Saturday, May 29, 2021

शेयरबजारको इन्डेक्स र पूँजीकरण

आधार पूँजीकरण प्रकाशन आवश्यक

भारतको बीएसई (बम्बे स्टक एक्सचेन्ज) को सेन्सेक्स (सेन्सेटिभ इन्डेक्स) ५० हजारभन्दा माथि पुगेको छ l बीएसई संसारका ठूला एक्सचेन्जको सूचीमा १०सौं स्थानमा पर्छ l भारतकै नेशनल स्टक एक्सचेन्जको निफ्टीफिफ्टी पनि १६ हजारको  बाटोमा छ l सेन्सेक्स ३० र निफ्टी ५१ वटा कम्पनीको कारोबार मापन गर्ने इन्डेक्स हो l ३० र ५१ भित्र पनि प्रभाव जमाउने कम्पनीले इन्डेक्सलाई तलमाथि पारिरहेका हुन्छन् l नेपालमा कारोबार मापन गर्ने विशेष समूह छैन l नेपालको इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार मापन हुन्छ l सबै कम्पनीको मापन गरिए पनि १ वा २ कम्पनीको कारोबार र मूल्य वृद्धि वा कमिले इन्डेक्सलाई तलमाथि पार्छ l अहिलेसम्म नेपालको इन्डेक्स र पूँजीकरणलाई तलमाथि पार्नमा पूँजीका हिसाबले छैठौं ठूलो कम्पनी नेपाल टेलिकम अग्रस्थानमा छ र यो क्रम अझ केही वर्षसम्म कायम रहने अनुमान गर्न सकिन्छ l

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई (१) वाणिज्य बैंक, (२) विकास बैंक, (३) वित्त कम्पनी, (४) व्यापार, (५) होटेल तथा पर्यटन, (६) जलविद्युत, (७) जीवन विमा, (८) निर्जीव विमा, (९) उत्पादन तथा प्रशोधन (१०), लघुवित्त (११), लगानी र (१२) अन्य गरी १२ वटा समूहमा बाँडेको छ l म्युचुअल फण्डलाई पनि छुट्टै समूहमा राखेको छ l ऋणपत्र सूचीकरण भएर कारोबार भईरहे पनि यसको समूह छैन l यसको कारोबार गणनामा आएको छैन l म्युचुअल फन्डको समूहगत इन्डेक्स गणना गरिए पनि नेप्से इन्डेक्स गणनामा समावेश गरिएको छैन l यी हरेक समूहको आ-आफ्नो समूहगत सूचक गणना हुन्छ l

इन्डेक्स गणनाका आधार

इन्डेक्स गणनामा पूँजीकरण मुख्य आधार हुन्छ l पूँजीकरण भनेको एक कम्पनीको हकमा कुल सूचीकृत शेयर र कारोबार दिनको अन्तिम मूल्यको गुणनफल हो l बजार पूँजीकरणको हकमा सम्पूर्ण सूचीकृत कम्पनीको पूँजीकरणको योग हो l कारोबार समयमा यो बदलिरहन्छ l शेयर मूल्य घट्न वा बढ्नासाथ् पूँजीकरण र इन्डेक्समा हुने उतारचढाव वास्तविक समय (रियल टाइम) मा हेर्न देख्न सकिन्छ l सिद्धान्तत पूँजीकरणका लागि प्रवाहित (फ्लोटेट) शेयरलाई मात्र लिईन्छ l नेपालमा सम्पूर्ण शेयरलाई गणना गरिन्छ l इन्डेक्स आधार र दैनिक पूँजीकरणको अनुपात हो l आधार पूँजीकरण कुनै एकदिनको कारोबारलाई आधार मानेर लिईन्छ र नयाँ कम्पनी र हकप्रद शेयर थप हुँदै जाँदा आधार पूँजीकरण पनि बढ्दै जान्छ l मानौं पहिलो दिन १ अर्ब रुपैयाँ आधार पूँजीकरण थियो र त्यसको १० दिनपछि १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी सूचीकरण भएर त्यसको अन्तिम कारोबार मूल्य ३ सय रुपैयाँ भएमा ३ करोड रुपैयाँ थप भई आधार पूँजीकरण १ अर्ब ३ करोड रुपैयाँ कायम हुन्छ l भोलिपल्टदेखि दैनिक पूँजीकरण (थपिएको कम्पनीसहित) लाई पछिल्लो आधार पूँजीकरण १ अर्ब ३ करोड रुपैयाँले पहिले जस्तै भाग गरेर दैनिक इन्डेक्स मापन गरिन्छ l त्यस्तै, ३० दिनपछि २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज गरेको भोलिपल्ट आधार पूँजीकरण थपिन्छ l अन्तिम कारोबार मूल्य ३ सय रुपैयाँ भएमा समायोजित मूल्य २ सय ३३ रुपैयाँ हुन्छ र ३ लाख कित्ता शेयरको पूँजीकरण ६ करोड ९९ लाख रुपैयाँ हुन्छ l यहाँ हकप्रद शेयरले ९९ लाख रुपैयाँ पूँजीकरण थप भएको हुँदा आधार पूँजीकरणमा ९९ सय लाख रुपैयाँ थप भएर १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ कायम हुन्छ l एवम् क्रमले आधार पूँजीकरण बढ्दै जान्छ l बोनस शेयरले आधार पूँजीकरण नबढाउने कारणको रुपमा यसमा थप हुने अङ्कित मूल्यलाई मूल्य समायोजनमा समावेश नगरिएको कारण यस्तो भएको हो l माथिको हकप्रदको उदाहरणमा यदि उल्लेखित ५० प्रतिशत बोनस भएको भए मूल्य समायोजन मूल्य २ सय रुपैयाँ हुन्थ्यो l  समायोजन अघिको अन्तिम मूल्य र समायोजन पछिको मूल्यले पूँजीकरणमा कुनै परिवर्तन नल्याउने हुँदा बोनसले आधार पूँजीकरण परिवर्तन हुन्न l   

