Saturday, August 26, 2017

महालेखा परीक्षकको प्रतिवेदन र शेयरबजारमा मूअक



महालेखा परीक्षक (मलेप) को ५४ औँ वार्षिक प्रतिवेदन २०७३ मा धितोपत्र दलालले दलाली शुल्क वापत मूल्य अभिवृद्धि कर (मूअक) नतिरेको भन्ने अनुच्छेद छ | यसैलाई लिएर सरकारले धितोपत्र दलाली शुल्कमा मूअक लगाउने घोषणा गरेपछि यसका पक्ष र विपक्षमा क्रिया प्रतिक्रिया आइरहेका छन् | शेयर लगानीकर्ता संघ, नेपाल (संक्षिप्तमा संघ) नामक लगानीकर्ताको एउटा संगठनले मूअक लगाउनै पर्छ भनेर वक्तव्य दियो भने शेयर लगानीकर्ताकै अर्को संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले शेयरबजारको कुनै पनि सेवामा मूअक लगाउन नहुने र मुक्त हुनुपर्ने भनिरहेका छन् | करका क्षेत्रमा कार्य गरिरहेका करका जानकार, अधिवक्ता, चार्टर्ड एकाउन्टेन्टहरु शेयरबजार वित्तीय क्षेत्र भएकोले लगाउन हुन्न भनिरहेका छन् |
प्रतिवेदनको दुई अनुच्छेद
मलेप प्रतिवेदनको ४४ नं. मा ‘मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५ बमोजिम ऐनको अनुसूची १ मा नेपालभित्र आपूति भएका वस्तु वा सेवामा मूअक लाग्ने व्यवस्था छ । मूअकमा दर्ता हुनुपर्ने दायित्व भएका व्यक्तिले दर्ता नभै कारोबार गरेमा कर अधिकृतले दफा २० बमोजिम कर निर्धारण गर्न सक्ने व्यवस्था र दफा २९ मा जरिबाना समेत गर्ने प्रावधान रहेको छ । धितोपत्रको ब्रोकर सेवा प्रदान गर्ने करदाताले प्राप्त गर्ने ब्रोकर कमिसनमा मूअक छुट नदिएकोमा करदाता सेवा कार्यालय पुतलीसडक र नयाँसडक अन्तर्गत ९ करदाताले रु. ४६ करोड ७० लाखको कारोबार गरेकोमा रु. ६ करोड ७ लाख मूअक असुल भएको देखिएन । उक्त कर रकम असुल हुनुपर्दछ |’ भनेको छ |
त्यस्तै प्रतिवेदनकै २८ नं. मा ‘मूअक ऐन २०५२ को अनुसूची १ को समूह ११ को (आ) मा वित्तीय सेवालाई कर छुट हुने सेवामा राखेको देखिन्छ । सो अनुरुप एक स्थानबाट अर्को स्थानमा रकमको स्थानान्तरण तथा लगानी सम्बन्धी कारोबार गर्ने मनि ट्रान्सफर तथा मर्चेन्ट बैक वित्तीय सेवासँग सम्बन्धित देखिन्छ । तर ती वित्तीय सेवा प्रवाह गर्ने संस्था वित्तीय सेवाको आधारमा मूअकमा दर्ता भएको पाइएन । वित्तीय सेवा भएको आधारमा मूअकमा दर्ता नभएकोले वित्तीय संस्थालाई लाग्ने ३० प्रतिशतका दरले कर तिर्नुपर्नेमा नतिर्ने मनि ट्रान्सफरतर्फ ५ कार्यालयका २१ करदाता र मर्चेन्ट बैङ्कतर्फ ३ कार्यालयका ९ करदाताबाट नपुग ५ प्रतिशतले छुट भएको कर रु. ४ करोड ३६ लाख असुल गर्नुपर्ने देखिन्छ |’

