Friday, April 24, 2026

कम्पनी कानुनको उद्भव र विकास

 वैदिककालमा कि बेलायतबाट ?

कम्पनी भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा ‘कम्पानियो’ भन्नाले ‘साथी’ वा ‘सहयात्री’ भन्ने बुझाउँछ । ‘कम’ को अर्थ ‘सङ्गै’ र ‘प्यानिस’ को अर्थ ‘रोटी’ भएकाले यसको मौलिक अर्थ ‘सङ्गै रोटी खाने साथीको समूह’ भन्ने थियो । पछि यो शब्द व्यापारिक वा व्यवसायिक रूपमा उपयोग हुन थाल्यो । कम्पनी शब्दको पदवियोग गर्दा ‘कम’ भनेको ‘सँगै, संयुक्त’ र ‘पनि’ भनेको ‘साथी, समूह’ भन्ने बुझाउँछ । त्यसैले, कम्पनी भन्नाले सङ्गठितरूपमा कुनै उद्देश्य पूरा गर्न बनेको समूह वा संस्था जनाउँछ । हाल यसको मुख्य उपयोग व्यापारिक सङ्गठन लागि गरिन्छ । यसबाहेक यस शब्दको उपयोग ‘कसैको सङ्गत वा साथ’ को अर्थमा पनि हुन्छ । त्यस्तै, सैनिक क्षेत्रमा एकाइ जनाउन वा साङ्गीतिक तथा नाट्य समूहलाई इङ्गित गर्न पनि कम्पनी शब्द उपयोग गरिन्छ । वर्तमान समयमा कम्पनी व्यावसायिक सङ्गठनको सर्वव्यापी स्वरूप बनेको छ । विश्वव्यापी बनेको कम्पनी अवधारणको शुरुआत बेलायतबाट भएको हो भनेर सम्भवत: संसारभरका विश्वविद्यालयमा अध्ययन/अध्यापन गराइन्छ । कम्पनीको अवधारण बेलायतबाटै शुरु भएको हो त ? वैदिक काल वा वैदिक ग्रन्थमा यस्ता संगठनको कुनै अस्तित्व थिएन ? थियो भने कस्तो थियो ? यस आलेखमा कम्पनीको उद्भव र विकासबारे चर्चा गरिन्छ।

व्यवसायको शास्त्रीय चर्चा

व्यापार/व्यवसाय वैदिककालदेखि नै अस्तित्वमा थियो l पराशरस्मृतिमा ‘........वाणिज्यं वैश्यवृत्तिरुदाहृता’ अर्थात् चातुर्वर्णमध्येको एक वर्ण वैश्यले व्यापार गर्ने गरेर जीवनयापन गर्नुपर्छ भन्ने उल्लेख गरेका छन् l यसले कार्यविभाजन गरेर जीविकोपार्जनलाई सुनिश्चित गराएको देखिन्छ l मनुस्मृतिमा संभूय स्वानि कर्माणि कुर्वद्भिरिह मानवैः । अनेन विधियोगेन कर्तव्यांशप्रकल्पना ।। अर्थात निर्धारित विधिबाट सँगसँगै मिलेर कर्तव्य पूरा गर्दा प्रत्येकले जिम्मेवारीको हिस्सा निर्धारण गर्नुपर्छ । याज्ञवल्क्य स्मृतिमा संभूय वणिज पण्यमनर्वेणोपरुन्धताम् । विक्रीणतां वा विहितो दण्ड उत्तमसाहसः ll अर्थात् व्यापारीले मिलेमतोमा कुनै सामान (वस्तु) लुकाउने वा रोक्ने वा त्यसलाई मिलेर बेचेको खण्डमा यस्ता व्यापारीलाई उत्तमसाहस (कठोर) दण्ड दिनुपर्छ भनेका छन् l यसले वैदिककालमा व्यापारलाई नैतिकतासँग जोडेको देखिन्छ l वैदिककालमा स्वदेशी र विदेशी सामान बिक्री गर्दा लिन पाउने नाफाको दर निश्चित गरिएको पाइन्छ l याज्ञवल्क्य स्मृतिमै स्वदेशपण्ये तु शतं वणिग्गृह्णीत पञ्चकम् ।  दशकं पारदेश्ये तु यः सद्यः क्रयविक्रयी ॥ अर्थात स्वदेशी वस्तु (पण्य) मा पाँच र विदेशी वस्तु क्रयबिक्रय गर्दा दश १० प्रतिशत नाफा लिन पाइन्छ l याज्ञवल्क्य स्मृतिमै ‘संभूयसमुत्थानं नाम विवादपदमिदानीमभिधीयते समवायेन वणिजां लाभार्थ कर्म कुर्वताम् । लाभालाभौ यथाद्रव्यं यथा वा संविदा कृतौ अर्थात व्यक्तिहरू समान उद्देश्य लिई एकजुट भएर उन्नतिका लागि कार्य (व्यवसाय) गर्छन्, यसरी कार्य गर्दा त्यहाँ विवाद पनि आउन सक्छ । लाभ प्राप्त गर्नको लागि सहकार्य गर्छन् l व्यवसायमा लाभ र हानि उनीहरूको लगानी वा सम्झौतामा आधारित हुन्छ । यस अनुच्छेदमा उल्लेख भएका ‘सम्भूयसमुत्थान शब्द अहिलेको कम्पनी जस्तै थियो l नारद स्मृतिको एउटा सिङ्गो अध्यायमा चर्चा गरिएको सम्भूयसमुत्थान मा के के छ त्यसको बारेमा यसपछिक अनुच्छेदमा क्रमशः चर्चा गरिन्छ l  

