Tuesday, July 18, 2017

आस्बामा अधुरो दोस्रो संशोधन


कुनै पनि पब्लिक कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत हुनको लागि धितोपत्र कानूनले तोकेका शर्त बन्देज पुरा गरेपछि नेपाल धितोपत्र वोर्डले शेयर बेच्न स्वीकृति दिन्छ । यसरी स्वीकृत भएको शेयर किन्नको लागि तोकिएको संकलन केन्द्र मार्फत आवेदन गर्नुपर्छ । बैंक, मर्चेन्ट बैंकका शाखा र शेयर बेच्ने कम्पनीका कार्यालयले मात्र संकलन केन्द्रका रुपमा कार्य गर्नसक्छन । यो परम्परागत विधि हो । प्रविधिको विकास संगसंगै अहिले संकलन केन्द्रमा नपुगी आफ्नो खाता भएको बैंकको कुनै पनि शाखाबाट पनि शेयर आवेदन गर्न सकिने भएको छ । यसलाई संक्षिप्तमा आस्बा भनिन्छ । 

आस्बा, शुरुवात र विकास 

आवेदकले आवेदन गर्न चाहेको कित्ता बराबरको रकम शेयर बाँडफाँड नभएसम्म आवेदककै बैंक खातामा रोक्का राख्ने प्रविधि आस्बा हो । आस्बा अंग्रेजी भाषाको एप्लिकेसन सपोर्टेड बाइ ब्लकेड एमाउन्टको संक्षिप्त स्वरूप हो । यसको शुरुवात भारतीय प्रतिभूति तथा विनिमय वोर्डले सन् २००८ मा गरेको थियो र हाल अनिवार्य गरिएको छ । नेपालमा पनि२०७३ माघ १ गतेदेखि धितोपत्र खरिद (सार्वजनिक निष्काशन) निर्देशिका २०७३ मार्फत ऐच्छिकरुपमा लागू भएको छ । तोकिएका संकलन केन्द्रमा गई शेयरमा आवेदन गर्ने परम्पगत पद्धतिलाई विस्थापन गर्ने अपेक्षा गरिएको छ । आस्बा प्रणालीमा आवद्ध बैंकमार्फत आवेदन गर्न सकिन्छ । 

साझेदार र लाभ 

लगानीकर्ता, निष्काशक कम्पनी, बिक्री प्रवन्धक र बैंक यसका मुख्य साझेदार हुन् । साझेदारहरु कुनै न कुनै रुपमा लाभान्वित भएका छन् । लगानीकर्ता चर्को घाम र झरीमा पालो कुर्दै संकलन केन्द्रमा लामवद्ध हुनुपर्ने पद्धतिको अन्त्य भएको छ । लगानीकर्ताले पाएको प्रत्यक्ष लाभ यहि हो । निष्काशक कम्पनीको शेयर निष्काशन खर्चमा कटौती भएको छ । बिक्री प्रवन्धकलाई पनि संकलन केन्द्रको व्यवस्थापन गर्न सहज भएको छ । आस्बाको सबैभन्दा बढी लाभ यसमा आवद्ध बैंकले पाएका छन् । परम्परागतरुपमा नेपाल राष्ट्र बैंक र निष्काशन बैंकमा जम्मा भएर निस्क्रिय जस्तै बनेर बस्ने रकम आवेदककै बैंक खातामा रहँदा बैंकमा आउन सक्ने तरलता संकटलाई कम गर्न मद्दत पुगि स्रोत व्यवस्थापन गर्न सहज भएको छ । 