पूँजीकरण र इन्डेक्समा योगदान

नेपालको शेयरबजारको कुल पूँजीकरण ३७ खर्ब २ अर्ब ८१ करोड ८९ लाख ५० हजार रुपैयाँ  र नेप्से इन्डेक्स २ हजार ६ सय ७४ दशमलव ३५ छ l (२६ चैत, २०७७, नेप्से) नेप्सेले देखाएको पूँजीकरणमा कारोबार रोक्का रहेका कम्पनी पनि समावेश देखिन्छ l समूह र कम्पनिगतरुपमा हेर्दा पूँजीकरण र इन्डेक्समा कति योगदान छ तालिकामा देखाईएको छ l

 

समूहगत पूँजीकरण र इन्डेक्समा योगदान

क्रसं

समूह

पूँजीकरण

योगदान (प्रतिशत)

पूँजीकरण

इन्डेक्स 

वाणिज्य बैंक

१३,९५,५६,८१,३७,६२३

३७.६८

१,००७.६९

जीवन बिमा

३,६४,९२,९९,३१,५३२

९.८५

२६३.४२

लघुवित्त

३,६०,३०,१८,४१,७८२

९.७३

२६०.२१

अन्य

३,४७,४५,००,००,०००

९.३८

२५०.८५

जलविद्युत

२,९७,४०,५४,०२,५४७

८.०३

२१४.७५

लगानी

२,९६,२४,३६,६७,८७५

८.००

२१३.९४

निर्जीव बिमा

२,६०,०८,०७,४०,१९८

७.०२

१८७.७३

उत्पादन तथा प्रशोधन

१,३५,२७,५६,९२,३४०

३.६५

९७.६१

विकास बैंक

९७,६७,६५,३९,७८२

२.६३

७०.३३

१०

होटेल तथा पर्यटन

६४,९०,११,२२,६००

१.७५

४६.८०

११

वित्त कम्पनी

३८,२१,४०,६३,८४३

१.०३

२७.५४

१२

व्यापार

२२,९२,३९,०७,४४६

०.६१

१६.३१

कम्पनीगत हिसाबले पूँजीकरण र इन्डेक्समा योगदान

क्रसं

समूह

पूँजीकरण

योगदान (प्रतिशत)

पूँजीकरण

इन्डेक्स 

नेपाल टेलिकम

२,०२,६५,००,००,०००

५.४०

१४४.४१

नविल बैंक लि

१,७९,२८,६१,०६,७२०

४.८४

१२९.४३

नेपाल लाईफ इन्स्योरेन्स लि

१,५२,१३,५३,७४,५५२

४.१०

१०९.६४’

