थिक वर्ष (आव) २०७६/७७ को बजेट वक्तव्य र आर्थिक विधेयकमा आयकर ऐन २०५८ मा दफा ९५क (२) पछि उपदफा २क थप गरी लाभकर गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नुपर्नेछभन्ने व्यवस्था थप गरियो । यो व्यवस्थाले वास्तविक लागत यकिन गर्न सकिन्थ्यो र सोही बमोजिम हितको निःसर्ग हुँदा लाभकर गणना हुन्थ्यो । आर्थिक विधेयकले संशोधन (थप) गरेको व्यवस्था साउन १ गतेबाट लागु भयो । तर, दुर्भाग्य लाभकर गणनामा गाँठो पर्ने क्रम बढ्यो तर फुकाउने कसले भन्नेमा तैं चुप मै चुपको स्थिति बनेको छ । अर्थमन्त्रालयमा विभिन्न पटक छलफल चले पनि आधार मूल्यको विषयमा कुनै टुंगोमा पुग्न सकेको छैन । अहिलेसम्म पनि यसको कुनै निष्कर्ष निस्केको छैन ।
विभिन्न मूल्य 
लागत गणना विधि लागू भयो । तर, साउन १ गतेभन्दा अघि कारोबार भएका शेयरको आधार मूल्य कति कायम गर्ने भन्ने विषय टुंगोमा पुग्न सकेन । शेयरका अंकित, प्रिमियम, समायोजन, आधार र औसत मूल्य हुने गर्छ । शेयरको तोकिएको वा परल अंकित मूल्य हो, यसलाई प्रचलित कम्पनी कानूनले १ सय रुपैयाँ तोकेको छ । यो शेयर जारी गर्दाको मूल्य हो । यसबाहेक, अंकित मूल्यमा केही रकम थप गरेर पनि शेयर जारी हुन सक्छ यसलाई प्रिमियम मूल्य भनिन्छ । हकप्रद र बोनस शेयर जारी भएपछि स्टक एक्सचेन्जले सोही अनुपात (हकप्रद र बोनस) मा मूल्यलाई समायोजित गरेर कायम गर्ने समायोजन मूल्य हो । कर प्रयोजनको लागि निर्धारण गरिने आधार मूल्य हो । यसअघि हकप्रद र बोनस शेयर जारी भएपछि समायोजन गरिएको मूल्य र अघिल्लोपटक कायम रहको आधार मूल्यको योगलाई दुईले भाग गरेर कर प्रयोजनका लागि आधार मूल्य निर्धारण हुने गरेको अभ्यास थियो । आधार मूल्य शेयरबजारमा मात्र नभएर अन्यत्र पनि हुनसक्छ । कुनै पनि चिज वा वस्तुको विभिन्न मूल्य जोडी त्यसलाई चिज वा वस्तुको संख्याले भाग गरेर निकालिने सरदर मापन औसत मूल्य हो । औसत मूल्यको हिसाब साधारण व्यावहारिक गणित हो । मूल्य सम्बन्धी यी साना तर महŒवपूर्ण पक्ष बुझेपछि शेयर कारोबारमा के गर्ने भन्ने विषयमा केही हदसम्म निष्कर्षमा पुग्न सकिने आधार प्राप्त हुन सक्छ । 
अलमलै अलमल 
शेयरका नेता, विज्ञ र विश्लेषक हुँभन्ने समूह कर गणनाका लागि गलत निकायमा पुगेका छन् । केन्द्रीय बैंक, कुनै आयोग र विभाग कुनै पनि निकाय शेयरबजारको प्रत्यक्ष तालुकी अड्डा हैनन् । आरावि करको तालुकी निकाय भए पनि पूर्ण निर्णयकर्ता होइन । त्यस्तै, अर्थ मन्त्रालयका अधिकारी (सचिव, सहसचिव र महाशाखा प्रमुख) पनि करका निर्णयकर्ता होइनन् । उल्लेख गरिएका यी निकाय र अधिकारी अप्रत्यक्ष रूपमा निर्णय प्रक्रियाका सहयोगी भने हुन् । शेयरबजार सम्बन्धी विषयमा नीतिगत निर्णय लिने वा निर्णय गर्न सघाउ पु¥याउने एक मात्र तालुकी अड्डा नेपाल धितोपत्र बोर्ड हो । बोर्ड सरकारलाई पूँजीबजार विषयमा सल्लाह दिने विशिष्ट निकाय हो । बोर्डले अर्थ मन्त्रालय मार्फत सरकारसँग सम्बन्ध राख्ने हुँदा आराविसँग उसको प्रत्यक्ष रूपमा कुनै सम्बन्ध हँदैन्न । करको विषय कानूनी प्रश्न हो, संविधानले पनि कानून बमोजिम मात्र कर लगाउन पाइने व्यवस्था गरेको हुन्छ । आयकर ऐनमा साउन १ गतेदेखि हितको निःसर्ग हुँदा भारित औसत विधिबाट लागत गणना गरी लाभकर निर्धारण हुने व्यवस्था गरेको छ । साउन १ गतेभन्दा पहिला अर्थात् २०७६ असार मसान्तसम्म कारोबार भएको शेयरमा आधार मूल्य कति लगाउने भन्ने विषय नै समस्याको मूल जड हो । यसमा थरिथरिका विचार बाहिर आए पनि जिम्मेवारी लिएर यही गर्नुपर्छ भन्ने निर्णय दिन कुनै पनि निकाय सक्षम नदेखिनु अनौठो मात्र होइन, अकर्मण्यता र अक्षमता पनि हो । 
शेयरको अनलाइन कारोबार शुरू भए पनि बेचेको भोलिपल्ट मूल्य घोषणा गरेर ल्याप्चे लगाउन जानुपर्ने कठिन परिस्थितिको सामना गर्न कसैलाई पनि सहज भएको छैन । तर, कसले जिम्मेवारी लिने भन्ने विषयमा रहेको असहजताले टुंगोमा पुग्न सकेको छैन । यस्ता विषयमा शेयरबजारको तालुकी अड्डाको मुख्य भूमिका रहनेमा बोर्ड करआप्mनो क्षेत्रमा नपर्ने भन्दै पन्छिएको छ । त्रुटि भएकै यहीँनेर हो । यसो हुनुमा बोर्ड अध्यक्ष रेवत कार्कीको अकर्मण्यता र अक्षमतामुख्य दोषी हो । यो विषयको उठान धेरै पहिले भएको र गतवर्षदेखि सतहमा आएको हुँदा यस सम्बन्धमा आधार मूल्य यो यो कारणले यो हुनुपर्छ भनेर उचित सल्लाह सरकारलाई दिन नसक्नु अधिकतम निकम्मापन हो । यस हिसाबले यो विषयमा अब कम्तीमा ६ महीना निर्णयविहीन भएर पेन्डुलमजस्तै हल्लिरहने प्रबल सम्भावना देखिएको छ । बोर्डमा कात्तिक महीनादेखि आउने अध्यक्षको व्यग्र प्रतिक्षा गर्नुको विकल्प देखिन्न । 
अन्तिम विन्दु अर्थमन्त्री 
सरकार लोककल्याणकारी हुनुपर्छ । सरकारले अनावश्यक करको भार बोकाउन र त्रास देखाउन हुन्न । शेयरबजार सोचिए जस्तो नाफाको क्षेत्र हैन । दैनिक हुने कारोबार रकम नाफाको अंक हैन । किन्ने बित्तिकै बढेर कसैले पनि अकुत नाफा खाएको पनि हुँदैन । शेयर कारोबार पारदर्शी छ । बोर्डका अध्यक्ष शेयरबजारमा समस्या पर्दा भाग्ने प्रवृत्ति हावी देखिँदा समस्यामाथि विजय पाउन सकिएन । शेयरबजारमा झन्डै मूल्य अभिवृद्धि कर लागिसक्दा पनि बोर्डले शेयरबजार वित्तीय बजार हो यहाँ मूल्य अभिवृद्धि कर लाग्दैन भन्न सकेन । अन्ततः डा. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत यसलाई टुंग्याएर एउटा गुन लगाए । अहिलेको विवादित विषय पनि उनै खतिवडाको बगलीमा पुगेको हुँदा यथाशीघ्र मन्त्रीस्तरीय निर्णय गरेर आउने बजेट वक्तव्य र आर्थिक विधेयकमार्फत पारित गरी अर्को एउटा गुण लगाउनुपर्ने आवश्यकता देखिएको छ । सम्भावित समाधानको पाटा निम्न हुन सक्छन् । 
  1. शेयरमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्ट्याएर शेयर प्राप्त भएको (जुनसुकै विधिले) ३ सय ६५ दिनभित्र बेच्नेलाई अधिकतम लाभकर (१५ प्रतिशतसम्म) लिएर आगामी ५ वर्षसम्म घाटा मिलान गर्न पाउने र ३ सय ६५ दिनपछि बेच्नेलाई पूरै छूट र घाटा मिलान गर्न नपाउने व्यवस्था गर्नुपर्छ । यही विधि भारतमा पनि छ । 
  2. भारित औसत लागत विधि लागू हुनुअघि २०७६ असार मसान्तसम्म भएको कारोबारलाई ३ सय ६५ दिन नाघेको मान्यता दिई साउन १ गतेदेखि माथि १ नं. मा वर्णित व्यवस्था लागू गर्नुपर्छ । 
आर्थिक अभियान दैनिक, २१ साउन २०७६ 