निर्देशिकाका कमजोरी 

जननी देश भारतमा समेत लागू हुन् झन्डै १० वर्ष लागेको र अन्यत्र कुनै देशमा पनि लागू हुन नसकेको यो प्रविधि नेपालमा सफलरुपमा लागू गराउन सकिने/नसकिने आउने दिनले बताउने छ । परीक्षणमा नै लामो समय बिताएको प्रविधिलाई नेपालमा लागू गर्नु अघि त्यसको पूर्व समिक्षा गरिनुपर्थ्यो तर गरेको कार्यको ट्रेडमार्कजसरी प्रचार शैली अपनाउने वोर्ड नेतृत्वले सम्बन्धित क्षेत्रका विषयगत जानकारसँग यथोचित छलफलमा नै नगरी लागू गरिएको घोषणा गर्यो । निर्देशिकामा कमजोरी गनेर साध्य थिएन ।पहिलो गाँसमै ढुंगाभने झैँ लगानीकर्ताको ढाड भाँच्ने गरि बैंकले रु. ५० हजारसम्म एकसय र सो भन्दा बढीको लागि २ सय ५० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरियो । आस्बालाई व्यग्रतासाथ् पर्खिरहेका लगानीकर्ता ‘...कान्छो बाबुको अनुहारसम्झन बाध्य भए । अझ आवेदकले तिरेको शुल्कबाट वोर्ड र विक्री प्रवन्धकलाई क्रमशः ३ र १५ प्रतिशत कमिसन भाग छुट्टयाएर काले काले मिलेर भालेखाएको पनि टुलुटुलु हेर्नुपर्ने भयो । आस्बा शुल्क तोक्नुको एउटा कारण बैंकलाई आस्बामा सामेल हुँदा तिराएको दस्तुर उठाउन र आफू लगायत विक्री प्रवन्धकको आम्दानी बढाउन थियो भन्दा अत्युक्ति हुन्न । एउटा बाणिज्य बैंकले सित्तैमा गर्छु भन्दा आफ्नो कमिसन जान आँटेको चिन्ता बाहेक स्पष्टीकरण सोध्नुपर्ने अन्य कुनै कारण थिएन । 

पहिलो र दोस्रो संशोधन

नहुनुपर्ने कमजोरी भयो नगर्नुपर्ने गल्ति गर्यो तर त्यसलाई सुधार गर्न सकिने सम्भावना पनि त्यतिकै रहन्छ । लागू भएको ४ दिन नबित्दै पहिलो संशोधन गरियो । लागू गरिएको चौथो दिन नै संशोधन हुनुले कानुन निर्माण गर्दा पर्याप्त गृहकार्य भएको थिएन भन्ने प्रष्ट भयो । यसलेवोर्डको अपरिपक्वतालाई घाम जत्तिकै छर्लङ्ग पार्छ । पहिलो संशोधनले पनि लगानीकर्तालाई सम्वोधन गर्न सकेन । सरल सेवाको नाममा लगानीकर्ताको हित विपरित आस्बाको लागि शुल्क तोकिनु पटक्कै हुने कुरा थिएन । अन्ततः पहिलो संशोधनमा पनि लगानीकर्तालाई रेट्ने कार्य यथावत कायम रह्यो । दोस्रो संशोधनलेजतिसुकै भएपनि शुल्कको अधिकतम हदएकसय रुपैयाँ कायम गरिएको छ । संसोधनमा देखिएको नयाँ विषयमा वोर्डले लिने तीन प्रतिशत खारेज भएको छ र विक्री प्रवन्धकलाई प्रति दरखास्त फारम रु. १० दिनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

औचित्यहिन शुल्क 

परम्परागत विधिमा निष्काशक कम्पनीले आवेदन संकलन गरिदिए वापत संकलन केन्द्रका रुपमा कार्य गरेका बैंकलाई कमिसन दिने गर्थे । अहिले बैंकले सोहि कार्य फरक ढंगले गरेका हुन् । बैंक आस्बामा सहभागी भएर लगानीकर्तासँग रकम असुल गरौंला भनेर आवद्ध भएका पनि हैनन् । आस्बामा आवद्ध हुनुको मूल कारण आफ्नो अधिनमा रहेको निक्षेप बाहिर नजाओस आफूसंगै रहोस भन्ने हो । कम्तिमा एक महिनादेखि झन्डै तीन महिनासम्म आफ्नो प्रणालीबाट बाहिरिने रकम आफैंले राख्न पाउने र बाँडफाँडमा परेको अत्यन्त न्यून रकम मात्र आफ्नो प्रणालीबाट बाहिरिने हुँदा यसको अधिकतम लाभ बैंकले लिइरहेका छन् तर पनि आफ्नो रकम बैंकलाई निस्फिक्री चलाउन दिएर पनि बचतकर्ताले उल्टो बैंकलाई व्याज (शुल्क) तिरिरहेका छन् । के यो न्यायसंगत कार्य हो ? बैंकले पो उल्टो निक्षेपकलाई बढी ब्याज दिनुपर्ने हैन ?

