Friday, May 1, 2020

राहतको नाममा आहत : राफसाफ विषयमा धितोपत्र बाेर्डको बदनियत


कोरोना त्रासका बीच अहिले धितोपत्र बजार मात्रै होइन, देश नै स्थानहद (लकडाउन) मा छ । स्थानहदका कारण पुगेको क्षतिलाई न्यून गर्न सरकारले राहतका कार्यक्रम अघि बढाएको छ । तर, धितोपत्र बजारमा वित्तीय अपराधीकरण देखा परेको छ l सरकारले धितोपत्र बजारका कारोबारीलाई राहतको नाममा आहतदिने निर्णय गरेको छ l यसको पछिल्लो उदाहरणको रूपमा सरकारले गरेको हास्य निर्णयलाई हेरेर यस्तै भन्न सकिन्छ l सरकारले गरेको धितोपत्र बजारतर्फको राहत निर्णय अनुसार (क) धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरूको राफसाफ गर्ने समयावधि २०७७ असार मसान्तसम्म कायम गर्ने र (ख) धितोपत्र ऐन बमोजिम सूचीकृत कम्पनीले बुझाउनुपर्ने विवरणहरू बुझाउने म्याद २०७७ असार मसान्तसम्म कायम गर्ने रहेका छन् l

राफसाफ के हो ?

राफसाफ भनेको किनिएको र बेचिएको शेयर बिक्रेताको नामबाट खारेज गरी किन्नेको नाममा नामसारी गर्ने साधारण प्रक्रिया हो l राफसाफ प्रक्रिया कारोबार भएको दिनबाहेक ३ कार्य दिन अर्थात् जम्मा ४ दिनको हुन्छ l दृष्टान्तका लागि आइतबार कारोबार भएको शेयर बुधबारसम्ममा राफसाफ भइसक्छ l यति कार्य गर्न कुनै जटिलता नहुने हुँदा यो सामान्य क्रिया हो l विकसित देश जस्तै भारतमा कारोबार दिनसहित ३ दिनमा राफसाफ सम्पन्न हुन्छ l  नगद र शेयर दुवैको राफसाफ सँगसँगै हुन्छ l  राफसाफको विषय कहिल्यै पनि जटिल बन्दैन l

कति बाँकी होला ?

२०७६ साल ६ र ९ चैतमा  कारोबार भएको शेयर स्थानहदका कारण राफसाफकर्ता सेन्ट्रल डिपोजिटरी सिष्टम (सीडीएस) ले उल्लेखित २ दिनमा कारोबार राफसाफ गर्ने म्याद स्थानहद थपिएसँगै पछि सार्दै लगेको छ l यस हिसाबले यो राफसाफ स्थानहद खुलेको दिनलाई कारोबार दिन मानेर राफसाफ गर्न कुनै कठिनाइ हुन्न l राफसाफ हुन बाँकी शेयर यही २ दिनको मात्र हो l  ६ चैतमा  भएको कारोबारको पुँजीगत लाभकर गणना गर्ने लगायतका काम सम्पन्न भएर क्रेताको खातामा शेयर पठाउने कार्य मात्र बाँकी रहन्छ, जुन १० गते सम्पन्न गर्नुपर्ने हुन्छ l

७ गते शुक्रबार परेको हुँदा यस दिन कारोबार भएको छैन l स्थानहद खुलेको दिन हुने कारोबार र अघिल्लो बाँकी रहेको २ दिनसमेत ३ दिनको कारोबार राफसाफ गर्न कठिनाइ हुने प्रश्न आउँदैन l  दैनिक कारोबार हुने लाखौँ कित्ता शेयर ४ दिनमा राफसाफ गर्न सक्ने क्षमता राख्ने सीडीएसलाई अघिल्ल्ला २ दिनका केही लाख कित्ता शेयर राफसाफमा कठिनाइ हुन्छ भनेर पत्याउन सकिन्न l

तसर्थ कारोबार खुलेको पहिलो दिनमा नै उक्त शेयर (अघिल्ला २ दिनका) कारोबार भएको मानेर राफसाफ हुन नसक्ने प्रश्न हुन्न l  कठिनाइ नै देखिने स्थिति आएमा अघिल्लो २ दिनको कारोबार राफसाफ गर्नका लागि बढीमा १ हप्ता समय लाग्न सक्ने कुरालाई भने केही हदसम्म स्वीकार गर्न सकिन्छ l

बदनियत कि सदनियत ?

सतही रूपमा हेर्दा यो निर्णय राम्रोजस्तो लाग्न पनि सक्छ । तर, यसमा बदनियतको चरमस्वरूप देख्न सकिन्छ l पछिल्लो समय शेयरबजारमा कानुनले बर्जित गरेको 'सर्ट सेल' नियमक धितोपत्र बोर्ड, सीडीएस र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाकैमुनि हुँदै आएको छ l यत्ति हुँदा पनि नियमकले पत्तो नपाए झैँ गरेर आँखा चिम्लेको छ l 'सर्ट सेल' भनेको आफूसँग नभएको शेयर उच्च मूल्यमा बेचेर सोही दिन सोही कम्पनीको त्यति नै कित्ता शेयर बेचेको मूल्यभन्दा कम मूल्यमा किन्ने विधि हो l कथंकदाचित बेचेको मूल्यभन्दा माथि गएमा सोही मूल्यमा जसरी पनि किन्नुपर्छ, नत्र क्लोज आउट पर्छ र यसो भएमा अक्सन मार्केट (अक्सन मार्केट सञ्चालनमा आएको भने छैन) मा बढी मूल्य तिरेर किनेर दिनुपर्छ l अक्सन मार्केटमा पनि शेयर नपाइएमा क्लोज आउट परेको मूल्यको २० प्रतिशत जरिमाना तिर्नुपर्छ l क्लोज आउट जरिमाना तिर्नु अझ महँगो पर्छ l  हो, यस्तै सर्ट सेलको सिद्धान्त (सर्ट सेल जस्तै) विपरीत उच्च मूल्यमा शेयर बेचेर त्यसको कयौं दिनपश्चात् मूल्य घटेपछि किनेर दिने गरिएको भन्ने चर्चा आम भएको छ l

