Tuesday, October 10, 2017

धितोपत्र सम्बन्धि कसूर र उन्मुक्तिको सिलसिला

झुक्क्याउने सूचना दिएर धितोपत्र सम्बन्धि कसूर गरेको नेपाल इन्भेष्टमेन्ट बैंक काण्ड १ हप्तासम्म चलेर टुङ्गो लागेको छ | वोर्डको निर्णय बाघको शिकार गर्न गएर मुसो मारेरल्याए झैँ भएको छ | कसूर छानविन गर्न अनुसन्धान अधिकृतनियुक्त गरि मुद्दा चलाउनुपर्नेमा वोर्ड आफैँले स्पष्टीकरण माग्नु घटनालाई गम्भीरताका साथ नलिनु हो | भित्री उद्देश्य कारोबार रद्द गर्ने भएपनि एकैपटक यस्तो आदेश दिन नमिल्ने भएकोले शुरुमा राफसाफ रोकेर बाटो खुलाएको थियो | कसूरको अनुसन्धान गरि क्षतिपूर्ति भराउने उद्देश्य भएको भए राफसाफ रोक्न निर्देशन दिईरहनुपर्ने आवश्यकता नै थिएन | अन्ततः कसूरदारलाई उन्मुक्ति र लगानीकर्तालाई पिडा दिएर घटना पटाक्षेप भयो |

संबिधानमा सम्पत्ति

नेपालको संबिधान, धारा २५ ले सम्पत्ति आर्जन, भोग र हस्तान्तरणलाई मौलिक हकको रुपमा व्यवस्था गर्दै प्रत्येक नागरिकलाई कानूनको अधिनमा रही रही सम्पत्ति आर्जनभोगबेचबिखनव्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ ।भन्ने व्यवस्था गरिएको छ | वैधानिक तवरले नागरिकले प्राप्त गरेको सम्पत्ति राज्यले समेत जथाभावी लिनसक्दैन | लिनुपरेमा क्षतिपूर्ति दिएर मात्र लिनसक्छ |

प्राचिन र आधुनिक विधिशास्त्र

प्राचिन र आधुनिक विधिशास्त्रले विधिसम्मत सम्पत्ति आर्जनमा रोक लगाएको छैन | प्राचिन विधिशास्त्री मनुले सप्त वित्तगमा धर्मा दायो लाभ: क्रयो जय: | प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ||’ अर्थात दाय (उत्तराधिकार वा अंश), लाभ (व्यवसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदी सेवाबाट प्राप्त पारिश्रमिक), सत् प्रतिग्रह (दान) बाट सम्पत्ति प्राप्त हुन्छ भनेका छन् | आधुनिक विधिशास्त्रले पनि शास्त्रीय र वैदिक मतलाई आधार बनाएर सम्पत्ति कानूनको निर्माण गरेको छ |  

शेयर लगानीबाट प्राप्त हुने सम्पत्ति मनुले भनेको ७ विधि मध्येको प्रयोगहो | शेयरमा लगानी गरेर लाभांश लिनु र स्टक एक्सचेन्जमार्फत बेचेर पूँजीगत लाभ लिनु दुबै वैधानिक हुन् | वैधरुपमा शेयर लगानी गरि त्यसलाई दोस्रो बजारमार्फत बेचेर पूँजीगत लाभ लिँदा लाभकर तिरिने भएकोले यसको वैधता सम्बन्धमा कुनै प्रश्न उठ्दैन |

गैर-कानूनी कार्य

वैधानिक विधि पुरा गरि किनबेच गरिएको सम्पत्ति हस्तान्तरण हुनु अघि कारोबार रद्द गर्नु नाजायज र गैर-कानूनी कार्य हो भईसकेको कारोबार रद्द हुनको लागि विशेष परिस्थितिको विद्यमानता हुनुपर्छ | इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण कारोबार रद्द गर्नुपर्ने कुनै विशेष कारणको विद्यमानता छैन | खरिद-बिक्री आदेश प्रविष्टी गर्दा कुनै त्रुटी भेटिएमा वा कुनै असामान्य परिस्थितिमा त्यतिवटा मात्र कारोबार स्टक एक्सचेन्जले रद्द गर्नसक्छ | वोर्डले सम्पूर्ण कारोबार रद्द गराएर क्रेता र विक्रेताको सिर्जना र समाप्त भएको साम्पत्तिक हक अधिकार खोसेको छ |

बेच्ने किन पिडित ?

