Friday, July 26, 2024

बाईब्याकसम्बन्धी कानूनी व्यवस्था

कार्यान्वयनमा किन अलमल

इनिसियल पब्लिक अफरिंग (आइपिओ) को ठिक विपरित ब्याईब्याक हो l कम्पनीको पुँजी (शेयर क्यापिटल) कम्पनीको लागि ऋण जस्तै हो l ऋण निश्चित अवधिको लागि दिइन्छ र यसमा वार्षिक कति ब्याज पाउने/नपाउने शुरुमै उल्लेख हुन्छ l ऋणमा जस्तो शेयर पुँजीमा ब्याज र फिर्ता गर्ने कुनै अवधि तोकिएको हुन्न l शेयरधनीले कम्पनीलाई दिएको पूँजी (शेयर क्यापिटल वा शेयर) कम्पनीले लगानी गरि हरेक वर्ष जति पनि प्रतिफल दिनसक्छन् वा वर्षौसम्म केही नदिन पनि सक्छन l पुँजीबापत प्राप्त हुने प्रतिफललाई लाभांश भनिन्छ l यस्तो पुँजी शेयरधनीलाई नै फिर्ता दिनसक्छन l कर्पोरेट भाषामा यसलाई ‘बाईब्याक’ वा ‘आफ्नो शेयर आफैँ किन्ने’ भनिन्छ l नेपाल कानुनमा यससम्बन्धी पर्याप्त व्यवस्था भए पनि सूचीकृत कम्पनीले यसको उपयोग गरेका छैनन् l भारतलगायत देशका लागि यस्तो कार्य सामान्य हो l

बाईब्याकको तालुकी कानुन

कम्पनी सञ्चालन र प्रशासनको तालुकी कानुन कम्पनी ऐन, २०६३ हो l बाईब्याक वा आफ्नो शेयर आफैँ किन्ने विषय पनि कम्पनी सञ्चालन र प्रशासनकै एक अङ्ग भएकोले यसको पनि तालुकी कानुन कम्पनी ऐन, २०६३ नै हो l कम्पनी ऐन, २०६३ ले बाईब्याक सम्बन्धमा व्यवस्था गरेको छ l ऐनको दफा ६१ मा कम्पनीले बाईब्याक गर्न वा जमानत राखी ऋण दिनु हुँदैन भनेको छ l तर, दफा ६१(२) मा दफा ६१(१) मा जेसुकै लेखिएको भए तापनि लाभांशको रुपमा वितरण हुनसक्ने सञ्चित मुनाफाको रकमबाट बाईब्याक गर्नसक्ने व्यवस्था गरेको छ l यस्तो निर्णय गरेपछि त्यसको जानकारी कम्पनी रजिष्ट्रार कार्यालयलाई गराउनुपर्छ l दफा ६१(२) अनुसार (१) कम्पनीले जारी गरेको शेयरको सम्पूर्ण रकम चुक्ता भईसकेको अर्थात जारी पुँजी चुक्ता भएको, (२) पब्लिक कम्पनीले जारी गरेको शेयर धितोपत्र बोर्डमा दर्ता भईसकेको (सम्भवत भन्न खोजिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भईसकेको), (३) कम्पनीको नियमावलीमा बाईब्याक गर्नसक्ने व्यवस्था भएको, (४) कम्पनीको साधारण सभामा बाईब्याक गर्ने विशेष प्रस्ताव पारित गरेको, (५) कम्पनीले चुक्ता गर्नुपर्ने ऋण रकम कम्पनीले आफ्नो शेयर आफैँले खरिद गरिसकेपछि पुँजी तथा साधारण जगेडा कोषको रकमको अनुपातमा दोब्बरभन्दा बढी नहुने भए, (‘ऋण रकम’ को प्रयोजनका लागि कम्पनीले लिएको सुरक्षित तथा असुरक्षित सम्पूर्ण ऋण रकम पर्छ) (६) कम्पनीले बाईब्याक गर्ने शेयरको रकम कम्पनीको कुल चुक्ता पुँजी तथा साधारण जगेडा कोषको रकमको २० प्रतिशतभन्दा बढी नहुने भए, (७) कम्पनी रजिष्ट्रार कार्यालयले बाईब्याक सम्बन्धमा समय-समयमा जारी गरेको निर्देशन प्रतिकूल नहुने भए बाईब्याक गर्नसक्छन l

