Wednesday, March 18, 2020

बैंकिंग कानुनमा संशोधन : बढ्ला क्षमता ?


अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको पहिलो बजेट (२०७५) मा वित्तीय क्षेत्रका नियमक निकायको क्षमता अभिवृद्धि गर्न तत् तत् क्षेत्रका ऐनमा संशोधन गरिने बताएका थिए । सबैभन्दा ठूलो वित्तीय क्षेत्र मानिने बैंकिंगलाई नियमन गर्ने तालुकी अड्डा नेपाल राष्ट्र बैंक ऐन, २०५८ र बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ । वित्तीय क्षेत्रकै अर्को महत्वपूर्ण अंश मानिने धितोपत्र सम्बन्धि ऐन, २०६३ संसदमा पुगिसकेको छ । त्यस्तै, बिमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने नयाँ ऐन पनि संसदमा विचाराधीन छ ।

संशोधनका बुँदाहरु

नेपाल राष्ट्र बैंक ऐन, २०५८ तेस्रो संशोधन विधेयक २०७६ मा (१) गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने र (२) वित्तीय स्थायित्व कोषको स्थापना गर्ने मुख्य विषय रहेका छन् । त्यस्तै, बाफिया पहिलो संशोधन विधेयक २०७६ मा (१) कार्यकारी अध्यक्ष र प्रवन्ध संचालक हटाईएको, (२) लघुवित्तले निर्गमन गर्ने शेयरको बढीमा ५० पचास प्रतिशत सदस्यलाई छुट्ट्याउन सक्ने, (३) संचालक लगातार २ कार्यकालसम्म मात्र निर्वाचित वा मनोनित हुनसक्ने, (४) सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर उपाधि हासिल गरी विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तिमा क्रमशः ५ वर्ष र ३ वर्ष काम गरेको व्यक्ति मात्र देखि वर्गसम्मका संस्थामा संचालक हुन पाउने, (५) २५ वर्ष उमेर नपुगेका र ६५ वर्ष उमेर नाघेका संचालक हुन् अयोग्य हुने, (६) कार्यकारी प्रमुख नियुक्त र वर्खास्त गर्दा नेपाल राष्ट्र बैंकको सहमति लिनुपर्ने, (७) २ कार्यकाल मात्र कार्यकारी हुन पाइने व्यवस्था तत्काल लागु हुने, (८) वर्गका लघुवित्त वर्गको विकास बैंकमा स्तरोन्नति हुनसक्ने जस्ता मुख्य-मुख्य विषय संशोधनमा परेका छन् । 

औचित्यहिन व्यवस्था

संशोधन विधेयकमा परेका अधिकाँश बुँदा लगभग कार्यान्वयनमा आइसकेका विषय हुन् । हालको ऐनमा कार्यकारी अध्यक्ष र प्रवन्ध संचालकको व्यवस्था भए पनि व्यवहारमा यस्तो अभ्यास नभएको हुँदा संशोधनले हटाए पनि नहटाए पनि यसको खास अर्थ देखिन्न । संचालकको लागि ‘सम्बन्धित क्षेत्रका संगठित क्षेत्र’ र ‘नेपाल सरकारको अधिकृतस्तर’ मा काम गरेको हुनुपर्ने योग्यता औचित्यहिन दस्तावेज हो । किनभने बैंकको संचालक बन्नकै लागि कोही पनि नेपाल सरकारको सेवामा प्रवेश गरेको हुन्न र गर्दैन । नेपाल सरकारको अनेकौं सेवा छन् र यिनको प्रत्यक्ष ‘साइनो’ बैंकिंगसँग हुँदा पनि हुन्न । सरकारी सेवाका नेपाल प्रशासन सेवाका सबै (सामान्य प्रशासन, राजश्व र लेखा), नेपाल न्याय सेवाको २ वटा (कानुन र सरकारी वकिल) समूह र नेपाल लेखापरीक्षण सेवा केहीहदसम्म सान्दर्भिक हुनसक्छन् । तर, सरकारी सेवामा पर्ने कृषि, वन, परराष्ट्र, संसद, इन्जिनियरिङ, स्वास्थ्य, विविध लगायतका सेवाका अधिकृतलाई बैंकको संचालक हुनसक्ने योग्यता तोक्नुको अन्तर्यको अर्थ देखिन्न ।

नेपालको सन्दर्भमा संचालकको भूमिका गैरकार्यकारी प्रकृतिको हुँदा यिनलाई उमेर हद लगाउनुको औचित्य पनि देखिन्न । केही समय अघि कार्यकारी प्रमुख र संचालकको उमेरमा हद लगाउने परिपत्र अदालतसम्म पुगेको थियो । संशोधन विधेयकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको उमेर हद तोकिनु तर, प्रमुख कार्यकारीको उमेर हद नतोकिनु आश्चर्यलाग्दो बनेको छ ।

स्वतन्त्र संचालक हुन् पनि ‘सम्बन्धित क्षेत्रका संगठित संस्था’ र ‘नेपाल सरकारको सेवामा अधिकृत’ भएको हुनुपर्ने व्यवस्थाले ‘स्वतन्त्र संचालक’ हुन् कि ‘पराधिन संचालक’ हुन् पत्तो पाउन सकिएको छैन र यसले ‘स्वतन्त्र’ शब्दलाई नै संकुचनमा पारेको छ । विषयगत क्षेत्र (कानूनचार्टड एकाउन्टेन्सी) बाट आउने विशेषज्ञलाइ व्यवसायिक संस्थाबाट प्रमाणपत्र प्राप्त गरेको यति समय पूरा भएकोसम्म भन्न सकिन्थ्यो  कानूनबाट आउनेलाई ‘नेपाल बार काउन्सिल’ बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी निश्चित वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्दा व्यवसायिक दक्षता हेर्ने मनसाय राखियो भन्न सकिन्थ्यो  कम्पनीको कानुनी पक्षसमेत बुझ्ने स्वतन्त्र संचालक खोजिएको भए ‘कम्पनी कानून’ विषय लिएर अध्ययन गरेको भन्ने व्यवस्था गरेको भए उत्तम हुन्थ्यो 