कम्पनीका आधारभूत पक्ष

देवर्षि नारदकृत नारदस्मृतिको चौथो अध्यायमा ‘सम्भूयसमुत्थान, भन्ने प्रकरणl यस प्रकरणमा वर्तमान समयमा कम्पनी भनिने व्यावसायिक स्वरुपकै मिल्दोजुल्दो व्यवस्था छ l सामूहिकरुपमा मिलेर गरिने व्यवसायलाई ‘सम्भूयसमुत्थान’ भनिएको छ l व्यवसायिक ढाँचाको लागि दिएको नाम ‘सम्भूयसमुत्थान’ को पदवियोग गर्दा ‘सम्भूय’ को अर्थ ‘एकसाथ, संयुक्त भई’ र  ‘समुत्थान’ को अर्थ माथि उठ्नु, उन्नति गर्नु हुन्छ l वर्तमान समयमा पनि व्यवसाय सामूहिक र व्यक्तिगत दुवै प्रकारका हुन्छन् र यसको उद्देश्य उन्नति गर्नु नै हुन्छ l सामूहिकरुपमा गरिने व्यवसाय मूलतः कम्पनीमार्फत गरिन्छ l नारदले सामूहिकरुपमा गरिने व्यवसायको बारेमा वणिकप्रभृतयो यत्र कर्म सम्भूय कुर्वते । अर्थात व्यक्ति (व्यापारी) मिलेर संयुक्तरूपमा कार्य (व्यापार) गर्छन् । तत्सभूयसमुत्थानं व्यवहारपदं स्मृतम्॥ अर्थात यस्तो संयुक्तरूपमा गरिएको कार्य व्यवहारमा स्वीकार्य हुन्छ l व्यवहारमा स्वीकार्य हुन्छ भन्नुको अर्थ राज्यले मान्यता दिन्छ भनिएको हो l यस्तो सामूहिक कार्यको उद्देश्य ‘फलहेतोरुपायेन कर्म सम्भूय कुर्वताम् । अर्थात फल प्राप्तिको उद्देश्यले संयुक्तरूपमा कार्य गर्छन् l कसले कति प्रतिफल पाउँछन र कसरी बाँडफाँड हुन्छ भन्ने सन्दर्भमा आधारभूतः प्रक्षेपस्तेनोत्तिष्ठेयुरंशतः ॥ अर्थात जसको जति लगानी छ, सोही आधारमा प्रतिफल प्राप्त हुन्छ l यी श्लोक अहिलेको शेयरधनी, उद्देश्य र लाभांशसँग मेल खान्छ l व्यापारमा हुने हानिनोक्सानी वहन गर्ने सम्बन्धमा समोऽतिरिक्तो हीनो वा तत्रांशे यस्य यादृशः । क्षयव्ययौ तदा वृद्धिस्तत्र तस्य तथाविधाः ॥ अर्थात जसको अंश (हिस्सा) जति छ, हानि, खर्च र नाफा पनि त्यहीअनुसार हुन्छ । यो श्लोक आधुनिक कम्पनी कानुनले व्यवस्था गरेको सिमित दायित्वसँग मेल खान्छ l शेयर, शेयरधनी, उद्देश्य, प्रतिफल (लाभांश) र शेयरधनीको दायित्व कम्पनीका आधारभूत पक्ष हुन् l

सञ्चालक र दायित्व

सञ्चालक समितिको जिम्मेवारी के र कस्तो हुन्छ भन्ने सन्दर्भमा भाण्डपिण्डव्ययोद्धारभारसारान्ववेक्षणम् l कुर्युस्तेऽव्यभिचारेण समये स्वे व्यवस्थिताः ॥ अर्थात सञ्चालकले सम्पत्ति, आम्दानी र खर्च व्यवस्थापनसहित सञ्चालनका महत्त्वपूर्ण पक्षको निरीक्षण, निष्पक्ष एवम् व्यवस्थित ढङ्गले जिम्मेवार भएर निर्धारित समयमा गर्नुपर्छ। श्लोकमा प्रष्टरुपमा सञ्चालक उल्लेख नगरे पनि ‘कुर्युस्तेऽव्यभिचारेण’ अर्थात् ‘तिनीहरूले इमानदारीपूर्वक गर्नुपर्छ’ भन्ने वाक्यांशले मुख्य भई काम गर्ने व्यक्तिलाई जनाउँछ l यहाँ मुख्य भई काम गर्ने व्यक्ति अहिलेको कम्पनीमा जस्तै सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्ति अध्यक्ष, प्रबन्ध सञ्चालक हुन् भन्ने बुझ्नुपर्ने हुन्छ l ‘अन्ववेक्षणम्’ अर्थात् निरीक्षण भनेको कुनै पनि कार्यको पर्यवेक्षण वा नेतृत्व गर्नु हो यस्तो कार्य गर्ने व्यक्ति सञ्चालकबाहेक अरु हुँदैनन् l सञ्चालकको के दायित्व हुन्छ भन्ने सन्दर्भमा प्रमादान्नाशितं दाप्यः प्रतिषिद्धकृतं च यत् । असन्दिष्टश्च यत् कुर्य्यात् सर्वसम्भूयकारिभिः ॥ अर्थात व्यवस्थापकीय कार्य गर्ने साझेदारले लापरवाही गरि हानिनोक्सानी पुर्‍याएमा, निषेध गरिएको कार्य गरेमा वा निर्देशन बिना कुनै कार्य गरेमा क्षतिपूर्ति बेहोर्नुपर्छ l तर, यहाँ उल्लेखित शब्दावली ‘प्रमादात् नाशितं (लापरवाहीबाट हानि)’, ‘प्रतिषिद्धकृतं (निषेधित कार्य)’ र ‘असन्दिष्टश्च यत् कुर्य्यात् (निर्देशनबिना)’ साझेदारको सहमति वा निर्देशन बिना कुनै कार्य गर्छ र त्यसले हानिनोक्सानी निम्त्याउँछ भने त्यस्तो हानि व्यवस्थापकको रुपमा कार्य गर्ने साझेदारले बेहोर्नुपर्छ l अहिलेको कम्पनी कानुनमा सञ्चालकले शेयरधनीको सहमतिविना कुनै पनि कार्य गर्न सक्दैनन् l सञ्चालकले संधै शेयरधनीको हितमा शेयरधनीको प्रतिनिधि भएर काम गर्नुपर्छ l यसलाई न्यासी कर्तव्य (फ्युडुशियरी ड्युटी) भनिन्छ l

पुरस्कार र कर्मचारी

सञ्चालकलाई पुरस्कार दिने कुराको सन्दर्भमा देवतस्करराजभ्यो व्यसने समुपस्थिते । यस्तत्स्वशक्त्या रक्षेत तस्यांशो दशमः स्मृतः ॥ यो श्लोक सम्भुयसमुत्थान प्रकरणमा भए पनि यसको प्रत्यक्ष सम्बन्ध सम्भुयसमुत्थानसँग देखिन्न l यद्यपि यसको अर्थानुसार देवता (दैवी), चोर, शत्रुबाट आउने संकटको समयमा जो व्यक्तिले सम्पत्तिको रक्षा गर्छ, उसलाई त्यस्तो सम्पत्तिको १० भागको एक भाग दिनुपर्छ l यसलाई सम्भुयसमुत्थानसँग जोड्दा कम्पनीको सञ्चालकलाई पुरस्कार दिने कुरासँग मेल खान्छ l आधुनिक कम्पनी कानुनले पनि सञ्चालकलाई पुरस्कार र पसिना शेयर (स्वेट इक्विटी) दिने व्यवस्था छ l यस्तो प्रचलनको मूल स्रोत वैदिककालका ग्रन्थ हो l संस्थामा विभिन्न प्रकारका कर्मचारी आवश्यक पर्छ l कर्मचारी कति प्रकारका हुन्छन भन्ने सन्दर्भमा ऋत्विक् तु त्रिविधो दृष्टः पूर्वजुष्टः स्वयं कृतः । यदृच्छया च यः कुर्याद्यर्त्विज्यं प्रीतिपूर्वकम् ॥ अर्थात कर्मचारी/कामदार (ऋत्विक्) छनौट प्रकिया पूरा गरेर नियुक्त गरिएका (स्थायी), परामर्शदाता, स्वयमसेवक वा प्रशिक्षार्थी गरि तीन प्रकारका हुन्छन् l ‘ऋत्विक’ शब्दलाई सन्दर्भअनुसार कर्मचारी अर्थ लगाउँदा सान्दर्भिक हुन्छ l आधुनिक कर्मचारी प्रशासनमा पनि स्थायी, परामर्शदाता र प्रशिक्षार्थी कर्मचारी हुन्छन् l आधुनिक कर्मचारी प्रशासनको आधार पनि यही श्लोक हो भन्दा अत्युक्ति हुन्न l