बाईब्याकको कार्यविधि

अघिल्लो अनुच्छेदमा उल्लेखित शर्त नम्बर ४ अनुसार कम्पनीको साधारण सभामा पेश गरिने विशेष प्रस्तावमा (१) आफ्नो शेयर आफैँ खरिद गर्नुपर्ने कारण र आवश्यकता, (२) आफ्नो शेयर आफैँ खरिद गरेको कारणबाट सम्बन्धित कम्पनीको आर्थिक स्थितिमा पर्नसक्ने सम्भावित प्रभाव मूल्यांकनको विवरण, (३) खरिद गर्न प्रस्ताव गरिएको शेयरको किसिम र सोको सङ्ख्या, (४) बुँदा ३ बमोजिमको शेयर खरिद गर्न लाग्ने अधिकतम वा न्यूनतम रकम र सोको वित्तीय स्रोत, (५) खरिद गर्न लाग्ने समयावधि, (६) खरिद गर्ने तरिका, (७) आफ्नो शेयर आफैँ खरिद गर्ने सम्बन्धमा कम्पनी रजिष्ट्रार कार्यालयले तोकेको तथा प्रचलित कानूनबमोजिम खुलाउनुपर्ने अन्य आवश्यक कुरा उल्लेख गर्नुपर्छ l

साधारण सभामा आफ्नो शेयर आफैँ किन्ने प्रस्ताव पारित भएपछि सो प्रस्ताव पारित भएको १२ महिनाभित्र सो कार्य सम्पन्न गरिसक्नुपर्छ l आफ्नो शेयर आफैँ फिर्ता लिँदा वा बाईब्याक गर्दा (१) धितोपत्र बजारमार्फत खरिद गरेर, (२) कम्पनीका कर्मचारीलाई छुट्याइएको शेयर सम्बन्धित कर्मचारीबाट खरिद गरेर, (३) तत्काल कायम रहेका शेयरधनीबाट समानुपातिकरुपमा खरिद गर्न सक्छन l यसरी कम्पनीले शेयर बाईब्याक गरेमा त्यस्तो शेयर खरिद गरेको मितिले ३० दिनभित्र आफूले खरिद गरेको शेयर सङ्ख्या, सोबापत भुक्तानी भएको रकम र अन्य आवश्यक विवरण कम्पनी रजिष्ट्रार कार्यालयलाई जानकारी गराउनुपर्छ l कम्पनीले शेयर बाईब्याक गरेपछि खरिद गरेको शेयर सङ्ख्याको अङ्कित मूल्य बराबरको रकम छुट्टै पुँजी फिर्ता जगेडा कोष खडा गरी सो कोषमा दाखिला गर्नुपर्छ र यस्तो रकमलाई चुक्ता पुँजीसरह कायम राख्नुपर्छ । कम्पनीले बाईब्याक गरेकोमा आफूले खरिद गरे जति शेयर त्यसरी खरिद गरेको मितिले १ सय २० दिनभित्र रद्द गरी सक्नुपर्छ l यसरी कम्पनीले कुनै वर्गका शेयर खरिद (बाईब्याक) गरिसकेपछि बोनस शेयर जारी गर्ने वा आफ्नो दायित्व चुक्ता गर्नबाहेक दुई वर्ष नभई पुनः सोही वर्गको शेयर जारी गर्न पाइँदैन l बाईब्याक गर्दा पब्लिक कम्पनीले कायम गर्नुपर्ने न्यूनतम शेयरधनीको सङ्ख्या कम हुने वा न्यूनतम चुक्ता पुँजीभन्दा कम हुने गरी बाईब्याक गर्न पाइँदैन l

यहाँसम्म उल्लेखित व्यवस्था समस्त कम्पनीको हकमा लागु हुन्छ l यी व्यवस्था मुलभूत हुन् l यसैलाई आधारविन्दु मानेर विषयगत क्षेत्रका निकायले केही शर्त थप गर्नसक्छन l जस्तो बैंक तथा वित्तीय संस्थाले आफ्नो शेयर आफैँले खरिद गर्दा के के गर्नुपर्छ भनेर बैंक तथा वित्तीय संस्था ऐन, २०६३ (बाफिया) मा उल्लेख गरिएको छ l