आस्बा शुल्क भनेर लिनै नहुने शुल्क लिने अनुमति वोर्डले दियो । अझ यतिले पनि नपुगेर आस्बामा सहभागी बैंकले लिएको शुल्कबाट विक्री प्रवन्धकलाई रु. १० बुझाउनुपर्ने औचित्य के हो ? निष्काशक कम्पनीले बिक्री प्रवन्धन गरिदिए वापत लिनेदिने सेवा शुल्क तय गरिसकेका हुन्छन् । 

नियमनको उद्देश्य र सिद्धान्त

‘...पूँजीबजारको विकास गरि धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नको निम्ति...सार्वजनिक निष्काशन भएको धितोपत्रको खरिद प्रक्रियालाई स्वच्छ, पारदर्शी, छिटोछरितो तथा मितव्ययी बनाउनभन्ने यी दुई वाक्याँश क्रमशः धितोपत्र सम्बन्धि ऐन २०६३ र निर्देशिकाका प्रस्तावनाका हुन् । यी दुई प्रस्तावना वोर्डले नबुझेकै हो ? लगानीकर्ता हित संरक्षण यसै गरि हुन्छ ? अनि निर्देशिकामा भएको मितव्ययीभनेको लगानीकर्तासँग ढाड भाँचिने गरि पैसा असुल्न लगाउनु हो


पूँजीबजारको नियमन लगानीकर्ता हित संरक्षणको लागि गरिन्छ । पूँजीबजार नियमकहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटीज कमिसन (आइस्को) को सदस्य भईसकेकोले यसले तयार गरेकोपूँजीबजार नियमनको उद्देश्य र सिद्धान्तसम्बन्धि अधिनमा रही नियमनको लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्छ । संगठनले तयार पारेको तीसवटा सिद्धान्तहरु मुख्यतः निम्नलिखित तीनवटा उद्देश्यमा आधारित छन् : (१) लगानीकर्ताको हित संरक्षण, (२) प्रणालीगत जोखिम न्यूनीकरण र (३) स्वच्छ, सक्षम तथा पारदर्शी बजार सुनिश्चितता ।

उल्लेखित तीनवटा उद्देश्यमा आधारित तीसवटा सिद्धान्तहरुको पूर्ण कार्यन्वयन गर्नको लागि आवश्यक कानूनी दायरा पनि निर्माण गरिनुपर्छ । तर लगानीकर्तालाई नै मारमा पारेर कम्पनी पोस्ने नीति बनाउने हो भने यस्तो नियमकको के काम ? वोर्डले प्रस्तावना र आइस्कोको मान्यतालाई छिट्टै आत्मसात गर्ने आशा र कामना पनि गरौं ।


वैशाख १०, कारोबार


विकृति बन्दै अवितरित हकप्रद


व्यवसाय  संचालनको लागि नभई नहुने प्राथमिक तत्व पूँजी हो । पूँजीको प्रवन्धन नभएसम्म व्यवसाय गर्न सकिन्न । व्यवसाय शुरु गर्दाको पूँजी संधैको लागि पर्याप्त हुन्न । व्यवसाय र देशीय अर्थतन्त्रको आकार बढेसँगै आवश्यकता अनुसार पूँजी  थप  गर्दै  जानुपर्छ । आर्जित आम्दानी पूँजीकरण गर्ने, शेयरधनीलाई थप पूँजी हाल्न लगाउने जस्ता विभिन्न वित्तीय उपकरणहरु आवश्यकता अनुसार उपयोग गर्नुपर्छ  । पूँजी  थप्ने  विभिन्न वित्तीय उपकरण मध्ये  शेयरधनीलाई पूँजी हाल्न लगाउने हकप्रदपनि एक हो ।