नेपाल रिइन्स्योरेन्स लि

१,४४,८०,००,००,०००

३.९१

१०४.५६

नागरिक लगानी कोष

१,२६,१४,७०,९८,५५०

३.४०

९१.९१

नेपाल पूर्वाधार बैंक लि

१,१७,८०,००,००,०००

३.१८

८५.०४

एनआईसी एसिया बैंक लि

१,०६,१५,७५,७१,४०८

२.८६

७६.४८

ग्लोबल आईएमई बैंक लि

९५,८३,१९,८८,७३३

२.५८

६८.९९

अपर तामाकोशी हाइड्रोपावर लि

९४,४६,२८,००,०००

२.५५

६८.१९

१०

नेपाल इन्भेष्टमेन्ट बैंक लि

७४,४५,५८,५१,४५६

२.०१

५३.७५

     स्रोत: २६ चैत, २०७७ को कारोबारमा आधारित

इन्डेक्सको तुलना

इन्डेक्सलाई चलायमान गराउन केही कम्पनीको मात्र भूमिका हुन्छ भन्ने तालिकामा उल्लेखित १० वटा कम्पनीले देखाएको छ l इन्डेक्स र अङ्कमा झन्डै क्रमशः ३५ प्रतिशत र ८ सय २७ को योगदान दिएको छ l अर्को पाटो भनेको सूचीकरणमा थपिने कम्पनीले पनि यसमा योगदान दिएको हुन्छ l नयाँ थपिएका दश स्थानमा परेका रिइन्स्योरेन्स, पूर्वाधार बैंक र तामाकोशीले मात्र अङ्कमा २ सय ५८ र इन्डेक्समा १० प्रतिशतको योगदान दिएका छन् l २०७२ सालको करिव १९ सय र अहिलेको करिव २७ सय अङ्कको हिसाबले बढी भए पनि  गुणात्मक हिसाबले कुन बढी हो भन्नलाई यसको आधार पूँजीकरणसँग तुलना गर्दा मात्र थाहा हुन्छ l ५ रोपनी जग्गामा ५ मुरी फल्नु र १० रोपनी जग्गामा १० मुरी फल्नु मुरीको अङ्क बढी भए पनि गुणात्मकरुपमा बराबर हो l अहिले यस्तै ५ रोपनी जग्गा थपिएको हो l नेप्सेले बजार अध्येयताका लागि साप्ताहिकरुपमा आधार पूँजीकरण सार्वजनिक गर्नु आवश्यक छ l

३१ चैत २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/385526


 

इन्डेक्स गणना र एसियन शेयरबजारको इन्डेक्स

इन्डेक्सको तुलना निरर्थक

नेपालको शेयर कारोबार मापन गर्ने इन्डेक्स यति र उति पुग्छ भन्ने बारम्बार सुनिन्छ l सँगसँगै जस्तै आएको भारतको नेशनल स्टक एक्सचेन्ज लिमिटेड (एनएसई) को मानक इन्डेक्स निफ्टी फिफ्टी १५ हजार बिन्दुको हाराहारीमा पुगेको हुँदा नेप्से पनि १० हजार पुग्नुपर्छ भन्ने पनि सुनिन्छ l ‘नेप्से’ नेपालको शेयर कारोबार मापकको नाम र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संक्षिप्त नाम पनि हो l नेप्से नेपालको मानक इन्डेक्स हो l यसका अतिरिक्त विभिन्न १३ वटा छुट्टै सब इन्डेक्स पनि छन् l त्यस्तै, प्रवाहित शेयरको मात्र कारोबार मापन गर्ने प्रवाहित (फ्लोट) इन्डेक्स पनि छ l कम्पनीलाई ‘ए’, ‘बि’, ‘जि’ र ‘जेड’ मा वर्गीकरण गर्नु अघि नेप्सेले तत्कालिक अवस्थामा विभिन्न इन्डीकेटरको आधारमा ‘क’ वर्ग मा राखेको हाल कुनै अर्थ नभएको कम्पनीको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि  छ l यी जे जति इन्डेक्स छन् ति सबैको गणना विधि एकै हुन्छ l अहिले संसारभरका एक्सचेन्जले कारोबार मापनको लागि अपनाएको विधि एस एण्ड पी (स्ट्यान्डर्ड एण्ड पूअर) हो l

केही एसियाली सूचक

शेयर कारोबारीले इन्डेक्सलाई सर्वस्व जत्तिकै माने पनि यो एउटा सामान्य मार्गदर्शन मात्र हो l यसलाई व्यक्ति-व्यक्तिले आफ्नो अनुकुल पनि बनाउन सक्छन l यसको मापन निश्चित इन्डिकेटरको आधारमा गरिन्छ l सूचीकृत सबै कम्पनीको र निश्चित कम्पनी मात्र राखेर मापन गर्नसकिन्छ l शुरुवाती चरणमा सबै कम्पनीलाई समेटेर इन्डेक्स मापन गरे पनि कम्पनीको सङ्ख्या बढ्दै जाँदा निश्चित इन्डिकेटरको आधारमा सिमित कम्पनी राखेर मापन गर्ने विश्वव्यापी प्रचलन छ l इन्डेक्स गणनाले विगत र वर्तमानको पूँजीकरणको तुलना गर्दै भविष्यको आंकलन गर्न सकिन्छ l केही एसियाली देशको इन्डेक्स तालिकामा देखाईएको छ l

केही एसियाली देशका इन्डेक्स र आधार अंक

क्र.सं.

इन्डेक्स र देश

इन्डेक्स

आधार अंक

एस एण्ड पी एसएल २० (श्रीलंका)

२,८६७

१००

बीएसआई (भुटान)

९६०

१,०००

सेन्सेक्स (बीएसई-भारत)

५०,०३०

१००

निफ्टी फिफ्टी (एनएसई-भारत)

१४,८६७

१,०००

हांगसेंग (हंगकंग) 

२८,९३९

१००

कोप्सी (कोरिया)

,११३

१००

टोपिक्स (जापान)

१,९७१

१००

केएसई - १०० (पाकिस्तान)

४४,३००

१,०००

डीएसई - ३० (बंगलादेश)

१,९०१

१०००

१०

शांघाई सेन्जेन कम्पोजिट इन्डेक्स (चिन)

,४८४

१००

स्रोत : सम्बन्धित देशका स्टक एक्सचेन्ज (२०२१, अप्रिल १ देखि ४ सम्मको कारोबारमा आधारित)

