विद्यालय पढ्दा हामी एउटा खेल खेल्ने गर्थ्यौं ।
यसको नाम ‘ग्याम्बल’ भन्थे । यो खेलमा दुबैतिर बराबर वा घटीबढी पनि हुन्थ्यो ।
खेल सामग्रीमा ५, ७ वा ९ वटा चप्लेटी परेका वा
नमिलेका ढुङ्गा र १ वटा रवर वा थाङ्नाको भकुण्डो हुन्थ्यो । खेल पहिले कसले शुरु
गर्नें भन्नलाई गाई कि त्रिशुल वा ढुङ्गामा थुकेर घाम कि पानी गरेर पालो
तोकिन्थ्यो ।
उल्लेखित ढुङ्गा थुपारेर माने जस्तो बनाइन्थ्यो ।
पालो जित्ने समूहले निश्चित दूरीबाट भकुण्डोले हानेर माने ढाल्नुपर्थ्यो । एकजनाले
३ पटक पालो पाउँथ्यो । मानेको अर्कोपट्टी छेउमा अर्को पक्षको खेलाडी भकुण्डो समाउन
बस्थ्यो । माने ताकेर हानेको भकुण्डोले मानेलाई नलागी गएको भकुण्डो मानेको अर्को
छेउमा बसेकोले दुइ हातले च्याप्प समातेमा भकुण्डो हान्नेको पालो जान्थ्यो । एवम्
क्रमले कसैले पनि माने ढाल्न नसकेमा त्यसको पालो जान्थ्यो र विपक्षीको पालो आउँथ्यो
। भकुण्डो हान्दा उचालेर हान्न पाइन्नथ्यो । कम्मरमुनिबाट जमिनसँग समानान्तर पारेर
मानेलाई ताक्नुपर्थ्यो ।
माने कुनै पनि समुहले माने ढालेपछि माने ढाल्ने
समुहले त्यो भकुण्डो लात्ताले गुडाएर टाढा टाढा लानुपर्थ्यो र यतिबेला त्यहि
समूहले ढालिएको माने उठाउनपर्थ्यो । अर्को समुहले लात्ताले भकुण्डो गुडाउनेवाट भकुण्डो
खोसेर त्यसलाई त्यहि भकुण्डोले गोलीगाँठा भन्दा माथि हिर्काउनु पर्थ्यो । यसरी
हिर्काएमा त्यो समुहले पालो गुमाउने हुन्थ्यो र माने उठाएर अर्को समुहले माने
ढाल्ने कार्य शुरु हुन्थ्यो तर, यसो गर्दा खेल ढिलो हुनेहुँदा पहिले ढलेको मानेलाई
नै पछिल्लो समुहले ढालेको मानेर खेल जारी हुन्थ्यो ।
माने ढाल्ने समुहले आफ्ना कुनै सदस्यलाई अर्को
समूहले भकुण्डोले हान्नु अघि नै माने ठड्याएमा त्यो समुहले खेल जित्थ्यो ।
कथंकदाचित भकुण्डो गुडाएर लाने क्रममा वा अर्को
समुहले भकुण्डो गुडाउनेलाई हान्दा डिलमुनि पुगेर भकुण्डो हराएमा माने उठाउन रोक
लगाइन्थ्यो । भकुण्डो नभेटिएसम्म रोक कायम रहन्थ्यो । हराएको भकुण्डो खोज्न दुबै
समुह लाग्थ्यो र भेटिएपछि सहज ठाउँमा आएर भकुण्डो गुडाउने समुह तितरवितर हुन्थ्यो
र खेल जारी हुन्थ्यो र माने उठाउन पाइन्थ्यो ।
यो खेलमा न समय तोकिएको हुन्थ्यो न माने उठाउने
संख्या । मन लागुन्जेल खेलिन्थ्यो । हारजित त हुन्थ्यो तर, पैसा लेनदेन हुन्नथ्यो ।
शारीरिक अभ्यास खुबै हुन्थ्यो । कडा मेहनत हुने भए पनि भोक पनि लाग्दैनथ्यो । घर
पुग्दा केही खानेकुरा पाए खाइन्थ्यो नत्र घरको काममा लागिन्थ्यो ।
यो खेल मैले मेरै गाउँ (जिल्ला दोलखा) मा धेरै
खेलेको छु । अन्त कहाँ कहाँ यस्तो खेल प्रचलित थियो थाहा छैन र यसको खास नाम के हो
पनि थाहा छैन ।
यस्तै किसिमको खेल अरु कसैले खेल्नुभएको छ ?
No comments:
Post a Comment