मौद्रिक नीतिमा शेयरबजार


मौद्रिक नीतिको सत्रौं संस्करण २०७६/७७ (सार्वजनिक हुन थालेदेखिको) सार्वजनिक भएपछि शेयरबजारलाई सम्बोधन गर्न नसकेका कारण शेयरबजारले स्वीकार नगरेको भन्ने चर्चा चलेको छ । अपेक्षै अपेक्षाको शृंखलामा मौद्रिक नीति अन्तिम शृंखला हो । सरकारको नीति र कार्यक्रमबाट आगामी वर्षको अपेक्षा शुरू भएर बजेट हुँदै मौद्रिक नीति जारी भएपछि कौतुहलता र अनुमान टुंगोमा पुग्छ । सार्वजनिक हुनुअघि चर्चामा आएका कुनै पनि विषय नीतिमा परेनन् । वाणिज्य बैंकलाई बाध्यकारी गाभिने प्रक्रियामा सामेल गरिने अपेक्षा गरिएको थियो । २०७१ चैतमा गभर्नरका रूपमा केन्द्रीय बैंकमा प्रवेश पाएका चिरञ्जीवी नेपालले २०७२ सालको मौद्रिक नीति वाचन गर्दा बैंक र वित्तलाई अप्रत्याशित रूपमा २ वर्षभित्र कम्तीमा ४ गुणा पूँजी बढाउन निर्देशन दिएका थिए । पूँजी बढाउने उनको यो नीति आलोच्य भए पनि बैंक र वित्तले तोकिएको समयभन्दा केही बढी समय लिएर पूँजी वृद्धि गरेका छन् । गभर्नर नेपालको अन्तिम मौद्रिक नीतिले मूलतः शेयरबजारमा केकस्तो असर पार्ला त्यसैको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । 
गतवर्षको समीक्षा 
गतवर्षको नीतिमा आएका (क) वाणिज्य बैङ्कबाट अनुरोध भई आएमा सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल सेवा दिनसक्ने व्यवस्था मिलाइने, (ख) मार्जिन प्रकृतिको कर्जामा शेयरको मूल्य २० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने र (ग) शेयर धितो लिएर प्राथमिक पूँजीको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था रहेका थिए । यसमध्ये (ख) र (ग) मा रहेको व्यवस्था गतवर्ष केन्द्रीय बैंकका डेपुटी गभर्नर संयोजक रहेको कार्यदलले दिएको सुझावको आधारमा परिमार्जित भइसकेको हुँदा त्यसमा कुनै परिवर्तन आएको छैन । बाँकी रहेका (क) को बुँदा खारेजै हुनुपर्ने हुँदाहुँदै पनि त्यसो हुन सकेन । यो बुँदा धितोपत्र बोर्डको अध्यक्ष रेवत कार्कीको सनकमा आएको हुँदा उनको पदावधि सकिएसँगै यसको पनि अन्त्येष्टि हुने अपेक्षा गरिएको थियो । तर, हालै बोर्डले नेपाल स्टक एक्सचेन्जलाई बैंकको सहायक कम्पनीलाई दलाल अनुमतिका लागि सिफारिश गर्नु भन्ने हुकुमी निर्देशनजारी गरेको छ । शेयरबजारमा भारित औसत विधिबाट पूँजीगत लाभकर गणना गर्ने सम्बन्धी विवादको निरोपणमा नेतृत्व लिनुपर्ने बोर्ड काम कुरो एकातिर...लागेको यो एउटा ज्वलन्त दृष्टान्त हो । ८० प्रतिशत हाराहारीमा बैंक र वित्तकै शेयर कारोबार हुने बजारमा त्यही बैंकको सहायक कम्पनीलाई दलाली गर्न दिँदा पर्ने नकारात्मक प्रभाव र असरको लेखाजोखाविना हुकुमी शैलीमा दिएको आदेशले धितोपत्र बजार र यसका लगानीकर्तालाई कुन खाडल लगेर जाक्ने हो, अब ईश्वरले बाहेक अरूले आकलन गर्नसक्ने स्थिति छैन । धितोपत्र बजारका लागि यो भन्दा घातक पक्ष अर्को कुनै छैन । 
केही महत्त्वपूर्ण व्यवस्था 
बाध्यकारी गाभिने नीति नआए पनि अप्रत्यक्ष रूपमा गाभिन गएहुन्छ भन्ने सन्देश दिने किसिमको नीति देखिएको छ । यसमा (१) आगामी २०७७ साल असारभित्र वाणिज्य बैंकले अनिवार्य रूपमा प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने (२) गाभिन गएमा स्प्रेड दर ४ दशमलव ४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असारसम्म हुने र नगाभिनेको हकमा आगामी असार मसान्तसम्ममा कायम गर्नुपर्ने, (३) सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महीना व्यतीत नभई अन्य संस्थामा सञ्चालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागू नहुने, (४) शाखा विस्तारमा स्वीकृति लिनु नपर्ने, (५) ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि पनि २०७८ असार मसान्त कायम गरिने, (६) कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्‍याउनुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने (७) एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरू भएका बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने र (८) ऋणीलाई जबर्जस्ती बेचिरहेको बीमालेख विक्रीमा रोक रहेको छ । त्यस्तै, ‘वर्गको लघुवित्तले पनि (१) एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमाभित्र ल्याउन र तोकिएको पूँजी कोष अनुपात पुर्‍याउनुपर्ने समय थप गर्ने, (२) स्वीकारयोग्य धितो लिई समूहमा आबद्ध भएका तथा नभएका गाउँपालिका क्षेत्रमा बसोवास गर्ने व्यक्तिहरूलाई लघुवित्तबाट लघु उद्यम सञ्चालन गर्न दिइने कर्जाको सीमा रू. १० लाखबाट रू. १५ लाख पुर्‍याइने, (३) आफ्ना कर्मचारीहरूको तलब, भत्ता तथा सुविधालाई निक्षेपका रूपमा स्वीकार गरी स्रोत परिचालन गर्नसक्ने व्यवस्थाका अतिरिक्त कुलिङ पिरियड र निश्चित प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएको संस्था गाभ्ने र गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने पनि रहेको छ । 
दलाली र बीमालेख
मौद्रिक नीतिले बैंकको शाखामार्फत बीमालेख विक्रीमा रोक लगायो । तर, गतवर्ष वाणिज्य बैंकका सहायक कम्पनीलाई शेयर दलाली गर्न दिने गरी ल्याएको नीतिमा भने कुनै पुनरवलोकन भएन । नेपालको धितोपत्र बजार वास्तविक रूपमा धितोपत्र बजार बन्न बाँकी छ । अहिले पनि झन्डै ८० प्रतिशत हाराहारीमा बैंक, वित्त र बीमाकै आधिपत्य छ । यस हिसाबले नेपालको धितोपत्र बजार बैंक र बीमा बजार हो । ऋण लिन आउने ऋणीलाई बीमालेख भिडाउने सत्कर्म’ ? गरेका बैंकले अबका दिनमा शेयर दलाली अनुमति बाँदरलाई लिस्नो भन्दा पनि बढी हुनेछ । बीमालेख ऋणीलाई मात्र भिडाइन्थ्यो । तर, दलाली शुरू भएपछि निक्षेपकर्तालाई पनि भिडाउन पाइनेछ । यो व्यवस्थाले ऋणी र बचतकर्ता समेत ताइबाट भुंग्रोमापर्नेछन् । बीमा त केही हदसम्म लाभकारी हुन्थ्यो । तर, शेयर र शेयरबजारमा गरिने लगानी जोखिम हो । नाफा कमाउनकै लागि सर्वसाधारणलाई होम्न बैंकका कर्मचारी र स्वयं बैंक लाग्नेछन् । भित्री र बाहिरी जम्मै सूचना लिएर शेयर किन्नेहरू र लाभ, पूँजीगत र ब्याज कर छूट एवम् आरक्षणमा शेयर पाएका म्युचुअल फन्ड समेत डुबिरहेका बेला शेयर भनेकै नबुझेका आमनागरिकलाई सिध्याउने खेलमा धितोपत्र बोर्ड लागे पनि केन्द्रीय बैंक जस्तो निकाय समेत लाग्नु दुर्भाग्य हो । 
शेयरबजारको हकमा 
शेयरबजारलाई केही भएन बजारले अस्वीकार गर्यो भन्ने सन्दर्भमा त्यस्तो कुनै असान्दर्भिक नीति देखिँदैन । अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थाले अनावश्यक खर्च बढाउन सक्ने सम्भावना रहन्छ । सरदर २/२ अर्ब रुपैयाँका दरले ७ वर्ष अवधिका लागि ऋणपत्र जारी गर्दा पूँजी फिर्ता जगेडा कोषमा हरेक वर्ष रकम राख्नुपर्दा बैंकको वितरणयोग्य नाफामा कमी आउन सक्ने सम्भावना रहन्छ । अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थाले बैंकलाई ऋण गरेर घिउ खानउक्साएको छ । ऋणपत्रको सहज किनबेच हुने वातावरण नहुनु र यसका बारेमा पर्याप्त जानकारी प्रवाह नहुँदा विक्रीमा समस्या देखिएको छ । अहिले १० प्रतिशतभन्दा बढी ब्याज दिँदा समेत विक्री हुन सकेको छैन । स्वपूँजी बाहेक ऋणपूँजी उपयोग गर्न नीतिगत व्यवस्था हुँदाहुँदै तोकेरै यति ऋण लेऊ भन्नुलाई त्यति सान्दर्भिक मान्न सकिँदैन । यसको बदलामा निश्चित वर्षमा निश्चित प्रतिशतका दरले साधारण शेयरमा रूपान्तरण हुने परिवत्र्य अग्राधिकार शेयर जारी गर्न प्रोत्साहन गर्न सकिन्थ्यो । 
मौद्रिक नीतिमा बीमालेख विक्रीमा लगाएको रोकलाई स्तुत्य भन्नुपर्ने हुन्छ । यसले प्रत्यक्ष रूपमा बैंकको आम्दानी र निक्षेपमा केही असर पर्नेछ । तर, यस्तो असर क्षणिक मात्र हुने अनुमान गर्न सकिन्छ । किनभने बैंकको प्राथमिक कार्यभित्र यो पर्दैन । बैंकले पैसा किनेर पैसा बेच्नेहुँदा आफ्नो प्राथमिक उद्देश्यमा पुनः केन्द्रित हुने अवसर प्राप्त गर्छ । परिणामतः आम्दानीमा कमी नआउन सक्छ । समग्रमा मौद्रिक नीति शेयरबजारका लागि अहितकर छैन ।

