Monday, August 12, 2019

नेपालको जलविद्युत : आफ्नो खेर फाल्ने अरुको किन्ने


नेपालको चिनारी जलस्रोतमा धनी देशको रुपमा पनि हुने गरेको छ । ६ हजारभन्दा बढी साना-ठूला नदीनालाबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सकिन्छ भन्ने तथ्यांक छ । नेपालको पूर्व (कोशी), मध्य (गण्डकी) र पश्चिम (कर्णाली) क्षेत्रमा सात/सात वटा नदीको बेजोड संगम छ । बागमति, तिनाउ, राप्ती (दांग), बबई र महाकाली पनि मुख्य नदी प्रणालीमा पर्छन । यसबाहेक अन्य साना ठूला खोला/नदी प्रणाली पनि रहेका छन् । सम्भवत नेपालको जस्तो सात/सातवटा संगम भएका नदी प्रणालीयुक्त क्षेत्र अन्यत्र नहुन पनि सक्छ । तीनवटा नदी प्रणालीका २१ वटा ठूला नदी नेपालका 'शान' मात्र हैनन् 'धन' पनि हुन । 'सेतो सुन' भनेर चिनिने यी र यस्ता कयौं नदी अहोरात्र निरन्तर बगिरहेका छन् तर, यिनको समुचित उपयोग गर्न सकिएको छैन । ठूला नदी उपयोगविहीन भएर बगेको दुखद पाटो त छँदैछ तर, स-साना नदी/खोला उपयोग गरेर उत्पादन गरिएको विद्युत समेत खेर गएको दुर्दान्त पक्ष समेत छ । बिजुली खेर गएको पक्षलाई उजगार गर्दै अझ पनि खेर जानसक्ने अन्य विद्युतको समेत संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

माग, आपूर्ति र प्रसारण

बिक्रम सम्बत १९६८ सालमा श्री ३ महाराज चन्द्र शम्सेरको पालामा फर्पिंगमा उत्पादन गरिएको ५ सय किलोवाट क्षमताको आयोजना बिजुली यात्राको प्रस्थानविन्दु हो । सम्भवत यो दक्षिण एसियाको दोस्रो विद्युत उत्पादन केन्द्र हुनसक्छ । भारतमा सन् १९०२ (बि.सं. १९५९) मा ब्रिटीश कम्पनीले कर्नाटकमा बहने काबेरी नदीबाट शिवसमुन्द्र नामक स्थानमा ४ दशमलव ५ मेगावाट क्षमताको आयोजना बनाएको तथ्य भेटिन्छ । बि.सं. १९६८ सालदेखि आजसम्म एकसय वर्षभन्दा बढी समयमा सरकारले करिब १ हजार मेगावाट बिजुली उत्पादन गरेको छ । खुला र उदार अर्थव्यवस्था अपनाएपछि निजि क्षेत्रले उत्पादन गरेको करिब ८ सय मेगावाट समेत जोड्दा बिजुली प्रणालीमा १८ सय मेगावाट आवद्ध भएको तथ्यांक छ । अहिले करिब ३ हजार मेगावाट बिजुलीको माग भईरहेकोमा १ हजार मेगावाट विद्युत कम भइरहेको छ । नपुग भएको १ हजार मेगावाट बिजुली भारतबाट आयात गरिएको विवरण नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा देख्न सकिन्छ । 

पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ सय मेगावाटभन्दा बढी बिजुलीको माग हुने गरेको छ तर, प्रणालीमा आवद्ध हुने विद्युत शक्तिको दर ५० मेगावाट पनि नभए झैँ देखिन्छ । कतिपय निर्माण सम्पन्न आयोजनाले प्रसारण लाइन नपाउँदा उत्पादित बिजुली खेर गएको छ । निर्माणाधीन रसुवागढी, सान्जेन, मध्यभोटेकोशी, सबैभन्दा ठुलो एवम महत्वाकांक्षी तामाकोशी आयोजना समेत प्रसारण लाइनको पिडामा पर्ने सम्भावना देखिएको छ । यी उल्लेखित सबै आयोजना निर्माणाधीन अवस्थामा रहेका र आगामी वर्षभित्रै व्यवसायिक उत्पादन गर्ने तयारीमा छन् ।