लघुवित्तले निर्गमन गर्ने शेयरको बढीमा ५० पचास प्रतिशत सदस्यलाई छुट्ट्याउनसक्ने व्यवस्था के औचित्यको आधारमा राखिएको हो यसको कारण पनि कतै भेटिन्न । जलविद्युतको शेयर स्थानीयलाई आरक्षण गरेर के लाभ भयो अध्ययन गर्नुपर्ने बेलामा फेरी अर्को ‘आरक्षणको गाँड’ थप्ने काम भएको छ । १० कित्ता शेयर कनिका झैँ छरेर ‘समृद्धिको सपना’ फगत कोरा कल्पना मात्र हो । बैंकिंग सेवाको अनुगमन, निरीक्षण र सुपरीवेक्षण गर्ने संस्थाले शेयर ‘यसलाई देउ, उसलाई नदेउ’ भन्नु सान्दर्भिक हैन । शेयर व्यक्ति वा संस्था कसलाई कति दिने भन्ने विषयको निर्धारण शेयरबजारको नियमक (धितोपत्र बोर्ड) ले गर्ने हुँदा यसमा केन्द्रीय बैंकको हस्तक्षेप अनुचित छ ।  

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधनमार्फत थप गरिएको ‘वित्तीय स्थायित्व कोष’ को स्थापनाले बैंक वित्तीय संस्था वित्तीय सङ्कटमा परेको कारणले समग्र वित्तीय प्रणलीमा जोखिम उत्पन्न हुनसक्ने देखिएमा कोषको रकम यस्ता संस्थाको उत्थानमा उपयोग गर्ने व्यवस्थाले सम्भावित बैंकिंग सङ्कट टार्न सक्ने अनुमान गर्न सकिन्छ । संशोधनको यो व्यवस्थाले वित्तीय संकटमोचन गरी वित्तीय स्थायित्व ल्याउन सक्ने हुँदा यसलाई भने उचित मान्न सकिन्छ ।

सम्बन्धित क्षेत्रका संस्था

ऐनले योग्यता तोक्ने क्रममा सम्बन्धित क्षेत्रका संगठित संस्थाभन्ने गरेको व्यवस्था पनि अन्योलयुक्त छ ।सम्बन्धित क्षेत्रका संगठित संस्थाभन्नुको सट्टा सम्बन्धित विषय वा क्षेत्रमा अध्ययन अनुसन्धान वा कार्य गरेको अनुभव भन्दा केही सान्दर्भिक हुन्थ्यो । बरु यसका लागि एउटा स्मरण सूची (चेक लिष्ट) नै बनाईदिएर त्यसको अंकभार समेत राखेर न्यूनतम यति अंक प्राप्त गरेको व्यक्ति संचालक हुनसक्ने व्यवस्था सान्दर्भिक हुन्थ्यो । सम्बन्धित क्षेत्रका संगठित संस्थाको परिभाषा गर्ने बैंक तथा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धि विनियमावली २०७४’ ले ‘नेपाल राष्ट्र बैंकराष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थानेपाल सरकारको स्वामित्वप्राप्त कर्मचारी संचय कोषनागरिक लगानी कोषकर्जा तथा निक्षेप सुरक्षण कोषविमा समितिविमा समितिबाट इजाजतप्राप्त विमा कम्पनीहरुनेपाल धितोपत्र वोर्डवोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर्सधितोपत्र विनिमय बजार (स्टक एक्सचेन्ज)धितोपत्र राफसाफ सम्बन्धि कम्पनी सम्झनुपर्छ’ भनेर गरेको व्यवस्था सक्षम व्यक्ति पन्छाउने दाउपेच र आफ्नै लागि भविष्य सुरक्षित पार्ने बाहेक अर्को अन्तर्य देखिन्न । परिभाषित संस्थामा काम गर्ने वित्तिकै संचालक हुन् योग्य भइहाल्ने व्यवस्था हास्यास्पद छ । उल्लेखित संस्थामा पनि विभिन्न प्रकारका सेवा हुन्छन् र ति सबै वित्तीय प्रणालीसँग सम्बन्ध राख्ने हुन्छ भन्ने छैन ।

सङ्क्रमणकालीन व्यवस्थाको अभाव

ऐन निर्माण र संसोधन गर्ने प्रक्रिया लामो हुन्छ । ऐनको निर्माण गर्दा तत्कालिन अवस्थाको साथसाथै दीर्घकालमा समेत त्यसको प्रभाव हेरेर निर्माण गर्नुपर्छ । ऐन निर्माणको चरणमा रहँदा साविकको ऐन वा विशेष व्यवस्थाले कार्य संचालन गरिरहेको हुन्छ । ऐन निर्माण भएर लागू हुँदा तत्कालिनरुपमा चलिरहेको व्यवस्था नयाँ व्यवस्थामा एकै पटक फड्को मार्न सक्दैन । यस्तो अवस्थामा ऐनमा सङ्क्रमणकालीन व्यवस्था राख्ने प्रचलन हुन्छ । तर, संशोधन विधेयकमा यस्तो व्यवस्था नराखिनाले साविकको ऐन बमोजिम मनोनयन वा निर्वाचनमार्फत बनेका संचालकलाई चालु कार्यकाल पूरा गर्न विद्यमान संशोधनले बाधा नपार्ने सङ्क्रमणकालीन व्यवस्था राख्नु अत्यन्त जरुरी छ ।

