आजका दिनमा कसैलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कतिवटा
कम्पनीको सेयरमा लगानी गर्न सिफारिश गर्न सकिएला ?
सूचीकृत कम्पनीको आधारभूत पक्षलाई विश्लेषण गर्ने हो भने
कुनै पनि कम्पनीको सेयरलाई सिफारिस गर्न सकिँदैन ।
किनभने कुनै पनि कम्पनीको सेयरमा अन्तर्निहित र बजार मूल्य मेल
खाँदैन । सट्टेबाजी गर्ने हो भने जुनसुकै कम्पनीको सेयर किन्दा हुन्छ । सेयरमा
सट्टेबाजी र लगानी फरक कुरा हुन् । यस्तो जोखिमयुक्त दोस्रो बजारमा अर्को
एक्सचेन्जको आवाज किन उठिरहेको छ, त्यसको विश्लेषण गर्नु जरुरी छ ।
उच्च उतारचढावयुक्त बजारमा लगानीका अवसर कम हुन्छन्, सट्टेबाजी प्रशस्तै । बजार गहिरो भयो, परिपक्व भयो भने उतारचढाव कम हुन्छ, लगानीका अवसर धेरै । हाम्रो बजारलाई
गहिरो बनाउन गर्नुपर्ने काम धेरै छन् । धेरैभन्दा धेरै कम्पनी बजारमा आउनुपर्छ
साँचो अर्थमा । नाम मात्रका लागि कम्पनीहरू सेयर बजारमा आउनुको तुक छैन, यसले लगानीकर्ताको हित हुँदैन ।
नेप्सेमा हुने कारोबारको न्यून अनुपात (७ प्रतिशतभन्दा कम अर्थात्
बजारमा सूचीकृत १ सय सेयरमा वर्षभरिमा ७ वटा मात्र किनबेच हुन्छ) ले यही संकेत
गर्छ । सर्वसाधारणलाई लगानी अवसर दिने हो भने हाम्रो बजारलाई गहिरो बनाउनुपर्छ ।
बजारलाई उर्लंदो बर्खे भेल होइन, एकनाशको प्रवाहयुक्त विस्तारित नदी बनाउनुपर्छ । अर्को एक्सचेन्जको
प्रसंगले भइरहेकै तलाउलाई पनि भत्काएर पोखरी बनाउन खोजिएको भान हुन्छ । एउटा
सुन्दर तलाउ भत्काएर दुईवटा छिपछिपे पोखरी बनाउनु कत्तिको जायज हो ?
पुँजीबजारले सर्वसाधारणलाई दिने भनेको लगानीको अवसर हो । यसले
उनीहरूको सम्पत्तिको उचित मूल्यांकन हुने कुशल संयन्त्र उपलब्ध गराउनुपर्छ । बजार
सञ्चालकले जोखिम व्यवस्थापन गर्ने सबल पद्धत्ति निर्माण गर्नुपर्छ ।
न्यून लागतमा कारोबार हुन सक्ने वातावरण बनाउनुपर्छ । स्टक
एक्सचेन्जहरू अस्तित्वमा आउनुको मुलभूत उद्देश्य यिनै हुन् । यिनै
उद्देश्यहरूमार्फत स्टक एक्सचेन्जले मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउने हो, सर्वसाधारणको आर्थिक कल्याण
सुनिश्चित गर्ने हो ।
के नयाँ एक्सचेन्जले उल्लिखित कुरा दिन सक्छ ? यी कुरा स्टक एक्सचेन्जको अधीनका
हुन् ? नेप्से यी कुरामा साँच्चिकै असफल भएको हो ? यी कुराको बृहत् समीक्षापश्चात् हामी
निष्कर्षमा पुग्न सक्छौं ।
लगानीको अवसर
लगानी अवसरको दृष्टिकोणबाट दुईवटा स्टक एक्सचेन्ज हुँदा अवस्था झन्
बिग्रने देखिन्छ । कतिपयले दुईवटा स्टक एक्सचेन्ज भए प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धाले सिर्जनशीलताको विकास
हुन्छ भन्ने तर्क गरेका छन् । कर्णप्रिय लाग्ने यो सिर्जनशीलताको प्रवद्र्धन
साँच्चिकै नयाँ एक्सचेन्जले गर्न सक्छ ?
