Tuesday, April 10, 2018

बोनस शेयर सूचीकरणमा विलम्ब

शेयरको अभौतिक कारोबार शुरू भएको २ वर्ष पूरा भएको छ । संस्थागत क्षमता अभिवृद्धि हुनसकेको खण्डमा वा भएमा संस्थाका लागि २ वर्षे अवधि अपर्याप्त हुन्न । जस्तोसुकै कार्य पनि सजिलै कार्यान्वयन गरी लक्षित उद्देश्य प्राप्त गर्न सकिन्छ । तर, कार्यान्वयन पक्ष कमजोर वा कार्यान्वयन गराउने निकाय अक्षम भएमा भने जति समय दिए पनि परिणाम शून्यको स्थितिमा रहन्छ । अभौतिकीकरणको २ वर्षे अवधिमध्ये पहिलो वर्षलाई तयारीमा बितेको मान्ने हो भने दोस्रो वर्षदेखि परिष्कृत भई सवल कार्यान्वयनमा जानुपर्नेमा त्यसो हुन सकेको देखिएन । कम्पनीहरूले साधारणसभा सम्पन्न गरेको महीनौं बितिसक्दा पनि बोनस शेयर सूचीकरणमा विलम्ब हुनुले अभौतिकीकरण हुनुको वास्तविक परिणाम महसूस गर्न सकिएको छैन ।

सूचीकरण सम्बन्धी कानून

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ४७ (१) र (२) मा धितोपत्र जारी गर्न चाहने कम्पनीले विक्री प्रबन्धक मार्फत विवरणपत्र तयार गरी बोर्ड र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा पेश गर्नुपर्ने व्यवस्था छ । धितोपत्र बजारले विवरणपत्र प्राप्त भएपछि सूचीकरणसँग सम्बन्धित विनियमावली अनुरूप सूचीकरणका लागि योग्य छ वा छैन ७ दिनभित्र बोर्डलाई जानकारी दिनुपर्छ । त्यसपछि सूचीकरणको प्रक्रिया समेत थालनी गर्नुपर्छ । एक्सचेञ्जमा सूचीकरण भएपछि अभौतिकीकरणका लागि ७ दिनभित्र ‘केन्द्रीय निक्षेपक’ मा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै बोनस शेयर सूचीकरण सम्बन्धमा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को दफा ४१ मा साधारणसभाले पारित गरेको ३० दिनभित्र बोनस शेयर (धितोपत्र) दर्ताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । बोनस शेयर जारी हुँदा पूँजी वृद्धि हुने भएमा प्रचलित कानून बमोजिम पूँजी वृद्धि स्वीकृत भएको वा अभिलेख भएको मितिले १५ दिनभित्र निवेदन दिनुपर्नेछ । नियम र निर्देशिकामा भएका सूचीकरण सम्बन्धी कानूनी व्यवस्था यति नै हुन् ।

माथि उल्लिखित कानूनी व्यवस्थाले बोनस बाहेकको हकमा जारी हुने प्रक्रियासँगै सूचीकरणको पनि प्रक्रिया थाल्नुपर्ने बताए पनि बाँडफाँट भएपछिको कति समयमा धितोपत्र बजार (एक्सचेञ्ज) मा कारोबारयोग्य बनाउने भन्ने ठोस व्यवस्था देखिन्न । एक/दुई कम्पनीलाई छाड्ने हो भने अधिकांश कम्पनीले धितोपत्र बाँडफाँट हुनासाथ निश्चित अवधिभित्र धितोपत्र कारोबारयोग्य बनाएको अभिलेख पाउन सकिन्न । कुनै पनि प्रकारले जारी भएको शेयर अविलम्ब सूचीकरण नहुनु खेदजनक कार्य हो । तालिकामा केही कम्पनीको बूक क्लोज, साधारणसभा र बोनस शेयर सूचीकरण भएको मिति दिइएको छ ।

तालिकाको १ नं. उल्लिखित एभरेष्ट इन्स्योरेन्सले साधारणसभा सम्पन्न गरेको ६ महीना बितिसक्दा समेत बोनस शेयर सूचीकरण गराएको छैन । आर्थिक २०७४/७५ शुरू भएपछि बूक क्लोज गर्ने पहिलो कम्पनी सिटिजन्स् बैङ्कले साधारणसभा सम्पन्न गरेको ४ महीना हुन लाग्दासमेत सूचीकरण गराएको छैन । सिटिजन्स् भन्दा पछि साधारणसभा सम्पन्न गरेका एनआईसी एशिया, नबिल, फर्स्ट माइक्रोफाइनान्स र सानिमा बैङ्कले ३ महीनाको अन्तरालमा बोनस शेयर सूचीकरण गराएका छन् । साधारणसभा बेलामा नगर्ने भनेर आरोप खेपिरहेका बीमा कम्पनीको दाग मेटाउँदै नेको र प्रभु इन्स्योरेन्सले साधारणसभा समेत सकेर बोनस शेयर सूचीकरण गराइसकेका छन् । तालिकाको १५ र १६ नं. मा परेका माछापुच्छ्रे र कैलाश बैङ्कले साधारणसभा सम्पन्न गरेको पनि ४५ दिन नाघिसकेको छ, तर सूचीकरणको अत्तोपत्तो छैन । तालिकाका १६ ओटा कम्पनीमध्ये प्रभु इन्स्योरेन्सले ४२ दिनमा सूचीकरण गराएको अभिलेख हेर्दा योभन्दा पनि कम समयमा सूचीकरण गर्न सकिने देख्न सकिन्छ ।
पहिले र अहिले

भौतिक शेयर विद्यमान रहेको अवस्थामा १ कित्ता मात्र बोनस शेयर पाउने शेयरधनीलाई पनि प्रमाणपत्र दिनुपर्ने हुँदा प्रमाणपत्र मुद्रण, एकजना सञ्चालकको हस्ताक्षर, कम्पनीको छाप लगाउन र सूचना प्रकाशन गरी शेयरधनीलाई प्रमाणपत्र वितरण गर्न लाग्ने सबै समयलाई दृष्टिगत गर्दा ढिलो हुनुलाई समय सान्दर्भिक भन्नुपर्ने अवस्था थियो । तर, अहिले सबै शेयर अभौतिक भइसकेको र कम्प्युटरीकृत प्रणालीमा सूत्र हालेर एक क्लिक गर्नासाथ करोडौं शेयरधनीको नाममा आउनुपर्ने शेयर कित्ता निमेषभरमा आउने अत्याधुनिक विधि हुँदा पनि सूचीकरणमा विलम्ब हुनु अत्यन्त लज्जास्पद कुरा हो । त्यस्तै साधारणसभाले पारित गरेका प्रस्ताव पनि विद्युतीय प्रणालीमार्फत कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेख गराउने सहज व्यवस्था छ । यति हुँदाहुँदै पनि महीनौंसम्म बोनस वा अन्य शेयर सूचीकरण नहुनुले अभौतिकीकरण फगत नामका लागि मात्र बनेको देख्न सकिन्छ ।