कानूनी व्यवस्था

धितोपत्र कानुनमा 'हकप्रद' को परिभाषा भेटिन्न । ऐनमा 'संगठित संस्थाले  निष्काशन गरेको कुनै धितोपत्र साविकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरिद गर्न पाउने गरि राखिएको प्रस्ताव सम्झनुपर्छ'  भनेर  'हकप्रद निष्काशन' को परिभाषा गरेको छ । यो परिभाषाले 'हकप्रद' के हो प्रष्ट पार्दैन । ऐनमा हकप्रदको परिभाषा नगरे पनि  धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३  को नियम १७(१) मा 'संगठित संस्थाले तोकेको मितिमा कायम रहेका शेयरधनीहरुलाइ धितोपत्र जारी गरि पूँजी बढाउने भएमा धितोपत्रको हकप्रद निष्काशन गर्न सक्नेछ' भनेर गरिएको व्यवस्था भने केही हदसम्म परिभाषा हो भन्न सकिन्छ । विद्यमान व्यवस्थामा हकप्रद जारी गर्ने सम्बधि प्रस्ताव साधारण वा विशेष साधारणसभाले पारित गरेको चार महिनाभित्र धितोपत्र वोर्डमा आवेदन गर्नुपर्ने र वोर्डबाट स्वीकृति पाएको दुई महिनाभित्र विक्री शुरु गर्नुपर्ने व्यवस्था छ । हकप्रद सम्बन्धि सारभूत कानूनी व्यवस्था यति हो ।

विकृति बनेको हकप्रद

पूँजीबजार हकप्रदमय बनेको छ । हकप्रद नदिने कम्पनी त बेकामे हो कि जस्तो पनि देखिएको छ । एकल शेयरधनी भएको प्राइभेट कम्पनीले पनि हकप्रद जारी गर्ने सूचना प्रकाशन गर्नसक्छन भन्ने ठट्टा समेत गर्न थालिएको छ । हकप्रद जारी गर्ने घोषणा गर्दै रद्द गर्ने प्रवृतिले बजार भाउ बढाएर आफन्तको शेयर बेच्ने अस्त्र बन्न लागेको पनि देखिएको छ । जारी गरिहाले पनि शेयरधनीलाई सकेसम्म सूचना नदिई वा अल्पसूचना दिई बाँकी रहेको वा मनसायपूर्वक बाँकी रहन बाध्य पारिएको हकप्रद लिलामी गर्ने र कम्पनीको जगेडा कोष मजबूत बनाउन गरिने प्रयास पनि विकृतिको अर्को स्वरूप हो । एक वर्षमा एकपटक मात्र हकप्रद जारी गर्न पाइने र सूचीकरण भएको १८० दिन पुग्नुपर्ने नियमलाई समेत वेवास्ता गरेको देखिइसकेको छ । कम्पनीको शेयर भाउ स्थिर राख्न वा अझ बढाउन धितोपत्र सम्बन्धि कानून उल्लंघन गरिनु विकृतिको चरमसीमा हो । हकप्रद व्यवस्थित र उद्देश्यमुलक बन्न सकेको छैन । पूँजीबजारलाई चलायमान बनाएर राख्ने उपकरणको दुरुपयोग हुँदा अन्ततः पूँजीबजारलाई नै घातक असर पर्ने र संस्थागत अराजकता ल्याउनसक्छ । यसको लागि बेलैमा नियमकले हकप्रद सम्बन्धि कानूनी व्यवस्था गरिहाल्नु अपरिहार्य भइसकेको छ ।

किन बिक्दैन हकप्रद

जारी गरिएका हकप्रद शेयर सबै विक्री हुँदैन । विक्री नहुनुका बिभिन्न कारणहरु छन् । सूचना सम्प्रेषण पर्याप्त नहुनु भए पनि अल्पसूचना मात्र दिनु, साधारण शेयर आवेदन मागिएका क्षेत्रमा केन्द्र नराखिनु, केन्द्र अत्यन्तै कम राखिनु, आरक्षित शेयर दिईएका जिल्लामा संकलन केन्द्र नराखिनु, काठमाडौँमा मात्र संकलन केन्द्र राखिनु, खण्डित कित्ता आवेदन गर्न रोक लगाउनु जस्ता अनगिन्ति कारणहरु विद्यमान छन । शेयरबजारमा कम्पनीको मूल्य बढ्दो क्रममा छ भने कम्पनीहरु हकप्रद नभराउनको लागि सकेसम्म प्रयास गर्छन । यसो गर्दा वर्षभरिमा कम्पनीले व्यापार गरेर कमाउने भन्दा बढी रकम अवितरित हकप्रद लिलामी मार्फत बेचेर प्राप्त गर्ने प्रिमियम अधिक हुनु हो । यसले कम्पनीहरु लगानीकर्ता मैत्रेय स्वभावका छैनन् भन्ने देखाउँछ । कम्पनीका संस्थापक शेयरधनीहरुले साधारण शेयरधनीलाई आफ्नो भाग खोस्न आएका सौतेला वा झड्केला सन्तानलाई शेयर दिएर गुण लगाएको सम्झनु संस्थागत संस्कारको विकास नभएको पुष्टि हुन्छ । यसवाहेक प्रतिकूल परिस्थितिमा हकप्रद जारी गरिनु पनि हकप्रद विक्री नहुनुको एउटा कारण हो तर यो सर्वमान्य परिस्थिति भने हैन । 