सूचक गणना

शेयर कारोबारको मापन गणना गरिने इन्डेक्स कम्पनीले दिएको लाभ वा कम्पनीका शेयर मूल्यको औसत दुवै होइन । इन्डेक्सलाई प्रभाव पार्ने केही सिमित कम्पनी मात्र हुन्छन l ठूलो पूँजी वा बढी मूल्यले यसलाई प्रभाव पार्छ l एकै कम्पनीले इन्डेक्सलाई तलमाथि जता पनि लानसक्छ l नेपालको हकमा नेपाल टेलिकमले प्रभाव पार्दै आएको छ l यद्धपि टेलिकमको भन्दा बढी पूँजी भएका (ग्लोबल र पूर्वाधार बैंक) कम्पनी सूचीकरणमा भए पनि यी २ कम्पनीले इन्डेक्सलाई प्रभाव पार्न सकेका छैनन l कुल पूँजीकरणको आधारमा टेलिकमको बजार हिस्सा झन्डै ६ प्रतिशत छ l यसको मूल्यमा आउने उतारचढावले इन्डेक्सलाई प्रभाव पार्छ l पूँजीभन्दा मूल्यले किन कसरी के प्रभाव पार्छ भन्ने बुझ्न पहिला यसको गणना कसरी हुन्छ बुझ्नपर्छ l इन्डेक्स कुनै एकदिनको आधार बजार पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । आधार पूँजीकरण र त्यसपछिका हरेक दिनको पूँजीकरणका २ वटा अंक लिएर इन्डेक्स मापन गरिन्छ । आधार पूँजीकरण नयाँ कम्पनी सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदैजान्छ । बोनस शेयरले आधार पूँजीकरण परिवर्तन हुँदैन । मानौं इन्डेक्स गणना शुरु गर्ने दिन सूचीकृत कम्पनीको बजार पूँजीकरण १ अर्ब रुपैयाँ थियो भने पहिलो दिनको लागि इन्डेक्स मापन १ हुन्छ l यस्तो हिसाब १ अर्ब रुपैयाँलाई सोही रकमले भाग गर्दा आउँछ l यसरी भाग गर्दा आउने प्रतिफल १ नै सो दिनको इन्डेक्स हो l यो १ अङ्कलाई १ सय वा १  हजार मान्न सकिन्छ l भोलिपल्ट बजार पूँजीकरण बढेर १ अर्ब १० करोड रुपैयाँ भएमा आधार पूँजीकरणको रुपमा स्थिर रहने १ अर्ब रुपैयाँले १ अर्ब १० करोड रुपैयाँलाई भाग गरेर सो दिनको इन्डेक्स १ सय १० वा १ हजार १ सय र प्रतिशतमा व्यक्त गर्दा १० प्रतिशत हुन्छ l त्यसको भोलिपल्ट बजार पूँजीकरण घटेर १ अर्ब ८ करोड रुपैयाँ कायम भएमा उही स्थिर आधार पूँजीकरण १ अर्ब रुपैयाँले भाग गर्दा इन्डेक्स १ सय ८ वा १ हजार ८० हुन्छ l इन्डेक्सलाई पहिलो दिन एक, १ सय, वा १ हजार जति अङ्कबाट शुरु गरे पनि तथ्यमा फरक पर्दैन l नेपाल लगायत धेरै देशमा पहिलो दिनलाई १ सय बिन्दु मानी गणना गर्ने गरिएको छ l

गणनाका आधार र तुलना

माथि नै भनियो गणना जति अङ्कबाट पनि गर्न सकिन्छ l तालिकामा देखाईएका १० वटा इन्डेक्समध्ये रोयल सेक्युरिटीज एक्सचेन्ज अफ भुटानको इन्डेक्स गणना सबैभन्दा कान्छो हो l भुटानले इन्डेक्स गणना सन् २०१९ बाट शुरु गर्दा पहिलो दिनलाई १ हजार मानेको छ l त्यस्तै, १ हजार अङ्कलाई आधार मानेका अन्य इन्डेक्समा भारतको एनएसईको मानक इन्डेक्स निफ्टी फिफ्टी, पाकिस्तान स्टक एक्सचेन्जको मानक इन्डेक्स केएसई - १०० र  बंगलादेशको ढाका स्टक एक्सचेन्जको डीएसई - ३० रहेका छन् l भारतको बीएसईको मानक इन्डेक्स सेन्सेक्स १ सय अङ्कबाट गणना गरिएको हो l सेन्सेक्समा ३० वटा कम्पनीको मात्र कारोबार मापन गरिन्छ l अहिले भुटानको इन्डेक्स घटेको छ l यसको मतलब दैनिक पूँजीकरण आधार पूँजीकरणभन्दा तल झरेको छ l पूँजीकरण घट्नुको अर्थ कम्पनीको मूल्य घट्नु हो l मूल्य घटे पनि कारोबार रकम बढ्न सक्छ l कारोबार रकम बढ्नु इन्डेक्स बढ्नु हैन l थोरै कित्ता मात्र कारोबार भएमा पनि मूल्य बढेमा इन्डेक्स बढ्छ l