कमजोरी कानूनमा

सूचीकरण सम्बन्धमा व्यवस्था गर्न बनेका माथि उल्लिखित सबै कानून शेयरको अभौतिक कारोबार शुरू भइसकेपछि जारी भएका हुन् । साधारणसभा सम्पन्न भएको ३० दिनभित्र धितोपत्र बोर्डमा बोनस शेयर दर्ता गराउन दिएको समय सान्दर्भिक छैन । ७ दिनभित्र बोर्डमा दर्ता गरी त्यसको लगत्तै एक्सचेञ्जमा सूचीकरण गराएर अर्को ७ कार्य दिनमा कारोबार गर्न बढीमा २१ दिन समय पर्याप्त हुन्छ । बूक क्लोजको दिनदेखि साधारणसभा हुने दिनसम्मको कम्तीमा १४ दिनलाई समेत जोड्दा ३५ दिनसम्म पनि किन सूचीकरण हुन सकेन भन्ने प्रश्नको जवाफ कसले दिने ?

अन्त्यमा, देव विकास बैङ्कले बूक क्लोज गरेको २ महीना नाघिसक्दा समेत साधारणसभाको पत्तो छैन, शेयर सूचीकरणको के कुरा गर्नु ? अनौपचारिक रूपमा बुझिए अनुसार केन्द्रीय बैङ्कबाट लाभांश (बोनस) को स्वीकृति आउनु अघि नै बूक क्लोज गर्दा सङ्कट परेकाले सङ्कटमोचनको बाटो खोज्दै छ । केन्द्रीय बैङ्क वा अन्य सम्बद्ध निकायले कसरी सङ्कटमोचन गराइदिने हुन् ! लगानीकर्ता र यसका सङ्घ ‘देख्ने बोल्दैन, बोल्ने देख्दैन’को स्थितिमा छन् ।

२०७४ माघ १ गते अभियानमा प्रकाशित
 
http://www.abhiyan.com.np/2018/01/15/168822

Monday, April 9, 2018

राष्ट्रियस्तरका विकास बैङ्कको अर्द्धवार्षिक समीक्षा

आर्थिक वर्ष (आव) २०७२/७३ को मौद्रिक नीतिले राष्ट्रियस्तर, १० र ३ जिल्लासम्म कार्यक्षेत्र भएका विकास बैङ्कलाई क्रमशः २ अर्ब ५० करोड, १ अर्ब २० करोड र ५० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दियो । चुक्ता पूँजी बढाउने नीतिगत निर्देशनपछि राष्ट्रियस्तरका काष्ठमण्डप, त्रिवेणी, सिद्धार्थ, रिलायबल, सुप्रीम, एपेक्स, क्लीन इनर्जी, एस, टुरिजम, इन्टरनेशनल, इन्फ्रास्ट्रक्चरलगायत वाणिज्य बैङ्कसँग गाभिए/विलय भए । यती तथा महालक्ष्मी, सेवा (१० जिल्ले क्षेत्रीय स्तर) तथा कामना (राष्ट्रियस्तर), भिबोर तथा सोसाइटी एकआपसमा गाभिए । साझा, महाकाली, राप्तीभेरी, झिमरुक, गौमुखी, एकता, शुभेक्षा, अल्पाइन, अरनिको, इनोभेटिभलगायत साना विकास बैङ्क पनि वाणिज्य वा अन्य बैङ्कसँग गाभिए । तत् तत् स्थितिमा रहन चाहने पूँजी नपुगेका विकास बैङ्क २०७५ असार मसान्तसम्म पाएको कृपावधि (ग्रेस पिरियड) भित्र गाभिएर/विलय भएर वा हकप्रद/बोनसमार्फत पूँजी पुर्‍याउन प्रयासरत छन् । विलय र गाभिने क्रमले बैङ्क घट्दै जाँदा अहिलेसम्म राष्ट्रियस्तरका ११ ओटा र १० जिल्ले एउटा बैङ्क कायम रहने स्थिति देखिएको छ ।

हकप्रद र बोनसको सहारा

पुस मसान्तसम्म ६ ओटा बैङ्कले तोकिएको पूँजी पु¥याएका छन् भने बाँकी ५ ओटाले पनि हकप्रद र बोनसको सहारा लिएर पूँजी पुर्याउने बाटो पहिल्याएका छन् । महालक्ष्मी तथा साङ्ग्रिला क्रमशः २ अर्ब ६३ करोडसहित पहिलो र १ अर्ब ३५ करोड पूँजीसहित अन्तिम लहरमा छन् । ८० प्रतिशत हकप्रद बाँडफाँडपछि साङ्ग्रिलालाई करिब ३ प्रतिशत नपुग हुनेछ । ओमले नपुग पूँजीका लागि करिब १८ प्रतिशत बोनस शेयर घोषणा गरिसकेको छ । कामनाले १५ प्रतिशत हकप्रद जारी गरिरहेको भए पनि ६ प्रतिशत नपुग हुनेछ । लुम्बिनीले १० प्रतिशत हकप्रद जारी गरे पनि अझ १४ प्रतिशत पूँजी पुग्ने छैन । गण्डकी बैङ्कलाई पनि हकप्रदपछि ९ प्रतिशत पूँजी कम हुनेछ । देव नपुग पूँजीका लागि ४० प्रतिशत हकप्रद जारी गर्ने अन्तिम तयारीमा छ । झण्डै ४ महिनाअघि १७ प्रतिशत बोनस शेयर साधारण सभामा लैजाने प्रस्तावसहित बुक क्लोज गरेको देवले अहिलेसम्म साधारण सभा गरेको छैन । १० जिल्ला कार्यक्षेत्र भएको शाइनले हकप्रद विना तोकिएको पूँजी पुर्‍याइसकेको छ ।
निक्षेप र लगानी
महालक्ष्मी र ज्योति क्रमशः २५ र १३ अर्ब निक्षेपसहित पहिलो र अन्तिम स्थानमा रहेका छन् । महालक्ष्मीपछि २१ अर्ब निक्षेपसहित मुक्तिनाथ दोस्रो र करिब २० अर्बसहित गण्डकी तेस्रो स्थानमा रहेको छ । लुम्बिनी र कैलाशसँग १९ अर्ब, ओम र गरिमासँग १७ अर्ब, साङ्ग्रिलासँग १४ अर्ब तथा कामना, देव र ज्योतिसँग १३ अर्ब निक्षेप रहेको छ । १० जिल्ले शाइनले झण्डै १२ अर्बको निक्षेप लिएर राष्ट्रियस्तरका विकास बैङ्कसामु चुनौती खडा गरेको छ । शाइनसहित औसत १७ अर्ब निक्षेप रहेको देखिन्छ ।

