Friday, July 26, 2024

बाईब्याकसम्बन्धी कानूनी व्यवस्था

कार्यान्वयनमा किन अलमल

इनिसियल पब्लिक अफरिंग (आइपिओ) को ठिक विपरित ब्याईब्याक हो l कम्पनीको पुँजी (शेयर क्यापिटल) कम्पनीको लागि ऋण जस्तै हो l ऋण निश्चित अवधिको लागि दिइन्छ र यसमा वार्षिक कति ब्याज पाउने/नपाउने शुरुमै उल्लेख हुन्छ l ऋणमा जस्तो शेयर पुँजीमा ब्याज र फिर्ता गर्ने कुनै अवधि तोकिएको हुन्न l शेयरधनीले कम्पनीलाई दिएको पूँजी (शेयर क्यापिटल वा शेयर) कम्पनीले लगानी गरि हरेक वर्ष जति पनि प्रतिफल दिनसक्छन् वा वर्षौसम्म केही नदिन पनि सक्छन l पुँजीबापत प्राप्त हुने प्रतिफललाई लाभांश भनिन्छ l यस्तो पुँजी शेयरधनीलाई नै फिर्ता दिनसक्छन l कर्पोरेट भाषामा यसलाई ‘बाईब्याक’ वा ‘आफ्नो शेयर आफैँ किन्ने’ भनिन्छ l नेपाल कानुनमा यससम्बन्धी पर्याप्त व्यवस्था भए पनि सूचीकृत कम्पनीले यसको उपयोग गरेका छैनन् l भारतलगायत देशका लागि यस्तो कार्य सामान्य हो l

बाईब्याकको तालुकी कानुन

कम्पनी सञ्चालन र प्रशासनको तालुकी कानुन कम्पनी ऐन, २०६३ हो l बाईब्याक वा आफ्नो शेयर आफैँ किन्ने विषय पनि कम्पनी सञ्चालन र प्रशासनकै एक अङ्ग भएकोले यसको पनि तालुकी कानुन कम्पनी ऐन, २०६३ नै हो l कम्पनी ऐन, २०६३ ले बाईब्याक सम्बन्धमा व्यवस्था गरेको छ l ऐनको दफा ६१ मा कम्पनीले बाईब्याक गर्न वा जमानत राखी ऋण दिनु हुँदैन भनेको छ l तर, दफा ६१(२) मा दफा ६१(१) मा जेसुकै लेखिएको भए तापनि लाभांशको रुपमा वितरण हुनसक्ने सञ्चित मुनाफाको रकमबाट बाईब्याक गर्नसक्ने व्यवस्था गरेको छ l यस्तो निर्णय गरेपछि त्यसको जानकारी कम्पनी रजिष्ट्रार कार्यालयलाई गराउनुपर्छ l दफा ६१(२) अनुसार (१) कम्पनीले जारी गरेको शेयरको सम्पूर्ण रकम चुक्ता भईसकेको अर्थात जारी पुँजी चुक्ता भएको, (२) पब्लिक कम्पनीले जारी गरेको शेयर धितोपत्र बोर्डमा दर्ता भईसकेको (सम्भवत भन्न खोजिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भईसकेको), (३) कम्पनीको नियमावलीमा बाईब्याक गर्नसक्ने व्यवस्था भएको, (४) कम्पनीको साधारण सभामा बाईब्याक गर्ने विशेष प्रस्ताव पारित गरेको, (५) कम्पनीले चुक्ता गर्नुपर्ने ऋण रकम कम्पनीले आफ्नो शेयर आफैँले खरिद गरिसकेपछि पुँजी तथा साधारण जगेडा कोषको रकमको अनुपातमा दोब्बरभन्दा बढी नहुने भए, (‘ऋण रकम’ को प्रयोजनका लागि कम्पनीले लिएको सुरक्षित तथा असुरक्षित सम्पूर्ण ऋण रकम पर्छ) (६) कम्पनीले बाईब्याक गर्ने शेयरको रकम कम्पनीको कुल चुक्ता पुँजी तथा साधारण जगेडा कोषको रकमको २० प्रतिशतभन्दा बढी नहुने भए, (७) कम्पनी रजिष्ट्रार कार्यालयले बाईब्याक सम्बन्धमा समय-समयमा जारी गरेको निर्देशन प्रतिकूल नहुने भए बाईब्याक गर्नसक्छन l

बाईब्याकको कार्यविधि

अघिल्लो अनुच्छेदमा उल्लेखित शर्त नम्बर ४ अनुसार कम्पनीको साधारण सभामा पेश गरिने विशेष प्रस्तावमा (१) आफ्नो शेयर आफैँ खरिद गर्नुपर्ने कारण र आवश्यकता, (२) आफ्नो शेयर आफैँ खरिद गरेको कारणबाट सम्बन्धित कम्पनीको आर्थिक स्थितिमा पर्नसक्ने सम्भावित प्रभाव मूल्यांकनको विवरण, (३) खरिद गर्न प्रस्ताव गरिएको शेयरको किसिम र सोको सङ्ख्या, (४) बुँदा ३ बमोजिमको शेयर खरिद गर्न लाग्ने अधिकतम वा न्यूनतम रकम र सोको वित्तीय स्रोत, (५) खरिद गर्न लाग्ने समयावधि, (६) खरिद गर्ने तरिका, (७) आफ्नो शेयर आफैँ खरिद गर्ने सम्बन्धमा कम्पनी रजिष्ट्रार कार्यालयले तोकेको तथा प्रचलित कानूनबमोजिम खुलाउनुपर्ने अन्य आवश्यक कुरा उल्लेख गर्नुपर्छ l

साधारण सभामा आफ्नो शेयर आफैँ किन्ने प्रस्ताव पारित भएपछि सो प्रस्ताव पारित भएको १२ महिनाभित्र सो कार्य सम्पन्न गरिसक्नुपर्छ l आफ्नो शेयर आफैँ फिर्ता लिँदा वा बाईब्याक गर्दा (१) धितोपत्र बजारमार्फत खरिद गरेर, (२) कम्पनीका कर्मचारीलाई छुट्याइएको शेयर सम्बन्धित कर्मचारीबाट खरिद गरेर, (३) तत्काल कायम रहेका शेयरधनीबाट समानुपातिकरुपमा खरिद गर्न सक्छन l यसरी कम्पनीले शेयर बाईब्याक गरेमा त्यस्तो शेयर खरिद गरेको मितिले ३० दिनभित्र आफूले खरिद गरेको शेयर सङ्ख्या, सोबापत भुक्तानी भएको रकम र अन्य आवश्यक विवरण कम्पनी रजिष्ट्रार कार्यालयलाई जानकारी गराउनुपर्छ l कम्पनीले शेयर बाईब्याक गरेपछि खरिद गरेको शेयर सङ्ख्याको अङ्कित मूल्य बराबरको रकम छुट्टै पुँजी फिर्ता जगेडा कोष खडा गरी सो कोषमा दाखिला गर्नुपर्छ र यस्तो रकमलाई चुक्ता पुँजीसरह कायम राख्नुपर्छ । कम्पनीले बाईब्याक गरेकोमा आफूले खरिद गरे जति शेयर त्यसरी खरिद गरेको मितिले १ सय २० दिनभित्र रद्द गरी सक्नुपर्छ l यसरी कम्पनीले कुनै वर्गका शेयर खरिद (बाईब्याक) गरिसकेपछि बोनस शेयर जारी गर्ने वा आफ्नो दायित्व चुक्ता गर्नबाहेक दुई वर्ष नभई पुनः सोही वर्गको शेयर जारी गर्न पाइँदैन l बाईब्याक गर्दा पब्लिक कम्पनीले कायम गर्नुपर्ने न्यूनतम शेयरधनीको सङ्ख्या कम हुने वा न्यूनतम चुक्ता पुँजीभन्दा कम हुने गरी बाईब्याक गर्न पाइँदैन l

यहाँसम्म उल्लेखित व्यवस्था समस्त कम्पनीको हकमा लागु हुन्छ l यी व्यवस्था मुलभूत हुन् l यसैलाई आधारविन्दु मानेर विषयगत क्षेत्रका निकायले केही शर्त थप गर्नसक्छन l जस्तो बैंक तथा वित्तीय संस्थाले आफ्नो शेयर आफैँले खरिद गर्दा के के गर्नुपर्छ भनेर बैंक तथा वित्तीय संस्था ऐन, २०६३ (बाफिया) मा उल्लेख गरिएको छ l

बाफियामा बाईब्याक

बैंक तथा वित्तीय संस्था पनि कम्पनी नै भएको हुँदा यस्ता निकायले पनि बाईब्याक गर्नसक्छन l तर, नेपालमा अहिलेसम्म यस्तो अभ्यास भएको छैन l  बैंक तथा वित्तीय संस्था ऐन, २०६३ को दफा १३(१) मा कम्पनी ऐनमा जस्तै बैंक वा वित्तीय संस्थाले बाईब्याक गर्न वा जमानत राखी कर्जा दिन हुँदैन भनेको छ l सोही दफा १३(२) मा राष्ट्र बैंकको स्वीकृति लिई बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको प्रतिशतमा नबढ्ने गरी लाभांशको रुपमा वितरण हुनसक्ने सञ्चित नाफाको रकमबाट बाईब्याक गर्नसक्नेछ भनेको छ l यहाँ ‘तोकेको प्रतिशत’ भन्ने वाक्यांशले राष्ट्र बैंकमा बाईब्याकको स्वीकृति लिन आवेदन गर्दा राष्ट्र बैंकले स्वीकृति दिँदा तोक्ने प्रतिशत हो भन्ने बुझ्न सकिन्छ l 

दफा १३(२) अनुसार (१) बैंक वा वित्तीय संस्थाले जारी गरेको शेयरको सम्पूर्ण रकम भुक्तानी भई सकेको भए, (२) बैंक वा वित्तीय संस्थाले जारी गरेको शेयर धितोपत्र बजार (नेपाल स्टक एक्सचेञ्ज लिमिटेड) मा सूचीकृत भई सकेको भए, (३) नियमावलीमा बाईब्याक गर्नसक्ने व्यवस्था भए,  (४) साधारण सभामा विशेष प्रस्ताव पारित भएको भए, (५) बैंक वा वित्तीय संस्थाले चुक्ता गर्नुपर्ने ऋण रकम बैंक वा वित्तीय संस्थाले बाईब्याक गरी सकेपछि पूँजी तथा साधारण जगेडा कोषको रकमको अनुपातमा दोब्बरभन्दा बढी नहुने भए (ऋण रकम’ को प्रयोजनका लागि कम्पनीले लिएको सुरक्षित तथा असुरक्षित सम्पूर्ण ऋण रकम पर्छ), (६) बैंक वा वित्तीय संस्थाले बाईब्याक गर्ने रकम कुल चुक्ता पूँजी तथा साधारण जगेडा कोषको रकमको २० प्रतिशतभन्दा बढी नहुने भए, (७) बाईब्याक गर्दा राष्ट्र बैंकबाट जारी पूँजी कोषसम्बन्धी निर्देशनको पालना हुने भए, (८) बाईब्याक गर्ने सम्बन्धमा राष्ट्र बैंकले समय-समयमा जारी गरेको निर्देशन प्रतिकूल नहुने भए बाईब्याक गर्न सक्छन l यी व्यवस्थामा कम्पनी ऐनले तोकेकोभन्दा फरक विषयको रुपमा ८ नं. बुँदा मात्र परेको छ l यसो हुनुको कारण विषयगत कुराले फरक पारेको हो l

 बाफियामा किन्ने विधि र अवधि र तरिका

कम्पनी ऐनले गरेको व्यवस्थाको प्रतिकूल नहुने गरि बाफियाको दफ़ १३(३) मा बैंक वा वित्तीय संस्थाले आफ्नो शेयर आफै खरिद गर्ने स्वीकृतिका लागि (१) आफ्नो शेयर आफैँले खरिद गर्नुपर्ने कारण, आवश्यकता, समयावधि र तरिका, (२) आफ्नो शेयर आफैँले खरिद गरेको कारणबाट बैंक वा वित्तीय संस्थाको वित्तीय स्थितिमा पर्नसक्ने सम्भावित प्रभाव मूल्याङ्कनको विवरण,  (३) खरिद गर्न प्रस्ताव गरिएको शेयरको किसिम, शेयरको प्रति कित्ता मूल्य र शेयर सङ्ख्या, (४) शेयर खरिद गर्न लाग्ने अधिकतम वा न्यूनतम रकम र सोको स्रोत, (५) आफ्नो शेयर आफैँले खरिद गर्ने सम्बन्धमा राष्ट्र बैंकले तोकेको अन्य विवरण, (६) प्रचलित कानून बमोजिम खुलाउनुपर्ने अन्य आवश्यक विवरण खोली नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्छ l यसरी निवेदन आएपछि राष्ट्र बैंकले स्वीकृति दिन उपयुक्त हुने देखेमा स्वीकृति दिनसक्नेछ ।