निफ्टी करिब १५ हजार भएको तर, नेपालमा कहिले होला भन्ने चर्चा चल्दा यसको गणना विधिलाई बुझ्न सकेको भए यस्तो कुरै आउने थिएन l निफ्टीको आधार गणना बिन्दु १ हजार हो भने नेप्सेको आधार गणना बिन्दु १ सय हो l निफ्टीलाई नेपालको गणना विधि अनुसार हेर्दा आजको दिनमा यसको इन्डेक्स १५ सय हाराहारी हो l त्यस्तै, नेप्सेलाई निफ्टीको गणना अनुसार हेर्ने हो भने २७ हजार हाराहारी हो l संसारकै ठूलो एक्सचेन्जको सूचीमा १०सौं स्थानमा पर्ने बीएसई र ११ रौँ मा पर्ने एनएसई दुबैको आ-आफ्नै विशेषता छन् l भारतमै यी दुई एक्सचेन्जको तुलना इन्डेक्सको आधारमा गरिन्न l त्यही भएर संसारका कुनै पनि एक्सचेन्जको इन्डेक्स कुनै पनि अर्को एक्सचेन्जको इन्डेक्ससँग कहिले पनि तुलना गरिन्न l इन्डेक्स बाहेक अरु कुरामा तुलना हुनसक्छ l इन्डेक्स जति पनि पुग्नसक्छ यसको कुनै सिमाना हुन्न l इन्डेक्स नै लगानीको सर्वोच्च मानक हुन्न l

२४ चैत २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/385160

शेयरधनीको प्रत्यक्ष र व्युत्पन्न अधिकार

कम्पनीको हितमा आफ्नो पनि हित

कम्पनी आफैँमा एक व्यक्तिसरह हैसियत हुने निकाय हो l केही अपवाद बाहेक यसले प्राकृतिक व्यक्तिसरहको सम्पूर्ण अधिकार उपभोग गर्छ l कम्पनीले आफ्नो नाममा उजुरी सुन्न, अरु विरुद्ध उजुरी गर्न, सम्पत्ति प्राप्त गर्न र  बेचबिचन गर्न सबै अधिकार पाएको हुन्छ l कम्पनीको मूल विधानको रुपमा रहने प्रवन्धपत्रको अधीनमा रहेर कम्पनी संचालन सम्बन्धि सम्पूर्ण कार्य गर्छ l कम्पनी संचालनको लागि संचालक हुन्छन l संचालक कम्पनीका सम्पूर्ण दायित्व (फौजदारी र देवानी) मा जिम्मेवार हुन्छन l संचालक शेयरधनीका न्यासी (संरक्षणकर्ता) का रुपमा रहेका हुन्छन l शेयरधनीको सिमित दायित्व हुने भने पनि शेयरधनी संचालकको दायित्व भने असिमिति हुन्छ l कम्पनीले सम्पूर्ण संचालन गर्न जिम्मा संचालकको भए पनि कम्पनीको अहित हुनेगरी कार्य हुन लागेमा वा भएमा शेयरधनीले पनि कम्पनीको तर्फबाट मुद्दा गर्न सक्छन l शेयरधनीले कम्पनीको तर्फबाट र आफ्नो गरी दुई किसिमले मुद्दा गर्नसक्छन l 

शेयरधनीका साधारण अधिकार

शेयरधनीकोरुपमा कम्पनीमा शेयरधनीका विभिन्न अधिकार हुन्छ l शेयरधनी हुनुको अर्थ कम्पनीको शेयरमा स्वामित्व स्थापित हुनु हो l कम्पनी हिताधिकारी हो भने शेयरधनी हिताग्राही हुन् l शेयर लगानी हित हो l शेयरधनीका (१) नाफामा सहभागी हुने, (२) संचालक हुने, (३) संचालक निर्वाचनमा मतदान गर्ने, (४) साधारणसभामा भाग लिएर प्रस्तावमाथि मतदान गर्ने, (५) साधारणसभाको सूचना पाउने, (६) लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने वा यस्तो पारिश्रमिक तोक्ने अधिकार प्रत्यायोजन गर्ने, (७) कम्पनीको प्रबन्धपत्र नियमावली संशोधन गर्ने, (८) पूँजी वृद्धि गर्ने वा घटाउने, (९) कम्पनीले आफ्नो शेयर आफैँ खरीद गर्ने, (१०) गाभ्ने गाभिने निर्णय गर्ने जस्ता कम्पनी संचालनका विविध पाटामा निर्णय प्रक्रियामा सहभगी हुने अधिकार हुन्छ l शेयरधनीलाई आफ्नो शेयर बिक्री गर्ने वा अरु शेयरधनीले बिक्री गर्न लागेको सेयर किन्ने समेत अधिकार हुन्छ l यस्तो शेयर कम्पनीको स्वीकृति लिई वा नलिई धितोबन्धक राख्न सकिन्छ l यी उल्लेखित अधिकारलाई साधारण वा सर्वमान्य अधिकारसरह मान्न सकिन्छ l यस्ता अधिकारको उपयोगले संचालक समितिलाई कार्य गर्न सहजता दिन्छ l तर, कहिलेकहीं संचालक समितिलाई निर्दिष्ट गरिएका अधिकारको उचित उपयोग नगरी कम्पनी र कम्पनीका शेयरधनीलाई हानिनोक्सानी पुग्ने गरी कार्य गरेमा शेयरधनीले कम्पनी र आफ्नै तर्फबाट अदालतमा मुद्दा दायर गर्न सक्नेसम्मको विशेष प्रकारको अधिकार पनि हुन्छ l

