बीमा जोखिम निर्वहन र बचत दुवै हो । बीमा जीवन र निर्जीवन गरी
दुई प्रकारका हुन्छन् । निर्जीवन बीमाको हकमा जोखिम निर्वहन मात्र हुन्छ भने जीवन
बीमाको हकमा दुवै हुन्छ । जीवन बीमामा जोखिम निर्वहन निर्जीवन बीमामा जस्तो
निरपेक्ष हुँदैन । बीमा मूलतः यही दुईओटा लाभका लागि गरिन्छ । यसैलाई विभिन्न
प्रकारले उपयोगमा ल्याइन्छ । बीमा कहिले, कसरी गर्ने यसका आफ्नै विधि र प्रक्रिया हुन्छ । यस आलेखको ठाउँठाउँमा
उल्लेख भएका बीमकलाई (बीमा कम्पनी) र बीमितलाई (बीमा हुने व्यक्ति वा वस्तु) भनेर
बुझ्न आग्रह गरिन्छ ।
बीमाको अभ्युदय
‘बीमा’ शब्द फारसी भाषाबाट आएको मानिन्छ । यसको अर्थ ‘जिम्मेवारी लिनु’ भन्ने हुन्छ । बीमा ठेक्का जस्तै करारीय दायित्व सृजना गर्ने अनुबन्ध (सम्झौता) भएको हुँदा एक प्रकारको करार हो । बीमा शब्द फारसी भए पनि यसको अभ्युदय वैदिककालदेखि कुनै न कुनै रूपमा रहेको शास्त्रीय मत छ । ‘योगक्षेमं वहाम्यहम्’ (श्रीमद्भगवत गीता, अध्याय ९ को २२औं श्लोकको अंश) लाई नै बीमाको एक रूप मानिएको छ । भारतको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन इन्डियाको ‘नारा’ (स्लोगान) ‘योगक्षेमं वहाम्यहम्’ छ । वैदिक कालदेखि नै अस्तित्वमा रहेको बीमाका केही सिद्धान्तहरूको यहाँ संक्षिप्त चर्चा गरिन्छ :
परम सद्विश्वासको सिद्धान्त
यो सिद्धान्त जीवन र निर्जीवन दुवै बीमा लेखमा लागू हुन्छ । बीमा
गर्दा बीमक र बीमित दुवै पक्षले कुनै पनि कुरा नलुकाई सत्यतथ्य बताउनुपर्छ अर्थात्
बीमालेखमा उल्लेख गर्नुपर्छ । क्रेता विक्रेताबीच सरसामान किनबेच गर्दा क्रेताको
दायित्व बढी हुन्छ । सामान हेरी जाँची बुझी लिने मूल दायित्व क्रेताको हो । तर, बीमामा भने बीमक र बीमित दुवै पक्षमा परम सद्विश्वास हुनुपर्छ । बीमकले
पनि बीमितलाई अनुबन्धमा उल्लेख गरिएका शब्दावलीको सम्बन्धमा स्पष्ट पार्नुपर्छ भने
बीमितले पनि आफ्नो वा आफ्नो चिज वस्तुको यथार्थ र वास्तविक जानकारी प्रकट
गर्नुपर्छ । किनकि भविष्यमा बीमकले दाबी तिर्नुपर्ने परिस्थिति सृजना हुन सक्छ र
बीमितले दाबी पाउनुपर्छ ।
परम सद्विश्वासको सिद्धान्तमा आधारित रहेर बेलायत र भारतको अदालतले
गरेका दुईओटा निर्णय निकै सान्दर्भिक छ । कार्टर विरुद्ध बोहम (सन् १७६६) को
मुद्दामा निर्जीवन बीमाको विषय जोडिएको छ । इन्डोनेशियाको मारबोरो किल्लाका गभर्नर
कार्टरले शत्रुबाट हमला भएर नष्ट हुन सक्ने सम्भावनाका आधारमा किल्लाको बीमा गरेका