आर्थिक अभियान दैनिक, १४ साउन, २०७६

Wednesday, September 4, 2019

धितोपत्र बोर्डको नीति र कार्यक्रम : कार्यान्वयन नहुने कार्यक्रमको पुनर्लेखन


शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष (आव) २०७६/७७ को वार्षिक नीति र कार्यक्रम सार्वजनिक गरेको छ । शेयरबजारप्रति थोरै चासो राख्नेका लागि यस विषयमा चासो हुनु सामान्य नै हो । बोर्डको कार्यालय कोठाको दराजमा सीमित हुने यस्ता नीति र कार्यक्रम आमचासोको विषय बन्न थालेपछि सार्वजनिक हुन थालेको छ । सार्वजनिक हुन लागेको नीति र कार्यक्रमको यो तेस्रो संस्करण हो । आजको अंकमा गत र आगामी वर्षको नीति र कार्यक्रमको संक्षिप्त समीक्षा गरिएको छ । 
गतवर्षको कार्यक्रम 
बोर्डले अघिल्लो वर्षजस्तै यस वर्ष पनि नीति र कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा बाँडेको छ । बोर्डले अघिल्लो वर्ष नियमित कार्यक्रम अन्तर्गत (क) धितोपत्र बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, (ख) संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, (ग) बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने, ‘एक नेपाली एक डिम्याट खातालाई अभियानका रूपमा सञ्चालन गर्ने र (घ) बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने, नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन प्रक्रिया अगाडि बढाउने लगायत रहेको थियो । 
त्यस्तै, विकासात्मक कार्यहरूमा (क) धितोपत्रसम्बन्धी नयाँ ऐन, ट्रष्ट (ट्रष्टि) ऐन, भित्री कारोबार बन्देज नियमावली तथा धितोपत्र व्यवसायी तथा सूचीकृत कम्पनी गाभ्ने तथा गाभिने सम्बन्धी नियमावली र विभिन्न निर्देशिका तर्जुमा गर्ने, वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गराउन विशेष वर्ष बनाउने, खुलामुखी सामूहिक लगानी योजनालाई प्रवेश गराउने, मूल्य संवेदनशील सूचना प्रवाहलाई प्रभावकारी बनाउने, भुक्तानी सुनिश्चित कोष स्थापना तथा सञ्चालन गराउने, इक्विटी डेरिभेटिभ्स मार्केट, लीलामी बजार (अक्शन मार्केट) को शुरुआत गर्ने, धितोपत्र न्यायाधिकरण स्थापनाका लागि आवश्यक व्यवस्था आदिमा अध्ययन गर्ने कार्यक्रम थिए ।
आगामी वर्ष धितोपत्र बोर्ड 
आगामी वर्षको नीति र कार्यक्रम लेबलमात्र फेरिएको नयाँ बोतल पुरानै रक्सीजस्तो देखिन्छ । नयाँ कार्यक्रमका रूपमा (१) बुक बिल्डिङ प्रणालीलाई प्रयोगात्मक रूपमा कार्यान्वयनमा ल्याउने, (२) हकप्रद शेयरमा हकभन्दा बढी आवेदन गर्न पाइने, (३) राफसाफको समय घटाउने, (४) वास्तविक, जलविद्युत् क्षेत्रका कम्पनी तथा सामूहिक लगानी कोषका विवरण प्रवाहका लागि प्रतिवेदन ढाँचा तयार गर्ने, (५) संस्थापक शेयरको लक इन पिरियड (विक्री बन्देज अवधि) सम्बन्धमा सुधार गर्ने, (६) ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रूपमा शीघ्र सञ्चालन गर्न सहजीकरण गर्ने, (७) ओटीसी कारोबारलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन स्वचालित कारोबार प्रणालीको शीघ्र शुरुआत गराउन सहजीकरण गर्ने, (८) मर्चेन्ट बैंकरको कार्यक्षेत्र सुदृढीकरण गदै कार्यक्षेत्र समेत विस्तार गर्ने व्यवस्था गर्ने, (९) दलालको कार्यक्षेत्र विस्तार गर्न ब्रोकर डिलरसिप र परामर्श सेवाको कार्य गर्न दिने व्यवस्था गर्नेजस्ता केही कार्यक्रम परेको छ । यसबाहेक अन्य अधिकांश गतवर्षकै कार्यक्रमले निरन्तरता पाएको छ । 
कमेडी कि कार्यक्रम 
गतवर्ष पनि परेको र अनि प्रायः सबै मञ्चमा निकै महत्त्व दिएर बोलिने एक नेपाली एक डिम्याट खाताभन्ने कार्यक्रम यसपटक पनि परेको छ । दुईओटा अर्थ लाग्ने यो वाक्यको दुवै अर्थ असान्दर्भिक हुन्छ । पहिलो अर्थ, ‘नेपालीलाई व्यक्तिअर्थ लगाएर हेर्दा व्यक्ति एक तर, डिम्याट खाता धेरै भएकालाई व्यक्ति पनि एक खाता पनि एकगर्न खोजिएको भन्ने हुन्छ । सामान्यतया एउटा मात्र डिम्याट खाता भए पुग्छ तर, कहिलेकाहीँ (आफैले र लगानी व्यवस्थापक मार्फत कारोबार गर्दा) बहुखाता आवश्यक पर्छ । यस्ता बहुखातालाई एउटा मात्र कायम गराउन