गरिमा, ओम, लुम्बिनी, कैलाश, गण्डकी, मुक्तिनाथ र महालक्ष्मीले १५ देखि २० अर्ब लगानी गरेका छन् । कामना, ज्योति र साङ्ग्रिलाले १२ देखि १३ अर्बबीच लगानी गरेका छन् । लगानीका हिसाबले देव अलि पछि परेको छ । शाइनले पनि १० अर्बभन्दा बढी लगानी गरेको छ । शाइनसहित औसत १५ अर्ब लगानी रहेको छ ।

सूचकहरूको स्थिति

राष्ट्रियस्तरका ११ ओटा बैङ्कमध्ये महालक्ष्मीले हकप्रदको सहारा लिएन भने कैलाश, गण्डकी, लुम्बिनी र ओमले न्यून (१० देखि ३० प्रतिशत) हकप्रदको सहारा लिए । मुक्तिनाथ, ज्योति, गरिमा, कामना (गाभिएको सेवासहित), देव र साङ्ग्रिलाले अधिक हकप्रदको सहारा लिए । हाल कायम रहेको पूँजीको अनुपातमा निक्षेप सामान्य देखिए पनि आगामी त्रयमासबाट भने विकास बैङ्कलाई पनि निक्षेप कम हुने देखिएको छ । बढ्दो पूँजी र अपर्याप्त निक्षेपका कारण लगानीमा कमी आउँदा प्रतिफल पहिलेकै जस्तो खोज्ने शेयरधनीको प्रवृत्तिलाई व्यवस्थापनले कसरी सँगसँगै लैजान सक्छन् भन्ने चुनौतीको पहाड तेर्सिएको छ । निक्षेप महँगिँदै गएकाले थप निक्षेप लिन ब्याजदर बाधक बन्न सक्ने सम्भावना त्यत्तिकै रहेको छ । केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कबाहेकलाई ब्याजदर अन्तरमा अङ्कुश नलगाएको हुँदा वाणिज्य बैङ्कभन्दा बढी स्प्रेड लिइरहेका विकास बैङ्क पनि अङ्कुशमा परेको खण्डमा भने परिस्थिति दयनीय बन्न सक्छ । तर अहिले नै ५ प्रतिशतभन्दा कम स्प्रेड लिइरहेकालाई भने त्यति गाह्रो नपर्ला ।

१० जिल्ले शाइनले ७ दशमलव ९ प्रतिशतमा निक्षेप लिएको छ भने राष्ट्रियस्तरको साङ्ग्रिलाले तिरेको ७ दशमलव ९८ प्रतिशत न्यून ब्याजदर हो । बाँकी सबैले ८ प्रतिशतभन्दा बढी तिरेका छन् । लुम्बिनीले सबैभन्दा बढी ८ दशमलव ७९ प्रतिशत तिरेको छ । राष्ट्रियस्तरको बैङ्कको मात्र औसत ८ दशमलव ३८ र शाइनसहित गणना गर्दा ८ दशमलव ३४ प्रतिशत लागत रहेको देखिन्छ ।

सबैभन्दा अधिक र न्यून आधार दर क्रमशः ओम र ज्योतिको रहेको छ । औसत आधार दर ११ दशमलव ८१ र शाइनसहित गणना गर्दा ११ दशमलव ७५ प्रतिशत रहेको देख्न सकिन्छ । १० जिल्ले शाइनको ११ दशमलव शून्य ५ प्रतिशत आधार दर रहेको छ ।

सबैभन्दा कम तथा बढी स्प्रेड दर लुम्बिनी र मुक्तिनाथको रहेको छ ।  लुम्बिनीसहित ओम र कैलाशको स्प्रेड ५ र अन्य सबैको ५ देखि ७ प्रतिशतसम्म रहेको छ । शाइनको भने ५ दशमलव ११ प्रतिशत रहेको छ । औसतमा ५ दशमलव ३८ रहेको छ । शाइनसहित ५ दशमलव ३६ हुन आउँछ ।

न्यून पूँजीकोष देवको रहेको छ भने कामनाको अधिक रहेको छ । देवले जारी गरिरहेको हकप्रद बाँडफाँडपछि पूँजीकोष बढ्नेछ । पूँजी पुगेकामध्ये महालक्ष्मीको पूँजीकोष तुलनात्मक रूपमा कम रहेको छ । १० जिल्ले शाइनको पूँजीकोष महालक्ष्मीभन्दा कम रहेको छ । हकप्रद बाँडफाँडपछि कामनाको पूँजीकोष अझ बढ्न जानेछ । शाइनबाहेक औसत १८ दशमलव ६६ र शाइनसहित औसतमा १८ दशमलव ३६ प्रतिशत पूँजीकोष रहेको छ ।

अन्तमा, स्प्रेड दरमा अङ्कुश नलागेको विद्यमान अवस्थामा विकास बैङ्कले केही नाफा आर्जन गर्नसक्ने परिस्थिति बनेको भए पनि केन्द्रीय बैङ्कले यसमा पनि वाणिज्य बैङ्कसरहको नीति अवलम्बन गरेको खण्डमा बढेको पूँजीअनुरूपको प्रतिफल दिन पर्याप्त निक्षेप र लगानीबिना सम्भव नहुने हुनाले गुणात्मक प्रतिफलका लागि विकास बैङ्कहरू आफूआफूमा गाभिने वा अरू वाणिज्य बैङ्कसँग गाभिनुको विकल्प देखिन्न ।