भूल वा अन्जानमा गलत अंक बिक्री आदेश प्रविष्ट भएको भनेर उन्मुक्ति लिने प्रयासस्वरूप राफसाफ मिति नै सारेको भन्ने पनि चर्चा आएको छ l यस विषयमा औपचारिक रूपमा बाहिर नआए पनि दलाल संघका अध्यक्षले पत्रिकामा बोलेर स्वीकार गरेका छन् l  यस हिसाबले यस मामला (सर्ट सेल जस्तै कारोबार) मा केही दलाल, नेप्से, सीडीएस र धितोपत्र बोर्डको मिलेमतो छैन भन्ने ठाउँ छैन l  राफसाफ मिति असार मसान्त कायम गर्नुको पछाडि यस्तै कारोबारी (सर्ट सेलर) को गोजी भरिदिनुबाहेक अरु नियत देखिन्न l  

अनुत्तरित प्रश्न

आफ्नो खातामा शेयर भएर ६ र ९  चैतमा शेयर बेचेका बिक्रेताले राफसाफका लागि निर्देशन पुर्जी जारी गरिसकेका छन् भने ९ गते किनेका केहीले पैसासमेत बुझाइसकेका हुन्छन l के आफ्नो सम्पत्ति बेचेका बिक्रेताले क्रेताले बुझाइसकेको रकम लिन पनि असार मसान्त नै पर्खनुपर्ने हो ? निर्णयले त यसै भन्छ l ६ गते किनेका अधिकांशले रकम भुक्तान गरिसकेका हुन सक्छन् l ९ गते रकम भुक्तान नगरेकाले निर्णय अनुसार असारको अन्तिम दिन भुक्तानी गर्न पाउने नै हुन्छ l  यसो गर्दा बिक्रेताले रकम पाउने समय साउनको पहिलो हप्ता हुन्छ l  ९ गते शेयर किनेका र रकम भुक्तान गरिनसकेका क्रेतालाई सबैभन्दा बढी राहत यो निर्णयले पुग्छ l  किनिक किनेको शेयर पनि आउँदै गर्ने र उक्त शेयर किनेबापत भुक्तानी गर्न ठिक्क पारेको रकम अब बजार खुलेपछि मजाले लगानी गरेर नाफा लिन सक्ने भयो l

के यसैलाई राहत भनिएको हो ?  ल ठीक छ किन्नेलाई त राम्रै राहत भयो, बेच्ने किन आहत ? बेच्नेलाई किन्नेले दिनुपर्ने रकम सरकारले दिने हो भने यसलाई ठीक कदम र उचित राहत भन्न सकिन्छ । तर, यस्तो त पक्कै हुनेवाला छैन भने यस्तो बहुलठ्ठी निर्णयको आधार के हो ?

सिफारिस कसको ?

नेपाल धितोपत्र बोर्ड नेपाल सरकारको पुँजीबजार सल्लाहकार हो l सरकारलाई यस्तो सिफारिस गर्ने कार्य बोर्डबाहेक अरुले गर्न सक्दैन । किनकि अन्य निकाय बोर्ड अधीनस्थ हुन्छन् l यसमा राफसाफकर्ता सीडीएसले कारोबार गराउने नेप्सेमार्फत बोर्डलाई सिफारिस गरिदिन पत्राचार गरेको हुन सक्छ l  यस्तो पत्राचार पश्चात् बोर्डले आफ्नो तालुकी निकाय अर्थ मन्त्रालयलाई सिफारिस गरेको हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न l

बोर्डले यस्तो बहुलट्ठी सिफारिस किन र कसका लागि गरेको हो ? बोर्डको कार्य र नियत शंकाको घेरामा छ l त्यस्तै, बोर्डलाई बुझाउनुपर्ने विवरण बुझाउने समय असार मसान्त कायम गराउनु पनि अनुचित निर्णयको लागि सिफारिस भएको छ l यस्तो निर्णय आउनुअघि नै सिटिजन्स र प्राइम बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् l अन्य कम्पनी पनि विवरण सार्वजनिक गर्ने क्रममा रहेको अनुमान गर्न सकिन्छ l यस्ता विवरण सार्वजनिक गर्ने समयावधि ३५ दिन रहेको हुन्छ l तर, नेपाल राष्ट्र बैंकले यस्तो विवरण सार्वजनिक गर्ने समयावधि ३० दिन तोकेको छ l कम्पनीलाई यस्ता विवरण सार्वजनिक गर्न समस्या छैन भन्ने २ ठूला वाणिज्य बैंकले पुष्टि गरिसकेका छन् l

चैत मसान्तमा सार्वजनिक गर्नुपर्ने विवरण प्रकाशन नगरी लुकाउनु भनेको ३ महिनाभित्रमा भित्रभित्रै अर्को खिचडी पकाउनु हो l यस्ता विवरण प्रकाशन रोक्नुको पनि औचित्य छैन l कम्पनीले जस्तो छ, त्यस्तै विवरण दिने हो l कम्पनी घाटा नाफामा जान सक्ने कुरालाई ३ महिनासम्म रोकेर नाफामा लान सकिन्न l यस्ता बदनियतपूर्ण तवरबाट गरिएको निर्णय स्वत: खारेज गर्नुको विकल्प छैन l

वैशाख १९, २०७७, शिलापत्र 


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...