शरद्ऋतुको मध्यतिर आइपुगिएको छ । शरद्ऋतु गर्मी र
सर्दी मौसमको समाप्ति र शुरुआतको विन्दु हो । शरद्ऋतुसँगै आउने दशैं पर्व पनि शुरू
भइसकेको छ । शरद्को याम दशैं पर्व परेर मात्र उल्लासमय भएको होइन । बेँशी र टारमा
पहेंलै भएर झुल्ने धानका सुनौला बालाले खेल्ने तरेली र टारकै छेउमा बग्ने सफा
कञ्चन नदी, सयपत्री, गोदावरी र मखमलीजस्ता
फूल फूल्ने याम पर्ने हुँदा वातावरणलाई मनमोहक बनाएको हुन्छ ।
शक्ति सञ्चय र सम्भार पर्व
दशैं शारीरिक शक्ति सञ्चय र घरको उचित मर्मत-सम्भार गरी आयु बढाउने पर्व हो । असार–साउन
महीनाको झरीमा भिजेर शारीरिक शक्ति क्षय गर्दै खेती लगाएका कृषकका लागि मङ्सिरमा
फेरि टार र बेँशीबाट अनाज भित्र्याउनुपर्ने हुन्छ । वर्षामासको झरीमा रुझेर भिझेर
मेहनत गर्दा शारीरिक शक्ति क्षय हुने हुँदा त्यसलाई पुनः सञ्चय गर्न मिष्ठात्र र
पोषकयुक्त भोजनले दशैं शारीरिक शक्ति सञ्चय गर्ने पर्व पनि बनेको छ । वर्षाको
समयमा बेफुर्सदी हुने हुँदा जीवन बिताउने आश्रय स्थल घरको मर्मत-सम्भार
गर्ने समय पनि यही हो । भत्केको ठाउँ टालटुलदेखि लिपपोत रङरोगन आदि गरेर घरको
आयुलाई बढाउने कार्य पनि यही बेला हुन्छ । विवाह गरेर गएका चेलीदेखि लिएर
धनार्जनका लागि परदेशिएका आफन्तजनको मिलन हुने सुखमय अवसर दशैं वा कुनै विशेष पर्व
बाहेक अरू केही हुन्न । भौगोलिक दूरीले टाढा भएका आफन्तजन को मरे को बाँचेका छन्
खबर प्राप्त नहुने त्यति बेलाको समयमा दशैं कुशल मङ्गलको सन्देश आदान-प्रदान गर्ने
भेटघाटको प्रसङ्ग त झन् अर्को महत्त्वपूर्ण विशेषता हो ।
दशैंको जमघट
दशैंमा विभित्र देवीको उपासना गरिन्छ । यी देवी
भनेका को हुन् भन्ने सन्दर्भमा ऋग्वेदमा ‘इला सरस्वती मही
तिस्रो देविर्मयोभुवः । बर्हिः सिदन्त्वस्रीधः अर्थात् इला (मातृभाषा), सरस्वती (मातृ सभ्यता र संस्कृति) र मही (मातृभूमि) लाई देवी भनिएको छ ।
दशैं वा कुनै पनि पर्वले मानवका सांस्कृतिक पक्षलाई प्रतिबिम्बित गर्ने भएकाले
यसको महत्व सांस्कृतिक छ । त्यसैले यजुर्वेदमा ‘सा प्रथमा
संस्कृतिर्विश्ववारा’ भनिएको छ । ऋग्वेदमा ‘आनो भद्राः क्रतवो, यन्तु विश्वतः’ अर्थात् सबैतिरबाट शुभ प्राप्त होस् भन्ने कामना गरिएको सन्दर्भमा दशैं
पर्वमा हुने जमघट र भेटघाटलाई जोडेर हेर्न सकिन्छ । अथर्ववेदमा यसरी हुने जमघट र
भेटघाटले ‘अन्यो अन्यमभिर्यत’ (एकअर्कासँग
प्रेम बढ्छ) भनिएको छ । कुनै पनि जात समुदायले मनाउने पर्वबाट गृहस्थको जीवन
ऐश्वर्यसम्पत्र हुने कुरा अथर्ववेदमा ‘सुनृतावन्तः सुभगा
इरावन्तो हसामुदाः । अतृष्या अक्षुध्यास्त गृहा मास्मद विभितन ।’ भनेर व्यक्त गरिएको छ । पर्वमा हुने सामाजिक जमघटले मनोवाञ्छा पूरा हुने
कुरालाई यजुर्वेदले ‘अदिनाः स्याम शरदः शतम् । भूयश्च शरदः
शतात् ।’ हामी सय वर्षभन्दा बढी वैभव सम्पत्र भएर सम्मानसाथ
बाँचौं भनेको छ । ‘यथा नः इज्जनोनमीव’ सबैले
परस्पर सज्जनताको व्यवहार गरौं भनेर यजुर्वेदले भनेको छ । ‘पश्च
देवस्य काव्यं न ममार न जीर्यति’ अर्थात् वेद सबै सत्य
विद्यायुक्त पुस्तक भएकाले यसको महत्त्वलाई अथर्ववेदले प्रस्ट्याएको छ ।
शास्त्रमा धनार्जन
मानव धनको दास भएकाले जतिखेर पनि धनार्जन गर्ने
सोचमा रहेको हुन्छ । धनविना जीवन नचल्ने हुँदा उद्योग पौरखलाई महाभारतमा ‘उद्योगं
