Saturday, August 26, 2017

वित्तीय सेवाका क्षेत्र र भ्याटमुक्त शेयरबजार



शेयर कारोबारमा भ्याट लगाउने कि नलगाउने भन्ने विषयमा बहस शुरु भएको छ | लगानीकर्ताको एउटा संघले लगाउनुपर्छ र अर्कोले लगाउनु हुन्न भनेर वक्तव्य जारी गरेका छन् | नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले पनि लगाउनु हुन्न भन्दै वक्तव्य जारी गरे | धितोपत्र बजारलाई नजिकबाट नियालिरहेका लगानीकर्ता, अधिवक्ता, चार्टड एकाउन्टेन्ट, पूर्व अर्थमन्त्री, सम्वद्ध निकायका पूर्व अधिकारीहरु तथा करका जानकारहरुले पनि लगाउन हुन्न र मिल्दैन भन्ने विचार व्यक्त गरेका छन् |   

हस्तान्तरणमा लाग्ने दस्तुर

शेयर हस्तान्तरण गरिदिए वापत दलालले धितोपत्र वोर्डले तोकिदिएको शुल्क लिन्छन | शुल्क कारोबार रकममा आधारित छ | कारोबार रकम बढ्दै जाँदा घट्ने र घट्दै जाँदा बढ्ने गरि कमिसन तोकिएको छ | न्यूनतम ०.४ देखि अधिकतम ०.६ प्रतिशतसम्म तोकिएको छ र कमिसन रकम रु. २५ भन्दा कम नहुने व्यवस्था गरिएको छ | दलालले लिएको कमिसन मध्येबाट २० प्रतिशत स्टक एक्सचेन्जलाई, बाँकी रहेकोबाट अग्रिम कर कट्टी वापत १५ प्रतिशत सरकारलाई बुझाउने गरेका छन् | ०.६ प्रतिशत वोर्डलाई तिर्ने गरेका छन् | ग्राहकले कमिसनका अतिरिक्त वोर्डलाई कारोबार रकमको ०.०१५ प्रतिशत छुट्टै तिर्नुपर्छ | त्यस्तै डिपी शुल्क र पूँजीगत लाभ भएमा लाभकर समेत बुझाउनुपर्छ | पूँजीगत लाभकर गणनाको लागि स्टक एक्सचेन्जले हकप्रद र बोनसको लागि आधार मूल्य तोकिदिने गर्छ भने प्राथमिक शेयरको लागि परल मूल्यलाइ आधार मानिन्छ | दोस्रो बजारबाट किनिएको शेयरको हकमा खरिद र बिक्री मुल्यको अन्तर अनुसार पूँजीगत लाभकर निर्धारण गरिन्छ |  

विवादको प्रस्थान विन्दु

महालेखा परीक्षकले मूल्य अभिवृद्धि कर नियमावली अनुसार रु. २० लाख भन्दा बढीको वस्तु वा सेवाको कारोबार गर्दा मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता हुनुपर्ने उल्लेख गरेको र मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूचीमा उल्लेखित कर छूट हुने वस्तु वा सेवाको सूचीमा धितोपत्र दलाली सेवालाई मुअक छूट नदिएकोले असुल गर्नुपर्ने भन्दै प्रतिवेदन दिएपछि विवाद सतहमा आएको हो |

विवाद समाधानको पहल

विवाद उठेपछि समाधान गर्न पहल गर्ने क्रममा ‘धितोपत्र दलाल संघ’ ले धितोपत्र वोर्डलाई अनुरोध गरेपछि वोर्डले तालुकदार मन्त्रालयलाई ‘धितोपत्र दलाली’ ‘वित्तीय सेवा’ मा पर्ने र वित्तीय सेवा प्रदायकले मुअकमा दर्ता भई र मुअक तिर्नु नपर्ने भएकोले अनुसूचीमा समावेश गरिदिन पहल गरेको देखिन्छ |

