Wednesday, September 18, 2019

शेयरबजारमा कालोधन


नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतले अर्थमन्त्री समेत उपस्थित रहेको एउटा सार्वजनिक कार्यक्रमलाइ सम्वोधन गर्ने क्रममा बजारमा ह्वाईट मनिको मात्र कारोबार भएको र कालोधन बजारमा आउन नसकेको कारणले बजार घटेको भन्ने विवादास्पद अभिव्यक्ति दिए । हुनत नेपालको शेयरबजारमा नियमन निकायका अधिकारी/पदाधिकारीले यस्ता विवादास्पद अभिव्यक्ति दिएको यो न अन्तिम पटक हुनसक्छ न पहिलोपटक नै हो । यस्ता अभिव्यक्ति र गतिविधिको शुरुवातकर्ता शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र बोर्ड हो भन्दा अत्युक्ति हुन्न । बोर्डले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सरहकै अधिकारक्षेत्र ग्रहण गरी ‘कालोधन छानविन समिति’ गठन गरेर पछि रद्द गरेको थियो । नेपालको शेयरबजारलाई प्रहार गर्नेमा नियमक, सरकारी निकाय र संबैधानिक अंग (महालेखा परीक्षक) कुनै अछुतो देखिएका छैनन् । धितोपत्र बोर्ड र नेप्से त कम्तिमा शेयर कारोबारी र लगानीकर्ताको पक्षमा देखिनुपर्नेमा यी पनि विपक्षी बनेर ‘कहिँ नभा’को जात्रै’ देखाएका छन् । कालोधन कसले हेर्छ, कसरी हेर्छ, बोर्ड तथा नेप्से र अन्य सम्वद्ध निकायको के कस्तो भूमिका हुन्छ संक्षेपमा चर्चा गरिनेछ ।

कालोधनको कानुन

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २थ मा 'सूचक संस्थाको नियमन र सुपरीवेक्षण गर्न प्रचलित कानुन बमोजिम स्थापित संस्था सम्झनुपर्छ भनी नियमक निकायको परिभाषा गरेको छ धितोपत्र सम्बन्धि ऐन, २०६३ ले नेपाल धितोपत्र बोर्ड स्थापना गरेको हुँदा यसले 'सूचक संस्थाको नियमन र सुपरिवेक्षण गर्ने र सोही ऐनको दफा ७फ अनुसार ‘सूचक’ संस्थालाई कारवाही गर्ने अधिकारक्षेत्र समेत पाएको छ  सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४, को दफा २(स) ले ‘सूचक संस्था’ को परिभाषा गर्दै 'वित्तीय संस्था वा गैर-वित्तीय पेशाकर्मी वा व्यवसायी सम्झनुपर्छभनेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ ले नियमकलाई सम्पत्ति शुद्धिकरण निवारणका लागि गर्नुपर्ने विभिन्न १५ वटा कामकर्तव्य र अधिकार दफा ७प(१) मा तोकेको छ  दफा ७प(२) मा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलाप निवारण गर्न र सोसँग सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम कार्य गर्न वा गराउन नियमकले आवश्यकता अनुसार सूचक संस्थालाई आदेश वा निर्देश जारी गर्न वा मापदण्ड बनाई लागु गराउन सक्नेछ भनिएको छ  ऐनको दफा ७फ(१) मा ऐन वा ऐन अन्तर्गत बनेका नियम वा जारी गरिएका निर्देशिका वा ऐनको दफा ७प(२) बमोजिम दिएको आदेश वा जारी गरेको मापदण्ड पालना नगर्ने सूचक संस्थालाई नियमकले कारोबारपेशावा व्यवसाय गर्न आंशिक वा पूर्णरुपमा रोक लगाउने, अनुमतिपत्रइजाजतपत्र वा दर्ता खारेज गर्नेसम्मको दण्ड सजाय गर्नसक्ने अधिकार समेत दिएको छ 