परस्पर विरोधी प्रतिवेदन
उल्लेखित मलेपको यी दुई अंश एकअर्कासँग बाझेको प्रष्ट देख्न सकिन्छ | मर्चेन्ट बैंकलाई वित्तीय संस्था र मूअक छूट पाउने अनुसूचीमा सुचिकृत हो भनेर आफैँ व्याख्या गर्ने महालेखाले दलालीलाइ वित्तीय सेवा भनेर देखेन | मलेपले मर्चेन्ट बैंकलाइ वित्तीय सेवा मानिसकेपछी दलाललाइ पनि सोहि कोटिमा राखेर दलाल कम्पनीलाई पनि नपुग भएको ५ प्रतिशतले छुट हुन गएको रकम कति हुन्छ त्यति असुल गर्न भन्न सक्ने प्रशस्त ठाउँ रहेको छ | मलेपले भने जस्तो मूअक छूट पाउने अनुसूचीमा मर्चेन्ट बैंक नै भनेर उल्लेख गरिएको छैन | मलेपले मर्चेन्ट बैंकले ‘लगानी सम्बन्धी कारोबार गर्ने’ र मनि ट्रान्सफरले ‘एक स्थानबाट अर्को स्थानमा रकमको स्थानान्तरण’ गर्ने भनेर आफैंले जानकारीमा लिएर वित्तीय क्षेत्र भन्ने अर्थ लगाएको छ | मलेप आफैँले जानकारीमा लिएको ‘लगानी व्यवस्थापन’ र ‘रकम स्थानान्तरण सेवा’ भन्दा ‘दलाली सेवा’ कुन प्रसंगले फरक छ ? जसरी मनि ट्रान्सफर गर्नेले आफूसँग भएको रकम स्थानान्तरण गरिदिने हैनन् ग्राहकको रकम अर्को स्थानमा पुर्याउने गर्छन त्यसै गरि दलालले पनि एउटा व्यक्तिको भोगमा रहेको शेयर अर्को व्यक्तिलाई हस्तान्तरणमा मात्र सहयोग गर्छन | मनि ट्रान्सफर र दलाली सेवामा स्वरुपको बाहेक तात्त्विक कुनै भेद छैन | 

नीति र कानुनमा दलाली सेवा 

नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७३ सालमा स्वीकृत ‘वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४-२०७७/७८’ ले वित्तीय प्रणालीको संरचनामा दलाललाई समावेश गरेको छ | रणनीतिको परिचय खण्डमा नै ‘नेपालको वित्तीय प्रणालीको विकास विगत आठ दशकदेखि क्रमिकरूपमा हुँदै आएको छ । वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएसँगै नेपालमा आधुनिक वित्तीय प्रणालीको विकासको शुरुवात भएको हो । सोही वर्ष विराटनगर जुट मिल तथा नेपाल बैंक लिमिटेडको साधारण शेयर निष्काशन गरी ‘धितोपत्र बजार’ का क्रियाकलापहरू पनि सुरु गरिएको थियो ।.....’ भनिएको छ | रणनीतिले नै ‘धितोपत्र बजार’ का क्रियाकलापहरु भनेर वित्तीय सेवाको शुरुवातलाई जोडेको छ | यति बुझिसकेपछि ‘धितोपत्र दलाली’ सेवा पनि धितोपत्र बजारका क्रियाकलाप हुन् भनिरहनु पर्दैन |

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४, अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४, मूल्य अभिवृद्धि कर निर्देशिका २०६९ मा समेत धितोपत्र बजार र दलाली सेवा वित्तीय सेवामा सामेल भएको छ |

राजश्व परामर्श समितिले प्रतिवेदन तयार गर्ने सिलसिलामा गठन गरेको ‘बैंक, वित्तीय संस्था, विमा, सहकारी, बजार उपसमिति’ को कार्यक्षेत्र अन्तर्गत बैंक, वित्तीय संस्था, बिमा, रेमिटेन्स, पूँजीबजार, सहकारी, आर्थिक नीति तथा रियल स्टेट सम्बन्धि विषय रहेका छन् |

आइपीओ र हकप्रदको मूल्य ११३ !