दफा १३(५) मा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि त्यस्तो स्वीकृति प्राप्त गरेको मितिले छ महिना वा साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेको १२ महिनामध्ये जुन पछिल्लो हुन्छ सो अवधिभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले, (क) धितोपत्र बजारमार्फत खरिद गरेर, (ख) तत्काल कायम रहेको शेयरधनीबाट समानुपातिक रुपमा खरिद गर्नसक्छ l यसरी आफ्नो शेयर आफैले खरिद गर्ने कार्य सम्पन्न भएपछि ३० दिनभित्र आफूले खरिद गरेको शेयर सङ्ख्या, सो बापत भुक्तानी रकम र अन्य आवश्यक विवरणको जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने हुन्छ l यसरी आफ्नो शेयर आफैले खरिद गर्ने कार्य सम्पन्न भएपछि आफैँले खरिद गरेको अङ्कित मूल्य बराबरको रकम चुक्ता पूँजीबाट घटाई छुट्टै पूँजी फिर्ता जगेडा कोष खडा गरी सो कोषमा दाखिला गर्नु पर्नेछ र सो कोषको रकमलाई चुक्ता पूँजीसरह कायम राख्नुपर्ने व्यवस्था छ l बैंक वा वित्तीय संस्थाले आफ्नो शेयर आफैँले खरिद गरेकोमा आफूले खरिद गरे जति शेयर त्यसरी खरिद गरेको मितिले १ सय २० दिनभित्र रद्द गरिसक्नुपर्ने हुन्छ l

शुरुआत दशमलवबाट

नेपालमा बाईब्याकको अभ्यास भएको छैन l यसप्रति कम्पनीको उदासीनता अचम्मलाग्दो छ l बारम्बार ‘पुँजी नै पुगेन’ भन्ने नेपालका कम्पनी सञ्चालक र व्यवस्थापकले बाईब्याक गरेर पुँजी घटाउने कार्य गर्लान भनेर परिकल्पना गर्नु बेकार हुन्छ l बाईब्याकको लागि वित्तीय स्रोतकै कुरा गर्दा नेपालका एकादुई कम्पनीबाहेक अधिकाँश कम्पनीसँग सञ्चित जगेडा शून्य अवस्थामा छ l बाईब्याकको वित्तीय स्रोत नै शून्य अवस्थामा रहेकोले यस्तो परिकल्पना गर्न सकिने कुरै भएन l ठूलो परिमाणमा बाईब्याक गर्न नसकिए पनि अति सानो सङ्ख्यामा छरिएर रहेका शेयर (अनइकोनोमिक युनिट) हटाउन यस्तो अभ्यास गर्न सकिन्छ l एक कित्ताभन्दा कम दशमलवमा रहेका शेयरको सङ्ख्या अधिक छ l नेपालमा वर्षैपिच्छे बोनस जारी गर्ने प्रवृति भएकोले यस्ता खण्डित शेयर निमिट्यान्न हुने सम्भावना देखिन्न l यद्यपी कुनै कम्पनीले अबको पाँच वर्षसम्म वा बोनस शेयर नै जारी नगर्ने मनसाय राखेका छन् भने त्यस्ता कम्पनीले यस्तो अभ्यास गर्नु उत्तम हुनेछ l नेपालमा सञ्चित जगेडा कोषबाट मात्र बाईब्याक गर्न सकिने हुँदा कुनै पनि विधिले प्राप्त प्रिमियमबापतको रकमबाट पनि बाईब्याक गर्न मिल्ने व्यवस्था थप हुनुपर्ने देखिन्छ l भारतमा कुनै पनि तरहले प्राप्त प्रिमियम रकमबाट पनि बाईब्याक गर्न सकिन्छ l त्यस्तै, ऋणपत्र वा अग्राधिकार शेयर फिर्ता जगेडा कोषबाट पनि बाईब्याक गर्न मिल्ने बनाउनु आवश्यक छ l

 

 आभियान दैनिक २०८१ साउन ७ गते 

https://www.abhiyandaily.com/article/baaiibyaaksmbndhii-kaanuunii-vyvsthaa-kaaryaanvynmaa-kin-alml

 

 

Wednesday, July 10, 2024

आफ्नो शेयर आफैले किन्ने बाइब्याक

 नेपालमा कहिले आउला यस्तो व्यवस्था ?

एउटा कथाको सारांशपछि विषयमा प्रवेश गरिनेछ l एक व्यक्ति दलदलमा फसेको रहेछ l त्यही बाटो हिंडिरहेका एक अर्को व्यक्तिले देखेपछि उसलाई निकाल्न ‘हात देउ’, ‘हात देउ’ भन्दै कराएछ l तर, दलदलमा फसेको व्यक्तिले नसुनेको झैँ गरेछ l त्यतिबेलै अरु व्यक्ति पनि आएछन र तिनले दलदलमा फसेको व्यक्तिलाई तान्न खोजिरहेको व्यक्तिलाई ‘उसले दिन जानेको छैन, लिन मात्र जानेको छ, आफ्नो हात उसलाई लेउ भन्नुपर्छ’ भनेछन l सोहीअनुसार तान्न खोज्ने व्यक्तिले ‘मेरो हात लिउ’ भन्नासाथ हात दिएछ l यसरी दलदलमा फसेको व्यक्तिलाई बाहिर निकालिएछ l कथा यत्ति हो, यसको सम्बन्ध पछिल्लो अनुच्छेदमा कतै जोडिनेछ l 

विषय प्रवेश र बाईब्याक 

भारत तथा अन्य देशका शेयरबजारमा सूचीकृत कम्पनीले आफ्नो शेयर आफैँ किन्ने (बाईब्याक) घोषणा गर्नु अनौठो मानिदैन l यो नियमित प्रक्रिया जस्तै हो l सामान्यतया: कम्पनीले शेयर जारी गर्छन l आफू (कम्पनी) ले जारी गरेको आफ्नै शेयर शेयरधनीबाट किन्न पाइन्छ भन्ने सुन्दा नेपालको सन्दर्भमा अनौठो लाग्न सक्छ l तर, अनौठो मान्नुपर्ने कुनै कारण छैन l नेपालमा यस्ता उपकरणको उपयोग गर्नुको सट्टा हुने भए हरेक दिन पुँजी बढाउने थिए l पुँजी बढाउँदा-बढाउँदा त्यही पुँजीले थिच्दा पनि ‘पुँजी नै पुगेन’ भन्ने आलाप बारम्बार सुनिन्छ l ३५ अर्ब रुपैयाँभन्दा बढि पुँजी भएको ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ मा एक प्रतिशत भए पनि पुँजी बढाएरै छाड्यो l ३५ अर्ब रुपैयाँभन्दा बढि पुँजी हुँदा पनि एक प्रतिशत अर्थात ३५ करोड रुपैयाँभन्दा बढि पुँजी बढाउनुपर्ने आधार र कारण केही थिएन, तैपनि बढाए l अपवादलाई छोडने हो भने नेपालका कुनै पनि सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापकलाई पुँजी बढाउनेबाहेक अरु कुरा थाहै छैन भन्दा फरक पर्दैन l नत्र पुँजी घटाउने उपकरण उपयोग गरिहाल्थे वा पुँजी बढाउनुको सट्टा हरेक वर्ष केही रकम सञ्चित कोषमा राख्थे l यस्तो रकमले भविष्यमा आउने पुँजी समस्या समाधान गर्न मद्दत पुर्याउने थियो l 

यहीँनेर आइपुग्दा शुरुको अनुच्छेदमा उल्लेखित कथाको सन्दर्भ जोडिन्छ l कथाको दलदलमा फसेको व्यक्ति जस्तै नेपालका सूचीकृत कम्पनी पनि दलदलमा फसेका छन् l दलदलमा फसेको व्यक्तिलाई बाहिर निकाल्न ‘हात माग्दा’ दिंदैन l तर, तान्ने व्यक्तिले ‘मेरो हात लिउ’ भन्दा एकै झट्कामा दिन्छ l यो कुरालाई पुँजी बढाउने कुरासँग जोडेर हेर्न सकिन्छ l दलदलमा फसेको व्यक्तिलाई बाहिर निकाल्न उसलाई ‘हात देउ’ भन्दा दिंदैन यो भनेको कम्पनीका सञ्चालक तथा व्यवस्थापकले पुँजी मात्र बढाउन खोजेर कम्पनीलाई दलदलमा भास्दै लगे जस्तै हो l तर, पुँजी बढाउने कुरामा भने २४सै घण्टा ध्यानमग्न हुन्छन् l पुँजी बढाउने मात्र हैन, घटाउने पनि वित्तीय उपकरण छ l यस्तो उपकरण उपयोग गर्दा त्यसको फाइदा शेयरधनी र कम्पनी दुबैलाई हुन्छ l पुँजी बढाउँदा शेयरधनी र कम्पनी दुबैलाई हानि मात्र हुन्छ l पुँजी घटाउने यस्तो उपकरणलाई ‘बाईब्याक’ भनिन्छ l इनिसियल पब्लिक अफरिङ्गको ठिक उल्टो बाईब्याकहो l कम्पनी कानुनले तोकेको शर्त पूरा गरी कुनै पनि कम्पनीले आफ्नो शेयर आफैँ किन्न सक्छन l भारतलगायत अन्य देशमा बाईब्याक साधारण कुरा हो l 

किन गर्छन बाईब्याक 

कुनै पनि क्षेत्रका कम्पनीले बाईब्याक गर्नसक्छन l कम्पनीले गरेको आम्दानीबाट शेयरधनीलाई मनग्ग्य लाभांश दिएर पनि सञ्चित कोषमा रकम बढ्दै गएमा त्यस्ता रकम खर्च गर्ने अर्को शीर्षक नहुँदा शेयर बाईब्याकको रणनीति अपनाउन सक्छन l शेयरधनीले धारण गरेको शेयर बजार मूल्यमा केही प्रिमियम थपेर किन्ने हुँदा बजार मूल्यभन्दा माथिको थप रकम शेयरधनीको लागि थप आम्दानी हुन्छ l त्यस्तै, कम्पनीको वित्तीय अवस्था मजबुत हुँदाहुँदै पनि शेयरको आपूर्ति बढी भएको कारण शेयर मूल्यमा कमि आउँदा कम्पनीले शेयर मूल्य बढाउन पनि बाईब्याक गर्न सक्छन l त्यस्तै, विशेष परिस्थिति (जस्तैः २०७२ सालको भूकम्प र २०७६/०७७ को कोरोना) मा मूल्यमा अत्यधिक गिरावट आउन थालेपछि कम्पनीप्रति शेयरधनीलाई विश्वास जगाउन आफ्नो शेयर आफैं किन्छन l शेयर बाईब्याक गर्दा कारण खुलाउनुपर्ने हुँदा कस्ता-कस्ता कारण हुनसक्छन् भन्ने सन्दर्भमा कम्पनी निर्देशिका, २०७२ को दफा ३७(क), (ख) र (ग) मा क्रमशः कुनै समूहले बढीभन्दा बढी शेयर किनेर प्रतिरोधी कब्जा (होस्टाइल बिडर) गर्न खोजेमा, अति सानो सङ्ख्यामा छरिएर रहेका शेयर स्वामित्व (अनइकोनोमिक युनिट) हटाउन दुई प्रतिस्पर्धी कम्पनीमध्ये कुनै एक कम्पनीले अर्को कम्पनीको शेयरको ठूलो हिस्सा खरीद गरी त्यस्तो कम्पनीको व्यवस्थापनमा नियन्त्रण गर्न खोजेको अवस्थामा त्यस्तो प्रतिस्पर्धी कम्पनीको एकाधिकार रोक्नका लागि जस्ता उदाहरण दिएको छ l यसबाहेक अन्य कारण तत्कालिन परिस्थितिमा निर्भर हुन्छ l

