Saturday, May 29, 2021

इन्डेक्स गणना र एसियन शेयरबजारको इन्डेक्स

इन्डेक्सको तुलना निरर्थक

नेपालको शेयर कारोबार मापन गर्ने इन्डेक्स यति र उति पुग्छ भन्ने बारम्बार सुनिन्छ l सँगसँगै जस्तै आएको भारतको नेशनल स्टक एक्सचेन्ज लिमिटेड (एनएसई) को मानक इन्डेक्स निफ्टी फिफ्टी १५ हजार बिन्दुको हाराहारीमा पुगेको हुँदा नेप्से पनि १० हजार पुग्नुपर्छ भन्ने पनि सुनिन्छ l ‘नेप्से’ नेपालको शेयर कारोबार मापकको नाम र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संक्षिप्त नाम पनि हो l नेप्से नेपालको मानक इन्डेक्स हो l यसका अतिरिक्त विभिन्न १३ वटा छुट्टै सब इन्डेक्स पनि छन् l त्यस्तै, प्रवाहित शेयरको मात्र कारोबार मापन गर्ने प्रवाहित (फ्लोट) इन्डेक्स पनि छ l कम्पनीलाई ‘ए’, ‘बि’, ‘जि’ र ‘जेड’ मा वर्गीकरण गर्नु अघि नेप्सेले तत्कालिक अवस्थामा विभिन्न इन्डीकेटरको आधारमा ‘क’ वर्ग मा राखेको हाल कुनै अर्थ नभएको कम्पनीको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि  छ l यी जे जति इन्डेक्स छन् ति सबैको गणना विधि एकै हुन्छ l अहिले संसारभरका एक्सचेन्जले कारोबार मापनको लागि अपनाएको विधि एस एण्ड पी (स्ट्यान्डर्ड एण्ड पूअर) हो l

केही एसियाली सूचक

शेयर कारोबारीले इन्डेक्सलाई सर्वस्व जत्तिकै माने पनि यो एउटा सामान्य मार्गदर्शन मात्र हो l यसलाई व्यक्ति-व्यक्तिले आफ्नो अनुकुल पनि बनाउन सक्छन l यसको मापन निश्चित इन्डिकेटरको आधारमा गरिन्छ l सूचीकृत सबै कम्पनीको र निश्चित कम्पनी मात्र राखेर मापन गर्नसकिन्छ l शुरुवाती चरणमा सबै कम्पनीलाई समेटेर इन्डेक्स मापन गरे पनि कम्पनीको सङ्ख्या बढ्दै जाँदा निश्चित इन्डिकेटरको आधारमा सिमित कम्पनी राखेर मापन गर्ने विश्वव्यापी प्रचलन छ l इन्डेक्स गणनाले विगत र वर्तमानको पूँजीकरणको तुलना गर्दै भविष्यको आंकलन गर्न सकिन्छ l केही एसियाली देशको इन्डेक्स तालिकामा देखाईएको छ l

केही एसियाली देशका इन्डेक्स र आधार अंक

क्र.सं.

इन्डेक्स र देश

इन्डेक्स

आधार अंक

एस एण्ड पी एसएल २० (श्रीलंका)

२,८६७

१००

बीएसआई (भुटान)

९६०

१,०००

सेन्सेक्स (बीएसई-भारत)

५०,०३०

१००

निफ्टी फिफ्टी (एनएसई-भारत)

१४,८६७

१,०००

हांगसेंग (हंगकंग) 

२८,९३९

१००

कोप्सी (कोरिया)

,११३

१००

टोपिक्स (जापान)

१,९७१

१००

केएसई - १०० (पाकिस्तान)

४४,३००

१,०००

डीएसई - ३० (बंगलादेश)

१,९०१

१०००

१०

शांघाई सेन्जेन कम्पोजिट इन्डेक्स (चिन)

,४८४

१००

स्रोत : सम्बन्धित देशका स्टक एक्सचेन्ज (२०२१, अप्रिल १ देखि ४ सम्मको कारोबारमा आधारित)

