नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत
कम्पनीले प्रस्ताव गरेको लाभांश (नगद र स्टक) को नेप्सेले मूल्य समायोजन गर्छ ।
स्टक (बोनस) को मात्रा जति भए पनि अनिवार्य मूल्य समायोजन हुन्छ भने नगदको हकमा
बजार मूल्यको १० प्रतिशतभन्दा बढी हुनुपर्छ । कुनै कम्पनीले २० प्रतिशत नगद लाभांश
घोषणा गरेमा कम्पनीको शेयर मूल्य १ सय ९९ रुपैयाँ भएमा यो लाभांश बजार मूल्यको १०
प्रतिशतभन्दा बढी हुने हुँदा मूल्य समायोजन भएर कारोबारका लागि प्रस्तावित लाभांश
२० रुपैयाँ घटाएर १ सय ७९ रुपैयाँ कायम हुन्छ । बजार मूल्य २ सय रुपैयाँ भएमा बजार
मूल्यको १० प्रतिशत मात्र हुने हुँदा समायोजन हुँदैन । मूल्य समायोजन साधारणसभा
हुनु (कम्तीमा १५ दिन) अघि नै गर्ने गलत अभ्यासले निरन्तरता पाइरहेको छ । यस्तो
गलत अभ्यासले ल्याएको समस्याको बारेमा तालुकी निकाय (कम्पनी रजिस्ट्रार, नेप्से
र नेपाल धितोपत्र बोर्ड) र शेयरधनी जानकार भए पनि निरन्तरता पाइरहेको छ ।
फरकफरक उदाहरण
साधारणसभाअगावै लाभांशसमेतका लागि बुक क्लोज गर्दा केकस्तो समस्या आइलाग्छन् भन्ने बुझ्नका लागि केही उदाहरण पेश गर्नु श्रेयस्कर हुन्छ । यसले साधारणसभा अगावै बुक क्लोज गर्दा देखापर्न सक्ने सबै सम्भावनालाई समेटेको छ ।
१. मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष (आव) २०६७/६८ मा २५ प्रतिशत
नगद लाभांश घोषणा गरेर २०६८ साल मङ्सिर १६ गते
बुक क्लोज र पुस १ गतेको साधारणसभा डाकेको थियो । बुक क्लोज भएको सातापछि
केन्द्रीय बैंकले बैंक (मुक्तिनाथ) को २०६७ साल भदौ र असोजमा पूँजीकोष नपुगेको
कारण लाभांश रद्द गरिएको जानकारी आएको सूचना सार्वजनिक गर्यो ।
२.
२०७४ साल भदौ ११ गते तत्कालीन देव विकास बैंक (हाल कुमारी बैंकमा
गाभिएको) ले १७ दशमलव १ प्रतिशत स्टक लाभांश घोषणा गर्यो र कात्तिक २३ गते बुक
क्लोज गर्यो र नेप्सेले मूल्य समायोजन गर्यो ।
३.
२०७६ साल फागुन २० गते सेन्चुरी कमर्शियल बैंकले ४ दशमलव ७५
प्रतिशत नगद र २ प्रतिशत स्टक लाभांश घोषणासहित चैत १४ गते साधारणसभाको मिति तोकी
सूचना प्रकाशन गर्यो र फागुन ३० गते बुक क्लोज गर्ने घोषणा गर्यो । चैत ११ गतेबाट
सरकारले स्थानहद लगाएका कारण साधारणसभा हुनसकेन र आजको मितिसम्म नयाँ मिति घोषणा
भएको छैन । बैंकले घोषित नगद लाभांशमध्ये ३ प्रतिशत रकम असार महीनामा अन्तरिम
रूपमा शेयरधनीलाई बाँडिसकेको छ ।
४.
केही लघुवित्तले जारी गरेको स्टक लाभांशको नेप्सेले मूल्य समायोजन गरी तत् तत्
कम्पनीका साधारणसभाले पारित गरिसक्दा पनि नेप्सेमा सूचीकृत भएका छैनन् ।
यी फरकफरक प्रकारका चारओटा परिस्थितिको परिणाम के
हुन्थ्यो होला वा भइरहेको छ त्यसको संक्षिप्तमा चर्चा गरौं :
१. पहिलो परिस्थितिको
सन्दर्भमा अहिले जस्तो नगद लाभांश पनि समायोजन हुने व्यवस्था प्रचलनमा रहेको भए
कम्तीमा ५ दिनसम्म भएको कारोबारको अस्तित्व के हुन्थ्यो होला ?
सबै कारोबार रद्द गर्ने पनि सहज थिएन किनकी पुनः विक्री भएको पनि
हुन्थ्यो । खोजीखोजी कारोबार रद्द गर्दा कति झन्झट सहनुपर्थ्यो
होला । भएका कारोबार यथावत् राख्न पनि मिल्ने स्थिति हुन्नथ्यो किनकि शेयरधनीले
लाभांश नपाएको अवस्थामा मूल्य समायोजन हुनु उचित हुन्नथ्यो ।
२.
