Thursday, October 4, 2018

कारोबार विनियमका केही पक्ष

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियम २०७५ सँगसँगै धितोपत्र कारोबार सञ्चालन विनियम २०७५ पनि लागू गरेको छ । यी दुवै विनियम झण्डै २५ वर्षपछि सार्वजनिक भएका हुन् । कानून सबैले जानेकै हुनुपर्छ भनेर कानूनले अनुमान गर्छ । तर, जसलाई कानून लागू हुने हो त्यसैले सम्बन्धित कानून देख्न पाउँदैन वा पाएको छैन भने कानून जानेको हुनुपर्छ भन्ने मान्यतालाई कसरी स्वीकार गर्ने ? शेयर कारोबार गर्ने सबैले जान्नुपर्ने कारोबार सम्बन्धी कानून (विनियम) मा के कस्ता व्यवस्था रहेका छन् र यसमा के पुगेको छैन यी आदि विषयको सङ्क्षिप्त समीक्षा गरिएको छ ।

कारोबार प्रणाली र एकाइ

विनियम अनुसार नेप्सेले धितोपत्र खरीद-विक्रीका लागि स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नेछ । कारोबारको कार्यान्वयन मूल्य र समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी (पीटीपी) का आधारमा हुनेछ । पीटीपी प्रणालीले खरीद-विक्री आदेशको प्रशोधन गर्दा खरीदका लागि बढी र विक्रीका लागि कम मूल्य कबोल गर्ने आदेशलाई प्राथमिकता दिने तर आदेश दिइएको मूल्य समान भएमा समयलाई आधार मानी पहिलो आदेशलाई प्राथमिकता दिने व्यवस्था छ । प्रत्येक सदस्य (दलाल, बजार निर्माता वा धितोपत्र व्यापारी) ले कारोबार प्रणालीको माध्यमबाट मात्र धितोपत्र खरीद-विक्री गर्नुपर्नेछ । स्वचालित प्रणालीको शुरुआत नहुन्जेल यस्तो प्रणालीमा ग्राहकको पहुँच हुनेछैन । तर, स्वचालित प्रणालीको शुरुआत पश्चात् भने कारोबार सदस्य (दलाल) ले ग्राहकलाई आदेश प्रविष्ट गर्नसक्ने गरी कारोबार प्रणालीमा पहुँच दिनसक्नेछ ।

नेप्सेले बोर्डको सहमति लिई न्यूनतम कारोबारका लागि एकाइ निर्धारण गर्नसक्छ । विनियम अनुसार (१) अङ्कित मूल्य रू. १० भएमा १ सय कित्ता (उदाहरणार्थ सोल्टी होटल र सामूहिक लगानी कोषका एकाइ) र (२) अङ्कित मूल्य रू. १ सय भएमा १० कित्ता तोकिएको छ । धारकसँग तोकिएभन्दा कम कित्ता भएमा निरन्तर कारोबार सत्रमा मूल्य सीमा परिवर्तन नगरी अडलटकारोबार गर्नसक्छ । तर, अडलट बनाई कारोबार गर्न पाउने छैन ।

आदेश र अग्रिम रकम

दलालले ग्राहकबाट टेलिफोन, मोबाइल फोन, इमेल लगायत अन्य विद्युतीय माध्यमबाट आदेश प्राप्त गर्नुपर्ने र त्यस्तो आदेश अभिलेख राख्नुपर्ने हुन्छ । कारोबार आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने रकमको कम्तीमा २५ प्रतिशत अग्रिम लिनुपर्नेछ । दलालले ग्राहकसँग कारोबार सम्झौता गर्नुपर्ने र सम्झौतामा (१) आदेश दिने माध्यम, (२) आदेश प्रविष्टिका लागि प्रयोग गर्ने उपकरणको पहिचान, (३) आदेश प्रविष्टिको सीमा, (४) ग्राहकको निक्षेप खाता तथा बैङ्क खातामा दलालको पहुँच, (५) मार्जिन कारोबार सुविधा उपयोग गर्ने भए सो सम्बन्धी विवरण, (६) कारोबारका लागि आवश्यक धरौटी सम्बन्धी विषय, (७) कारोबारको अन्तिम दायित्व सम्बन्धी विषय, (८) नियन्त्रण बाहिरको परिस्थिति तथा क्षतिपूर्ति सम्बन्धी विषय, (९) ग्राहक कालोसूची वा दामासाहीमा परेको भए सो सम्बन्धी जानकारी, (१०) धितोपत्र रोक्का रहे नरहेको जानकारी, (११) कारोबार प्रणालीको सुरक्षा सम्बन्धी विषय लगायत विषय खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