सूचक गणना

शेयर कारोबारको मापन गणना गरिने इन्डेक्स कम्पनीले दिएको लाभ वा कम्पनीका शेयर मूल्यको औसत दुवै होइन । इन्डेक्सलाई प्रभाव पार्ने केही सिमित कम्पनी मात्र हुन्छन l ठूलो पूँजी वा बढी मूल्यले यसलाई प्रभाव पार्छ l एकै कम्पनीले इन्डेक्सलाई तलमाथि जता पनि लानसक्छ l नेपालको हकमा नेपाल टेलिकमले प्रभाव पार्दै आएको छ l यद्धपि टेलिकमको भन्दा बढी पूँजी भएका (ग्लोबल र पूर्वाधार बैंक) कम्पनी सूचीकरणमा भए पनि यी २ कम्पनीले इन्डेक्सलाई प्रभाव पार्न सकेका छैनन l कुल पूँजीकरणको आधारमा टेलिकमको बजार हिस्सा झन्डै ६ प्रतिशत छ l यसको मूल्यमा आउने उतारचढावले इन्डेक्सलाई प्रभाव पार्छ l पूँजीभन्दा मूल्यले किन कसरी के प्रभाव पार्छ भन्ने बुझ्न पहिला यसको गणना कसरी हुन्छ बुझ्नपर्छ l इन्डेक्स कुनै एकदिनको आधार बजार पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । आधार पूँजीकरण र त्यसपछिका हरेक दिनको पूँजीकरणका २ वटा अंक लिएर इन्डेक्स मापन गरिन्छ । आधार पूँजीकरण नयाँ कम्पनी सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदैजान्छ । बोनस शेयरले आधार पूँजीकरण परिवर्तन हुँदैन । मानौं इन्डेक्स गणना शुरु गर्ने दिन सूचीकृत कम्पनीको बजार पूँजीकरण १ अर्ब रुपैयाँ थियो भने पहिलो दिनको लागि इन्डेक्स मापन १ हुन्छ l यस्तो हिसाब १ अर्ब रुपैयाँलाई सोही रकमले भाग गर्दा आउँछ l यसरी भाग गर्दा आउने प्रतिफल १ नै सो दिनको इन्डेक्स हो l यो १ अङ्कलाई १ सय वा १  हजार मान्न सकिन्छ l भोलिपल्ट बजार पूँजीकरण बढेर १ अर्ब १० करोड रुपैयाँ भएमा आधार पूँजीकरणको रुपमा स्थिर रहने १ अर्ब रुपैयाँले १ अर्ब १० करोड रुपैयाँलाई भाग गरेर सो दिनको इन्डेक्स १ सय १० वा १ हजार १ सय र प्रतिशतमा व्यक्त गर्दा १० प्रतिशत हुन्छ l त्यसको भोलिपल्ट बजार पूँजीकरण घटेर १ अर्ब ८ करोड रुपैयाँ कायम भएमा उही स्थिर आधार पूँजीकरण १ अर्ब रुपैयाँले भाग गर्दा इन्डेक्स १ सय ८ वा १ हजार ८० हुन्छ l इन्डेक्सलाई पहिलो दिन एक, १ सय, वा १ हजार जति अङ्कबाट शुरु गरे पनि तथ्यमा फरक पर्दैन l नेपाल लगायत धेरै देशमा पहिलो दिनलाई १ सय बिन्दु मानी गणना गर्ने गरिएको छ l

गणनाका आधार र तुलना

माथि नै भनियो गणना जति अङ्कबाट पनि गर्न सकिन्छ l तालिकामा देखाईएका १० वटा इन्डेक्समध्ये रोयल सेक्युरिटीज एक्सचेन्ज अफ भुटानको इन्डेक्स गणना सबैभन्दा कान्छो हो l भुटानले इन्डेक्स गणना सन् २०१९ बाट शुरु गर्दा पहिलो दिनलाई १ हजार मानेको छ l त्यस्तै, १ हजार अङ्कलाई आधार मानेका अन्य इन्डेक्समा भारतको एनएसईको मानक इन्डेक्स निफ्टी फिफ्टी, पाकिस्तान स्टक एक्सचेन्जको मानक इन्डेक्स केएसई - १०० र  बंगलादेशको ढाका स्टक एक्सचेन्जको डीएसई - ३० रहेका छन् l भारतको बीएसईको मानक इन्डेक्स सेन्सेक्स १ सय अङ्कबाट गणना गरिएको हो l सेन्सेक्समा ३० वटा कम्पनीको मात्र कारोबार मापन गरिन्छ l अहिले भुटानको इन्डेक्स घटेको छ l यसको मतलब दैनिक पूँजीकरण आधार पूँजीकरणभन्दा तल झरेको छ l पूँजीकरण घट्नुको अर्थ कम्पनीको मूल्य घट्नु हो l मूल्य घटे पनि कारोबार रकम बढ्न सक्छ l कारोबार रकम बढ्नु इन्डेक्स बढ्नु हैन l थोरै कित्ता मात्र कारोबार भएमा पनि मूल्य बढेमा इन्डेक्स बढ्छ l

निफ्टी करिब १५ हजार भएको तर, नेपालमा कहिले होला भन्ने चर्चा चल्दा यसको गणना विधिलाई बुझ्न सकेको भए यस्तो कुरै आउने थिएन l निफ्टीको आधार गणना बिन्दु १ हजार हो भने नेप्सेको आधार गणना बिन्दु १ सय हो l निफ्टीलाई नेपालको गणना विधि अनुसार हेर्दा आजको दिनमा यसको इन्डेक्स १५ सय हाराहारी हो l त्यस्तै, नेप्सेलाई निफ्टीको गणना अनुसार हेर्ने हो भने २७ हजार हाराहारी हो l संसारकै ठूलो एक्सचेन्जको सूचीमा १०सौं स्थानमा पर्ने बीएसई र ११ रौँ मा पर्ने एनएसई दुबैको आ-आफ्नै विशेषता छन् l भारतमै यी दुई एक्सचेन्जको तुलना इन्डेक्सको आधारमा गरिन्न l त्यही भएर संसारका कुनै पनि एक्सचेन्जको इन्डेक्स कुनै पनि अर्को एक्सचेन्जको इन्डेक्ससँग कहिले पनि तुलना गरिन्न l इन्डेक्स बाहेक अरु कुरामा तुलना हुनसक्छ l इन्डेक्स जति पनि पुग्नसक्छ यसको कुनै सिमाना हुन्न l इन्डेक्स नै लगानीको सर्वोच्च मानक हुन्न l

२४ चैत २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/385160

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...