Thursday, July 20, 2017

शेयर बजारका मिठा अनुभव, तिताकुरा

शेयर बजारमा मेरो श्रीगणेश

बि.स २०५४ सालमा नेपाल ल क्याम्पसमा स्नातक तहको अध्ययन शुरु गरें । दुइवटा ऐच्छिक विषयहरु रहेछन् । मैले एउटा विषय कम्पनी कानुन रोजें । यो विषयको अध्ययनबाट रमाईलो के बुझियो भने कम्पनीमा शेयर लगानी गर्ने शेयरधनीको दायित्व सिमित हुने रहेछ । नाफामा पुरै सहभागी बन्न पाइने तर कम्पनी खारेजी वा दामासाहीमा परेमा आफुले कबुल गरेको शेयर रकम बाहेक अन्य केही तिर्नु नपर्ने हुँदोरहेछ ।

कम्पनी र कम्पनीका संचालकको हैसियत समेत अलगअलग हुने निकै रमाईलो निर्णय Lee vs Lee's Air Farming Ltd को मुद्दामा बेलायती अदालतले दिएको ऐतिहासिक नजिर पढियो । आज सम्म पनि संसारभरी यसलाई मान्यता दिइन्छ । सोलोमन विरुद्ध सोलोमन एण्ड कम्पनी लिमिटेडको अर्को एउटा मुद्दामा शेयरधनीको व्यक्तिगत जायजेथाबाट कम्पनीका साहु तिर्नुपर्दैन भन्ने सिद्धान्त कायम भयो । यो शेयरधनीको सिमित दायित्व सम्बन्धि विषय थियो । यसलाई पनि अहिलेसम्म संसारभर अवलम्बन गरिन्छ ।

शेयरमा लगानी गर्न हुने रहेछ भन्ने बुझे पनि लगानी भने गरिएको थिएन । किनकि त्यो बेला अहिले जस्तो प्रचार-प्रसार हुँदैन थियो । भएपनि लगानी गर्न कसरी कहाँ जाने थाहा पनि थिएन । बिस्तारै जानकारीहरु पाउंदै गएपछि लगानी गर्न शुरु गरें । कम्पनी कानुन नै मेरो लागि ठूलो प्रेरक थियो ।

पहिलोपटक तत्कालिन सानिमा विकास बैंकको प्राथमिक शेयरमा लगानी गरेको थिएँ । तर बाँडफाँडमा परेन । त्यसपछि ग्लोबल बैंक, त्रिवेणी विकास बैंक लगायत त्यो समयमा खुलेका प्रायस् सबै कम्पनीमा अलि अलि लगानी गरे पनि पहिलोपटक नेरुड़े लघुवित्तमा १० कित्ता शेयर परेर विधिवत शुरु भयो । त्यसपछि क्रमशः अन्य कम्पनीमा पनि पर्दै गयो ।

दोश्रो बजारबाट किनेको पहिलो स्टक

पहिलो बजार बुझेपछि दोस्रो बजारमा छिर्नुपर्छ भन्ने थाहा भए पनि कुन दलालकोमा जाने ? कसरी जाने ? केहि थाहा थिएन । हिंड्दा दलाल कार्यालय नदेखेको पनि हैन तर खै किन हो त्यहाँ छिर्ने आँट आएन । लोक सेवा आयोगको तयारी गरिरहेको बेला एक जना साथीले आफुले कारोबार गरिरहेको दलालकोमा जान सल्लाह दिए । उनकै नाम लिएर त्यहाँ छिर्दा सजिलो भयो ।

यो कुरा २०६८ साल कार्तिक तिरको हो । सिजी कम्यूनिकेशन (साविकको एसटिएम टेलिकम) मा नियमन विभागमा काम गर्न थालेपछि कम्पनीको लागि चाहिने विदेशी मुद्रा सटही सिफारिसको लागि केन्द्रीय बैंक निरन्तर जानुपर्थ्यो र त्यहाँ बिभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट हुन्थ्यो । त्यहिँबाट मैले बैंकको वासलात नाफा नोक्सान हिसाब र अन्य सूचकहरु हेर्न सिकें ।