खोजिएको हो ? वा, दोस्रो अर्थ, गृह मन्त्रालयले जिल्लाजिल्लाबाट नागरिकता बाँडे जस्तो बोर्डले पनि डिम्याट खातानामक नागरिकताबाँड्ने अधिकार लिन खोजेको हो भन्ने हुन्छ । एक नेपाली एक डिम्याट खाताले दिने सीधा अर्थचाहिँ यही हुन्छ । ज्ञातव्य रहोस्, ‘डिम्याट खाताखोल्न नागरिकता आवश्यक पर्छ । नागरिकता बिना डिम्याट खाताखाता खोलिँदैन । तर, बोर्डले नागरिकताकै हाराहारीमा डिम्याट खातालाई राखिदियो । बोर्डको स्मरणका लागि यति भन्नैपर्ने हुन्छ कि जसरी बैंक खाता कुनै परिचयपत्र बन्न सक्दैन त्यसरी नै डिम्याट खाताकुनै परिचयपत्र बन्न सक्दैन । यो पनि बैंक खाता जस्तै हो । बैंक खाता केही हदसम्म आवश्यक पनि हुनसक्छ तर, शेयर राख्ने डिम्याट खाता देशैभरि पुर्‍याउने कुरा बोर्डले गर्नुको अर्थ नमच्चिने पिङको सय झट्काहो । शेयरबजार आधारभूत विषय पनि होइन, इच्छा जोखिम लिनेका लागि मात्र हो । 
अर्को पनि त्यस्तै हाँसो उठ्दो कार्यक्रम ओटीसीसँग सम्बद्ध छ । ओटीसी कारोबारलाई प्रतिस्पर्धी एवम् विश्वसनीयबनाउने भनिएको छ । ओटीसी भनेको असूचीकृत पब्लिक कम्पनीको शेयर हस्तान्तरण केन्द्र हो । कागजात लिएर गएपछि शेयर हस्तान्तरण हुन्छ । धितोपत्र बोर्ड जस्तै ओटीसी भनेको एउटा मात्र हुन्छ । साविकमा कम्पनी रजिस्ट्रार कार्यालयले गर्दै आएकोमा अहिले यो कार्य नेपाल स्टक एक्सचेन्जले खडा गरेको ओटीसी मार्फत हुने गरेको छ । कसरी प्रतिस्पर्धी बनाउने भनेको हो ? अनि विश्वसनीय पनि बनाउने भनिएको छ अहिले अविश्वसनीय छ र ? स्वचालित कारोबार प्रणालीमा विकास गर्ने भनिएकोसम्म ठीक हो ।
अन्तिम नीति र कार्यक्रम 
वर्तमान बोर्ड अध्यक्ष रेवत कार्कीको चारवर्षे कार्यकाल आगामी असोज महीनासँगै सकिने हुँदा उनको कार्यकालको अन्तिम नीति र कार्यक्रम हो, यो । अध्यक्ष कार्कीको आगमनदेखि नै गायत्री मन्त्रबनेको अर्को स्टक यसपटक पनि परेको छ । भएको स्टकलाई बोर्डको समानान्तर संस्था जस्तै ठानेर सौतेनीव्यवहार गरेका अध्यक्षले अर्को स्टक ल्याएर भएको स्टक पनि सिद्ध्याउन दिलोज्यान दिए पनि अब भने त्यो डरटर्ने क्रममा रहेको छ । नेतृत्वमा आएदेखि नै स्टकदलालप्रति अत्यन्त क्रुद्ध देखिएका वर्तमान अध्यक्षको बहिर्गमन र नयाँ अध्यक्षको आगमनपछिको धितोपत्र बजार कस्तो हुने हो व्यग्र प्रतीक्षा बनेको छ । धितोपत्र जस्तो संवेदनशील क्षेत्रको नियमनमा निकायमा बसेका विज्ञ व्यक्तिमा बेलाबेलामा राजनीतिक पूर्वाग्रह देखिनु, अधिकारविहीन कार्य (कालोधन छानविन) मा रुचि देखाउनु, पत्रिकामा यो किन्ने वा नकिन्नेजस्ता सल्लाहकारी लेखरचना छपाउनु कम्पनीलाई अवाञ्छित लाभ पुग्ने गरी रातारात नियम फेरिदिनु, धितोपत्र बजारको प्राथमिक अंग दलालप्रति तीव्र रोष प्रकट गर्नु, संसद्को समितिमा आएर आप्mनो अधीनस्थ निकायलाई अपारदर्शी र अक्षमको आरोप लगाउनु पनि नियमन विपरीत थियो । 
नयाँ कार्यक्रमको कार्यान्वयन 
यसपटक देखा परेको बुक बिल्डिङ विधिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याएर मूल्य अन्वेषण प्रक्रिया शुरू मात्र गरिदिए एउटा नयाँ आयाम बन्छ । धेरै पहिलादेखि माग भएको हकभन्दा बढी आवेदन दिन व्यवस्था एउटा परिपत्रबाट कार्यान्वयन गराउन सकिन्छ । राफसाफको समय घटाउने कुरा राम्रो सुनिए पनि प्राविधिक पक्षको परीक्षण नगरी सस्तो लोकप्रियता लिने प्रयास नहोस् । दलाललाई अविलम्ब थप कार्यक्षेत्र दिई वर्गीकरण पनि गरिनुपर्छ । मूल्य संवेदनशील सूचना प्रवाहलाई प्रभावकारी बनाउने भनिएको वर्षौं बितिसक्यो आजसम्म पनि यस विषयमा कुनै उन्नति प्रगति भएको छैन । सूचीकृत कम्पनी गाभ्ने तथा गाभिनेसम्बन्धी नियमावली र विभिन्न निर्देशिका तर्जुमा गर्ने कुरा पनि गफैमा सीमित भएको छ । नीतिको कुरा त पर छाडौं गाभ्ने/गाभिने कम्पनीले विशेष साधारणसभाको सूचनामा शेयर आदानप्रदान अनुपात कति हो भन्नेसम्म खुलाउन लगाउन र एउटा परिपत्र काफी हुन्छ । अर्को वर्षको समीक्षा लेख्न बस्दा बोर्डले गरेका गरेका उत्कृष्ट कार्य यी यी हुन् भनेर सूचीबद्ध गर्न पाइयोस् । 