बाफियामा बाईब्याक

बैंक तथा वित्तीय संस्था पनि कम्पनी नै भएको हुँदा यस्ता निकायले पनि बाईब्याक गर्नसक्छन l तर, नेपालमा अहिलेसम्म यस्तो अभ्यास भएको छैन l  बैंक तथा वित्तीय संस्था ऐन, २०६३ को दफा १३(१) मा कम्पनी ऐनमा जस्तै बैंक वा वित्तीय संस्थाले बाईब्याक गर्न वा जमानत राखी कर्जा दिन हुँदैन भनेको छ l सोही दफा १३(२) मा राष्ट्र बैंकको स्वीकृति लिई बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको प्रतिशतमा नबढ्ने गरी लाभांशको रुपमा वितरण हुनसक्ने सञ्चित नाफाको रकमबाट बाईब्याक गर्नसक्नेछ भनेको छ l यहाँ ‘तोकेको प्रतिशत’ भन्ने वाक्यांशले राष्ट्र बैंकमा बाईब्याकको स्वीकृति लिन आवेदन गर्दा राष्ट्र बैंकले स्वीकृति दिँदा तोक्ने प्रतिशत हो भन्ने बुझ्न सकिन्छ l 

दफा १३(२) अनुसार (१) बैंक वा वित्तीय संस्थाले जारी गरेको शेयरको सम्पूर्ण रकम भुक्तानी भई सकेको भए, (२) बैंक वा वित्तीय संस्थाले जारी गरेको शेयर धितोपत्र बजार (नेपाल स्टक एक्सचेञ्ज लिमिटेड) मा सूचीकृत भई सकेको भए, (३) नियमावलीमा बाईब्याक गर्नसक्ने व्यवस्था भए,  (४) साधारण सभामा विशेष प्रस्ताव पारित भएको भए, (५) बैंक वा वित्तीय संस्थाले चुक्ता गर्नुपर्ने ऋण रकम बैंक वा वित्तीय संस्थाले बाईब्याक गरी सकेपछि पूँजी तथा साधारण जगेडा कोषको रकमको अनुपातमा दोब्बरभन्दा बढी नहुने भए (ऋण रकम’ को प्रयोजनका लागि कम्पनीले लिएको सुरक्षित तथा असुरक्षित सम्पूर्ण ऋण रकम पर्छ), (६) बैंक वा वित्तीय संस्थाले बाईब्याक गर्ने रकम कुल चुक्ता पूँजी तथा साधारण जगेडा कोषको रकमको २० प्रतिशतभन्दा बढी नहुने भए, (७) बाईब्याक गर्दा राष्ट्र बैंकबाट जारी पूँजी कोषसम्बन्धी निर्देशनको पालना हुने भए, (८) बाईब्याक गर्ने सम्बन्धमा राष्ट्र बैंकले समय-समयमा जारी गरेको निर्देशन प्रतिकूल नहुने भए बाईब्याक गर्न सक्छन l यी व्यवस्थामा कम्पनी ऐनले तोकेकोभन्दा फरक विषयको रुपमा ८ नं. बुँदा मात्र परेको छ l यसो हुनुको कारण विषयगत कुराले फरक पारेको हो l

 बाफियामा किन्ने विधि र अवधि र तरिका

कम्पनी ऐनले गरेको व्यवस्थाको प्रतिकूल नहुने गरि बाफियाको दफ़ १३(३) मा बैंक वा वित्तीय संस्थाले आफ्नो शेयर आफै खरिद गर्ने स्वीकृतिका लागि (१) आफ्नो शेयर आफैँले खरिद गर्नुपर्ने कारण, आवश्यकता, समयावधि र तरिका, (२) आफ्नो शेयर आफैँले खरिद गरेको कारणबाट बैंक वा वित्तीय संस्थाको वित्तीय स्थितिमा पर्नसक्ने सम्भावित प्रभाव मूल्याङ्कनको विवरण,  (३) खरिद गर्न प्रस्ताव गरिएको शेयरको किसिम, शेयरको प्रति कित्ता मूल्य र शेयर सङ्ख्या, (४) शेयर खरिद गर्न लाग्ने अधिकतम वा न्यूनतम रकम र सोको स्रोत, (५) आफ्नो शेयर आफैँले खरिद गर्ने सम्बन्धमा राष्ट्र बैंकले तोकेको अन्य विवरण, (६) प्रचलित कानून बमोजिम खुलाउनुपर्ने अन्य आवश्यक विवरण खोली नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्छ l यसरी निवेदन आएपछि राष्ट्र बैंकले स्वीकृति दिन उपयुक्त हुने देखेमा स्वीकृति दिनसक्नेछ ।

