दीर्घकालीन लाभकर निर्धारणका चार विधि
आर्थिक वर्ष २०७८/७९ को आर्थिक अध्यादेश, २०७८ ले शेयर कारोबारलाई अल्पकालीन र दीर्घकालीन गरी २ भागमा वर्गीकरण
गरेको छ । अल्पकालीन र दीर्घकालीन कारोबारीलाई क्रमशः ५ र ७ दशमलव ५ प्रतिशतका
दरले पूँजीगत लाभकर लाग्नेछ । ३ सय ६५ दिनभित्र किनेर बेच्नेलाई अल्पकालीन र उक्त
अवधिपछि बेच्ने कारोबारीलाई दीर्घकालीनको रूपमा वर्गीकरण गरिएको हो । अल्पकालीनलाई
लाग्ने लाभकरमा ३३ दशमलव ३३ प्रतिशत छूट सुविधा दीर्घकालीन लगानीलाई प्राप्त हुनेछ
। साउन १ गतेबाट नयाँ व्यवस्था लागू भए पनि असार मसान्तसम्ममा किनेकाको हकमा के
हुन्छ र कसरी लाभकर गणना गरिन्छ भन्ने विषयमा अन्योल जस्तै देखिएको छ ।
हजुरबा नीति र भारतको अभ्यास
शेयर कारोबारीलाई वर्गीकरण गरेपछि दीर्घकालीन लगानीकर्तालाई कसरी लाभकर गणना गर्ने भन्ने विषयमा चर्चा शुरू भएको छ । भारित औसत विधिबाट लागत गणना गरी पूँजीगत लाभमा लाभकर तिर्न सकिने स्वघोषणा नीति, २०७८ असार मसान्तसम्म लागू हुनेछ । साउन १ गते अगाडि अर्थात् असार मसान्तसम्म किन्नेका हकमा कुन दिनलाई आधार दिन (कट अफ डेट) मान्ने भन्ने विषय निर्धारण गर्नुपर्ने हुन्छ । आधार दिनको तय गर्ने सम्बन्धमा ‘हजुरबा नीति (ग्य्रान्डफादर पोलिसी) अवलम्बन गर्न सकिन्छ । भारतमा पनि ‘हजुरबा नीति’ अवलम्बन गरी पूँजीगत लाभकर निर्धारण गरिएको थियो । नयाँ कानून वा व्यवस्था लागू भएको स्थितिमा पुरानो कानूनबाट वर्तमान कानूनमा संक्रमण गराउने अवस्थालाई ‘हजुरबा नीति’ भनिन्छ । यस्तो प्रकारको नीतिगत व्यवस्थाको सूत्रपात उन्नाइसौं शताब्दीको उत्तरार्धतिर भएको हो ।
शेयर कारोबारमा लाग्ने लाभकरमा स्पष्टता कहिले पनि हुन नसकेको
अवस्थामा अब लागू हुने अल्पकालीन र दीर्घकालीन नीतिले पूँजीगत नोक्सानीमा कर
तिर्नुपर्ने अवस्थाको अन्त्य गरी सुनिश्चितता दिने अनुमान गर्न सकिन्छ । शेयर
कारोबारमा करसम्बन्धी नीतिगत अस्पष्टता नेपालमा मात्र होइन, भारतमा पनि विद्यमान थियो । सन् २००४ मा भारतका
तत्कालीन अर्थमन्त्री पी. चिदम्बरमले लगाएको कारोबार करलाई विस्थापन गर्दै सन्
२०१८ मा अल्पकालीन र दीर्घकालीन पूँजीगत लाभकर लगाउने नीति लागू गरिएको थियो । सन्
२०१८ अप्रिल १ तारीखबाट लागू भएको नयाँ कर नीतिमा अल्पकालीन र दीर्घकालीन
लगानीकर्ताका लागि क्रमशः १५ र १० प्रतिशत पूँजीगत लाभकर तोकिएको छ । दीर्घकालीन
लगानीकर्ताले १ लाख भारतीय रुपैयाँसम्म लाभ रकममा लाभकर पूर्णरूपमा छूट पाएका छन्
। अप्रिल १ तारीखबाट यस्तो नियम लागू भए पनि त्यसभन्दा अगाडि धारण गरेको शेयरको
सम्बन्धमा भने हजुरबा नीति लागू गरिएको छ । भारतका दुईओटा स्टक एक्सचेन्जमा ३१
जनवरी २०१८ को दिन बजार बन्द हुँदा कायम भएको बजार मूल्यलाई आधार लिइएको थियो ।
लाभकर निर्धारणका चार विधि
भारतले दीर्घकालीन लाभकर गणनाका लागि ३१ जनवरी २०१८ लाई आधार दिन
मानी १ अप्रिल २०१८ देखि अल्पकालीन र दीर्घकालीन लाभकर नीति कार्यान्वयन गरिएको
थियो । नेपालको सन्दर्भमा पनि भारतले अपनाएको नीति (हजुरबा) अपनाएर दीर्घकालीन
लाभकर गणना गर्न सकिन्छ । भारतले नयाँ नियम लागू गर्न ३१ जनवरी २०१८ को दिनलाई
आधार मानेको थियो । नेपालले पनि नीति लागू हुने समय (साउन) भन्दा अगाडिको समयलाई
आधार लिनसकिन्छ । भारतले २ महीनाअघिको समयलाई आधार माने जस्तै नेपालमा यस्तै विधि