हामीलाई विकसित मुलुकमा कारोबार हुने वित्तीय औजारका बारेमा जानकारी
नभएको हो कि ती औजारको प्रभावकारी माग नभएर हो, खुट्याउनुपर्छ । हामीकहाँ अहिले ऋणपत्रको कारोबार किन भइरहेको छैन ? किन सबै लगानीकर्ता सेयरमा केन्द्रित
भएका हुन् ? कुनै बेला च्याउ उमिएसरि आएका कमोडिटी एक्सचेन्ज अहिले कता हराए ? किनकि ती हाम्रो आर्थिक अवस्थासँग मेल
खाने खालका थिएनन् । ती हाम्रा आवश्यकता थिएनन् ।
मूल्य निर्धारण
स्टक एक्सचेन्ज वित्तीय औजारहरूको निरन्तर मूल्य निर्धारण गर्ने
अद्वितीय संरचना हो । निरन्तर मूल्य निर्धारण हुने प्रक्रियामा जति धेरै सहभागी
हुन्छन् त्यति नै यो कार्य प्रभावकारी हुन्छ । दुईवटा स्टक एक्सचेन्जले यसमा सहयोग
पु¥याउला ? दुईवटा स्टक एक्सचेन्ज भनिसकेपछि
यसले बजारमा विभाजन ल्याउँछ । खण्डीकृत बजारले मूल्य निर्धारण प्रक्रियालाई सहयोग
होइन, झन् कमजोर बनाउँछ । मूल्य निर्धारण प्रक्रिया अहिलेको भन्दा अझ विकृत
हुन्छ ।
जोखिम व्यवस्थापन
वित्त बजारमा दुई किसिमका जोखिम हुन्छन् । पहिलो, निर्मूल पार्न नसकिने प्रणालीगत
जोखिम हो । व्यक्तिगत लगानीकर्ताले मनोगत विश्लेषणका आधारमा गरेको लगानी निर्णयका
कारण सिर्जना हुने जोखिम दोस्रो किसिमको हो ।
नियमन निकाय तथा बजार सञ्चालकको ध्यान पहिलो किसिमको जोखिम
न्यूनीकरणमा हुनुपर्छ । ससाना बजारमा प्रणालीगत जोखिम उच्च हुन्छ । सेबोनको
वर्तमान नियमन तथा सुपरिवेक्षकीय क्षमतालाई दृष्टिगत गर्दा दुईवटा एक्सचेन्जले
जोखिम अझ बढाउने निश्चित छ ।
कारोबार लागत
आकारको मितव्ययिता एक महत्वपूर्ण आर्थिक अवधारणा हो । यो अवधारणाले
उद्योग–कलकारखानाको आकार जति ठूलो भयो, जति धेरै उत्पादन गर्न सकियो त्यति नै प्रतिएकाइ लागत कम हुने बताउँछ
। हाम्रो सेयर बजारमा पनि सहभागीको संख्या बढाउँदै लैजान सक्यौं भने, कारोबारको आकार बढ्दै गयो भने लागत
कम गर्दै जाने वातावरण बन्छ ।
कारोबार आकार बढेकै परिप्रेक्ष्यमा गत वर्ष धितोपत्र बोर्डले कमिसन
घटाएको थियो, लगानीकर्ताले राहत पाएका थिए । तर,
दोस्रो स्टक एक्सचेन्ज आउँदा, आजको एउटा ठूलो बजारको तुलनामा भोलि
दुईवटा साना बजार हुनेछन् । बजारले अहिले कायम आकारको मितव्ययिता गुमाउनेछ । त्यस
अवस्थामा दिगो रूपमा कारोबार लागत न्यूनीकरण गर्दै लैजाने सम्भावना कम हुन्छ ।
अर्कातर्फ, नेपालमा कारोबारको लागत निर्धारण गर्ने एक्सचेन्ज होइन, धितोपत्र बोर्ड हो । उसले चाह्यो र
आवश्यक देख्यो भने अहिल्यै नै कारोबार लागत घटाउन सक्छ, अर्को एक्सचेन्ज थप्नु पर्दैन ।
पारदर्शिता तथा खुलापन
पारदर्शिता र खुलापनले बजारमा कुशलता ल्याउँछ, वित्त बजारका ठगी जालसाजीलाई रोक्छ ।
हाम्रो बजारलाई कुशल बनाउन पारदर्शिता र खुलापनमा जोड दिनुपर्छ । हाम्रो बजारको
गुणात्मक विकासमा ध्यान दिनुपर्छ । परिमाणात्मक वृद्धिले दुर्घटना निम्त्याउन सक्छ
भन्ने हामीले बैंकिङ क्षेत्रमा देखिसकेका छौं ।
संस्थागत सुशासन
पछिल्लो दुई दशकमा संसारभर संस्थागत सुशासनको मुद्दा चर्को बन्दै
आएको छ । विभिन्न समयमा देखा परेका वित्तीय संकटको प्रमुख कारक संस्थागत सुशासनको
अभावलाई मानिएको छ । हामीकहाँ संस्थागत सुशासनको अभ्यास अझ कमजोर छ । नयाँ