कर र स्वामीविहिन सम्पत्ति  

कर नागरिकको सुरक्षा र राज्यको विकासका लागि नागरिकबाटै उठाइन्छ। सम्भुयसमुत्थानलाई देवर्षि नारदले संस्थाको रुपमा परिकल्पना गरेका छन् l यस्ता संस्थाले पनि राज्यलाई कर बुझाउनुपर्छ l करका सम्बन्धमा ‘शुल्कस्थानं वणिक् प्राप्तः शुल्कं दद्यात् यथोदितम्। न तदव्यतिहरेद्राजो बलिरेष प्रकीर्तितः अर्थात्, सम्भुयसमुत्थानले तोकिएको स्थानमा कर बुझाउनुपर्छ l राज्य र करदाता दुबैले यो नियम उल्लङ्घन गर्नुहुँदैन, किनकि कर अनिवार्य योगदान हो। करकै सन्दर्भमा शुल्कस्थानं परिहरन्नकाले क्रयविक्रयो । मिथ्योक्त्वा च परीमाणं दाप्योऽष्टगुणमत्ययम् अर्थात कर छल्ने, कालाबजारी गर्ने (अकाले क्रयविक्रयो), सामानको परिमाणबारे झुटो विवरण दिनेलाई आठ गुणा दण्ड लिनुपर्छ । कुनै साझेदारको मृत्यु भएमा उसको हिस्सा के हुन्छ भन्ने सन्दर्भमा दायादेऽसति बन्धुभ्यो जातिभ्यो वा समर्पयेत् । तदभावे सुगुप्तं तद्वारयेद्दशतीः समाः l अर्थात् सम्भुयसमुत्थानका कुनै हिस्सेदारको दायाद (उत्तराधिकारी) नभएमा बन्धु (दाजुभाई/नातेदार) वा जातिभ्यो (एउटै जाति वा समुदायका व्यक्ति) लाई दिनुपर्छ। कोही नभए राज्यले १० पुस्तासम्म सुरक्षित राख्नुपर्छ l यस्ता स्वामीविहीन सम्पत्ति व्यवस्थापनका सम्बन्धमा अस्वामिकमदायादं दशवर्षस्थितं ततः। राजा तदात्मसात् कुर्यादेवं धर्मो न हीयते॥ अर्थात् स्वामीविहीन सम्पत्ति १० वर्षसम्म कसैले दावी नगरे राज्यले आफ्नो बनाउँछ, यसो गर्दा धर्मनाश वा हानि हुँदैन । यो कुरा सम्पर्कमा नआएका साझेदार र संस्था खारेज भएमा बाँकी रहेको सम्पत्तिमा कोही दावी गर्न नआएमा कुनै पनि सम्पत्ति वेवारिस वा स्वामीविहिन नहुने सिद्धान्तसँग सम्बन्धित छ l कसैको दावी नपरेको सम्पत्ति राज्यको हुन्छ l यस कुरालाई स्थापित गर्ने आधार वैदिकदेखि अस्तित्वमा छ l

निचोडमा, माथिका विभिन्न अनुच्छेदमा गरिएको शास्त्रीय चर्चापछि कम्पनी स्वरुपको व्यवसायिक ढाँचाको प्रस्थान विन्दु वैदिककालमै भएको थियो भन्ने निष्कर्षमा पुगिन्छ l वैदिककालमा अहिलेको कम्पनी कानुनमा जस्तो धेरै कुरा भेटिन्न तर, विषय उठान भएको छ l विश्वविद्यालयको पाठ्यक्रममा कम्पनीको विकासक्रममा नारदस्मृतिको उल्लेख नहुनु र एकोहोरो कम्पनीको शुरुआत वेलायतबाट भएको हो भनेर अध्ययन/अध्यपान गराइनु ‘कस्तुरीले आफ्नो जिउबाट आएको सुगन्ध थाहा नपाएर अन्यत्र भौतारिंदै हिंड्नु जत्तिकै’ हो l वेलायतले गर्दै गरेन भन्ने हैन, त्यसमा केही परिस्कार गरेको कुरालाई अस्विकार गर्न पनि सकिन्न l बेलायतभन्दा अगाडि नै रोमन कालमा पनि कम्पनीको विकास भएको पाइन्छ l सिसेरोले त्यतिबेला शेयरको मूल्य अधिक थियो भनेर उल्लेख गरेका छन् । कम्पनी नभई शेयरको मूल्य हुने कुरै हुन्न l नेपालको विश्वविद्यालयले कम्पनी कानुनको पाठयक्रममा कम्पनीको प्रारम्भिक स्वरूपको रुपमा सम्भुयसमुत्थानलाई मान्यता दिंदै नारदस्मृतिको सम्भुयसमुत्थान प्रकरणलाई अविलम्ब समावेश गर्नु आवश्यक छ l


आर्थिक अभियान 


बुधबार, २० चैत, २०८१


https://abhiyandaily.com/news/448337/kmpnii-kaanuunko-udbhv-r-vikaas-vaidik-kaalmaa-ki-belaaytbaatt/

 

