Tuesday, August 31, 2021

मूल्य अन्वेषणका लागि प्रारम्भिक सत्र

मल्टिल्याटरल म्याचिङ प्रणाली आवश्यक

 

शेयरको नियमति कारोबार शुरू हुनुअघि मूल्य अन्वेषण गर्ने प्रयोजनका लागि प्रारम्भिक सत्र सञ्चालन गरिन्छ । यो कुरा सैद्धान्तिकजस्तो लागे पनि व्यावहारिक हिसाबले महत्त्वपूर्ण छ । नेपालको सन्दर्भमा यसको व्यावहारिक उपयोग कम हुनुका कारण शुरुआत भएको धेरै समय नहुनु, जानकारी र कारोबार प्रणालीको विषयमा पर्याप्त प्रचारप्रसार नहुनुजस्ता मुख्य कारण छन् । प्रारम्भिक सत्रको कारोबारलाई विश्वसनीय र सहभागितामूलक बनाउनुपर्नेमा शेयरबजारको तालुकी निकायले अघोषित रूपमा बन्द गराउन खोजेको छ । प्रारम्भिक सत्रमा कारोबारका लागि तोकिएको मूल्य परिवर्तन सीमा ५ प्रतिशतलाई घटाएर २ प्रतिशतमा झार्न दिएको निर्देशनले यसको औचित्य नै समाप्त पारेको छ । यसलाई विश्वसनीय बनाउन सकिने आधार हुँदाहुँदै पनि बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र नेपाल धितोपत्र बोर्डले पहल गरेका छैनन् ।

 

प्रारम्भिक सत्रको औचित्य


हरेक दिनको कारोबार अपरिपक्वले खोल्छन् र परिपक्वले बन्द गर्छन् भन्ने भनाइ नै छ । यसको अर्थ बजार खुलेको केही समयसम्म (१ घण्टा) तीव्र उतारचढाव हुन्छ र त्यसपछि बजार लयमा आउँछ । यसो हुनुको कारण प्रारम्भिक सत्रमा पर्याप्त सहभागिताविना गरिएको मूल्य अन्वेषण हो । समुचित उपयोग गर्ने हो भने प्रारम्भिक सत्रले निरन्तर सत्रका लागि वास्तविक मूल्य अन्वेषण गरिदिन्छ । वास्तविक मूल्य अन्वेषणको समस्या नेपालमा देखिनु सामान्य भए पनि ठूला एक्सचेन्जको सूचीमा पर्ने भारतको दुवै एक्सचेन्ज (बम्बे र नेशनल) मा पनि केही हदसम्म छ । प्रारम्भिक सत्रमा मूल्य अन्वेषण वास्तविक रूपमा हुन् नसक्दा निरन्तर सत्र खुलेको झन्डै १ घण्टासम्म नेपालमा तीव्र उतारचढाव देखिने गरेको छ । भारतमा भने यो समस्या आधा घण्टाजति मात्र हुन्छ । अघिल्लो दिन बजार बन्द भएदेखि भोलिपल्ट नियमित बजार नखुलेसम्मको अवधिमा मूल्यलाई प्रभाव पार्नसक्ने विभिन्न घटना हुन सक्छ । नियमित सत्रमा एकैपटक कारोबार गराउँदा मूल्यमा तीव्र उतारचढाव नहोस् भन्नाको लागि प्रारम्भिक सत्रमा मूल्य परिवर्तन सीमा अधिक राखेर मूल्य अन्वेषण गराइन्छ । नेपालमा अघिल्लो दिनको बन्द मूल्यको ५ प्रतिशतसम्म परिवर्तन गर्न सकिने व्यवस्था छ । इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, अहमदावादले गरेको एक अध्ययनमा प्रारम्भिक सत्रले नियमित सत्रमा हुने तीव्र उतारचढावलाई नियन्त्रण गर्न नसकेको पाएको थियो । यति हुँदाहुँदै पनि प्रारम्भिक सत्रमा सहभागिता बढ्दै गएर यसको औचित्य पुष्टि हुँदै गएको छ ।

 

बहुपक्षीय सहभागिता


नेपालमा अनलाइन कारोबार प्रणाली शुरू भएपछि नेप्सेले जारी गरेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा प्रारम्भिक सत्र आमव्यक्तिको जानकारीमा आएको हो । यस प्रकारको कारोबारमा इकोनोमिक अर्डर क्वान्टिटी तथा इकोनोमिक अर्डर प्राइस विधिबाट आदेश कार्यान्वयन हुनेगर्छ । यसमा दुई पक्ष मिलेर न्यूनतम कित्ता आदेश प्रविष्ट गरेर आफूअनुकूल कार्यान्वयन गराउन सक्ने हुन्छ । यसको बदलामा बहुपक्षीय सहभागिता हुने मल्टिल्याटरल म्याचिङ प्रणाली अवलम्बन गरिएमा दुई पक्षको मिलेमतोमा न्यूनतम कित्ता आदेश प्रविष्ट गरी हुने कारोबार नियन्त्रण भई वास्तविक मूल्य अन्वेषण हुनसक्छ । भारतमा यसैको उपयोग गरी मूल्य अन्वेषण गरिन्छ । मानौं कुनै कम्पनीको अघिल्लो दिनको अन्तिम मूल्य १ सय रुपैयाँ थियो भने भोलिपल्ट प्रारम्भिक सत्रमा तोकिएको मूल्य परिवर्तन सीमाको अधीनमा रही प्रविष्ट भएको आदेश (खरीद र विक्री), माग, आपूर्ति, अधिकतम कारोबार हुनसक्ने संख्या र कारोबार अयोग्य संख्या तालिकामा देखाएबमोजिम भएको अवस्थामा कसरी मूल्य अन्वेषण हुन्छ यस विषयमा संक्षिप्त चर्चा गरिएको छ ।