वैधानिक तवरले सम्पत्ति प्राप्त गरि भोगचलन गर्न पाउने नैसर्गिक अधिकारलाई राज्यले समेत रोक लगाउन नसक्ने अवस्थामा वोर्डले रोक लगाएको छ | पहिलो सूचनाले उत्साहित भएर किन्नेलाई दोस्रो सूचनाले पिडित पारेको बेला सम्पूर्ण कारोबार रद्द हुँदा खुशी मिल्यो तर पहिलो सूचना आएपछि बेचेर नाफा आर्जन गरेको व्यक्ति किन पिडित बन्नुपर्ने ? के उसलाई नाफामा बेच्ने अधिकार छैन ? पहिलो सूचनालाई आधार मानेर सम्पत्ति बेच्ने कार्य कसूर हो ? कसूर हैन भने बेचेको नाफा खै ? कारोबार रद्द गरिँदा भएको क्षतिपूर्ति खै ? झुक्क्याउने सूचना दिएर लगानीकर्ता ठग्ने कम्पनीका पदाधिकारीलाई कानूनी कठघरामा ल्याएर क्षतिपूर्ति दिलाउनुपर्ने निकाय वोर्ड नै भक्षक भएपछी लगानीकर्ता कसको शरणमा जाने ? वोर्डले जवाफ दिनु जरुरी छ |

कसूर र सजाय

धितोपत्र सम्बन्धि ऐन २०६३ को परिच्छेद ९ को दफा ९१ देखि १००क सम्म धितोपत्र सम्बन्धि कसूर र कसूरमा संलग्न हुनसक्ने व्यक्ति लगायतका विषयमा उल्लेख गरिएको छ | बिभिन्न दफा (क) १०१ मा दण्ड सजाँय, (ख) १०३ मा कसूरको तहकिकात र दायरी कसले, कसरी गर्ने, (ग) १०४ मा अनुसन्धानकर्ताले के कस्ता विधि अपनाएर तहकिकात गर्ने (घ) १०५ मा कसूरदारले कसूर गरेको कारण पुगेको हानि-नोक्सानीको लागि क्षतिपूर्ति भराई लिन सकिने (ङ) १०६ मा वोर्डले गरेको सजायमा पुनरावेदन गर्न सकिने र (च) १०८ मा कसूरमा संचालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको व्यक्तिले दण्ड सजाय पाएमा त्यस्तो व्यक्ति १० वर्षसम्म सो सरहको पद धारण गर्न अयोग्य हुने व्यवस्था छ | दफा १०२ मा दफा ९१, ९४, ९५, ९६, ९७, ९८,९९ र १०० मा वर्णित कसूर नेपाल सरकार वादी हुने व्यवस्था छ | धितोपत्रको कसूर सम्बन्धि मुद्दा सरकारवादी भएपनि यसलाई सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को अनुसूचीमा राखिएको छैन | अनुसूची १ मा परेका फौजदारी अनुसूची २ मा परेका देवानी मुद्दा हुन् | धितोपत्र सम्बन्धि मुद्दा देवानी प्रकृतिको फौजदारी मुद्दा हो |

कसूर अनगिन्ती......