शेयर जारी कि विक्री

कानुनी प्रावधानको पुनरावलोकन

शेयर भन्ने अङ्ग्रेजी शब्दको अर्थ सन्दर्भअनुसार साझेदारी गर्नु, बाँड्नु, अंश वा खण्ड जस्ता विभिन्न अर्थ लाग्छ l कर्पोरेट क्षेत्रमा ‘शेयर’ शब्द ‘क्यापिटल’ अर्थात् ‘पुँजी’ सँग जोडिएर आउँछ l पुँजी वा क्यापिटललाई विभिन्न अंश वा खण्डमा विभाजन गरिन्छ l यस्ता अंश धारण गर्ने व्यक्ति (प्राकृतिक र कृतिम) लाई शेयरहोल्डर वा शेयरधनी वा अंश धारक भनिन्छ l नाफा नबाँड्ने कम्पनीबाहेक प्राइभेट र पब्लिक कम्पनीको शेयर हुन्छ l कम्पनीलाई प्राइभेट र पब्लिक गरि दुई भागमा विभाजन गरिन्छ l नेपालको कम्पनी कानुनअनुसार पब्लिक कम्पनीमा कम्तिमा सात जना र अधिकतम जति पनि र प्राइभेट कम्पनीमा १ जनादेखि अधिकतम १ सय १ जनासम्म शेयरधनी हुनसक्छन् l कम्पनीले यस्ता पुँजी व्यक्ति र संस्था दुबैबाट प्राप्त गर्छ l कम्पनीले पुँजी प्राप्त गर्न पूँजीको अंश अर्थात शेयर ‘बिक्री’ गर्छ कि ‘जारी’ यस विषयमा कानुनमा एकरुपता छैन l कम्पनी ऐन, २०६३ र धितोपत्रसम्बन्धी, ऐन २०६३ तथा विभिन्न नियमावली निर्देशिकामा ‘जारी, ‘बिक्री’ र बिक्रीसँग सम्बन्धित ‘खरिद’ शब्द उल्लेख छ l ‘जारी’ र ‘बिक्री’ समानार्थी शब्द हुन् ? शब्दकोशले लगाएको अर्थ, कम्पनी ऐन, धितोपत्रसम्बन्धी ऐन, विभिन्न नियमावली निर्देशिकामा भएको व्यवस्था र हुनुपर्ने के हो त्यसको बारेमा यस आलेखमा समिक्षा गरिएको छ l

कम्पनी ऐनमा बिक्री

शेयर शब्दको तालुकी कानुन कम्पनी ऐन, २०६३ हो l यसबाहेक विशेष कानुनद्वारा स्थापित निकाय जस्तैः नागरिक लगानी कोष ऐन, २०४७ द्वारा स्थापित नागरिक लगानी कोष र नेपाल विद्युत प्राधिकरण ऐन, २०४२ द्वारा स्थापित नेपाल विद्युत प्राधिकरण पनि कम्पनी सरहका निकाय हुन् l यस्ता निकायका हकमा कम्पनी ऐन लागु हुँदैन l यस्ता विशेष कानुनद्वारा स्थापित निकाय (कम्पनी) को पनि शेयर पुँजी हुन्छ l तर, यहाँ कम्पनी ऐनबाट स्थापित निकायको मात्र चर्चा गरिन्छ l कम्पनी ऐनको विभिन्न दफामा ‘बिक्री’ उल्लेख गरिएको छ l ऐनको दफा २(ल) मा ‘प्रिमियम मूल्यको शेयर भन्नाले शेयरको अङ्कित मूल्यभन्दा बढी मूल्यमा ‘बिक्री’ हुने गरी कम्पनीले जारी गरेको शेयर सम्झनुपर्छ‘ उल्लेख छ l दफा ९((३) मा......तापनि कर्मचारीलाई शेयर ‘बिक्री’ गर्ने योजनाअन्तर्गत कम्पनीको शेयर खरिद गरेका कर्मचारी वा त्यस्तो योजनाअन्तर्गत शेयर खरिद गरिसकेका......उल्लेख छ दफा १०(ग) मा प्राइभेट कम्पनीले आफ्नो शेयर तथा डिबेञ्चर खुल्लारुपमा बिक्री गर्नुहुँदैन भनेको छ l दफा २४(३) को प्रतिबन्धात्मक व्यवस्थामा पनि ......धितोपत्र ‘बिक्री’....उल्लेख छ दफा २८(१) को प्रतिबन्धात्मक खण्डमा.........५० प्रतिशत शेयर ‘बिक्री’ हुन नसक्ने .....उल्लेख छ दफा २९(२) मा प्रिमियम मूल्यमा शेयर ‘बिक्री’ भएकोमा....... उल्लेख छ दफा ३१(२) मा .......व्यक्तिलाई शेयर ‘बिक्री’ ....उल्लेख छ l दफा ३२(१) मा .......निष्काशन गर्दा त्यस्तो धितोपत्र ‘बिक्री’, ……......उल्लेख छ l दफा ५३(६) मा ......सञ्चालक समितिले मनासिब ठहराएको किसिमबाट ‘बिक्री’ गर्न वा खारेज गर्नसक्ने उल्लेख छ l दफा ६४(१) मा कम्पनीले डिस्काउण्टमा आफ्नो शेयर निष्काशन वा ‘बिक्री’ गर्नुहुँदैन उल्लेख गरेको छ l दफा ६४(२) मा ..... देहायको अवस्थामा डिस्काउण्टमा शेयर निष्काशन वा ‘बिक्री’ गर्न सक्नेछ भनेको छ l दफा ६४(२)(क) मा कम्पनीको पुँजी पुनर्संरचना गर्ने योजनाअनुसार शेयर निष्काशन वा ‘बिक्री’ गर्दा, दफा ६४(२)(ख) साहूको सहमतिअनुसार कम्पनीले लिएको ऋणलाई शेयरमा परिणत गर्ने योजनाअनुसार शेयर निष्काशन वा ‘बिक्री’ गर्दा उल्लेख छ l दफा ८३(छ) डिस्काउण्टमा शेयर ‘बिक्री’ गर्ने विषय उल्लेख छ l