अहिले कम्पनीहरुले जारी गरिरहेका साधारण शेयरको मूल्य रु. १०० रहेको छ | कानुनले तोकेको अवस्था पुरा गर्ने कम्पनीले मूल्य थप्न समेत पाउने व्यवस्था गरिएको छ | केहि समय अघि एउटा विमा कम्पनीले रु. १४२५ मा शेयर बेचेको थियो | शेयरबजारमा मूअक लगाउन थालियो भने साधारण शेयरको परल मूल्यमा १३ प्रतिशत मूअक थपेर ११३ मा किन्नुपर्ने हुन्छ | त्यस्तै थप मूल्यमा जारी गरेको उल्लेखित विमा कम्पनीको शेयर मूल्यमा १३ प्रतिशतले हुने १८५ रुपैयाँ २५ पैसा जोड्दा १६१० रुपैयाँ २५ पैसा हुन्छ | हकप्रद र बोनस शेयरमा पनि १३ प्रतिशत मूअक बुझाउनुपर्छ | कारोबार गर्दा लाग्ने डिपी शुल्क, धितोपत्र वोर्ड शुल्क सबैमा १३ प्रतिशत थपिन थाल्छ | यस्तै शुरुवात हुँदै जाँदा भोलिका दिनमा बैंकिंगमा पनि ब्याज बाहेक अन्य सबै सेवामा १३ प्रतिशत मूअक थपिँदै जान्छ |

आम्दानीमा मूअक ?

संघले महालेखाको प्रतिवेदनको अंश उल्लेख गर्दै लगानीकर्ताले मूअक सहित दलाल कमिसन तिरेकोले दलालले लगानीकर्ताबाट उठाएको मूअक तिर्नुपर्ने भन्दै वक्तव्य जारी गरेको छ | तर अहिलेसम्म लगानीकर्ताले मूअकको बिजक पाएका छैनन् | मूअक लिएको भए बिजकमा सो उल्लेख हुनुपर्ने हैन ? कमिसनमा मूअक लगाउन माग गर्ने संघले मूअकको सैद्धान्तिक पक्ष पटक्कै बुझेको देखिएन | कमिसन आम्दानी हो र आम्दानीमा आयकर लाग्छ र मूअक उपभोग्य वस्तु वा सेवाको अन्तिम उपभोगमा लाग्छ र शेयरको भोग मात्र हस्तान्तरण हुन्छ भन्ने सामान्य ज्ञान पनि लिन सकेको देखिन्न | स्टकलाई बुझाउनु पर्ने रकम कटाएर दलालको हिस्सामा पर्ने रकममा मात्र भएपनि मूअक लगाईदेउ भन्ने अरण्यरोदनयुक्त गजवको कमेडी पनि देखिएको छ | 

शेयरबजारको नियमक धितोपत्र वोर्ड भने परेमा ऐन संशोधन गरेर भएपनि शेयरबजारको कुनै पनि सेवामा मूअक लगाउन नदिने अठोटका साथ प्रस्तुत भएको छ | वोर्डको यो अभिव्यक्तिलाई शेयरबजार मूअकमुक्त हुनुपर्छ भनेर लागिपरेकाहरुका लागि ऊर्जा बनेको छ | 


बैंकिंग कारोवारमा नयाँ प्रावधानका अव्यवहारिक पक्ष



बैंकमा रकम जम्मा गर्ने र निकाल्ने विषयले बजार तातेको छ | रकम जम्मा गर्दा र झिक्दा दुबै अवस्थामा परिचयपत्र अनिवार्य चाहिने बैंकको निर्णयले बचतकर्ताहरु देशका अविश्वासी नागरिककोरुपमा दर्जित हुन पुगेका छन् | बैंक र बचतकर्ता एकअर्काका परिपूरक हुनुपर्नेमा दुश्मन जस्तो बनेका छन् | बचत नभई बैंक चल्छ भन्ने जस्तो शैली बैंकको देखिएको छ | बैंकहरुले बचतकर्तालाइ सहज हुने तरिकाले अझ बढी आकर्षित गर्नुपर्नेमा ‘भालुलाई बन्दुक पड्काए झैँ’ गर्न थालेका छन् | केन्द्रीय बैंकले कुनै नीति ल्याएमा त्यसको कार्यान्वयन पक्षमा के कस्तो सकारात्मक/नकारात्मक असर पार्छ त्यसको बारेमा केन्द्रीय बैंकलाई पृष्ठपोषण दिएर सम्वोधन गराउन पर्ने जिम्मेवारी बैंकको हो | तर अहिलेको समस्याको सन्दर्भमा केन्द्रीय बैंक र बैंकले पर्याप्त पहल गरिएको पाइएको छैन |