वित्तीय सेवाको क्षेत्र

वित्तीय सेवाका क्षेत्र कुन कुन हुन भन्ने विषयमा प्रष्ट पार्ने विशेष कानुन नभएकोले निक्षेप लिएर कर्जा प्रवाह गर्ने बैंक (विकास बैंक, वित्त कम्पनी र लघुवित्त समेत) मात्र वित्तीय संस्था हो भन्ने सामान्य बुझाई रहेको छ | यस्तो बुझाई वा सोचाई राख्नु अत्यन्त संकुचित हुन्छ | मुअक ऐनको दफा ४३ ले यस ऐन र ऐन अन्तर्गत बनेका नियममा लेखिए जतिमा सोहि बमोजिम र अरुमा प्रचलित कानुन बमोजिम हुने व्यवस्था गरेको छ | अन्य प्रचलित कानुन अध्ययन गर्दा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २()()() मा हस्तान्तरणयोग्य धितोपत्र’ भनिएको छ | यसलाई दलाल सेवा भनेर बुझ्नुपर्ने हुन्छ | त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४ को दफा २() मा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको रुपमा ‘धितोपत्र दलाललाई पनि अनुमति पाउन सक्ने संस्थाको रुपमा सूचीकृत गरिएको छ |

नीतिगत दस्तावेजको रुपमा मन्त्रिपरिषदबाट २०७३ सालमा स्वीकृत ‘वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४-२०७७/७८’ ले वित्तीय प्रणालीको संरचनामा दलाललाई समावेश गरेको छ |

मूल्य अभिवृद्धि कर निर्देशिका २०६९ मा वित्तीय सेवा आपूर्ति अन्तर्गत ‘शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निष्काशन वा व्यबस्थापन वा खरीद बिक्रीसंग सम्बन्धित जस्ता सेवालाई वित्तीय सेवा भनिन्छ । मूल्य अभिवृद्धि कर ऐनमा यस्तो वित्तीय सेवामा कर छुट हुने व्यवस्था रहेको छ भनिएको छ |

उल्लेखित कानुनी तथा नीतिगत व्यवस्थाले दलाल वित्तीय संस्था हुन भन्ने पुष्टि गरेको छ | अन्तर्राष्ट्रियरुपमा पनि दलाली सेवालाई वित्तीय संस्था मानिएको छ | वित्तीय सेवा भित्र आर्थिक विषयवस्तु जोडिएर आउने सबै विषय समावेश हुन्छ | बैंक, मर्चेन्ट बैंक, बिमा, धितोपत्र दलाल, विप्रेषण, मुद्रा विनिमय, क्रेडिट युनियन, क्रेडिट कार्ड कम्पनी, लेखा व्यवसायी कम्पनी पनि वित्तीय सेवाको परिभाषा भित्र पर्छन् |

मुअकमुक्त हुनुपर्ने आधार

व्यवहारमा शेयर ‘किन्ने र बेच्ने’ भनिए पनि कानुनत भोगको हस्तान्तरण हो | कम्पनीको विभाजित पूँजीको इकाई वा अंशलाइ शेयर र यसलाई धारण वा भोग गर्ने व्यक्ति (प्राकृतिक वा कानूनी) लाई शेयरधनी भनिन्छ | शेयरधनीले आफ्नो आवश्यकता अनुसार इकाई वा अंश पुरै वा केहि अर्को व्यक्तिलाई हस्तान्तरण गर्छन | यसैलाई व्यवहारमा शेयर किन्ने र बेच्ने भनिन्छ | यसरी हस्तान्तरण गर्नको लागि कुनै संस्थालाइ माध्यम बनाउनपर्छ | यस्ता माध्यमकोरुपमा कार्य गर्ने संस्थालाई दलाल भन्ने गरिन्छ | दलालले हस्तान्तरणमा मात्र सहयोग पुर्याउने हो | भ्याट वस्तु र सेवाको अन्तिम उपभोग गर्नेले तिर्ने सैद्धान्तिक मान्यता रहेको छ | यस हिसाबले शेयरको अन्तिम उपभोक्ता भन्ने कोहि हुन्न | अनगिन्ती पटक हस्तान्तरण हुने भएकोले शेयर हस्तान्तरणमा भ्याट लगाईनु सर्वथा अनुचित छ र शेयर हस्तान्तरण भ्याटमुक्त हुनुपर्छ |