धितोपत्र ऐनमा बिक्री

समग्र शेयरको तालुकी कानुन कम्पनी ऐन २०६३ मात्र हैन, शेयरबजारको तालुकी कानुन धितोपत्रसम्बन्धी ऐन, २०६३ मा पनि जताततै ‘बिक्री’ शब्द उल्लेख छ l ऐनको दफा २(ड) मा परिपत्र विधि भन्नाले बढीमा ५० जनासम्म लगानीकर्तालाई लक्षित गरी चिठ्ठी, पत्र वा कुनै पनि विद्युतीय सञ्चार माध्यमबाट धितोपत्र ‘बिक्री’ का लागि प्रस्ताव राख्ने कार्य र दफा २(फ) मा सार्वजनिक निष्काशन भन्नाले संगठित संस्थाले आफ्नो धितोपत्र ‘बिक्री’ गर्न विवरणपत्र प्रकाशन गरी सर्वसाधारणसमक्ष राखेको प्रस्ताव सम्झनुपर्छ भनिएको छ । दफा २८ को शीर्षकमै धितोपत्रको ‘बिक्री’ तथा हस्तान्तरण उल्लेख छ l दफा २८(१) मा संगठित संस्थाले धितोपत्रको दर्ता भएपछि त्यस्तो धितोपत्रको बाँडफाँड वा ‘बिक्री’ गरेमा त्यसरी बाँडफाँड वा ‘बिक्री’ गरेको धितोपत्रको विवरणसहितको सूचना सात दिनभित्र बोर्डलाई दिनुपर्ने र दफा २८(२) मा २८(१) बमोजिमको सूचना प्राप्त भएपछि लगानीकर्ता र संगठित संस्थाको हितको लागि त्यस्तो धितोपत्रको बाँडफाँड र ‘बिक्री’ गर्ने कार्यलाई स्वच्छ र जानकारीमूलक बनाउनुपर्ने देखिएमा बोर्डले सम्बन्धित संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ उल्लेख छ l दफा २९(१) मा संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र ‘बिक्री’ वितरण गर्ने भएमा त्यस्तो धितोपत्र ‘बिक्री’ वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने र दफा २९(४) मा एकपटक सार्वजनिक निष्काशन गरिसकेको धितोपत्र ‘बिक्री’ नभई एक वर्षभित्र पुनः निष्काशन गर्नु परेमा त्यसरी धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले पहिले प्रकाशित विवरणपत्रमा उल्लेख भएका कुराभन्दा फरक भएका कुरा बोर्डको स्वीकृति लिई त्यस्तो फरक भएका कुरा र पहिले प्रकाशित भएको विवरणपत्र राखी धितोपत्र निष्काशन गर्न सक्नेछ भनिएको छ । दफा ३०(२)(ग) मा एकपटकमा बढीमा ५० जनासम्म व्यक्तिलाई ‘बिक्री’ गर्ने गरी प्रस्ताव गरिएको धितोपत्र र दफा ३०(२)(ङ) मा बोर्डले विवरणपत्र जारी नगरी निष्काशन तथा ‘बिक्री’ गर्न स्वीकृति दिएको धितोपत्र उल्लेख छ l दफा ६३(१)(ग) मा निष्काशन तथा ‘बिक्री प्रबन्ध’ उल्लेख छ l दफा ११८(१)(ख) मा धितोपत्र निष्काशन तथा ’बिक्री प्रबन्ध’ सम्बन्धमा उल्लेख छ l धितोपत्र दर्ता दर्ता तथा निस्कासन नियमावली. २०७३, धितोपत्र बाँडफाँड निर्देशिका, धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ धितोपत्र खरिद (सार्वजनिक निस्कासन) सम्बन्धी निर्देशिका, २०७३ लगायत धितोपत्र र धितोपत्र बजारसम्बन्धी अन्य नियमावली, निर्देशिका, विनियम आदिमा पनि ठाउँ ठाउँमा ‘बिक्री’, र ‘खरिद’ शब्द उल्लेख छ l

जारी कि बिक्री

माथिका विभिन्न अनुच्छेदमा कम्पनी र धितोपत्र ऐनका दफा-दफामा उल्लेखित बिक्री’ शब्दको बारेमा उल्लेख गरियो l यी दुई कानुनमा ‘बिक्री’ शब्द उल्लेख हुनै नहुने हो त ? धेरैको मनमा यही प्रश्न उठेको हुनसक्छ l पत्रपत्रिका (छापा र विद्युतीय) मा अमुक कम्पनीको शेयर/हकप्रद ‘बिक्री’ खुल्यो भन्ने शीर्षक हुन्छ l टेलिभिजन र रेडियोमा पनि बिक्री गर्दै/खुल्यो जस्ता समाचार बाचन हुन्छ l शेयर ‘बिक्री’ लेख्न र भन्न किन मिल्दैन भन्ने प्रश्नको उत्तर शुरु गर्नु अघि यसको शाब्दिक अर्थबाट उत्तर  खोज्ने प्रयास गरौँ  l प्रज्ञा नेपाली बृहत शब्दकोअनुसार ‘बिक्री’ शब्द संस्कृतबाट आएको हो र यसको अर्थ (१) मालसँग माल साट्ने काम र (२) मोल लिएर माल दिने काम, बेच्ने काम भनिएको छ l शब्दकोशअनुसार ‘बिक्री’ शब्द सम्पत्तिसँग जोडिएर आउँछ र व्यवहारिकरुपमा पनि यही नै हो l शब्दकोषको अर्थ र शेयरपुँजीको सिद्धान्तअनुसार कम्पनीको शेयर बिक्री हुँदैन l कम्पनीको शेयरपुँजी कम्पनीको दायित्व हो, सम्पत्ति हैन l सम्पत्ति ‘बिक्री’ हुन्छ तर, दायित्व ‘बिक्री’ हुँदैन l कुनै कम्पनीको चुक्ता पुँजी १० करोड छ भन्नुको अर्थ कम्पनीको दायित्व १० करोड रुपैयाँ छ भनिएको हो l शेयरपुँजी दायित्व भएका कारण यस्ता पुँजीधारण गर्नेको दायित्व पनि सिमित हुन्छ भनिएको हो l यस्तो पुँजी शेयरको रुपमा विभिन्न अंश वा  खण्डमा विभाजित हुन्छ l यस्तो विभाजित अंश (शेयर) धारण गर्ने व्यक्तिलाई शेयरधनी भनिन्छ l जसले धारण गर्छन, तिनको लागि शेयर सम्पत्ति हो l शेयर धारकले शेयर अन्य व्यक्तिलाई ‘बिक्री’ र हकवालालाई ‘हस्तान्तरण’ दुवै गर्न सक्छन l पुँजीलाई वासलातमा दायित्वअन्तर्गत लेखाङ्कन गरिन्छ l कम्पनी कानुनमा पनि पुँजीलाई अधिकृत, जारी र चुक्ता तीन भागमा विभाजन गरिएको हुन्छ l कम्पनी कानुनले नै ‘जारी पुँजी’ भनेको अवस्थामा कम्पनीको शेयर जारी हुन्छ, ‘बिक्री’ हुन्न l  कम्पनीले अर्को कम्पनीको शेयर धारण गरेको अवस्थामा यस्तो शेयर ‘जारी’ गर्दैन, ‘बिक्री’ गर्छ l

 पुनर्लेखनका केही उदाहरण

कम्पनी ऐनको प्रस्तावनामा ...........कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम, सरल र पारदर्शी बनाउन कम्पनीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले भन्ने वाक्यांश उल्लेख छ l यसबाट पनि पनि कम्पनीले शेयर ‘बिक्री’ गर्न कुरालाई कतै सम्बोधन गर्दैन l उदाहरणको लागि कम्पनी ऐनको दफा २(ल) मा प्रिमियम मूल्यको शेयर भन्नाले शेयरको अङ्कित मूल्यभन्दा बढी मूल्यमा ‘बिक्री’ हुने गरी कम्पनीले जारी गरेको शेयर सम्झनुपर्छ भनेर उल्लेख गरिएको वाक्य त्रुटीयुक्त छ l यसलाई ‘प्रिमियम मूल्यको शेयर भन्नाले शेयरको अङ्कित मूल्यभन्दा बढी मूल्यमा जारी गरेको शेयर सम्झनुपर्छ’ भन्नुपर्छ l त्यस्तै, दफा ९((३) मा......तापनि कर्मचारीलाई शेयर ‘बिक्री’ गर्ने योजनाअन्तर्गत कम्पनीको शेयर ‘खरिद’ गरेका कर्मचारी वा त्यस्तो योजनाअन्तर्गत शेयर ‘खरिद’ गरिसकेका......उल्लेख छ यो वाक्यांशमा पनि ‘बिक्री’ र ‘खरिद’ शब्द दुवै अनुचित छ l यस वाक्यांशमा उल्लिखित ‘बिक्री’ को सट्टा ‘जारी’ र ‘खरिद’ को सट्टा ‘धारण’ राख्नुपर्छ l ‘बिक्री’ शब्द नै अनुचित भएपछि ‘खरिद’ पनि अनुचित हुन्छ l किनकी यहाँ शेयर खरिदबिक्री भएकै छैन र कम्पनीको आफ्नो शेयर बिक्री हुन्न l पुँजी दायित्व भएकोले दायित्व खरिद-बिक्री हुँदैन l

