समय : २०४०/४१
अहिले १ कक्षा पुग्न ३ वर्ष लाग्छ तर, हाम्रो पालामा विद्यालय जानासाथ १ कक्षामा पुगिन्थ्यो | मैले पनि १ बाटै शुरु गरेको हुँ l पढ्ने किताव र कापी सबैको काठको पाटी नै हो l यस्तो पाटीमा दलिनमा हुने ध्वाँसोले लिपिन्थ्यो l अनि यसमा खरीले लेख्न सिकिन्थ्यो l घर नजिकको निमावी स्कुलमा शुरुमा पढ्न गए पनि खै किन हो त्यहाँ मेरो लागि वातावरण उचित भएन l
घर नजिकको स्कुलमा वातावरण नबनेपछि मलाई बुबाले घरदेखि झन्डै १ घण्टा समय लाग्ने मावि स्कुलमा लगेर भर्ति गरिदिनु भो l यो विद्यालयको कथा पनि गजबको छ l खासमा यो विद्यालय मेरै गाउँ (बुलुंग) को बुलुंगसिममा आएको रहेछ तर, अहिले भएको ठाउँको नाम बुलुंगसी थियो l बुलुंगसिमलाई बंग्याएर बुलुंगसीमा राखिएछ l यो विद्यालय तत्कालिन शिक्षामन्त्री भोजराज घिमिरेले उद्घाटन गरेका हुन् भन्ने सुनेको छु l हुनत विद्यालयको लागि उपयुक्त स्थान बुलुंगसी नै थियो l पर्याप्त खुला ठाउँ र ठुलो चौर पनि भएकोले बुलुंगसिम भन्दा राम्रो छ l टाढा भए पनि यस विद्यालयमा मेरो लागि वातावरण राम्रो बनेछ र रमाइलो मानेर गएँ l मावि भएकोले होला मलाई शुरुमै किताव मिल्यो l
मंगसिरमा जाँच हुन्थ्यो l सबै जना जाँच जाँच भन्थे आफुलाई जाँच भनेको के हो थाहा थिएन l जाँचको दिन सबैलाई गोलो घेरा हालेर चौरमा बस्न भनियो l हुनत पढ्ने पनि बाहिर नै थियो तर, त्यो चाहिँ विद्यालय भवनको छेउमा हुन्थ्यो l शिक्षकले २ पाना कापी दिए र त्यसमा आफ्नो नाम रोल नं. लेख्न भनियो l अरु के के लेख्न लगाए अहिले बिर्सिएँ l यसैगरी जाँच सक्कियो, स्कुल विदा भयो र खै कुन दिन हो स्कुल आउनु भनिएको थियो l
म सो दिन स्कुल गएँ l एकजना सायद शम्भु गिरी भन्ने मलाई तिमी फस्ट भयौ म सेकेण्ड भनेर सुनाएको थियो l उसले पनि आफैल जानेर भनेको हैन l सायद उसका काका (वेदबहादुर गिरी) ले उसलाई भनेको हुनुपर्छ l किनकि वेद माथिल्लो कक्षामा भएको हुँदा भनेको हुनुपर्छ l अनि मैले यो के भनेको के हो भनेर सोधें उसले अब तिमीले ३ वटा कापी र सिसाकलम पाउँछौ भनेको थियो l मलाई त पत्यार पनि लागेन l नभन्दै कुनै एकदिन कक्षा १ मा प्रथम हुने ज्योति दाहाल भनेर बोलाएका थिए l म फूर्तिसाथ उठेर गएँ र कापी लिएको थिएँ l
त्यसपछि म दुइ कक्षमा पुगें एवम क्रमले कक्षा चढ्दै गइयो l प्रथम पनि मेरो हातबाट बाहिर गएन l ६ कक्षामा पुगेपछि विभिन्न प्रावि स्कुलबाट सायद ६ जना प्रथम भएर आएका थिए l झन्डै झन्डै वार्षिक परीक्षा हुने बेलामा एक किशोरी रामेछापवाट आइन l उनलाई किन ल्याइयो भन्ने थाहा छैन l उनी राम्रो पढ्ने विद्यार्थी थिइन् l स्कुल भएको गाउँको प्रधानपन्चको भदैनी रहिछन l
त्यो वर्ष ६ कक्षाको परिणाम निकाल्ने बेलामा निकै रस्साकस्सी परेछ l मेरो कुल अंक ४ सय ८१ उनको ४ सय ६१ आएछ l यो अंक उल्टो पार्न धेरै प्रयास भएछ तर, मेरै गाउँका एक शिक्षक (कैलाश खड्का) ले यो कुरा थाहा पाए पछि त्यसो हुन् दिएनन र म ७ जना यस्ता प्रतिस्पर्धीलाई उछिनेर प्रथम भएँ l