विवाद समाधानको उपाय
नआउनुपर्ने विवाद आइसकेपछि समाधान पनि खोजिनुपर्छ, विवाद (समस्या) भित्र समाधान पनि सँगै आउँछ | पूँजीबजारको अभिभावक र नियमक भएको यसको लागि पहल वोर्डले गर्नुपर्छ | वोर्डले लगानीकर्ताको विवाद स्टक र दलालसँग हो भनेर नजरअन्दाज गरेमा वोर्डकै विश्वसनीयतामा प्रश्न उठ्छ | पूर्ण अभौतिक कारोबार प्रणाली शुरु भईसकेकोले प्राथमिक, बोनस, हकप्रद र किनेको शेयर छुट्टयाउन कठिन हुने भएकोले एकीकृत कारोबार कर प्रणालीमा जान वोर्डले पहल गर्नुपर्छ यसो गर्दा कर गणना गर्न सजिलो र पारदर्शी हुन्छ | यस्तो करको दर साझेदारहरु बीच छलफल गरि निर्धारण गर्न सकिन्छ | एकीकृत कारोबार कर लगाउँदा लेखा प्रक्रिया सरल हुन्छ | कारोबार कर लागू गर्दा लगानीकर्ता र व्यापारीलाई फरकफरक दर तोक्न सकिन्छ | यसो गर्दा लामोसमयसम्म शेयर धारण गरिरहने अभ्यास बढ्दा बजारमा हुने तिब्र उतारचढावलाइ केही हदसम्म रोकेर स्थिरता कायम राख्न समेत मद्दत पुग्छ | लिएको कर रकम साझेदारहरुलाई के कति अंश भाग लगाउने भन्ने विषय नियमकको सिफारिशमा सरकारले तोकिदिनुपर्छ |



लाभांश कर विनाको लाभांश



लगानीबाट प्राप्त हुने प्रतिफलमा लाभकर तिर्नुपर्छ | स्रोतमा नै कट्टी गरेर दिने प्रचलन भएकोले सामान्यतया धेरै शेयरधनीलाई यसप्रकारको कर बारे जानकारी हुँदैन | लाभकर छूट हुने विशेष अवस्थामा बाहेक उन्मुक्ति पाइँदैन | यस्ता कर छूट हुने व्यवस्थाकोरुपमा बैंक गाभ्ने कार्यलाई प्रोत्साहन दिन दुई वर्षसम्म लाभाँशमा कर छूट दिने नीति छ | 

बढी लाभांश देखाउने मोह 

गाभिएर आएका बैंकहरुको हकमा कर लाग्ने र नलाग्ने विभाजन भएकोले कर वापत नगद लाभांश घोषणा गरेनन ठिकै मान्न सकिएला तर गाभिने कार्यबाट भागेर आएकाले पनि आफूलाई गाभिएको झैँ ठानेर लाभकर छुट्टयाएनन | स्वतन्त्र जगेडा कोषमा भएको बाँड्न मिल्ने सबै रकम सोहोरेर बोनस वितरण गर्दै लाभकर वापत रकम छुट्टयाउन समेत छाडेका छन् | यसो गर्नुको कारण लाभांश वितरण गर्ने उच्च क्षमता छ भन्ने देखाउनु हो | आर्थिक वर्ष शुरु भइसकेकोले गत आर्थिक वर्षको लाभांश घोषणामा पनि सम्भवत लाभकर वापत रकम व्यवस्था गर्ने छैनन् र बढी लाभांश दिएको देखाउने प्रयास गर्नेछन् | लाभांश वापत लाग्ने कर रकम नछुट्टयाउनु शेयरधनीप्रति महाअन्याय हो |