बाईब्याकको लागि स्रोत 

आफ्नो शेयर आफैं किन्न पाइन्छ भन्ने बुझिएपछि बाईब्याक गर्ने रकम कहाँबाट आउँछ भन्ने प्रश्न आउन सक्छ l बाईब्याकको लागि कम्पनीले सञ्चित नाफामा रहेको रकम मात्र उपयोग गर्नसक्छन् l सञ्चित नाफाको सम्बन्धमा कम्पनी ऐन, २०६३ को दफा १८२(६) आकर्षित हुन्छ l उक्त दफाअनुसार पूर्व सञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार ह्रासकट्टी गर्नुपर्ने रकम, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरुपमा कट्टा गरिसकेको हुनुपर्छ । यसैको प्रतिवन्धात्मक व्यवस्थामा कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो व्यवस्था पालना गर्नुपर्ने कम्पनीले त्यस्तो जगेडा वा सञ्चित कोष खडा गर्नुपर्छ l कम्पनी ऐनको यस दफामा भएको व्यवस्थाअनुसार रकम बाँडफाँड गरेर बाँकी रहेको रकमलाई सञ्चित नाफा भनिन्छ l यही रकमबाट लाभांश वितरण हुन्छ l लाभांश बाँडेपछि पनि बाँकी रहेको रकम छ भने मात्र बाईब्याक गर्न सकिन्छ l योभन्दा बाहेकको रकमले बाईब्याक गर्न पाइन्न l त्यस्तै, कुनै पनि प्रकारले ऋण लिएर र वैधानिक जगेडामा रहेको रकमबाट पनि बाईब्याक गर्न पाइँदैन l भारतमा शेयर प्रिमियम रकमले बाईब्याक गर्न सकिने व्यवस्था छ l 

नेपालमा बाईब्याक 

नेपालका सूचीकृत कम्पनीले किन बाईब्याक गर्दैनन् भन्ने आम प्रश्न हुनसक्छ l यस्तो प्रश्न स्वाभाविक पनि हो l तर, विडम्बनाको कुरो के छ भने नेपालका सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापक शुरुको अनुच्छेदमा वर्णित कथाको ‘दिन नजान्ने, लिन मात्रै जान्ने’ पात्र जस्तै छन् l यहाँ ‘दिन नजान्ने’ भन्नाले पुँजी घटाउने बाईब्याक उपकरणको कुरै नसुन्ने तर, ‘लिन मात्रै जान्ने’ भन्नाले अलिअलि भएको सञ्चित नाफा रकमलाई वर्षैपिच्छे बोनसमार्फत पुँजीकृत गरिहाल्ने स्वभावका छन् l नेपालका सूचीकृत कम्पनी यस्तै ‘लिन मात्रै जान्ने’ स्वभावले गर्दा वर्षैपिच्छे पुँजीको भारले थिचिईरहेका छन् l नेपालका सूचीकृत कम्पनी एकादुईबाहेक अधिकाँशले बाईब्याक गर्नसक्ने स्थिति छैन l क्षमता भएका कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पनि बाईब्याक गर्नुको सट्टा २० प्रतिशत बोनस शेयर जारी गरेको थियो l तत्काल नेपालका सूचीकृत कम्पनी (खासगरी बैंक) ले यस्ता उपकरण उपयोगमा ल्याईहाल्ने स्थिति छैन, बरु पुँजी बढाएर आधा खर्ब (५० अर्ब) रुपैयाँ हाराहारी पुर्याएको देख्न धेरै वर्ष पर्खिराख्नु पर्दैन l

आर्थिक अभियान

२० असार २०८१ 

https://www.abhiyandaily.com/article/aaphno-sheyr-aaphaile-kinne-baaibyaak-nepaalmaa-khile-aaulaa-ysto-vyvsthaa

सूचीकृत कम्पनीको वर्गीकरण

कुनै पनि चिजवस्तुको वर्गीकरणले त्यसको गुणवत्ताको स्थितिलाई जनाउँछ l नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीको वर्गीकरण गर्ने गरिएको छ l तर, यो वर्गीकरणले कम्पनीको गुणवत्तालाई जनाएको छैन l विद्यमान वर्गीकरण ‘वर्गीकरणको लागि वर्गीकरण’ जस्तो मात्र भएको छ l धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम ६ ले सूचीकृत कम्पनीलाई वर्गीकरणको लागि (क) चुक्ता पूँजी, (ख) सूचीकरण अवधि, (ग) लाभांश वितरण, (घ) रेटिङ्ग, (ङ) नियमनकारी निकायले तोकेको ढाँचामा वित्तिय विवरण राखे/नराखेको र (च) वार्षिक साधारण सभा समयमा सम्पन्न गरे/नगरेको गरि ६ वटा आधार तोकेको छ l

वर्गीकरणको योग्यता 

नियमावलीले दिएको अधिकार उपयोग गरि नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ अनुसार सूचीकृत कम्पनीलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेड’ गरी ४ वर्गमा वर्गीकरण गर्छ l ‘ए’ वर्गमा वर्गीकृत हुनको लागि (१) कम्तिमा १ अर्ब रुपैयाँ चुक्ता पूँजी, (२) सूचीकरण भएको कम्तिमा तीन वर्ष पूरा भएको, (३) तीन आर्थिक वर्ष नाफामा रहेर लाभांश वितरण गरेको, (४) औसत वा सोभन्दा माथिको रेटिङ्ग, (५) नियामकले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, (६) आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा सम्पन्न गरेको जस्ता शर्त पूरा गरेको हुनुपर्छ । त्यस्तै, 'बी' वर्गको लागि (१) कम्तिमा ५० करोड रुपैयाँ चुक्ता पूँजी, (२) सूचीकरण भएको कम्तिमा तीन वर्ष पूरा भएको, (३) तीन आर्थिक वर्षमा कम्तिमा दुई आर्थिक वर्ष नाफा गरेको, (४) कम्तिमा औसतभन्दा एक तह मुनिको रेटिङ्ग, (५) आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र साधारण सभा सम्पन्न गरेको (६) सञ्चित नोक्सानीमा नरहेको जस्ता शर्त पूरा गरेको हुनुपर्छ । जी’ लाई वर्ग नभन्दा पनि हुन्छ, किनभने यस वर्गमा नवसूचीकृत कम्पनी स्वत: पर्छन् l नेप्सेले कम्पनीको वर्गीकरण हरेक त्रैमासिकमा अद्यावधिक गर्छ l कम्पनीको वर्गीकरण गरी त्यसको विवरण सार्वजनिक गरेपछि कुनै कम्पनीलाई उल्लिखित समूह (वर्ग) मा पर्नु नपर्ने भन्ने लागेमा त्यसको कारणसहित ३५ दिन भित्र दावी पेश गर्नुपर्छ l   

शर्तको सान्दर्भिकता 

वर्ग ‘ए’ र ‘बी’ मा वर्गीकृत हुनको लागि तोकिएको पूँजी सर्वाथ अनुचित छ l पूँजीको आधारमा वर्गीकरण गर्नुको कुनै अर्थ देखिन्न l पूँजीले मात्र कम्पनी गतिलो र उत्कृष्ट हुने हैन l चुक्ता पूँजीको सट्टामा नेटवर्थलाई लिनुपर्छ l नेटवर्थ लिँदा सम्पत्ति पुनर्मूल्यांकनबाट सिर्जित कोषलाई बाहेक गरि सञ्चित कोषलाई मात्र लिनुपर्छ l विद्यमान वर्गीकरणअनुसार कम्पनी चाहिँ ‘ए’ वर्गमा छ तर, त्यसको खुद सम्पत्ति (नेटवर्थ) सम्पत्ति पुनर्मूल्यांकनबाट सिर्जित कोषसमेत जोड्दा पनि १ सय ५० रुपैयाँ हुन्न l यसको ठिक विपरित कम्पनी चाहिँ ‘बी’ वर्गमा छ तर, सञ्चित कोषमा रहेको रकमले मात्र नेटवर्थ दोब्बरभन्दा बढी हुन्छ l त्यस्तै, प्रतिशेयर आम्दानी र लाभांश वितरणको इतिहास पनि उल्लेख्य हुन्छ l यस्तो बेलामा कुन कम्पनी ठिक भन्ने अन्योल स्वाभाविकरुपमा आउँछ l यस्तो अवस्थामा वर्गीकरणको औचित्य के रह्यो त ? वर्गीकरणले त्यसको क्रमअनुसारकै सुनिश्चित दिनुपर्ने हैन र ? त्यस्तै, ‘ए’ वर्गको लागि तोकिएको एउटा शर्तमा ‘नियामकले तोकेको ढाँचामा वित्तीय विवरण राखेको’ भन्ने छ l यस शर्तले कुन नियामकको कुरो गरेको हो कतै खुल्दैन l कम्पनी ऐन, २०६३ को दफा १०८(२) मा कम्पनीले दोहोरो लेखाप्रणालीमा आधारित र कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्टरुपमा प्रतिविम्वित हुने गरी प्रचलित कानूनबमोजीम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउण्टीङ्ग स्ट्याण्डर्ड) अनुसार राख्नुपर्ने व्यवस्था छ l त्यसकारण विनियमावलीमा गरिएको ‘नियामकले तोकेको ढाँचामा’ भन्ने व्यवस्थाले कुनै अर्थ दिंदैन l यस्ता अर्थ नभएका विषय उल्लेख गरेर बुँदा बढाउनेबाहेक अरु केही काम गरेको छैन l यही शर्त वर्ग ‘बी’ का लागि तोकिएको छैन l ‘ए’ वर्गको लागि चाहिने तर, ‘बी’ वर्गको लागि नचाहिने भन्ने कुनै तर्क हुन्न l ‘ए’ वर्गमाl पर्नको लागि तोकिएको लाभांश वितरण गरेको भन्ने गोश्वारा वाक्यको सट्टा न्यूनतम १० प्रतिशत नगद लाभांश तोक्नुपर्छ l जुनसुकै नाम दिइएको प्रिमियमबाट बोनस शेयर वितरण गरेर लाभांश दिएँ भन्ने देखाउने प्रवृतिलाई निरुत्साहित गर्न पनि नगद लाभांशलाई प्रोत्साहन गर्नुपर्छ l नगद लाभांशले कम्पनीको नगद प्रवाह स्थितिलाई इङ्गित गर्छ l कम्पनीको सवलता मापन गर्ने एउटा पाटो नगद प्रवाह पनि हो l

योग्यता ‘ए’ वा ‘बी’ बस्नुपर्ने ‘जेड’ 

नवसूचीकृत कम्पनी दुई वर्षसम्म अनिवार्यरुपमा ‘जी’ वर्गमा बस्नुपर्छ l दुई वर्ष पूरा भएपछि कुनै न कुनै गन्तव्यमा जानुपर्ने हुन्छ l यहाँबाट जाने गन्तव्य ‘ए’ र ‘बी’ हो तर, यी दुवै गन्तव्यमा अझ एक वर्षसम्म जान पाइँदैन l किनभने यी दुवै समूहमा जानको लागि सूचीकरण भएको तीन वर्ष पूरा गर्नुपर्छ l योग्यता ‘ए’ वा ‘बी’ को छ तर, एक वर्षको लागि जवर्जस्ती ‘जेड’ समूहमा झारिन्छ l सबै योग्यता पुग्दापुग्दै पनि ‘जेड’ मा बस्नुपर्ने कस्तो नियम बनाएको हो, बनाउनेले पनि पत्तो नपाए झैँ देखिन्छ l पत्तो पाएको भए यस्तो नियम बन्ने नै थिएन l नवसूचीकृत कम्पनीको स्थिति कस्तो थियो भन्ने थाहा नहुने कारण ‘जी’ वर्गमा तीन वर्षसम्म बस्नुपर्ने व्यवस्था राखेको भए केही हदसम्म औचित्य देखिने थियो l ‘ए’ वा ‘बी’ समूहमा पर्नको लागि सूचीकरण भएको दुइ वर्ष अवधि पूरा गरेको शर्त राखिएको भए सो अवधि पूरा गरेपछि आ-आफ्नो गन्तव्यमा लाग्थे l यी कुनै पनि शर्त नहुँदा अब्बल कम्पनी पनि एक वर्षसम्म ‘जेड’ अर्थात् शून्य समूहमा थन्किनु परेको छ l 

