Tuesday, March 2, 2021

बेपत्ता कम्पनीको अर्थशास्त्र

शेयरधनीको अरबौं रकम बेहिसाब  

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको संख्या बढ्दै गर्दा सूचीकरणबाट हराउने र बेपत्ता हुने कम्पनीको चासो लिएको देखिन्न l शेयर र शेयरबजार सुतिसुति पैसा कमाउने ठाउँ हो भनिरहँदा यसैबाट गुमाउनेको पाटो भने संधै ओझेलमा परेको छ l तुलनात्मकरुपमा शेयर लगानी (प्राथमिक) केही हदसम्म सुरक्षित मान्न सकिए पनि शेयरबजार उच्च जोखिमको क्षेत्र हो l शेयरको प्राथमिक बजार खुल्दा यसमा परेको आवेदन हेर्दा अत्याधिक मानिसको रुचिको क्षेत्र बनेको हो कि जस्तो देखिन्छ l प्रथामिक बजारमा मात्र लगानी गर्ने तुलनात्मकरुपमा कम जोखिममा पर्छन l एक व्यक्तिको हिसाबले कम्पनी खारेजीमा जाँदा वा बेपत्ता हुँदा खासै ठूलो रकम खेर जाँदैन तर, एकएक जोड्दै जाँदा भने त्यहाँ ठूलो रकम गुमेको भेटिन्छ l नेप्सेमा अहिले पनि सूचीकरणमै देखिएका तर, कुनै खबर नभएका कम्पनीमा लगानीकर्ताको अरवौं रुपैयाँ फसेको छ l

नेपालमा कम्पनी तथ्यांक 

नेपालको कम्पनी प्रशासकीय अड्डा कम्पनी रजिष्ट्रार कार्यालयले अहिलेसम्म पनि कस्तो अवस्थालाई बेपत्ता कम्पनी मान्ने कुनै व्यवस्था गरेको छैन नेपालमा अहिलेसम्म प्राइभेट, पब्लिक र नाफा वितरण नगर्ने गरी २ लाख ३७ हजार ९ सय २० वटा कम्पनी दर्ता भएका छन् l कुल चुक्ता पूँजी २० खर्व ३२ अर्व ७९ करोड ९५ लाख ३७ हजार ३२ रुपैयाँ लगानी गर्ने शेयरधनीको संख्या कति छ सार्वजनिक गरेको पाइन्न l सीडीएस एण्ड क्लियरिंग कम्पनी लिमिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म २७ लाखभन्दा बढीले हिताग्राही खाता खोलेका छन् l यसमा बहुखाता धारक औसतमा डेढी मान्ने हो भने १८ लाखभन्दा बढी शेयरधनी रहेको मान्नुपर्छ l रजिष्ट्रार कार्यालयले सार्वजनिक गरेको कम्पनीको विवरणमा पब्लिक र प्राइभेट मात्र छुट्टयाएको छ l सूचीकृत पब्लिक कम्पनीको बारेमा रजिष्ट्रार कार्यालयलाई थाहा नभए झैँ देखिएको छ l अझ यसमा (पब्लिक र प्राइभेट) कति कम्पनी सम्पर्कविहिन छन् भन्ने विवरण कतै देखिन्न

नेपालमा बेपत्ता कम्पनी

नेपालबाट पनि कयौं कम्पनी बेपत्ता भएका छन् l धितोपत्र कारोबार ऐन, २०४० आएपछि सूचीकरण भएका नेपाल बैंक लिमिटेड, राष्ट्रिय विमा संस्थान (हाल राष्ट्रिय बिमा कम्पनी), नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौं पाउरोटी लिमिटेड र पोखरा पाउरोटी लिमिटेडमध्ये २ वटै पाउरोटी कम्पनी कहिले हराए पत्तो छैन l यी २ वटा पाउरोटी कम्पनी सूचीकरणबाट हराउने सम्भवत पहिलो कम्पनी हुनसक्छ l त्यसपछिका समयमा पनि लगातार जस्तो सूचीकृत कम्पनी हराईरहेका छन् l नेप्सेमा सूचीकरण भएर बेपत्ता भएका कम्पनीको संख्या कति भन्ने तथ्यांक नेप्से र धितोपत्र बोर्डले कतै पनि अभिलेख राखेको जस्तो देखिन्न l पछिल्लो समयमा पनि नेप्सेमा सूचीकरणमा देखिएर कारोबार नहुने कम्पनीको संख्या २० वटा छ l यसमा उत्पादन तथा प्रशोधन, वित्त र व्यापार समुहमा सूचीकृत क्रमशः १३, ३ र २ वटा कम्पनी रहेका छन् l होटल र अन्य समूहका १/१ वटा कम्पनी पनि बेपत्ता भएका छन् l केही वित्त कम्पनी भने खारेजीको प्रक्रियामा रहेका छन् l क्यापिटल मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स एक्लैले ९३ करोड रुपैयाँ बन्धक बनाएको छ