शेयरधनीको प्रत्यक्ष  अधिकार

कम्पनी संचालनका  सम्बन्धमा अघिल्लो अनुच्छेदमा उल्लेखित अधिकार शेयरधनीको प्राथमिक एवम् मौलिक अधिकार जस्तै हुन् l यी गतिविधिमा सामान्यतया कुनै रोक लाग्दैन l तर, कहिलेकाही संचालक समितिले बेलैमा साधारणसभा नबोलाएको खण्डमा शेयरधनीका अधिकार हनन् हुन्छ l साधारणसभा नहुनु भनेको कम्पनीको वार्षिक आयव्यय विवरण र कम्पनीको वास्तविक अवस्था अज्ञात हुनु हो l कम्पनी ऐन, २०६३ दफा ७६(२) र (३) अनुसार सभा गर्ने म्याद नाघेको (पुष मसान्त) ३ महिना (चैतमसान्तसम्म) भित्र पनि वार्षिक साधारणसभा नबोलाएमा रजिष्ट्रार कार्यालयले बोलाउन दिएको निर्देशन अनुरुप ३ महिनाभित्र (असारसम्म) पनि साधारणसभा नबोलाएमा सो कुरा खुलाई कुनै शेयरधनीले अदालतमा निवेदन दिनसक्नेछ । त्यस्तो निवेदन दिएमा अदालतले वार्षिक साधारणसभा गर्न लगाउन वा अन्य उपयुक्त आदेश जारी गर्न सक्नेछ । अदालतसम्म पुगेर सभा गर्न लगाउने विषय शेयरधनीको आफैँ हितार्थ प्रत्यक्ष वा डाइरेक्ट अधिकार हो l

अदालतले कम्पनीकोभन्दा शेयरधनीको हितार्थ न्यायोचित हस्तक्षेप गर्छ l खासगरी यसमा बहुमत शेयरधनीबाट अल्पमतका शेयरधनीमाथि हुनसक्ने थिचोमिचोलाई रोक्ने प्रयास गरिन्छ l कम्पनीको हितमा हुने भएमा अल्पमत शेयरधनी भनेर अदालतले हस्तक्षेप गर्दैन l बहुमत शेयर धारण गरेका एक कम्पनीका संचालक शेयरधनीले अल्पमतका कुनै पनि शेयरधनीले सोही व्यापारसँग प्रतिष्पर्धा हुनसक्ने अर्को व्यापार गरेमा त्यस्तो शेयरधनीलाई आफ्नो शेयर तोकिएको व्यक्तिलाई बिक्री गर्न बाध्य पार्नसक्ने गरी नियमावली संशोधन गर्ने प्रस्तावलाई अदालतले मान्यता दिएको छ l (सिडेबोथाम विरुद्ध केर्शा लीज एण्ड कम्पनी लिमिटेड, १९२०) त्यस्तै, कम्पनी संचालक वा पदाधिकारीले आफ्नो अधिकार क्षेत्र नाघि कम्पनीको अहित हुने कार्य गरेमा दफा १३८ अनुसार त्यस्तो कम्पनीको शेयरधनीले अदालतमा निवेदन दिनसक्ने व्यवस्था छ l तर, सोही दफाको प्रतिवन्धात्मक व्यवस्था अनुसार कम्पनीले गरिसकेको काम कारबाहीबाट सिर्जना भएको दायित्व पालना गर्ने सम्बन्धमा गरिएको वा गर्न लागिएको कामकारबाहीका सम्बन्धमा उजुर गर्न सकिन्न l

त्यस्तै, दफा १३९ अनुसार कम्पनीका कुनै एक वा एकभन्दा बढी शेयरधनीको हक हितविरुद्ध हुने गरी कम्पनीको कारोबार सञ्चालन भएको वा हुन लागेको वा कम्पनीको तर्फबाट गरिएको वा गर्न लागिएको कुनै काम वा कम्पनीले गर्नुपर्ने कुनै काम नगरेको कारणबाट शेयरधनीको हक हित विपरीत काम भएको वा हुन सक्ने संभावनाको आधारमा शेयरधनीले उपयुक्त आदेशको लागि अदालतमा उजूरी दिनसक्ने व्यवस्था छ l यस्तो निवेदन दिँदा प्रमाण पुर्याउने भार उजुरीकर्तामा निहित हुन्छ l यस्तो अवस्था खासगरी कम्पनीको सम्पत्ति कम मूल्यमा बिक्री गरेको वा बढी मूल्य तिरेर सम्पत्ति किनेको वा यस्तै प्रकारको अनियमितता गरेको हुनुपर्छ l यस्तो अवस्थामा कम्पनी खारेज गर्नेसम्मको आदेश अदालतले दिनसक्छ l राजेन्द्र खेतान विरुद्ध नेपाल राष्ट्र बैंक लगायतको मुद्दामा शेयरधनीको नाताले कम्पनीको हितमा आफ्नो पनि हित गाँसिएको हुँदा आफ्नो हकमा मुद्दा गर्ने हक प्राप्त  हुने व्याख्या गरेको छ l