गुणवत्ता नदेखाउने वर्गीकरण

सामान्यतया: वर्गीकरणले कम्पनीको उत्कृष्टताको क्रम बताउँछ l ‘ए’ वर्गले सकारात्मक सूचक, सुशासन, नियामकीय अनुपालना गरेको जस्ता कुरा दर्शाउँछ l यस्ता कम्पनीमा लगानी गर्न त्यति धेरै जोखिम छैन भन्ने सङ्केत गर्छ l यसको मतलब यस्ता कम्पनीको शेयरलाई जति मूल्य तिरे पनि हुन्छ भन्ने चाहिँ हैन l मूल्यगत जोखिमलाई आफैँले आंकलन गर्नुपर्छ l ‘बी’ वर्गले ‘ए’ भन्दा अलि बढि जोखिम भन्ने जनाउँछ भने जेड वर्गले ‘ए’ र ‘बी’ वर्गभन्दा बढी जोखिम छ भन्ने जनाउँछ l तर, धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ ले दिएको वर्गीकरणका ६ वटा आधार अर्थहीन भएकाले वर्गीकरणले लगानीकर्तालाई लगानीको लागि कुनै पनि प्रकारको गुणवत्ता दिंदैन l वर्गीकरणको लागि आधार दिने माउ कानुन नै अर्थहीन भएकोले त्यसको अधिनमा बनेको धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले गुणवत्ता दिने कुरै भएन l वर्गीकरणले लगानीको लागि कुनै गुणवत्ता दिन सक्दैन भने वर्गीकरण गर्नुको औचित्य छैन l वर्गीकरण गरेर केही हदसम्म गुणवत्ता दिने हो भने यस्ता कानुनको कुनै अर्थ नहुने हुँदा वर्गीकरणको आधार दिने धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लाई अविलम्ब संशोधन गर्नु आवश्यक छ र सोहीअनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ पनि संशोधन गरि वर्गीकरणलाई यथार्थपरक बनाउनुपर्छ l

 अन्नपूर्ण पोष्ट 

चैत १६, २०८० शुक्रबार

https://www.annapurnapost.com/story/454716/

  

सम्पत्ति प्रतिभूतीकरणको अवधारणा

प्रतिभूतीको समानार्थी शब्द धितोपत्र हो l धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २(च) मा ‘धितोपत्र भन्नाले संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनुपर्छ र सो शब्दले धितोपत्र बजारमार्फत कारोबार हुनसक्ने वा हस्तान्तरण हुनसक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रसमेतलाई जनाउँछ’ भनेको छ l धितोपत्र वा प्रतिभूतीकरण पूँजीबजारसँग सम्बन्धित शब्द हो l पूँजीबजार वा शेयर बजारमार्फत सम्पत्तिलाई प्रतिभूतीकरण गरि तरलिकृत गर्न सकिन्छ l 

प्रतिभूतीकरणको अर्थ 

कुनै पनि बैंक तथा वित्तीय संस्थाको सम्पत्ति भनेको ऋण हो l ऋणको बदलामा ऋणीबाट बैंक/वित्तले साँवा र ब्याज प्राप्त गर्छन l यस्ता साँवा र ब्याज मासिक/त्रैमासिकरुपमा क्रमशः प्राप्त गर्दै जान्छन् l यस्ता ऋण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्रकृतिका हुन्छन् l दीर्घकालीन प्रकृतिका ऋण भुक्तान हुन् लामो समय लाग्छ l बैंक/वित्तले भविष्यमा क्रमशः प्राप्त गर्ने साँवा र ब्याज अर्थात् प्राप्य रकम (रिसिभेबल) लाई बजारमा बिक्रीयोग्य वित्तीय उपकरण बनाएर तत्काल नगद प्राप्त गर्नसक्ने विधि सम्पत्ति प्रतिभूतीकरण हो l सरल शब्दमा ठोसरुपमा रहेको सम्पत्तिलाई तरल सम्पत्तिमा परिणत गर्ने विधि हो। यस्ता सम्पत्तिलाई बिक्रीयोग्य उपकरणमा रुपान्तरण गर्ने कार्य विशिष्टीकृत संस्था (स्पेसल पर्पोज भेहिकल - एसपीभी) ले गर्छन l यस्ता संस्था बैंक/वित्त आफैँले पनि स्थापना गर्न सक्छन वा अन्य संस्था पनि हुन्छन l 

प्रतिभूतीकरण प्रक्रिया 

प्रतिभूतीकरण प्रक्रियाका पाँच चरण हुन्छन l पहिलो चरणमा जोखिम, लाभ र मौद्रिक मूल्यको आधारमा विभिन्न प्रकारका सम्पत्तिलाई पहिचान गरि त्यसलाई ‘एकत्रित’ अर्थात् ‘पुलिङ्ग’ गरिन्छ l दोस्रो चरणमा एसपीभीले यस्ता सम्पत्तिलाई आफ्नो अधिनमा लिएर व्यवस्थापन अर्थात् बिक्रीयोग्य वित्तीय उपकरणमा रुपान्तरण गर्छन् l तेस्रो चरणमा यस्ता सम्पत्तिको जोखिम स्तरअनुसार न्यून, मध्यम र उच्च गरि तीन भागमा वर्गीकरण गरिन्छ l चौथो चरणमा क्रेडिट रेटिङ्ग एजेन्सीबाट ‘ग्रेडिङ्ग; गरिन्छ l रेटिङ्ग एजेन्सीले यस्ता सम्पत्तिलाई ‘ए’, ‘एए’ एएए’ र ‘सीसीसी’ गरि चार प्रकारले ग्रेडिङ्ग (स्तरीकरण) गर्छ l यहाँ ‘ए’ ग्रेड पाएको सम्पत्ति उत्तम र सबैभन्दा सुरक्षित हुन्छ भने ‘सीसीसी’ सबैभन्दा जोखिमपूर्ण हुन्छ l पाँचौं चरणमा एसपीभीले यस्ता सम्पत्तिलाई वित्तीय उपकरण बनाएर लगानीकर्तालाई बिक्री गर्छ l मानौं कुनै १ अर्ब रुपैयाँ बराबरको सम्पत्तिलाई एसपीभीले ६० करोड न्यून, ३० करोड मध्यम र १० करोड रुपैयाँलाई उच्च जोखिम मूल्यांकन गरि वर्गीकरण गरेर लगानीकर्तालाई जारी गरेको रहेछ भने कुनै कारणवश १० करोड रुपैयाँ प्राप्त हुन सकेन भने न्यून र मध्यम जोखिम लिने लगानीकर्ताले केही पनि गुमाउँदैनन् तर, १० करोड रुपैयाँ बराबरको उच्च जोखिम लिएर लगानीकर्ताको लगानी गुम्छ l त्यस्तै, ४० करोड रुपैयाँ प्राप्त हुन सकेन भने ३० करोडको मध्यम र १० करोड रुपैयाँको उच्च जोखिम लिने गर्ने लगानीकर्ताले गुमाउँछन् l यसमा न्यून जोखिम लिनेले थोरै प्रतिफल (ब्याज) पाएका हुन्छन भने मध्यम र उच्च जोखिम लिनेले बढि प्रतिफल (ब्याज) पाएका हुन्छन l 

प्रतिभूतीकरणका फाइदा 

सम्पत्ति प्रतिभूतीकरणको परिचयात्मक चर्चापश्चात यसका फाइदा र बेफाइफाका पक्षमा पनि केही चर्चा गर्नु आवश्यक छ l यसको फाइदा यसमा सङ्लग्न पक्षको आधारमा हेर्न सकिन्छ l यसमा उत्पत्तिकर्ताको रुपमा बैंक/वित्त र लगानीकर्ता गरि मुख्यरुपमा दुई पक्ष हुन्छन l यसबाहेक एसपीभी, मर्चेन्ट बैंक, रेटिङ्ग एजेन्सी, प्रत्याभूतकर्ता र ऋणधारक अन्य पक्ष हुन् l उत्पत्तिकर्ताको रुपमा रहेका बैंक/वित्त र लगानीकर्ता यसका मुख्य लाभकर्ता हुन् l उत्पत्तिकर्ताको रुपमा रहेका बैंकलाई अधिकतम फाइदा हुन्छ l ऋणीले क्रमशः तिर्दै जाने साँवा र ब्याज रकम तुरुन्तै प्राप्त गर्छन l ठोस सम्पत्ति जस्तै स्वरुपमा रहेको प्राप्य रकम (ऋणको साँवा तथा ब्याज) तरल सम्पत्तिमा रूपान्तरण हुन्छ । ऋण असुलीको समय अनिश्चित हुन्छ, दीर्घकालमा नाफा प्राप्त गर्ने कुरा शंकास्पद हुन्छ l तसर्थ, यस्ता हानिबाट बच्नको लागि प्रतिभूतीकरण एउटा उपयुक्त विकल्प हो। अवरुद्ध रहेको पूँजी (ऋण) लाई प्रतिभूतीकरण गर्दा तरलता व्यवस्थापन गर्न सहज हुन्छ l यसको फाइदा वा लाभ उत्पत्तिकर्तालाई मात्र हैन, लगानीकर्तालाई पनि हुन्छ l कुनै पनि वित्तीय उपकरणको फाइदा दुवै पक्षलाई कुनै न कुनै रुपमा हुनुपर्छ l यो करारको सर्वमान्य सिद्धान्त हो l यहाँ पनि उत्पत्तिकर्ता र लगानीकर्ता दुवैबीच अप्रत्यक्षरुपमा करार भएको हुन्छ l हरेक वित्तीय उपकरण जारी हुँदा जारीकर्ता र लगानीकर्ताबीच यस्तो किसिमको अप्रत्यक्ष करार हुन्छ l बजारमा थुप्रै वित्तीय उपकरण जारी हुन्छन् ति सबैले समानरुपमा प्रतिफल र सुरक्षा दिन सक्दैनन् l जस्तै, शेयरमा हरेक वर्ष लाभांश प्राप्त हुन पनि सक्छ नहुन पनि सक्छ l तर, प्रतिभूतीकरण गरिएको वित्तीय उपकरणले अन्य वित्तीय उपकरणभन्दा बढि प्रतिफल र सुरक्षा दिन्छ l 

प्रतिभूतीकरणका चुनौती 

कुनै पनि सम्पत्ति प्रतिभूतीकरणको लागि उचित विश्लेषण र विशेषज्ञताको आवश्यक पर्छ l उचित विश्लेषण नभएको खण्डमा लगानीकर्ताको लागि जोखिम पनि हुनसक्छ। प्रतिभूतीकृत गरिएको बन्डमा समावेश गरिएका सम्पत्तिको बारेमा एसपीभीले पूर्ण जानकारी लगानीकर्तालाई खुलासा नगर्ने हुँदा त्यसमा के कस्ता सम्पत्ति समावेश छन् भन्ने कुरा थाहा हुन्न l प्रतिभूतीकरणको प्रक्रियामा धेरै प्रकारका सम्पत्ति समावेश हुने हुँदा यसमा विभिन्न सम्पत्तिको बुद्धिमानीपूर्वक मिश्रण गर्नुपर्ने हुन्छ l साधारण वा अग्राधिकार शेयर जारी गर्दाभन्दा यस्ता प्रतिभूतीकरण जारी गर्दा तुलनात्मकरुपमा बढि खर्च लाग्छ l प्रतिभूतीकरण गरिएको सम्पत्ति प्राप्य रकम (रिसिभेबल) भएको हुँदा यदि कुनै ऋणीले ऋणको भुक्तान गर्न नसकेमा त्यसको जोखिम लगानीकर्ताले बेहोर्नुपर्छ l 

उत्पत्तिकर्ताले प्राप्य रकम (रिसिभेबल) को रुपमा रहेका सम्पत्तिलाई प्रतिभूतीकरण गरी जारी गर्ने हुँदा यसको जोखिम र लाभ ऋणीमा निर्भर हुन्छ l ऋणी असल परेमा यसको लाभ उच्च र सुरक्षित हुन्छ तर, असल ऋणी पनि विभिन्न कारणले खराब बन्नसक्ने हुँदा उच्च जोखिम तत्त्व अन्तर्निहित रहेको हुन्छ l यद्यपि, सबै ऋणी वा ऋण खराब नहुने हुँदा यसले लगानीकर्ताको लागि उच्च सुरक्षा प्रतिफल दिन्छ l लगानी भन्नेबित्तिकै त्यसमा जोखिम तत्व अन्तर्निहित हुन्छ l यो शाश्वत कुरा हो l उच्च जोखिम लिनसक्नेले नै उच्च लाभ लिने हुन् l प्रतिभूतीकरण प्रक्रिया जटिल र बुझ्न गाह्रो भए पनि यसले बैंक/वित्त र कम्पनीको लागि रकम प्राप्त गर्ने प्रभावकारी तरीका हो । यसले बैंक वा कम्पनीको लेखामा जोखिमको मात्रा घटाउन मद्दत गर्छ । बैंक/वित्तको लागि सम्पत्ति प्रतिभूतीकरण भए जस्तै अन्य क्षेत्रका कम्पनीको लागि ‘फ्याक्टरिङ्ग’ भन्ने अर्को विधि हुन्छ l अन्य क्षेत्रका कम्पनीको लागि भए पनि यसमा बैंक/वित्त समावेश हुन्छन् l कुनै उत्पादनकर्ताले ग्राहकलाई बिक्री गरेको उत्पादनको रकम पछि भुक्तानी गर्न वा उधारोमा दिएंको हुन्छ l कहिलेकाहीँ उत्पादनकर्तालाई तत्काल रकमको खाँचो पर्दा उत्पादनकर्ताले ‘फ्याक्टरिङ्ग’ विधि उपयोग गर्छन l यस्तो अवस्थामा उत्पादनकर्ताले आफ्नो प्राप्य रकम (रिसिभेबल) बैंकलाई बेच्छन् र बैंकले उत्पादनकर्तालाई तुरुन्तै नगद दिएर बैंकले पछि ग्राहकहरुबाट पैसा उठाउँछ । यो पनि एकप्रकारको प्रतिभूती जस्तै विधि हो l 

नेपालमा कहिले ? 