लाभांशको उपहास  

लाभांश बढी दिएको देखाउन लाभांशमा लाग्ने कर शेयरधनीलाई तिर्न लगाउने कार्यलाई कदाचित उपयुक्त मान्न सकिन्न | यस्ता कार्यले लाभांशकै खिल्ली उडाएर उपहास गरेको छ | यसप्रकारको गतिविधि देख्दा कहिलेकहीँ ‘तपाईंको इमेलले यति करोड पाउण्ड वा डलर जितेको छ पुरस्कार लिनको लागि कर वापत लाग्ने यति रकम फलानो बैंकमा जम्मा गरिदिनुहोला’ भनेर पठाइने नक्कली इमेल जस्तो झल्को दिन थालेको छ | शेयरबजारमा सूचीकरण भएका कम्पनी नक्कली इमेल पठाउने जस्ता पनि हैनन्, ठगि पनि गरेका हैनन्, सबै कामकारवाही वैधानिक हिसाबले नै गरेका हुन् तर शेयरधनीलाई कर तिर अनि बोनस लाभांश लैजाऊ भन्दा नक्कली इमेल पठाउने ‘ठग’ जस्तो लागेको मात्र हो | आफ्नो नाममा आएको लाभांश लिन जाँदा पहिले आफ्नो खल्तीबाट खनखनी पैसा गनेर दिनु कति सान्दर्भिक हुन्छ ? शेयरधनीको पैसाले कम्पनी चल्ने र नाफा/घाटामा प्रत्यक्ष सहभागी (खारेजी वा दामासाहीमा गए मूलधन नै गुमाउने) हुने शेयरधनीलाई कम्पनीले कर तिर भनेर गरेको व्यवहारलाई उचित मान्न सकिन्न र यस्तो कार्यले शेयरधनीको हित संरक्षण हुनसक्दैन |   

अन्धो हो कि बहिरो ?
 
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा बोनस शेयर जारी गर्न सकिने/नसकिने अवस्था, बोनस शेयर दर्ता र सूचीकरण सम्बन्धमा व्यवस्था गरेको छ | नियमन हुने कम्पनीको हकमा नियमकबाट स्वीकृति लिएर साधारणसभामा विशेष प्रस्ताव पारित गराएर बोनस दिनसक्ने व्यवस्था छ | संचालक समितिले बोनस र नगद वा दुबै के वितरण गर्ने पहिले नै निर्णय गर्नुपर्छ | नियमक भएको अवस्थामा संचालक समितिले प्रस्ताव गरेको नगद र बोनस लाभांशलाई थपघट वा पुरै रद्द गर्न समेत सक्छ | नियमन नहुने कम्पनीले प्रस्ताव गरेको लाभांश परिवर्तन गरेर नगदको सट्टा बोनस वा बोनसको सट्टा नगदमा रुपान्तरण हुनसक्दैन | 

बोनस शेयर जारी हुनसक्ने/नसक्ने सम्बन्धमा निर्देशन जारी सक्ने वोर्डले बोनस शेयर जारी गर्दा अनिवार्यरुपमा कर वापत रकम छुट्टयाउनुपर्ने भनेर निर्देशन दिन कुनै साइत पर्खनु पर्दैन् | तदर्थ निर्णय गर्न दश हात माथि उफ्रने वोर्ड कर वापत लाग्ने लाभांश नछुट्टयाई बोनस शेयर जारी गर्न नपाइने निर्देशन दिन भने सक्दैन | गाभिएका संस्थाले कर तिरेपछि मात्र बोनस दिन्छु भनेर निकालेको सूचना टुलुटुलु हेरेर बस्ने लगानीकर्ताको अभिभावक वोर्ड अन्धो हो कि बहिरो ?  

बाह्र वर्ष.....बांगै 

शेयरबजारमा समस्या र समाधान दुबै छ | समस्या समाधान गर्न अग्रसर नहुनु मात्र समस्या हो | नियमन जस्तो माथिल्लो निकायमा आसिन भएपछी केहि सिर्जनात्मक कार्य गरेर बजार विकासमा कोशेढुङ्गो थपिने गरि केहि गर्नुपर्छ भन्ने नेतृत्वले जान्नुपर्ने हो | विगतमा गरेको केहि निर्णयलाई अहिले पनि ‘ट्रेडमार्क’ झैँ प्रचार सामग्री जस्तो बनाउनुको सट्टा लगानीकर्ताका पक्षमा अन्य कयौं निर्णय गरिदिएको भए पुरानो निर्णयलाई बारम्बार चिच्याएर सुनाउनुपर्ने आवश्यकता पर्दैनथ्यो | हकप्रदको संकलन केन्द्र पुगेन भनेर जति कराए पनि ‘कामना’ र ‘हाम्रो’ विकास बैंक अनि ‘रिलायबल माइक्रोफाइनान्स’ को संकलन केन्द्र काठमाडौंमा एउटा मात्र राख्न स्वीकृति दिएको हेर्दा ‘कुकुरको पुच्छर’ भन्ने उखान वोर्डको हकमा जस्ताको तस्तै लागू भएको देखियो | 