शेयरधनीको व्युत्पन्न अधिकार

शेयरधनीको हितमा आघात पुग्दा प्रत्यक्षरुपमा अदालतसम्म पुग्न सकिने अधिकारको अतिरिक्त व्युत्पन्न वा डेरीभेटिभ अधिकार पनि हुन्छ l यस्तो अधिकार कम्पनीका शेयरधनीसँग प्रत्यक्ष जोडिएको हुन्न l तर, अप्रत्यक्षरुपमा शेयरधनीसँग जोडिएको हुन्छ l यस्तो अवस्थामा कम्पनीका शेयरधनीले कम्पनीको तर्फबाट मुद्दा लड्न सक्छन l कम्पनी ऐन, २०६३ दफा १४० कम्पनीको कुनै हक हित प्रचलन गराउन कम्पनीले यसको कुनै सञ्चालक, पदाधिकारी वा सर्वसम्मत सम्झौता बमोजिम कम्पनी नियन्त्रण गर्ने शेयरधनीहरु वा कुनै व्यक्तिको विरुद्धमा शेयरधनीले अदालतमा मुद्दा दायर गर्न सक्छन कम्पनी आफैले मुद्दा चलाउनुपर्ने अवस्थामा पनि कम्पनीले मुद्दा नचलाएमा कम्पनीको चुक्ता पूँजीको साढे प्रतिशत वा सोभन्दा बढी शेयर लिएको कुनै शेयरधनीले एक्लै वा प्रतिशत शेयर पुग्ने एकभन्दा बढी शेयरधनीहरु मिली कम्पनीको तर्फबाट त्यस्तो सञ्चालक वा पदाधिकारी वा कम्पनी नियन्त्रण गर्ने व्यक्ति वा अन्य कुनै व्यक्तिको विरुद्ध अदालतमा मुद्दा दायर गर्न सक्छ यसरी मुद्दा चलाउनु अघि कम्पनी आफैँले मुद्दा चलाओस भनी के कस्तो प्रयास गरेको वा गरिएको थियो सो कुरा उल्लेख गरी शेयरधनीले मुद्दा दायर गर्दा निवेदनमा उल्लेख गर्नुपर्ने हुन्छ कारण खुलाई मुद्दा दायर गरेपछि अदालतले कम्पनीले नै सकार गर्न उचित हुने देखेमा कम्पनीलाई सकार गराउन आदेश दिनसक्छ l कम्पनीले चलाउनुपर्ने मुद्दा शेयरधनीले व्युत्पन्न अधिकार मार्फत चलाएको मुद्दामा दावी पुग्ने ठहर भएमा लागेको समस्त खर्च कम्पनीले शेयरधनीलाई शोधभर्ना गराई दिनुपर्छ l दावी नपुगेमा विपक्षीको खर्च उजुरीकर्ता शेयरधनी आफैले भराई दिनुपर्छ l 

१७ चैत २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/384743

हाइड्रोपावरको हकप्रद

 विद्युत नियमन आयोगले जलविद्युत कम्पनीको लागि हकप्रदको बाटो खोलिदियो भन्ने समाचार छ्यापाछ्याप्ति भयो l आयोगले बाटो खोल्यो कि बन्द गर्यो त्यस विषयमा कुनै बेला छुट्टै लेखौला l अहिलेलाई जलविद्युत खासगरी अपर तामाकोशीले ऋण र पूँजीको अनुपात मिलाउन शतप्रतिशत हकप्रद जारी गर्नसक्छ भन्ने कुराको सन्दर्भमा थोरै चर्चा गर्दा उचित देखियो l

तामाकोशीको चैत मसान्तसम्मको पूँजीगत खर्च ८३ अर्ब रुपैयाँ पुगेको छ l यस हिसाबले यसको ऋण र पूँजीको अनुपात करिब ७२ अर्ब रुपैयाँ ऋण र बाँकी पूँजी देखिन्छ l १५ प्रतिशत पूँजी र ८५ प्रतिशत ऋणको अनुपात देखिन्छ l राम्रो आम्दानी हुने कम्पनीको लागि यो अनुपात नराम्रो हैन l सकेसम्म स्वपूँजी कम भएकै राम्रो हो l तर, तामाकोशीको आम्दानी परिमाणात्मकरुपमा धेरै देखिए पनि गुणात्मकरुपमा अत्यन्तै थोरै हो l तामाकोशीको वार्षिक बिक्री आम्दानी ८ अर्ब रुपैयाँ हुन्छ l ७० अर्ब रुपैयाँ ऋण रकमलाई आधार मान्दा औसत १० प्रतिशत ब्याजले ७ अर्ब रुपैयाँ ब्याजमा खर्च हुन्छ l बाँकी रहने १ अर्ब रुपैयाँले संचालन, कर्मचारी, रोयल्टी, मर्मत, बिमा, ऋणको किस्ता, भैपरी आउने खर्च गर्दा संचालन घाटामा रहने देखिन्छ l सरकारको समेत दीर्घकालीन १३ अर्ब रुपैयाँ ऋण छ l अन्य ऋण सरकार बाहेकको छ l ऋणदाताले व्यापारिक उत्पादन शुरु हुनासाथ बिक्री आम्दानी रकम कम्पनीलाई नदिई पहिले आफूले लिन्छन l