मौद्रिक नीति

मौद्रिक नीति २०७४/२०७५ ले ‘नगद कारोबारबाट हुने जोखिम न्यूनीकरण गर्न २०७४ साउन १ देखि रु. १० लाख वा सो भन्दा बढी रकम भुक्तानी गर्दा अनिवार्यरुपमा एकाउन्टपेयी चेक मार्फत गर्नुपर्ने’ व्यवस्था गरिएको छ । नगदरहित भुक्तानी प्रणालीको विकासले आमव्यक्तिको शारीरिक र साम्पतिक सुरक्षा बढाउने हुँदा यसलाई अस्विकार गर्न सकिन्न | नगदरहित भुक्तानी प्रणाली विकास गर्दा नागरिकहरुमा बैंकिंग चेतना र पहुँच बढ्ने हुँदा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रित र नियमित गर्दै नगद कारोवार एवम् गैरकानुनी कारोवारलाई निरुत्साहित गर्न खोज्नु अत्यन्त सह्रानीय कार्यको रुपमा अंगिकार गर्नुपर्छ | 

बैंकिंग प्रणालीमा नागरिकको पहुँच पुर्याउन मौद्रिक नीतिमा ‘सर्वसाधारणले नगद बोकी आफ्नो खाता रहेको बैंकसम्म गई रकम जम्मा गर्नुपर्दा कारोबार लागत बढ्नुको साथै जोखिमको समेत सम्भावना रहने हुँदा बैंकिङ्ग सेवा तथा कारोबारलाई थप सरल तथा सहज बनाउन ग्राहकले जुनसुकै बैंक वा वित्तीय संस्थामा गई आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइनेछ |’ भन्ने व्यवस्थाको यथाशिघ्र कार्यन्वयन होस् भन्ने अपेक्षा राखिएको छ |

नगद कारोबारमा रोक

सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ४४ग (१) मा नेपाल सरकारले राष्ट्र बैंकसँगको परामर्शमा तोकिएको मूल्य वा सो भन्दा बढीको कुनै सेवा वा वस्तुको खरिद बिक्री तथा अन्य कारोबार बैंक उपकरण मार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्नसक्नेछ भन्ने कानुनी व्यवस्था छ | यसैको आधारमा नेपाल सरकारले राष्ट्र बैंकसँग परामर्श लिएर - (क) वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, (ख) वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्न, (ग) वित्तीय संस्थाहरुबीचमा नगद कारोबार गर्न, (घ) कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको वित्तीय संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी दिन र कर सम्बन्धि कानुनले अन्यथा व्यवस्था गरेको  अवस्थामा २०७४ साउन १ गतेदेखि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै वस्तु वा सेवाको खरिद बिक्री वा अन्य कारोवार गर्दा वित्तीय संस्था वा बैंकिङ्ग उपकरण मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

बैंकको सूचना

मौद्रिक नीतिमा परेका दुइवटा व्यवस्था मध्ये नगद कारोबार सीमालाई विगत भन्दा कम पारियो तर जुनसुकै बैंकबाट आफ्नो खाता रहेको खाता रहेको बैंकमा जम्मा गर्नसक्ने दिनको प्रतिक्षा गरिरहेको बेला बैंकको व्यवहार देखेर ‘तीन त्रिभुवन’ देखिएको छ | बैंकहरुले (क) रु. १ लाख वा सो भन्दा बढी रकमको चेक भुक्तानी लिनु परेमा अनिवार्यरुपमा आफ्नो परिचयपत्र पेश गर्नुपर्ने, (ख) बैंकमा दोस्रो पक्षको खातामा नगदै जम्मा गर्नुपरेमा सो को प्रयोजन सहित आफ्नो परिचयपत्र पेश गर्नुपर्ने, (ग) रु. १० लाख वा सो भन्दा माथिको रकम जम्मा गर्दा अनिवार्य रुपमा जम्मा रकमको उद्देश्य र स्रोत उल्लेख गर्नुपर्ने छ । बैंकले आवश्यक ठानेमा जम्मा रकमको स्रोत सम्बन्धी कागजात माग गर्न सक्नेछ भन्ने व्यहोराको सूचना टाँस गरेका थिए |