थिए । फ्रान्सेली सैन्य दस्ताले उक्त किल्लामाथि आक्रमण गरेर ध्वस्त पारिदिए ।
कार्टरले बीमा दाबी गरे तर बीमकले दाबी दिन अस्वीकार गर्यो । अरूबाट किल्ला
जोगाउन सकिए पनि यूरोपेली सैन्य दस्ता (फ्रान्स पनि) बाट किल्ला जोगाउन मुश्किल छ
भन्ने विषयमा कार्टर पहिले नै विश्वस्त रहेको र उनले सो कुरा लुकाएको वा प्रकट
नगरेको हुँदा बीमा दाबी खारेज भएको थियो ।
जीवन बीमालेख लिनुअघि आफ्नो स्वास्थ्यका बारेमा वास्तविक तथ्य प्रकट
नगरेका कारण भारतमा जीवन बीमाको एउटा मुद्दा (आशा गोयल विरुद्ध लाइफ इन्स्योरेन्स
कर्पोरेशन इन्डिया, सन् १९८५) मा सर्वोच्च अदालतले
बीमकको पक्षमा निर्णय दिएको थियो । आशा गोयलका पति नवलकिशोर गोयलले सन् १९७९ मे
महीनामा १ लाखको जीवन बीमालेख लिएका थिए । बीमालेख लिएको १ वर्ष नपुग्दै सन् १९८०
डिसेम्बरमा उनको निधन भएको थियो । नवलकिशोरले बीमालेख लिने बेला आफूलाई कुनै पनि
प्रकारको स्वास्थ्य समस्या नभएको भन्ने उद्घोष गरेका थिए ।
बीमायोग्य हित र क्षतिपूर्तिको सिद्धान्त
कुनै पनि चिज/वस्तु बीमा हुनका लागि त्यसमा हित जोडिएको बीमायोग्य
हुनुपर्छ । त्यस्तै, बीमा अनुबन्ध गर्दा चिज वा वस्तु
अस्तित्वमा हुन जरुरी छ । बीमा गर्न लागिएको चिज वा वस्तु अस्तित्वमा हुँदा
त्यसबाट फाइदा र नहुँदा हानि हुनुपर्छ । बीमायोग्य चिज वा वस्तु जीवन (जिउँदो
व्यक्ति) वा निर्जीवन कुनै रूपमा हुनुपर्छ । बीमा स्वास्थ्य, दुर्घटना, सामुद्रिक, अग्नि जुनसुकै रूपमा हुन्छ । निर्जीवन बीमा गर्दा वस्तुको अस्तित्व
अनुबन्ध गर्दा र हानि दाबी गर्दा दुवै अवस्थामा देखिनुपर्छ । अपवादको रूपमा जीवन
बीमामा बीमितको अस्तित्व हुँदैन । जीवन र निर्जीवन बीमाको हितको मूलभूत फरक यही हो
। घर वा कारखानाको बीमा गरेको अवस्थामा आगोबाट ध्वस्त भएमा त्यो वस्तु बीमा
अनुबन्ध गर्दा र ध्वस्त भइसकेपछि पनि हित कायम रहनुपर्छ । घर वा कारखाना
अस्तित्वमा हुँदा फाइदा थियो र नहुँदा हानि हुन्छ ।
बीमाको अर्को सिद्धान्त क्षतिपूर्ति हो । वस्तुको क्षतिपश्चात् हुने
पुनःस्थापना पूर्ति हो । बीमाले बीमितलाई कुनै लाभ दिँदैन । बीमाबाट अप्रत्यक्ष
रूपमा लाभ देखिएला तर प्रत्यक्ष रूपमा लाभ होइन । यसलाई लाभको रूपमा बुझ्न सकिँदैन
। बीमा गर्दा जति क्षति होला भन्ने पूर्वानुमान गरिएको थियो सोही बराबरको क्षति
उपलब्ध गराइन्छ । क्षतिपूर्तिको सिद्धान्त जीवन बीमामा लागू हुँदैन । व्यक्तिको
जीवनको क्षतिपूर्ति ईश्वरले पनि गर्न नसक्ने हुँदा कसैले पनि गर्न सक्दैन । बीमामा