www.abhiyan.com.np/2018/02/26/183291

फाइनान्स कम्पनीको अर्धवार्षिक समीक्षा

आर्थिक वर्ष (आव) २०७२/७३ सालको मौद्रिक नीतिले वित्त कम्पनी (फाइनान्स) लाई पनि ४ गुणा पूँजी वृद्धि गर्नुपर्ने निर्देशन दियो । पूँजी पुगेको नारायणी नेशनल र नजिक पुगेको सगरमाथा क्रमशः सनराइज र सेञ्चुरी बैङ्कमा विलय भए । सुदूरपश्चिमको सेती सेञ्चुरीमै विलय भयो । पहिले तोकिएको पूँजी नपुर्‍याएको युनियन देवमा विलय भयो । दाङको नमस्ते सोही ठाउँको वेस्टर्न बैङ्कसँग गाभिने प्रक्रियामा रहेको छ । महालक्ष्मी अन्य फाइनान्स गाभ्दै विकास बैङ्कमा उक्लिएर यती बैङ्कसँग गाभिँदै राष्ट्रियस्तरको विकास बैङ्क बनेको छ । लुम्बिनी भिवोर सोसाइटीसँग गाभिएर लुम्बिनी विकास बैङ्क बनेको छ । अरुण, सिटी एक्सप्रेस (साविक कुवेर), ललितपुर र बेष्ट (साविक जनरल) समस्याग्रस्तबाट मुक्त भएका छन् भने नेपाल, वल्र्डमर्चेण्ट, नेपाल शेयर मार्केट र क्यापिटल मर्चेण्ट अझैसम्म पनि समस्याग्रस्तकै कोटिमा छन् । सिनर्जी बेष्टमा विलय हुन लागेको छ । गाभिन/विलय हुन लागेका र क्षेत्रीयस्तरका समेत गरी २५ ओटा फाइनान्स रहेका छन् ।

अवधि थप
 
पुस मसान्तसम्म पाँचओटा फाइनान्सले पूँजी पुर्‍याएका छन् भने बाँकी रहेका २० ओटामध्ये समस्याग्रस्त र समस्याग्रस्तबाट उत्रिएकाले थप समय पाएका छन् । मञ्जुश्रीले ५ प्रतिशत हकप्रद पश्चात् नपुग हुने पूँजीका लागि बोनस जारी गर्नुपर्ने हुन्छ । पोखरा फाइनान्सले पनि जारी गरिरहेको १५ प्रतिशत हकप्रद पश्चात् ७ प्रतिशत नपुग हुन्छ । जेविल्सले पनि ४० प्रतिशत हकप्रद पश्चात् बोनस जारी गर्ने भएको छ । रिलायन्सले जारी गरिरहेको हकप्रद पश्चात् पनि पूँजी पुग्ने छैन । सेण्ट्रलले जारी गरिरहेको ५० प्रतिशत हकप्रद पश्चात् पनि करीब २ करोड अपुग हुन्छ । श्री इन्भेष्टमेण्टले जारी गरिरहेको ८३ प्रतिशत हकप्रद पश्चात् २७ प्रतिशत पूँजी नपुग हुने देखिएको छ ।

समस्याग्रस्तबाट मुक्त भएका अरुण, बेष्ट, सिटी एक्सप्रेस, ललितपुर तथा समस्याग्रस्तकै रूपमा रहेका वर्ल्ड मर्चेण्ट, क्यापिटल मर्चेण्ट, नेपाल शेयर मार्केट र नेपाल फाइनान्सलाई अर्को २ वर्ष अवधि थप गरिएको छ । क्षेत्रीयस्तरका सृजना, जानकी र मल्टीपर्पसलाई पनि थप अवधि दिइएको छ ।


निक्षेप र लगानी

आईसीएफसी र जेविल्स क्रमशः ७ अर्ब ५७ करोड र १ अर्ब १० करोडसहित पहिलो र अन्तिम लहरमा परेका छन् । त्यसपछि क्रमशः युनाइटेड, मञ्जुश्री, गुडविल, गोर्खाज, पोखरा, श्री, सेण्ट्रल र गुह्येश्वरी १० स्थानभित्र परेका छन् । क्षेत्रीयस्तरको भएर पनि सृजनाले ३ अर्ब ८० करोड हाराहारीमा निक्षेप लिएर राष्ट्रियस्तरलाई चुनौती दिएको छ । समस्याग्रस्तबाट मुक्त भएका फाइनान्सको अहिल्यै निक्षेप खोज्नु उचित हुन्न । जेविल्सको जत्तिकै निक्षेप भएको सिनर्जी बेष्टमा विलयको अन्तिम चरणमा पुगेको छ । समस्याग्रस्त, समस्याग्रस्तबाट मुक्त तथा गाभिन/विलय हुन लागेका बाहेक राष्ट्रिय र क्षेत्रीयस्तरका १४ ओटा फाइनान्ससँग ४० अर्बभन्दा बढी र औसत २ अर्ब ८९ करोड निक्षेप रहेको छ । राष्ट्रियस्तरको रिलायन्स फाइनान्सको अर्धवार्षिक वित्तीय प्रतिवेदन अप्राप्य रहेकाले यसलाई गणना गरिएको छैन ।

गोर्खाज्, गुडविल, मञ्जुश्री, युनाइटेड र आईसीएफसीले ४ देखि ६ अर्बसम्म लगानी गरेका छन् भने पोखरा, श्री, सेण्ट्रल र गुह्येश्वरीले ३ अर्बसम्म लगानी गरेका छन् । क्षेत्रीयस्तरको सृजनाले २ अर्ब ८९ करोड लगानी गरेको छ । राष्ट्रिय र क्षेत्रीयस्तरका १४ ओटा फाइनान्सले ३४ अर्बभन्दा बढी र औसत २ अर्ब ४८ करोड लगानी गरेका छन् ।

सूचकहरूको स्थिति
पोखरा फाइनान्सले ८ दशमलव ५ प्रतिशतमा पाएको निक्षेप सबैभन्दा सस्तो र मल्टीपर्पसको ११ दशमलव १५ प्रतिशत महँगो दर हो । राजधानी केन्द्रित रहेका फाइनान्समा गोर्खाजले ८ दशमलव ८८ प्रतिशतमा पाएको निक्षेप तुलनात्मकरूपमा न्यून हो । आईसीएफसीले ९ प्रतिशत हाराहारीमा पाएको छ । ९ प्रतिशतभन्दा बढी लागत तिर्ने ६ ओटा र १० देखि ११ प्रतिशत तिर्ने चारओटा रहेका छन् । सबै तहका फाइनान्सको लागत औसत ९ दशमलव ५५ प्रतिशत रहेको देखिन्छ ।

फाइनान्सहरूको सामान्य अवस्थामा पनि ब्याजदर बढी हुने भएकाले लगानी दर अलि बढी हुनुलाई सामान्य नै मान्नुपर्ने हुन्छ । अहिले निक्षेपको लागत बढेको अवस्थामा पनि फाइनान्सले लिएका कर्जाको ब्याजदर हेर्दा आत्तिहाल्नुपर्ने अवस्था देखिएको छैन । न्यून आधार दर पोखरा फाइनान्सको छ भने अधिक प्रोग्रेसिभको देखिएको छ । मल्टीपर्पसले आधार दर खुलाएको छैन । १३ ओटाको औसत १२ दशमलव ६४ प्रतिशत रहेको देख्न सकिन्छ ।