वोर्डको निर्देशिका

सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ ले नियमन निकायलाई आफ्नो मातहतका निकायलाई निर्देशन जारी गर्नसक्ने व्यवस्था अनुरुप सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ जारी गरेको छ । जारी निर्देशिकामा नियमक निकायले दलाल कम्पनी र नेप्से समेतलाई शेयर कारोबारको सिलसिलामा कुनै व्यक्ति वा संस्थासँग व्यवसायिक सम्बन्ध कायम राख्दा स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सो को अभिलेख राख्नुपर्ने, सम्पति शुद्धिकरण निवारण ऐन र सो अन्तर्गतको नियम, आदेश, परिपत्र तथा अन्य सम्वद्ध कानुन बमोजिम ग्राहकको पहिचान यकिन गर्नु गराउनुपर्ने, ग्राहकको पहिचानको अभिलेख दुरुस्त राख्ने, सरल र वृहद ग्राहक पहिचान, प्रविधिको दुरुपयोगमा नियन्त्रण, अनुगमन सम्बन्धको समाप्ति लगायतका सम्बन्धित अन्य विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागु गर्नुपर्ने जस्ता व्यवस्था गरेको छ ।

एक्सचेन्जको भूमिका

मूलतः नेप्से सूचीकृत कम्पनीको शेयर कारोबार (हस्तान्तरण) गराउने स्थल भए पनि असूचीकृत पब्लिक कम्पनीको शेयर हस्तान्तरण गर्ने ओभर द काउन्टर (ओटीसी) मा स्वयम् कारोबार गराउने निकाय समेत भएको हुँदा सूचक संस्थाको परिभाषामा पर्छ । नेप्से, ओटीसी बजार संचालकको हकमा सिधै र सूचीकृत धितोपत्र कारोबारको हकमा अप्रत्यक्षरुपमा सूचक संस्थाको रुपमा रहेको छ । सूचक संस्थाले तोकिएका कार्य गरी सम्पत्ति शुद्धीकरण हुनसक्ने गतिविधिमा रोक लगाउन पहल गर्नुपर्छ । नेप्सेले कारोबार सदस्य दलालको समस्त गतिविधिको नियमन गर्ने हुँदा सदस्यका गतिविधिमा नेप्से जिम्मेवार हुनुपर्छ । सूचीकृत कम्पनीको हकमा नेप्से त्यति प्रभावकारी नदेखिए पनि सदस्य (दलाल) को नियमनमा प्रभावकारी नै देखिएको मान्नुपर्छ । यति हुँदाहुँदै पनि जिम्मेवार निकायको प्रमुखले तोकेरै कालो र सेतो भन्नु दुराशययुक्त मान्ने कि नमान्ने बहसको विषय बन्नसक्छ ।

धितोपत्रबजार र सम्पत्ति शुद्धिकरण

परम्परागतरुपमा कागजी धितोपत्र कारोबार हुँदा यसको नक्कली प्रमाणपत्र बनाएर धितोपत्र बजारबाट कारोबार गराई सम्पत्ति शुद्धिकरण गर्न सकिने सम्भावित क्षेत्रको रुपमा रहेको थियो । अहिले अभौतिक धितोपत्र मात्र कारोबार हुने भएकोले नक्कली कारोबारको खतरा टरिसकेको मान्नुपर्ने हुन्छ । तर, पनि ‘चोरका हजार दाउ’ भने झैं कही कतै कुनै छिद्र निकालेर बदमासी हुनै नसक्ने भन्ने हुन्न । अपवाद जहाँ जहिले पनि हुने हुँदा सार्वजनिक जवाफदेहिताको पदमा आसिन व्यक्तिले दिएको अभिव्यक्ति औचित्ययुक्त र तर्कसंगत छैन । नेपालमा अभौतिक शेयर कारोबार शुरु हुनु अघि केही कम्पनीका नक्कली शेयर कारोबार गर्ने विरुद्ध मुद्दा समेत चलिसकेको छ । सम्पत्ति शुद्धीकरण हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी अहिले रु. ५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा स्थायी लेखा नं. (प्यान) को अनिवार्यताजतिसुकै रकम भए पनि चेकबाट मात्र लेनदेनओटीसीमा एकै दिनमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेमा नेप्सेले र अन्यको हकमा दलाल, लगानी व्यवस्थापक आदिले १५ दिनभित्र 'वित्तीय जानकारी इकाई' लाई सूचना दिनुपर्ने जस्ता व्यवस्थाले धितोपत्र बजारबाट हुनसक्ने सम्पत्ति शुद्धिकरणलाई निमिट्यान्न पार्न मद्दत पुगेको छ  

