नेप्से सूचक ‘यति
पुग्छ’, ‘उति पुग्छ’, ‘घटेर यतिमा आउँछ’ र ‘यति वर्षमा बढेर यति पुग्छ’ जस्ता
चर्चाले कारोबारी र लगानीकर्ता दुबैलाई
पिरोलेको छ । जोड, घटाउ, गुणन, भाग, प्रतिशत र औसत जस्ता व्यवहारिक गणित समेत
नबुझ्नेलाई ‘टेवा, अवरोध, प्रतिरोध’ जस्ता शब्दले अभिमन्युलाई झैं चक्रव्यूहमा
पारेको छ । सूचकको हाउगुजीले शेयरबजार प्रताडित बनेको छ । सूचक के हो, के हैन,
कसरी बढ्छ, कसरी घट्छ, सूचक निर्धारण गर्न कस्ता कम्पनी जिम्मेवार हुन्छन् यस
बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।
सूचक के हो के हैन ?
सूचक कुनै आधार वर्ष
वा दिनको बजार पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । यसको मापन गर्दा आधार
पूँजीकरण र त्यसपछिका हरेक दिनको पूँजीकरण दुइवटा अंक लिएर व्यक्त गरिन्छ । आधार
पूँजीकरण नयाँ कम्पनी सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदैजान्छ । बोनस
शेयरले आधार पूँजीकरण परिवर्तन हुँदैन । सम्भवत एक्सचेन्जको कारोबार मापन
एक्सचेन्जले भन्दा पहिले स्वस्फुर्तरुपमा कारोबारी र शेयरबजार विषयमा कलम चलाउनेले
आफूखुशी शुरु गरेका हुन् । पछि एक्सचेन्जले पनि कारोबार मापन गर्न आवश्यक सम्झियो
र मापन गर्न थाल्यो । कारोबार मापनको यस्ता सूचक जसले जति पनि आफ्नो इच्छा अनुसार
बनाउनसक्छ । यसैको पछिल्लो अभ्यासकोरुपमा एनएमवि
क्यापिटलले योजना व्यवस्थापन गर्न लागेको एनएमवि - ५० नामक म्युचुअल फण्डले छिट्टै
आफ्नो लागि सूचक बनाउने तरखरमा लागेको छ । यसमा ५० वटा सूचीकृत कम्पनी रहनेछन् । सूचकले
कम्पनीको उन्नति/प्रगति वा लाभांश आदि केहीलाई पनि जनाउँदैन । आधारभूत सूचक मापन
गर्न प्रायश: सिमित कम्पनीलाई मात्र लिइन्छ । यिनै छानिएका कम्पनीको कारोबारको
आधारमा हुने आधार र दैनिक पूँजीकरणको अंकलाई लिएर सूचक निकालिन्छ । सूचक गणना
गर्दा पहिलो दिनलाई १ सय वा १ हजार विन्दुलाई आधार लिएर शुरु गरिएको भेटिन्छ । नेपालमा
सूचक गणना गर्दा १ सय विन्दुलाई आधार लिइएको छ ।
केहि देशका सूचक
संसारको अग्रणी १०
वटा एक्सचेन्जमा पर्ने भारतको बम्बे स्टक एक्सचेन्जको ‘सेनसेक्स’ आधारभूत सूचक हो ।
पछिल्लो पटक यसको सूचांक झन्डै ३७ हजार विन्दु (सेप्टेम्बर
६, २०१९)
छ । त्यस्तै, भारतकै अर्को नेशनल स्टक एक्सचेन्जको सूचांक निफ्टी करिब १० हजार (सेप्टेम्बर ६, २०१९)
छ । अधिकाँश स्टकको सूचक गणना १ सय विन्दुबाट गरिए पनि भारतको नेशनल स्टक
एक्सचेन्जको आधारभूत सूचक र पाकिस्तानको पाकिस्तान स्टक एक्सचेन्जको केएसई - १०० को गणना क्रमशः सन् १९९६ अप्रिल १ तारिख र सन्
१९९१ नोभेम्बरबाट १ हजार विन्दुबाट शुरु