माग र आपूर्तिको आधारमा हुने मूल्य अन्वेषण

क्रसं

मूल्य

आदेश

सङ्ख्या

अधिकतम कारोबार हुनसक्ने सङ्ख्या

कारोबार अयोग्य

खरिद

बिक्री

माग

आपूर्ति

१०३

१३,५००

११,५००

५०,५००

११,५००

११,५००

३९,०००

१०४

९,५००

९,८००

३७,०००

२१,३००

२१,३००

१५,७००

१०५

१२,०००

१५,०००

२७,५००

३६,३००

२७,५००

(८,८००)

१०६

६,५००

१२,०००

१५,५००

४८,३००

१५,५००

(३२,८००)

१०७

५,०००

१२,५००

९,०००

६०,८००

९,०००

(५१,८००)

१०८

४,०००

८,५००

४,०००

६९,३००

४,०००

(६५,३००)

तालिका साभार : नेशनल स्टक एक्सचेन्ज लिमिटेड, भारत


 

 

१.  सर्वसम्मत मूल्य : तालिकामा प्रविष्ट आदेशको आधारमा क्रमसंख्या (क्रसं) ३ मा रहेको १ सय ५ रुपैयाँ अन्वेषित मूल्य हुन्छ । किनकि यसमा सर्वाधिक २७ हजार ५ सय कित्ता कारोबार हुन्छ । क्रसं २ को मूल्यमा विक्री गर्न बसेको व्यक्तिले क्रसं १ मा प्रविष्ट मूल्यमा झरेर विक्री गर्दैन । स्मरण रहोस् प्रारम्भिक सत्रमा आदेश कार्यान्वयन हुने सयममा संशोधन वा रद्द गर्न पाइँदैन । यसकारण क्रसं २ को माग हिसाब गर्दा क्रसं १ समावेश हुँदैन । यही क्रमले क्रसं ३, , ५ र ६ मा रहेको माग संख्या अघिल्लो क्रमबाट घटाउँदै गणना गरिन्छ । क्रसं ३ को मूल्य १ सय ५ रुपैयाँमा क्रसं १ र २ मा प्रविष्ट गरिएको शेयर विक्री हुन्छ । यस हिसाबले आपूर्ति ३६ हजार ३ सय कित्ता हुन्छ ।

 

२. दुईओटा मूल्य र बराबर माग तालिकाको उदाहरणमा एउटा मूल्यमा अधिकतम कित्ता कारोबार हुनसक्ने अवस्था सर्वसम्मत थियो तर, सधैं यस्तो हुन्छ भन्न सकिँदैन । दुईओटा मूल्यमा बराबर कित्ताको माग आएमा भने कारोबार अयोग्य कित्ता जुन मूल्यमा कम हुन्छ त्यो अन्वेषित मूल्य हुन्छ । तालिकाकै उदाहरणमा क्रम संख्या ३ मा आए बराबरको माग संख्या क्रसं ६ मा पनि आएमा यी दुई मूल्यमध्ये जुन मूल्यमा कारोबार अयोग्य कित्ता कम हुन्छ त्यो अन्वेषित मूल्य हुन्छ ।

 

३. बराबर कारोबार अयोग्य :  दुईओटा मूल्यमा बराबर माग र कारोबार अयोग्य कित्ता पनि बराबर भएमा अघिल्लो दिनको बन्द मूल्य नजिक जुन मूल्य आउँछ त्यो नै अन्वेषित मूल्य हुन्छ । तालिकाअनुसार १ सय ३ र १ सय ५ रुपैयाँमा माग र कारोबार अयोग्य कित्ता बराबर आएमा अघिल्लो दिनको बन्द मूल्य १ सय रुपैयाँ नजिक १ सय ३ रुपैयाँ हुने हुँदा यही नै अन्वेषित मूल्य हुन्छ ।

 

४. बराबर दूरी आएमा : ३ नम्बरमा वर्णित अवस्था जस्तै ९९ र १ सय १ रुपैयाँमा बराबर माग र बराबर कारोबार अयोग्य कित्ता आए यस्तो अवस्थामा दुवै मूल्य अघिल्लो दिनको बन्द मूल्यबाट बराबर दूरीमा रहेको हुँदा अघिल्लो दिनको बन्द मूल्य नै अन्वेषित मूल्य हुन्छ ।

 