दफा १३(५) मा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि त्यस्तो स्वीकृति प्राप्त गरेको मितिले छ महिना वा साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेको १२ महिनामध्ये जुन पछिल्लो हुन्छ सो अवधिभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले, (क) धितोपत्र बजारमार्फत खरिद गरेर, (ख) तत्काल कायम रहेको शेयरधनीबाट समानुपातिक रुपमा खरिद गर्नसक्छ l यसरी आफ्नो शेयर आफैले खरिद गर्ने कार्य सम्पन्न भएपछि ३० दिनभित्र आफूले खरिद गरेको शेयर सङ्ख्या, सो बापत भुक्तानी रकम र अन्य आवश्यक विवरणको जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने हुन्छ l यसरी आफ्नो शेयर आफैले खरिद गर्ने कार्य सम्पन्न भएपछि आफैँले खरिद गरेको अङ्कित मूल्य बराबरको रकम चुक्ता पूँजीबाट घटाई छुट्टै पूँजी फिर्ता जगेडा कोष खडा गरी सो कोषमा दाखिला गर्नु पर्नेछ र सो कोषको रकमलाई चुक्ता पूँजीसरह कायम राख्नुपर्ने व्यवस्था छ l बैंक वा वित्तीय संस्थाले आफ्नो शेयर आफैँले खरिद गरेकोमा आफूले खरिद गरे जति शेयर त्यसरी खरिद गरेको मितिले १ सय २० दिनभित्र रद्द गरिसक्नुपर्ने हुन्छ l

शुरुआत दशमलवबाट

नेपालमा बाईब्याकको अभ्यास भएको छैन l यसप्रति कम्पनीको उदासीनता अचम्मलाग्दो छ l बारम्बार ‘पुँजी नै पुगेन’ भन्ने नेपालका कम्पनी सञ्चालक र व्यवस्थापकले बाईब्याक गरेर पुँजी घटाउने कार्य गर्लान भनेर परिकल्पना गर्नु बेकार हुन्छ l बाईब्याकको लागि वित्तीय स्रोतकै कुरा गर्दा नेपालका एकादुई कम्पनीबाहेक अधिकाँश कम्पनीसँग सञ्चित जगेडा शून्य अवस्थामा छ l बाईब्याकको वित्तीय स्रोत नै शून्य अवस्थामा रहेकोले यस्तो परिकल्पना गर्न सकिने कुरै भएन l ठूलो परिमाणमा बाईब्याक गर्न नसकिए पनि अति सानो सङ्ख्यामा छरिएर रहेका शेयर (अनइकोनोमिक युनिट) हटाउन यस्तो अभ्यास गर्न सकिन्छ l एक कित्ताभन्दा कम दशमलवमा रहेका शेयरको सङ्ख्या अधिक छ l नेपालमा वर्षैपिच्छे बोनस जारी गर्ने प्रवृति भएकोले यस्ता खण्डित शेयर निमिट्यान्न हुने सम्भावना देखिन्न l यद्यपी कुनै कम्पनीले अबको पाँच वर्षसम्म वा बोनस शेयर नै जारी नगर्ने मनसाय राखेका छन् भने त्यस्ता कम्पनीले यस्तो अभ्यास गर्नु उत्तम हुनेछ l नेपालमा सञ्चित जगेडा कोषबाट मात्र बाईब्याक गर्न सकिने हुँदा कुनै पनि विधिले प्राप्त प्रिमियमबापतको रकमबाट पनि बाईब्याक गर्न मिल्ने व्यवस्था थप हुनुपर्ने देखिन्छ l भारतमा कुनै पनि तरहले प्राप्त प्रिमियम रकमबाट पनि बाईब्याक गर्न सकिन्छ l त्यस्तै, ऋणपत्र वा अग्राधिकार शेयर फिर्ता जगेडा कोषबाट पनि बाईब्याक गर्न मिल्ने बनाउनु आवश्यक छ l

 

 आभियान दैनिक २०८१ साउन ७ गते 

https://www.abhiyandaily.com/article/baaiibyaaksmbndhii-kaanuunii-vyvsthaa-kaaryaanvynmaa-kin-alml

 

 

No comments:

सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...