१३ फागुन २०७६, आर्थिक अभियान दैनिक 


धितोपत्र सम्बन्धि ऐन संशोधन


धितोपत्र सम्बन्धि ऐन २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७६ संसदमा पेश भएको छ । डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि पेश गरेको पहिलो बजेट (२०७५) मा वित्तीय क्षेत्रमा नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्न धितोपत्र ऐनमा समयानुकूल संशोधन गरिने बताएका थिए । बजेटमा उल्लेख गरेको १५ महिनापछि संशोधन विधेयक संसदमा दर्ता भएको हो ।

धितोपत्र कानुनको पूर्व समीक्षा

नेपाल बैंक र विराटनगर जुट मिल्सले शेयर निर्गमन गरेको धेरै पछि नेपालमा धितोपत्र कानुनको आगमन भयो । पञ्चायती शासनकालको उत्तरार्धमा पूँजीबजारबाट लगानी जुटाई उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउन पहिलोपटक धितोपत्र कारोबार ऐन २०४० निर्माण गरिएको थियो । ऐनको प्रस्तावनामा उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउनभन्ने थियो । त्यतिबेला शेयरबजारमा नेपाल बैङ्क, राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय बिमा कम्पनी), नेपाल इन्स्योरेन्स, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौं पाउरोटी र पोखरा पाउरोटी गरी ७ ओटा कम्पनी सूचीकृत भएका थिए ।

धितोपत्र कारोबार सम्बन्धि ऐन बनेर कार्यान्वयनमा आएको ५ वर्ष पूरा नहुँदै शासकीय स्वरूप परिवर्तन भएपछि औद्योगिक वातावरण नै धमिलिएको परिणामस्वरूप पूँजीबजार फस्टाउने स्थिति बनेन । धितोपत्रसम्बन्धि ऐन २०६३ मा देशको आर्थिक विकासका लागि आवश्यक पूँजी परिचालन गर्न पूँजीबजारको विकास गरीभन्ने व्यवस्थासहित आए पनि राजनीतिक र सरकारी उदासीनताका कारण संयुक्त पूँजी कम्पनी अवधारणा आएको ८२ वर्ष पुगिसक्दा पनि पूँजीबजार बिक्रम सम्बत १९९४ को अवस्था जत्ति पनि नभएझैँ लाग्छ । अर्थशास्त्रमै स्नातकोत्तर र विद्यावारिधि गरेका अर्थमन्त्री हुँदा पनि उपेक्षाको शिकार बनेको धितोपत्र बजार प्रवेशिका उत्तीर्ण नगरेका, समाजशास्त्री र कानूनशास्त्री अर्थमन्त्रीले बुझ्ने कुरै भएन । अर्थशास्त्रका विद्यावारिधि पछिल्ला अर्थमन्त्रीले पनि वास्ता गरेनन, बजारलाई हेपे, मनोबल गिराए भन्ने आवाज उठिरहँदा धितोपत्रसम्बन्धि ऐन संशोधन विधेयक संसदमा पुगेको छ ।  

संशोधनका विषयवस्तु

कुल १ सय १९ वटा दफा रहेको ऐनका दफा संशोधन र थप गर्न २९ वटा बुँदासहितको संशोधन विधेयक बनेको छ । विधेयकमा (१) परिभाषा खण्डमा केन्द्रीय निक्षेपण सेवा (सेन्ट्रल डिपोजिटरी सर्भिस – सीडीएस), विशिष्टीकृत लगानी कोष र डेरिभेटिभ थपिएको, (२) धितोपत्रसम्बन्धि व्यवसाय गर्न कम्पनी स्थापना गर्नु अघि बोर्डको पूर्वस्वीकृति सम्बन्धि व्यवस्था, (३) क्रेडिट रेटिंग सेवा, डिपोजिटरी वा कष्टोडियल सेवा र धितोपत्र खरिदको लागि दरखास्त सङ्कलन केन्द्रलाई पनि धितोपत्रको व्यवसायको किसिम मानिएको, (४) बजार निर्माता सेवा झिकिएको, (५) धितोपत्र कारोबारी व्यक्ति वा संस्थाको बैंकिंग कारोबार सम्बन्धि अभिलेख नेपाल राष्ट्र बैंकमाफर्त सम्बन्धित बैंक वित्तबाट माग गर्न सक्ने, (६) भित्री कारोबार ठहरेमा, झुक्याउने विवरणहरु दिने, जालसाजीयुक्त कारोबार गर्ने, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्ने र लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा हुने सजायको हद बढेको, (७) माथि ६ उल्लेखित कार्य गरेर सजाय पाएका व्यक्ति सजाय भुक्तान गरेको ५ वर्षसम्म संचालक, कार्यकारी प्रमुख वा सो सरहको पदको लागि अयोग्य हुने, (८) सीडीएस, सामुहिक लगानी कोष, सुरक्षित ऋणपत्र जारी गर्ने संस्थाले विभिन्न क्षेत्रका कम्तिमा ३ जना र बढीमा ५ जना ट्रष्टी नियुक्त गर्नुपर्ने, (९) बोर्डको अध्यक्ष कुनै पनि सूचीकृत र अनुमतिप्राप्त संस्थामा कुनै पनि हैसियतमा रही काम गर्न नपाउने, (१०) बोर्डको कार्यकारी निर्देशक र निर्देशक पदबाट हटेको २ वर्षसम्म कुनै पनि हैसियतमा अनुमतिप्राप्त संस्थामा रही काम गर्न नपाउने जस्ता विषय छन् ।