गरिएको हो । निफ्टीमा ५० वटा र केएसईमा
१ सयवटा कम्पनी सामेल गरिएको छ । बम्बे स्टकको सूचक गणना सन् १९७९ अप्रिल १
तारिखबाट ठूला पूँजीयुक्त ३० वटा कम्पनी सामेल गरी १ सय आधार विन्दुबाट गरिएको हो ।
निफ्टी र सेनसेक्समा सामेल हुने कम्पनी बेलाबेलामा फेरबदल पनि हुनेगर्छ । सेनसेक्सले
सन् २०१९ जुन ३ तारीखमा अहिलेसम्मको ४० हजार २ सय ६७ दशमलव ६२ को उच्चतम विन्दु
छोएको छ भने सन् १९९० जुलाई २५ तारिखमा १ हजार विन्दु कटाएको थियो ।
बंगलादेशको
ढाका स्टक एक्सचेन्जले आधारभूत सूचककोरुपमा सन् २००८ जनवरी १७ तारिखदेखि डीएसइ
बोर्ड इन्डेक्स र डीएसइ - ३० गरी दुइवटा सूचक विकास गरेको छ ।
नेपालको शेयर सूचक
नेपाल स्टक
एक्सचेन्ज (नेप्से) मा २ सय १८ (नेप्से, साप्ताहिक प्रतिवेदन, भदौ २०, २०७६) वटा
कम्पनी सूचीकरण भएका छन् । नेप्सेले म्युचुअल फण्डसहित सूचीकृत कम्पनीलाई १२ वटा समूहमा
विभाजन गरेको छ । यी सबैको अलग-अलग सूचक गणना हुन्छ । नेपालको आधारभूत सूचकको
रुपमा ‘नेप्से’ रहेको छ । यसका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट गरी अरु ३
वटा सूचक छन् । कुल मिलाएर १६ वटा सूचक गणना हुन्छ । पछिल्लो समयमा आएर सेन्सेटिभ
इन्डेक्स अर्थहीन बनेको छ ।
बजार हल्लाउने कम्पनी
नेपालमा मात्र हैन
संसारभरका एक्सचेन्जलाई हल्लाउने तागत राख्ने कम्पनीको संख्या सिमित हुन्छ । बम्बे
र नेशनल स्टकको गणना सिमित कम्पनी (३० र ५०) बाट गरिएको भए पनि त्यसभित्र पनि सूचक
हल्लाउने तागत राख्ने कम्पनी १/२ वटा मात्र हुन्छन् । नेपालमा नेपाल टेलिकमले
अहिले पनि सूचक घटबढमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । पछिल्लो सयमा यसको
मूल्यमा तीव्र गिरावट आए पनि यसको भूमिका कायमै छ । नेपाल टेलिकम बाहेक नबिल,
नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले क्रमशः स्थान
जमाएका छन् । नेपालमा सूचक घटबढ गराउनमा बढीमा १५ वटा कम्पनी आलोपालो गरी १० स्थान
ओगट्छन । यिनै १० वटा कम्पनीले मुलरुपमा सूचकलाई हल्लाईरहेका हुन्छन् । नेपालको
शेयरबजारको कुल पूँजीकरण १४ खर्व ९६ अर्व ७१ करोड ६२ लाख ३० हजार रुपैयाँको आधारमा
नेपाल टेलिकम एक्लैको ६ प्रतिशतभन्दा बढी योगदान रहेको छ । त्यसपछि क्रमशः माथि
उल्लेखित बैंकको छ । पाँचौ स्थानमा परेको चार्टर्ड बैंकको योगदान टेलिकमको
ठ्याक्कै आधा अर्थात ३ प्रतिशतभन्दा बढी छ । यी १० वटा कम्पनीको कुल पूँजीकरणमा योगदान
३५ प्रतिशत रहेको छ । तालिकामा १० वटा कम्पनीको योगदान देखाईएकोछ ।
कम्पनी
|
सूचीकृत शेयर संख्या (करोड)
|
पूँजीकरण (अर्व)
|
अन्तिम मूल्य (रु.)