मौद्रिक नीति र केन्द्रीय बैंकको सूचनामा तोकिएको १० लाख रुपैयाँ भन्दा बढी नगद कारोबार नहुने जानकारी पाएका आमनागरिकले बैंकमा पुगेर सामान्य कारोबार गर्दा समेत अनेक तरहका कागजात माग्न थालेपछि हैरान बनेका थिए |

बैंकिंगबाट बिमुख

उपरोक्त व्यवस्था बैंकहरुले नेपाल राष्ट्र बैंकले २०७३ असार ३० गते जारी गरेको परिपत्रको आधारमा गरेका हुन् | परिपत्र मूलतः सम्पति शुद्धीकरण कानुनसँग सम्बन्धित छ | परिपत्रको २ नं. मा ‘ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्ध’ अन्तर्गत बिभिन्न ८ वटा बुँदाको आधारमा ग्राहक सम्पुष्टि गर्नुपर्ने नीतिगत आधारहरुको व्यवस्था गरेको छ | परिपत्रको ७ नं. मा सरलीकृत ग्राहक पहिचानको लागि उपयुक्त पद्धत्ति विकास गर्नुपर्ने भन्ने व्यवस्था गरिएको भए पनि बैंकको यतातिर ध्यान गएको देखिन्न र जटिलतातर्फ लगिरहेका देख्न सकिन्छ |

बैंकले अपनाएका विधिलाई ठिक मान्न सकिए पनि पनि व्यवहारिक रुपमा कठिनाई दिने भएकोले पुनरावलोकन गर्नुपर्ने देखिन्छ | आमनागरिकसँग परिचय दिने कागजकोरुपमा नागरिकताको प्रमाणपत्र मात्र रहेको छ र त्यो पनि हराउला कि भन्ने चिन्ताले जतनसाथ बाकसमा हालेर राखेका हुन्छन यस्तो अवस्थामा बैंकमा रकम जम्मा गर्न कठिनाइ हुने मात्र होइन कतिपयलाई बैंक तथा वित्तीय संस्थासम्म पुग्न निरुत्साहित समेत गर्ने संभावना रहन्छ ।

सरकारले बैंकिंग कारोबार गर्न आउने सबै नागरिकलाई अपराधी देख्न थालेको आभाष हुनथालेको छ | बैंकमा नगद जम्मा गर्न जाँदा पैसा कहाँबाट आयो, किन आयो, कसरी आयो, पैसा किन जम्मा गर्ने जस्ता असान्दर्भिक प्रश्नहरु समेत गरिएको छ | यस्तो नागरिक चिढ्याउने नीतिले बैकसँग नजिक्याउदैन् । अझ दूरी बढाउछ । केन्द्रीय बैंकले संस्थागत निक्षेप घटाउँदै ४५% मा झार्नुपर्ने समयसीमा तोकिरहेको बेला बैंक भने वास्तविक निक्षेपकलाई तगारो हाल्दैछ |

८ अर्ब अपचलन अब कति...?