कारोबार सञ्चालन 

शेयर कारोबारका लागि कारोबार प्रणालीलाई (१) प्रारम्भिक (१०:३० देखि ११ बजेसम्म), (२) बोलकबोल वा निरन्तर (११ बजेदेखि ३ बजेसम्म) र (३) अन्तिम (अपराह्न ३ बजेदेखि ३:०५ बजेसम्म) गरी ३ ओटा सत्रमा बाँडिएको छ । प्रारम्भिक सत्रमा प्रविष्ट भएको आदेशको कार्यान्वयन इकोनोमिक अर्डर क्वाण्टिटी तथा इकोनोमिक अर्डर प्राइसको आधारमा निरन्तर सत्रको कारोबार समय शुरू हुनु अघि कार्यान्वयन हुनेछ । इकोनोमिक अर्डर क्वाण्टिटी तथा इकोनोमिक अर्डर प्राइसभन्नाले निर्धारित समयभित्र प्रविष्ट भएको खरीद र विक्री आदेशलाई गणना गरी माग र आपूर्तिको सिद्धान्त बमोजिम मूल्य निर्धारण गरेर प्रविष्ट भएका सम्पूर्ण आदेशलाई एकैपटक कार्यान्वयन गर्ने प्रणाली हो । निरन्तर सत्रदेखि मूल्य र समय प्राथमिकताको आधारमा आदेश कार्यान्वयन गरिनेछ । अन्तिम सत्रको कारोबार औसत मूल्यमा हुनेछ । औसत मूल्य गणनाका लागि नेप्सेले समय तथा कारोबार सङ्ख्या तोक्न सक्नेछ । निरन्तर र अन्तिम सत्रमा भएका कारोबारको विवरण नेप्सेले वेबसाइट मार्फत उही समय (रियल टाइम) मा सार्वजनिक गर्नेछ ।

मूल्य परिवर्तन सीमा 

प्रारम्भिक र निरन्तर सत्रमा मूल्य प्रविष्ट गर्दा अगिल्लो दिनको अन्तिम मूल्यको क्रमशः ५ प्रतिशत र २ प्रतिशत घटी वा बढी सीमामा रहेर गर्नुपर्नेछ । प्रारम्भिक सत्रमा प्रविष्ट भएको मूल्य कार्यान्वयन भएमा त्यसपछिको कारोबार निरन्तर सत्रको नियम बमोजिम २ प्रतिशत घटी वा बढी प्रणालीमा जान्छ । प्रारम्भिक सत्रमा प्रविष्ट आदेश कार्यान्वयन नभएमा वा सो समयमा कारोबारका लागि आदेश प्रविष्ट नभएका धितोपत्रको कारोबारका लागि निरन्तर सत्रमा मूल्य प्रविष्ट गर्दा अगिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी सीमामा रहेर प्रविष्ट गर्नुपर्छ । कुनै धितोपत्रको कारोबार लगातार १५ दिनसम्म नभएमा त्यसपछि हुने पहिलो कारोबारका लागि नेप्सेले मूल्य परिवर्तनको सीमालाई खुला गर्न सक्नेछ ।