नियमनको उद्देश्य र सिद्धान्त

पूँजीबजारको नियमन लगानीकर्ता हित संरक्षणको लागि गरिन्छ । पूँजीबजार नियमकहरुको अन्तर्राष्ट्रिय संगठन ‘International Organization of Securities Commissions-IOSCO’ को सदस्य भईसकेकोले यसले तयार गरेको पूँजीबजार नियमनको उद्देश्य र सिद्धान्तसम्बन्धि अधिनमा रही नियमनको लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्छ । संगठनले तयार पारेको तीसवटा सिद्धान्तहरु मुख्यतः निम्नलिखित तीनवटा उद्देश्यमा आधारित छन् : (१) लगानीकर्ताको हित संरक्षण, (२) प्रणालीगत जोखिम न्यूनीकरण र (३) स्वच्छ, सक्षम तथा पारदर्शी बजार सुनिश्चितता । उल्लेखित तीनवटा उद्देश्यमा आधारित तीसवटा सिद्धान्तहरुको पूर्ण कार्यन्वयन गर्नको लागि आवश्यक कानूनी दायरा पनि निर्माण गरिनुपर्छ । कानून विना नियमन हुनसक्दैन । अहिलेसम्म वोर्डले हकप्रद सम्बन्धि स्पष्ट कानुनी व्यवस्था नगर्दा हकप्रद विकृतितर्फ उन्मुख भएको हो । अविलम्ब हकप्रद सम्बन्धि कानुन निर्माण गरेर पूँजीबजारको प्रणालीगत जोखिमलाई न्यूनीकरण गरि स्वच्छ, सक्षम र पारदर्शी बजार निर्माण गरि लगानीकर्ताको हित संरक्षण गर्नुपर्छ ।

प्रत्याभूत र थप कित्ता आवेदन
                          
केहि अपवादको स्थितिमा बाहेक कम्पनीले शुद्ध मनसाय लिने हो भने हकप्रद बिकाउन कुनै गाह्रो छैन । केहि समय अघिसम्म खण्डित शेयर आवेदन गर्न नदिएको र पर्याप्त संकलन केन्द्र नराखेको विषयमा आवाज उठेपछि वोर्डले खण्डित शेयरलाई पूर्ण कित्ता दिन र पर्याप्त केन्द्र राख्न दिएको निर्देशन स्मरणीय छ । तर यस्ता कार्य आवाज उठेपछि मात्र सम्बोधन हुने परिपाटीको शिघ्र अन्त्य हुनुपर्छ । हकप्रदमा भएका थुप्रै विकृति मध्ये अवितरितको संज्ञा दिई लिलामीमार्फत बेचेर कम्पनीले जगेडा कोष बढाउने प्रवृतिलाई यथाशिघ्र रोक्नुपर्छ ।  

बिक्रि खुला गरिएको सम्पूर्ण हकप्रद शेयर बिक्रि हुन्न भन्ने विषयलाई नियमावलीले स्वीकार गरेको छ । बिक्रि हुन नसकी बाँकी रहेमा लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रि गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थालाई सुधार गर्नु अत्यन्त जरुरी भएकोछ । सुधारका लागि धेरै विकल्प उपलब्ध हुनसक्छ । बंगलादेशमा हकप्रद शेयर जारी गर्नु अघि प्रत्याभूति गराउनुपर्ने व्यवस्था गरिएको छ । बंगलादेशको यो व्यवस्थालाई अनुकरण गर्न सकिन्छ । यसबाहेक हकप्रद लिन योग्य साविकको शेयरधनीलाई नै थप शेयर लिनसक्ने व्यवस्था गरेर अवितरित हुनसक्ने जोखिम कम गर्न सकिन्छ । यस्तो सुबिधा नेपालमा पहिले दिने गरिएको थियो तर अहिले लिलामी गर्न पल्केका कारण इतिहास बनिसकेको छ ।

