नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत्
समूहका ३२ ओटा कम्पनीमा ५१ अर्ब ५१ करोड ९४ लाख ३१ हजार ४ सय रुपैयाँ स्वपूँजी
लगानी भएको छ । बजार पूँजीकरण ९० अर्ब १२ करोड २१ लाख ४२ हजार ४ सय ८९ रुपैयाँ र
कुल बजार पूँजीकरणमा ६ दशमलव ३७ प्रतिशत योगदान छ । (नेप्से, १५
मंसिर, २०७६)
सूचीकरण भएका जलविद्युत् कम्पनी निर्माण सम्पन्न, निर्माणाधीन र निर्माण सम्पन्न भएर
प्रसारण लाइनको अभाव झेलिरहेका गरी ३ प्रकारका छन् । जुनसुकै अवस्थाका भए पनि
सूचीकृत कम्पनीले त्रैमासिक रूपमा सम्पूर्ण विवरण खोली प्रकाशन गर्नुपर्ने हुन्छ ।
तर, नेपाल
धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगले केके विवरण सार्वजनिक गर्नुपर्छ भनेर कुनै
स्पष्ट खाका नदिँदा जलविद्युत् कम्पनीका विवरणमा एकरूपता आउन सकेको छैन ।
वित्तीय विवरण र अनुमति अवधि
हरेक
क्षेत्रमा विशिष्टीकृत नियामक नहुने, विशिष्टीकृत नियामक नहुँदैमा
सूचीकरणमा नआउने वा आउन नहुने भन्ने हँुदैन्न र यस्ता कम्पनीको न्यूनतम नियमन र
सुपरिवेक्षण शेयरबजारकै सर्वोच्च निकायले गर्नुपर्छ । नेपाल मात्र होइन, संसारभर
नेपाल धितोपत्र बोर्ड (नाम फरक हुनसक्छ) सूचीकृत सबै कम्पनीको न्यूनतम नियामक र
सुपरिवेक्षक हो । बोर्डले सूचीकरणमा जान अनुमति दिएपछि सूचीकरण र नियमनका शर्तमा
पनि परिवर्तन गर्दै जानुपर्नेमा केही गरेन । बोर्डले केही गरेन तर, जलविद्युत्कै
नियमन गर्न गठन भएको आयोगले पनि नियमन गर्न चासो देखाएझैं लाग्दैन । नेप्सेमा
जतिओटा जलविद्युत् कम्पनी सूचीकृत छन्, त्यति नै थरी वित्तीय विवरण
प्रकाशन भइरहनु यसको जल्दोबल्दो उदाहरण हो । यसमा एकरूपता हुनुपर्छ वा ल्याउनुपर्छ
भन्ने सोच नआउँदा कम्पनीपिच्छेको आआप्mनै वित्तीय प्रतिवेदन ढाँचा छ ।
यस्ता फरकफरक ढाँचाका प्रतिवेदनका कारण जलविद्युत् क्षेत्रका अध्येता एवम्
लगानीकर्ताले तथ्यांक आधार (डाटाबेस) बनाउन सकेका छैनन् ।
जल
राज्यको सम्पत्ति हो र जलविद्युत् विकास गर्न राज्यबाट अनुमति लिएर व्यवसाय
(विकास) गर्नुपर्छ । जलविद्युत् विकासका लागि निर्माण अवधि ५ वर्षसहित ३५ वर्षको
हुन्छ र त्यसपछि पूर्वाधारसहित राज्यलाई हस्तान्तरण गर्नुपर्छ । जलविद्युत्
कम्पनीले प्रकाशन गर्ने त्रैमासिक प्रतिवेदनमा आयोजनाको बाँकी अवधि उल्लेख नहुँदा
कुन आयोजनाको अवधि कति बाँकी छ भन्ने थाहा पाउन सकिने अवस्था छैन । त्यस्तै, निर्माणाधीन
आयोजना पनि कुन चरणमा पुग्यो वा पुगेको छ भन्ने विशिष्टीकृत उल्लेखन नगरी ‘हाल
आयोजना निर्माणको चरणमा रहेको छ’ भन्ने गोश्वारा वाक्य मात्र भेटिन्छ । जलविद्युतका
सिभिल (बाटो, विद्युत्
गृह, आवास
