नेपालको शेयरबजारमा देखिन थालेको अनौठा घटनाको सिलसिलाले
प्रोत्साहितभन्दा निरुत्साहित बनाउन मद्दत पुगेको देखिन्छ । कम्पनी गाभिएपछि नेपाल
स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबार मूल्य समायोजन गर्ने क्रम पछिल्लोपटक
जनता बैंक गाभिएपछि ग्लोबल बैंकमा पनि कायम राख्यो । त्यस्तै, सूचीकृत र असूचीकृत कम्पनी गाभिन
लाग्दा सूचीकृत कम्पनीको कारोबार रोक्कालाई पनि सान्दर्भिक मान्न सकिन्न ।
शेयरबजारमा यी र यस्तै केही प्रसंग चर्चाको विषय बनेको छ ।
मर्जपछीको समायोजन
नेप्सेमा सूचीकृत कम्पनीमध्ये बैंकिंग (‘क’
देखि ‘घ’ सम्म) मर्ज र एक्वायर भएका छन् । मर्ज र एक्वायरमा जाँदा कारोबार
रोकिनु सान्दर्भिकै भए पनि गाभिएर कारोबार खुल्दा मूल्य समायोजन हुनलाई सान्दर्भिक
मान्न सकिन्न । यसरी पहिलोपटक मूल्य समायोजन सम्भवत: तिनाउ विकास बैंक र मिसन
डेभलपमेन्ट बैंक गाभिएर पहिलो कारोबार खुल्दा भएको थियो तर, थोरै रकमको अंक भएको हुँदा त्यतिबेला
यस घटनालाई कसैले वास्ता गरेन । मर्जको लागि कारोबार रोकिँदा अन्तिम कारोबार मूल्य
३ सय ८२ रुपैयाँ कायम भएको एनएमवी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि नेप्सेले
३ सय ५१ रुपैयाँमा कारोबार खोलिदियो । ग्लोबल र जनता बीच गाभिने सम्झौता हुँदा
ग्लोबलको अन्तिम बजार मूल्य २ सय ९५ रुपैयाँ कायम भएको थियो । ग्लोबलले आर्थिक
वर्ष २०७५/७६ मा १२ दशमलब ७५ प्रतिशत बोनस शेयर बाँडेको थियो । बोनस शेयरको मात्र
समायोजन गरेर २ सय ६१ रुपैयाँमा कारोबार खोल्नुपर्नेमा २ सय ५२ रुपैयाँ तोकियो ।
नेप्सेले यी दुबैको के कुन आधारमा समायोजन गरियो त्यसको सुत्र वा स्पष्टीकरण दिएन
वा दिन आवश्यक ठानेन । शेयरबजारको तालुकी अड्डा धितोपत्र बोर्डले पनि चासो लिएन ।
सान्दर्भिकता र एक्वायर
समायोजन भनेको मिलाउने कार्य हो । यसको अर्थ र प्रयोजन
ठाउँ अवस्था अनुसार हुनेगर्छ । शेयर कारोबारको सन्दर्भमा सूचीकृत कम्पनीले हकप्रद
वा बोनस शेयर जारी गरेपछि सोही अनुपातमा मूल्य पनि समायोजित हुनेगर्छ । समायोजन
पश्चात् मूल्यमा कमी देखिए पनि शेयरधनीको कित्ता बढ्ने हुँदा हिसाब बराबर हुन्छ ।
यसले शेयरधनीको सम्पत्तिमा तात्विक असर पर्दैन । तर,
अहिले नेप्सेले गाभिएका कम्पनीको शेयर कारोबार खोल्दा
असान्दर्भिक मूल्य समायोजन गरिरहेको छ । यस्तो समायोजन नितान्त अर्थहीन छ भनेर
प्रमाणको फेहरिस्त दिँदा पनि कानमा तेल हालेर बसेको छ ।
कम्पनी गाभिएपछि समायोजनको सान्दर्भिकता देखिएको बेला
नेप्सेले वास्ता गरेन वा पत्तो पाएन तर, अहिले सान्दर्भिकता सकिएको बेला ‘समायोजन’ गरेर उल्टो पाइला चालेको छ । कम्पनी गाभिने क्रममा शेयर आदान-प्रदान