अपनाउन सकिन्छ । भारतले मानेको हिसाबले ३१ वैशाख २०७८ लाई र आप्mनै हिसाबले आधार मान्ने भए ३१ चैत २०७७ वा
त्यसभन्दा अगाडिको समयलाई पनि आधार दिन मान्न सकिन्छ । आधार दिन जहिले माने पनि ‘हजुरबा नीति’अनुसार भारतले अपनाएको तरीकाले लाभकर
गणना गर्न सकिन्छ । ३१ चैत २०७७ लाई आधार दिन मान्ने हो भने निम्न चारओटा विधिबाट
लाभकर हिसाब गर्नुपर्छ । भारतले पनि यही विधि अपनाएको छ ।
१. क्रय वा आधार दिनको मूल्य : धारकले किनेको वा तोकिएको आधार दिनको
मूल्यमध्ये जुन धेरै हुन्छ त्यसलाई प्राप्ति मूल्य मानेर लाभकर निर्धारण गर्न
सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको शेयर २०७७ असार २५ गते प्रतिकित्ता ३ सय
रुपैयाँमा किनिएको रहेछ भने ३१ चैत २०७७ मा ५ सय रुपैयाँ कायम भएमा २०७८ साउन २
गते ६ सय रुपैयाँमा विक्री भएमा यसका लागि लाभकर गणना गर्दा आधार दिनमा कायम रहेको
५ सय रुपैयाँलाई प्राप्ति मूल्य मानी त्यसभन्दा बढी हुने लाभ रकममा लाभकर लगाउन
सकिन्छ । यस उदाहरणमा चैत ३१ गतेको मूल्य (५ सय रुपैयाँ) लाई प्राप्ति मूल्य मानी
विक्री मूल्य (६ सय रुपैयाँ) को अन्तर १ सय रुपैयाँलाई करयोग्य लाभ मानेर लाभकर
लगाइन्छ ।
२. विक्रय मूल्य : खण्ड १ मा वर्णित अवस्था (धारकले किनेको वा तोकिएको आधार दिनको
मूल्यमध्ये जुन धेरै हुन्छ त्यसलाई प्राप्ति मूल्य मानिने) भए पनि आधार दिनको
मूल्यभन्दा कम मूल्यमा विक्री भएमा सोही विक्री मूल्यलाई आधार (प्राप्ति मूल्य)
मानी लाभकर निर्धारण गरिन्छ । माथिकै उदाहरणअनुसार २०७७ असार २५ गते प्रतिकित्ता ३
सय रुपैयाँमा किनिएको शेयरको ३१ चैत २०७७ मा ५ सय रुपैयाँ कायम भएमा २०७८ साउन २
गते ४ सय रुपैयाँमा विक्री भएमा यसका लागि लाभकर गणना गर्दा ४ सय रुपैयाँलाई
प्राप्ति मूल्य मानी लाभकर गणना गरिन्छ । यस्तो अवस्थामा लाभकर शून्य हुन्छ ।
३. क्रय मूल्य : आधार दिन (चैत ३१ २०७७) मा कुनै शेयरको मूल्य किनेको मूल्यभन्दा तल
झरेमा र १ वर्षपछि आधार मूल्यभन्दा बढी मूल्यमा विक्री भएमा क्रय मूल्यलाई आधार वा
प्राप्ति मूल्य मानी लाभकर निर्धारण गरिन्छ । माथिकै उदाहरणअनुसार कुनै कम्पनीको
शेयर २०७७ असार २५ गते प्रतिकित्ता ३ सय रुपैयाँमा किनिएको रहेछ भने ३१ चैत २०७७
मा २ सय रुपैयाँ कायम भएमा २०७८ साउन २ गते ४ सय रुपैयाँमा विक्री भएमा यसका लागि
लाभकर गणना गर्दा ४ सय रुपैयाँलाई प्राप्ति मूल्य मानी लाभकर गणना गरिन्छ । यस
उदाहरणमा २०७७ असार २५ गतेको क्रय मूल्य ( ३ सय रुपैयाँ) लाई प्राप्ति मूल्य मानी
विक्री मूल्य (४ सय रुपैयाँ) को अन्तर १ सय रुपैयाँलाई करयोग्य लाभ मानेर लाभकर
लगाइन्छ ।
४. नोक्सानीको अवस्था : माथिकै उदाहरणअनुसार कुनै कम्पनीको शेयर २०७७
असार २५ गते प्रतिकित्ता २ सय रुपैयाँमा किनिएको रहेछ भने ३१ चैत २०७७ मा ३ सय
रुपैयाँ कायम भएमा २०७८ साउन २ गते १ सय ५० रुपैयाँमा विक्री भएमा यहाँ नोक्सानी
हुन्छ । यहाँ आधार मूल्य किनेको मूल्यबाट बढे पनि विक्री मूल्य किनेको भन्दा पनि
तल हुने हुँदा यहाँ लाभ नभई नोक्सानी भएको हुँदा यहाँ लाभकर लाग्दैन ।
अल्पकालीन
लगानीकर्ताका लागि भने खास समस्या नपर्ने हुँदा यसका लागि पहिलो आउने पहिलो जाने
अर्थात् फस्ट इन फस्ट आउट विधिबाट लाभकर निर्धारण गर्न सकिन्छ ।
८ असार २०७८, आर्थिक अभियान दैनिक
https://www.abhiyandaily.com/newscategory-detail/389643
No comments:
Post a Comment