सम्पत्ति प्रतिभूतीकरणको शुरुआत सन् १९७० को दशकमा भएको हो । अमेरिकामा गभर्नमेन्ट नेशनल मोर्टगेज एसोसिएसनले धितोबन्धकको रुपमा रहेका ऋणलाई एकत्रित गरि पुलिङ्ग गरेर प्रतिभूती जारी गर्न शुरुआत गरेको थियो l समयसँगै क्रेडिट कार्ड रिसिभेबल, अटो लोन र शैक्षिक (विद्यार्थी) ऋण जस्ता अन्य प्रकारका सम्पत्ति समावेश गरि प्रतिभूतीकरणलाई विस्तार गरियो l भारतमा सम्पत्ति प्रतिभूतीकरणको प्रक्रिया ९० को दशकको प्रारम्भमा सुरु भयो l क्रेडिट रेटिङ्ग इन्फर्मेसन सर्भिसेज अफ इण्डिया लिमिटेड (क्रिसिल) ले सन् १९९१/१९९२ मा पहिलोपटक रेटिङ गरेर प्रतिभूतीकरण कार्यको शुरुआत गरेको थियो l यतिबेला पूर्णरुपमा प्रतिभूतीकरण शुरु भएको थिएन र आंशिक प्रतिभूतीकरण गरिएको थियो l भारतमा ‘सरफेसी’ भनिने सेक्युरिटाईजेसन एण्ड रिकन्स्ट्रक्सन अफ फाइनान्सियल एसेट्स एण्ड इन्फोर्समेन्ट अफ सेक्युरिटी इन्टरेस्ट एक्ट, २००२ जारी भई विधिवतरुपमा यसको थालनी भएको छ l 

नेपालमा आर्थिक वर्ष ०६४/०६५ को मौद्रिक नीतिमा वित्तीय एवम् अन्य संस्थागत क्षेत्रमा रहेको बढ्दो कर्जा एवम् अन्य सम्पत्तिको पुनःसंरचना गरी त्यस्तो सम्पत्तिउपर उपयुक्त किसिमको धितोपत्र (प्रतिभूती) जारी गरेमा लगानी तथा पूँजीबजारको क्षेत्र विस्तार हुनेगरि प्रतिभूतीकरण (सेक्युरिटाईजेसन) सम्बन्धी कार्य व्यवस्थापन, सञ्चालन एवम् नियमन गर्ने संयन्त्र सम्बन्धमा वित्तीय सम्पत्ति सुरक्षीकरण (प्रतिभूतीकरण) ऐन (फाइनान्सियल प्रोपर्टी/एसेट सेक्युरिटाईजेसन एक्ट)  को मस्यौदा तयार गरी नेपाल सरकारसमक्ष पेश गरिने उल्लेख गरिएको थियो l तर यो कुरो उठेर दोस्रो वर्षदेखि ‘स्यालको सिङ्ग’ हराए झैँ हरायो l नेपालको सन्दर्भमा पनि यो एउटा उपयोगी विधि हुनसक्ने हुँदाहुँदै पनि यससम्बन्धी कानुन निर्माण नहुँदा यसको उपयोग हुन सकेको छैन l यसका लागि सरकारले अविलम्ब सम्पत्ति प्रतिभूतीकरण कानुन निर्माण गरि लागु गर्नु आवश्यक छ l 


अन्नपूर्ण पोष्ट 

चैत ९, २०८० शुक्रबार

https://www.annapurnapost.com/story/454316/

सम्पत्ति व्यवस्थापन कम्पनीको अवधारणा

भारत र नेपालमा गैर-बैंकिङ्ग सम्पत्ति व्यवस्थापनको शुरुआत सँगसँगै भएको देख्न सकिन्छ l नेपालमा मौद्रिक नीति सार्वजनिक हुन् थालेदेखि नै यसको अवधारणाको शुरुआत भएको हो l नेपालमा मौद्रिक नीति सार्वजनिक हुन थालेको आर्थिक वर्ष (आव) २०५९/०६० देखि हो l आव २०५९/०६० को मौद्रिक नीतिमा वित्तीय प्रणालीमा बढ्दै गएको निष्क्रिय कर्जाको समस्या समाधान गरिने सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट) कम्पनीको स्थापनासम्बन्धी कार्य पूरा गरी आगामी आर्थिक वर्षको पूर्वार्द्धमा नै यस्तो कम्पनी स्थापनाद्वारा वित्तीय प्रणालीमा बढ्दै गएको निष्क्रिय कर्जा (नन पर्फर्मिङ्ग लोन) को समस्या समाधानमा सघाउ पुग्ने उल्लेख थियो l बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दो दरमा छ l यसलाई व्यवस्थापन गर्ने निकायको स्थापना गर्ने कुरा मौद्रिक नीतिमा १० वर्षसम्म हरेक वर्ष जस्तै उठ्यो l यससम्बन्धी कानुनको मस्यौदासमेत बनेर अर्थमन्त्रालयमा पनि पुग्यो तर, पनि यसले साकार रुप लिन सकेन l 

भारतमा यही बेला यस्ता निस्क्रिय कर्जा व्यवस्थापनका लागि छोटकरीमा ‘सरफेसी’ भनिने सेक्युरिटाईजेसन एण्ड रिकन्स्ट्रक्सन अफ फाइनान्सियल एसेट्स एण्ड इन्फोर्समेन्ट अफ सेक्युरिटी इन्टरेस्ट एक्ट, २००२ जारी भएको थियो l भारतमा स्थापित सम्पत्ति व्यवस्थापन कम्पनीलाई बोलीचालीमा ‘ब्याड बैंक’ भनिए पनि यसको आधिकारिक नाम ‘नेशनल एसेट रिकन्स्ट्रक्सन कम्पनी लिमिटेड’ (एनएआरसीएल) हो l यसलाई सहयोग पुर्याउन ‘इण्डिया डेट रेजुलेशन कम्पनी लिमिटेड’ (आईडीआरसीएल) नामक अर्को कम्पनी खडा गरिएको छ l यी दुबैको संयुक्त स्वरूपलाई ‘ब्याड बैंक’ भनिन्छ l एनएआरसीएलले बैंकसँग खराब कर्जा किन्छ भने आईडीआरसीएलले यस्ता सम्पत्तिको व्यवस्थापन गर्छ l यस्ता संस्था कम्पनी कानुनअनुसार दर्ता हुन्छन र नियमन केन्द्रीय बैंकले गर्छ l यी कम्पनीले बैंकबाट निष्क्रिय कर्जा (नन पर्फर्मिङ्ग लोन) खरिद गर्छन् र त्यसपछि ऋण पुनर्संरचना, व्यवसाय पुनर्जीवन, सम्पत्ति बिक्री वा अन्य रणनीति अपनाएर व्यवस्थापन गर्ने काम गर्छन्। 

एएमसीको कार्य प्रणाली

सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) वा ब्याड बैंक वित्तीय संस्था हो l यसले बैंक/वित्तीय संस्थाबाट निष्क्रिय कर्जा केही मूल्य तिरेर खरिद गरि त्यसलाई उचित तवरले व्यवस्थापन गर्छ l भारतमा एनएआरसीएलले शुरुमै १५ प्रतिशत रकम उपलब्ध गराएर बैंक/वित्तबाट निस्क्रिय सम्पत्ति किन्छ र आईडीआरसीएललाई त्यस्तो सम्पत्ति व्यवस्थापन गर्ने जिम्मा दिन्छ l आईडीआरसीएलले बाँकी रहेको ८५ प्रतिशतको सेक्युरिटी रिसिटकोरुपमा उपलब्ध गराउँछ l बैंक/वित्तले यसरी केही मूल्य लिई सम्पत्ति बिक्री गरेपछि त्यस्ता सम्पत्तिलाई वासलातबाट हटाउँछन् l एएमसीले यसरी सम्पत्ति प्राप्त गरेपछि त्यस्तो सम्पत्ति (ऋण) को पुनर्संरचना गर्ने, ऋणधारकको व्यवसायलाई पुनर्जीवन दिने वा बिक्री गर्ने गर्छन l यस्ता सम्पत्ति पुनर्संरचना वा बिक्री गरि रकम प्राप्त गर्छन l यसरी प्राप्त रकम एएमसीले बैंक/वित्तसँग गरेको सम्झौताअनुसार नाफाको बाँडफाँड गर्छन l एएमसीले उल्लेखित कार्यबाहेक त्यस्ता सम्पत्तिको प्रतिभूतिकरण (सेक्युरिटाईजेसन) गरेर पनि रकम प्राप्त गर्नसक्छन l यस्ता निस्क्रिय कर्जाको सुरक्षणको रुपमा रहेका सम्पत्तिलाई प्रतिभूतिकरण गर्दा निस्क्रिय कर्जाको व्यवस्थापन मात्र नभएर धितोपत्र बजारको लागि नयाँ वित्तीय उपकरण पनि बन्छ l यस्ता सम्पत्ति प्रतिभूतिकरण गरि बोण्ड जारी हुनसक्छ l बोण्डलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ l यस्ता खराब सम्पत्तिको व्यवस्थापनमा ऋणधारकले पर्याप्त सहयोग नगरेमा अन्य आवश्यक कानुनी प्रक्रियामा जान सक्छन l

एएमसीको रणनीति 

एएमसीले सम्पत्ति प्राप्त गरेपछि धारकसँग ऋणको पुनर्संरचना र भुक्तानी शर्तबन्देजमा पुनरावलोकन जस्ता विषयमा छलफल गर्छ l यसमा धारकलाई ऋण चुक्ता गर्न थप सम्भाव्य बनाउनको लागि भुक्तानी अवधि बढाउन, ब्याज दर घटाउने वा ऋण चुक्ता गर्ने तालिका परिमार्जन गर्ने जस्ता विषय पर्छन् l धारकलाई आफ्नो ऋणको बाँकी किस्ता (बक्यौता रकम) एकमुष्ट भुक्तानी गर्ने विकल्पसमेत दिनसक्छ l यस्तो गर्दा वास्तविक तिर्नुपर्ने कुल रकमभन्दा कम हुन्छ। यो दुबै पक्ष (धारक र बैंक) को लागि उत्तम विकल्प बन्नसक्छ l समस्यामा परेको ऋण धारक कम्पनीको स्वामित्व परिवर्तन गराई नयाँ सञ्चालक समिति र व्यवस्थापकीय नेतृत्व परिवर्तनसमेत गराउँछ l यसो गर्दा विशेषज्ञता भएका नयाँ प्रवर्द्धक वा व्यवस्थापन टोलीले व्यवसायलाई पुनरुत्थान गर्नसक्छन l वित्तीय तथा व्यवस्थापकीय सहयोग दिएर समस्याग्रस्त व्यवसायलाई पुनर्जीवन दिन पनि सक्रियतापूर्वक लागिरहन्छन l आफूले मात्र वित्तीय सहयोग दिएर नपुग्ने भएमा प्राइभेट इक्विटी कम्पनी, अन्य रणनैतिक साझेदार वा व्यवसायिक अवसर खोजिरहेका व्यवसायिक संस्था/व्यक्तिलाई सहभागि गराएर पूँजी थप गराई  यसको पुनरुत्थान गर्नसक्छ।

धारकसँगको छलफलबाट पुनरुत्थान प्रयास असफल भएमा सुरक्षणबापत राखिएको सम्पत्ति कब्जामा लिई त्यसलाई बिक्री गर्ने प्रक्रिया शुरु गरिन्छ l एएमसीले यस्ता खराब बनेका सम्पत्ति (ऋण) व्यवस्थापन गर्न सक्षमता भएका अन्य संस्था (लगानीकर्ता) लाई हस्तान्तरणसमेत गर्न सक्छन l यसो गर्दा एएमसीले अन्य समस्याग्रस्त सम्पत्तितर्फ ध्यान दिन सक्छन l ऋण धारक र ऋणदाता दुबैलाई लाभदायक हुने किसिमको समाधान निकाल्न संयुक्त उपक्रम (जोइन्ट भेञ्चर), रणनीतिक साझेदारी, वा सम्पत्तिको सह-विकास जस्ता विषय समावेश हुनसक्छ। सहज र सरल तरिकाले समस्याग्रस्त सम्पत्तिको व्यवस्थापन गर्न धारकसँग गरिएका छलफलमा धारक (ऋणी कम्पनी/व्यक्ति) असहयोगी बनेको खण्डमा विभिन्न कानुनी प्रक्रियामा जान्छन् l यसमा दामासाहीको प्रक्रिया शुरु गर्ने, मुद्दा दायर गर्ने वा अन्य कानुनी उपचार खोज्छन् l सम्पत्ति व्यवस्थापन गर्ने क्रममा यस्ता समस्याग्रस्त सम्पत्तिप्रति सम्भावित लगानीकर्ताको आकर्षण बढाउन विभिन्न प्रयास पनि गर्छन् l 