कालोधनको मूल

जसले जेसुकै भने पनि कालो वा सेतो धनको मुहान भनेको बैंक नै हो । कुनै पनि धन (रकम) जम्मा हुने स्थान बैंक हो । धन कालो हो वा सेतो त्यसको पहिलो जाँच बैंकले गरी शंकास्पद लागेमा वित्तीय जानकारी इकाईमा पठाउनुपर्छ । जबसम्म उक्त धनमाथि प्रश्न उठ्दैन, तसबम्म त्यसलाई सेतो मान्नुपर्ने हुन्छ । शेयर कारोबार पश्चात रकमको लेनदेन ‘बोरा’ मा रकम ल्याएर वा लगेर गरिन्न चेक मार्फत हुन्छ । यस्तो अवस्थामा नेप्सेका कार्यकारीले कालो र सेतोको कुरा गर्नु सान्दर्भिक हुन्न । शेयर कारोबार नेप्सेले तोकेको प्रणालीबाट मात्र हुने र हरेक दिन कसले कति किन्यो वा बेच्यो सम्वद्ध निकायले सजिलै हेर्न सक्नेहुँदा अत्यन्त पारदर्शी पनि छ । यति पारदर्शी कारोबार हुने क्षेत्रलाई त्यही निकायको प्रमुखले कालो र सेतो धनको कारण बजार घट्यो बढ्यो भन्नु अतिशयोक्ति हो । एक्सचेन्जको प्रमुख पदमा आसिन व्यक्तिलाई इन्डेक्समा किन कमि आउँछ भन्ने पनि थाहा नभएको देखियो र थाहै नभए इन्डेक्सको बारेमा बोल्नु उचित हैन ।

सबैको साथ कालो बिनाश

कालो धन रोक्न जरुरी छ । यसमा कुनै एउटा निकायको प्रयास मात्र सार्थक हुन्न । वित्तीय अपराधले कुनै एउटा क्षेत्रलाई मात्र हैन समग्र देशलाई समेत चौपट पार्ने हुँदा वोर्डएक्सचेन्जदलाल, राफसाफ निकाय र निक्षेप सदस्य (डिपी), क्लियरिंग बैंक, कारोबारी र लगानीकर्ता सबैको सहकार्यात्मक भूमिका रहनुपर्छ  धितोपत्र बजार र यससँग कुनै न कुनै रुपमा आवद्ध हुने निकाय बिचको साझेदारीले धितोपत्र बजारबाट कालो धनलाई निमिट्यान्न पार्न सकिन्छ । सार्वजनिक निकायमा सार्वजनिक जवाफदेहिताको पदमा रहेका व्यक्तिले दिने अभिव्यक्ति सम्हाल्नु जरुरी देखिन्छ ।