संशोधनमा नपरेका विषयहरु

संशोधन विधेयकमा नपरेको तर, पर्नुपर्ने केही विषयहरुमा (१) ऐनको दफा २(त) मा दिइएको परिभाषाले विवरणपत्रलाई प्रष्ट पार्दैन बरु ऐनको दफा ३१ मा भएको ‘लगानीकर्ताहरुले निष्काशनकर्ताको सम्पत्ति तथा दायित्व, आर्थिक स्थिति, नाफा-नोक्सान, भविष्यमा अपेक्षित कुराहरु सम्बन्धमा मूल्याङ्कन गर्न पर्याप्त हुने जानकारीहरु समावेश भएको विवरणपत्र मात्र बोर्डले स्वीकृत गर्नेछ’ भन्ने व्यवस्था विवरणपत्रको परिभाषा बन्नसक्थ्यो । त्यस्तै, दफा २(द) मा ‘लगानी कोष भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरुबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सृजना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बन्धित सम्पत्ति सम्झनुपर्छ र सो शब्दले यस ऐन बमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सृजित थप सम्पत्ति र प्रतिफलस्वरुप जम्मा भएको रकम समेतलाई जनाउँछ’ भन्ने परिभाषा के कुन कार्यको लागि हो त्यो पनि प्रष्ट छैन । दफा २(म) मा ‘हकप्रद निष्काशन भन्नाले संगठित संस्थाले निष्काशन गरेको कुनै धितोपत्र साबिकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरिद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनुपर्छ’ भनेर गरिएको परिभाषाले हकवालालाई मात्र इंगित गर्छ । यी माथिका दुई परिभाषा संशोधनका विषय बन्न सकेनन । संशोधनमा परेको ऐनको दफा ९४(क) र ९४(ख) मा भएका क्रमशः ‘प्रत्यक्ष वा अप्रत्यक्षरुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा’ र ‘अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा’ भन्ने यी दुई व्यवस्था जति बुझ्न खोज्दा पनि बुझ्न सकिन्न । यस्ता अर्थ नभएका विषय संशोधन वा स्पष्टीकरणमा परेको छैन । ‘मार्केट डेप्थ’ हेर्न पाइने अवस्थामा दफा ९४(ख) अर्थहीन छ । यस्तो अर्थहीन व्यवस्थालाई पनि सजायको भागीदार बनाएर दण्डसजायसम्बन्धि खण्ड अनावश्यक लम्ब्याउने काम भएको छ । ट्रष्टी नियुक्त गर्ने विषय आए पनि अहिले म्युचुअल फण्डका ट्रष्टि विशुद्ध ‘ज्वाइँ’ मात्र बनेका छन् । ट्रष्टि व्यक्ति हैन, संस्थालाई नियुक्त गर्ने व्यवस्था हुनुपर्छ ।
  
बोर्डको नाम र निष्काशन शब्द

धितोपत्र र धितोपत्र बजारसम्बन्धि कार्य गर्ने विशिष्टीकृत संस्थाको नाम अन्यत्र कमिसन (आयोग) राख्ने गरिएको पाइन्छ । अमेरिकामा युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन, बंगलादेशमा बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन, पाकिस्तानमा सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ पाकिस्तान, श्रीलंकामा सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंका, माल्दिभ्समा क्यापिटल मार्केट डेभलपमेन्ट अथोरिटी र भुटानमा भने त्यहाँको केन्द्रीय बैंक रोयल मोनिटरी अथोरिटीले नै पूँजीबजारलाई हेर्ने गरेको छ । भारतमा भारतीय प्रतिभूती तथा विनिमय बोर्ड भनिन्छ । नेपालमा पनि यसको नाम ‘नेपाल धितोपत्र तथा विनिमय बोर्ड वा प्राधिकरण’ राखेर अहिले नै ऐनमा संशोधन गर्न सकिन्छ । ‘निष्काशन’ भन्ने शब्द धितोपत्र बजारको सन्दर्भमा पटक्कै सुहाउने देखिन्न । नेपाली वृहद शब्दकोष अनुसार ‘कुनै संस्था, कार्यालय आदिबाट केही अवधिका लागि वा संधैका लागि निकाल्ने, निकाला, प्रवेश रद्द गर्ने, सम्बन्धित संस्था वा कार्यालयबाट लान्छनासहित हटाउने काम’ भनेर अर्थ लगाएको छ । शब्दकोषमा लगाइएको अर्थ अनुसार निष्काशन भनेको विकार, रद्दी र खराव भन्ने देखिन्छ । शेयर भनेको ‘हित’ हो, ‘हित’ कसरी विकार, रद्दी र खराव हुनसक्छ ? त्यसकारण यसलाई ‘निर्गम’ वा ‘निर्गमन’ शब्दले प्रतिस्थापन गर्नु आवश्यक छ ।

अन्तमा, अर्थमन्त्रीले बजेट वक्तव्यमा वित्तीय क्षेत्रमा नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्न ऐन संशोधन गर्ने मिठा शब्द राखे पनि ऐनको संशोधन विधेयक मिठो बन्न सकेको छैन । ऐन निर्माण गर्दा सम्बन्धित क्षेत्रका विषयविज्ञबाट पर्याप्त राय सुझाव लिएर गर्न सकेको भए नियमनकारी निकायको क्षमता अभिवृद्धि र सरोकारवाला दुबैको हित हुने निश्चित थियो । कोठामा मस्यौदा गरिएको ऐनको संशोधन विधेयक २०७३ सालमा बनेको बैंक वित्त सम्बन्धि ऐन ३ वर्ष नपुग्दै फेरी संशोधनमा गए जस्तो नहोला भन्न सकिन्न ।