विपरित उपभोग तालिका

बिजुलीको माग दैनिक बढ्दो छ । तर, प्रणालीमा बिजुली छैन । आयातित बिजुली महँगो छ । जहाँ (भारत) बाट बिजुली आयात गरिएको छ, उर्जा संकट त्यहाँ पनि छ । तल्लो तटीय क्षेत्रमा पर्ने देश भारतलाई माथिल्लो तटीय क्षेत्रको देशले बिजुली बेच्नेपर्नेमा यहाँ ठिक उल्टो भईरहेको छ । तल्लो र माथिल्लो तटमा हुनुको कारण मात्र  नेपालले भारतलाई बिजुली बेच्नुपर्ने हैन । नेपाल र भारतको उर्जा उपभोग तालिका ठ्याक्कै उल्टो हुनु पनि हो । यसलाई ईश्वर (प्रकृति) ले दिएको अनुपम देन मान्नुपर्छ । तर, शासकीय सोच र चिन्तन अनि नीति गतिलो नहुँदा पाएको साधन मिल्किएको छ । त्यसैले 'भिल्लको देशमा मोति मिल्कन्छ' भनिएको होला । नेपालको शासकीय सोच नीतिहीनता हेर्दा यो भनाई नेपालकै लागि बनेको जस्तो लाग्छ । भुटानले भारतलाई सबै नदीनाला सुम्पेर आफू पनि सम्पन्न बन्यो र भारतको आवश्यकता पनि पूरा गरिदिएको छ । तर, नेपालमा नीतिगत स्पष्टता नहुँदा वर्षौदेखि नेपालको पानी बगिरहेको छ । पानी बगिरहने यी दृश्य अझ कति समयसम्म चल्ने हो अनुमान गर्न गाह्रो छ । नेपाललाई अधिक बिजुली चाहिने समय (हिउँद) मा कम उत्पादन हुन्छ र यही बेला भारतलाई कम बिजुली भए पुग्छ । त्यतिबेला भारतबाट नेपालमा बिजुली ल्याएर आवश्यकता पूरा गर्न सकिन्छ । भारतलाई बढी बिजुली चाहिने समय (वर्षा) मा नेपालमा अधिक उत्पादन हुन्छ तर, खपत कम हुने यतिबेला बढी भएको बिजुली भारतलाई दिनसकिन्छ । एकप्रकारले हेर्दा यस्तो स्थिति पैसा नचाहिएको बेला बैंकमा राखेर चाहिएको बेला झिके जस्तै नेपाल र भारतको उर्जा उपभोग तालिका छ । तर, यसबाट फाईदा लिन दुवै देश चुकेका छन् ।