अनुपात (स्वाप) घटी, बराबर वा प्रिमियम पनि हुनसक्छ । गाभिने कम्पनीले बराबर र गाभ्ने
कम्पनीले प्रिमियम पाउने सम्भावना प्राय: कमै हुन्छ । सामान्यतया: गाभिने कम्पनीले
केही प्रतिशत कम स्वाप पाउँछन् । मानौं, गाभिने कम्पनीको २ शेयर बराबर गाभ्ने
कम्पनीको १ शेयर (२:१) दिने गरी मर्जको सम्झौता भएमा बचेको पूँजीवापतको रकम गाभ्ने
कम्पनीका शेयरधनीले पहिले नै ‘बोनस सरह’ बाँडेर खाएको अवस्थामा सोहीहदसम्म मूल्य समायोजन सान्दर्भिक हुन्छ ।
यस्तो अभ्यासको एउटा उदाहरणमा प्रभुमा गाभिएको ग्रान्ड बैंक हो । ग्रान्ड बैंकको १
शेयरलाई प्रभु बैंकको शून्य दशमलब ६५ (०.६५) कित्ता दिएर बाँकी रहेको शून्य दशमलव
३५ (०.३५) कित्ता बराबरको रकम प्रभु बैंकले त्यतिबेला २१ प्रतिशत बोनस शेयर सरह
बाँडेको थियो । तर, अहिले यसरी स्वापवापत प्राप्त हुने रकम शेयर प्रिमियमसरह पूँजीगत
जगेडामा लेखांकन गरिने गरिन्छ ।
उल्लेखित प्रभु र ग्राण्ड बैंकको उदाहरणले अहिले मूल्य
समायोजनको औचित्य छैन भन्ने प्रष्ट पार्छ । कम्पनी ऐन २०६३ को दफा १७७(५) ले
गाभिएको कम्पनीको अस्तित्व नै सकिने र गाभिने कम्पनीका सम्पूर्ण सम्पत्ति तथा
दायित्वहरू गाभ्ने कम्पनीमा सर्ने व्यवस्था गरेको छ । कम्पनी प्रशासन र संचालनको
नियमन गर्ने कम्पनी रजिष्ट्रार कार्यालयले गाभ्ने स्वीकृति दिँदा गाभिने कम्पनीको
सम्पूर्ण सम्पत्ति र दायित्व गाभ्ने कम्पनीमा सरेको उल्लेख गरेर गाभिने कम्पनी
दर्ता खारेज गर्छ । गाभ्ने कम्पनी सर्वेसर्वा हुने हुँदा पनि मूल्य समायोजनको
सान्दर्भिकता समाप्त हुन्छ ।
निकट भविष्यमा प्राइम बैंकले एक्वायर गर्ने अन्तिम तयारी
गरेको कैलाश विकास बैंकको एकीकृत कारोबार हुँदा के हुन्छ भन्ने चासो देखिए पनि
अनौपचारिकरुपमा बुझिएअनुसार यसको मूल्य समायोजन हुने छैन । एक्वायर भने पनि मर्ज
जस्तै हुनेहुँदा यसको किन नहुने भन्ने एउटा प्रश्न जिउँदो बनेको छ । नेपालमा मर्ज
र एक्वायरको एउटा मात्र फरक गाभ्ने कम्पनीको कारोबार रोक्का नहुनु हो । बाँकी सबै
प्रक्रिया एकै छ ।
सूचीकृत र असूचीकृतको मर्ज
नेपालको शयरबजारमा अनौठो घटना देखिने क्रममा पछिल्ला
दिनमा सूचीकृत र असूचीकृत कम्पनीको मर्जमा देखिएको छ । सूचीकृत कम्पनीले असूचीकृत
कम्पनी मर्ज गर्ने क्रममा सूचीकृत कम्पनीको कारोबार रोकिनु पनि असान्दर्भिक घटना
हो । यस्तो घटना हेर्दा कारोबार रोक्का राख्नुको अर्थ ‘कम्पनी’ र ‘नेप्से’ दुबैले नबुझेको जस्तो देखिएको छ । माथि नै भनियो एक्वायरमा गाभिने
कम्पनीको कारोबार रोक्का हुन्न । हो, ठ्याक्कै यस्तै परिस्थिति सूचीकृत र असूचीकृत कम्पनी गाभिने क्रममा