मञ्जुश्रीले सबैभन्दा न्यून ३ दशमलव ६५ प्रतिशत स्प्रेडमा लगानी गरेको छ । गुडविलसहित सातओटाले ४ देखि ५ प्रतिशत र गोर्खाजले ५ दशमलव १ प्रतिशत लिएको अन्तर नै सबैभन्दा अधिक हो । आईसीएफसीसहित पाँचओटाले स्प्रेड उल्लेख गरेका छैनन् । स्प्रेड उल्लेख गरेका नौओटा फाइनान्सको औसत स्प्रेड दर ४ दशमलव ५ प्रतिशत रहेको छ ।

पूँजी वृद्धि भएकाले पूँजीकोष सामान्यभन्दा बढ्नु स्वाभाविक हो । भर्खर–भर्खर पूँजी प्राप्त भएकाले लगानी हुन नसकेको हुँदा यस्तो कोष बढेको देखिएको छ । १४ दशमलव २३ प्रतिशत पूँजीकोष कायम गरेर आईसीएफसी तुलनात्मक रूपमा न्यून र जेविल्स ४५ दशमलव ४३ प्रतिशतसहित अधिक देखिएको छ । औसत २४ दशमलव २४ प्रतिशत पूँजीकोष रहेको छ ।

अन्तमा, बेलाबेलामा फाइनान्स मास्नुपर्छ भन्ने आवाज उठ्ने गर्छ । यसो भन्नेले सानास्तरका वित्तीय संस्थाको महत्त्वलाई कमजोर ठानेका हुन् । लघुवित्तले दिने कर्जा पर्याप्त नहुने र ठूला बैङ्कमा जान पनि नसक्ने वर्गका लागि वित्तीय स्रोत परिचालन गरिरहेका फाइनान्सलाई मास्ने हैन अझ बढी प्रवद्र्धन गरिनुपर्छ । कुनै बेला सहकारीलाई ‘फाइनान्स’ लेख्न छूट दिँदा तिनले अर्बौं रकम अपचलन गरी बेपत्ता हुँदा ‘धान खाने मुसो….भ्यागुतो’को स्थितिमा फाइनान्स पुगेका छन् । केन्द्रीय बैङ्कले फाइनान्स (वित्तीय संस्था) भनेर वर्गीकरण गरे पनि कार्य भने ‘युनिभर्सल बैङ्किङ’को गरिरहेकाले ‘ख’ वर्गका विकास बैङ्क भनिएजस्तै फाइनान्सलाई ‘ग’ वर्गको बैङ्क लेख्न पाउने गरी बैङ्किङ कानूनमा अविलम्ब संशोधन गर्नु आवश्यक रहेको छ ।

http://www.abhiyan.com.np/2018/03/05/185177

साधारणसभा नगर्ने असाधारण कम्पनी

कम्पनीका सबै शेयरधनीको प्रत्यक्ष उपस्थिति वा प्रतिनिधित्वमा १ आर्थिक वर्षको व्यावसायिक उन्नति तथा प्रगतिबारे जानकारी गराउने र आर्जित मुनाफा लाभांशका रूपमा बाँड्ने प्रस्ताव स्वीकृत गराउने सर्वोच्च अङ्ग साधारणसभा हो । शेयरधनीमध्येबाट छानिएका कम्पनी सञ्चालकले लाभांशसम्बन्धी निर्णय गरी स्वीकृतिका लागि शेयरधनीहरूको वार्षिक भेला (साधारणसभा) मा पेश गर्ने गर्छन् । सूचीकृत वा असूचीकृत सबै कम्पनीले साधारणसभा गर्नुपर्छ । सूचीकृत कम्पनीमा आमव्यक्ति जो पनि सजिलै भित्रिन/बाहिरिन सक्ने भएकाले यस्ता कम्पनीको साधारणसभाप्रति अधिक चासो हुनु स्वाभाविक हो । सूचीकृत कम्पनीको साधारणसभा बेलैमा नहुनु सामान्य बनिरहेकोमा साधारणसभाकै लागि भनेर शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गरेको कम्पनीले लामो समयसम्म साधारणसभा नगर्नु र साधारणसभा कहिले हुन्छ भनेर जानकारीसमेत नदिनु गैरजिम्मेवारीपना र निर्लज्जता हो ।

सभासम्बन्धी कानून

पब्लिक कम्पनीले कारोबार शुरू गर्ने इजाजत पाएको १ वर्षभित्र प्रथम र त्यसपछि आर्थिक वर्ष पूरा भएको ६ महीना अर्थात पौष मसान्तभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । कम्पनीले वार्षिक साधारणसभा बाहेक आवश्यकता अनुसार विशेष साधारणसभा पनि गर्न सक्छन् । वार्षिक साधारणसभाका लागि कम्तीमा २१ दिन र विशेष साधारणसभाको लागि कम्तीमा १५ दिन अगावै सभा हुने स्थान, मिति, छलफल गर्ने विषय उल्लेख गरी शेयरधनीलाई सूचना पठाउनुपर्ने र त्यस्तो सूचना कम्तीमा २ पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था छ । पब्लिक कम्पनीको साधारणसभा कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिएको अवस्थामा बाहेक कम्पनीको रजिष्टर्ड कार्यालय रहेको जिल्ला वा सँगै जोडिएको अधिकांश शेयरधनीलाई पायक पर्ने स्थानमा गर्नुपर्छ ।

तोकिएको समयनाघेको ३ महीना अर्थात् चैत मसान्तभित्र पनि नबोलाएमा कम्पनी रजिष्ट्रार कार्यालय आफैले साधारणसभा बोलाउन निर्देशन दिनसक्ने व्यवस्था छ । निर्देशनपछि पनि साधारणसभा नबोलाएमा सो कुरा खुलाई कुनै शेयरधनीले अदालतमा निवेदन दिएमा अदालतले वार्षिक साधारणसभा गर्न वा अन्य उपयुक्त आदेश जारी गर्नसक्छ । अदालत भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको सहमति लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको वाणिज्य इजलाश सम्झनुपर्छ ।