६ साउन २०७६, अभियान दैनिक


Monday, August 12, 2019

गाभिँदा र विलय हुँदा शेयर कारोबार


बैंक गाभिने (मर्ज) र प्राप्ति (एक्वीजिशन) हुने लहर चलेको छ । दुई वाणिज्य बैंक (ग्लोबल र जनता) ले गाभिने र अर्को एउटा वाणिज्य बैंक (प्राइम)ले राष्ट्रियस्तरको विकास बैंक (कैलाश) लाई प्राप्ति गर्ने भएको छ । यसअघि नै एउटा अर्को वाणिज्य बैंक (एनएमबी) र राष्ट्रिय स्तरको विकास बैंक (ओम) गाभिने क्रममा छन् । बैंक गाभिने र प्राप्तिमा जाने क्रमसँगै शेयर कारोबार रोक्का हुने क्रम पनि बढ्दो छ । गाभिने सम्झौतापछि एक्सचेन्जमा कारोबार हुन लामै समय पनि लाग्ने गरेको इतिहास छ । बैंक गाभ्नुपर्ने आवश्यकता परेको हो वा होइन, त्यसको चर्चा आम रूपमा धेरै भइसकेको छ । अहिले रहर, आवश्यकता, बाध्यता वा दबाब जुनसुकै तत्वले गाभिने प्रक्रिया शुरू भएपछि शेयर कारोबार रोकिनु हुँदैन भन्ने आवाज एक्सचेन्जका अधिकारी, दलाल संघका पदाधिकारी र कारोबारीले उठाएका छन् । कारोबार रोकिनुपर्छ वा पर्दैन भन्ने सन्दर्भमा केही चर्चा र सहज गर्न सकिने केही कार्य टिपोट गरिएको छ ।

त्रिपक्षीय आवाजको अन्तर्य

मेगा र पश्चिमाञ्चल बैंक गाभिने प्रक्रिया अनावश्यक लम्बिएको थियो । त्यसपछिको टुरिजम बैंकसँगको गाभिने पनि यस्तै पट्यारलाग्दो भएको थियो । त्यति बेलादेखि नै पट्यारलाग्दो लम्बेतान गाभिने समय छोटिनुपर्छ भन्ने आवाज उठेको थियो । गाभिने भनेको सम्पत्ति र दायित्वको मूल्यांकन अर्थात् ड्यु डिलिजेन्स अडिट’ (डीडीए) गरी वासलातको अंक जोड्ने हो । तर, यति जोड्न पनि १ वर्षभन्दा बढी समय लागेको देखिएको छ । गाभिँदा दुवैको र प्राप्तिमा जानेको मात्र कारोबार रोकिने गरेको छ । ठूलो पूँजी भएको ग्लोबलको कारोबार रोकिएपछि यसको सीधा असर बजारमा देखिएको छ । ग्लोबलको मात्र कुल पूँजीकरणमा करीब २ प्रतिशत योगदान छ । त्यस्तै, जनताको १ प्रतिशत हाराहारी सहित ३ प्रतिशत हुन आउँछ । यसअघि नै एनएमबी र ओमको कारोबार रोक्का हुँदा २ प्रतिशतभन्दा बढी पूँजीकरणमा असर परिसकेको छ । कवि भूपिको हल्लैहल्लाको देशमाएउटाले जे गर्‍यो त्यसको आवश्यकता उपादेयता नबुझी पछि लागेर मर्जमा जाँदा १/२ प्रतिशत गर्दागर्दै २०सौं प्रतिशत बराबरको कारोबार रोकिन जाँदा नराम्रो असर पर्न सक्छ । कारोबारमा महत्वपूर्ण अंश ओगट्ने कम्पनीको कारोबार रोकिँदा यसले तरलतामा पनि असर पार्छ । सतही रूपमा हेर्दा दलालको आम्दानी घटेको देखिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आम्दानीमा समेत असर पर्छ । दलाललाई तिरिएको कमिशनको २० प्रतिशत रकम नेप्सेले लैजान्छ । त्यस्तै केन्द्रीय निक्षेपक (सीडीएस) र निक्षेप सदस्य (डीपी) को पनि आम्दानीमा असर पर्छ ।