नगाभिएकाले दिएका दु:ख 

प्राय कर तिर्न आउ भन्ने गाभिएका बैंक हुन् तर गाभ्ने प्रकियाबाट भागेको नुवाकोट मात्र एक जिल्ला कार्यक्षेत्र भएको ‘हाम्रो विकास बैंक’ ले समेत लाभांश कर छुट्टयाएन र शेयरधनीलाई कर तिर्न आउ भनेर फरमान जारी गरेको छ | नेप्सेबाट सहजरुपमा शेयर किनेर लाभांश खाने मिठो सपना देखेकाले अहिले ओकल्न मिल्ने भए सजिलै ओकल्थे होलान ! शेयरधनी सुदुर पूर्व र पश्चिममा बस्छन अनि कर तिर्न काठमाडौंमा रहेको बैंकको शेयर रजिष्ट्रार वा नुवाकोटमा रहेका बैंकिंग कार्यालयमा कसरी पुग्ने ? यस्ता शेयरधनीको लागि लाभांश मिल्ने भए कसले ओकल्ने थिएन होला ?

हाम्रो विकास बैंक जस्ता कर शेयरधनीलाई तिराउने अन्य कयौं छन् | वाणिज्य बैंकको पगरी गुथेको सेन्चुरी बैंकको शाखा देशभरमा ३१ वटा छ (बिभिन्न बैंक गाभ्नु अघि) त्यसमा पनि काठमाडौं उपत्यकामा ८ वटा छ | यो बैंकले पनि आव २०७२/२०७३ मा लाभांश घोषणा गर्दा लाभकर वापत रकम छुट्टयाएन शेयरधनीलाई नै कर तिर्न आउ अनि मात्र बोनस शेयर दिन्छु भन्ने हुकुम जारी गर्यो | यसभन्दा अघि लक्ष्मी बैंक, सेवा विकास बैंक, कैलाश विकास बैंक, सिद्धार्थ इन्सुरेन्स लगायत कम्पनीले लाभकर वापत रकम नछुट्टयाएर प्रशस्त दु:ख र हैरानी दिइसकेका छन् |  

काठमाडौं कि कार्यक्षेत्र ?

गाभ्ने र गाभिने प्रक्रिया निरन्तर चलिरहने भएकोले यस सम्बन्धमा अहिले नै प्रष्ट नीतिगत व्यवस्था गर्नुपर्छ | अहिलेकै जस्तो भद्रगोल कायम राख्ने हो भने कर तिर्न कम्पनी वा कम्पनीको शेयर रजिष्ट्रार कार्यालय पुग्नुपर्ने हुन्छ | वाणिज्य बैंकको समेत सबै जिल्लामा शाखा नभएको स्थितिमा बढीमा १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकका कार्यक्षेत्र भन्दा बाहिरका शेयरधनीले कहाँ गएर कर तिर्ने ? काठमाडौंमा रहेको शेयर रजिष्ट्रार कार्यालय कि कार्यक्षेत्र भएको जिल्लास्थित शाखा ?
  
