सालोमनको मुद्दा कोसेढुंगो
कम्पनीमा शेयरधनीको दायित्व सीमित तथा कम्पनी र शेयरधनीको
अलगअलग अस्तित्व हुने कुरालाई संसारभर मान्यता प्राप्त छ । कम्पनीलाई स्वतन्त्र
अस्तित्व र शेयरधनीलाई सीमित दायित्व दिनुको कारण ‘व्यावसायिक सुगमताका’ लागि
हो । (नेपाल कानून पत्रिका २०६८, निर्णय नं. ८८१४) कम्पनीलाई
व्यावसायिक सुगमताका लागि यस्तो सुविधा दिन थालिएको १ शताब्दीभन्दा बढी भएको छ ।
इङल्यान्डको हाउस अफ लर्डले सन् १८९६ मा यसलाई विस्तृतरूपमा व्याख्या गरेको थियो ।
यसभन्दा पहिला पनि सन् १८६७ मा पनि यस्तै प्रकारको मुद्दा सुनुवाइ भएको भए पनि
त्यति विस्तृत थिएन । कम्पनीको मन, मस्तिष्क, ज्ञानेन्द्रिय र कर्मेन्द्रिय नभए पनि एक व्यक्तिसरहको कानूनी
अधिकारप्राप्त छ । कम्पनीले आफ्नो नाममा चलअचल सम्पत्ति किनबेच दुवै गर्न सक्छ ।
त्यस्तै, आफूले उजुर गर्न आफूविरुद्ध उजुर सुन्न पनि सक्छ ।
प्रशासकीय सम्पूर्ण कार्य कम्पनीको नाममा हुन्छ । यसको आफ्नै छुट्टै छाप पनि हुन्छ
।
प्राइभेट र पब्लिकको अस्तित्व
कम्पनी स्वरूपको व्यावसायिक ढाँचा संसारभर प्रचलनमा छ । १ जनादेखि
जति पनि कम्पनीका हितग्राही (शेयरधनी) हुनसक्छन् । शेयरधनीको संख्याको आधारमा
कम्पनीलाई प्राइभेट र पब्लिक गरी दुईओटामा विभक्त गरिएको छ । १ जना व्यक्तिले
मात्र पनि प्राइभेट कम्पनी स्थापना गर्नसक्छ । प्राइभेट कम्पनीमा बढीमा १ सय १
जनासम्म शेयरधनी हुन सक्छन् । तर, यस्ता कम्पनीले
कर्मचारीलाई शेयर बेच्ने योजनाअन्तर्गत कम्पनीका शेयर किनेका कर्मचारी वा त्यस्तो
योजनाअन्तर्गत शेयर किनिसकेका तर तत्काल कम्पनीको सेवामा नरहेका कर्मचारीलाई
शेयरधनीको अधिकतम संख्या निर्धारण नगरिने कानूनी व्यवस्था छ । कम्पनीका शेयरधनीको
दायित्व सीमित हुने सर्वमान्य सिद्धान्त भए पनि प्राइभेट र पब्लिक कम्पनीका
शेयरधनीको सीमित दायित्वलाई समान रूपमा लिइँदैन । सामान्यतया प्राइभेट कम्पनीमा
अपवादको रूपमा मात्र बढी शेयरधनी हुनसक्छन् । ४/५ जना मात्र शेयरधनी हुने र ती सबै
कम्पनी सञ्चालनमा संलग्न हुने हुँदा यिनको दायित्वलाई सीमित गर्न नसकिएको हो ।
प्राइभेट कम्पनीको सञ्चालक संख्या कम्पनी ऐन, २०६३ ले तोकेको
छैन । यस्ता कम्पनीले आफ्नो नियमावलीमा आफैले सञ्चालकको संख्या तोक्न सक्छन् र
अपवादबाहेक सामान्यतया सबै शेयरधनी सञ्चालकका रूपमा रहेका हुन्छन् । पब्लिक
कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक हुनुपर्ने तथा ७ जनासम्म
सञ्चालक रहने भए १ जना र ११ जनासम्म सञ्चालक रहने भए २ जना स्वतन्त्र वा
व्यावसायिक सञ्चालकसमेत नियुक्त गर्नुपर्ने हुन्छ । पब्लिक कम्पनी स्थापना गर्न
कम्तीमा ७ जना शेयरधनी र १ करोड रुपैयाँ पूँजी हुनुपर्छ । यी सातै जना शेयरधनी
सञ्चालकमा रहनसक्ने अवस्थाको विद्यमानता कम्पनी ऐनले देखाउँदैन । यसर्थ पब्लिक
कम्पनीका सबै शेयरधनी कम्पनी सञ्चालनमा सक्रिय हुन पाउँदैनन् । कम्पनी सञ्चालनका
लागि आफूमध्येबाट चुनेर पठाएका शेयरधनीले कम्पनी सञ्चालन गर्छन् र यिनै सञ्चालकले
कम्पनीका तर्फबाट बेहोर्नुपर्ने फौजदारी र देवानी दायित्व बेहोर्नुपर्ने हुँदा
यिनको दायित्व शेयरधनीको झैं सीमित हुँदैन ।
सालोमनको मुद्दा
कम्पनीको स्वतन्त्र अस्तित्वसम्बन्धी सिद्धान्त सर्वव्यापक छ ।
कम्पनी स्वरूपको व्यवसाय ढाँचाको परिकल्पना देवर्षि नारदले गरेको शास्त्रीय प्रमाण
भेटिन्छ । ‘वणिक् प्रभृतयो यत्र कर्म सम्भूय कुर्वते ।
तत्तत् सम्भूय समुत्थानं व्यवहारपदं स्मृतम् ।’ अर्थात्
व्यक्तिहरू एकसाथ मिलेर व्यापार व्यवसाय गर्छन् भने यस्तो व्यावसायिक गतिविधिलाई
सम्भूय समुत्थान भनिन्छ । (नारदस्मृति) यसको मूल उद्देश्य ‘फलाहेतोरूपायन
कर्म सम्भूय कुर्वताम्’ अर्थात् लाभ आर्जन हो । कसले कति लाभ
पाउँछन् भन्ने विषयमा ‘आधारभूतः
प्रक्षेपस्तेनोत्तिष्ठेयुरंशतः’ अर्थात् जसको जति लगानी छ
सोही आधार हुन्छ । कम्पनीको विकासक्रम इङल्यान्डबाट शुरू भयो भनिए पनि
नारदस्मृतिको यी श्लोकले यसको उत्पत्ति वैदिककालदेखि नै थियो भन्ने दर्शाउँछ । यस
विषयमा विश्वविद्यालयका कानून सङ्कायले थप अध्ययन गर्नुपर्ने देखिन्छ । वैदिककालमा
यसको स्वरूपको चिन्तन गरिए पनि आधुनिककालमा इङल्यान्डले कम्पनीको विकासमा योगदान
दिएको कुरालाई उपेक्षा गर्न सकिँदैन । कम्पनीको स्वतन्त्र अस्तित्व र शेयरधनीको
सीमित दायित्वलाई संस्थागत रूपमा विकास गराउन इङल्यान्डको अदालतले प्रतिपादन गरेका
नजीर (कानूनी सिद्धान्त) संसारभरका लागि मार्ग दर्शक बनेको छ । कम्पनीको स्वतन्त्र
अस्तित्व र शेयरधनीको सीमित दायित्वको सिद्धान्त प्रतिपादन गर्न कोसेढुंगा बनेको
सालोमनको मुद्दाको संक्षिप्त चर्चा गरिन्छ ।
इङल्यान्डका आरोन सालोमन नाम गरेका एक व्यक्ति प्रोपाइटरशिपमा
परम्परागत छालाको जुत्ता व्यापार गर्थे । निकै राम्रोसँग चलिरहेको व्यापारलाई अझ