बैंकले सहज नीति नलिने हो भने बैंकमा आउने निक्षेप सहकारीतर्फ मोडिने, सहकारीमा निक्षेप सुरक्षित नहुने तैपनि जान रोकिने पनि छैन | घरमा राख्न्न नसकिने र बैंक पनि नागरिकलाइ अपराधी देख्ने भएपछि कुनै न कुनै क्षेत्र त समाउनैपर्ने हुन्छ र विकल्पको रुपमा सहकारी देखा पर्छ | सहकारी नियमन बाहिर रहेकाले यहाँ निक्षेप सुरक्षित छैन भन्ने कुरा हरेक दिन एउटा सहकारी भागेको घटनाले पुष्टि गर्छ | केहि वर्ष अघि मात्र पुनरावेदन अदालतबाट अवकाशप्राप्त न्यायाधीश गौरीबहादुर कार्कीको अध्ययन कार्यदलले तयार पारेको सहकारीको निक्षेप अपचलन सम्बन्धि प्रतिवेदनमा ८ अर्ब भन्दा बढी देखाइएको छ | कार्की प्रतिवेदनमा परेको यो रकम सहकारीले सजिलै खाइदिएर निक्षेपकको हरिबिजोग बनाएको दृश्य सरकार आफैँ टुलुटुलु हेरिरहेको छ | सुरक्षित र भरपर्दो भनेर बैंकमा बचत गर्न जाँदा अनेकथरी अल्झन लगाएपछि फेरी पैसा सहकारीमा मोडिने र पुन: अर्को गौरीबहादुर प्रतिवेदनमा १५ अर्ब निक्षेप अपचलन भएको लेखिनेछ |

सरकार, केन्द्रीय बैंक र बैंकिंग संस्थाहरुले नागरिकको लागि सरल बैंकिंग सेवा कसरी दिनसकिन्छ यसबारेमा गहन भएर चिन्तन गर्नुपर्ने बेला आएको छ | बैंकिंगबाट तर्साउन खोजेर बैंकिंग प्रणाली विकास हुन्न |   

बैंकलाइ दलाली दिने र अर्को स्टक ल्याउने अन्तर्निहित उद्देश्य


नागरिकले राज्यलाई करको नाममा दस्तुर बुझाउने प्रक्रिया प्रारम्भिक कालदेखि प्रचलनमा थियो | राज्यले कर लिनुको मुख्य प्रयोजन सुरक्षा हो | समयक्रममा पछी सुरक्षासँगै विकासमा समेत राज्य लाग्नुपर्ने भएपछी विभिन्न प्रकारका कर असुल्न थालिएको हो | कर नागरिकले दिने अनिवार्य योगदान हो | प्रत्यक्ष र अप्रत्यक्ष असुल हुने करका बिभिन्न स्वरूप र नाम हुन्छन | राज्यले लिने बिभिन्न कर मध्ये मूल्य अभिवृद्धि कर (मुअक)पनि एक हो | अन्य देशमा यसलाई वस्तु र सेवा कर (गूड्स एण्ड सर्भिस ट्याक्स)पनि भनिन्छ | मुअक वस्तु वा सेवा लिने अन्तिम उपभोक्ताले तिर्नुपर्ने सैद्धान्तिक मान्यता छ | यस्ता कर सबै क्षेत्रमा लागू गरिन्न | विधायिकी कानुनले कर नलाग्ने भनिएका सेवा र क्षेत्रमा यो कर आकर्षित हुन्न |

सम्बन्धित कानून

बिक्री, होटेल, ठेक्का र मनोरञ्जन करलाई विस्थापन गरि मूल्य अभिवृद्धि कर ऐन २०५२ मा बने पनि २०५४ साल मंगसिरदेखि लागू गरिएको ऐनमा मुअकको परिभाषा गरिएको छैन | ऐनको प्रस्तावनामा ‘....राजश्व परिचालन बढाउन वस्तु वा सेवाको बिक्री, वितरण, हस्तान्तरण......भन्ने वाक्यांश रहेको छ | ऐनको दफा ५(१) मा कर लाग्ने विषय र अनुसूची १ मा कर नलाग्ने क्षेत्रहरुको विवरण दिइएको छ | अनुसूचीमा वित्तीय सेवालाइ मुअक नलाग्ने सूचीमा राखेको छ | ‘वित्तीय सेवाकुन कुन हुन् भन्ने विषयमा विशेष कानुन छैन र छरपस्टरुपमा छ | ‘बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुनलाई नै वित्तीय सेवासम्बन्धि कानुन हो भन्ने एकोहोरो बुझाई रहेको छ | यथार्थमा यो वित्तीय सेवासम्बन्धि कानुन नभएर बैंकिंग कानुनहो | बैंक र वित्तीय सेवा फरक-फरक हुन् | सबै बैंक वित्तीय संस्था हुन तर सबै वित्तीय संस्था बैंक हैनन् |