धितोपत्रको सूचीकरण पश्चात् हुने पहिलो कारोबारका लागि आदेशको प्रविष्टि गर्दा उल्लेख हुने मूल्यको सीमा नेप्सेले समय-समयमा तोक्न सक्नेछ ।

सर्किट ब्रेकर 

एक्सचेञ्जले कारोबार शुरू भएको निश्चित समयभित्र सूचकमा हुने बढोत्तरी वा गिरावट नियन्त्रण गर्न सर्किट ब्रेकर लगाएर कारोबारलाई अस्थायी स्थगन गर्न सक्छ । निरन्तर सत्रको कारोबार शुरू भएको (क) १ घण्टाभित्र नेप्से परिसूचक ३ प्रतिशतले घटे वा बढेमा १५ मिनेट, (ख) २ घण्टाभित्र ४ प्रतिशतले घटे वा बढेमा ३० मिनेट र (ग) कुनै पनि समयमा ५ प्रतिशत घटे वा बढेमा पूरै दिनको कारोबार स्थगन हुन्छ । प्रारम्भिक सत्रको कारोबारमा कायम भएको मूल्यमा १० प्रतिशत घटी वा बढी हुने गरी कारोबार हुने छैन । सर्किट ब्रेकर सम्बन्धी व्यवस्था नेप्सेले समय-समयमा परिवर्तन गर्न सक्नेछ ।

केही अस्पष्टता र सुझाव 

१. जानाजान अडलटबनाई कारोबार गर्नेलाई के गर्ने भन्ने सम्बन्धमा केही उल्लेख नभएकाले यस्ता कारोबारीलाई नगद जरीवानाको व्यवस्था गर्नुपर्छ ।

२. दलालले ग्राहकसँग कारोबार सम्झौता गर्नुपर्ने भन्ने गोश्वारा व्यवस्थाको सट्टा अनुसूचीमा सम्झौताको फाराम नमूना राखिदिएमा एकरूपता कायम हुन्छ ।

३. कारोबार विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दा कारोबार नं., क्रेता र विक्रेता दलाल उल्लेख हुँदा कारोबारीको गोप्यता भङ्ग हुने भएकाले कित्ता, कम्पनी र दर मात्र उल्लेख गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।

४. सूचीकरण विनियम अनुसार बीतथा जीजेडवर्गमा वर्गीकृत कम्पनीको लागि दैनिक मूल्य परिवर्तन सीमा क्रमशः १० तथा ५ प्रतिशत कायम गर्नु उपयुक्त हुन्छ । प्रारम्भिक सत्रमा पनि बीवर्गका कम्पनीका लागि ५ र जीजेडवर्गका कम्पनीका लागि २ प्रतिशत घटी वा बढी मूल्यसीमा कायम गर्नु उपयुक्त हुन्छ ।

५. अन्तर दिन कारोबार (इण्ट्रा डे) को सन्दर्भमा विनियम मौन रहेकाले यससम्बन्धी व्यवस्था उल्लेख हुनु जरुरी छ ।

६. अनुसूची २ मा दस्तुर, शुल्क, कर आदिमा सदस्य कमिशनलाई विभाजित गरी नेप्सेले लिने २० प्रतिशतलाई छुट्टै देखाउनु आवश्यक छ । क्रमसमेत नमिलेकाले निम्न बमोजिम गर्नुपर्ने देखिन्छ । शेयरको मूल्य, दलाल कमिशन (यसको लगत्तै तलपट्टि नेप्से दस्तुर २० प्रतिशत बापत हुने रकम घटाएर खुद कमिशन भन्ने देखाउनुपर्ने), बोर्ड शुल्क, डीपी शुल्क, पूँजीगत लाभकर र जम्मा प्राप्त र बुझाउनुपर्ने रकम उल्लेख गर्ने व्यवस्था गरिनुपर्छ ।

आर्थिक अभियान दैनिक, आश्विन ८ गते  
http://www.abhiyan.com.np/?p=280892



No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...