हकप्रद अवितरित हुने समस्या समाधानको लागि वोर्डले बंगलादेशमा प्रचलनमा रहेको प्रत्याभूतसम्बन्धि व्यवस्थालाई आधार बनाउन सक्छ । नेपालमा पहिले नै प्रचलनमा रहेको थप कित्ता आवेदन दिनपाइने प्रचलन र बंगलादेशको प्रचलन एकीकरण गरि दुबै व्यवस्था गर्न सकिन्छ । अवितरित रहनसक्ने शेयर संचालनमा रहेका म्युचुअल फण्डलाई कोषको आकारको आधारमा समानुपातिकरुपमा प्रत्याभूत गर्न लगाउने र साबिकका शेयरधनीलाई आवेदन गर्न पाउने कित्तामा थप भर्न पाउने व्यवस्था गर्ने र त्यति गर्दा पनि बाँकी रहन गएमा प्रत्याभूतकर्ता म्युचुअल फण्डलाई बाँकी रहे जति शेयर प्रत्याभूत गर्ने व्यवस्था मिलाएमा अवितरित हकप्रदको समस्या सदाको लागि समाप्त हुनसक्छ । प्रत्याभूत गर्ने म्युचुअल फण्डको योजना अवधि ६ महिना भन्दा कम भएकालाई नदिने व्यवस्था गर्नसकिन्छ । म्युचुअल फण्ड संचालनमा नरहेको अवस्थामा प्रत्याभूति गर्न अनुमतिप्राप्त कम्पनीलाई प्रत्याभूत गराउन सकिन्छ । यसतर्फ वोर्डको ध्यान जानु लगानीकर्ता हित संरक्षणको लागि कोशेढुङ्गो हुनसक्छ ।

१६ माघ २०७३, कारोबार 



लाभांशको अन्योल


आर्थिक वर्षको शुरुवातसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीले कति नाफा कमाए र कति लाभांश घोषणा गर्लान भन्ने कौतुहलताको जोडघटाउ शुरु हुन्छ र यहि आधारमा शेयरको भाउ घटबढ हुन्छ ।  यसवर्ष लाभांश घोषणासँगै अन्योल पनि घोषणा भयो । सिटिजन्स बैंकले भाद्र महिनामा करिब २५ प्रतिशत लाभांश घोषणा गरेपछि सोहि महिना बाँडफाँड भएको हकप्रदले पाउने कि नपाउने भन्ने बहस सतहमा आयो । बैंकले अगिल्लो आर्थिक वर्ष कायम पूँजीलाई आधार मानेर लाभांश घोषणा गरेको थियो । तर साधारणसभामा हकप्रद र अवितरित हकप्रद लिलामी मार्फत प्राप्त गर्नेले समेत लाभांश पाउने गरि प्रस्ताव पारित गर्यो । हकप्रद समेत लिएकालाई केहि फरक नपरे पनि नेप्सेमा आएको सूचनालाई आधार मानेर २५ प्रतिशत बोनस पाउने आशामा शेयर किनेकालाई भने धोका भयो । यसप्रकारको धोका र अन्योलको सिलसिला टुंगिएको छैन । हकप्रद बिक्री गरि बाँडफाँड नभएको मुक्तिनाथ र मितेरी बैंकले घोषणा गरेको क्रमशः ३४ र ३० प्रतिशत बोनस कसले पाउने कसले नपाउने भन्ने अन्योल अझ पनि कायम छ । मुक्तिनाथ बैंकको शेयर रजिष्ट्रारका उच्च अधिकारीले हकप्रदले बोनस नपाउने बताए पनि नेप्सेले भने हकप्रदलाई समेत जोडेर मूल्य समायोजन गरिसकेको छ । त्यस्तै मितेरीका कार्यकारी प्रमुखले समेत यस्तै कुरा बताएका थिए । दुबै बैंक सम्वद्ध अधिकारीले बताएको भन्दा फरक तरिकाले शेयरधनी दर्ता पुस्तक बन्द भएपछिको कारोबार मूल्य समायोजन गर्दा बिक्री हुँदै गरेको हकप्रदलाई समेत आधार मानेर गरिएको छ  अझ कति कम्पनीका शेयरधनीले यस्तै धोका र अन्योल व्यहोर्ने हुन् विस्तारै खुल्दै जानेछ । 