६ फागुन २०७६, आर्थिक अभियान दैनिक 


कम्पनी ऐन संशोधन : रजिष्ट्रारको पुनर्संरचना अधुरै


कम्पनी ऐन २०६३ (पहिलो संशोधन २०७३) को एउटा व्यवस्थाले मूलतः सूचीकृत कम्पनीलाई संचालक समितिको चुनाव गर्न कठिनाईको परिरहेको छ । यही कारण साधारणसभा समेत बस्न समेत कठिनाइ परेको दृष्टान्त धेरै छ । यसले शेयरधनीलाई संचालक हुन् बार्गेनगर्न सजिलो समेत बनायो भने कतिपयले यही बहानामा मुद्दा हाल्न लगाएर संचालक समिति निर्वाचन नगरी बस्न समेत मद्दत पुर्यायो तर, समग्रमा भने कम्पनी संचालनमा बाधा नै बढी दियो । प्रस्तावित दोस्रो संशोधन मस्यौदाले पनि यस व्यवस्थालाई घुमाउरो पाराले समर्थन नै गरेको छ । यसपटक मस्यौदामा अन्य थप नयाँ विषय पनि परेका छन् ।

संशोधनका विषयवस्तुहरु

संशोधनमा कुल ९३ वटा बुँदा छन् । मस्यौदामा (१) परिभाषा खण्डवाट प्रवन्धपत्रहटाएर नियमावलीमा गाभिएको, (२) मुनाफा वितरण नगर्ने कम्पनीले मुनाफा वितरण नगर्ने कम्पनी लेख्नुपर्ने, (३) विशेष कानुनले तोकेको अवस्थामा बाहेक पब्लिक कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ हुनुपर्ने, (४) धितोपत्रको खरिदबिक्री गर्ने वा लगानी मात्र गर्ने मूल उद्देश्य भएका कम्पनी पनि पब्लिकमा दर्ता हुनुपर्ने, (५) झुटा विवरणपत्रमा जानीजानी सहीछाप गर्ने संचालकलाई तत्काल काम गर्न रोक लगाउन सक्ने, (६) पब्लिक कम्पनीले सर्वसाधारणलाई शेयर जारी नगरेसम्म लाभांस (नगद वा बोनस शेयर) जारी गर्न नसक्ने, (७) धितोपत्रको प्राइभेट प्लेसमेन्ट (हस्तान्तरण) सम्बन्धि व्यवस्था, (८) शेयर प्रमाणपत्र भौतिक, अभौतिक (डिजिटल) वा जुनसुकै स्वरुपमा हुनसक्ने, (९) विद्युत उत्पादन वा प्रसारण, सुरुङ्गमार्ग, द्रूतमार्ग, केबुलकार जस्ता पूर्वाधार संरचना वा सेवा संचालन गर्ने पब्लिक कम्पनीले साधारण शेयरमा परिणत हुनसक्ने डिवेञ्चर जारी गर्नसक्ने र निर्धारित अवधि वा कम्पनीले व्यापारिक कारोबार प्रारम्भ गरेको ५ वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र साधारण शेयरमा परिणत गर्नुपर्ने, (१०) नेपालमा दर्ता वा संस्थापना भएको कम्पनीको शेयरमा रहेको कुनै व्यक्ति, कम्पनीको शेयर स्वामित्व कुनै किसिमले नेपालभित्र वा वाहिर जहाँसुकै कारोबार गरेको वा भएकोमा नेपालमा नै भएको मानिने, (११) लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा कुनै आर्थिक बेरुजु ठहर गरी कैफियत सहितको राय (क्वालिफाइड ओपिनियन) दिएको रहेछ भने त्यस्तो बेरुजु भएको रकम बराबरको रकम छुट्याएपछि मात्र बाँकी रकमबाट लाभांस प्रस्ताव गर्नुपर्ने र परित्यागको प्रतिवेदन (डिस्क्लेमर रिपोर्ट) दिएको वा लाभांश वितरण गर्न नहुने गरी कारणसहित राय र निष्कर्ष दिएको रहेछ भने त्यस्तो कम्पनीले लाभांश घोषणा गर्न नसक्ने, (१२) महिला शेयरधनी रहेको भन्ने शब्दहरु झिकिएको, (१३) संचालक हुन लिनुपर्ने शेयरसंख्या नियमावलीमा तोक्नुपर्ने (हाल नियमावलीमा नतोकिए कम्तिमा १ सय कित्ता शेयर लिएको हुनुपर्ने भन्ने व्यवस्था), (१४) संचालक पहिचान नम्बरको व्यवस्था, (१५) बीस लाख रुपैयाँसम्म बार्षिक कारोबार वा पचास लाख रुपैयाँसम्म जायजेथा वा दायित्व भएको कम्पनीले लेखापरीक्षक नियुक्ति गर्न नपर्ने, (१६) कुनै सञ्चालक वा पदाधिकारीले आफ्नो अधिकारक्षेत्र नाघी कम्पनीको तर्फबाट कुनै काम गरेमा सो उपर रोक लगाउन रजिष्ट्रारसमक्ष निवेदन दिनसक्ने (हाल अदालतमा), (१७) कार्यालय (रजिष्ट्रार) ले गरेको निर्णय वा आदेश भए अदालतमा र अदालतले गरेको निर्णय वा आदेश भए सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने, (१८) प्राइभेट कम्पनी मुनाफा वितरण नगर्ने कम्पनीमा परिणत हुनसक्ने, (१९) सम्वद्ध कम्पनी बीचको कारोबारलाइ अझ प्रष्ट पार्दै कुनै कम्पनीको चुक्ता पूँजीको बीस प्रतिशत वा सोभन्दा बढी पूर्ण मताधिकार भएको साधारण शेयर लिएको कम्पनीलाई मुख्य कम्पनी र जुन कम्पनीको त्यस्तो शेयर लिएको हो त्यस्तो कम्पनीलाई सहायक कम्पनी मानिने भन्ने व्यवस्था गरेको छ ।