गाभिने सम्बन्धि नीति 

अहिले गाभिएका कम्पनी सबै बैंकिंग परेका छन | भोलिका दिनमा बैंकिंग बाहेक अन्य क्षेत्रका कम्पनी पनि गाभिन सक्ने सम्भावनालाई टार्न सकिन्न | नेप्सेमा सूचिकृत दुइवटा जलविद्युत कम्पनी गाभिने चर्चा चलिरहेको छ | कम्पनी गाभिने सम्बन्धि व्यवस्था कम्पनी ऐनमा बाहेक अन्यत्र विशेष प्रवन्ध गरिएको छैन | केन्द्रीय बैंकले आफू मातहतका बैंक गाभ्नको लागि बनाएको विनियम बाहेक अरु स्वतन्त्र दस्तावेज छैन | सूचिकृत कम्पनी गाभिने अवस्थामा शेयरबजार नियमकले नै गाभ्ने गाभिने सम्बन्धि निर्देशिका बनाउनुपर्ने आवश्यकता देखिन्छ | 

बंगलादेशले यससम्बन्धी नियम सन् २००२ मा नै बनेको भए पनि उक्त नियम अहिले असान्दर्भिक भएकोले नयाँ नियम बनाउन शुरु गरेको छ | केहि समय अघि ‘समिट पूर्वोन्चोल पावर कम्पनी’ गाभिने सम्बन्धमा विवाद आएपछि गाभ्ने र विलय सम्बन्धि नयाँ नियम बनाउन लागेको हो |

म्युचुअल फण्डका विविध पक्षहरु

नेपालको शेयरबजारमा लगानीका लागि वित्तीय उपकरण सिमित छन् । साधारण शेयर र म्युचुअल फण्ड (संक्षिप्तमा फण्ड)) का इकाई मात्र रहेका छन् । अग्राधिकार शेयर देखाउनको लागि मात्र छ र यो पनि साधारण शेयरमा परिवर्तन भएर सकिने क्रममा रहेको छ ।

फण्डको शुरुवात

म्युचुअल फण्डको शुरुवात एकजना डच व्यापारीले सन् १७७४ मा गरेको इतिहास पाइन्छ । सन् १८९० मा अमेरिका र सन् १९६३ मा युनिट ट्रष्ट अफ इन्डियाको नामबाट भारतमा शुरुवात भएको देखिन्छ । नेपालमा २०५९ मा एनसिएम म्युचुअल फण्डको नामबाट शुरु भएको हो । हाल ११ वटा फण्ड संचालनमा रहेका छन् र केहि संचालन हुने क्रममा छन् ।  नागरिक लगानी कोषले संचालन गरेको एकांक योजना पनि फण्डको एक स्वरूप हो ।

थरिथरिका फण्ड

मूलतः फण्ड अन्तर्गतका योजनाहरु बन्दमुखि र खुलामुखी हुन्छन् । नेपालमा संचालनमा रहेका फण्डहरु बन्दमुखि हुन् । एउटा खुलामुखी योजना स्वीकृतिको पर्खाईमा रहेको छ । लगानी उद्देश्यको आधारमा इक्विटी, बोन्ड, मनिमार्केट, सेक्टरल, ट्याक्स सेभिंग, इन्डेक्स, हाइब्रिड लगायत बिभिन्नरुपमा विभाजन गर्न सकिन्छ । नेपालको बजारमा बहुमौद्रिक उपकरणको अभाव भएकोले नाम जे भएपनि सबै इक्विटी फण्ड हुन् ।

प्रवर्द्धक

संचालनमा रहेका सबै फण्ड वाणिज्य बैंकसँग जोडिएकोले वाणिज्य बैंकले मात्र प्रवर्द्धन गर्न पाउने हो कि भन्ने भ्रम देखिको छ । कम्तिमा एक अर्ब चुक्ता पूँजी भई पाँच वर्ष पुरा भएको, पछिल्लो तीन वर्षदेखि लगातार मुनाफामा रहेको तथा चुक्ता पूँजी भन्दा नेटवर्थ कम नभएको जुनसुकै वित्तीय कारोबार गर्ने संस्थाले फण्ड प्रवर्द्धन गर्नसक्छन् । कुनै ऐन बमोजिम सामुहिक लगानी कोष प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले पनि फण्ड प्रवर्द्धन गर्नसक्ने व्यवस्था छ । त्यस्तै एक भन्दा बढी संस्थाले संयुक्तरुपमा प्रवर्द्धन गर्न सक्छन ।