निचोडमा, कम्पनी ऐन, धितोपत्रसम्बन्धी ऐन र धितोपत्रसम्बन्धी अन्य नियम निर्देशिका र विनियमलगायतमा कम्पनीको शेयरपुँजी ‘बिक्री’ उल्लेख हुनु अनुचित हुन्छ l यी उल्लिखित कानुनमा भएका केही शब्द पुनर्लेखन गर्नुपर्ने आवश्यकता छ l उदाहरणका लागि ‘बिक्री’ को सट्टा ‘जारी वा निर्गमन’, ‘खरिद’ को सट्टा ‘धारण’, ‘बिक्री प्रबन्धक’ को सट्टा ‘निर्गमन प्रबन्धक’ जस्ता शब्द राख्नुपर्छ l प्रज्ञा नेपाली बृहत शब्दकोशमा ‘जारी’ शब्दको दुइवटा स्रोत र अर्थ उल्लेख छ l एउटा स्रोत अरबी भाषाबाट आएको ‘विशेषण’ शब्द र अर्को संस्कृत भाषाबाट आएको ‘नाम’ शब्द बताइएको छ l अरबी भाषाबाट आएको जारीको अर्थ (१) चलेको, चलनचल्तीको, प्रचलित, चालु, (२) प्रकाशमा ल्याइएको (ऐन, संविधान, ताम्रपत्र, शिलापत्र, आदेश इत्यादि) र (३) लागु गरिएको बताइएको छ l संस्कृत भाषाबाट आएको अर्थको रुपमा ‘अर्काकी पत्नीलाई राजी गराई आफ्नो घरमा ल्याई स्वास्नी बनाउने काम, परस्त्री ल्याउने वा हरण गर्ने प्रथा, जारकर्म’ भनिएको छ l शेयरको  सन्दर्भअनुसार अरबी भाषाबाट आएको अर्थ नजिक छ l सोहीअनुसार अरबी भाषाबाट आएको ‘जारी’ शब्दले ‘बिक्री’ शब्दलाई विस्थापन गर्नुपर्छ l आवश्यकताअनुसार संस्कृत शब्द ‘निर्गमन’ पनि राख्न सकिन्छ l कम्पनीले शेयरबापतको पुँजी उठाउँदा ‘बिक्री’ बाहेकका अन्य उपयुक्त जुन शब्द राखे पनि हुन्छ l  

आर्थिक अभियान 

बुधबार, ६ चैत, २०८१

https://abhiyandaily.com/news/447904/sheyr-jaarii-ki-vikrii-kaanuunii-praavdhaanko-punrvlokn/

 


शेयर विक्रीबाट हुने आम्दानी

 व्यापारिक कि पुँजीगत लाभ

शेयर लगानीबाट मूलतः लाभांश प्राप्त हुन्छ l शेयर तरल बिक्रीयोग्य सम्पत्ति हो l कुनै पनि कम्पनीमा शेयरधनी आउने-जाने क्रम चलिरहन्छ l आउने-जाने क्रममा एकजनाले बिक्री गर्छ र अर्कोले किन्छ l स्टक एक्सचेञ्जमा पब्लिक कम्पनीको शेयर सूचीकरण हुन्छ l एक्सचेञ्जमार्फत सहज आगमन र बहिर्गमन गर्न सकिन्छ l कम्पनीको वित्तीय अवस्था र शेयरको उपलब्धताको आधारमा बजारले शेयर मूल्य निर्धारण गर्छ l धारण गरेको मूल्यभन्दा बढी मूल्यमा शेयर बिक्री गर्दा नाफा वा फाइदा हुन्छ l यस्तो फाइदालाई सामान्यतया: पुँजीगत लाभ भनिन्छ l तर, यस्तो नाफालाई कर प्रयोजनका लागि कहिलेकाहीं पुँजीगत लाभको सट्टा व्यापारिक लाभको रूपमा गणना गरिन्छ l सामान्य बुझाईअनुसार संस्थाले शेयर बिक्री गर्दा प्राप्त भएको लाभलाई व्यापारिक लाभ र व्यक्तिको लागि पुँजीगत लाभ भन्ने छ l  तर, यो बुझाई संधै सही नहुन सक्छ l यस्तो कुरा पढेपछि पाठकको मनमा स्वाभाविकरुपमा किन र कसरी सही हुन्न  प्रश्न उठ्न सक्छ l यही प्रश्नको जवाफ यस आलेखमा खोज्ने प्रयास गरिएको छ l

धनको वैदिक चर्चा

व्यापारिक लाभ र पुँजीगत लाभबारे चर्चा गर्नु अघि धनको प्राप्तिका सम्बन्धमा केही चर्चा गर्नु सान्दर्भिक हुन्छ l धनको उत्पत्ति वैदिककालदेखि नै हुँदै आएको देख्न सकिन्छ l ऋग्वेदमा ‘उत्तिष्ठ जाग्रत प्राप्य वरान्निबोधत’ अर्थात् उठ, जाग, परिश्रम गर र उत्तम ज्ञान तथा सम्पत्ति (धन) प्राप्त गर भनिएको छ l ऋग्वेदमै ‘अधर्मेण हि यः वित्तं संजिघृक्षति दुष्कृतः। सन्तापं प्राप्नुयात्पापं वित्तं तस्य विनश्यति॥‘ अर्थात अधर्मबाट कमाएको धन नष्ट हुन्छ भनिएको छ । मनुस्मृतिअनुसार सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो जय:। प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ।। दाय (उत्तराधिकार वा अंश), लाभ (व्यवसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदी सेवाबाट प्राप्त पारिश्रमिक), सतप्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ । व्यापारबाट धनार्जन गर्ने कुरा देवर्षि नारदले पनि उल्लेख गरेका छन् l नारदले ‘वणिकप्रभृतयो यत्र कर्म सम्भूय कुर्वते’ अर्थात व्यक्ति-व्यक्ति मिलेर व्यवसाय गर्छन् भनेका छन् l यसको उद्देश्य ‘फलाहेतोरुपायन कर्म सम्भूय कुर्वताम्’ अर्थात् लाभ आर्जन हो । यस्तै किसिमको उल्लेख याज्ञवल्क्यले पनि गरेका छन् l