भारतमा बेपत्ताको स्थिति 

कम्पनी दर्तापश्चात शेयरधनीको रकम लिएर बेपत्ता हुने वा खारेज हुने क्रम नेपालमा मात्र हैन संसारभर छ l २३ जुलाई २०११ मा द हिन्दु अंग्रेजी दैनिक पत्रिकाको अनलाइन संस्करणमा विगत १० वर्षमा भारतीय शेयरबजारबाट २ हजार ८ सय वटा कम्पनी बेपत्ता भएको समाचार छापेको थियो l उक्त समाचारमा सोही अवधीमा बीएसई (बम्बे स्टक एक्सचेन्ज) मा ७ सय ८६ वटा कम्पनी सूचीकरण भएको उल्लेख गरेको थियो l भारतमा हालसम्म झन्डै ५ हजार वटा कम्पनी खरवभन्दा बढी रुपैयाँ उठाएर भागेका छन् l यसरी कम्पनीले पैसा उठाउँदै भाग्दै गरेपछि सन् २००० मा अलाहवाद उच्च अदालतले भारतीय प्रतिभूति तथा विनियम बोर्ड (सेबी) समेत विरुद्धको सार्वजनिक सरोकारको विषयमा सुनुवाई गर्दै बेपत्ता कम्पनीबाट शेयरधनीले एक पैसा पनि फिर्ता नपाएको हुँदा सरकारलाई सेबीसहितको संलग्नतामा संयुक्त समन्वय तथा अनुगमन समिति गठन गरी बेपत्ता कम्पनीको खोजी गर्न आदेश दिएको थियो l सेबीसहितको सरकारी समितिसँगै संसद्को संयुक्त संसदीय समितिले पनि यो मुद्दा उठायो l सन् २००२ मा संयुक्त समितिले संसदमा पेश गरेको आफ्नो प्रतिवेदनमा सेबी, कम्पनी मामला मन्त्रालय (तत्कालिन डिपार्टमेन्ट अफ कर्पोरेट अफेयर्स), नेशनल कम्पनी ल ट्राईबुनल (तत्कालिन कम्पनी ल बोर्ड) र रिजर्भ बैंक अफ इन्डियालाई बेपत्ता कम्पनीको संचालकको सम्पति सहितको प्रतिवेदन दिन निर्देश गरेको थियो l कम्पनीका अधिकारी पदाधिकारी सम्पर्कमा ल्याएर लगानी गुमाउने कसैले पनि आफ्नो लगानी फिर्ता पाएका छैनन् l

अपर्याप्त खोजी

बेपत्ता कम्पनीको खोजीमा कम्पनी रजिष्ट्रार सूचीकृतको हकमा बोर्ड र बजार संचालक नै बढी जिम्मेवार हुनुपर्नेमा यी कुनै पनि निकायको सक्रिय नदेखिनु दुखद पाटो बनेको छ l बजार संचालकले सूचीकरण सम्झौता अनुपालना नगर्नासाथ यसको खोजी अघि बढाईहाल्नुपर्नेमा कारोबार रोक्का गरेर सम्पूर्ण दायित्व सकिएको ठान्नु नै कम्पनी बेपत्ताको लागि दैलो खोल्नु बनेको छ बजार संचालक (स्टक एक्सचेन्ज) ले सूचीकरण सम्झौता अनुरुपका विवरण नदिएका र नवीकरण शुल्क नबुझाएका कारण कारोबार स्थगन गर्नु नै कम्पनीको लागि बेपत्ता हुन् सघाउ पुर्याउनु हो l कारोबार स्थगन गराउन कम्पनीका संचालकले नियतवश नै कम्पनीलाई घाटामा लैजाने, एक्सचेन्जको शर्त उल्लंघन गर्ने र नियामकीय नियम कानुन उल्लंघन गरेर जानाजान दण्डित हुने गरेको देखिन्छ l नियम उल्लंघन गरेपछि कारोबार रोक्का हुँदा लगानीकर्ता कम्पनी संचालकप्रति भन्दा एक्सचेन्जप्रति आक्रामक बन्दा कम्पनीलाई बेपत्ता हुन लगानीकर्ताले नै सघाएका हुन् कि जस्तो पनि देखिन्छ l बजार संचालक नै सूचीकृत कम्पनीको पहिलो सम्पर्क बिन्दु हुनेहुँदा सबैभन्दा पहिला यसले नै कम्पनी बेपत्ता भएको एफआईआर (जाहेरी दरखास्त) तत् तत् निकाय (बोर्ड र रजिष्ट्रार कार्यालय) लाई दिएर खोजीमा सक्रिय पार्नुपर्ने हुन्छ l कारोबार रोक्का नै समस्या समाधानको अस्त्र हैन l सूचीकरणको लागि अनुमति प्रदायक शेयरबजार नियामकले पनि सूचीकरण सम्झौता पालना नगर्ने कम्पनीका अधिकारी पदाधिकारीलाई नगद जरिवाना लिने पाउने गरी अधिकारसम्पन्न गरेमा केहीहदसम्म कम्पनी अनुशासनमा रहेर बेपत्ता हुने समस्यामा कमि आउनसक्छ l त्यस्तै यसका अतिरिक्त एक्सचेन्जलाई कम्पनीको गतिविधिको निगरानी गर्नेसमेत अधिकार दिनुपर्छ l तर, दुखद कुरा नेपालमा कम्पनी सूचीकरणमा आएर वर्षौं कारोबार हुँदा पनि त्रैमासिक वित्तीय विवरण सार्वजनिक नहुँदा र साधारणसभा समेत नहुँदा पनि एक्सचेन्जले कारोबार रोक्ने आँट गर्न सक्दैन l कारोबार रोक्का गरीहालेमा पनि केही दिनपछि सचेत गराएको पत्र पठाएर स्वागत गर्ने गरेको छ l कारोबार रोक्का भएपछि लगानीकर्ताको जुलुस कम्पनीतर्फ गएको अहिलेसम्म नदेखिनु पनि अर्को दुर्भाग्य नै बनेको छ l

२७ माघ २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/381873

  

No comments:

प्रबन्ध सञ्चालकको अवधारणा

कस्ता व्यक्ति प्रबन्ध सञ्चालक बन्न सक्छन् ? कुनै पनि निकायमा एकजना प्रशासकीय प्रमुख हुन्छन् l यस्तो पदलाई कार्यकारी अध्यक्ष, प्रबन्ध सञ्च...