आर्थिक अभियान दैनिक, ३१ भाद्र २०७६

शेयरबजार हल्लाउने कम्पनी


नेप्से सूचक ‘यति पुग्छ’, ‘उति पुग्छ’, ‘घटेर यतिमा आउँछ’ र ‘यति वर्षमा बढेर यति पुग्छ’ जस्ता चर्चाले  कारोबारी र लगानीकर्ता दुबैलाई पिरोलेको छ । जोड, घटाउ, गुणन, भाग, प्रतिशत र औसत जस्ता व्यवहारिक गणित समेत नबुझ्नेलाई ‘टेवा, अवरोध, प्रतिरोध’ जस्ता शब्दले अभिमन्युलाई झैं चक्रव्यूहमा पारेको छ । सूचकको हाउगुजीले शेयरबजार प्रताडित बनेको छ । सूचक के हो, के हैन, कसरी बढ्छ, कसरी घट्छ, सूचक निर्धारण गर्न कस्ता कम्पनी जिम्मेवार हुन्छन् यस बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

सूचक के हो के हैन ?

सूचक कुनै आधार वर्ष वा दिनको बजार पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । यसको मापन गर्दा आधार पूँजीकरण र त्यसपछिका हरेक दिनको पूँजीकरण दुइवटा अंक लिएर व्यक्त गरिन्छ । आधार पूँजीकरण नयाँ कम्पनी सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदैजान्छ । बोनस शेयरले आधार पूँजीकरण परिवर्तन हुँदैन । सम्भवत एक्सचेन्जको कारोबार मापन एक्सचेन्जले भन्दा पहिले स्वस्फुर्तरुपमा कारोबारी र शेयरबजार विषयमा कलम चलाउनेले आफूखुशी शुरु गरेका हुन् । पछि एक्सचेन्जले पनि कारोबार मापन गर्न आवश्यक सम्झियो र मापन गर्न थाल्यो । कारोबार मापनको यस्ता सूचक जसले जति पनि आफ्नो इच्छा अनुसार बनाउनसक्छ । यसैको पछिल्लो अभ्यासकोरुपमा  एनएमवि क्यापिटलले योजना व्यवस्थापन गर्न लागेको एनएमवि - ५० नामक म्युचुअल फण्डले छिट्टै आफ्नो लागि सूचक बनाउने तरखरमा लागेको छ । यसमा ५० वटा सूचीकृत कम्पनी रहनेछन् । सूचकले कम्पनीको उन्नति/प्रगति वा लाभांश आदि केहीलाई पनि जनाउँदैन । आधारभूत सूचक मापन गर्न प्रायश: सिमित कम्पनीलाई मात्र लिइन्छ । यिनै छानिएका कम्पनीको कारोबारको आधारमा हुने आधार र दैनिक पूँजीकरणको अंकलाई लिएर सूचक निकालिन्छ । सूचक गणना गर्दा पहिलो दिनलाई १ सय वा १ हजार विन्दुलाई आधार लिएर शुरु गरिएको भेटिन्छ । नेपालमा सूचक गणना गर्दा १ सय विन्दुलाई आधार लिइएको छ ।

केहि देशका सूचक

संसारको अग्रणी १० वटा एक्सचेन्जमा पर्ने भारतको बम्बे स्टक एक्सचेन्जको ‘सेनसेक्स’ आधारभूत सूचक हो । पछिल्लो पटक यसको सूचांक झन्डै ३७ हजार विन्दु (सेप्टेम्बर ६, २०१९) छ । त्यस्तै, भारतकै अर्को नेशनल स्टक एक्सचेन्जको सूचांक निफ्टी करिब १० हजार (सेप्टेम्बर ६, २०१९) छ । अधिकाँश स्टकको सूचक गणना १ सय विन्दुबाट गरिए पनि भारतको नेशनल स्टक एक्सचेन्जको आधारभूत सूचक र पाकिस्तानको पाकिस्तान स्टक एक्सचेन्जको केएसई - १०० को गणना क्रमशः सन् १९९६ अप्रिल १ तारिख र सन् १९९१ नोभेम्बरबाट १ हजार विन्दुबाट शुरु गरिएको हो । निफ्टीमा ५० वटा र केएसईमा १ सयवटा कम्पनी सामेल गरिएको छ । बम्बे स्टकको सूचक गणना सन् १९७९ अप्रिल १ तारिखबाट ठूला पूँजीयुक्त ३० वटा कम्पनी सामेल गरी १ सय आधार विन्दुबाट गरिएको हो । निफ्टी र सेनसेक्समा सामेल हुने कम्पनी बेलाबेलामा फेरबदल पनि हुनेगर्छ । सेनसेक्सले सन् २०१९ जुन ३ तारीखमा अहिलेसम्मको ४० हजार २ सय ६७ दशमलव ६२ को उच्चतम विन्दु छोएको छ भने सन् १९९० जुलाई २५ तारिखमा १ हजार विन्दु कटाएको थियो ।  