एएमसीको कोष

एएमसीले समस्याग्रस्त सम्पत्ति प्राप्ति गरि त्यसको व्यवस्थापन गर्छ भन्ने कुरो बुझिएपछि त्यस्तो सम्पत्ति प्राप्ति गर्न रकम कसरी कहाँबाट प्राप्त गर्छ भन्ने सामान्यतया प्रश्न आउन सक्छ l यस्ता कम्पनीको पहिलो स्रोतको रुपमा यसको शेयर पूँजी हुन्छ l यस्ता कम्पनीको शेयरधनीको रुपमा बैंक आफैँ, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी, इन्भेस्टमेन्ट कम्पनी र व्यक्ति आदि हुन्छन् l एनएआरसीएलमा क्यानरा, एसबीआई, पन्जाब नेशनल, बैंक अफ महाराष्ट्र, बैंक अफ बरोदा, आईडीबीआई, आईसीआईसीआई, एक्सीस, एचएफडीसी बैंकसहित १५ वटा बैंकले शेयर लगानी गरेका छन् l क्यानरा बैंकको सबैभन्दा बढि १२ प्रतिशत शेयर लगानी रहेको छ l आईडीबीआई, आईसीआईसीआई, एक्सीस, एचएफडीसी निजी क्षेत्रका बैंक हुन् l स्वपूँजीबाहेक बोण्ड र डिवेञ्चर जस्ता वित्तीय उपकरण जारी गरेर पनि पूँजी जुटाउन सक्छन l त्यस्तै, बैंक/वित्तीय संस्थाबाट कर्जा लिन पनि सक्छन l त्यस्तै, सङ्कटग्रस्त सम्पत्तिलाई प्रतिभूतीकरण (सेक्युरिटाईजेसन) गरेर पूँजीबजारबाट पनि रकम उठाउन सक्छन l यसका अतिरिक्त विदेशी लगानी पनि ल्याउन सक्छन l तर, यस्तो लगानी ल्याउनु अघि नियामकीय स्वीकृति लिनुपर्ने भएमा सो आवश्यक हुन्छ l एएमसीले रकम जुटाउन विशिष्टीकृत संस्था अर्थात स्पेशल पर्पोज भेहिकल (एसपीभी) समेत गठन गर्न सक्छन l यस्ता एसपीभीले प्रतिभूती (जस्तै बोण्ड) जारी गरेर रकम जुटाउने गर्छन l बैंक/वित्तीय संस्थासँग पनि साझेदारी गरेर रकम प्राप्त गर्नसक्छन l एएमसीले सङ्कट/समस्याग्रस्त सम्पत्तिको व्यवस्थापनबाट आर्जित गरेको नाफा रकम पनि कोषको रुपमा रहन्छ l  

एएमसीका चुनौती 

समस्याग्रस्त बनेको अरुको सम्पत्ति किनेर त्यसलाई व्यवस्थापन गर्ने कार्य पक्कै पनि सहज र सरल छैन/हुन्न l त्यसैले यस्ता कम्पनीका लागि चुनौतिको पहाडै हुन्छ l बजार तथा सम्पत्तिको अवस्थाले सम्पत्तिको वास्तविक मूल्य निर्धारण गर्नु एएमसीको लागि चुनौतीपूर्ण कार्य हुन्छ l कानुनी प्रक्रिया अलि जटिल हुने कारणले गर्दा कानुनी कामकारवाहीमा हुने ढिलाइले सङ्कटग्रस्त सम्पत्ति पुस्थापना समयमै पूरा हुन सक्दैन l ऋण पुनर्संरचना वा अन्य रणनीतिको लागि ऋण धारकको सहयोग प्राप्त गर्न गाह्रो हुनसक्छ । आर्थिक मन्दी, ब्याज दरको उतार-चढावले सङ्कटग्रस्त सम्पत्ति प्राप्ति र पुनस्थापना गर्दाको बेलाको मूल्यले पनि सकारात्मक/नकारात्मक असर गर्न सक्छ। सङ्कटग्रस्त व्यवसायलाई पुनर्जीवित गर्न व्यवसाय व्यवस्थापन र सञ्चालनमा विशेषज्ञता चाहिन्छ । यस्तो विशेषज्ञता प्राप्त गरि व्यवसायलाई पुनर्जीवन दिन कठिनाई उत्पन्न हुन्छ l आर्थिक अनिश्चितताको समयमा लगानीकर्ताको मनोबल कम्जोर बन्ने हुँदा यस्ता समस्याग्रस्त सम्पत्ति प्राप्त गर्न रकम जुटाउन कठिनाइको सामना गर्नुपर्छ l समस्याग्रस्त सम्पत्तिको व्यवस्थापन गर्न कानुनी कार्यवाही तथा धारकसँगको छलफलमा अपेक्षितभन्दा बढी समय लाग्छ l

एएमसीको आवश्यकता 

एएमसीको आवश्यकताको बारेमा जति चर्चा गरिए पनि यसको स्थापना गर्ने कार्यमा सरकार र केन्द्रीय बैंकले चासो देखाएको छैन l यस्ता कम्पनी स्थापना गर्ने कि नगर्ने भन्ने विषयमा आलोचना पनि हुने गरेको छ l यस्ता कम्पनीले खराब ऋण (सम्पत्ति) व्यवस्थापन गरिदिने भएपछि जथाभावी लगानी हुँदा अहिलेको तुलनामा खराब कर्जामा बढोत्तरी हुन्छ, त्यसकारण यस्ता कम्पनी आवश्यक छैन भन्ने मत पनि छ l एउटा संस्था (बैंक) को समस्या बनेको खराब सम्पत्ति अर्को कम्पनीमा सार्नु समाधान हैन भन्ने तर्क पनि छन् l खराब सम्पत्ति व्यवस्थापन गर्न यस्ता कम्पनीले हात हाल्नेबित्तिकै खराब भएको सम्पत्ति ‘असल’ भईहाल्छ भन्ने पनि हैन l सबै सम्पत्ति खराब हुन्छ भन्ने पनि हैन l आर्थिक मन्दी, ब्याजदरमा हुने उतारचढाव आदिले ऋण खराब बन्न पुग्छ l यस्ता खराब भएका सम्पत्ति व्यवस्थापन गर्न विशिष्टीकृत कानुन र अर्को कम्पनी वा निकाय हुँदा सहजता हुन्छ l ऋणदाता निकाय (बैंक) ले खराब बनेको कर्जा असुली प्रक्रियामा आफैं लाग्नुभन्दा अर्को निकायलाई जिम्मा दिँदा विशिष्टीकृत किसिमको सेवा प्राप्त हुन्छ l गरिएको लगानी खराब भएपछि त्यसको असुली प्रक्रियामा वर्षौसम्म लाग्दा त्यसबाट लाभभन्दा हानि नै बढि हुनसक्छ l यस्तो अवस्थामा एएमसीलाई जिम्मा दिँदा तुलनात्मकरुपमा केही लाभ हुनसक्छ l हरेको कुराको पक्ष र विपक्ष हुन्छ l पक्ष र विपक्ष नहुने हो भने त्यसको अस्तित्व पनि रहन्न l विपक्षमा आएको तर्कले पक्षलाई झन् मजबुत बनाउँछ l भारतमा अर्थमन्त्री निर्मला सीतारमणले शुरुआत गरेको खराब बैंक (एएमसी) को अवधारणालाई नेपालमा पनि आत्मसात गरि केही छूट र सहुलियत दिएर भए पनि यथाशीघ्र कार्यान्वयनमा ल्याउनु आवश्यक छ l 


अन्नपूर्ण पोष्ट

फागुन २९, २०८० मंगलबार

https://www.annapurnapost.com/story/453710/

 

सम्पत्ति व्यवस्थापन र प्रतिभूतीकरण

नेपालका बैंक तथा वित्तीय संस्था पूँजीले थालिएसँगै गैर-बैंकिंङ्ग सम्पत्तिले समेत थलिएका छन् l पूँजीको भार र गैर-बैंकिङ्ग सम्पत्तिलाई उचित तवरले थान्को लाउन सकिएन भने धेरै बैंक तथा वित्तीय संस्था चल्नै नसक्ने गरि थला पर्ने स्थिति देखिन थालेको छ l कतिपय समस्या बैंक आफैंले निम्त्याएका छन् भने कतिपय समस्या केन्द्रीय बैंकले लादेको नीतिले भन्दा फरक पर्दैन l बैंक तथा वित्तीय संस्थाले पर्याप्त नगद प्रवाह नहुँदा नहुँदै पनि शेयरधनीलाई केही दिनैपर्छ भन्दै बोनस शेयर जारी गरेर कम्पनीलाई पूँजीको भारी बोकाएर थला पारेका छन् l कम्पनी पहिले कि शेयरधनी पहिले भन्ने प्रश्नमा पहिले कम्पनी अनि शेयरधनी हुनुपर्नेमा सूचीकृत कम्पनी सञ्चालकले पहिले शेयरधनी भन्ने मान्यता बनाउँदा अहिले कम्पनी र शेयरधनी दुवै भड्खालोमा जाकिएका छन् भन्दा फरक पर्दैन l बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दो दरमा छ l यसलाई व्यवस्थापन गर्ने निकायको स्थापना गर्ने कुरा मौद्रिक नीतिमा १० वर्षसम्म हरेक वर्ष जस्तो उठ्यो l यससम्बन्धी कानुनको मस्यौदासमेत बनेर अर्थमन्त्रालयमा पनि पुग्यो तर, पनि यसले साकार रुप लिन सकेन l सम्पत्ति व्यवस्थापन कम्पनीको कुरो सँगसँगै आएको सम्पत्ति प्रतिभूतिकरण गरि धितोपत्र बजारको एउटा उपकरण बनाउने कुरो पनि एकपटक उठेर सेलाएको छ l विद्यमान परिस्थितिमा सम्पत्ति व्यवस्थापन र प्रतिभूतिकरणसम्बन्धी कानुनको टड्कारो आवश्यकता बनेको छ l 

विषय उठान र पूँजी संरचना 

आर्थिक वर्ष (आव) २०५९/०६० जारी भएको पहिलो मौद्रिक नीतिमै वित्तीय प्रणालीमा बढ्दै गएको निष्क्रिय कर्जाको समस्या समाधान गरिने उल्लेख थियो l आगामी आर्थिक वर्षमा वित्तीय पुनर्संरचना र सुधार कार्यक्रमलाई निरन्तरता दिई छिटो, छरितो र सुलभ वित्तीय सेवामार्फत उद्योग व्यवसायलाई राहत, सुविधा तथा प्रोत्साहन गरिने र सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) को स्थापनासम्बन्धी कार्य पूरा गरी आगामी आर्थिक वर्षको पूर्वार्द्धमा नै यस्तो कम्पनी स्थापनाद्वारा वित्तीय प्रणालीमा बढ्दै गएको निष्क्रिय कर्जा (नन पर्फर्मिङ्ग लोन) को समस्या समाधानमा सघाउ पुग्ने उल्लेख थियो l तर, यस्तो व्यवस्था नीतिमै सिमित रह्यो र यसले मूर्तरूप लिन सकेन l 

अघिल्लो आवको मौद्रिक नीतिले भने अनुसारको काम हुनुको सट्टा आव २०६०/०६१ को मौद्रिक नीतिमा पनि सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गरिने कुरो आयो l यस वर्षको नीतिमा बैंकिङ्ग क्षेत्रमा रहेको बढ्दो निष्क्रिय कर्जालाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि विशेष ऐनको आवश्यकता भई सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी कानूनको मस्यौदा तर्जुमा गरी तत्कालिन श्री ५ को सरकार, अर्थ मन्त्रालयमा पठाइसकिएको उल्लेख गरियो l अर्थ मन्त्रालयमा प्रेषित कानुनको मस्यौदामा शेयर संरचनाको समेत उल्लेख गरिएको थियो l प्रस्तावित सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनार्थ आवश्यक पूँजी जुटाउने क्रममा तत्कालिन श्री ५ को सरकारको ४० प्रतिशत, नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बाँकी ५० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट पूँजी लगानी गर्ने सहमति भएको मौद्रिक नीतिमै उल्लेख गरिएको थियो l 