भवन), हाइड्रोमेकानिकल
(पेनस्टक, टर्वाइन)
र इलेक्ट्रोमेकानिकल (जेनेरेटर लगायत) मूलतः तीनओटा मुख्य अवयव हुन्छन् । यी
तीनओटा अवयव एकैसाथ निर्माण वा जडान कुनै हुनसक्छ, कुनै हुन सक्दैन । त्रैमासिक
प्रतिवेदनमा यी तीनओटा अवयवको निर्माण प्रगति कुन के अवस्थामा छ कतै उल्लेख
भेटिँदैन । त्यस्तै निश्चित दूरीसम्म आयोजना प्रवर्द्धकले नै प्रसारण लाइन निर्माण
गरी विद्युत पुर्याउनुपर्ने पनि हुन्छ । प्रसारण लाइनका के कति संरचना बने, कति
बाँकी छ, कहिले
पूरा हुन्छ भन्ने पनि कतै उल्लेख भेटिँदैन ।
विद्युत् विक्री र लगानी
आयोजनाले
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् किनबेच सम्झौता अर्थात् पावर पर्चेज
एग्रिमेन्ट (पीपीए) गर्दा हरेक महीना यति–यति परिणाममा विद्युत् शक्ति
(युनिट) उपलब्ध गराउने उल्लेख गरेका हुन्छन् । शेयर जारी गर्दा कुनैकुनै आयोजनाले
विवरणपत्रमा हरेक महीना उपलब्ध हुने युनिटको तालिका उल्लेख गरेको भेटिए पनि सबैले
उल्लेख गरेको भेटिँदैन । यसो हुनुको कारण अनुमति दिने बोर्डलाई केके विषय उल्लेख
हुनुपर्छ भन्ने जानकारी नभएको वा ‘चलिहाल्छ’ भन्ने
मानसिकता हो, बुझ्न
सकिएको छैन । विवरणपत्रमा उल्लेख नगराउने बोर्डले त्रैमासिक प्रतिवेदनमा उल्लेख
गर्न लगाउने प्रश्न कसरी उठोस् ? आयोगले समेत यस्तो जानकारी दिनुपर्छ भन्न सकेको छैन वा
वास्ता गरेको छैन । त्रैमासिक विवरण प्रकाशन गर्दा हरेक महीना कति युनिट बिजुली
कुन दरमा विक्री गरियो भन्ने महत्वपूर्ण जानकारीको खडेरी कहिलेसम्म देखिने हो, ईश्वरले
जान्लान् तर, बोर्ड
र आयोगले जान्ने सम्भावना तत्काललाई छैन ।
त्यस्तै, जलविद्युत्
कम्पनीले अन्य कम्पनीमा पनि लगानी गरेका कुरा वासलातको ‘लगानी’ शीर्षकमा
गोश्वारा रूपमा देखिन्छ । तर, कुनकुन कम्पनीमा कतिकति अंश (प्रतिशत) छ भन्ने विवरण
कुनैकुनैले दिए पनि पूर्ण विवरण दिएको देखिँदैन । त्यस्ता लगानी भएका कम्पनीले
विकास गरिरहेको आयोजना कुन चरणमा छन् भन्ने विवरण कतै भेटिँदैन । त्यस्तै, प्रवर्द्धित
आयोजनाको पनि हस्तान्तरण अवधि कति बाँकी छ भन्ने नदेखिएको एउटा उदाहरण बुटवल पावर
कम्पनीले लगानी गरेको हिमाल पावर लिमिटेड (खिम्ती पहिलो) हो । हिमाल पावरले आगामी
सन् २०२० जुलाईमा आधा अंश सरकारलाई हस्तान्तरण गर्दै छ । बुटवल पावरको आम्दानीको
मुख्य स्रोत हिमाल पावर हो । यी विवरण अहिलेसम्म पनि त्रैमासिक विवरणमा देख्न
पाइएको छैन ।
मूल्य वृद्धिको सूचना
विद्युत्
आयोजनाले पीपीए गर्दा निश्चित पटक निश्चित वर्षसम्म मूल्य वृद्धि पाउँछन् । तर, यसको
उल्लेख एकादुईले कताकति उल्लेख गरे पनि सबैले गरेको भेटिँदैन । अहिलेसम्मको अभ्यास