दोस्रो परिस्थितिमा रोचक के थियो भने साधारणसभा आह्वान गरिएको थिएन
। साधारणसभा हुने तिथि घोषणा नहुँदै स्टक लाभांशको लागि बुक क्लोज भएको थियो ।
साधारणसभाको बेलामै लाभांश वितरण गर्ने बुक क्लोज नै उल्टो छ भनिरहेका बेला यहाँ त
झन् साधारणसभा हुने समय पत्तो थिएन । बैंकले ७ महीनापछि असारमा साधारणसभा गरेको
थियो । ७ महीनापछि भएको सभाले लाभांश प्रस्ताव अस्वीकार गरेको भए (नेपालमा स्टक
मोही शेयरधनी भएको हुँदा अस्वीकार हुँदैन) अवस्था के हुन्थ्यो होला ?
कात्तिकमा स्टक लाभांशका लागि बुक क्लोज गरेको बैंकले असारअघि पुनः
एकपटक हकप्रदका लागि बुक क्लोज गरेको थियो ।
३. तेस्रो परिस्थिति पनि रोचक नै छ । यो परिस्थिति पनि माथि २ मा उल्लिखित
जस्तै छ ।
४. चौथो परिस्थिति पनि माथिका (२) र (३) जस्तै भए पनि किन फरक छ भने
यसमा सभाले प्रस्ताव पारित गरिसकेको छ । नीतिगत कारणले अभिलेख हुनसकेको छैन । यसका
कारण सृजित समस्या शेयरधनीले भोगिरहेका छन् । यसो हुनुको कारण कम्पनी रजिस्ट्रार
कार्यालयले कम्पनी संस्थापन र शेयर धारण गर्न प्राकृतिक व्यक्ति,
विशिष्टीकृत कानूनले संस्थापन गरेको संस्था (जस्तो कर्मचारी सञ्चय
कोष) र कम्पनी मात्र योग्य हुने भन्ने नीतिगत व्यवस्था हो । गैर (सरकारी संस्था
लघुवित्तमा प्रवद्र्धक रहेका कारण तिनले निर्देशनविपरीत शेयर विनिवेश नगरेका कारण
स्टक लाभांशपछि पूँजी वृद्धि अभिलेख नभएका कारण नेप्सेमा सूचीकरण हुनसकेको छैन ।
बुक
क्लोज र लाभांशको कानून
कम्पनी सञ्चालन र लाभांशको विषय कम्पनी कानूनको क्षेत्रमा पर्छ । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले ७ दिनको सूचना दिई १ आवभित्र एकपटकमा ३० दिन नबढाई पटक (पटक गरेर बढीमा ४५ दिनसम्म बुक क्लोज अर्थात् शेयरधनीको दाखिला र खारेज बन्द गर्नसक्ने व्यवस्था छ । ‘बुक’ भनिरहँदा कुन ‘बुक’ भन्ने परिभाषा नभए पनि शेयधनीको दर्ता किताब सम्झनुपर्छ । यही दर्ता किताब हकप्रद शेयर निर्गमन गर्दा, लाभांश वितरण गर्दा र सभा (साधारण वा विशेष) गर्दा शेयरधनी कायम गर्न बन्द गर्ने गरिन्छ । यही मितिसम्म कायम रहेका शेयरधनी मात्र तत् तत् विषयमा सहभागी हुनसक्छन् । बुक क्लोज हुनुभन्दा अघि शेयरधनी कायम भएपछि शेयर विक्री गरे पनि लाभांश, हकप्रद र सभामा सहभागी हुन् योग्य हुन्छन् ।
त्यस्तै, कम्पनी
ऐन, २०६३ दफा १८२ मा लाभांश दिने निर्णय भएको ४५ दिनभित्र
लाभांश वितरण गरी सक्नुपर्ने व्यवस्था छ । केही अपवादको स्थितिमा भने यो व्यवस्था
लागू हुँदैन ।
बाधारहित
कानून
माथि विभिन्न अनुच्छेदमा लाभांशका कारण घटेका र भविष्यमा हुन सक्ने घटनाले गम्भीर समस्या ल्याउनसक्ने सम्भावनालाई टार्न वा नकार्न सकिँदैन । यसका लागि कम्पनीले सभाबाट ‘लाभांश प्रस्ताव (नगद वा स्टक वा दुवै) पारित’ मात्र गराउनुपर्छ । सभाले लाभांश पारित गरेपछि नगद लाभांश वितरणका लागि भोलिपल्ट ७ दिनको सूचना दिएर बुक क्लोज गर्ने र स्टक लाभांशको हकमा सम्बद्ध निकायबाट अभिलेख वा अन्य आवश्यक कार्य गरेपछि पुनः ७ दिनको सूचना दिई बुक क्लोज गरेर वितरण गर्न सकिन्छ । यति गर्न कुनै पनि हिसाबले कुनै कानूनी बाधा छैन । लाभांश पारित भएपछि ४५ दिनभित्र दिनुपर्छ भन्ने व्यवस्थाको आशय नै सम्बद्ध निकायबाट अभिलेखीकरण वा जेजे गर्नुपर्छ गरेर मात्र दिनु भन्ने हो । यसो गर्दा माथि उल्लिखित गन्जागोलको स्थिति पनि नआउने र शेयरधनीले प्राप्त गर्ने स्टक लाभांश भारित औसतमा गणना गर्न पाउने छन् । यस विषयलाई आगामी साधारणसभादेखि नै कम्पनी आफैले कार्यान्वयन ल्याउन सक्छन् वा एकरूपता गराउन नेप्से, बोर्ड र कम्पनी रजिस्ट्रारले समन्वय गरी उचित कदम चालून् ।
६ असोज २०७७, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/374992