सभाका विषय

साधारणसभामा लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान बाँडफाँट हिसाब, नगद प्रवाह विवरण, वासलात, नगद लाभांश वितरण प्रस्ताव, सञ्चालकको निर्वाचन वा मनोनयन, लेखापरीक्षक नियुक्ति, भावी कार्यक्रम एवम् विविधजस्ता विषय प्रस्तावका रूपमा पेश हुन्छन् । यसबाहेक साधारण वा विशेष साधारणसभामा अधिकृत पूँजी बढाउने वा शेयर पूँजी घटाउने वा हेरफेर गर्ने, नाम वा मुख्य उद्देश्य परिवर्तन गर्ने, अर्को कम्पनीमा गाभिने/विलय हुने वा अर्को कम्पनी गाभ्ने/विलय गराउने, बोनस शेयर जारी गर्ने, आफ्नो शेयर आफैले खरीद गर्नेजस्ता कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन हुने विषय विशेष प्रस्तावका रूपमा पेश हुन्छन् । बोनस शेयर जारी गर्ने विषय विशेष साधारणसभामा पेश हुन सक्दैन । यस्तो प्रस्ताव साधारणसभामा विशेष प्रस्तावका रूपमा मात्र पेश हुन्छ ।

जम्मा शेयर सङ्ख्याको कम्तीमा ५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले चाहेमा साधारणसभाको सूचना प्रकाशन हुनुअघि नै सञ्चालक समितिसमक्ष निवेदन दिई कुनै विषय वार्षिक साधारणसभामा छलफल र निर्णयका लागि पेश गर्न लगाउन सक्छन् ।

गतिविधि र निर्णय
सार्वजनिक मिति
कैफियत
२०७४ भाद्र ११ गते संचालक समिति बैठकद्वारा १७ दशमलव १ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९ प्रतिशत नगद लाभांश प्रस्ताव
२०७४ भाद्र १२
केन्द्रीय बैंकको स्वीकृति  र साधारणसभाबाट पारित पश्चात
२०७४ कार्तिक २३ गतेदेखि कार्तिक २९ गतेसम्म बुक क्लोज गर्ने सूचना सार्वजनिक

२०७४ कार्तिक १४
लाभांश वितरण प्रयोजन भनिएको, साधारणसभा हुने मिति नतोकिएको
बोनस शेयर पश्चात मूल्य समायोजन गरि रु. २ सय २ कायम
२०७४ कार्तिक २४
अन्तिम कारोबार मूल्य रु. २ सय ३६ रहेको
हकप्रद शेयर पश्चात मूल्य समायोजन गरि रु. १ सय ४९ कायम
२०७४ फागुन २०
अन्तिम कारोबार मूल्य रु. १ सय ६९ रहेको

बूक क्लोज भयो तर…

शेयरधनी दर्ता पुस्तिका (बूक क्लोज) गरेको कति समयभित्र साधारणसभा सम्पन्न गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छैन । तर, साधारणसभा सम्बन्धी सूचनामा सभा प्रयोजनका लागि बूक क्लोज हुने सूचना पनि प्रकाशन हुने प्रचलन रहेको छ । सामान्यतया बूक क्लोज भएको १५ दिनपछि साधारणसभा गर्ने प्रचलन छ । सबै कुरा कानूनमा लेखिँदैन, प्रचलन पनि कानूनको स्रोत भएकाले कतिपय कानून प्रचलन र प्रथाको आधारमा बनेका छन् । देव विकास बैङ्कले बूक क्लोज गरेको हिसाबले मङ्सिर ७ गते साधारणसभा सम्पन्न गरी अहिलेसम्म बोनस शेयर सूचीकरण गराइसक्नुपर्ने थियो । तर, ४ महीना बितिसक्दा पनि साधारणसभा कहिले हुने हो अत्तोपत्तो छैन । घटनाक्रमहरू तालिकामा उल्लेख गरिएको छ ।

निर्लज्ज साक्षीहरू

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९०(१) (क) मा ‘धितोपत्र सार्वजनिक निष्कासन गरेका कम्पनीले प्रचलित कानून बमोजिम बोलाउनुपर्ने साधारणसभा निर्धारित समयमा नबोलाएमा त्यस्तो कम्पनीलाई साधारणसभा बोलाउन आदेश दिने’ र दफा ९०(१)(ट) मा ‘धितोपत्र दर्ता गराएका कम्पनीले समयमै लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो कम्पनीको हिसाब–किताब नगदी, जिन्सी सम्पत्तिसमेतको जाँचबुझ गर्न लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने’ विशेष अधिकार धितोपत्र बोर्डलाई रहेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ नियम २६(५) मा धितोपत्र सूचीकरण गराएका कम्पनीले धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना ३ दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीको नियम २६(५) सँग सम्बन्धित अनुसूची १६ बुँदा २३ नं.मा ‘आर्थिक वर्ष समाप्त भएको ६ महीना भइसक्दा पनि वार्षिक साधारणसभा नभएमा साधारणसभा गर्न नसकेको परिस्थितिका बारेमा जानकारी’ गराउनुपर्ने व्यवस्था रहेको छ । अनुसूचीमा मूल्य संवेदनशील भनी २५ ओटा घटना र परिस्थिति सूचीकृत गरिएको छ ।

तोकिएको समयमा साधारणसभा नगर्ने कम्पनीलाई साधारणसभा गर्न आदेश दिने र लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने विशेषाधिकार भएको बोर्डले साधारणसभाको लागि बूक क्लोज गरेको ४ महीना बितिसक्दा पनि साधारणसभा किन नगरेको भनी सोधनीसम्म नगरेर निर्लज्जताका साथ साक्षी किनारामा सहीछाप गरेर अग्रपङ्क्तिमा देखिएको छ । यति र उति लाख लगानीकर्ता भन्दै बुरुक्क उफ्रने लगानीकर्ताका सङ्गठनहरू पनि ‘दूधको साक्षी बिरालो’ बनेर निर्लज्ज भएका छन् । २०७४ असार महीनामा कर प्रशासनले शेयर कारोबारमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयविरुद्ध दलालले विरोधस्वरूप १ दिन शेयर कारोबार बन्द गर्दा दलालले सम्पत्ति बन्धक बनायो भन्दै अरण्यरोदनमा उत्रेका लगानीकर्ता देवले ४ महीनाभन्दा बढी समय सम्पत्ति बन्धक बनाउँदा एक शब्द नबोलेर ‘नाकैमुनिको दुर्गन्धलाई सुगन्ध’ देख्नु खेदजनक कार्य हो । बोनस शेयर जारी गर्ने गरी बूक क्लोज भएकाले मूल्य समायोजन भइसकेको छ । हालै बैङ्कले ४० प्रतिशत हकप्रद जारी गर्न बूक क्लोज गरेकोले पुनः मूल्य समायोजन भएको छ । यसरी पटक-पटक मूल्य समायोजन हुँदा घट्दो बजारमा लगानीकर्ताको ५० प्रतिशतभन्दा बढी (बूक क्लोज हुँदाको मूल्य अनुसार) सम्पत्ति बन्धक बनाउने देवलाई उन्मुक्ति दिने बोर्डलगायत लगानीकर्ताका सङ्गठनले लगानीकर्ता हित संरक्षण गरेका छौं भन्नु निर्लज्जता हो । वस्त्रले लाज ढाके पनि व्यवहार निर्लज्ज हुनु गोरु जत्तिकै नाङ्गो हो ।

अन्त्यमा, बूक क्लोज गरेको ४ महीनासम्म साधारणसभा नगरेर सम्पत्ति बन्धक बनाउँदा संविधानले प्रत्याभूत गरेको नागरिकको ‘साम्पत्तिक हक’ सुरक्षित रह्यो कि रहेन बोर्डले उचित जवाफ दिएर क्षतिपूर्ति भराइदिन्छ ?