अन्योलको प्रस्थान विन्दु 

लाभांशमा यस्तो अन्योल आएको यहि वर्षबाट भने हैन । गत वर्षको मध्यतिर फर्दर पब्लिक अफर (एफपिओ) जारी गरेको शिखर इन्सुरेन्सले एफपिओ किन्नेले समेत लाभांश प्राप्त गर्ने निर्णय गर्दै बाँडफाँड भएपछी साधारणसभा गर्यो । लाभांश सम्बन्धि अन्योलको प्रस्थान विन्दु यहीँबाट शुरु भएको हो भन्दा अत्युक्ति नहोला । शिखरले एफपिओ जारी गरेको केहि समयपछी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबि) ले जारी गरेको एफपिओ किन्नेको लर्को लाग्यो र अहिलेसम्मको अधिक रकम संकलन भयो । यसो हुनुको एउटा कारण शिखर पनि थियो । शिखरले एफपिओलाई समेत लाभांश दिएकोले एनआईविले घोषणा गरेको ३३ प्रतिशत लाभांश पाइन्छ भन्ने लालसाले प्रेरित गरेको थियो । जबकी शिखर र एनआईविले घोषणा गरेका लाभांशको प्रकृति नै फरक थियो । शिखरले घोषणा मात्र गरेको थियो भने एनआइवीले घोषणा गरेको बोनस साधारणसभाबाट पारित समेत गरिसकेको थियो र बोनस पछी कायम पूँजीलाई आधार मानेर एफपिओ जारी गरेको थियो । एनआईविले चालु आर्थिक वर्षमा २० प्रतिशत बोनस र २१ प्रतिशत नगद सहित साधारणसभा सम्पन्न गरिसकेको छ तैपनि गत वर्ष एफपिओ किनेका लगानीकर्ता अहिले पनि गत वर्षको ३३ प्रतिशत बोनस कहिले पाइन्छ भने प्रश्न गरिरहेका छन् । 

अन्योलका पोकाहरु 

यस्ता अन्योलका पोकाहरु अनगिन्ती छन । अन्योल कसरी सिर्जना भएका छन् त्यसको सानो उदाहरण मात्र देखाईएको हो । हकप्रद विक्री गरिसकेका मेगा, सेन्चुरी, कृषि, सिद्धार्थ लगायत दर्जन भन्दा बढी बैंकहरुले लाभांश घोषणा गर्न बाँकी हुँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् । वित्तीय विवरण हेरेर लाभांशको अंक अनुमान गरेर लगानी गरिरहेका लगानीकर्ता समेत अन्योल छन् भने वित्तीय विवरण हेर्न सिक्दै गरेका वा जान्दै नजान्नेले कसरी निर्णय लिन सक्लान ? हकप्रदको स्वीकृति पाएर शेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको तर विक्री शुरु नगरेको एक विकास बैंकले घोषणा गरेको २० प्रतिशत बोनस हकप्रदलाई समेत दिनेभएको छ । यसो गर्दा उसको बोनस घटेर ८ प्रतिशतमा झर्छ तर उसले नेप्सेमा २० प्रतिशत लाभांश दिने भनेर जारी गरेको सुचनाले कयौं लगानीकर्तालाई झुक्याएको छ । यस्तै अन्योल माछापुच्छ्रे बैंकले घोषणा गरेको बोनसले पनि सिर्जना गरेकोछ । हकप्रद विक्री गरिरहेको हिमालयन बैंकले लाभांश घोषणा गर्दा हकप्रदले पाउँदैन भनेर सूचना सम्प्रेषण गरेजस्तो अन्य कम्पनीले प्रष्ट पारेनन् । 

संस्थागत अराजकता र जालसाजी

अहिले शेयरवजारमा लाभांशले जे स्थिति ल्याइरहेको छ त्यो स्वस्थ र स्वच्छताको परिचायक हैन । यसलाई संस्थागत अराजकता र जालसाजीभन्न सकिन्छ । यस्ता अराजकतालाई मलजल पुर्याउनसक्ने समस्त गतिविधि बन्द गरिनुपर्छ । केन्द्रीय बैंकले पूँजी वृद्धिको निर्देशन दिएपछि यस वर्ष बैंकका हकप्रद अलि बढी नै आए । एकैपटक धेरै कम्पनीको हकप्रद आएकोले व्यवस्थापन गर्न कठिन भएको होला तर कठिन भयो भन्दैमा अराजकता नै आउने गरि अन्योल सिर्जना गर्नुहुँदैन । सहज बेलामा जसले पनि सजिलै काम गर्छ असहज र जटिल परिस्थितिलाई पनि सहज बनाउनु कुशल व्यवस्थापकीय क्षमताको परिचायक हो । 

जिम्मेवारी कसको ?