यहि आधारमा कुन कम्पनीको शेयर किन्ने भन्ने निर्णय लिन सक्ने क्षमताको विकास गरें । त्यति बेला शेयरको भाउ अत्यन्त तल झरेको थियो । कम्पनीको वासलात राम्रो भएपनि घोषित लाभाँस भन्दा तल भाउ झरेको थियो ।

यसपछि भने यस्तै कम्पनी हेर्न थालें । मलाई बोनस शेयरको बारेमा खासै जानकारी थिएन । मेरो बुझाई लगानी अनुसारको प्रतिफल आउने कम्पनीको शेयर किन्नुपर्छ भन्ने थियो । अरनिको बैंकले १४ प्रतिशत नगद घोषणा गरेको थियो तर भाउ ९० थियो यो पनि फाइदाको हो भनेर लिएँ ।

मिठैमिठा अनुभवहरु

वासलात हेरेर किन्ने बानी परिसकेकोले यो बेकार किनेछु भन्ने कहिल्यै भएन बरु अलि धेरै किन्नुपर्ने रहेछ भन्ने मात्रै भयो ।

पछुतो हुने गरी कुनै पनि शेयर बेचिएन । सिटी डेभलपमेन्ट बैंक (अहिले ओम) को त्यो बेला ११८ सम्म झरेको थाहा छ । एकजनाले १४५ मा किनेको देख्दा म आत्तिएको थिएँ । १०८ मा किनेको कामना पछी १३४ देखि २५५ सम्म किनें । नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर ८४० मा किनेको नै अहिलेसम्मको महँगो शेयर हो । बैंक बाहेक अन्य शेयर किनेको छैन । पूँजीगत लाभ भन्दा प्रतिफल लाभको लागि किनेको छु । प्रतिफल मात्रै हेरेकोले बजारको सूचक जति घटे पनि मेरो मूलधन कहिले पनि घट्दैन ।

सेबोनले बिगारेको बजार

बजार अस्थिर छ । अस्थिर बनाउने अरु कोहि नभएर नियमक नेपाल धितोपत्र वोर्ड हो । वोर्डको बेला न कुबेला बेमौसमी वक्तव्यले बजार सुरक्षित हुन दिएको छैन । लगानीकर्ताको हितका लागि भन्छ तर लगानीकर्तालाई नराम्रोसँग निमोठी दिन्छ ।

बजार विकास हुन सकेकै छैन । कोहि पनि लगानीकर्ता सुरक्षित हुन सक्ने अवस्था छैन । यसको दोष सेबोनलाई नै जान्छ  सेबोनले गर्नुपर्ने काम गर्दैन तर निमोठ्न भने जानेको छ । वोर्डले आफू मातहतमा रहेका स्टक एक्सचेन्ज, केन्द्रीय निक्षपन, दलाल, निक्षेप सदस्य र मर्चेन्ट बैंकलाई प्रतिस्पर्धी जस्तो ठान्छ । जबकी यी कुनैपनि निकाय प्रतिष्पर्धी हैनन् एक अर्काका परिपुरक हुन् । सेबोनले अभिभावकत्व लिनुपर्नेमा उल्टो खेद्छ । लगानीकर्तालाई चाहिने सूचना दिलाउनु पर्नेमा कम्पनीलाई सरक्षण दिन्छ । काम गराई हेर्दा सेबोन कम्पनीको मालिक जस्तो देखिन्छ । कम्पनीको सुशासन पक्ष के छ त्यसबारे वोर्ड अनभिज्ञ छ । यस सम्बन्धि निर्देशिका नै जारी गरेर अनुगमन र निरीक्षण गर्नुपर्छ ।

अहिले बजारमा बैंक र विमा बढी छन्, यिनका क्षेत्रगत नियमकले केहि हदसम्म हेर्ला तर भोलिका दिनमा अन्य कम्पनीको लागि त हेर्नुपर्ने र गर्नुपर्ने सेबोनले हो ।