सरकारले जारी गरेको आव २०६०/०६१ को बजेट वक्तव्यमार्फत वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको जोखिम कम गरी त्यस्ता संस्थाहरुको वित्तीय क्षमता सुदृढ गर्न सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनार्थ १५ करोड रुपैयाँ विनियोजन गरेको थियो l यसै वर्ष नै यस्तो कम्पनी स्थापना गर्ने गृहकार्य भईरहेको बेहोरा मौद्रिक नीतिमा उल्लेख गरिएको थियो l बजेट वक्तव्यमै वित्तीय क्षेत्रको सुधारका लागि सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी कानुन ६ महिनाभित्र तर्जुमा गरिने र यसबाट निकट भविष्यमै यस कम्पनीको स्थापना भई बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कर्जाको मात्रा घटाउन सघाउ पुग्न जाने उल्लेख थियो l 

बिरालो बाँध्न शुरुआत 

आव २०६१/०६२ को बजेटमा रकमसमेत विनियोजन गरिएको मौद्रिक नीतिले शेयर संरचनाको प्रारूपसमेत उल्लेख गरिएको मस्यौदा कानुन बन्न सकेन l आव २०६१/०६२ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय क्षेत्रको कारोबारलाई स्वस्थ, सुरक्षित एवम् प्रगाढ पार्न बैंक तथा वित्तीय संस्थासम्बन्धी कानूनी संरचनालाई समयानुकूल, सबल र सहज तुल्याउन आवश्यक सम्पत्ति व्यवस्थापन निगम अध्यादेश, मुद्रा शुद्धिकरण नियन्त्रण अध्यादेश, सुरक्षित कारोबार अध्यादेश र दामासाहीसम्बन्धी अध्यादेशका मस्यौदा तयार गरी तत्कालिन श्री ५ को सरकारमा पेश गरिसकिएकोमा तत्कालिन श्री ५ को सरकारले आर्थिक वर्ष २०६१/६२ को आय-व्ययको सार्वजनिक जानकारी वक्तव्यमार्फत सुरक्षित कारोबार, दामासाही र मुद्रा शुद्धिकरण नियन्त्रण सम्बन्धी कानूनी व्यवस्था तर्जुमा गरी यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरिसकेको उल्लेख गरिएको थियो l अघिल्ला वर्षको मौद्रिक नीति र बजेटमा तत्कालै स्थापना हुन्छ भनिएको सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी कानुन पनि बनेन र यस्तो कम्पनी स्थापना पनि भएन l संसदबाट कानुन नबनेका कारण सम्पत्ति व्यवस्थापनसम्बन्धी कानुनको आवश्यकतालाई पूरा गर्न अध्यादेश जारी गरिने उल्लेख गरिएकोमा त्यो पनि हुन सकेन l सम्पत्ति व्यवस्थापनसम्बन्धी निकायको स्थापना गरिनेछ भन्ने वाक्यांश ‘बिरालो बाँधे’ जत्तिकै हुनथाल्यो l यसैको निरन्तरतास्वरूप आव २०६२/६३ को मौद्रिक नीतिमा निष्क्रिय कर्जाको उच्च अनुपातमा कमी ल्याउन तथा कर्जा असूलीमा प्रभावकारी सुधार ल्याउन ऋण असूली न्यायाधीकरणलाई सुदृढीकरण गरिनुका साथै सम्पत्ति व्यवस्थापन निगम (कम्पनी) को स्थापना गर्नेतर्फ आवश्यक कदम चालिनेछ भनेर बिरालो बाँधियो l  

प्रतिभूतिकरणको नयाँ अध्याय

आव २०६३/०६४ सालमा जारी गरिएको मौद्रिक नीतिमा ठूलो परिमाणमा रहेको निष्क्रिय कर्जा वित्तीय क्षेत्रको विकास तथा स्थायित्वको लागि प्रमुख चुनौतीको रूपमा रहेकोले सरकारको समेत सहयोग प्राप्त गरि सम्पत्ति व्यवस्थापनसम्बन्धी कम्पनी स्थापना गर्ने कार्य अघि बढाईने उल्लेख गरिएको थियो l यस अघि नै सरकारले रकम विनियोजन गरेको कुरो हराएर ‘सरकारकै सहयोग’ मा भन्ने उल्लेख भएको थियो l आव ०६४/०६५ को मौद्रिक नीतिमा सम्पत्ति व्यवस्थापन कम्पनीको कुरा छोडेर वित्तीय एवम् अन्य संस्थागत क्षेत्रमा रहेको बढ्दो कर्जा एवम् अन्य सम्पत्तिको पुनःसंरचना गरी त्यस्तो सम्पत्तिउपर उपयुक्त किसिमको धितोपत्र जारी गरेमा लगानी तथा पूँजीबजारको क्षेत्र विस्तार हुनेगरि प्रतिभूतिकरण (सेक्युरिटाईजेसन) गरिने नयाँ विषयको उठान गरिएको थियो l यो विषय पनि सम्पत्ति व्यवस्थापनको लागि अर्को वैकल्पिक उपाय बन्नसक्थ्यो l यसलाई कार्यान्वयनमा ल्याउनु निस्क्रिय कर्जाको व्यवस्थापन मात्र नभएर धितोपत्र बजारको लागि पनि नयाँ अनुभव बन्नेथियो l तर, यो विषय पनि एक वर्ष कुरो उठ्यो दोस्रो वर्षदेखि ‘स्यालको सिङ्ग’ हराए झैँ हरायो l यस (प्रतिभूतिकरण) सम्बन्धी कार्य व्यवस्थापन, सञ्चालन एवम् नियमन गर्ने संयन्त्र सम्बन्धमा वित्तीय सम्पत्ति सुरक्षीकरण (प्रतिभूतिकरण) ऐन (फाइनान्सियल प्रोपर्टी/एसेट सेक्युरिटाईजेसन एक्ट)  को मस्यौदा तयार गरी नेपाल सरकारसमक्ष पेश गरिने उल्लेख गरिएको थियो l सम्पत्ति व्यवस्थापन कम्पनीभन्दा फरक तरिकाले सम्पत्ति व्यवस्थापन गरिने विषय उठान हुनुले बोण्ड मार्केटमा नयाँ आयाम सिर्जना हुनसक्थ्यो l सम्पत्तिको प्रतिभूतिकरण (फाइनान्सियल प्रोपर्टी/एसेट सेक्युरिटाईजेसन) गर्दा बोण्ड जारी हुनसक्थ्यो l बोण्ड लगानीको हिसाबले सुरक्षित उपकरण भएको हुँदा यसले संस्थागत लगानीकर्तालाई लगानीको नयाँ क्षेत्र दिनसक्थ्यो l  यसपछिको कुनै पनि मौद्रिक नीतिमा प्रतिभूतिकरणले स्थान पाउँदै पाएन l आव २०६७/०६८ को मौद्रिक नीतिमा वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत ऋण असुली न्यायाधिकरण तथा कर्जा सूचना केन्द्रको सुदृढीकरण गर्ने कार्यलाई यस वर्ष पनि कार्यान्वयन गरिंदै लगिने र साथै, बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जामा सुधार ल्याउन निजी क्षेत्रको सहभागितामा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न प्रोत्साहन गर्ने नीति लिइने कुरा उल्लेख गरेर फेरी नयाँ काम गर्न खोजे जत्तिकै गरियो l आव २०६८/०६९ मा पनि अघिल्लो वर्षको झैँ  बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जामा सुधार ल्याउन निजी क्षेत्रको सहभागितामा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न प्रोत्साहन गरिने पूरानै कुरा उल्लेख गरेर बिरालो बाँधियो l 

हिताधिकारी नै उदासिन  

२० वर्षभन्दा अघि नै सम्पत्ति व्यवस्थापनसम्बन्धी विषयमा सक्रिय देखिएको सरकार र केन्द्रीय बैंक अहिले भने पूरै निस्क्रिय भएका छन् l सम्पत्ति व्यवस्थापनसम्बन्धी निकायको सञ्चालन, व्यवस्थापन र नियमन आदिको विषयमा कानुनको मस्यौदासमेत बनिसकेको अवस्थामा यस विषयलाई किन ओझेल पारियो सरकार र केन्द्रीय बैंक दुवैसँग उचित जवाफ छैन l सम्पत्ति व्यवस्थापनको कुरो आव २०६८/०६९ सालसम्म बिरालो बाँधे झैँ मौद्रिक नीतिमा आइरहेको थियो l यसपछिका १० वर्षभन्दा बढिको समयमा यस सम्बन्धमा एक शब्द पनि परेन l २२ वर्षे मौद्रिक नीतिमा एकपटक आव ०६४/०६५ मा वित्तीय सम्पत्ति प्रतिभूतिकरण (फाइनान्सियल प्रोपर्टी/एसेट सेक्युरिटाईजेसन) गर्ने अर्को विषय उठ्यो र यससम्बन्धी कानुनको मस्यौदा सरकारसमक्ष पेश गरिने उल्लेख गरियो l तर, उक्त कानुनको मस्यौदा बन्यो कि बनेन केन्द्रीय बैंकलाई मात्र थाहा होला l सम्पत्ति व्यवस्थापन कम्पनी र सम्पत्ति प्रतिभूतिकरण दुबैका मुख्य हिताधिकारीकारुपमा रहेका बैंक तथा वित्तीय संस्थाका नेतृत्व तह र सञ्चालक पनि बेखबर देखिनु अचम्मलाग्दो छ l नेपालका बैंक तथा वित्तीय संस्थाका नेतृत्व तह र सञ्चालकले वर्षैपिच्छे पूँजी बढाउनबाहेक अरु केही जानेको देखिएन l 

भारतमा सेक्युरिटाईजेसन एण्ड रिकन्स्ट्रक्सन अफ फाइनान्सियल एसेट्स एण्ड इन्फोर्समेन्ट अफ सेक्युरिटी इन्टरेस्ट एक्ट, २००२ जारी भएको थियो l यसैको अधिनमा रहेर अहिले भारतमा २९ वटा यस्ता कम्पनी स्थापना भएका छन् l भारत सरकारको मुख्य स्वामित्व रहेको क्यानारा बैंकको सहभागितामा सन् २०२१ मा सम्पत्ति व्यवस्थापनसम्बन्धी नेशनल एसेट रिकन्स्ट्रक्सन कम्पनी लिमिटेड स्थापना भएको छ l नेपालमा पनि यस्तो कम्पनी स्थापना गर्न ढिलाई भईसकेको हुँदा यथाशिघ्र आवश्यक पर्ने कानुन अध्यादेशबाट जारी गरेर भए पनि स्थापना गर्नुपर्छ l 

अन्नपूर्ण पोष्ट 

फागुन २२, २०८० मंगलबार

https://www.annapurnapost.com/story/453279/

सेयर धितो कर्जामा अवाञ्छित सीमाको सुरुआत

मौद्रिक नीति सार्वजनिक हुन थालेको २२ वर्ष पूरा भएको छ l आर्थिक वर्ष (आव) २०६५/०६६ को मौद्रिक नीतिदेखि शेयर धितो कर्जाले स्थान पाउनु शेयरलाई सम्पत्तिको रुपमा ग्रहण वा स्वीकार गरिनु हो l शेयर जोखिमयुक्त सम्पत्ति भए पनि यसले निश्चित मूल्य बोकेको हुन्छ l जोखिमयुक्त सम्पत्ति भएकै कारण यसको मूल्यांकन गर्दा निश्चित कारोबार दिनसम्मको औसत वा पछिल्लोमध्ये कुनै एउटा मूल्य लिने गरिएको हो र त्यसको पनि निश्चित प्रतिशत रकम मात्र कर्जाको रुपमा प्रवाह गरिन्छ l तर, पछिल्लो समयमा अवाञ्छित किसिमका सीमा लगाईएको छ l मौद्रिक नीतिमा शेयर धितो कर्जाका सम्बन्धमा के कस्ता व्यवस्था गरिएको छ, यसैको विषयमा मौद्रिक नीतिका २२ वर्षे अवधिलाई पाँच वर्षको अन्तराललाई एक खण्ड मानी यसको विषयमा चर्चा गरिन्छ l 