सुपरिवेक्षक

फण्ड संचालनमा ल्याउनु अघि प्रवर्द्धकले कम्तीमा पाँचजना व्यक्तिहरुलाई सुपरिवेक्षकको रुपमा नियुक्त गर्नुपर्छ । सुपरिवेक्षकको कामकारवाही सन्तोषजनक नदेखिएमा अर्को सुपरिवेक्षक नियुक्त गर्न धितोपत्र बोर्डले प्रवर्द्धकलाई आदेश दिनसक्छ । सुपरिवेक्षण गर्ने जिम्मा कुनै संस्थालाई पनि दिन सकिन्छ ।

व्यवस्थापक र डिपोजिटरी

प्रवर्द्धकले सुपरिवेक्षकको सहमति लिई फण्ड व्यवस्थापक नियुक्त गर्नुपर्छ । व्यवस्थापकले फण्ड व्यवस्थापन बाहेक अन्य कुनै काम गर्न पाउँदैन तर वित्तीय स्वार्थ नबाझिने गरी अन्य प्रकारको धितोपत्र व्यवसाय गर्न भने सक्नेछ । मर्चेन्ट बैंक फण्ड व्यवस्थापक बन्न सक्छन । व्यवस्थापकले सुपरिवेक्षकको स्वीकृति लिई डिपोजिटरी नियुक्त गर्नुपर्छ । डिपोजिटरीले इकाईको अभिलेख तथा नामसारी, इकाई सुरक्षित राख्नेफण्डको प्राप्त गरेको ब्याजलाभाँश वा अन्य आम्दानी प्राप्त गरि अभिलेख राख्नेव्यवस्थापकको निर्देशन बमोजिम सहभागीहरुलाई लाभाँश वितरण गर्ने कार्य गर्छ । यी दुबै कार्य एकै संस्थाले समेत गर्नसक्ने व्यवस्था छ ।

सेवा शुल्क

प्रत्येक आर्थिक वर्षको अन्त्यमा कायम भएको खूद सम्पत्ति मूल्यको आधारमा व्यवस्थापकले दुई प्रतिशत र डिपोजिटरी तथा सुपरिवेक्षक प्रत्येकले शुन्य दशमलव पाँच प्रतिशत सेवा शुल्क लिन सक्नेछन् ।

लगानी क्षेत्र

इकाई विक्रीबाट संकलन भएको रकम (क) बोर्डमा दर्ता भएको धितोपत्र, (ख) सार्वजनिक निष्काशन भएको धितोपत्र, (ग) सूचीकृत धितोपत्र, (घ) सरकारले जारी गरेको वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुनेगरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरु, (ङ) बैंक निक्षेप, (च) मुद्राबजार उपकरण, (छ) बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्नसक्नेछ ।

लगानी सीमा 

फण्डले (क) कुनै कम्पनीको साधारण शेयरमा त्यस्तो कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत (ख) कुनै कम्पनीले निष्काशन गरेको अग्राधिकार शेयर वा डिबेञ्चरको २० प्रतिशत, (ग) कुनै कम्पनीको धितोपत्रमा योजनाको कुल रकमको १० प्रतिशत, (घ) अन्य सामुहिक लगानी कोष अन्तर्गतको योजनामा आफ्नो योजनाको २० प्रतिशत, (ङ) बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशत, (च) मुद्राबजार उपकरणहरुमा योजनाको कुल सम्पत्तीको १० प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नुपर्छ । योजनाले लगानी गर्नसक्ने क्षेत्र र सीमा बोर्डले हेरफेर गर्न सक्नेछ ।

प्रचलित कानूनको अधिनमा रही फण्डले नेपाल सरकारको स्वीकृति लिई लगानीको लागि समझदारी गरेको मुलुकहरुको धितोपत्र बजारमा कुल रकमको बढीमा २५ प्रतिशत रकमसम्म लगानी गर्न सक्नेछ ।