नवसूचीकृत कम्पनीको पनि यही विधि अपनाएर मूल्य अन्वेषण गर्न सकिन्छ/गर्नुपर्छ । नेटवर्थ र त्यसको ३ गुणा मूल्य सीमालाई परिवर्तन गरी सीमा खुला छाड्नुपर्छ । प्रारम्भिक सत्रमा हुने मूल्य परिवर्तनलाई कम्तीमा १० प्रतिशत कायम गर्नुपर्छ । भारतमा यस्तो दर २० प्रतिशत छ । त्यस्तै, प्रारम्भिक सत्रमा अन्वेषित मूल्यलाई आधार मानेर निरन्तर सत्रमा १० प्रतिशत लागू गरिनुपर्छ र हरेक कारोबारको २ प्रतिशतको सीमालाई खारेज गरी एकैपटक १० प्रतिशतमा मूल्य प्रविष्ट गर्न पाउनुपर्छ ।

 २९ असार २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/390859


शेयर कारोबारका विभाजित समय

सुधारसँगै मुहूर्त कारोबार थप हुनुपर्ने

 

शेयर कारोबार मुख्यतः ११ बजेदेखि ३ बजेसम्म हुन्छ । यसका अतिरिक्त अन्य समयमा पनि शेयर कारोबार र आदेश प्रविष्ट हुन्छ । मुख्य समय अगाडि (११ बजे अघि) र पछाडि (३ बजेपछि) पनि शेयर कारोबार हुन्छ । अगाडि र पछाडिको कारोबार समयमा मुख्य समयमा जस्तो धेरै सहभागिता हुँदैन । यसो हुनुको कारण यसबारेमा जानकारी र नहुनुलाई कारण मान्न सकिन्छ । नेपालमा मात्र होइन, संसारकै ठूला एक्सचेन्जभित्र पर्ने भारतमा पनि यस्तो समयमा सहभागिता कम छ । मुख्य समयभन्दा बाहेकको समयमा हुने कारोबारलाई अवसरका रूपमा पनि लिइन्छ । मुख्य समयबाहेक अतिरिक्त समयमा हुने कारोबारमा मूल्य परिवर्तन सीमा र आदेश प्रविष्ट गर्ने समयमा तात्त्विक भिन्नता हुन्छ ।

विभाजित समय


नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लागू गरेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ११ अनुसार कारोबार समयलाई (१) प्रारम्भिक (२) बोलकबोल वा निरन्तर र (३) अन्तिम गरी ३ भागमा विभाजन गरिएको छ । कारोबार समय नेप्सेले तोकेबमोजिम हुन्छ र आवश्यकताअनुसार हेरफेर पनि गर्नसक्छ । सार्वजनिक बिदाको दिनबाहेक हरेक हप्ता आइतवारदेखि बिहीवारसम्म शेयर कारोबार हुन्छ । विभाजित समयको उपादेयताको संक्षेपमा चर्चा गरिन्छ ।

 

१.  प्रारम्भिक सत्र - हरेक दिन मुख्य कारोबार समय शुरू हुनुअघि उक्त दिन कारोबारको लागि मूल्य अन्वेषण गर्न बिहान १० : ३० बजेदेखि ११ बजेसम्म प्रारम्भिक सत्र (प्रिओपन सेशन) सञ्चालन गरिन्छ । यस समयमा हरेक व्यक्ति सहभागी भएर आदेश (खरीद वा विक्री) प्रविष्ट गर्न सक्छन् । अघिल्लो दिन बन्द मूल्यको ५ प्रतिशत तल वा माथि रहेर आदेश प्रविष्ट गर्नका लागि १५ मिनेट अर्थात् १० : ४५ सम्मको समय निर्धारण गरिएको छ । तोकिएको अवधिसम्म प्रविष्ट आदेश संशोधन वा रद्द गर्न सकिन्छ । यस अवधिमा प्रविष्ट गरिएको आदेश मुख्य कारोबार समय शुरू हुनुअघि नै कार्यान्वयन हुन्छ । अघिल्लो दिन बजार बन्द भएदेखि भोलिपल्ट मुख्य कारोबार समय शुरू हुनुअघि शेयर मूल्यलाई प्रभाव पार्ने कुनै घटना घटेमा त्यसको प्रत्यक्ष असर नपरोस् भन्नाका लागि प्रारम्भिक सत्रमार्फत मूल्य अन्वेषण गरिन्छ । यस अवधिमा अन्वेषण भएको मूल्यको २ प्रतिशत तल वा माथि मूल्यमा प्रविष्ट भएको आदेश निरन्तर सत्रमा सर्छ । पछिल्लोपटक नेपाल धितोपत्र बोर्डले नियामकीय कार्यबाट पन्छेर २ प्रतिशत मूल्य परिवर्तन सीमा कायम गर्न निर्देशन दिएर मूल्यमा समेत अवाञ्छित हस्तक्षेप गरी नियन्त्रण गर्ने खेदजनक दुष्प्रयास गरेको छ ।

 