वित्तीय सेवाका क्षेत्रहरु

वित्तीय सेवाभनेको बैंक मात्र हुन भनेर अर्थ संकुचन गर्न सकिन्न | सामान्य बुझाईमा बैंक मात्र वित्तीय सेवा प्रदायक जस्तो देखिए पनि मुद्रा उपकरण कारोबारमा संलग्न अन्य धेरै संस्था वित्तीय सेवा भित्र समावेश हुन्छन | वित्तीय सेवा भित्र आर्थिक विषयवस्तु जोडिएर आउने सबै समावेश हुन्छ | बैंक, मर्चेन्ट बैंक, बिमा, शेयर दलाल, लगानी कम्पनी, विप्रेषण, मुद्रा विनिमय, क्रेडिट युनियन, क्रेडिट कार्ड कम्पनी, लेखा व्यवसायी कम्पनी लगायतका सेवा पर्छन | सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २()()() मा वित्तीय संस्था भन्नाले व्यावसायिकरूपमा आफ्नो ग्राहकको लागि वा निजको तर्फबाट हस्तान्तरणयोग्य धितोपत्र कारोबार गर्ने व्यक्तिसमेत समेटेको छ |

त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४ को दफा २() मा अन्तर्राष्ट्रिय वित्तीय संस्थाभन्नाले दफा ४ बमोजिमको वित्तीय संस्था सम्झनुपर्छ भनेको छ | दफा ४()(त) मा धितोपत्र दलाललाई पनि अनुमति पाउन सक्ने संस्थाको रुपमा सूचीकृत गरिएको छ | यसबाट पनि धितोपत्र दलाल व्यवसाय वित्तीय सेवाअन्तर्गत पर्नेमा कुनै शंका रहँदैन |

दलाल कमिसन

दलालले बढी कमिसन लिए बैंकले अहिलेको भन्दा आधा शुल्कमा देशभरबाट कारोबार गराईदिन्छन भन्ने भ्रमात्मक प्रचार गरियो | तर यथार्थ भने कोशौं टाढा छ | मर्चेन्ट बैंकहरु बैंककै सहायक कम्पनी हुन तैपनि यिनले माउ कम्पनीको शाखाबाट एउटा पनि कार्य गरेका/गराएका छैनन् | दलाल कमिसन सरकारको सहमतिमा धितोपत्र वोर्डले बनाउने नियम मार्फत निर्धारण हुन्छ | धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को नियम ३२ अनुसार अनुसूची १४ मा कमिसन सम्बन्धि व्यवस्था भएकोले कमिसन आफैँले तोक्ने विषय हैन | दलालले चाहेर पनि कमिसन छूट दिनसक्दैन | यदि यस्तो छूट दिएमा कर छलीको कारवाही हुनसक्छ |

अन्य देशको अभ्यास 

शेय दलाल सेवा विशुद्ध वित्तीय सेवा भएकोले यसमा मुअक आकर्षित हुन्न भन्ने तथ्य अब स्थापित भईसकेको छ | शुरुमा केहि देशले यस्तो कर लगाउने प्रयास गरेको अभ्यास भएपनि पछी यसलाई हटाइएको उदाहरण प्रशस्त भेटिन्छ | यद्यपि केहि देशमा भने कायम पनि छ तर यस्ता देश नगन्य मात्रामा रहेकाछन् | बेलायतमा लगाउने प्रयास गरेपनि पछी यसलाई हटाइयो | दलालले आदेश मात्र प्रविष्ट गरेमा लाग्दैन तर ग्राहकलाई वित्तीय परामर्श सेवा दिएमा भने लाग्छ | प्रत्यक्ष हेर्दा शेयर कारोबारमा मुअक लगाएको देखिए पनि यसमा अन्तरनिहित परामर्श सेवा पनि थपिएको छ | अष्ट्रेलिया, क्यानाडा र सिंगापुर लगायतका देशहरुमा दलाल कमिसनमा भ्याट लाग्ने व्यवस्था छैन । नाइजेरियामा लगाएर पनि हटाइयो