पनि हुन्छ तर, किन कारोबार रोक्का राखियो नेप्से र कम्पनीले प्रष्ट पारेका छैनन् ।
सामान्यतया सूचीकृत दुई कम्पनी गाभिंदा ‘यति स्वाप दिने भयो’ भन्ने जस्तो अनर्गल गतिविधिले मूल्यमा अस्वाभाविक उतारचढाव नहोस्
भन्ने हेतुले लगानीकर्ता हित संरक्षणको लागि कारोबार रोक्नु परेको हो तर, सूचीकरण नै नभएको कम्पनीसँग मर्ज
हुँदा कसलाई के असर पर्छ र कारोबार रोक्नु ? यसरी असूचीकृत कम्पनीसँग मर्ज हुँदा सूचीकृत कम्पनीको कारोबार रोक्ने
कार्यको शुरुवातकर्ता सम्भवत: वोमी लघुवित्त हो,
त्यसपछि यसले निरन्तरता पाईरहेको छ र कहिलेवाट यस्तो कारोबार
रोकिने क्रम सकिने हो कसैलाई पत्तो छैन । सूचीकृत कम्पनीले के कुन आधारमा आफ्नो
कारोबार रोक्ने पत्राचार गरेका हुन् सायद ति आफैँ पनि जानकार छन् जस्तो देखिन्न ।
कम्पनीले कारोबार रोकिदेउ भनेर पत्राचार गरेर सूचीकरण कानुनको पालना गरेको भन्लान तर, बजार संचालक (नेप्से) ले यसमा विचार गर्नुपर्नेमा केही सोच्दै नसोची
कारोबार रोकिरहेको छ ।
मर्जले बनाएको बन्धक
एक जिल्ले सहारा विकास बैंक मर्जमा जाने भन्दै कारोबार
रोक्का भएको ३ वर्ष पुग्न लागिसक्दा पनि यसको मर्जको टुंगो लागेको छैन । सहयोगी
विकास बैंकसँग मर्जमा जान रोकिएको कारोबार मर्ज भाँडिएपछि देव विकास बैंकसँग
एक्वायरमा जान गरेको सम्झौता पनि भाँडियो । यसले जारी गरेको २ सय ५० प्रतिशत
हकप्रद बिक्री गरेको २ वर्ष पुग्न लाग्दा पनि के भईरहेको छ भन्ने पनि कसैलाई पत्तो
छैन । यस्तै घटना वेस्टर्न डेभलपमेन्ट बैंकमा पनि भएको छ । नमस्ते फाइनान्ससँग
गाभिएर एक हप्ता पनि कारोबार नहुँदै देव विकास बैंकले एक्वायर गरी एकीकृत कारोबार
गरेको ६ महिना हुँदा पनि वेस्टर्नको शेयर देवको नाममा सूचीकरण नगराई आफैँ कुमारी
बैंकसँग एक्वायरमै गएको छ । यस्तै पाराले साविकको वेस्टर्नको कारोबार खुल्न अझ ६ महिना
लाग्नसक्ने स्थिति हेर्दा यसको कारोबार अझ लम्बिने देखिन्छ ।
जिम्मेवारहरु वेजिम्मेवार
माथिका विभिन्न अनुच्छेदमा उल्लेखित प्रसंग हेर्दा
नेपालको शेयरबजारमा जिम्मेवारहरु सबै बेजिम्मेवार बनेको देखिन्छ । ‘लगानीकर्ताका संगठन हौँ, बजार सुधार भएन’ भन्दै नेप्सेकै ढोकामा ‘भोक हडताल’ को तमाशा देखाउनेले माथि उल्लेखित
विषयमा अलिकति पनि ज्ञान राखेको नदेखिँदा यी ‘औचित्यहिन समूह’ मात्र हुन् भन्ने दृष्टात खोज्न धेरै सोच्नुपर्दैन । एउटा बैंकका
उल्लेख्य शेयरधनी फलानो बैंकसँग मर्जमा जाने पक्का हो भन्दै भिडियो वार्ता
सार्वजनिक गर्छन, तैपनि जिम्मेवार वेजिम्मेवार बन्छन् । शेयरबजारमा यस्तो
बेजिम्मेवारीको हद कहिलेसम्म चलिरहने होला ?
१४ माघ २०७६, आर्थिक
अभियान दैनिक