धितोपत्र सम्बन्धि कानुनमा वर्णित धितोपत्र सम्बन्धि कसूर गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक पहिलो हैन | धितोपत्र कानूनको उल्लंघन गर्दै कयौं कम्पनीले कसूरजन्य कार्य गरेका छन् | साधारणसभाको लागि ७ दिन अघि बुक क्लोजको सूचना नेप्सेलाई दिनुपर्नेमा नदिएका घटना गनिसाध्य छैन | यो पनि कसूर नै हो तर पनि यस्ता कम्पनीका संचालक/व्यवस्थापक दण्डित भएका छैनन् | संचालक समितिले हकप्रद जारी गर्ने निर्णय गरेको सूचना नेप्सेमा सम्प्रेषण गरि मूल्यमा प्रभाव पारी पछी रद्द गरेको घोषणा गर्नु पनि झुक्क्याउने विवरण हो | तर यस्ता कम्पनीका संचालक अहिलेसम्म दण्डित भएका छैनन् |

त्यस्तै, २०७४ साल बैशाख महिनामा एउटा विमा कम्पनीको संचालक समितिले १० प्रतिशत बोनस शेयर जारी गरि कायम हुने पूँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेर झन्डै ५ महिनापछी उक्त प्रस्ताव स्थगित गरिएको सूचना दियो | मूल्यलाई प्रभावित पारी स्थगित गर्ने कार्य पनि धितोपत्र सम्बन्धि कसूर हो भनिरहनु पर्दैन | बिमा समितिले स्वीकृति नदिएकोले रोक्नु परेको बताउनु उन्मुक्तिको बाटो मात्र हो | शेयरबजारमा सूचीकरण भएको कम्पनीले ५ महिना अघि मूल्य प्रभावित हुने सूचना दिएर अहिले मूल्यलाई नकारात्मक प्रभाव पार्ने गरि स्थगनको सूचना दिन पाइन्छ ? लाभांश घोषणा गरेको ५/५ महिनासम्म साधारणसभा किन नगरेको भनेर सोध्ने कार्यसम्म गरेको देखिएन |

एउटा वाणिज्य बैंकको संचालकले भित्री कारोबार गरेको प्रष्ट भईसक्दा समेत छानविन गरि अभियोग लगाइएको छैन | कसूरसँग धितोपत्रसँग सम्बन्धित भएकोले वोर्डले नै मुद्दा चलाउनुपर्ने हुन्छ |

विदेशका कुरा 

संसारभर धितोपत्र कसूरलाई गम्भीर अपराध मानिन्छ | बेलायतमा हाउस अफ लर्डसले एउटा मुद्दामा कम्पनी नाफामा छ नियमित लाभांश बाँडिरहेको छ ऋणपत्र किन्नुसभनेर जारी गरेको विवरणपत्रमा कम्पनी घाटामा चलेको कुरा लुकाईएकोमा त्यसका प्रवन्ध संचालकलाई फौजदरी अभियोग लगाएको प्रसंग यहाँ पनि सान्दर्भिक हुन्छ | बंगलादेशमा पनि सूचिकृत कम्पनी, मर्चेन्ट बैंक र लगानीकर्ता समेतलाई धितोपत्र कसूरमा कारवाही गरेका धेरै उदाहरण छन् |

धितोपत्र वोर्डको गतिविधिलाई ऐनको प्रस्तावनामा भएको लगानीकर्ता हित संरक्षणभन्ने वाक्यांशले गिज्याउन थालेको छ |

अभियान दैनिकमा प्रकाशित


Sunday, September 17, 2017

पूँजी र कित्ता

कम्पनीले लाभांश बजार मूल्य अनुसार घोषणा गर्दैन । बोनस थोरै दियो भन्दै कम्पनीलाई गाली गरेको प्रशस्त देखियो । बोनस भनेको कित्ता मात्र बढाउने हो भन्ने सोचाइ लगानीकर्तामा देखियो । बोनसले कम्पनीको पूँजी बढ्ने हो पूँजी बढेको हुनाले कित्ता बढेको हो । बोनस कति दिने भन्ने कुरा कम्पनीलाई आवश्यक पर्ने पूँजीमा निर्भर हुन्छ ।

पूँजी बढाउन नियमकीय बाध्यता परेको अवस्थामा बाहेक आवश्यकता तत्व मूल हुन्छ । कम्पनीले आवश्यकीय तत्वलाइ मध्येनजर राखेर बोनस जारी गर्ने हुन ।