कारोबार नरोकिएको अवस्थामा समेत खासै उल्लेख्य कारोबार नभएर बजार सुस्त देखिएको बेला ठूला भनेर चिनिएका कम्पनीको कारोबार रोकिँदा कारोबार संख्या र रकममा स्वतः असर पर्छ । कारोबार रोकिँदा दलाल कम्पनीको सञ्चालन खर्च समेत धान्न नसकिने अवस्था रहन्छ । त्यस्तै, नेप्से पनि सञ्चालन घाटामा जानसक्छ । यी दुई संस्थालाई पर्ने असरबाहेक तेस्रो पक्ष ग्राहक (कारोबारी) लाई पनि मर्का पर्छ । संस्थाको क्षमता नै बढ्ने गरी हुने मर्जरले केही समय कारोबार रोकिए पनि लगानीकर्तालाई खासै असर पर्दैन । तर, अहिले हुन लागेको मर्जरले संस्थागत क्षमता बढाउनेभन्दा अधिक पूँजीकरणले जोखिम बढाउने हुँदा लगानीकर्तालाई खासै उत्साहित पारेको देखिँदैन । अहिलेको मर्जरले लगानीकर्तालाई समेत हित गर्ने नदेखिँदा पीडाबोध हुनु स्वाभाविक हो । यस्तै पीडाबोधका कारण दलाल, नेप्से र कारोबारी (लगानीकर्तासमेत) ले कारोबार रोक्का नगर्न आह्वान गरेका हुन् ।

रोक्दाभन्दा नरोक्दा घातक 

कारोबार रोक्नु हुँदैन भनिएर गरिएको रोदन आआफ्नो स्वार्थ केन्द्रित छ । नरोक्दाको पाटो अझ घातक र दीर्घकालीन रूपमै असर पार्ने किसिमको छ । शेयरधनीका दृष्टिमा मर्जरको एउटा मूलपक्ष शेयर आदानप्रदान अनुपातले अहम् भूमिका खेल्छ । मर्जर सम्झौता हुनुअघि नै अमुक कम्पनीले अमुक कम्पनीलाई अमुक अनुपातमा गाभ्ने उच्च स्रोतले जानकारी दिएको अपुष्ट समाचार बग्रेल्ती पढ्न पाएकै हो । कतिपय समाचारमा पक्काभनेर ठोकुवा नै गरिएको हुन्छ । तर, यस्ता पक्काभनेर लेखिएका कच्चासमाचारले धेरैलाई कच्चा वैद्यको मात्रा यमपुरीको यात्राभनेझैं सम्पत्तिले यमपुरीकै यात्रातय गरेको छ । लक्ष्मी र एभरेष्ट बैंक अमुक अनुपातमा गाभिने पक्काहो शंकैछैन भन्ने समाचार कयौंपटक कयौंले लेखे । यसैको प्रभावमा लक्ष्मी बैंकको शेयर मूल्य आकाशियो ।

मर्जमा गएका कम्पनीले विशेष साधारणसभाको प्रस्तावमा शेयर आदानप्रदान अनुपात समेत खुलाएर सार्वजनिक नगरेका घटना धेरै छन् । साविकको ओम फाइनान्स तथा सिटी डेभलपमेन्ट बैंक केकति अनुपातमा गाभिए भन्ने अहिले पनि लगभग गोप्य जस्तै छ । अन्य कम्पनीले पनि यस्तो अनुपात खुलाएर सार्वजनिक गरेका छैनन् । ग्लोबल बैंकले हाथवे फाइनान्स कति अनुपातमा प्राप्ति गर्दै छ भन्ने विशेष साधारणसभाको सूचनामा उल्लेख गरेको छैन । सामान्यतया सम्पत्ति दायित्वको मूल्यांकन प्रतिवेदन प्राप्त भएर विशेष साधारणसभामा प्रस्ताव लगिने निश्चित भएपछि नेप्से मार्पmत सार्वजनिक गर्नुपर्नेमा यस्ता घटना विरलै देखिएका छन् । नेप्से मार्पmत नगरे पनि विशेष साधारणसभाको सूचनामा उल्लेख गर्न सकिन्थ्यो, त्यो पनि गर्दैनन् ।

गाभिने वा प्राप्तिमा जाने दुई कम्पनीको बजार भाउ फरकफरक हुन्छ । गाभिने प्रयोजनका लागि डीडीए भइरहेको बेला कारोबार हुन दिँदा पत्रिकामा उच्च स्रोतले भनेको यति अनुपात पाउने भयोभन्दै अफवाहयुक्त समाचारको बाढी नै आउँछ । यसरी हरेक दिन खेल र झेल चलिरहने हुँदा कारोबार नरोक्ने भन्ने प्रश्न स्वतः खारेज हुन्छ । मर्जरमा समय लाग्ने गरेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । यसले समग्र बजारलाई असर पारेको तथ्य पनि अस्वीकृत छैन । यस्तो स्थितिको अन्त्य गराउन नीतिगत रूपमा समय घटाउन सकिन्छ । यसका लागि सम्बद्ध निकायले नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ ।

केही सुझाव 

कम्पनी गाभिने विषय नौलो होइन, संसारभर कम्पनी गाभिन्छन् । कम्पनी ऐनले पनि कम्पनी गाभिने कुरालाई स्थान दिएको छ । प्राइभेट र पब्लिक (सूचीकृत र असूचीकृत) सबै प्रकारका कम्पनी गाभिन सक्छन् । व्यवसाय नियमन गर्ने निकाय भएमा नियामकले गाभिने शर्त तोक्न सक्छ । तोके बमोजिमका शर्त पूरा भएमा कम्पनी रजिस्ट्रार कार्यालयले कम्पनी गाभिएको अभिलेख गरेर एउटा कम्पनीको अस्तित्व समाप्त पारेर अर्को कम्पनीमा सम्पत्ति र दायित्व सारिदिन्छ । सूचीकरण भएका कम्पनीको नेप्सेबाट दैनिक कारोबार भइरहने हुँदा यसमा आम चासो र दायरा फराकिलो हुन्छ र गाभिँदा सार्वजनिक चासोको विषय बन्छ । नेपाल राष्ट्र बैंक र बीमा समितिले मात्र गाभ्ने, गाभिने र विलय सम्बन्धी नीतिगत व्यवस्था गरेका छन् । सूचीकृत सबै क्षेत्रका कम्पनी गाभिने सम्बन्धी विशेष व्यवस्था अहिलेसम्म धितोपत्र बोर्डले गरेको छैन । सूचीकृत कम्पनीको तालुकी अड्डाले यस सम्बन्धी निर्देशिका अविलम्ब जारी गर्नुपर्ने देखिन्छ र तत्काल निम्न विषय समेटी परिपत्र गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