मेकाले र गलत प्रचार

सन् १८३५ मा वेलायती संसदमा लर्ड मेकालेले सम्बोधन गर्दै भारतमा उच्च नैतिकवान व्यक्ति मात्र रहेको र यसो हुनुको कारण भारतको प्राचीन शिक्षा प्रणाली र संस्कार भएकोले यसलाई तोडेर विदेशी र अंग्रेजी मात्र उत्कृष्ट हो भन्ने नपारेसम्म उनीहरुको विश्वास तोड्न सकिन्नभनेका थिए | यसपछि पूर्वीय दर्शनका वेद, उपनिषद, दर्शनशास्त्र र स्मृतिहरु रातारात बेलायत पुर्याएर गलत अनुवाद गर्दै भारतभर छरियो र विस्तारै पद्धति र प्रवृति अनि संस्कारबाट बिचलन गराइयो | मेकालेको यहि रणनीतिले सम्भवत भारत बेलायती उपनिवेशमा पुग्यो | नेपालको शेयरबजारमा पनि ठ्याक्कै यहि प्रवृति देखिएको छ |

शेयरबजारको अभिन्न अंगको रुपमा रहेका दलाल र स्टकलाई लगानीकर्ताबाट विचलन गराउन दलाल र स्टकले टेरेनन भन्दै धितोपत्र वोर्डले प्रचारमा ल्यायो | नटेर्नेलाइ टेराउने विधि वोर्डसँगै भए पनि प्रचारमा ल्याएर गलत सन्देश प्रवाह गराइयो | विकल्पको रुपमा दलाल अनुमति बैंकलाई दिने र अर्को स्टक एक्सचेन्ज ल्याउने तदर्थ निर्णय गरियो | यस्ता तदर्थ निर्णयले के कस्तो गम्भीर असर पर्छ भन्ने पूर्वानुमान गर्न सकिने भए पनि गरिएन | दलाल अनुमति बैंकलाई दिने भनेर बाँदरलाइ लिस्नोहाले झैँ वोर्डले बोलिदिए पछी बैंक पनि अनेक तरकिव लगाउन थाले | बैंक पनि आफ्नो मुख्य व्यवसाय गर्न छाडेर दलाल व्यवसाय गर्छु भन्दै दश हात माथि उफ्रेर आए | बैंकले दलाल अनुमति मागे पनि दिन मिल्दैन भन्नुपर्ने थियो तर उल्टो भइदियो |

......रुम्जाटार

अहिले दलाल र लगानीकर्ताको सम्बन्ध अत्यन्त चिसो बनेको/बनाइएको छ | यहाँ मेकालेले भने झैँ विश्वास तोड्ने कार्य सफल भएको छ | सतहीरुपमा हेर्दा दलाल र लगानीकर्ताबीचको सम्बन्ध बिग्रिएको देखिए पनि यथार्थमा वोर्ड र लगानीकर्ताको सम्बन्ध बिग्रिएको हो | दलाल र स्टकमाथि अविश्वास गर्नेले वोर्डलाई पनि अविश्वास गर्नसक्छन | ८० प्रतिशत बैंकको शेयर रहेको बजारमा त्यही बैंकको सहायक कम्पनीलाई दलाल अनुमति दिँदा बजारमा कसरी सुशासन, पारदर्शिता र स्वार्थरहित कायम राख्न सकिएला वोर्डले नै सबैभन्दा बढी सोच्नुपर्ने हो | अहिलेको विवाद घुमीफिरी रुम्जाटार भने झैं बैंकलाई दलाल अनुमति दिने र अर्को स्टक ल्याउनेमा केन्द्रित छ | अरु सबै विषय तपसिलका हुन् | वोर्ड आफैले शेयरबजार वित्तीय क्षेत्र हो भन्ने विषयमा सहमति जनाइ तालुकदारलाइ पत्राचार समेत गरेको छ | मेकाले प्रवृति चिनौं र शेयरबजारलाई पूर्ववत सहज र सुदृढ बनाउन लागौं |


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...