हेर्दा आधार वर्ष (विद्युत् उत्पादन गर्न तोकिएको वर्ष) को दरभाउमा बढीमा ९ पटक ३
प्रतिशतका दरले मूल्य वृद्धि प्राप्त गर्छन् । तोकिएको समयमा व्यावसायिक उत्पादन
नभएमा त्यसबाट मूल्य वृद्धिदर घट्ने कुरा पनि कतै उल्लेख हुँदैन । जलविद्युत्
कम्पनीले प्रतिशेयर आम्दानी गणना गर्दा पनि त्रैमासिक आम्दानीलाई वार्षिकीकरण गरेर
देखाउने गरेका छन्, जुन
सर्वथा गलत विधि हो र यसमा ध्यान दिएका पाइँदैन । जलविद्युत्को मुख्य याम भनेको
साउन, भदौ र
असोज भएको हुँदा यतिबेलाको आम्दानी अन्य समयको भन्दा बढी हुन्छ । असोजसम्म (पहिलो
त्रैमासिक) को आम्दानीलाई ४ गुणा गर्दै प्रतिशेयर आम्दानी देखाउने कार्य गलत हो
भनेर बुझ्न सकेनन् भन्न मिल्ने ठाउँ छैन ।
अन्य नखुलेका विषय
माथिका
विभिन्न अनुच्छेदमा उल्लेख गरिएका मुख्यमुख्य विषयबाहेक अरू पनि हेर्दा साना तर, लगानी
निर्णय गर्न सहयोगी हुने धेरै जानकारी सार्वजनिक हुने गर्दैनन् । जलविद्युत्
आयोजनाले जलको उपयोग गरेबापत रोयल्टी तिर्नुपर्छ यसको दर पनि फरक हुँदै जान्छ । तर, यसको
पनि उल्लेख गरिएको भेटिँदैन । त्यस्तै, यस्ता आयोजनालाई व्यावसायिक
उत्पादन हुने भनेर तोकिएको मितिबाट १० वर्षसम्म आयकर पूरै छूट हुन्छ र त्यसपछि थप
५ वर्ष आधा आयकर लाग्छ र सोह्रौं वर्षबाट पूर्ण आयकर लाग्छ । त्रैमासिक विवरण
सार्वजनिक गर्दा यस्ता विवरण पनि विरलै देखिन्छ । त्यस्तै, जलविद्युत्
आयोजना निर्माण गर्दा ऋण पनि लिइएको कुरा वासलातमा देखिन्छ । तर, सामान्यजनले
बुझ्ने भाषामा प्रकटीकरणमा यो त्रैमासिकमा यति बुझाइयो, अब
यति बाँकी छ र आगामी त्रैमासिकमा यति बुझाइन्छ भन्ने उल्लेख हुँदैन । स्थानीय र
संस्थापक शेयर निश्चित समयसम्म विक्री बन्देजमा रहेको हुन्छ । तर, यसको
पनि उल्लेख कहिलेदेखि कहिलेसम्म हो र कति समय बाँकी छ यस्ता कुरा पनि प्रकट गरिएको
पाइँदैन ।
आयोग कि आयो गयो ?
जलविद्युत्मा
नियामक चाहियो भनेर बेस्मारी चिच्याउने पनि अहिले आयोगलाई माथि उल्लिखित विषयमा
प्रकटीकरण गर्न लगाऊ भन्न कोही पनि गएको देखिँदैन, बरु ‘फलानोले
बोलेर घटायो’ भन्ने
बेतुकको आक्रोश मात्र पोखेको देखिन्छ । आयोग पनि यस्ता कुरामा साह्रै दत्तचित्त
भएर लागेको पनि देखिँदैन । माथि उल्लिखित कार्य गर्न त्यति ठूलो शक्ति लगाउनुपर्ने
पनि देखिँदैन । चाहने नै हो भने यति कार्य गर्न १ हप्ता पनि लाग्दैन । तर, इच्छाशक्तिको
कमी भयो भने ‘आँगन
परदेश हुन्छ’ भन्ने
भनाइ चरितार्थ भएको छ । आयोग साँच्चै ‘आयोग’ बन्छ
कि ‘आयो, गयो’ बन्छ हेर्न
बाँकी छ ।
१७ मंगसिर २०७६, आर्थिक अभियान दैनिक
No comments:
Post a Comment