त्यो वर्ष स्कुलभरिमै धेरै अंक ल्याउनेमा म २ अंकले पछि परें l संयोगले मेरै दाई नाता पर्ने केशव खतिवडा ४ सय ८३ अंक ल्याएर विद्यालय प्रथम हुनुभएछ l दाई सायद त्यतिबेला ८ कक्षामा हुनुहुन्थ्यो जस्तो लाग्छ l
अर्को वर्ष ७ कक्षामा उनै प्रधानपन्चको भदैनी ५ सय ४६ अंक ल्याएर प्रथम र म ५ सय ३६ अंक ल्याएर द्वितीय हुन् बाध्य भएँ l त्यो वर्षको परीक्षाफल स्वीकार गरिन l सबै विषयको अंक मलाई चित्त बुझेन र मेरै गाउँका एकजना दाई लव खडका (हाल स्वर्गीय) ले यो हुँदै हुन्न भनेर साथ् दिनुभयो l
दाईको सहयोगमा तत्कालिन प्रधानअध्यापक बलरामप्रसाद शिवाकोटी (सुनखानी, दोलखा) लाई भेट्यौं l बलराम सर, जिरीबाट त्यस विद्यालय आउनु भएका प्रेम पाख्रिन सर (मिर्गे, दोलखा), लब दाई र म विद्यालयको पछाडी पट्टि बसेर कुरा गरियो l दुबै सरले मेरो कुरा जायज भएको तर, आफूले केही गर्न नसक्ने बताउनु भयो l लब दाईले पनि भइगो छोडीदेउ भन्नुभयो l मैले त्यतिबेला पुरस्कार दिने बेला मेरो नाम उच्चारण नगर्नु होला भनेर चेतावनी दिएँ l
मैले त्यसवर्ष एकदिन पनि हाजिर गर्दा येस सर भनिन l त्यत्तिकै हाजिर लगाए होलान सायद, मैले हेर्दा पनि हेरिन l प्रथम भएकी ति किशोरी पनि आफु प्रथम भएकोमा खास खुशी भएकी मैले महसुस गरिन l
पुरस्कार दिने दिन आयो म उपस्थित भएँ तर, मेरो नाम उच्च्चारण भएन l प्रथम भएकी ति किशोरी अनुपस्थित भइन l यदि मेरो नाम लिएको भए म त्यो पुरस्कार दुई शिक्षकलाई त्यहि समारोहमा दिने बिचारमा थिएँ l ति दुइजना शिक्षक बलराम शिवाकोटी र प्रेम पाख्रिन हैनन् अरु नै थिएँ l
८ कक्षामा म प्रथम ति किशोरी द्वितीय भयौं त्यसपछि मैले त्यो विद्यालय छोडें ति किशोरीले पनि छाडीछन् l
उनी रामेछाप नै फर्किइन् भन्नेसम्म सुनेँ l धेरैपछि उनीसँग काठमाडौंमै भेट भयो l उनीले ७ कक्षामा आफु प्रथम भएकोमा कुनै खुशी नभएको बताईन l त्यो कुरा ८ कक्षा पढ्दा नै मैले महसुस गरेको थिएँ l अचेल ति कता के गर्दैछिन् केही थाहा पत्तो छैन l
संक्षेपमा विद्यालयको परिचय
मैले पढेको मेरै गाउँको पहिलो विद्यालयको नाम श्री शारदा निम्न माध्यमिक विद्यालय थियो अहिले माध्यमिक भएको छ l अनि एक घण्टा परको विद्यालयको नाम श्री शान्ति आदर्श माध्यमिक विद्यालय लादुक हो l लादुक स्कुलको नामले चिनिन्छ l दोलखा जिल्लाको पुरानो मध्येको र उत्तरी क्षेत्रको त्यतिबेलाको एकमात्र माध्यामिक विद्यालय हो l
यसको स्थापना २०३४ सालमा भएको हो l अहिलेका बालबालिका मन्त्री पार्वत गुरुङले यहीँ पढेका हुन् l २०४८ को संसदीय चुनावमा विजयी जितवीर लामा जिम्वा र जिल्ला विकास समिति दोलखाको सभापति हुनुभएका लालकुमार केसी पनि यहिँ शिक्षक थिए l पूर्व अन्चालाधिश एवम् पूर्वान्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक जगदीश खड्काले पनि सम्भवत यहीँ पढेका हुनसक्छन l जगदीश खडका दाई स्कुल भएकै गाउँको वासिन्दा भएको हुँदा पढेको अनुमान गरेको हुँ l
No comments:
Post a Comment