Friday, August 20, 2021

आम्दानी कुन धेरै

अहिले फलानो कम्पनीले यति कमायो उति कमायो यसले धेरै कमायो भन्ने देखिन्छ l आम्दानी धेरै कि थोरै तुलना परिमाणले मात्र गर्दैन l यसको लागि गुणात्मक पक्ष पनि हेर्नुपर्छ l यसका विविध पाटो हेर्नुपर्छ l कुनै एउटा पक्ष मात्र हेरेर धेरै वा थोरैको हिसाब लाउन सकिन्न l

लगानीको अंक नहेरी ५ अर्ब, ४.५ अर्ब, ३ अर्ब, २ अर्ब, १ अर्ब, ८० करोड, ५० करोड रुपैयाँ हेरेर ५ अर्ब रुपैयाँ धेरै भन्न मिल्दैन l सतहीरुपमा हेर्दा ५ अर्ब रुपैयाँ धेरै र ५० करोड रुपैयाँ थोरै हो l

 १. चन्द्रसूर्य कम्पनीको लगानी (पूँजी) २० अर्ब रुपैयाँ छ र यसले ५ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

२. घामतारा कम्पनीको लगानी (पूँजी) १५ अर्ब रुपैयाँ छ र यसले ४.५ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

३. आकाशगङ्गा कम्पनीको लगानी (पूँजी) १० अर्ब रुपैयाँ छ र यसले ३ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

४. जुनतारा कम्पनीको लगानी (पूँजी) ५ अर्ब रुपैयाँ छ र यसले १ अर्ब रुपैयाँ कमाई (आम्दानी) छ l

५. ताराचन्द्र कम्पनीको लगानी (पूँजी) १ अर्ब रुपैयाँ छ र यसले ५० करोड रुपैयाँ कमाई (आम्दानी) छ l

यहाँ पेश गरिएको कम्पनीको आम्दानी मात्र हेर्ने हो भने १ नम्बरको चन्द्रसूर्य कम्पनीले कमाएको ५ अर्ब रुपैयाँ सबैभन्दा बढी देखिन्छ l ताराचन्द्र कम्पनीको ५० करोड रुपैयाँ सबैभन्दा कम देखिन्छ l तर, यहाँ लगानी पनि हेरेर तुलना गर्दा अर्कै तस्विर देखिन्छ l त्यो अर्को तस्विरले सबैभन्दा बढी कमाई गर्ने कम्पनीको अंक अर्ब रुपैयाँभन्दा तल हुन्छ l

 माथि देखाईएको लगानी र आम्दानीको तुलना गर्दा सबैभन्दा बढी आम्दानी ५ नम्बरको ताराचन्द्र कम्पनीको हुन्छ l अङ्कको हिसाबले हेर्दा यो सबैभन्दा कम आम्दानी छ l तर, यसलाई गुणात्मक हिसाबले गणना गर्दा धेरै हुन्छ l ५ वटा कम्पनीमध्ये ४ नम्बरको जुनतारा कम्पनीले सबैभन्दा कम आम्दानी गरेको छ l

आम्दानी कसरी गरेको छ त्यो पनि धेरै वा थोरैको आधार हुन्छ l हरेक कम्पनीको मूल उद्देश्य हुन्छ र यसैबाट आम्दानी गर्छ l कहिलेकाँही अघिल्लो वर्ष नउठेको रकम उठाएर, कुनै सम्पत्ति बेचेर वा कुनै लगानी बेचेर पनि आम्दानी बढेको हुन्छ l यस्तो कुरा पनि हेर्दा राम्रो हुन्छ l

यो पनि वास्तविक धेरै नहुन पनि सक्छ l यसलाई बुझ्नको लागि रिटर्न अन इक्विटी (ROE) हेर्नुपर्छ l माथि देखाएको आम्दानी लगानी (चुक्ता पूँजी) लाई मात्र आधार लिइएको छ l कम्पनीसँग चुक्ता पूँजीबाहेक अन्य कोष पनि हुन्छ l यस्ता कोष विभिन्न नाममा राखिएको हुन्छ l यसलाई शेयरधनीको कोष भनिन्छ l यो पाटो पनि आम्दानी धेरै र थोरै हेर्ने विधि हो l यो अलि वृहद हुन्छ l यसको बारेमा जानकारी हुनु राम्रो हो l अझ अर्को एउटा पनि विधि हुन्छ र यसलाई सम्पत्तिमा प्रतिफल अर्थात् रिटर्न अन एसेट (ROA) भनिन्छ l

अहिलेको लेखाप्रणालीले आम्दानी गणना गराउँदा प्राप्त नभएकोलाई पनि लेखांकन गराउँछ l जस्तो   चन्द्रसूर्य कम्पनीले २५ करोड रुपैयाँको सामान बिक्री गर्यो तर, त्रैमासिक (चौथो) को अन्त्यमा भुक्तानी प्राप्त भएन भने पनि उक्त बिक्रीलाई नाफानोक्सान हिसाबमा बिक्री आम्दानी जनाउनुपर्छ l यसको आधारमा लाग्ने आयकर पनि बुझाउनुपर्छ l यो रकम आयो कि आएन भन्ने थाहा पाउन त्रैमासिकरुपमा प्रकाशन हुने वित्तीय विवरणमा देखिन्न l यस्तो विवरण नगद प्रवाहमा मात्र देखिन्छ l नगद प्रवाह विवरण त्रैमासिकै पिच्छे देखाउनुपर्ने हो तर, देखाइन्न l यस्तो विवरण हेर्नको लागि वार्षिक प्रतिवेदन पर्खनुपर्छ l

भारतमा सूचीकृत कम्पनीले नगद प्रवाह विवरण प्रकाशन गर्नुपर्छ l नगद प्रवाह विवरण अत्यन्तै महत्वपूर्ण पाटो हो l यसले नगद कति आयो कति बाहिर कहाँ कहाँ गयो देखाउँछ l मैले बारम्बार नगद प्रवाह विवरण सार्वजनिक हुनुपर्छ भनेर बोलिरहेको छु l

नियामक निकाय वित्तीय सल्लाहकार बनेर यस्तो त्यस्तो किन नकिन भन्छन तर, सार्वजनिक गर्नुपर्ने विवरण गराउन लाउँदैनन् l चौथो त्रैमासिक बितेको महिना नाघ्दा पनि अझ कति कम्पनीले वित्तीय विवरण निकालेका छैनन् l

 

 

 

 

 

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...