क्षतिपूर्तिको प्रसंग निर्जीवन बीमामा मात्र हुन्छ ।
निकटतम कारण
बीमा गरेपछि कुनै हानि भएमा क्षतिपूर्ति प्राप्त हुन्छ । तर, यस्तो दाबी वा क्षतिपूर्ति प्राप्त गर्न जुन कारणबाट हानि हुन सक्ने
पूर्वानुमान गरिएको थियो सोही कारण वा त्यसको निकटता विद्यमान हुनुपर्छ । बीमालेख
लिने बेला जुन कारणबाट सम्भावित हानि हुन सक्ने भनिएको छ, त्यस निकटको कारण हुनुपर्छ । ‘अग्निबीमा’ गरिएको छ भने ‘हुरी’ बाट क्षति भएको अवस्थामा क्षतिपूर्ति भराउन सकिँदैन । उदाहरणका लागि
आगलागी पश्चात् खण्डहर बनेको घरको पर्खाल (गाह्रो) भत्काउँदा सँगै जोडिएको अर्को
घरमा क्षति पुग्यो भने यसमा ‘अग्नि’ निकटतम कारण बन्छ र बीमा दाबी गर्न सक्छ ।
त्यस्तै, अर्को एउटा उदाहरणमा अग्निको कारण
क्षति भएको घरको पर्खाल (गाह्रो) भत्काइनु अघि हुरीले ढाल्दा नजीकको घरलाई क्षति
पुग्यो । यहाँ अग्निबीमा माग गर्न सकिने अवस्था रहँदैन किनकि यसमा अग्नि विकट र
हुरी निकट कारण हो । यस्तो अवस्थामा भएको क्षति तिर्न बीमक बाध्य हुँदैन ।
अधिकारको विसर्जन
यो अलि अनौठो किसिमको सिद्धान्त छ । यो सिद्धान्त निर्जीवनमा मात्र
लागू हुन्छ । कुनै चिज/वस्तुको चोरीबाट हुने हानिको पनि बीमा गरिएको हुन्छ । यस्तो
अवस्थामा बीमकले चोरिएको सामानको क्षतिपूर्ति दिन्छ किनकि यो बीमायोग्य वस्तु
भएकाले बीमालेख जारी गरिएको थियो । तर, चोरी
भएको सामान प्राप्त भएमा वा भेटिएमा त्यसको हकअधिकार भने बीमितको हुँदैन बीमकको
हुन्छ । सामान चोरी भएर त्यसको क्षतिपूर्ति दिइसकेपछि सामान माथिको हक मेटिन्छ र
त्यो सामान भेटिएमा त्यसको आधिपत्य बीमकमा सर्छ । यसलाई अधिकारको निसर्ग वा
विसर्जन भनिन्छ ।
क्षतिको न्यूनीकरण
बीमा सम्भावित क्षतिको पुनःस्थापनाका लागि गरिन्छ । उद्देश्य त क्षति
नहोस् भन्ने नै हो तर कहिले प्राकृतिक कहिले मानवीय त्रुटिका कारण विपत्ति आउँछ र
हानि हुन्छ । यही हानिको पुनःस्थापना बीमाले गर्छ । तर, यसको अर्थ सबै कुरा बीमाले गरिहाल्छ भनेर चुप लाग्न भने पाइँदैन । उदाहरणका
लागि भवनमा आगलागी हुँदा कम क्षति होस् भनेर आगो निभाउने प्रयास नगरी हेरेर बसेमा
बीमकले क्षतिपूर्ति नदिन सक्छ । बीमा भनेको नियन्त्रण बाहिरको परिस्थितिका लागि हो
। परिस्थितिलाई नियन्त्रण गर्न सकिने हदसम्म पनि प्रयास गर्नुपर्छ । यसलाई क्षतिको
न्यूनीकरण भनिन्छ । यसो गर्दा आफ्नो पनि कम क्षति हुन्छ र बीमकले पनि कम
क्षतिपूर्ति दिए पुग्छ ।