१.             कुनै पनि सूचीकृत कम्पनी गाभ्ने, गाभिने र प्राप्ति सम्झौता गरेको भोलिपल्ट सम्झौता र कार्यतालिका नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने र सम्बद्ध कम्पनीको वेबसाइटमा राख्नुपर्छ ।
२.             कार्यतालिका अनुसार केकति कार्य सम्पन्न भयो, त्यसका बारेमा १/१ महीनामा नेप्से मार्फत सार्वजनिक गर्नुपर्छ ।
३.         शेयर आदानप्रदान अनुपात नेप्से मार्फत सार्वजनिक गर्ने र विशेष साधारणसभाको सूचनामा अनिवार्य उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ । विशेष साधारणसभाले अनुपात पारित गरेको भोलिपल्ट दुवै कम्पनीले नेप्सेलाई जानकारी गराउनुपर्छ ।
४.               विशेष साधारणसभाले अनुपात पारित गरेपछि बढीमा ३ कार्यदिनभित्र दुवै कम्पनीको कारोबार खुला गर्ने र एकीकृत कारोबार गर्नुअघि दुवै कम्पनीको अनुकूलता अनुसार कारोबार रोक्ने व्यवस्था गर्नुपर्छ ।

२०७६ असार ३०, अभियान दैनिक 


नेपालको जलविद्युत : आफ्नो खेर फाल्ने अरुको किन्ने


नेपालको चिनारी जलस्रोतमा धनी देशको रुपमा पनि हुने गरेको छ । ६ हजारभन्दा बढी साना-ठूला नदीनालाबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सकिन्छ भन्ने तथ्यांक छ । नेपालको पूर्व (कोशी), मध्य (गण्डकी) र पश्चिम (कर्णाली) क्षेत्रमा सात/सात वटा नदीको बेजोड संगम छ । बागमति, तिनाउ, राप्ती (दांग), बबई र महाकाली पनि मुख्य नदी प्रणालीमा पर्छन । यसबाहेक अन्य साना ठूला खोला/नदी प्रणाली पनि रहेका छन् । सम्भवत नेपालको जस्तो सात/सातवटा संगम भएका नदी प्रणालीयुक्त क्षेत्र अन्यत्र नहुन पनि सक्छ । तीनवटा नदी प्रणालीका २१ वटा ठूला नदी नेपालका 'शान' मात्र हैनन् 'धन' पनि हुन । 'सेतो सुन' भनेर चिनिने यी र यस्ता कयौं नदी अहोरात्र निरन्तर बगिरहेका छन् तर, यिनको समुचित उपयोग गर्न सकिएको छैन । ठूला नदी उपयोगविहीन भएर बगेको दुखद पाटो त छँदैछ तर, स-साना नदी/खोला उपयोग गरेर उत्पादन गरिएको विद्युत समेत खेर गएको दुर्दान्त पक्ष समेत छ । बिजुली खेर गएको पक्षलाई उजगार गर्दै अझ पनि खेर जानसक्ने अन्य विद्युतको समेत संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

माग, आपूर्ति र प्रसारण

बिक्रम सम्बत १९६८ सालमा श्री ३ महाराज चन्द्र शम्सेरको पालामा फर्पिंगमा उत्पादन गरिएको ५ सय किलोवाट क्षमताको आयोजना बिजुली यात्राको प्रस्थानविन्दु हो । सम्भवत यो दक्षिण एसियाको दोस्रो विद्युत उत्पादन केन्द्र हुनसक्छ । भारतमा सन् १९०२ (बि.सं. १९५९) मा ब्रिटीश कम्पनीले कर्नाटकमा बहने काबेरी नदीबाट शिवसमुन्द्र नामक स्थानमा ४ दशमलव ५ मेगावाट क्षमताको आयोजना बनाएको तथ्य भेटिन्छ । बि.सं. १९६८ सालदेखि आजसम्म एकसय वर्षभन्दा बढी समयमा सरकारले करिब १ हजार मेगावाट बिजुली उत्पादन गरेको छ । खुला र उदार अर्थव्यवस्था अपनाएपछि निजि क्षेत्रले उत्पादन गरेको करिब ८ सय मेगावाट समेत जोड्दा बिजुली प्रणालीमा १८ सय मेगावाट आवद्ध भएको तथ्यांक छ । अहिले करिब ३ हजार मेगावाट बिजुलीको माग भईरहेकोमा १ हजार मेगावाट विद्युत कम भइरहेको छ । नपुग भएको १ हजार मेगावाट बिजुली भारतबाट आयात गरिएको विवरण नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा देख्न सकिन्छ । 

पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ सय मेगावाटभन्दा बढी बिजुलीको माग हुने गरेको छ तर, प्रणालीमा आवद्ध हुने विद्युत शक्तिको दर ५० मेगावाट पनि नभए झैँ देखिन्छ । कतिपय निर्माण सम्पन्न आयोजनाले प्रसारण लाइन नपाउँदा उत्पादित बिजुली खेर गएको छ । निर्माणाधीन रसुवागढी, सान्जेन, मध्यभोटेकोशी, सबैभन्दा ठुलो एवम महत्वाकांक्षी तामाकोशी आयोजना समेत प्रसारण लाइनको पिडामा पर्ने सम्भावना देखिएको छ । यी उल्लेखित सबै आयोजना निर्माणाधीन अवस्थामा रहेका र आगामी वर्षभित्रै व्यवसायिक उत्पादन गर्ने तयारीमा छन् ।