अभियान दैनिकमा प्रकाशित
http://www.abhiyan.com.np/2018/03/26/190796

तामाकोशी शेयर विवाद

मुद्दा र अन्य विवादका कारण तामाकोशी आयोजनाले २०७१ साल फागुन महीनामा स्थानीयतर्फको शेयर जारी गर्न नसकेका कारण सर्वसाधारणतर्फको समेत अड्केर बसेको छ । स्थानीयलाई छुट्ट्याइएको शेयर जारी गर्ने प्रयास अनेकौं विवाद सृजना हुँदा पूरा हुनसकेको छैन । आयोजनाले जारी पूँजी १० अर्ब ५९ करोड रुपैयाँको २४ प्रतिशतले हुने २ करोड ५४ लाख १६ हजार कित्तामार्फत रू.२ अर्ब ५४ करोड १६ लाखबराबरको रकम शेयरमार्फत परिचालन गरिसकेको छ । स्थानीय र सर्वसाधारणतर्फको क्रमशः १० र १५ प्रतिशत शेयर जारी गर्न बाँकी रहेको छ ।

फितलो विक्री प्रबन्धकत्व
तामाकोशी शेयर विवादको सूत्रधार धितोपत्र बोर्ड र विक्री प्रबन्धक नागरिक लगानी कोष हुन् भन्दा अत्युक्ति हुन्न । २०७१ पुस महीनामा बोर्डले स्वीकृत गरेको विवरणपत्रमा उल्लिखित प्रावधानहरू एकआपसमा बाझिएका थिए । शेयर विक्रीप्रक्रियामा महŒवपूर्ण भूमिका हुने प्रबन्धकको प्रस्तुति अत्यन्त फितलो देखिएकाले कोषले विक्रीप्रबन्धकत्व छाडिदिएर बाटो खुला गरिदिनुपर्छ । बोर्डले तामाकोशीलाई पेवा बनाउनु खोज्ने राजनीति दलको घोषणापत्रलाई काँधमा लिएर हिँड्न छाडेर धितोपत्र कानून र संयुक्त पूँजी कम्पनीको मूलमर्म र भावनालाई आत्मसात गर्नुपर्छ । पूँजीबजारको नियामक र शेयर विक्रीसम्बन्धी विषयको अन्तिम निर्णायक बोर्डको ढुलमुले नीतिले समस्या सुल्झाउनेभन्दा बल्झाउने गरेको छ । राजनीतिक दल असम्भव लोकप्रिय विषय उठान गरेर राजनीतिक इष्ट पूरा गरिरहेका छन् भने बोर्ड आफै दलको सहयोगी बन्न खोजेझैं देखिएको छ ।

कित्ता र क्षेत्र
तामाकोशी शेयरमा कित्ता र प्रभावित क्षेत्र विवादको मूल विषय बन्ने गरेको छ । कति कित्ता आवेदन गर्न पाइने भन्ने विषय विवादमा पार्नुपर्ने आवश्यकता नै थिएन । धितोपत्र कानूनअनुसार जारी हुने शेयर सङ्ख्याको शून्य दशमलव ५ प्रतिशत कित्तासम्म आवेदन माग गर्न सकिन्छ । अधिकतम आवेदन कित्ता कति तोक्ने भन्ने विषय धितोपत्रको सङ्ख्या, सहभागिता हुनसक्ने स्थिति र माग हुनसक्ने कित्ता आदिका आधारमा तोक्न सकिन्छ । त्यस्तै न्यूनतम कित्ताको हकमा १० अङ्कले भाग जाने अधिकतम ५० कित्ता वा धितोपत्र बजार (स्टक एक्सचेञ्ज) ले तोकेको न्यूनतम कारोबार एकाइ (कित्ता) भन्दा घटी नहुने गरी तोक्न सकिन्छ । एक्सचेञ्जले न्यूनतम कारोबार एकाइ १० कित्ता तोकेकाले न्यूनतम १० कित्तासम्म पनि आवेदन माग्न पाइन्छ ।

कित्तापछि क्षेत्र विभाजन पनि विवादको अर्को विषय बन्ने गरेको छ । २०७१ सालमा लामाबगर र गौरीशङ्करलाई अतिप्रभावित र बाँकीलाई अन्यमा राखेर गरिएको विभाजन अदालतसम्म पुगेको थियो । अहिले लामाबगर र गौरीशङ्करलाई पहिलो, प्रवेशमार्ग तथा प्रसारण लाइन जाने गाउँ र नगरलाई दोस्रो र बाँकीलाई तेस्रो तहमा राख्ने प्रयास भइरहेको छ । वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा प्रशासनिक सुगमताको आधारमा आयोजना प्रभावित भनी उल्लिखित लामाबगर, गौरीशङ्कर, खारे, ओराङ, बुलुङ, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पा क्षमावती, भीमेश्वर नगरपालिका, नाम्दु, गैरीमुदी, भीरकोट, जफे, मालु र शहरेलाई पहिलो र अन्यलाई दोस्रो श्रेणीमा राख्नु उचित हुनसक्छ । पहिलो र दोस्रो श्रेणीमा परेकालाई जारी हुने धितोपत्रको क्रमशः ४० र ६० प्रतिशत छुट्ट्याउन सकिन्छ । चिलिमेले पनि ४ र १४ ओटा गाउँलाई क्रमशः पहिलो र दोस्रो श्रेणीमा राखेको दृष्टान्त छ । पहिलो श्रेणीमा सूचीकृत समूहले पूर्णरूपमा लिन नसकी बाँकी रहेमा दोस्रो श्रेणीलाई दिने र दोस्रो श्रेणीले पनि लिन नसकेमा सर्वसाधारणतर्फ जान्छ । अन्य आयोजनाले यस्तो विधि अपनाइरहेका छन् ।