धनको महिमा र कर

धनको महत्वको बारेमा देवनागरी लिपिको ‘त’ वर्णको अन्तिम दुइवटा वर्णलाई एक डिकोमा राखी पढ्नुपर्छ भन्ने लोकोक्ति छ l त’ वर्णका अन्तिम दुई वर्ण भनेको ‘ध’ र ‘न’ हो l यसलाई एक डिकोमा लेख्दा ‘धन’ हुन्छ l यसलाई अनुप्रास मिलाएर ‘त’ वर्णका अन्तिम दुइवटा वर्ण खाली, पढी दुई बन भाग्यशाली’ भन्ने गरिन्छ l धनसम्बन्धी अर्को लोकोक्ति ‘कि धन ससुराली पाटोबाट, कि धन लामो बाटोबाट, कि धन बाख्रापाठोबाट’ भन्ने पनि छ l जापानी भाषामा ‘काने गा नाइ तो, आतामा मो मावारानु’ अर्थात ‘धन नभएपछि दिमागले पनि काम गर्दैन’ भन्ने उक्ति छ l मानिसको एउटा अभिष्ट  नै धन आर्जन गर्नु हुन्छ l धन प्राप्तिका बाटो अनेकौं छन् l धन व्यापारिक गतिविधि, कृषि, पशुपालनबाहेक पुँजीगत आयको रुपमा पनि प्राप्त हुन्छ l

धन प्राप्त गरेपछि प्राप्तकर्ताले राज्यलाई केही अंश तिर्नुपर्छ l यसलाई कर भनिछ l राज्यले कर लिने कुरा वैदिककालदेखि नै थियो l त्यतिबेला अहिले जस्तो बाध्यकारी भने थिएन, स्वेच्छिकरुपमा दिन सकिन्थ्यो l ऋग्वेदमा ‘बलिं हरन्ति सत्पतेः’ अर्थात राजा वा सभाका लागि जनताले बलि (स्वेच्छिक कर) दिनुपर्छ भनिएको छ l शतपथ ब्राह्मणले  ‘राजा प्रजायाः पालकः, बलिं गृह्णाति धर्मेण’ अर्थात राजा प्रजाको पालनकर्ता हो, त्यसैले उनले धर्मपूर्वक कर उठाउँछ भनेका छन् l वैदिककालदेखि नै अस्तित्वमा रहेको करप्रणाली आधुनिककालमा आइपुग्दा अनिवार्य योगदान बनेको छ l धन प्राप्त हुने अनेकौं विधिमध्ये व्यापारिक लाभ र पुँजीगत लाभ दुवैमा कर लाग्छ l शेयर पनि धनको एउटा स्वरूप हो l शेयरबाट लाभांश प्राप्त हुन्छ l यही शेयर बिक्री गर्दा पुँजीगत लाभ हुन्छ l शेयर बिक्रीबाट हुने लाभ पुँजीगत हो कि व्यापारिक भन्ने विषय बेला-बेलामा देखापर्ने गर्छ l त्यस्तै, शेयर सम्पत्ति हो कि व्यापारिक वस्तु यसमा पनि बेला-बेलामा चर्चा चल्ने गर्छ l

व्यापारिक लाभ र पुँजीगत लाभ

व्यापारिक लाभ भन्नाले उपभोक्तालाई कुनै पनि उत्पादन वा सेवा उपलब्ध गराएबापत नियमित रूपमा प्राप्त हुने नाफा हो । व्यवसाय सेवामूलक र उत्पादनमूलक जुनसुकै प्रकारको हुनसक्छ l सेवामूलक व्यवसायमा कुनै पनि प्रकारको सेवा उपलब्ध गराएबापत नगद प्राप्त हुन्छ l जस्तो होटेल सेवामूलक व्यवसाय हो l यसले सेवाग्राहीलाई आतिथ्य सेवा उपलब्ध गराउँछ l सेवाग्राहीले सेवा उपभोग गरेबापत मूल्य तिर्छ l उत्पादनमूलक व्यवसायमा बस्तु वा सामान उपलब्ध गराइन्छ l जस्तो दाल, चामल, तेललगायत वस्तु उत्पादनमूलक व्यवसाय हो l यसलाई उपभोक्ताले आवश्यकताअनुसार उपभोग गर्ने गर्छन l कुनै उत्पादन वा सेवा बेचेर भएको आम्दानीबाट करलगायतका सम्पूर्ण खर्च कटाएपछि बाँकी रहने रकम व्यापारिक लाभ हो। व्यापारिक लाभ नियमित आय मानिन्छ र त्यसअनुसार कर लाग्छ।

पुँजीगत लाभ भनेको कुनै सम्पत्ति (जस्तै: शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा, म्युचुअल फण्डका एकाइ) बिक्री गर्दा प्राप्त हुने फाइदा हो l खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तर नै यसमा हुने लाभ वा फाइदा हो l यस्तो लाभ नियमित हुन्न l यो सम्पत्तिमाथि गरिने अल्पकालीन वा दीर्घकालीन लगानीबाट प्राप्त हुने लाभ हो । सामान्यतया: सम्पत्ति खरिद-बिक्रीलाई व्यापारको रुपमा लिईन्न l यस्ता सम्पत्ति बिक्री गर्दा प्राप्त हुने पुँजीगत लाभमा कर लाग्छ तर, यो कर व्यवसायिक कारोबारमा लाग्ने करको दरभन्दा फरक हुन्छ l यसमा धारण अवधि पनि महत्वपूर्ण हुन्छ l धारण अवधि बढी (दीर्घकालीन) छ भने कम कर लाग्छ र धारण अवधि कम (अल्पकालीन) छ भने बढी कर लाग्छ l पुँजीगत सम्पत्ति (शेयर वा जग्गा) किन्दै बेच्दै गरिन्छ भने यसलाई व्यापारिक गतिविधि मानिन्छ र करको दर पनि फरक हुनसक्छ l  व्यापारिक लाभ र पुँजीगत लाभको बीचमा मूलभूत भिन्नता के कस्ता छन् तालिकामा पेश गरिएको छ l

व्यापारिक लाभ र पुँजीगत लाभ

आधार

व्यापारिक लाभ

पुँजीगत लाभ

परिभाषा

कुनै वस्तु वा सेवा बिक्रीबाट प्राप्त हुन्छ l

लगानी (शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा आदि) सम्पत्ति बिक्रीबाट प्राप्त हुन्छ l

उद्देश्य

नियमित मुनाफा कमाउने उद्देश्यले गरिने कारोबार ।

लगानीको मूल्यवृद्धि वा लाभांशमार्फत दीर्घकालीन लाभ प्राप्त गर्ने ।

कारोबारको प्रकृति

बारम्बार र नियमित ।

अनियमित ।

सम्पत्ति प्रकार

व्यापारिक स्टक, सामान वा सेवा ।

शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा l

स्रोत

व्यापार वा व्यवसायबाट प्राप्त।

लगानी (शेयर, अग्राधिकार शेयर, डिबेञ्चर, बोण्ड, जग्गा आदि) बिक्रीबाट  प्राप्त ।

करको गणना

व्यापारिक लाभमा लाग्ने आयकर दर अनुसार।

पुँजीगत लाभमा लाग्ने अल्पकालीन र दीघकालीन करका दरअनुसार । दीर्घकालीन अवधिको दर प्राप्त नाफाअनुसार शून्य पनि हुनसक्छ l