तेस्रो पाँच वर्ष

तेस्रो पाँच वर्ष अन्तर्गत २०६९/०७० देखि २०७३/०७४ सम्मको अवधिलाई लिइएको छ l आव  २०६९/२०७० को मौद्रिक नीतिमा शिथिल रहेको शेयरबजारमा सुधारको सङ्केत देखिन थालेको, कर्जाका ब्याजदर क्रमशः घट्दो क्रममा रहेकाले लगानीको वातावरण थप अनुकूल हुँदै गएको उल्लेख छ l त्यस्तै, शेयरको मूल्यमा आउने उतार-चढावले लगानीकर्ताको मनोबल गिर्नुको साथै आर्थिक स्थायित्वमासमेत प्रतिकूल असर पर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी मार्जिन प्रकृतिको कर्जा नवीकरण तथा मार्जिन कलसम्बन्धी व्यवस्थामा केही लचिलो नीति अवलम्बन गरिएको थियो। सो अनुसार, बैंक तथा वित्तीय संस्थाले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जामा सरलीकरण गरी विगत १ सय ८० दिनको औसत शेयर मूल्य वा पछिल्लो बजार मूल्य, जुन कम छ सो रकमको आधारमा बैंक तथा वित्तीय संस्था आफैँले कर्जामा हुने जोखिम न्यूनीकरण हुने गरी आवश्यक मार्जिन कायम गरेर शेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको थियो l यस्तो व्यवस्था अवलम्बन गरिएपश्चात शेयरबजारमा सुधारको सङ्केत देखिएर नेप्से परिसूचक २०६८ असार मसान्तमा ३ सय ६२ रहेकोमा २०६९ असार मसान्तमा ३ सय ८९ विन्दुमा पुगेको थियो  शेयर प्रमाणपत्र अभौतिकीकरण नभएको त्यतिबेलाको समयमा सक्कल शेयर प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह हुने व्यवस्था रहेकोमा ब्रोकरको जमानत र शेयर खरिद-बिक्री रसिदका आधारमा आवश्यक मार्जिन कायम गरी बढीमा एक वर्षको लागि कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको थियो l 

आव २०७०/०७१ को मौद्रिक नीतिमा शेयरबजारमा सुधार आएर नेप्से सूचकाङ्क २०७० असार मसान्तमा ५ सय १८ बिन्दुमा पुगेको र ७५ करोड रुपैयाँको म्यूचुअल फण्डको इकाई सूचीकृत भएको उल्लेख छ l त्यस्तै, आव २०७१/०७२ को मौद्रिक नीतिमा संविधानसभाको लागि भएको दोस्रो चुनावपछि शेयर कारोबार र मूल्य बढ्न थालेको उल्लेख छ l शेयरको धितोमा प्रवाह हुने कर्जाको परिमाण बढ्ने प्रवृत्तिमा रहेको, २०७० असारमा बैंक तथा वित्तीय संस्थाबाट शेयरको धितोमा १२ अर्ब ९३ रुपैयाँ करोड कर्जा प्रवाह भएकोमा २०७१ जेठमा उक्त कर्जा १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको उल्लेख छ l ब्याजदर ज्यादै तल झरेकोले शेयरबजारमा कर्जा प्रवाह बढेर सम्पत्तिको मूल्य मा अस्वभाविक वृद्धि हुने र वित्तीय स्थायित्व जोखिममा पर्ने सम्भावनालाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा केही कसिलो तुल्याइएको शेयरबजारमा आउने अनपेक्षित उतार-चढावबाट वित्तीय स्थायित्वमा प्रतिकूल प्रभाव पर्नसक्ने सम्भावनालाई ध्यानमा राखी शेयरको धितोमा प्रवाह हुने कर्जालाई थप व्यवस्थित गरिने उल्लेख गरिएको थियो  

आव २०७२/०७३ को मौद्रिक नीतिमा शेयरबजारको अवस्था सामान्य रहेको उल्लेख छ । आव २०७३/०७४ को मौद्रिक नीतिमा सेयर बजारमा बढोत्तरीको प्रवृत्ति देखिएको उल्लेख छ । नेप्से सूचकाङ्क २०७२ असार मसान्तको ९ सय ६१ विन्दुबाट २०७३ असार २९ गते १ हजार ६ सय ९० विन्दुमा पुगेको थियो l पुँजी वृद्धि गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाले वोनस एवम् हकप्रद सेयर जारी गरेका, २०७२ माघदेखि कागजरहित (डिम्याट) प्रणालीबाट सेयर कारोबार सुरु भएको तथा राजनीतिक संक्रमण अन्त्य हुने अपेक्षा बढ्दै गएकोले नेप्से सूचकाङ्कमा उच्च वृद्धि देखिएको हो, मौद्रिक नीतिमा भनिएको छ l यस वर्ष मार्जिन प्रकृतिको कर्जाको सुरक्षणवापत सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको थियो l सेयरको धितोमा जाने कर्जा बढीमा आफ्नो प्राथमिक पुँजी बराबरको रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्थालाई निरन्तरता दिईएको थियो l साथै, एउटा सूचीकृत कम्पनीको सेयरको हकमा प्राथमिक पुँजीको बढीमा २० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिएको थियो । यसै वर्षको मौद्रिक नीतिदेखि सेयरको धितोमा कर्जा प्रवाह गर्ने प्रयोजनको लागि संस्थापक सेयरको मूल्याङ्कन गर्दा साधारण सेयरको पछिल्लो १ सय ८० दिनको औसत मूल्यको बढीमा ५० प्रतिशत वा संस्थापक सेयरको अन्तिम कारोबारको मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा कायम गर्नुपर्ने र यसरी कायम गरिएको मूल्यको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा दिन सकिने व्यवस्था गरिएको थियो l

चौथो पाँच वर्ष

चौथो पाँच वर्ष अन्तर्गत २०७४/०७५ देखि २०७८/०७९ सम्मको अवधिलाई लिइएको छ l शेयर धितो कर्जाको सर्वाधिक विवादित यही अवधि हो l यस खण्डको अन्तिम वर्षमा आएको यस्तो विवादित व्यवस्था अझैसम्म पनि अवतरण भएको छैन l आव २०७४/०७५  को मौद्रिक नीतिमा शेयरबजारमा अघिल्लो आर्थिक वर्ष देखिएको उछाल चालु आर्थिक वर्षमा सामान्यीकरण भएको, शेयरबजार र घरजग्गा कारोबारमा बैंक कर्जा केन्द्रित नहोस् र प्राथमिकता प्राप्त क्षेत्रमा बढी कर्जा प्रवाह होस् भन्ने उद्देश्य राखी आवश्यक नियामकीय नियन्त्रणका उपायहरु अवलम्बन गरेका कारणसमेत पुँजीबजार स्थायित्वतर्फ उन्मुख भएको उल्लेख छ l त्यस्तै, वित्तीय क्षेत्रको सुदृढीकरण एवम् स्थायित्वका लागि वित्तीय साधन परिचालनमा आवश्यक सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखिएकोले अर्थतन्त्रको दीगो विकासमा योगदान पुर्याउने क्षेत्रलाई प्रोत्साहित गर्दै शेयर कारोबारमा हुने सट्टेबाजी प्रवृत्तिलाई नियन्त्रण गर्न मौद्रिक नीति केन्द्रित रहेको पनि उल्लेख छ । शेयर धितो कर्जामा प्रवाह हुने कर्जाको सीमालाई अघिल्लो वर्ष (आव २०७३/०७४) को नीतिलाई यथावत राखिएको थियो l सेयरको धितोमा जाने कर्जा कतिसम्म जान सकिने भन्ने अघिल्लो वर्षको नीतिलाई कसिलो बनाउँदै प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म प्रवाह गर्न पाउने व्यवस्था गरिएको थियो l अघिल्लो वर्ष यस्तो हद प्राथमिक पुँजी बराबरको रकम थियो l साथै, एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म प्रवाह गर्न सक्ने व्यवस्था गरिएको थियो l संस्थापक शेयर धितोमा प्रवाह हुने कर्जामा अघिल्लो वर्ष गरिएको व्यवस्था यथावत रहेको थियो l

आव २०७५/७६ को मौद्रिक नीतिमा शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरिएको थियो l शेयर धितोमा प्रवाह हुने कर्जाको सीमा हरेक वर्ष कसिलो बनाउने कार्यले यसपटक पनि निरन्तरता पायो l शुरुमा प्राथमिक पूँजीको शतप्रतिशत बराबरको रकम शेयर धितो कर्जाबापत प्रवाह हुने व्यवस्थालाई कसिलो बनाई प्राथमिक पूँजीको ४० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झारिएको थियो l 

आव २०७६/०७७ को मौद्रिक नीतिमा बैकिङ्ग क्षेत्रबाट थप ऋणपत्र निष्काशन भएका कारण धितोपत्र बजारमा उपकरणगत विविधिकरण प्रारम्भ भएको र समग्र शेयरबजार गतिविधि सामान्य रहेको उल्लेख छ l २०७५ असार मसान्तमा नेप्से सूचकाङ्क १ हजार २ सय १२ रहेकोमा २०७६ असार मसान्तमा १ हजार २ सय ५९ पुगेको थियो l आव २०७७/०७८ को मौद्रिक नीतिमा शेयर धितो राखी प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म गर्न सक्ने व्यवस्था मिलाइको थियो । यस वर्ष शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन कायम गरिएको थियो । 

अहिलेसम्म विवादित नै रहेको शेयर धितोमा प्रवाह हुने कर्जाको सीमा यसै आव २०७७/०७८ बाट प्रारम्भ भएको थियो l यस वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरिएको थियो । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा दिईने उल्लेख थियो l 

पाँचौ पाँच वर्ष

पाँचौं पाँच वर्षको पहिलो वर्ष २०७९/८० समाप्त भई दोस्रो वर्षको मध्यमा आइपुगिएको छ l आव २०७९/०८० को मौद्रिक नीतिमा अघिल्लो वर्षभन्दा केही फरक पारे जस्तो गरेर शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाबाट लिनसक्ने गरी अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको थियो l त्यस्तै, यस्तो कर्जाको जोखिम भार २५ लाखसम्मको हकमा १ सय प्रतिशत र सोभन्दा माथिको हकमा जोखिम भार १ सय ५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको थियो l आव २०८०/०८१ को मौद्रिक नीतिमा अघिल्लो वर्षका व्यवस्थामा पुनरावलोकन होला कि भन्ने अपेक्षाविपरित शेयर धितो कर्जा, विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरो मात्र आयो यसै वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १ सय २५ प्रतिशत कायम गरिएको थियो l निर्देशिकामार्फत व्यक्तिगत र संस्थागततर्फ क्रमशः १५ र २० करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरिएको छ l २२ वर्षको अवधिमा मौद्रिक नीतिमा गरिएका व्यवस्थाको सङ्क्षिप्त अवलोकन यति हो l

सीमा उचित कि अनुचित

कुनै पनि कर्जाको लागि सीमा लगाउने कुरा अनुचित पक्कै पनि हैन र हुन्न तर, यस्ता सीमाको औचित्य र कारण हुनुपर्छ l कर्जाको माथिल्लो र तल्लो दुवै सीमा हुन्छ l न्यूनतम यति लगानी हुनुपर्छ भन्ने व्यवस्था पनि एउटा सीमा नै हो l शेयर धितो कर्जामा पनि सीमा लगाउनुपर्छ भन्ने कुरामा कसैको पनि दुईमत हुन्न l आव २०७७/०७८ देखि शेयर धितो कर्जामा  लगाइएको सीमालाई उचित मान्न सकिने कुनै आधार र कारण देखिन्न l  भन्नलाई ‘साना लगानीकर्ताको पहुँच अभिवृद्धि भने पनि यसको कुनै औचित्य थिएन  र  छैन l शेयरबजारमा समाजवाद खोज्ने कुरोको कुनै अर्थ हुन्न l नामै शेयर अर्थात् पूँजीबजारमा जोसंग पूँजीको बोलबाला हुन्छ, उसले कर्जा लिने हो l शेयर धितो कर्जामा २०७८ देखि अपनाईदै आएको ‘व्यक्ति केन्द्रित’ नीतिमा अविलम्ब पुनर्विचार गरि ‘क्षेत्रगत’ कर्जा नीति अपनाउनुपर्छ l शेयर धितो लिएर प्रवाह गरिने कर्जाको सीमा लगाउँदा अन्य कर्जासरह कुल कर्जाको आधारमा निश्चित प्रतिशत तोकिनुपर्छ र यस्तो प्रतिशत तोकिंदा कुनै बैंक वा वित्तीय संस्थाले यस्तो कर्जा दिन नचाहेमा नदिन पनि सक्ने गरि इच्छाधिन बनाउनुपर्छ l यस्तो किसिमले लगाईएको सीमालाई भने उचित मान्न सकिन्छ र स्वीकार्य पनि हुन्छ l 


अन्नपूर्ण पोष्ट 

फागुन १५, २०८० मंगलबार

https://www.annapurnapost.com/story/452822/

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...