कम्पनी र कम्पनी कानुनको सारांश

नेपालमा मल्लकालीन राजा जयस्थिति मल्लले बिक्रम सम्बत १४३६ लेखाएको मानव न्यायशास्त्रमा कम्पनी नै नभनिएको तर, स्वरुप भने अहिलेको कम्पनी जस्तै संस्थाको उल्लेख भेटिन्छ । राज्यको उत्पत्तिदेखि नै कुनै न कुनै रुपमा व्यवसायिक गतिविधि हुने गरेको हुँदा मल्लकालभन्दा अगाडी पनि यस्तो अभ्यास भएको हुनसक्ने भएको हुँदा प्राज्ञिक संस्था र विश्वविद्यालयका लागि वृहत खोजीको विषय हो । बि.सं. १९९३ सालमा श्री ३ महाराज जुद्ध शम्सेरको पालामा औद्योगिक बिकासमा नयाँ आयाम शुरु गर्न कम्पनी कानुन जारी भएको पाइन्छ । त्यसपछि बि.सं. २०२१ सालमा कम्पनी ऐन बनेको पाइन्छ । २००४, र २००७ साल पनि कम्पनी सम्बन्धि कानुन बनेको भन्ने पनि पाइन्छ । २०२१ सालमा बनेको कम्पनी ऐनलाई कम्पनी ऐन २०५३ ले खारेज गर्यो । त्यसपछि कम्पनी अध्यादेश २०६२ हुँदै कम्पनी ऐन २०६३ (पहिलो संशोधन २०७३) लागु छ । अहिले पछिल्लोपटक यसमा पनि दोस्रो संशोधनको प्रस्ताव गरिएको छ ।

विभाग बनेको रजिष्ट्रार

२०४९ सालमा स्थापना गरिएको कम्पनी रजिष्ट्रार कार्यालयलाई विभाग नभने पनि यसलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत राखेर विभागीय स्वरूप दिईएको छ । रजिष्ट्रार स्थापना हुनु अघि कम्पनी प्रशासन सम्वन्धी सम्पूर्ण कार्य उद्योग विभाग, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका तत् तत् क्षेत्रका विभागवाट सम्पादित हुँदै आएको थियो । कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो ।

आवश्यकता कम्पनी मन्त्रालय

रजिष्ट्रार कार्यालयलाई अहिलेको स्वरुपमा राख्न मिल्दैन भन्ने बहस धेरै चलिसके पनि यसलाई के गर्ने भन्ने सम्बन्धमा भने कुनै उपलब्धि हुनसकेको छैन । सर्वोच्च अदालतले समेत कुनै एक मुद्दामा यसलाई कानुन मनत्रालय अन्तर्गत राख्न निर्देशन दिएको थियो । रजिष्ट्रारलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने पनि सुझाव आएको थियो । जसले जता राख्नु भने पनि अहिलेसम्म यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अघोषित विभागकै रुपमा रहिरहेको छ । प्रस्तावित दोस्रो संशोधन प्रस्तावले पनि यसलाई कता राख्ने भन्ने निर्क्योल दिन सकेको छैन । भारतमा कम्पनी मन्त्रालय छुट्टै छ । यसले मूलतः कम्पनी ऐन, सिमित दायित्वयुक्त साझेदारी ऐन, प्रतिष्पर्धा ऐन अन्तर्गतका कार्य गर्छ । त्यस्तै, इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्टस् इण्डिया, इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरीज अफ इन्डिया र इन्स्टिच्युट अफ कष्ट एकाउन्टेन्टस् अफ इन्डिया जस्ता पेशागत संगठनको पनि सुपरीवेक्षण गर्छ । यसबाहेक नेशनल कम्पनी ल ट्राइबुनलको पनि तालुकी निकायको रुपमा रहेको छ ।

संशोधनमा नसमेटिएका बुँदा

प्रस्तावित संशोधनले अझ पनि जल्दाबल्दा विषयलाई समेट्न सकेको छैन । केही सुझावहरु (१) निश्चितभन्दा बढी पूँजी भएका प्राइभेट कम्पनीलाई ओटीसी (ओभर द काउन्टर) मा सूचीकरण गराउने, (२) कम्पनीले पेश गर्ने वार्षिक लगायतका विवरणलाई विद्युतीयरुपमा नै अभिलेख हुने व्यवस्था मिलाउने, (३) व्यवसायिक संस्थामा यो लिंग र त्यो लिंग हुनुपर्ने भन्ने व्यवस्थाले कम्पनीको विकास हैन, बाधक हुने हुँदा यस्ता व्यवस्था नराख्ने, (४) कम्पनीको नियमावलीको सट्टा कम्पनीको विधान शब्द उपयुक्त हुनसक्छ, (५) कम्पनी सम्बन्धि मुद्दामामिला हेर्न कम्पनी न्यायधिकरणको व्यवस्था गर्ने, (६) कम्पनी सचिव सम्बन्धि व्यवस्थालाई विस्तृत पार्ने जस्ता विषयको अभाव देखिएको छ ।

अन्तिममा, कम्पनीको बढ्दो दायरा र कार्यक्षेत्रलाई मध्यनजर गरी एउटा मन्त्रालयको विभागको रुपमा राखेर यसको सर्वाङ्गीण विकास र विस्तार हुन् नसक्ने हुँदा शीघ कम्पनी व्यवस्था मन्त्रालयको गठन हुनु नितान्त जरुरी छ ।


२८ माघ २०७६, आर्थिक अभियान दैनिक 

धितोपत्र बोर्डका अध्यक्ष : निवर्तमानको समीक्षा वर्तमानको अपेक्षा


नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्षको रुपमा भिष्मराज ढुङ्गानालाई पाएको छ । निवर्तमान अध्यक्षको कार्यकाल नसकिंदै ढुङ्गानालाई सम्भावित अध्यक्षको रुपमा हेरिएको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि ढुङ्गाना बोर्डमा विज्ञ संचालक बनेर भित्रिनासाथ उनलाई भावी अध्यक्षको रुपमा हेरिएको हो । बोर्ड अध्यक्ष भएपछि ढुङ्गानाले दिएका अभिव्यक्ति हेर्दा आगामी ४ वर्षमा नेपालको धितोपत्र बजारले नयाँ उचाई लिनसक्नेमा आशावादी हुन सकिन्छ । यसका लागि अध्यक्ष ढुङ्गानाले गर्नुपर्ने धेरै कामहरु मध्ये केही काम सूचीवद्ध गरिएको छ, जुन ढुङ्गानाका लागि सामान्य मार्गदर्शन हुनसक्छ ।