खेर गएको बिजुली    

नेपाल र भारतको उर्जा उपभोग तालिका ठिक विपरित भए पनि नेपालले नै पर्याप्त बिजुली दिन सकेको छैन । नेपालमा बिजुली आयोजना बेलैमा सम्पन्न हुन सक्दैनन् । यसका विविध कारण मध्ये एउटा कारण सरकार आफैँ हो । बिजुली उत्पादन गर्न जति सजिलो छ, त्यसलाई प्रसारण गर्न जटिलता छ । जटिलताको सर्जक स्वयं सरकार हो । वन क्षेत्रको उपयोग नगरी आयोजना सम्पन्न गर्न सकिन्न । रमाइलो के छ भने राष्ट्रिय गौरवको तामाकोशी आयोजनालाई प्रसारण लाइन बनाउन काट्नुपर्ने ४ हजार रुख काट्ने अनुमति पाउन २२ महिना लागेको थियो । अहिले निर्माण सम्पन्न भएर पनि प्रसारण लाइनको अभाव झेलिरहेका केही आयोजनाको विवरण तालिकामा देखाईएको छ । तालिकामा परेको खानीखोला र सिनर्जीले आँशिकरुपमा लाइन पाएका छन् । लाजमर्दो कतिसम्म छ भने खानीखोला उपत्यकाकै ललितपुर जिल्लाको दक्षिणमा पर्छ । दोलखाको सिनर्जीले २०७० सालअघि नै उत्पादन गरेको भए पनि आजसम्म लाइन नपाउँदा वर्षायाममा आँशिक चलाउनुपर्छ । दोलाखामै निर्माणको अन्तिम चरणमा पुगेका तल्लो खारेखोला (११ मेगावाट), सिंगटी (२५ मेगावाट) र खानीखोला (२५ र क्यासकेड १५ सहित ४० मेगावाट) ले पनि तत्काल लाइन पाउने सम्भावना देखिएको छैन । यस्तै दुर्दान्त कथा सोलुखोलामा निर्माणाधीन आयोजनाको पनि देखिने सम्भावना छ । तामाकोशीको बिजुली समेत गोंगर-खिम्ती हुँदै ढल्केबर पुगे पनि त्यहाँबाट पूर्व र पश्चिम जाने बाटो (प्रसारण लाइन) छैन । पूर्व-पश्चिममा उच्च क्षमतायुक्त प्रसारण लाइन नहुँदा तामाकोशीको बिजुली पनि डिब्बाबन्द हुने सम्भावना देखिन्छ । 

प्रसारण लाइन नपाएका केही आयोजना (औसत प्रतियुनिट ६ रुपैयाँको आधारमा मूल्य निकालिएको)

आयोजना
जडित क्षमता
युनिट
मूल्य (अनुमानित)
कैफियत
अरुण काबेली हाइड्रोपावर
२५
१४,१७,४५,४७०
८५,०४,७२,८२०
काबेली करिडोर लाइन पूरा नभएको
राईराँग हाइड्रोपावर
९.९
५,६६,२४,९५५
३३,९७,४९,७३०
पाँचथर पावर
१४
८,२०,९५,७४२
४९,२५,७४,४५२
माउन्टेन हाइड्रो नेपाल
२१.६
११,६२,६१,०००
६९,७५,६६,०००
सिनर्जी पावर
१०
५,२४,४७,९३०
३१,४६,८७,५८०
३३ केभी आँशिक उपयोग
खानीखोला हाइड्रोपावर
३,२२,७०,०००
१९,३६,२०,०००
११ केभी आँशिक उपयोग
हिमालय उर्जा विकास कम्पनी
१९
११,५९,०३,७६७
६९,५४,२२,६०२
प्रसारण लाइनको पत्तो छैन
जम्मा
१०५.५
५९,७३,४८,८६४
३,५४,८०,९३,१८४

स्रोत : कम्पनीले प्रकाशन गरेको विवरणपत्र
 कचौरो बोकेर भिख

नदी नवीकरणीय उर्जाका मुख्य स्रोत भएर पनि पर्याप्त उपयोग हुन् नसक्दा नेपाल 'सुनको कचौरो बोकेर भिख' मागिरहेको छ । कहिल्यै नसकिने नवीकरणीय जलउर्जा उत्पादन गरी उर्जामा निर्भरता र निर्यात समेत गरेर व्यापार घाटा कम गर्न मात्र हैन देशले विदेशी मुद्रा समेत आर्जन गर्नसक्छ । प्रकृतिले नेपाललाई जलाधारयुक्त उच्च हिमालय क्षेत्र र तल्लो तटमा भारत जस्तो ठुलो भू-भाग एवम जनसंख्या भएको देश दिए पनि नेपालले जल उपयोग गरी आफुले पनि उपयोग गर्न सकेन र भारतलाई पनि दिन सकेन । परिस्थिति हेर्दा नेपालको जलस्रोत 'माग्नेलाई हात्ती दान' जस्तो बनेको छ । नेपालको अपार जलभण्डारको समुचित उपयोगमा दुवै देश (नेपाल र भारत) कहाँ चुके कोही कसैले बताउन सकेको देखिन्न । यसैको खोजी आजको टड्कारो आवश्यकता बनेको छ ।

आर्थिक अभियान, २०७६ असार २४ गते

No comments:

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...