२. बोलकबोल वा निरन्तर सत्र : प्रारम्भिक सत्र सकिनासाथ ११ बजेबाट यस्तो समय शुरू भएर दिउँसो ३ बजेसम्म कायम रहन्छ । खरीदका लागि बढी मूल्य र विक्रीका लागि कम मूल्य कबोल गर्ने आदेशलाई प्राथमिकता दिने तर, आदेश दिइएको मूल्य समान भएमा समयानुसार पहिलो आदेशलाई पहिलो प्राथमिकता हुने मूल्य समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी) को आधारमा हुन्छ । प्रारम्भिक सत्रमा मूल्य अन्वेषण भएमा सोही मूल्यबाट र नभएमा अघिल्लो दिन बन्द मूल्यको १० प्रतिशतको सीमाभित्र रही २ प्रतिशतका दरले तल वा माथि हुँदै कारोबार हुन्छ । यो समयमा प्रविष्ट गरिएको आदेशलाई डे (दिनभर), गुड टिल डे (निश्चित दिनसम्म कायम रहने) र गुड टिल क्यान्सिल (रद्द नगरेसम्म कायम रहने) सम्म कायम राख्न सकिन्छ । त्यस्तै, आदेश प्रविष्ट गर्दा लिमिट (तोकिएको सीमामा आफैले मूल्य प्रविष्ट गर्ने विधि) र मार्केट (बजारमा जुन मूल्य चलेको छ सोही मूल्यमा आदेश कार्यान्वयन हुने) गरी दुई प्रकारले मूल्य प्रविष्ट गर्न सकिन्छ । मार्केट विधिमा आदेश प्रविष्ट गर्दा डे, गुड टिल डे र गुड टिल क्यान्सिल जस्ता सुविधा प्राप्त हुँदैन । मार्केट र लिमिट दुवै सेवा उपयोग गर्दा आदेश कार्यान्वयन हुने सबै वा कुनै पनि होइन अर्थात् अल अर नोन (एओएन), तुरुन्त वा रद्द अर्थात् इमिडियट अर क्यान्सिल (आईओसी) र फिल अर किल (एफओके) सुविधा प्राप्त हुन्छ । यस अवधिमा प्रविष्ट गरिएको आदेश जुनसुकै बेला संशोधन र रद्द गर्न सकिन्छ ।

 

३.  अन्तिम सत्र : बोलकबोल वा निरन्तर सत्र सकिनासाथ ३ : ०५ सम्म ५ मिनेट अवधिको अन्तिम कारोबार सत्र हुन्छ । यस सत्रमा मूल्य प्रविष्ट गर्न पाइँदैन । ३ बजेभन्दा अगाडि भएको कारोबार मूल्यको भारित औसत मूल्यमा कारोबार हुन्छ । यसका लागि सामान्यतया अन्तिमको आधा घण्टा समय निर्धारण गरिन्छ । अन्तिम कारोबार सत्रलाई भारतमा पोस्ट क्लोजिङ्ग सेशननाम दिइएको छ । भारतमा औसत मूल्य गणनाका लागि आधा घण्टाको क्लोजिङ प्राइस क्यालकुलेशनसमय निर्धारण गरिएको छ । यस्तो गणना इन्डेक्स गणनामा सामेल कम्पनीको मात्र गरिन्छ । बम्बे स्टक एक्सचेन्जको मानक इन्डेक्स सेन्सेक्समा सामेल ३० ओटा र नेशनल स्टक एक्सचेन्जको निफ्टीफिफ्टीमा सामेल ५१ ओटा कम्पनीको मात्र भारित औसत गणना गरिन्छ । नेपालमा मानक इन्डेक्स गणना गर्ने कुनै पनि कम्पनीको समूह नभएको हुँदा यहाँ यस्तो व्यवस्था छैन ।  

 

यसबाहेक नयाँ कम्पनी सूचीकरण भएपछि मूल्य अन्वेषण गर्न विशेष प्रारम्भिक सत्र (स्पेशल प्रिओपन सेसन) सञ्चालन गरिन्छ । कारोबार विधि प्रारम्भिक सत्रको जस्तै तर मूल्य परिवर्तन सीमा फरक हुन्छ । यसमा नेप्सेले पहिलो कारोबारका लागि दिएको मूल्य सिमा (नेटवर्थदेखि त्यसको तीनगुणा) भित्र रहेर आदेश प्रविष्ट गर्नुपर्छ । त्यस्तै, अक्शन मार्केट पनि हुन्छ र यो नेपालमा शुरू भएको छैन । लगानीकर्तालाई सहजता दिनका लागि एएमओ (आफ्टर मार्केट अर्डर) राख्न पाउने सुविधा दलाल आफैले निर्धारण गर्नसक्छन् । यसमा प्रविष्ट गरिएको आदेश कारोबार समय शुरू भएपछि स्वतः प्रणालीमा जाने व्यवस्था मिलाइएको हुन्छ । भारतमा दलालले यस्तो सुविधा दिए पनि नेपालमा शुरू भएको छैन ।

 