बंगलादेशको ढाका स्टक एक्सचेन्जले आधारभूत सूचककोरुपमा सन् २००८ जनवरी १७ तारिखदेखि डीएसइ बोर्ड इन्डेक्स र डीएसइ - ३० गरी दुइवटा सूचक विकास गरेको छ ।

नेपालको शेयर सूचक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय १८ (नेप्से, साप्ताहिक प्रतिवेदन, भदौ २०, २०७६) वटा कम्पनी सूचीकरण भएका छन् । नेप्सेले म्युचुअल फण्डसहित सूचीकृत कम्पनीलाई १२ वटा समूहमा विभाजन गरेको छ । यी सबैको अलग-अलग सूचक गणना हुन्छ । नेपालको आधारभूत सूचकको रुपमा ‘नेप्से’ रहेको छ । यसका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट गरी अरु ३ वटा सूचक छन् । कुल मिलाएर १६ वटा सूचक गणना हुन्छ । पछिल्लो समयमा आएर सेन्सेटिभ इन्डेक्स अर्थहीन बनेको छ ।

बजार हल्लाउने कम्पनी 

नेपालमा मात्र हैन संसारभरका एक्सचेन्जलाई हल्लाउने तागत राख्ने कम्पनीको संख्या सिमित हुन्छ । बम्बे र नेशनल स्टकको गणना सिमित कम्पनी (३० र ५०) बाट गरिएको भए पनि त्यसभित्र पनि सूचक हल्लाउने तागत राख्ने कम्पनी १/२ वटा मात्र हुन्छन् । नेपालमा नेपाल टेलिकमले अहिले पनि सूचक घटबढमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । पछिल्लो सयमा यसको मूल्यमा तीव्र गिरावट आए पनि यसको भूमिका कायमै छ । नेपाल टेलिकम बाहेक नबिल, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले क्रमशः स्थान जमाएका छन् । नेपालमा सूचक घटबढ गराउनमा बढीमा १५ वटा कम्पनी आलोपालो गरी १० स्थान ओगट्छन । यिनै १० वटा कम्पनीले मुलरुपमा सूचकलाई हल्लाईरहेका हुन्छन् । नेपालको शेयरबजारको कुल पूँजीकरण १४ खर्व ९६ अर्व ७१ करोड ६२ लाख ३० हजार रुपैयाँको आधारमा नेपाल टेलिकम एक्लैको ६ प्रतिशतभन्दा बढी योगदान रहेको छ । त्यसपछि क्रमशः माथि उल्लेखित बैंकको छ । पाँचौ स्थानमा परेको चार्टर्ड बैंकको योगदान टेलिकमको ठ्याक्कै आधा अर्थात ३ प्रतिशतभन्दा बढी छ । यी १० वटा कम्पनीको कुल पूँजीकरणमा योगदान ३५ प्रतिशत रहेको छ । तालिकामा १० वटा कम्पनीको योगदान देखाईएकोछ ।
   