सार्वजनिक जानकारी

व्यवस्थापकले आफूले संचालन गरेको प्रत्येक योजनाको खुद सम्पत्ति मूल्य प्रत्येक हप्ता कम्तीमा एकपटक सार्वजनिक गर्नुपर्छ । प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र राष्ट्रियस्तरको पत्रिकामा कम्तिमा एकपटक (क) धितोपत्रमा गरिएको लगानी रकम, (ख) लगानी गरिएको धितोपत्रहरुको बजार मूल्य, (ग) योजनाको आम्दानी तथा खर्चहरु, (घ) योजना अन्तर्गत जारी गरिएको धितोपत्रको प्रति इकाई खुद सम्पत्ति मूल्य र त्यस्तो मूल्य गणनाको आधार सम्बन्धि विवरण प्रकाशन गर्नुपर्छ ।

आरक्षण खारेज

फण्डले जारी हुने साधारण शेयरमा ५ प्रतिशत आरक्षण सुबिधा पाइरहेका छन् । धितोपत्र दर्ता तथा निष्काशन निर्देशिकाले गरेको प्राकृतिक व्यक्तिले मात्र साधारण शेयरमा दरखास्त दिनसक्ने व्यवस्था विपरित फण्डलाई आरक्षण दिनु असान्दर्भिक हो । सामुहिक लगानी कोष नियमावली २०६७ मा ५ प्रतिशत शेयर छुट्टयाउनुपर्छ भनेर गरिएको व्यवस्थाको आधारमा यस्तो सुबिधा पाइरहेको छ । कोषको संचालन र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्ने नियमावलीले निष्काशक कम्पनीलाई शेयर दिन वाध्य बनाउन सकिन्न र धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धि मूल एवम सर्वोच्च नियमावली विपरित छ । सर्वोच्च नियमावली विपरित विषयगत नियमावलीले विशेषाधिकार दिन मिल्दैन ।

वर्तमान १० कित्ते बाँडफाँड नीतिले कम्पनीको संचालक हुनको लागि चाहिने १ सय कित्ता शेयर सहजरुपमा बजारमा उपलब्ध नहुने भएकोले फण्डले पाएको आरक्षित शेयरबाट आफूले चाहेको व्यक्तिलाई बिक्री गरि संचालक बनाई वित्तीय स्वार्थ कायम गर्नसक्ने हुँदा आरक्षणको व्यवस्था तुरुन्त खारेज गर्नु अत्यावश्यक छ ।  

अन्योलमा योजना व्यवस्थापक

कुनै ऐन बमोजिम सामुहिक लगानी कोष प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले पनि फण्ड प्रवर्द्धन गर्नसक्ने व्यवस्था गरेको तर सम्बधित फण्ड प्रवर्द्धकको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व भएको संस्था मात्र योजना व्यवस्थापक बन्न सक्ने व्यवस्थाले अन्योल सिर्जना गरेको छ । फण्ड प्रवर्द्धन गर्नकै लागि सहायक कम्पनी खडा गर्नुपर्ने वाध्यता नियमले गरेको देखिन्छ । सहायक कम्पनी नहुने वा खडा गर्न नचाहने संस्थाले नियम अनुसार फण्ड प्रवर्द्धन गर्न बन्देज लगाएको देखिन्छ । कुनै बिमा कम्पनीले फण्ड प्रवर्द्धन गर्न चाहेमा डिपोजिटरी र फण्ड सुपरिवेक्षक जस्तै योजना व्यवस्थापक पनि नियम बमोजिम संस्थापित संस्थालाई जिम्मा लगाउन सक्ने व्यवस्था हुनुपर्छ ।

मताधिकार र संचालक

योजनाले धारण गरेको धितोपत्रको आधारमा योजना व्यवस्थापकले योजनाको हित विपरित नहुनेगरि मतदान गर्नुपर्ने र योजना व्यवस्थापक पनि कम्पनीको संचालक हुनसक्ने व्यवस्था गरेको छ । यस्ता व्यवस्था अविलम्ब खारेज गर्नुपर्छ । योजना व्यवस्थापकलाई कुनै विषयमा हुने मतदानमा भाग लिन वा संगठित संस्थाको सञ्चालक हुन वा कायम रहन नपाउने गरी निर्देशन दिन सक्ने व्यवस्था निर्देशिकामा भएकोले यसलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।







कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...