सुधार र थप्नुपर्ने समय


शेयरबजारको एउटा अभिन्न अंग बनेको प्रारम्भिक सत्रलाई सुधार गर्दै यसमा सहभागिता बढाई विश्वसनीय बनाउनुपर्नेमा बोर्डले हस्तक्षेप गर्नु सर्वार्थ अनुचित कार्य हो । मूल्यमा नियन्त्रण गर्न खोज्नुभन्दा प्रणाली सुधारमा पहल गरेको भए त्यसलाई उचित मान्न सकिन्थ्यो । यस सत्रमा आदेश कार्यान्वयन हुने इकोनमिक अर्डर क्वान्टिटी तथा इकोनमिक अर्डर प्राइस विधि त्यति भरपर्दो नदेखिएको अवस्थामा यसलाई बहुपक्षीय कार्यान्वयन प्रणाली (मल्टिल्याटरल म्याचिङ सिस्टम) मार्फत प्रविष्ट आदेशको कार्यान्वयन गराउनेतर्पm बोर्ड र नेप्सेले पहल नगर्नु खेदजनक छ । यही विधिबाट नयाँ सूचीकृत कम्पनीको पहिलो कारोबार मूल्य अन्वेषण गराउन सकिन्छ । त्यस्तै, नेप्सेले पनि पहिलो कारोबारका लागि मूल्य सीमा तोकेर मूल्य नियन्त्रणमा लिएको छ । यसलाई पनि खुला छाड्दै सुधारका पाटालाई अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्छ ।

 

त्यस्तै, वर्षको १ दिन मुहूर्त कारोबारका लागि समय निर्धारण गर्नुपर्छ । भारतमा लक्ष्मी पूजाको दिन साँझपख १ घण्टा मुहूर्त कारोबार हुने गरेको छ । नेपालमा पनि कोजाग्रत पूर्णिमा वा लक्ष्मीपूजाको दिन १ घण्टा मुहूर्त कारोबार गराउनु आवश्यक छ ।

 २३ असार २०७८, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/390525

लाभकर गणनामा हजुरबा नीति

दीर्घकालीन लाभकर निर्धारणका चार विधि

आर्थिक वर्ष २०७८/७९ को आर्थिक अध्यादेश, २०७८ ले शेयर कारोबारलाई अल्पकालीन र दीर्घकालीन गरी २ भागमा वर्गीकरण गरेको छ । अल्पकालीन र दीर्घकालीन कारोबारीलाई क्रमशः ५ र ७ दशमलव ५ प्रतिशतका दरले पूँजीगत लाभकर लाग्नेछ । ३ सय ६५ दिनभित्र किनेर बेच्नेलाई अल्पकालीन र उक्त अवधिपछि बेच्ने कारोबारीलाई दीर्घकालीनको रूपमा वर्गीकरण गरिएको हो । अल्पकालीनलाई लाग्ने लाभकरमा ३३ दशमलव ३३ प्रतिशत छूट सुविधा दीर्घकालीन लगानीलाई प्राप्त हुनेछ । साउन १ गतेबाट नयाँ व्यवस्था लागू भए पनि असार मसान्तसम्ममा किनेकाको हकमा के हुन्छ र कसरी लाभकर गणना गरिन्छ भन्ने विषयमा अन्योल जस्तै देखिएको छ ।

हजुरबा नीति र भारतको अभ्यास


शेयर कारोबारीलाई वर्गीकरण गरेपछि दीर्घकालीन लगानीकर्तालाई कसरी लाभकर गणना गर्ने भन्ने विषयमा चर्चा शुरू भएको छ । भारित औसत विधिबाट लागत गणना गरी पूँजीगत लाभमा लाभकर तिर्न सकिने स्वघोषणा नीति, २०७८ असार मसान्तसम्म लागू हुनेछ । साउन १ गते अगाडि अर्थात् असार मसान्तसम्म किन्नेका हकमा कुन दिनलाई आधार दिन (कट अफ डेट) मान्ने भन्ने विषय निर्धारण गर्नुपर्ने हुन्छ । आधार दिनको तय गर्ने सम्बन्धमा हजुरबा नीति (ग्य्रान्डफादर पोलिसी) अवलम्बन गर्न सकिन्छ । भारतमा पनि हजुरबा नीतिअवलम्बन गरी पूँजीगत लाभकर निर्धारण गरिएको थियो । नयाँ कानून वा व्यवस्था लागू भएको स्थितिमा पुरानो कानूनबाट वर्तमान कानूनमा संक्रमण गराउने अवस्थालाई हजुरबा नीतिभनिन्छ । यस्तो प्रकारको नीतिगत व्यवस्थाको सूत्रपात उन्नाइसौं शताब्दीको उत्तरार्धतिर भएको हो ।

शेयर कारोबारमा लाग्ने लाभकरमा स्पष्टता कहिले पनि हुन नसकेको अवस्थामा अब लागू हुने अल्पकालीन र दीर्घकालीन नीतिले पूँजीगत नोक्सानीमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरी सुनिश्चितता दिने अनुमान गर्न सकिन्छ । शेयर कारोबारमा करसम्बन्धी नीतिगत अस्पष्टता नेपालमा मात्र होइन, भारतमा पनि विद्यमान थियो । सन् २००४ मा भारतका तत्कालीन अर्थमन्त्री पी. चिदम्बरमले लगाएको कारोबार करलाई विस्थापन गर्दै सन् २०१८ मा अल्पकालीन र दीर्घकालीन पूँजीगत लाभकर लगाउने नीति लागू गरिएको थियो । सन् २०१८ अप्रिल १ तारीखबाट लागू भएको नयाँ कर नीतिमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि क्रमशः १५ र १० प्रतिशत पूँजीगत लाभकर तोकिएको छ । दीर्घकालीन लगानीकर्ताले १ लाख भारतीय रुपैयाँसम्म लाभ रकममा लाभकर पूर्णरूपमा छूट पाएका छन् । अप्रिल १ तारीखबाट यस्तो नियम लागू भए पनि त्यसभन्दा अगाडि धारण गरेको शेयरको सम्बन्धमा भने हजुरबा नीति लागू गरिएको छ । भारतका दुईओटा स्टक एक्सचेन्जमा ३१ जनवरी २०१८ को दिन बजार बन्द हुँदा कायम भएको बजार मूल्यलाई आधार लिइएको थियो ।