पुरुषलक्षणम्’ (उद्योग पौरखीको लक्षण हो) भनिएको छ । ‘अजेष्ठासो अकनिष्ठास ऐते संभ्रातरो वावृधुः सौभगाय । युवां पितास्वया
रुद्र एषं सुदुधा पृथिवि सुदिना महद्भ्य ।’ (ठूलो वा सानो
कोही नभएकाले सबै साथ मिलेर अघि बढ पृथ्वी (भूमि) रक्षक र धनधान्य गराउने माता
हुन्) ऋग्वेदमा भनिएको छ । ऋग्वेदले ‘मज्ज्यन्त्य विचेतः’
(ज्ञानविना धोका खाइने) तथा ‘अनुब्रुबाणो
अध्येति न स्वपन्’ (अभ्यासबाट सिकिने) बताएको छ । त्यस्तै
सबै कुरामा पूर्व ज्ञान नहुने हुँदा नजानेका र नबुझेका कुरा अग्रजबाट सिकेर बुझ्न
जान्न सकिने तथ्यलाई यजुर्वेदमा ‘अशिक्षायै प्रश्निनम्’
भनिएको छ । धनार्जनको बाधा के के हुन् भनेर नारदस्मृतिमा ‘यत्रश्रीर्यौवनं वापि परदारोपि तिष्ठति । तत्र सर्वान्धिता नित्यं
मूर्खत्वं चापि जायते’ (जहाँ धन, यौवन
र परस्त्री हुन्छ, त्यहाँ सबै अन्धा र मूर्ख हुन्छन्) भनिएको
छ । ईश्वरकृत भूमिमा उद्योग लगायत पुरुषार्थ गर्नेलाई ईश्वरले सदा साथ दिने भन्दै
ऐतरेय ब्राह्मणले ‘इन्द्र इच्चरतः सखा’ भनेका छन् । महाभारतमा ‘उत्थानं संयमो
दाक्ष्यमप्रमादो धृतिः स्मृति । समीक्षं च समारम्भो विद्धि मूलं भवस्य तु’ अर्थात् ‘उद्योग, संयम,
दक्षता, सावधानी, धैर्य,
स्मृति र सोचविचार नै उन्नतिको मूल हो’ भनिएको
छ । धनार्जनको बाटोमा हिँड्दा आफ्नो बुद्धिविवेकको बढी उपयोग गर्नुपर्ने तथ्यलाई
मनन गराउन ऋग्वेदमा ‘न स्रेधन्तं रयिर्नशत’ भनिएको छ ।
अर्थ र अध्यात्म
अर्थ (धन) विना जीवन अधुरो हुने हुँदा अर्थ
अपरिहार्य तत्त्व हो । तर, यसको प्राप्ति सहज नभएकाले धैर्यको खाँचो पर्छ । आजको
भोलि नै मनोवाञ्छित धन प्राप्ति हुन्न । कि धन लामो बाटोबाट, कि धन बाख्राको पाठोबाट, कि धन ससुराली पाटोबाट
भन्ने उक्ति चलनचल्तीमा छ । मुण्डक उपनिषद्ले बताएको ‘सत्यमेव
जयते नानृतम्’ को मर्मलाई आत्मसात् गरेर धन प्राप्तिको
बाटोमा सत्कर्मका साथ लाग्दा अवश्य लाभ प्राप्त हुन्छ । यजुर्वेदमा भनिएको ‘भद्रं कर्णेभिः श्रणुयाम’ राम्रा कुरा सुनेर (ज्ञान
लिएर) कुनै पनि क्षेत्रमा लगानी गर्न सकिन्छ । ऋग्वेदमा भनिएको ‘अचेतनस्य पथः मा विदुक्षः’ (अज्ञानको बाटोमा) लागेर
धनार्जन हुन्न । थाहा नभएको र नबुझेको क्षेत्रमा लगानी हाल्दा त्यसबाट पनि लाभ
पाउन सकिन्न । ‘अकेतवे केतुं कृण्वन्’ (अज्ञानीलाई ज्ञान) देऊ भनेर ऋग्वेदमा भनिएको छ । ज्ञान मात्र लिएर हुन्न
प्रयत्नशील पनि हुनुपर्छ भनेर अथर्ववेदमा ‘सहो रुरोह रोहितः’
भनिएको छ । पाएको ज्ञानको सदुपयोग गरेर उन्नति गर्नु अवनति हुने
कार्य नगर्नु भनेर अथर्ववेदमा नै ‘उद्यानं ते पुरुष नावयानम्’
भनिएको छ । ‘रमन्त्यां पुण्या लक्ष्मीः’
(इमानदारीपूर्वक आर्जन गरेको धन दिगो हुन्छ) भनेर अथर्ववेदले बताएको
छ ।
अन्त्यमा, दशैंको सन्दर्भमा
सङ्क्षिप्त रूपमा गरिएको आध्यात्मिक अर्थ चिन्तनको सिलसिलालाई यही टुङ्गोमा पुर्याउँदै
तैत्तरिय उपनिषद्को ’ॐ सह ना भवतु सह नौ भुनक्तु सहविर्यं
करवावहै, तेजस्वीनावधीतमस्तु मा विदिषावहै । ॐ शान्तिः
शान्तिः शान्तिः’ श्लोकसँगै समस्त पाठक वर्गलाई दशैंको
मङ्गलमय शुभकामना अर्पण गर्छु ।
२०७५ आश्विन २९ अभियान दैनिक
http://www.abhiyan.com.np/?p=286601