अनावश्यक विवादहरू
आयोजना प्रभावित स्थानीय (जिल्ला) वासीलाई जारी पूँजीको बढीमा १० प्रतिशत शेयर छुट्ट्याउनुपर्ने कानूनी व्यवस्था रहकाले विधिसम्मत तरीकाले आवेदन माग गरी बाँडफाँट गरिने भएकाले जसलाई दिने भनिएको हो उसैले पाउने सुनिश्चिततामा आशङ्का गर्नुपर्ने अवस्था छैन । मूल सैद्धान्तिक पक्षमा छलफल गर्नुको सट्टा (१) कम्पनी जमानी बसी ऋण वा अनुदान दिलाइदिनुपर्ने/दिनुपर्ने, (२) ५० अर्बभन्दा बढीको लागत भए पनि १० अर्ब ५९ करोडको १० प्रतिशतमात्र दिएर बाँकी अरूलाई पोषेको, (३०) फलालो ठाउँमा मोटरबाटो पु¥याउनुपर्ने, (४) ठेकेदार कम्पनीका कर्मचारीलाई पनि शेयर दिनुपर्ने, (५) वडावडामा सङ्कलन केन्द्र राख्नुपर्ने, (६) सबैलाई बराबर दिनुपर्ने, (७) सर्वसाधारणको १५ प्रतिशत घटाउनुपर्नेजस्ता नितान्त मनोगत चिन्तनयुक्त अनावश्यक विवाद निकाल्नुको कुनै औचित्य छैन । १ र २ नं. मा वर्णित विषयमा विवाद निकाल्नु जति मूर्खता अरू केही हुनसक्दैन । त्यस्तै मोटरबाटो पुर्‍याउने जिम्मा कम्पनीको हुँदैन । सङ्कलन केन्द्र राख्ने विषयमा भने विक्री प्रबन्धक र विवाद उठाउनेले पूर्ण जिम्मेवारी लिनसक्छ भने राख्न सकिन्छ तर सम्भव छैन । त्यस्तै सबैलाई बराबर दिने भन्ने पनि सम्भव नहुने कुरा हो ।

बाँडफाँटको सन्दर्भ
बाँडफाँट कसरी हुन्छ त्यसबारेमा सङ्क्षिप्त चर्चा गर्नु श्रेयस्कर हुन्छ । जति कित्ता आवेदन दिन पाउने व्यवस्था भए पनि सबैले पाउने गरी बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक सङ्ख्या, उपलब्ध धितोपत्र र माग भएको रकमको आधारमा बाँडफाँट विधि तय हुन्छ । आवेदनबाट माग गरिएको रकम र चाहिएको रकमबराबर भएमा वा कम भएमा सबैलाई मागे जति दिनसकिन्छ । तर, माग गरिएकोभन्दा बढी रकमको आवेदन परेमा सामान्यतया समानुपातिक रूपमा बाँडफाँट गरिन्छ । मागभन्दा कम रकमको आवेदन आएमा बाँकी रहेको शेयर स्वतः सर्वसाधारण समूहमा जान्छ । उदाहरणका लागि दोलखाकै सिप्रिङ आयोजनाले ५ हजार कित्तासम्म आवेदन गर्न दिए पनि बाँडफाँट गर्दा १ हजार ९ सय २१ कित्ता दिएको र लमजुङको राधीमा स्थानीयले मागभन्दा कम रकमको आवेदन गरेकाले बाँकी रहेको शेयर सर्वसाधारणलाई विक्री गरिसकिएको छ । सैद्धान्तिक रूपमा जीवित सबैले आवेदन गर्छन् भन्ने अनुमान गर्न सकिन्छ । तर, व्यावहारिक रूपमा सबैले आवेदन गर्छन् भनेर अनुमान गर्न नसकिने हुँदा अधिकतम कित्ता बढी राख्दैमा अरूको भाग खोसिन्छ भन्ने मनोगत चिन्तन गर्नुको औचित्य छैन । शेयर लगानी एउटा अवसर मात्र हो, अनिवार्य होइन ।

वीर र बुद्धु

राजनीतिक दलका नेताले दोलखाका साविक ५१ गाउँ र १ नगरपालिका बासिन्दालाई तामाकोशी आयोजना आफूले ल्याएको डम्फु बजाएर यसमा लगानी गर्नसाथ कामै नगरी आजीवन उपरखुट्टी लगाएर सुतेर खान पुग्ने ‘समृद्धि’ आउनेजस्ता अत्यन्त मनोगत र झूटा कुराको आश्वासन दिएर आफ्नो राजनीतिको दुनो सोझ्याए । यो प्रवृत्ति हेर्दा कवि भूपि शेरचनले ‘हामी वीर छौं त्यसैले बुद्धु छौं, हामी बुद्धु छौं त्यसैले वीर छौं’ त्यसै भनेका होइनन् भन्ने प्रमाणित भएको छ । शेयर लगानी एउटा अवसर मात्र भएकाले अथाह समृद्धि आउने कुरा सर्वस्वीकार्य हुन्न । लगानी भन्नेबित्तिकै त्यसमा अन्तर्निहित जोखीम पनि हुने भएकाले निरपेक्षरूपमा नाफा वा प्रतिफलको सुनिश्चितता गर्न सकिन्न । लगानीमा सापेक्षित प्रतिफल वा नाफा र जोखीम तत्त्व दुवै अन्तर्निहित हुन्छ । तोकिएका कागजातसहित अधिकतम र न्यूनतमको सीमामा रहेर निर्दिष्ट गरिएको सङ्कलन केन्द्रमार्फत आवेदन गर्ने जिम्मा इच्छुकको हो । रीत पुर्याएर आवेदन गर्ने अवसरबाट कसैलाई पनि वञ्चित गरिनु हुन्न । तर, घरघरमा गएर ऋण वा अनुदान दिएर आवेदन लिइदिनुपर्छ भन्ने बालहठ दलका नेता, कार्यकर्ता र स्वयम् जिल्लावासीले छोड्नुपर्छ ।

अन्त्यमा, अधिकतम र न्यूनतमको विवादलाई छाडेर प्रशासनिक सुगमताको सिद्धान्तलाई आत्मसात नगरेमा लमजुङको राधीमा देखिएको स्थिति नदोहोरिएला भन्न सकिन्न । यसकारण बेलैमा सचेत भएर निर्णय गर्न आवश्यक छ ।

२०७४ चैत्र १९ गते अभियान दैनिकमा प्रकाशित

http://www.abhiyan.com.np/2018/04/02/192814

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...