लाभकर निर्धारणका चार विधि

भारतले दीर्घकालीन लाभकर गणनाका लागि ३१ जनवरी २०१८ लाई आधार दिन मानी १ अप्रिल २०१८ देखि अल्पकालीन र दीर्घकालीन लाभकर नीति कार्यान्वयन गरिएको थियो । नेपालको सन्दर्भमा पनि भारतले अपनाएको नीति (हजुरबा) अपनाएर दीर्घकालीन लाभकर गणना गर्न सकिन्छ । भारतले नयाँ नियम लागू गर्न ३१ जनवरी २०१८ को दिनलाई आधार मानेको थियो । नेपालले पनि नीति लागू हुने समय (साउन) भन्दा अगाडिको समयलाई आधार लिनसकिन्छ । भारतले २ महीनाअघिको समयलाई आधार माने जस्तै नेपालमा यस्तै विधि अपनाउन सकिन्छ । भारतले मानेको हिसाबले ३१ वैशाख २०७८ लाई र आप्mनै हिसाबले आधार मान्ने भए ३१ चैत २०७७ वा त्यसभन्दा अगाडिको समयलाई पनि आधार दिन मान्न सकिन्छ । आधार दिन जहिले माने पनि हजुरबा नीतिअनुसार भारतले अपनाएको तरीकाले लाभकर गणना गर्न सकिन्छ । ३१ चैत २०७७ लाई आधार दिन मान्ने हो भने निम्न चारओटा विधिबाट लाभकर हिसाब गर्नुपर्छ । भारतले पनि यही विधि अपनाएको छ ।

१. क्रय वा आधार दिनको मूल्य : धारकले किनेको वा तोकिएको आधार दिनको मूल्यमध्ये जुन धेरै हुन्छ त्यसलाई प्राप्ति मूल्य मानेर लाभकर निर्धारण गर्न सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको शेयर २०७७ असार २५ गते प्रतिकित्ता ३ सय रुपैयाँमा किनिएको रहेछ भने ३१ चैत २०७७ मा ५ सय रुपैयाँ कायम भएमा २०७८ साउन २ गते ६ सय रुपैयाँमा विक्री भएमा यसका लागि लाभकर गणना गर्दा आधार दिनमा कायम रहेको ५ सय रुपैयाँलाई प्राप्ति मूल्य मानी त्यसभन्दा बढी हुने लाभ रकममा लाभकर लगाउन सकिन्छ । यस उदाहरणमा चैत ३१ गतेको मूल्य (५ सय रुपैयाँ) लाई प्राप्ति मूल्य मानी विक्री मूल्य (६ सय रुपैयाँ) को अन्तर १ सय रुपैयाँलाई करयोग्य लाभ मानेर लाभकर लगाइन्छ ।

 

२. विक्रय मूल्य : खण्ड १ मा वर्णित अवस्था (धारकले किनेको वा तोकिएको आधार दिनको मूल्यमध्ये जुन धेरै हुन्छ त्यसलाई प्राप्ति मूल्य मानिने) भए पनि आधार दिनको मूल्यभन्दा कम मूल्यमा विक्री भएमा सोही विक्री मूल्यलाई आधार (प्राप्ति मूल्य) मानी लाभकर निर्धारण गरिन्छ । माथिकै उदाहरणअनुसार २०७७ असार २५ गते प्रतिकित्ता ३ सय रुपैयाँमा किनिएको शेयरको ३१ चैत २०७७ मा ५ सय रुपैयाँ कायम भएमा २०७८ साउन २ गते ४ सय रुपैयाँमा विक्री भएमा यसका लागि लाभकर गणना गर्दा ४ सय रुपैयाँलाई प्राप्ति मूल्य मानी लाभकर गणना गरिन्छ । यस्तो अवस्थामा लाभकर शून्य हुन्छ ।

 

३.  क्रय मूल्य : आधार दिन (चैत ३१ २०७७) मा कुनै शेयरको मूल्य किनेको मूल्यभन्दा तल झरेमा र १ वर्षपछि आधार मूल्यभन्दा बढी मूल्यमा विक्री भएमा क्रय मूल्यलाई आधार वा प्राप्ति मूल्य मानी लाभकर निर्धारण गरिन्छ । माथिकै उदाहरणअनुसार कुनै कम्पनीको शेयर २०७७ असार २५ गते प्रतिकित्ता ३ सय रुपैयाँमा किनिएको रहेछ भने ३१ चैत २०७७ मा २ सय रुपैयाँ कायम भएमा २०७८ साउन २ गते ४ सय रुपैयाँमा विक्री भएमा यसका लागि लाभकर गणना गर्दा ४ सय रुपैयाँलाई प्राप्ति मूल्य मानी लाभकर गणना गरिन्छ । यस उदाहरणमा २०७७ असार २५ गतेको क्रय मूल्य ( ३ सय रुपैयाँ) लाई प्राप्ति मूल्य मानी विक्री मूल्य (४ सय रुपैयाँ) को अन्तर १ सय रुपैयाँलाई करयोग्य लाभ मानेर लाभकर लगाइन्छ ।