अध्यक्षको सारांश

बिक्रम सम्बत २०५० साल जेठ २५ गते गठन भएको बोर्डले २७ वर्ष पूरा गर्न लाग्दा ढुङ्गानालाई सातौं अध्यक्षको रुपमा पाएको छ । २६ वर्षमा ६ जना अध्यक्ष भएर विदा भए । यी ६ जनामध्ये डा. ढुङ्गेल र डा. नेपाल (चिरन्जीवी) सबैभन्दा धेरै र थोरै क्रमशः १० वर्ष र १५ महिना अध्यक्ष बने । कार्यकाल थोरै भए पनि डा. नेपाल (चिरन्जीवी) को पालामा धितोपत्र बजार केही व्यवस्थित हुनमा मद्दत पुगेको मानिन्छ । बोर्डका कतिपय अध्यक्षलाई अदक्षपनि भनेर ‘समीक्षा र सम्बोधन’ गरिएको पाइन्छ ।
 बोर्डका अध्यक्षहरु
क्र.सं.
अध्यक्ष
कार्यकाल
देखि
सम्म
डा. डम्बरप्रसाद ढुंगेल
२०५० जेठ २५
२०६० भदौ १४
दीपकराज काफ्ले
२०६० भदौ १५
२०६४ भदौ १०
डा. चिरन्जीवी नेपाल
२०६४ भदौ ११
२०६५ मंगसिर ११
डा. शुरवीर पौडेल
२०६५ पुष ९
२०६८ भदौ १०
बाबुराम श्रेष्ठ
२०६८ असोज ३०
२०७२ असोज २९
डा. रेवतबहादुर कार्की
२०७२ कात्तिक १
२०७६ असोज ३०

निवर्तमानको समीक्षा

निवर्तमान अध्यक्ष कार्की नेपाल राष्ट्र बैंकबाट अवकाश पाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यकारी प्रमुख हुँदै बोर्ड आइपुगेका हुन् । नेप्सेमा कार्कीको आगमन विशेष भयो ।चिच्याएर भाउ लगाउँदैहुने शेयरकारोबारले दलालको कार्यालयमा स्थानान्तर हुने अवसरसँगै अनलाइन कारोबारको जग बस्यो । त्यसैको परिणामस्वरूप अहिले आफैँले खरिद र बिक्री आदेश हाल्न मिल्ने अनलाइन आएको छ । नेप्सेमा हुँदा कार्कीले जे जति कार्य गरेर शेयरबजारलाई गुणलगाए त्यही गुणबोर्डमा आएर लाउन सकेनन् । यसो हुनुमा कार्कीमा केही हदसम्म राजनीतिक पूर्वाग्रह देखिनु पनि एक हो । बोर्ड आगमनदेखि नै दलालप्रति तीव्र रोष प्रकट गर्दै आइरहेका कार्की कार्यकालको अन्तिमतिर संसदको अर्थ समितिमा दलाललाई सक्षम, सुशासित र पारदर्शीनभएको बताएर आफैँ उदांगिए । शेयरबजारको प्राथमिक अंग दलाल प्रणालीलाई संस्थागतरूपमा शसक्त ढंगले विस्तारित गरेर अझ बढी गुण लगाउनुपर्नेमा गालीगलौजमा उत्रिए । आफू मातहतका शेयरबजार सम्वद्ध निकाय (दलाल, स्टक, केन्द्रीय निक्षेपक आदि) प्रति त पूर्वाग्रही देखिए-देखिए कुनै दलीय टाँचा नलागेका लगानीकर्ताप्रति पनि पूर्वाग्रह राखेर दलीय स्वभाव पनि राम्रैसँग देखाउन भ्याए । वित्तीय क्षेत्रको नियमन निकायमा रहेको व्यक्ति तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई विर्सेर पत्रपत्रिकामा ‘सल्लाहकारी’ लेख छाप्न पनि भ्याए ।

शेयरबजारमा खपत हुने सूचना बैंकले बढी उत्पादन गर्छन र यिनै बैंकको सर्वाधिक शेयर सूचीकरणमा छ भन्ने जानेर पनि उही बैंकलाई ‘दलाल अनुमति’ दिन्छु भन्दै बारम्बार बोलेर लगानीकर्तालाइ रनभुल्लमा पारिरहे । माग भयो भन्दैमा दिन हुने-नहुने बिषयमा अध्ययन गरेर मात्र दिन सकिने वा नसकिने निर्णय गर्नुपर्नेमा ‘बातैपिच्छे’ बैंकलाई दलाल दिन्छु भन्ने रटान लगाउन बिर्सेनन । दलाल अनुमति दिनैहुन्न भन्ने पनि हैन तर, ‘कार्यविशिष्टीकरण’ को सिद्धान्तलाई स्वीकार गर्ने हो भने व्यापारको प्रकृति अनुसार स्थापित संस्थाकै क्षमता अभिवृद्धि गर्नुपर्छ । बैंक-बैंक भनेर चिच्याउनुको सट्टा फुल सर्भिस र डिस्काउन्ट दलालको अवधारणा विकास गर्न लागेनन् । संसार बहुबाट एकल स्टक एक्सचेन्जमा गईरहेको बेला भएको एक्सचेन्जको पुनसंरचना कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुको सट्टा एउटा पोखरीको पानी अर्को पोखरीमा सारेर दुइटै पोखरीसुकाउने बहुस्टकको अनावश्यक बहस गरेर समय वर्वाद पारे । भारत, पाकिस्तान लगायत एसियाली र यूरोपियन देशमा एक्सचेन्ज बन्द गरिएको र गाभिएको देख्दै देखेनन । नेप्से र बोर्ड एकै प्रकृतिको संस्था हैनन् भन्ने बुझेर पनि एक्सचेन्जका अधिकारी र पदाधिकारीसँग व्यक्तिगत टकराव लिएकै कारण एक्सचेन्जलाइ दिनुपर्ने अधिकार पनि दिएनन । उदाहरणका लागि सूचीकरण विनियमावली अनुसार सूचीकरण नवीकरण नगर्ने कम्पनीलाई एक्सचेन्जले कारवाही गर्नसक्ने अधिकार दिँदै दिएनन ।