विस्तार गर्न उनले सालोमन एन्ड कम्पनी लिमिटेड खडा गरे । सालोमनको प्रोपाइटरशिपमा
रहेको जुत्ता व्यापारलाई गठित कम्पनीले ३८ हजार पाउन्डमा किन्यो । कम्पनीसँग
सोलोमनको व्यापार किनेबापतको भुक्तानी दिन पर्याप्त रकम थिएन । व्यापार बेचेको
रकमबापत सालोमनले कम्पनीको २० हजार ७ मध्ये २० हजार १ कित्ता शेयर लिए । बाँकी
रहेको शेयर उनकी पत्नी, छोरी र ४ छोरा प्रत्येकले १ र १ कित्ता लिए ।
कम्पनीले अझ पनि व्यापार किनेको (सालोमनको) रकम भुक्तान गर्न बाँकी थियो । अतः
कम्पनीले सुरक्षित र असुरक्षित गरी २ प्रकारको ऋणपत्र जारी गर्यो । सालोमनले १०
हजार पाउन्डको सुरक्षित ऋणपत्र लिए । यसको जमानतका रूपमा कम्पनीको सम्पत्ति
(सालोमनले बेचेको जुत्ता बनाउने मेशिन औजार) सालोमनले धितोका रूपमा लिए । कम्पनीले
७ हजार पाउन्ड असुरक्षित ऋणपत्र पनि जारी गर्यो । सालोमन कम्पनीको प्रबन्ध
सञ्चालकमा उसको २ छोरा सञ्चालक नियुक्त भए । कम्पनीको व्यापार (जुत्ता) राम्रैसँग
चलिरहेको थियो । १ वर्षपछि हडतालका कारण कम्पनीको व्यापार नोक्सानीमा जान थालेपछि
कम्पनी खारेजीमा लैजानुबाहेक अर्को उपाय भएन । कम्पनीको सम्पत्ति र दायित्व
मूल्यांकन गर्दा ऋण (दायित्व) १७ हजार पाउन्ड र कम्पनीको सम्पत्ति ६ हजार पाउन्ड
मात्र थियो । यस्तो अवस्थामा सबै साहूको सबै ऋण तिर्न सक्ने अवस्थामा कम्पनी थिएन
। कम्पनी खारेजकर्ताले सबैभन्दा पहिला सुरक्षित साहूको ऋण तिर्ने क्रममा सुरक्षित
साहूका रूपमा रहेका सालोमनको ६ हजार पाउन्ड फिर्ता दियो । सुरक्षित साहूको रूपमा
रहेको सालोमनकै अझ ४ हजार पाउन्ड ऋण तिर्न कम्पनी अक्षम भइसकेको थियो । बाँकी
रहेका असुरक्षित साहूको कुरै आउनेवाला थिएन ।
असुरक्षित साहूले सालोमन र कम्पनी एकै भएको, कम्पनी नाम मात्रको भएको र कम्पनी सालोमनको एजेन्ट हो भन्ने विषयलाई लिएर
मुद्दा गरे । कम्पनीमा सालोमन एक्लैको पूर्ण चुक्ता भएको अधिकांश शेयर रहेकाले सबै
असुरक्षित साहूको ऋण सालोमनले चुकाउनुपर्ने मुख्य दाबी लिएका थिए । शुरू अदालतले
असुरक्षित साहूको पक्षमा निर्णय सुनायो । हाउस अफ लर्ड्समा पुगेको यस मुद्दामा
सालोमन र सालोमन एन्ड कम्पनी अलग व्यक्ति हुन् तथा कम्पनी आफ्नो शेयरधनीको एजेन्ट
हुन सक्दैन भन्ने फैसला सुनाएको थियो ।
२१ पुष २०७७, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/379948
No comments:
Post a Comment