जोखिम लिएर लगानी गरिरहेका लगानीकर्ता शेयरवजारका आधारभूत पक्ष हुन् । शेयर लगानीमा जोखिम छँदैछ झन् त्यसमाथि अन्योल सिर्जना गरिदिएपछि जोखिम अझ बढ्छ । शेयरवजारको जोखिमलाई न्यूनीकरण गराइदिने कार्य धितोपत्र वोर्डको हो तर नियमक नै अन्धो र बहिरो भएपछी कसले हेर्ने अनि कसलाई सुनाउने ? कम्पनीले अराजकता ल्याउन खोजेमा त्यसलाई नियमन गर्ने निकायले रोक्ने चेष्टा नगर्नु खेद्जन्य कार्य हो । लाभांश सम्बन्धमा भएका अराजक गतिविधिलाई उचित सम्बोधन गरि एकरुपता ल्याउने कार्य नियमकले नगरीदिएमा कर्पोरेट डिसअर्डरले संस्थागत स्वरूप लिन्छ र यसले फस्टाउँदो, विस्तारित र व्यवसायिक हुने क्रममा रहेको शेयरवजारलाई गम्भीर असर पार्दा आमलगानीकर्ता विचलित हुन्छन । जोखिमलाई न्यूनीकरण गराउनको लागि बेलैमा सहि र यथार्थ सूचना सम्प्रेषण गर्नु र गर्न लगाउनु नियमकको प्राथमिक कर्तव्य एवम दायित्व हो । सहि अर्थमा नियमन भनेको पनि यहि हो । 

अबको बाटो 

सूचना प्राप्त गर्ने विषयलाई संबिधानले मौलिक हकको रुपमा राखेको छ । धितोपत्र कानूनमा लाभांश घोषणा सहित २५ वटा घटनालाई कम्पनीको शेयर मूल्यमा प्रभाव पार्ने विशेष परिस्थिति भनिएको छ । लगानीकर्ताले सहि सूचना र जानकारी पाउनु नैसर्गिक अधिकार हो । सूचनाबाट लगानीकर्ता बन्चित हुनुहुन्न । लाभांश वितरण गर्ने प्रयोजनको लागि जुनसुकै विधिबाट पूँजी थपिएको भए पनि एक आर्थिक वर्षमा कायम रहेको चुक्ता पूँजीलाई मूल आधार बनाइनुपर्छ । यसो गर्दा सबैले सहजरुपमा बुझ्न सक्छन र बुझाउन पनि सकिन्छ । अगिल्लो आर्थिक वर्ष भएको आम्दानी पछिल्लो आर्थिक वर्षमा थपिएको पूँजीलाई समेत दिनु तर्कसंगत र न्यायसंगत हुनसक्दैन । आर्थिक वर्षको अर्थ सरकार र संगठित संस्थाको कारोबारलाई वार्षिकरुपमा अलग पार्नु हो । जसले गर्दा कुन वर्ष कति आम्दानी भयो कति लाभांश बाँडियो त्यसको लेखाजोखा गर्न सजिलो हुन्छ । कानुनको क्षेत्रमा ढिलो न्याय दिनु न्याय नदिनु सरह होभन्ने एउटा उक्ति प्रचलित छ । यहि उक्तिलाई शेयरवजारको सन्दर्भमा पनि लागू गरि ढिलोमा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरि लाभांश वितरण गर्न लगाउनुपर्छ । वोर्ड शेयर लगानीकर्ताको हित संरक्षक हो । सरंक्षकले गलत अभ्यास हुन लागेमा वा हुन् लागेको जानकारी पाउनासाथ त्यसलाई रोक्न पहल गर्नुपर्छ नत्र गलत अभ्यासले गलत परिणाम ल्याउँछ र त्यसलाई सहि ठाउँमा ल्याउन पहल गर्दा सिर्जनात्मक कार्य गर्नुपर्ने समय त्यसै खेर जान्छ । बोर्ड बेलैमा सचेत बनोस र शेयरवजार सुदृढ एवम शुद्ध बनाउन पहल गरोस ।


१९ मंगसिर २०७३ कारोबार








कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...