आफ्नो हक नपुग्ने अर्काको हक, स्वामित्व र भोगमा रहेको चल-अचल सम्पत्ति अनेक प्रपन्च रचि सम्बन्धित
पक्षको हक मेटाई लिने कार्यलाई ठगी भनिन्छ | शेयरबजारमा ठगी
गर्न अनेक प्रकारका जालसाजी, धोकाधडी वा अन्य प्रपन्च
अपनाइएको देखिएको छ | शेयरबाट अत्याधिक कमाइ गर्ने इच्छा,
चाहना र महत्वाकांक्षी स्वभावले ठगीजन्य अपराध गर्न प्रोत्साहन
मिलेको छ |
नेपोलियन मारिए !
सन् १८१४ फ्रेबुअरी २१ तारिख सोमबारको दिन बिहान लण्डन स्टक
एक्सचेन्जमा नेपोलियन मारिएको झुटो समाचार फैलाएर गरिएको धोकाधडीलाई अहिले पनि
स्टक एक्सचेन्जको इतिहासमा ठूलो धोकाधडी मानिन्छ | नेपोलियन मारिएको समाचारले बढेको शेयरको भाउ वास्तविक समाचार आउनासाथ
तुरुन्तै पुरानै स्थितिमा फर्किएको थियो | छानविनको क्रममा
सोमबार बेचिएका अधिकाँश शेयर अगिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो | घटनामा सांसद एवम विख्यात नौसेना लर्ड थोमस कोच्रेन, उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका
वित्तीय सल्लाहकार रिचर्ड वट सामेल
भएको पाइयो |
समाचारबाट जालसाजी
उठेदेखि नसुतेसम्म जीवनशैली सूचना प्रणालीसँग जोडिएको हुन्छ
| पत्रिकामा सत्यतथ्य छापिन्छ
भन्ने विश्वास गरिन्छ | पत्रकारलाई राज्यको चौथो अंगको सम्मान
छ | जीवनशैलीको अभिन्न अंग बनेको पत्रिका पनि आफू लाभ लिन वा
अरुलाई लाभ दिलाउन बदनियतसाथ समाचार सम्प्रेषण गरिदिन्छन | अहिले
ब्रोडशिट भन्दा अनलाइन पत्रिका बढी पढिने सूचनाको माध्यम बनेको छ | धेरै पढिने माध्यम भएकोले जालसाजी गर्ने राम्रो आधार बनेको छ | गभर्नरले आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति बाचन नसक्दै एउटा अनलाइन पत्रिकाले मार्जिन प्रकारको
कर्जामा जाने कर्जाको दर १ सय ८० दिनमा कायम औसत मूल्यको ५० प्रतिशतबाट ४०
प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गर्यो | गभर्नरले
बाचन गरेको नीतिमा प्राथमिक पूँजीको ४० प्रतिशत मार्जिन प्रकारको कर्जा प्रवाह
गर्न पाइने भन्ने बाक्य थियो | समाचार पढेपछि कर्जा घट्ने
चिन्ताले शेयर कर्जा लिएर लगानी गरेकाले धमाधम बेचे | यो
घटना नेपोलियन मरे भनेर गरिएको प्रचारसँग हुबहु दाँज्न सकिन्छ |
मार्केट गुरु, शेयर गुरु, बजार गुरु......
फेसबुकमा शेयरसम्बन्धि छलफल गर्ने भनेर खोलिएका समुह र
सहभागी हुनेको संख्या बढेको छ | फेसबुकमा दर्ता हुन नाम, ठेगाना, तस्विर लगायत कुनै पनि वास्तविक विवरण नचाहिने भएकोले जालसाजी गर्नेको
लागि ‘बाँदरलाई लिस्नु’ बनेको छ |
एकै व्यक्तिले बिभिन्न छद्म नाम राखेर दर्जनौं खाता खोलेर आफैँ
लेख्दै आफ्नो अर्को खाताबाट टिप्पणी गर्दै जालसाजी गर्न सहज बनेको छ | छद्म नामयुक्त व्यक्तिको निहित उद्देश्य जालसाजी र धोकाधडी बाहेक अरु केहि
हैन | यस्ता छद्मभेषी मार्केट गुरु, शेयर
गुरु, बजार गुरु बन्दै ‘साना
लगानीकर्ता’ को हित संरक्षण भन्दै तिनै साना भनिएकालाई ‘चोपल्दै निचोर्दै’ गर्ने गरेका छन् | अब यसको र त्यसको बढ्ने पालो भन्दै भ्रम पनि यिनै छर्छन | बंगलादेशमा यस्तै खालका दुष्प्रचार गर्ने १ सयवटा फेसबुक पृष्ठ बन्द गर्न
बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले बंगलादेश टेलिकम रेगुलेटरी कमिसनलाई
पत्रचार गरिसकेको छ |
छलफलको निचोड र आमाको सल्लाह
छलफलको निचोडको आधारमा अमुक कम्पनीका अमुक कित्ता शेयर भोलि
नै किन्ने निर्णय गरेको भन्दै घुमाउरो पाराले गरिएको प्रचार जालसाजीको नौलो स्वरूप
हो | नयाँ स्वरूप
अपनाउने क्रममा सबैभन्दा सम्मानित साइनो ‘आमा’ लाई पनि जालसाजीमा सामेल गराइसकेका छन् | प्रिय र
आत्मीययुक्त सम्बन्ध ‘आमा’ ले भनेको