 

४. नोक्सानीको अवस्था : माथिकै उदाहरणअनुसार कुनै कम्पनीको शेयर २०७७ असार २५ गते प्रतिकित्ता २ सय रुपैयाँमा किनिएको रहेछ भने ३१ चैत २०७७ मा ३ सय रुपैयाँ कायम भएमा २०७८ साउन २ गते १ सय ५० रुपैयाँमा विक्री भएमा यहाँ नोक्सानी हुन्छ । यहाँ आधार मूल्य किनेको मूल्यबाट बढे पनि विक्री मूल्य किनेको भन्दा पनि तल हुने हुँदा यहाँ लाभ नभई नोक्सानी भएको हुँदा यहाँ लाभकर लाग्दैन ।

 

अल्पकालीन लगानीकर्ताका लागि भने खास समस्या नपर्ने हुँदा यसका लागि पहिलो आउने पहिलो जाने अर्थात् फस्ट इन फस्ट आउट विधिबाट लाभकर निर्धारण गर्न सकिन्छ ।


८ असार २०७८, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/389643

Friday, August 20, 2021

आम्दानी कुन धेरै

अहिले फलानो कम्पनीले यति कमायो उति कमायो यसले धेरै कमायो भन्ने देखिन्छ l आम्दानी धेरै कि थोरै तुलना परिमाणले मात्र गर्दैन l यसको लागि गुणात्मक पक्ष पनि हेर्नुपर्छ l यसका विविध पाटो हेर्नुपर्छ l कुनै एउटा पक्ष मात्र हेरेर धेरै वा थोरैको हिसाब लाउन सकिन्न l

लगानीको अंक नहेरी ५ अर्ब, ४.५ अर्ब, ३ अर्ब, २ अर्ब, १ अर्ब, ८० करोड, ५० करोड रुपैयाँ हेरेर ५ अर्ब रुपैयाँ धेरै भन्न मिल्दैन l सतहीरुपमा हेर्दा ५ अर्ब रुपैयाँ धेरै र ५० करोड रुपैयाँ थोरै हो l

 १. चन्द्रसूर्य कम्पनीको लगानी (पूँजी) २० अर्ब रुपैयाँ छ र यसले ५ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

२. घामतारा कम्पनीको लगानी (पूँजी) १५ अर्ब रुपैयाँ छ र यसले ४.५ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

३. आकाशगङ्गा कम्पनीको लगानी (पूँजी) १० अर्ब रुपैयाँ छ र यसले ३ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

४. जुनतारा कम्पनीको लगानी (पूँजी) ५ अर्ब रुपैयाँ छ र यसले १ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

५. ताराचन्द्र कम्पनीको लगानी (पूँजी) १ अर्ब रुपैयाँ छ र यसले ५० करोड रुपैयाँ कमाई (आम्दानी) छ l

यहाँ पेश गरिएको कम्पनीको आम्दानी मात्र हेर्ने हो भने १ नम्बरको चन्द्रसूर्य कम्पनीले कमाएको ५ अर्ब रुपैयाँ सबैभन्दा बढी देखिन्छ l ताराचन्द्र कम्पनीको ५० करोड रुपैयाँ सबैभन्दा कम देखिन्छ l तर, यहाँ लगानी पनि हेरेर तुलना गर्दा अर्कै तस्विर देखिन्छ l त्यो अर्को तस्विरले सबैभन्दा बढी कमाई गर्ने कम्पनीको अंक अर्ब रुपैयाँभन्दा तल हुन्छ l

 माथि देखाईएको लगानी र आम्दानीको तुलना गर्दा सबैभन्दा बढी आम्दानी ५ नम्बरको ताराचन्द्र कम्पनीको हुन्छ l अङ्कको हिसाबले हेर्दा यो सबैभन्दा कम आम्दानी छ l तर, यसलाई गुणात्मक हिसाबले गणना गर्दा धेरै हुन्छ l ५ वटा कम्पनीमध्ये ४ नम्बरको जुनतारा कम्पनीले सबैभन्दा कम आम्दानी गरेको छ l

आम्दानी कसरी गरेको छ त्यो पनि धेरै वा थोरैको आधार हुन्छ l हरेक कम्पनीको मूल उद्देश्य हुन्छ र यसैबाट आम्दानी गर्छ l कहिलेकाँही अघिल्लो वर्ष नउठेको रकम उठाएर, कुनै सम्पत्ति बेचेर वा कुनै लगानी बेचेर पनि आम्दानी बढेको हुन्छ l यस्तो कुरा पनि हेर्दा राम्रो हुन्छ l