विपरित उपभोग तालिका

बिजुलीको माग दैनिक बढ्दो छ । तर, प्रणालीमा बिजुली छैन । आयातित बिजुली महँगो छ । जहाँ (भारत) बाट बिजुली आयात गरिएको छ, उर्जा संकट त्यहाँ पनि छ । तल्लो तटीय क्षेत्रमा पर्ने देश भारतलाई माथिल्लो तटीय क्षेत्रको देशले बिजुली बेच्नेपर्नेमा यहाँ ठिक उल्टो भईरहेको छ । तल्लो र माथिल्लो तटमा हुनुको कारण मात्र  नेपालले भारतलाई बिजुली बेच्नुपर्ने हैन । नेपाल र भारतको उर्जा उपभोग तालिका ठ्याक्कै उल्टो हुनु पनि हो । यसलाई ईश्वर (प्रकृति) ले दिएको अनुपम देन मान्नुपर्छ । तर, शासकीय सोच र चिन्तन अनि नीति गतिलो नहुँदा पाएको साधन मिल्किएको छ । त्यसैले 'भिल्लको देशमा मोति मिल्कन्छ' भनिएको होला । नेपालको शासकीय सोच नीतिहीनता हेर्दा यो भनाई नेपालकै लागि बनेको जस्तो लाग्छ । भुटानले भारतलाई सबै नदीनाला सुम्पेर आफू पनि सम्पन्न बन्यो र भारतको आवश्यकता पनि पूरा गरिदिएको छ । तर, नेपालमा नीतिगत स्पष्टता नहुँदा वर्षौदेखि नेपालको पानी बगिरहेको छ । पानी बगिरहने यी दृश्य अझ कति समयसम्म चल्ने हो अनुमान गर्न गाह्रो छ । नेपाललाई अधिक बिजुली चाहिने समय (हिउँद) मा कम उत्पादन हुन्छ र यही बेला भारतलाई कम बिजुली भए पुग्छ । त्यतिबेला भारतबाट नेपालमा बिजुली ल्याएर आवश्यकता पूरा गर्न सकिन्छ । भारतलाई बढी बिजुली चाहिने समय (वर्षा) मा नेपालमा अधिक उत्पादन हुन्छ तर, खपत कम हुने यतिबेला बढी भएको बिजुली भारतलाई दिनसकिन्छ । एकप्रकारले हेर्दा यस्तो स्थिति पैसा नचाहिएको बेला बैंकमा राखेर चाहिएको बेला झिके जस्तै नेपाल र भारतको उर्जा उपभोग तालिका छ । तर, यसबाट फाईदा लिन दुवै देश चुकेका छन् ।

खेर गएको बिजुली    

नेपाल र भारतको उर्जा उपभोग तालिका ठिक विपरित भए पनि नेपालले नै पर्याप्त बिजुली दिन सकेको छैन । नेपालमा बिजुली आयोजना बेलैमा सम्पन्न हुन सक्दैनन् । यसका विविध कारण मध्ये एउटा कारण सरकार आफैँ हो । बिजुली उत्पादन गर्न जति सजिलो छ, त्यसलाई प्रसारण गर्न जटिलता छ । जटिलताको सर्जक स्वयं सरकार हो । वन क्षेत्रको उपयोग नगरी आयोजना सम्पन्न गर्न सकिन्न । रमाइलो के छ भने राष्ट्रिय गौरवको तामाकोशी आयोजनालाई प्रसारण लाइन बनाउन काट्नुपर्ने ४ हजार रुख काट्ने अनुमति पाउन २२ महिना लागेको थियो । अहिले निर्माण सम्पन्न भएर पनि प्रसारण लाइनको अभाव झेलिरहेका केही आयोजनाको विवरण तालिकामा देखाईएको छ । तालिकामा परेको खानीखोला र सिनर्जीले आँशिकरुपमा लाइन पाएका छन् । लाजमर्दो कतिसम्म छ भने खानीखोला उपत्यकाकै ललितपुर जिल्लाको दक्षिणमा पर्छ । दोलखाको सिनर्जीले २०७० सालअघि नै उत्पादन गरेको भए पनि आजसम्म लाइन नपाउँदा वर्षायाममा आँशिक चलाउनुपर्छ । दोलाखामै निर्माणको अन्तिम चरणमा पुगेका तल्लो खारेखोला (११ मेगावाट), सिंगटी (२५ मेगावाट) र खानीखोला (२५ र क्यासकेड १५ सहित ४० मेगावाट) ले पनि तत्काल लाइन पाउने सम्भावना देखिएको छैन । यस्तै दुर्दान्त कथा सोलुखोलामा निर्माणाधीन आयोजनाको पनि देखिने सम्भावना छ । तामाकोशीको बिजुली समेत गोंगर-खिम्ती हुँदै ढल्केबर पुगे पनि त्यहाँबाट पूर्व र पश्चिम जाने बाटो (प्रसारण लाइन) छैन । पूर्व-पश्चिममा उच्च क्षमतायुक्त प्रसारण लाइन नहुँदा तामाकोशीको बिजुली पनि डिब्बाबन्द हुने सम्भावना देखिन्छ । 

प्रसारण लाइन नपाएका केही आयोजना (औसत प्रतियुनिट ६ रुपैयाँको आधारमा मूल्य निकालिएको)

आयोजना
जडित क्षमता
युनिट
मूल्य (अनुमानित)
कैफियत
अरुण काबेली हाइड्रोपावर
२५
१४,१७,४५,४७०
८५,०४,७२,८२०
काबेली करिडोर लाइन पूरा नभएको
राईराँग हाइड्रोपावर
९.९
५,६६,२४,९५५
३३,९७,४९,७३०
पाँचथर पावर
१४
८,२०,९५,७४२
४९,२५,७४,४५२
माउन्टेन हाइड्रो नेपाल
२१.६
११,६२,६१,०००
६९,७५,६६,०००
सिनर्जी पावर
१०
५,२४,४७,९३०
३१,४६,८७,५८०
३३ केभी आँशिक उपयोग
खानीखोला हाइड्रोपावर
३,२२,७०,०००
१९,३६,२०,०००
११ केभी आँशिक उपयोग
हिमालय उर्जा विकास कम्पनी
१९
११,५९,०३,७६७
६९,५४,२२,६०२
प्रसारण लाइनको पत्तो छैन
जम्मा
१०५.५
५९,७३,४८,८६४
३,५४,८०,९३,१८४

स्रोत : कम्पनीले प्रकाशन गरेको विवरणपत्र
 कचौरो बोकेर भिख

नदी नवीकरणीय उर्जाका मुख्य स्रोत भएर पनि पर्याप्त उपयोग हुन् नसक्दा नेपाल 'सुनको कचौरो बोकेर भिख' मागिरहेको छ । कहिल्यै नसकिने नवीकरणीय जलउर्जा उत्पादन गरी उर्जामा निर्भरता र निर्यात समेत गरेर व्यापार घाटा कम गर्न मात्र हैन देशले विदेशी मुद्रा समेत आर्जन गर्नसक्छ । प्रकृतिले नेपाललाई जलाधारयुक्त उच्च हिमालय क्षेत्र र तल्लो तटमा भारत जस्तो ठुलो भू-भाग एवम जनसंख्या भएको देश दिए पनि नेपालले जल उपयोग गरी आफुले पनि उपयोग गर्न सकेन र भारतलाई पनि दिन सकेन । परिस्थिति हेर्दा नेपालको जलस्रोत 'माग्नेलाई हात्ती दान' जस्तो बनेको छ । नेपालको अपार जलभण्डारको समुचित उपयोगमा दुवै देश (नेपाल र भारत) कहाँ चुके कोही कसैले बताउन सकेको देखिन्न । यसैको खोजी आजको टड्कारो आवश्यकता बनेको छ ।

आर्थिक अभियान, २०७६ असार २४ गते

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...