|
पूँजीकरणमा योगदान (प्रतिशत)
|
नेपाल टेलिकम
|
१५,००,००,०००
|
९५,८५,००,००,०००
|
६३९
|
६.४
|
नबिल बैंक
|
९,००,४८,०००
|
६९,८७,७२,४८,०००
|
७७६
|
४.६६
|
नेपाल इन्भेष्टमेन्ट बैंक
|
१२,८६,९७,४८८
|
५७,६५,६४,७४,६२४
|
४४८
|
३.८५
|
एभरेष्ट बैंक
|
८,०२,६८,६३७
|
४८,९६,३८,६८,५७०
|
६१०
|
३.२७
|
स्ट्यान्डर्ड चार्टर्ड बैंक
|
८,०१,१४,३०६
|
४८,८६,९७,२६,६६०
|
६१०
|
३.२६
|
हिमालयन बैंक
|
८,५२,०२,५५९
|
४५,१५,७३,५६,२७०
|
५३०
|
३.०१
|
नेपाल लाइफ इन्स्योरेन्स
|
५,४९,६१,६०८
|
४३,९६,९२,८६,४००
|
८००
|
२.९३
|
एनआईसी एसिया बैंक
|
८,८३,४२,२८७
|
३९,५७,७३,४४,५७६
|
४४८
|
२.६४
|
कृषि बैंक
|
९,०१,५५,२८८
|
३८,०४,५५,३१,५३६
|
४२२
|
२.५४
|
नेपाल एसवीआई बैंक
|
८,४४,९२,५०४
|
३६,५०,०७,६१,७२८
|
४३२
|
२.४३
|
जम्मा
|
९३,२२,८२,६७७
|
५,२४,४६,७५,९८,३६४
|
|
३४.९९
|
कुल बजार पूँजीकरण अंक
|
१४ खर्व ९६ अर्व ७१ करोड ६२ लाख ३० हजार
|
(नेप्से, भदौ २२,
२०७६ मा आधारित)
सूचक घटबढ
सूचक घट्ने मुख्य
दुइवटा कारण मध्ये एउटा कारण तालिकाबाट पनि मोटामोटी अनुमान लगाउन सकिन्छ । यिनै
१० वटा कम्पनी वा यी सरहका पूँजीकरण भएका कम्पनीको कारोबारले सूचक तलमाथि पार्ने
गर्छन । अन्य कम्पनीको भूमिका नहुने हैन तर, यिनको जति हुन्न । शेयरबजारमा सूचीकरण
भएका कतिपय कम्पनीको नियमित कारोबार नहुन पनि सक्छन् तर, यी १० वटा वा यस्तै
प्रकृतिका १० वटा कम्पनीका कारोबार नहुने दिन बिरलै हुन्छ ।
सूचक घट्नुको अर्को
कारणमा पहिलो कारोबार मूल्य पनि हो । नेप्सेले पहिलो कारोबारको लागि दिएको अधिकतम
मूल्यमा पहिलो कारोबार खुलेर कारोबार बन्द भएको अन्तिम कारोबार मूल्यको आधारमा
बनेको पूँजीकरणलाई आधार पूँजीकरणमा जोड्छ । अधिक मूल्यमा कारोबार हुँदा आधार
पूँजीकरण बढ्न जान्छ र भोलिपल्टबाट उक्त कम्पनीको भाउ घट्न थालेमा पूँजीकरण पनि
अगिल्लो दिनभन्दा घट्दै जान्छ । आधार पूँजीकरण बढिसकेको हुन्छ । यसले पनि सूचक
घटाउन मद्दत गर्छ । अधिक मूल्यको पहिलो कारोबार बजारको लागि हितकारी हुन्न । यस
सम्बन्धमा विस्तृत चर्चा कुनै सन्दर्भमा गरिनेछ ।
अन्तमा, अर्थमन्त्री
डा. युवराज खतिवडाले भने झैँ ‘कम्पनीको प्रोफाइल’ हेरेर लगानी वा कारोबार गर्नेलाई
सूचकले कुनै समस्या पार्दैन । नेप्सेले पनि आधारभूत सूचक सिमित कम्पनीलाई लिएर
नेप्से - २० बनाउन र हाल सूचक गणनाको लागि लिएको सबैको आधार पूँजीकरणको अंक
साप्ताहिक प्रतिवेदनमा उल्लेख गर्नु वान्छनीय हुन्छ ।
आर्थिक अभियान दैनिक, २४ भाद्र २०७६
No comments:
Post a Comment