 

ऋण र पूँजीको अनुपात प्रचलित विधि ७० र ३० बनाउने हो भने तामाकोशीको पूँजी २४ अर्ब रुपैयाँ पार्नुपर्ने हुन्छ l ऋण र पूँजीको अन्तरलाई मेटाउन एकमात्र विकल्प भनेको पूँजी वृद्धि हो l  यस हिसाबले कम्पनीले झन्डै १ सय २५ प्रतिशत पूँजी वृद्धि गर्नुपर्ने हुन्छ l नेपाल विद्युत प्राधिकरण सबैभन्दा ठूलो शेयरधनी भएको हुँदा प्राधिकरणले ५ अर्ब रुपैयाँ हाल्नुपर्छ l प्राधिकरण यति पूँजी हाल्न सक्ने अवस्थामा छैन l पूँजी हालेर प्रतिफल आउने स्थिति छैन भन्ने कुरामा सबै संस्थापक शेयरधनी विश्वस्त छन् l प्राधिकरणको लागि बिजुली क्रेता आफैँ भएको हुँदा क्रय र बिक्रयको फराकिलो अन्तरले नाफा हुन्छ l औसत ५ रुपैयाँमा (शुरुवातमा ४ रुपैयाँ ६ पैसा र त्यसपछि मूल्य वृद्धि हुँदै जाँदा हुने अन्तिम मूल्य ५ रुपैयाँ १५ पैसा) किनेको बिजुली औसत १२ रुपैयाँमा बिक्री हुनेहुँदा यसबाट पर्याप्त लाभ छ l तर, अन्य संस्थापक र सर्वसाधारण शेयरधनीको लागि लाभांश लिने बाहेक अरु ठाउँ छैन l ९ पटक मूल्य वृद्धि पाउने सम्भावना पनि कम छ l २०७२ सालमा व्यापारिक उत्पादन गर्नुपर्नेमा ६ वर्ष ढिलाई भइसकेको छ l यसहिसाबले ६ वटा मूल्य वृद्धि चिप्लिसकेको छ l भूकम्प र कथित नाकाबन्दीको समयलाई काबुबाहिरको परिस्थिति मानेर करिब २ वर्षको समय छूट पाएमा पनि ४ वटा मूल्य वृद्धि गुमिसकेको छ l यस हिसाबले ५ वटा मात्र मूल्य वृद्धि बाँकी छ l ५ वटा मात्र मूल्य वृद्धि पाएमा अन्तिम बिक्री मूल्य ४ रुपैयाँ ६६ पैसा मात्र हुनेछ र बिक्री आम्दानीमा कमि आउनेछ l

आउला त हकप्रद

ऋण र पूँजीको अनुपात मिलाउन थप पूँजी आवश्यक देखिए पनि हकप्रद आउने सम्भावना देखिन्न l यसको विकल्पको रुपमा सरकारले दिएको ऋणलाई पूँजीकरण गर्नसक्ने सम्भावना बढी देखिन्छ l यसो गर्दा सरकारले दिएको दीर्घकालीन ऋण रकम १३ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्दैन l ऋण लगानी शेयर लगानीमा परिवर्तन भए पछि झन्डै १ अर्ब ३० करोड रुपैयाँ ब्याज खर्च पनि जोगिन्छ र यसले कम्पनीलाई संचालन खर्च पुर्याउन सहज हुनेछ l ऋण रकम पूँजीमा परिवर्तन गराउन सकिन्छ l

अन्यको हकप्रद

तामाकोशी बाहेक अन्य कम्पनीको सम्बन्धमा सूचीकृत ४० वटा मध्ये संकटमा रहेका १० वटा जति छन l यी कतिपय कम्पनीको हालत बिगार्नमा भूमिका सरकारको छ l ३० वटा कम्पनीको हालत सामान्य नै छ l  ३० वटा मध्ये निर्माणको अवस्थामा रहेका हुँदा त्यति गएगुज्रेको अवास्था देखिन्न l शुरुवाती चरणमा सबैले औसतमा १० प्रतिशत प्रतिफल दिनसक्ने नै देखिन्छ l त्यसपछिका समयमा ऋण रकम क्रमशः  घट्दै जाने हुँदा वर्षैपिच्छे प्रतिफल बढ्दै जाने हुन्छ l औसतमा १० देखि १५ वर्षमा सम्पूर्ण ऋण चुक्ता हुने सम्भावना देखिन्छ l कतिपय जलविद्युत (खासगरी निर्माण सम्पन्न भएर प्रणालीमा आवद्ध) ले ऋण रकमलाई दीर्घकालीन ऋणमा परिणत गराएका हुँदा यसले आम्दानीमा बढोत्तरी गराउने छ l

अस्विकरण

(यसलाई मात्र आधार नलिनु होला आफूले पनि थप अध्ययन गरेर लगानी बढाउने घटाउने निर्णय लिनुहोला l)  

 

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...