यो पनि वास्तविक धेरै नहुन पनि सक्छ l यसलाई बुझ्नको लागि रिटर्न अन इक्विटी (ROE) हेर्नुपर्छ l माथि देखाएको आम्दानी लगानी (चुक्ता पूँजी) लाई मात्र आधार लिइएको छ l कम्पनीसँग चुक्ता पूँजीबाहेक अन्य कोष पनि हुन्छ l यस्ता कोष विभिन्न नाममा राखिएको हुन्छ l यसलाई शेयरधनीको कोष भनिन्छ l यो पाटो पनि आम्दानी धेरै र थोरै हेर्ने विधि हो l यो अलि वृहद हुन्छ l यसको बारेमा जानकारी हुनु राम्रो हो l अझ अर्को एउटा पनि विधि हुन्छ र यसलाई सम्पत्तिमा प्रतिफल अर्थात् रिटर्न अन एसेट (ROA) भनिन्छ l

अहिलेको लेखाप्रणालीले आम्दानी गणना गराउँदा प्राप्त नभएकोलाई पनि लेखांकन गराउँछ l जस्तो   चन्द्रसूर्य कम्पनीले २५ करोड रुपैयाँको सामान बिक्री गर्यो तर, त्रैमासिक (चौथो) को अन्त्यमा भुक्तानी प्राप्त भएन भने पनि उक्त बिक्रीलाई नाफानोक्सान हिसाबमा बिक्री आम्दानी जनाउनुपर्छ l यसको आधारमा लाग्ने आयकर पनि बुझाउनुपर्छ l यो रकम आयो कि आएन भन्ने थाहा पाउन त्रैमासिकरुपमा प्रकाशन हुने वित्तीय विवरणमा देखिन्न l यस्तो विवरण नगद प्रवाहमा मात्र देखिन्छ l नगद प्रवाह विवरण त्रैमासिकै पिच्छे देखाउनुपर्ने हो तर, देखाइन्न l यस्तो विवरण हेर्नको लागि वार्षिक प्रतिवेदन पर्खनुपर्छ l

भारतमा सूचीकृत कम्पनीले नगद प्रवाह विवरण प्रकाशन गर्नुपर्छ l नगद प्रवाह विवरण अत्यन्तै महत्वपूर्ण पाटो हो l यसले नगद कति आयो कति बाहिर कहाँ कहाँ गयो देखाउँछ l मैले बारम्बार नगद प्रवाह विवरण सार्वजनिक हुनुपर्छ भनेर बोलिरहेको छु l

नियामक निकाय वित्तीय सल्लाहकार बनेर यस्तो त्यस्तो किन नकिन भन्छन तर, सार्वजनिक गर्नुपर्ने विवरण गराउन लाउँदैनन् l चौथो त्रैमासिक बितेको महिना नाघ्दा पनि अझ कति कम्पनीले वित्तीय विवरण निकालेका छैनन् l

 

 

 

 

 

नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ

 नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ नेटवर्थ

**************************************

नेटवर्थ कसरी आउँछ बुझ्ने प्रयास गरौँ नत्र त्यही नेटवर्थले खाला l नेटवर्थ दुई प्रकारले गणना गरिन्छ l सम्पत्ति पुनर्मूल्यांकनबाट सिर्जित कोषलाई पनि नेटवर्थमा गणना गरिन्छ l
अर्को नेटवर्थ नगदमा आधारित हुन्छ l यस्तो नेटवर्थ मात्र वास्तविक नेटवर्थ हो l
पुनर्मूल्यांकनबाट सिर्जित भनेको कुनै कम्पनीसँग भएको अचल सम्पत्तिलाई बजार मूल्यअनुसार पुनर्मूल्यांकन गरेर आउने रकम हो l जस्तो कुनै कम्पनीसँग १० रोपनी जग्गा छ उक्त जग्गाको बजार भाउ मानौँ प्रतिरोपनी ५ करोड रुपैयाँ छ भने ५० करोड रुपैयाँलाई पनि नेटवर्थमा गणना गरिन्छ l
उक्त कम्पनीसँग नगद २० करोड रुपैयाँ छ भने यसलाई वास्तविक नेटवर्थ मानिन्छ l
मानौं कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ छ भने नेटवर्थ हिसाब गर्दा पुनर्मूल्यांकनको ५० र नगद २० करोड रुपैयाँ समेत जोडेर ७० करोड रुपैयाँ हुन्छ र नेटवर्थ १ सय ७० रुपैयाँ हुन्छ l
नगदको आधारमा नेटवर्थ गणना गर्दा उक्त कम्पनीको नेटवर्थ १ सय २० रुपैयाँ हुन्छ l लाभांश बाँड्ने प्रयोजनका लागि १ सय २० रुपैयाँ आधार हुन्छ l यसमा पनि विभिन्न शीर्षकमा रकम राख्नुपर्ने हुन्छ l
अहिलेको वासलातमा पुनर्मूल्यांकनबाट सिर्जित र नगदमा आधारित नेटवर्थ छुट्टाछुट्टै नदेखाउने हुँदा नगदमा आधारित नेटवर्थ थाहा पाउन सजिलो छैन तर, वासलातमा देखिने संचित नाफाबाट यसको हिसाब निकाल्न सकिन्छ l
नेटवर्थमा शेयर प्रिमियम, पूँजी फिर्ता जगेडा कोष पनि जोडिएर आउँछ l
पुनर्मूल्यांकनबाटै भए पनि नेटवर्थ धेरै देखिनु राम्रो कुरा हो तर, नाफा बाँड्ने हिसाबले भने काम लाग्दैन l

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...