कार्कीले बोर्ड अध्यक्षको रुपमा ‘लगानीकर्ता’ र ‘देश हित’ भन्दा कम्पनी हितमा बढी समय खर्च गरे । कम्पनीलाई अवान्छित गैर-व्यवसायिक लाभ दिनकै लागि रातारात कार्यदल बनाएर बाटो खोलिदिएका कारण कम्पनीले ४ अर्बभन्दा बढी गैर-व्यवसायिक लाभ पाउँदा लगानीकर्ताले बढी मूल्य तिरे भने सरकारले राजश्व गुमायो । माघ १ गतेबाट लागु हुनलागेको आस्बा प्रणाली लागु हुनु २ दिन पूर्व उक्त कम्पनीलाई बिक्री अनुमति दिएर त्यसको बिक्री प्रवन्धक र निष्कासन बैंकलाई समेत अवान्छित लाभ दिलाए । कार्कीले तथास्तुभनिदिएका कारण बिक्री प्रवन्धक र निष्काशन बैंकले २ महिनाभन्दा बढी समय ५० अर्ब रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा तिनले शुभलाभ पाए तर, वित्तीय प्रणाली भने असन्तुलित बन्दा त्यसको असर लामैसमय देखियो । एक हिसाबले कार्कीले गरेको यो गम्भीर आर्थिक कसुर थियो । कार्कीको कसुर यतिमा सकिन्न । लगानीकर्तालाई त्रसित पार्न अधिकारक्षेत्र विहिन सम्पत्ति शुद्धीकरण कानुन विपरीत कालोधन छानविनगर्ने भन्दै छानविन समिति पनि बनाए । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनलाई बारम्बार हतियार बनाएर प्रहार गरीरहे । यस्तै निर्देशन नेपाल राष्ट्र बैंक, बिमा समिति र अरु सूचक संस्थाले पनि जारी गरेका छन् तर, कार्कीले जति यसको त्रास अरुले देखाएनन र नियमति प्रक्रियाको रुपमा लिए । यी त कार्कीका केही प्रसंग मात्र हुन् ।

वर्तमानको अपेक्षा

ढुङ्गानाको आगमनपश्चात बजारमा देखिएको उत्साह सायद उनका सन्तुलित अभिव्यक्ति एउटा कारण हुनसक्छ । ढुङ्गानाले तत्काल (१) बुक बिल्डिङ विधि शुरु गराउने, (२) ऋणपत्रको कारोबार गराउने, (३) अल्पकालीन र दीर्घकालीन लगानीको परिभाषा गरी दीर्घकालीन लगानीलाई लाभकर मुक्त गर्ने, (४) संवेदनशील सूचना प्रवाहलाई व्यवस्थित गर्ने, (५) सूचीकृत कम्पनीका अधिकारी र पदाधिकारीलाई कुनै पनि संचार माध्यममा जुनसुकै बेला बोल्न रोक लगाएर त्रैमासिक विवरणमा मात्र बोल्न लगाउने, (६) कारोबार मापन गर्ने नयाँ सूचक निर्माण गर्ने, (७) सूचीकरणमा हुने विलम्ब हटाउन समय तोक्ने, (८), म्युचुअल फन्डको योजना व्यवस्थापक प्रवर्द्धक कम्पनीको सहायक कम्पनी हुन् नपाउने व्यवस्था अविलम्ब गर्ने, (९) दश कित्ते बाँडफाँड नीति अविलम्ब खारेज गरी समानुपातिक बाँडफाँड नीति लागु गर्ने, (१०) प्रविधिगत सुधार गरी स्वचालित प्रणाली विकास गर्ने, (११) भित्रि कारोबार नियन्त्रण गर्ने, (१२) धितोपत्र न्यायाधिकरण स्थापना गर्ने, (१३) हकप्रद सम्बधि कानुन जारी गर्ने, (१४) नियमन नहुने कम्पनीको आफैँले नियमन गर्ने, (१५) गाभ्ने-गाभिने सम्बन्धि निर्देशिका जारी गर्ने, (१६) सूचीकृत कम्पनीका अधिकारी पदाधिकारीलाई कारवाही गर्ने अधिकार एक्सचेन्जलाई दिने, (१७) डेरीभेटिभ उपकरण ल्याउने जस्ता कार्यलाई प्राथमिकतामा राख्नु जरुरी छ ।

सन्तुलित विचार प्रवाह गरेर बजारमा उत्साह थपेका ढुङ्गानाले आगामी ४ वर्षमा अब्बल कार्य गरेर अब्बल अध्यक्ष बन्न सकेमा नामका भिष्ममहाभारतका अविस्मरणीय पात्र भिष्मबन्नसक्ने सम्भावना छ । बोर्डको एक/एक वाक्य शेयरबजारका लागि अमूल्य हुन्छ । ढुङ्गानाले कार्कीपथ नलिउन, शेयरबजारको गुणात्मक विकास गरुन शुभेच्छा र शुभकामना ।

२१ माघ २०७६, आर्थिक अभियान दैनिक




कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...