अमुक कम्पनीको शेयर किनेर यति नाफा भो भन्दै गरिएको प्रचारमा नकरात्मक सोच्ने ठाउँ
नै हुन्न | लगानीकर्ताको मनोविज्ञान पनि ‘आमा’ ले भनेको कम्पनी किनेर पो फाइदा हुने रहेछ भनेर
त्यतापट्टी ओइरिन्छ | एउटी आमा थाहै नपाई छोराछोरीले गर्ने जालसाजीको
मतियार बन्छिन अर्की आमाका छोराछोरी सम्पत्ति गुमाउँछन |
तालिम र प्राविधिक विश्लेषण
हरेक विषयको आधारभूत र सैद्धान्तिक पक्ष हुन्छ | यस्ता विषय नबुझेसम्म त्यसको व्यवहारिक
पक्ष बुझ्न सकिन्न | शेयर र शेयरबजारको सैद्धान्तिक पक्षको
कुरै नगर्ने र रेखा तानेर तल माथि देखाउँदै यो र त्यो ‘सपोर्ट’
लेभल भन्ने प्रशिक्षक र प्राविधिक विश्लेषक छन् | १/२ घण्टे गफलाई तालिमको संज्ञा दिने यस्ता अर्धज्ञानीको उद्देश्य जालसाजी
बाहेक अरु केहि हुन्न | कुनै पनि तालिम र अभिमुखीकरण कम्तिमा
क्रमशः १५ र ५ घण्टाको हुनुपर्छ | शेयर लगानी प्रतिफलमा
आधारित भएकोले प्राविधिक विश्लेषणको औचित्य छैन |
त्यस्तै, नाफा जति संस्थापकले खाएर साधारण शेयरधनीलाई थोरै नाफा दिन्छन भन्ने अफवाह
फैलाउने जालसाजीको अर्को रुप पनि देखिएको छ |
मुलुकी र धितोपत्र ऐन
माथि उल्लेखित समस्त गतिविधि मुलुकी ऐन, ठगीको महल तथा धितोपत्र सम्बन्धि ऐन
विपरितका कार्य हुन् | ठगीको महल १ नं. मा आफ्नो हक नपुग्ने
सम्पत्ति माथि अनधिकृत कब्जा जमाउन अनेक प्रपन्च रच्नु, झूटो
कुरालाई सद्दे हो भन्नु र अरु जुनसुकै तवरले झुक्याउनु ठगी हो | त्यस्तै २ नं. मा नाउँ ढाट्नु, अर्कै हो भन्नु,
म होइन भन्नु, अर्कोको नाउँलाई मेरो हो भन्दै
बेइमानीका नियतसँग अरू कसैलाई धोका, गफलत वा झुक्यानमा पारी अर्काको नोक्सान वा आफनो फाइदा हुने काम गर्नु ठगी हो |
धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९८ अनुसार ‘कसैले कसैसँग धितोपत्र खरिद-बिक्री वा
विनिमय गर्ने उद्देश्य लिई (क) कसैलाई झुक्याउन कुनै
प्रविधि, योजना
वा काम गरेमा, झुक्यानमा
पारी कुनै काम गराएमा वा काममा लगाएमा’ जालसाजी गरेको मानिने व्यवस्था छ |
ठगीमा सजाय
मुलुकी ऐनमा ठगीको विगो कायम भएमा विगो भराई दिने र विगो
कायम नभएमा ५ हजार जरिवाना र ५ वर्ष कैद हुन्छ | धितोपत्र कानुनमा जालसाजी गर्नेलाई १ लाखदेखि ३
लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ र त्यस्तो
कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो
हानि नोक्सानी समेत भराई दिनुपर्छ ।
न्यायधिकरणको आवश्यकता
धितोपत्र सम्बन्धि ठगीको लागि गरिने जालसाजीको स्वरूप
बदलिंदै गएको र सुनुवाई पनि विशेष प्रकारले गर्नुपर्ने भएकोले धितोपत्र सम्बन्धि
कसुरको मुद्दा हेर्न छुट्टै ‘धितोपत्र न्यायधिकरण’ को आवश्यकता परिसकेको छ |
वर्तमान धितोपत्र कानुनले धितोपत्र सम्बन्धि कसुरको सुनुवाई जिल्ला
अदालतले गर्ने व्यवस्था गरेको छ | विशेष प्रकृतिको मुद्दा
भएकोले यस्ता मुद्दा नियमित अदालतको सट्टा विशेष किसिमको अदालतबाट किनारा लगाउँदा
प्रभावकारी हुने भएकोले धितोपत्र न्यायाधिकरणको टड्कारो आवश्यकता छ |
भारतमा ‘सेक्युरिटीज अपिलियट ट्राबुनल’, बंगलादेशमा ‘क्यापिटल मार्केट ट्राइबुनल’ र नाइजेरियामा ‘इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज ट्राइबुनल’ स्थापना
भैसकेका छन् | बंगलादेशी ट्राइबुनलले सन् १९९६ र सन् २०१०/११
मा शेयरबजारमा घटेका घटनाको सुनुवाई गर्ने क्षेत्राधिकार पाएको छ | यसअघी ढाका मजिष्ट्रेटले यसको क्षेत्राधिकार ग्रहण गरेको थियो |
बंगलादेशी ट्राइबुनलले महबुव सरवर नामक एक व्यक्तिलाई ब्लग र वेवसाइट मार्फत मूल्य हेरफेर गर्न
प्रभाव परेको भन्दै दुई वर्षको जेल सजाय सुनाएको थियो | सरवरले
फेसबुकमा १० वटा पृष्ठ चलाउने गरेका थिए |