कम्पनी
सूचीकृत शेयर संख्या (करोड)
पूँजीकरण (अर्व)
अन्तिम मूल्य (रु.)
पूँजीकरणमा योगदान (प्रतिशत)
नेपाल टेलिकम
१५,००,००,०००
९५,८५,००,००,०००
६३९
६.४
नबिल बैंक
९,००,४८,०००
६९,८७,७२,४८,०००
७७६
४.६६
नेपाल इन्भेष्टमेन्ट बैंक
१२,८६,९७,४८८
५७,६५,६४,७४,६२४
४४८
३.८५
एभरेष्ट बैंक
८,०२,६८,६३७
४८,९६,३८,६८,५७०
६१०
३.२७
स्ट्यान्डर्ड चार्टर्ड बैंक
८,०१,१४,३०६
४८,८६,९७,२६,६६०
६१०
३.२६
हिमालयन बैंक
८,५२,०२,५५९
४५,१५,७३,५६,२७०
५३०
३.०१
नेपाल लाइफ इन्स्योरेन्स
५,४९,६१,६०८
४३,९६,९२,८६,४००
८००
२.९३
एनआईसी एसिया बैंक
८,८३,४२,२८७
३९,५७,७३,४४,५७६
४४८
२.६४
कृषि बैंक
९,०१,५५,२८८
३८,०४,५५,३१,५३६
४२२
२.५४
नेपाल एसवीआई बैंक
८,४४,९२,५०४
३६,५०,०७,६१,७२८
४३२
२.४३
जम्मा
९३,२२,८२,६७७
५,२४,४६,७५,९८,३६४

३४.९९
कुल बजार पूँजीकरण अंक
१४ खर्व ९६ अर्व ७१ करोड ६२ लाख ३० हजार
(नेप्से, भदौ २२, २०७६ मा आधारित)
सूचक घटबढ

सूचक घट्ने मुख्य दुइवटा कारण मध्ये एउटा कारण तालिकाबाट पनि मोटामोटी अनुमान लगाउन सकिन्छ । यिनै १० वटा कम्पनी वा यी सरहका पूँजीकरण भएका कम्पनीको कारोबारले सूचक तलमाथि पार्ने गर्छन । अन्य कम्पनीको भूमिका नहुने हैन तर, यिनको जति हुन्न । शेयरबजारमा सूचीकरण भएका कतिपय कम्पनीको नियमित कारोबार नहुन पनि सक्छन् तर, यी १० वटा वा यस्तै प्रकृतिका १० वटा कम्पनीका कारोबार नहुने दिन बिरलै हुन्छ ।

सूचक घट्नुको अर्को कारणमा पहिलो कारोबार मूल्य पनि हो । नेप्सेले पहिलो कारोबारको लागि दिएको अधिकतम मूल्यमा पहिलो कारोबार खुलेर कारोबार बन्द भएको अन्तिम कारोबार मूल्यको आधारमा बनेको पूँजीकरणलाई आधार पूँजीकरणमा जोड्छ । अधिक मूल्यमा कारोबार हुँदा आधार पूँजीकरण बढ्न जान्छ र भोलिपल्टबाट उक्त कम्पनीको भाउ घट्न थालेमा पूँजीकरण पनि अगिल्लो दिनभन्दा घट्दै जान्छ । आधार पूँजीकरण बढिसकेको हुन्छ । यसले पनि सूचक घटाउन मद्दत गर्छ । अधिक मूल्यको पहिलो कारोबार बजारको लागि हितकारी हुन्न । यस सम्बन्धमा विस्तृत चर्चा कुनै सन्दर्भमा गरिनेछ ।

अन्तमा, अर्थमन्त्री डा. युवराज खतिवडाले भने झैँ ‘कम्पनीको प्रोफाइल’ हेरेर लगानी वा कारोबार गर्नेलाई सूचकले कुनै समस्या पार्दैन । नेप्सेले पनि आधारभूत सूचक सिमित कम्पनीलाई लिएर नेप्से - २० बनाउन र हाल सूचक गणनाको लागि लिएको सबैको आधार पूँजीकरणको अंक साप्ताहिक प्रतिवेदनमा उल्लेख गर्नु वान्छनीय हुन्छ ।

आर्थिक अभियान दैनिक, २४ भाद्र २०७६ 

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...