अरुको हेरेर सिके पनि हुन्छ

संसारका प्रायः सबै पूँजीबजारले संकटको सामना गरिसकेका छन् र यस्ता संकटले उनीहरुलाई पाठ सिकायो र सोहि अनुरुप नियमन गर्न थाले र ति बजारहरु लगानीका लागि सुरक्षित बने । अन्त नजाउँ छिमेकी देश भारत र बंगलादेशको पूँजीबजार अहिले शसक्त बनेका छन् । भारतलाई हर्षद मेहता र सत्यम कम्प्युटर्सले धेरै कुरा सिकाएर गयो । बंगलादेशमा १९९६ र २०१०/११ मा घटेको घटनाले पाठ सिकायो । यो घटनाको छानविन गर्न बंगलादेश बैंक (केन्द्रीय बैंक) का का पूर्व गभर्नर इब्राहिम खालिद समितिले ढाका स्टक एक्सचेन्जका पूर्व अध्यक्ष रकिबुर रहमान, बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको अध्यक्ष जियाउल खान्देकर, सदस्य मन्सुर आलम र बंगलादेश नेशनलिस्ट पार्टीका नेता मोसादेक अलि फालु समेतलाई दोषी ठहर गर्दै प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा कमिसनको शिघ्र सुधार गर्न समेत सुझाव दिएको थियो ।

यसैको परिणामस्वरुप कमिसनको सुधार प्रक्रिया शुरु भयो । शेयरबजार सम्बन्धि मुद्दा हेर्न छुट्टै न्यायधिकरण गठन गरियो । यसघि ढाका म्युनिसिपल मजिष्ट्रेटको अदालतले सुनुवाई गर्थ्यो । न्यायधिकरणको स्थापना पछी १९९६ को मुद्दा समेत यसै अदालतमा सरेको थियो ।

अहिले कमिसनमा ढाका विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रका प्राध्यापक एम. खैरुल हुसेन अध्यक्ष रहेका छन् । हुसेनको आगमनपछि ढाका र चटगाउँ दुबै स्टक एक्सचेन्जको डिम्युचुलाईजेसन शुरु भएको छ र यससम्बन्धी कानुन समेत बनिसकेको छ ।

यस्तो गतिविधि देख्दा अगुल्टाले हानेको कुकुर विजुली देख्दा तर्सन्छभने जस्तो हाम्रो बजारलाई पनि अगुल्टाले हान्ने हर्षद मेहता नै जन्मनु पर्ने हो कि ? नत्र भने यत्तिका घटना देखेपछी त्यहाँको नियमकले गरेको देखेर हाम्रो नियमकले सिक्नुपर्ने हो । पूँजीबजारको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति र कार्यनीति बनाएर अघि बढ्नुपर्ने हो । बैंक र विमाको मात्र एकछत्र वर्चश्व रहेको बजारमा अन्य क्षेत्रका कम्पनी ल्याउनको लागि सेबोनले धेरै गर्न बाँकी छ । कम्पनी ल्याएर मात्र हुन्न लगानीकर्ताको हित हुने प्रकारले त्यसको लागि सयन्त्र पनि बनाउनु पर्छ । अरु सबै देशका कारोबार इन्टरनेटमा आधारित स्वचालित प्रणालीमा गए हामी अहिले पनि आदेश फाराम भरेर बसेका छौं र सेबोन यहि फाराम भराउनुलाई गौरव मान्छ । भित्री र शृंखलावद्ध कारोबार वैधानिक जस्तै छ । जबकी यस्तो कारोबार दण्डणीय हो तर अरु सबैले देखेको यस्तो कारोबारको प्रमाण नै भेट्दैन, सेबोन ।
विकास भन्दा विनाशको बाटोमा

नियमक नै शसक्त हुन् नसकेको र पर्याप्त नीति नियमन सर्भेलेन्स नहुने भएकोले लगानी गर्दा प्रतिफल दिन सक्ने क्षमतालाई हेरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । यहि स्थिति रहने हो भने बजार अझ धराशायी हुन्छ । लगानीकर्ता अनुशिक्षण कार्यक्रम लागू गर्नुपर्छ । कुनै नीतिगत व्यवस्था नगरिएमा पूँजीबजार सुधार र विकास हैन बिनास तर्फ जान सक्छ ।







No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...