लेनदेन चक्र 

उच्च आवृत्ति, बारम्बार बिक्री ।

कम आवृत्ति, लामो अवधिमा थोरै कारोबार।

खर्च कटौती

व्यापारमा हुने सबै प्रकारका खर्च कटौती गर्न मिल्छ । जस्तै : सञ्चालन/कर्मचारी खर्च, कच्चापदार्थको लागत, लाग्ने कर आदि l 

सम्पत्तिको लागत र त्यसमा अन्तर्निहित खर्च कटौती गर्न मिल्छ । जस्तै : जग्गाको हकमा रजिष्ट्रेसन दस्तुर, आदि कट्टा गर्न सकिन्छ भने शेयर आदिको हकमा दलाल कमिसन, नियमन दस्तुर, डिपी शुल्क आदि l

करको दायरा

सामान्य आयको रूपमा गणना गरिन्छ ।

पुँजीगत लाभअन्तर्गत गणना गरिन्छ ।

प्रकृति

स्थायी आम्दानी

अस्थायी वा अवसरजन्य आम्दानी

पुँजीगत लाभ कि व्यापारिक लाभ

माथिका विभिन्न अनुच्छेदमा धन, धन प्राप्ति, कर, व्यापारिक लाभ र पुँजीगत लाभका विविध पक्षमा चर्चा गरियो l यस अनुच्छेदमा सम्पत्ति बिक्रीबाट प्राप्त हुने लाभ व्यापारिक हो कि पुँजीगत हो भन्ने प्रश्नमा केन्द्रित रहेर चर्चा गरिन्छ l सामान्यता: आम बुझाइअनुसार शेयर बिक्रीबाट हुने नाफा पुँजीगत लाभ हो l तर, शेयर बिक्रीबाट हुने लाभलाई संधै पुँजीगत लाभको रुपमा गणना गरिन्न l यस विषयमा भएका न्यायिक (अदालती) व्याख्याले पनि यही कुरालाई स्थापित गरेको छ l सामान्य बुझाईअनुसार संस्थाले शेयर बिक्री गरेर पाएको लाभ व्यापारिक र व्यक्तिले पाएको लाभ पुँजीगत भन्ने पनि छ l यसैको सेरोफेरोमा विभिन्न न्यायिक व्याख्याको सन्दर्भलाई लिएर पुँजीगत लाभ र व्यापारिक लाभको अन्तरवस्तु केलाइन्छ l शेयरलाई वस्तुसरह कारोबार गरेमा व्यक्ति र संस्था दुवैले आर्जन गरेको नाफालाई  व्यापारिक लाभ मानिन्छ l तर, दुबैले आक्कल-झुक्कल किनबेच गरेको छ भने दुवैलाई पुँजीगत लाभ मानिन्छ l भारतको सर्वोच्च अदालतले कमिसनर अफ इनकम ट्याक्स विरुद्ध एसोसियटेड इन्डस्ट्रियल डेभलपमेण्ट प्रा.लि. को मुद्दा (१९७१) मा दैनिक शेयर कारोबार वा बारम्बार खरिद/बिक्रीलाई व्यापारिक कारोबार मानेको थियो l यस्तो मानिनुको कारण कारोबारको आवृत्ति, नियमितता, व्यवसायिकता हो l उच्च आवृत्तिमा शेयर बिक्री गरि हुने नाफालाई व्यापारिक लाभको रूपमा व्याख्या गरेको थियो। एसोसिएटेड इन्डस्ट्रियल डेभलपमेण्ट कम्पनी (प्रा.) लिमिटेड सन १९५७/५८ आफ्नो लगानी रहेका तीनवटा कम्पनीको शेयर बिक्री गर्दा उल्लेखनीय नाफा कमाएको थियो l कम्पनीले उक्त नाफालाई पुँजीगत लाभको रूपमा दाबी गर्यो l तर, आयकर विभागले यसलाई व्यापारिक लाभको रुपमा ग्रहण गर्यो l आयकर अपील न्यायधिकरणले शेयर कारोबारको व्यापकता र आवृत्तिको आधारमा उक्त कम्पनीलाई शेयर कारोबारीको रूपमा वर्गीकृत गर्‍यो र उक्त नाफा व्यापारिक आम्दानी भएको ठहर गर्यो l तर, हाईकोर्टले होल्डिङ्ग कम्पनीले धारण गरेको शेयरलाई लगानी भन्दै यस्तो शेयर बेचेर प्राप्त भएको नाफालाई पुँजीगत लाभको रूपमा लिनुपर्ने निर्णय दियो l सर्वोच्च अदालतले हाइकोर्टको निर्णय उल्ट्याएर आयकर अपील  न्यायधिकरणले व्यापारिक आय भनेर गरेको निर्णयलाई सदर गरेको थियो l

अन्तमा, कुनै संस्थाले नियमित वा उच्च आवृत्तिमा नाफा कमाउने उद्देश्यले शेयर, बोण्ड वा अन्य सम्पत्ति बिक्री गर्छ भने यसरी प्राप्त हुने आय व्यापारिक लाभ हुन्छ l व्यापारिक वा पुँजीगत लाभ निर्धारणका लागि आवृत्ति, उद्देश्य र लगानीको प्रकार हेरिन्छ l उच्च आवृत्तिमा शेयर कारोबार गरेर लाभ लिन्छ भने यसलाई व्यापारिक लाभ मानिन्छ l त्यसैले, व्यक्ति वा संस्था जोसुकैले गरेको शेयर कारोबारबाट प्राप्त नाफालाई आवृत्तिको आधारमा व्यापारिक वा पुँजीगत लाभको रुपमा पहिचान गरिन्छ l सामान्य बुझाइअनुसारको संस्थाको लागि व्यापारिक र व्यक्तिको लागि पुँजीगत लाभ हो भन्ने तथ्य यी माथि विभिन्न अनुच्छेदमा गरिएको चर्चाबाट खण्डित हुन्छ l

 

आर्थिक अभियान 

बुधबार, २१ फागुन, २०८१

https://abhiyandaily.com/news/447491/sheyr-vikriibaatt-hune-aamdaanii-vyaapaarik-ki-puunjiigt-laabh/

 



शेयरबजारका शुरुआती दुई दशक

घोषणा धेरै , काम कम धितोपत्र कारोबार ऐन, २०४० जारी भएपछि नेपालमा शेयरबजारको विधिवत शुरुआत भएको मान्न सकिन्छ l यो ऐन आउनु अघि २०३३ सालमा सेक्...