एक्सचेन्जले संस्थागत सुशासन प्रवद्र्धन गर्ने सम्भावना अत्यन्तै न्यून छ । बरु यो
अझै विकराल बन्ने हो कि भन्ने देखिन्छ ।
हामीकहाँ सफा लगानीको सर्वथा
अभाव छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरूलाई अर्को एक्सचेन्जको अनुमति दिँदा
संस्थागत सुशासनको अवस्था झन् बिग्रनेछ । सूचीकृत कम्पनीमध्येबाटै स्टक एक्सचेन्ज
आयो भने स्टक एक्सचेन्ज, सूचीकृत कम्पनी, ब्रोकर र लगानीकर्ता एउटै व्यक्ति हुने परिस्थिति निर्माण हुनेछ ।
अहिले नै नेप्सेमा सूचीकृत बैंक, वित्तीय संस्था, बिमा कम्पनीका सञ्चालकहरूले अगाडि प्रोक्सी राखेर ब्रोकरको लाइसेन्स
लिएको, विभिन्न नाममा होल्डिङ कम्पनी खोलेर कारोबार गरिरहेको कुरा सबैको
जानकारीमा रहेको गोप्य विषय हो ।
यिनै सूचीकृत कम्पनीले अर्को एक्सचेन्ज ल्याए भने नेपालको पुँजी बजारमा
एक अर्को विसंगतिले वैधानिकता पाउनेछ, जहाँ बजार सञ्चालक, मध्यस्थकर्ता र लगानीकर्ता एउटै हुनेछन् । नेप्सेलाई तह लाउन नसक्ने
सेबोन थप निरीह हुनेछ । बैंकलाई ब्रोकरको लाइसेन्स दिने प्रसंग धन्न सेलाएको छ ।
पुँजी परिचालन
हाम्रा सूचीकृत कम्पनीहरूलाई धकेलेर पुँजी बजारमा पु¥याइएको हो । हाम्रा उद्योगी–व्यवसायीले नयाँ उद्यम सुरु गर्नुप¥यो वा भइरहेको व्यवसाय विस्तार
गर्नुप¥यो भने पुँजीबजारलाई सम्झिँदैनन्, पुँजीको स्रोतका रूपमा धितोपत्र बजारलाई मान्दैनन् ।
धितोपत्र बजार बोझ हो भन्ने मान्यता छ,
माग पक्षमा । पुँजीबजारका आपूर्तिकर्ता सर्वसाधारणले
सेयरलाई धनी हुने चिट्ठा मानेका छन् । पुँजी परिचालनको माग तथा आपूर्ति पक्षमा गलत
बुझाइ व्याप्त छ । गलत तरिकाले बजारमा सहभागी भइरहेका छौं । यस अर्थमा हामीलाई यो
बजार थोपरिएको हो ।
अपरिपक्व निर्णय
धरातलीय यथार्थलाई बिर्सेर पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र
बोर्डले धेरै अपरिपक्व निर्णयहरू गरेको छ । स्वेच्छाचारी निर्णयले नियामकको
मर्यादामा ह्रास ल्याउँछ । विगतमा धितोपत्र बोर्डको नेतृत्वमा रहेको पुँजीबजारको
ज्ञानको अभावलाई नयाँ नेतृत्वले पूर्ति गर्नेछ भन्ने अपेक्षाविपरीतका निर्णयहरू
आएका छन् । यसले बजारमा दूरगामी असर गर्ने निश्चित छ ।
बजारलाई प्रतिकूल असर गर्ने धेरै नराम्रा निर्णय गर्नुभन्दा थोरै तर
राम्रा निर्णय गर्नु बेस हुन्छ । निर्णयको परिमाणात्मकभन्दा गुणात्मक पक्षमा जोड
दिनुपर्छ । संस्थागत निर्णयमा संस्थागत विवेकको प्रयोग हुनुपर्छ । स्वायत्त र
जवाफदेही बन्न खोजेको धितोपत्र बोर्ड अझ गम्भीर हुनु जरुरी छ । पुँजी बजार भनेको लाखौं जनताको
खर्बौं रुपैयाँ व्यवस्थापन गर्ने संयन्त्र हो, यसमा खेलाँची हुनु हुँदैन ।
मिडियामा आएका समाचारहरूका अनुसार सेबोन र नेप्सेको नेतृत्वको
द्वन्द्वका कारण नयाँ एक्सचेन्जको प्रसंग झिकिएको हो । करदाताको पैसाले चल्ने यी
निकायका प्रमुखलाई यस्तो मनपरी गर्ने छुट हुँदैन ।
उनीहरूको झगडाले अर्को एक्सचेन्जको आवश्यकता साबित हँुदैन ।
लगानीकर्ता पनि सचेत हुनैपर्छ । खबरदारी गर्नुपर्छ । हाम्रा लागि भनिएको अर्को
एक्सचेन्ज हाम्रै लागि हो ?
फाइनान्सियल इन्क्लुजन नेटवर्कसँग आबद्ध प्रदीप बरालको कारोबार
दैनिकमा छापिएको यो आलेख सान्दर्भिक भएकोले यहाँ राखेको छु |
http://www.karobardaily.com/news/80158