बिचार पुर्याएर लगानी गरौं ।

लगानी गर्दा थाहा पाउनुपर्ने केही कुराहरु

शेयरमा गरिने लगानी जोखिमयुक्त छ । जोखिम व्यवस्थापन गर्न सकेमा लाभ पनि छ । पैसा हाल्दा धेरै जानकारी लिनुपर्छ जुन विभिन्न माध्यमबाट लिनसकिन्छ ।

१. सुचिकृत कम्पनीले प्रकाशन गर्ने ३ महिने वित्तीय विवरण

२. कम्पनीको वार्षिक प्रतिवेदन

३. कम्पनीको वेबसाईट

४. सम्बन्धि विषयको कानुन

५. नियमक भए नियमकको निर्देशन/परिपत्र

६. बैंकको हकमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन/परिपत्र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, नेपाल राष्ट्र बैंक ऐन विभिन्न निर्देशिकाहरु

७. बिमाको हकमा बिमा समितिको निर्देशन/परिपत्र बिमा ऐन नियम निर्देशिका

८. नेपाल स्टक एक्सचेञ्ज

९. धितोपत्र वोर्डको निर्देशन, धितोपत्र सम्बन्धि कानुन नियम निर्देशिका परिपत्र
१०. कम्पनी ऐन निर्देशिका

११. अन्य आवश्यक कुराहरु

कानुन वकिलले मात्रै पढ्ने चिज हैन । कानुन सबैले जानेको हुन्छ बन्ने कानुनी सिद्धान्त छ । कानुन जानिन भनेर कानुन विपरीत गरिएको कार्यबाट उन्मुक्ती पाइन्न । आफुलाइ सरोकार पर्ने कानुन आफैले अध्ययन गर्ने गरौं ।

बोनस, हकप्रद, टेन्सन र पेन्सन

अहिले अधिकांश बोनस र हकप्रद बाहेक अरु केही देख्दैनन । यी सबै अति महत्वाकांक्षी हुन । यिनलाई  शेयरमा पैसा लगाएपछि व्हात्तै कमाइन्छ भन्ने भ्रम छ जुन कुनै बेला नेटवर्क मार्केटमा थियो ।

देखिइसकेको छ नेटवर्क बजार कहाँ पुग्यो कति घर न घाटका भए ।

त्यही भएर अध्ययन गर्नुस । साधना विना ज्ञान पाइदैन । म पनि अध्ययन नै गरेर आएको हो । नबुझेसम्म लेखिएन । जब अलि अलि बुझ्न थालियो अनि लेख्न थालेको हो ।

हकप्रद र बोनस मोह अब धेरै दिन कायम रहन्न । व्यवसाय बिस्तार गर्न सक्ने क्षमता राख्ने केही कम्पनीले मात्रै पूँजी थप्छ्न बाँकी कति प्रभूशरणम हुने हुन थाहा छैन ।

यो अवस्था आउन अब धेरै छैन । जुन दिन यो अवस्था आउँछ अनि हकप्रद र बोनस मोहको सपना चकनाचुर हुन्छ । कति खोलामा हाम फाल्लान अनि पेट्रोलियम डोरीको पनि माग बढ्ला !

तर जसले सम्भावित प्रतिफल हेरेर लगानी गरेका छन उनिहरुको लागि पेन्सन हुन्छ उपरखुट्टी लगाएर खान्छन् ।
हकप्रद र बोनस मोहमा लाग्नेहरु पेन्सन हैन टेन्सन खाएर बस्छ्न ।

सुरक्षित लगानी गरौं ।

Thursday, September 14, 2017

धितोपत्र सम्बन्धि कसूर र धितोपत्र वोर्ड

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची १६ मा लाभांश घोषणालाई पनि ‘विशेष घटना वा परिस्थिति’ भनेर सूचीकरण गरिएको छ | नियमावलीको नियम २६(५) मा ‘धितोपत्र सूचीकरण गराएको सँगठित संस्थाले सूचिकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना ३ दिनभित्र वोर्डमा पेश गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ | शेयरबजार सूचना संवेदनशील भएकोले मूल्यमा प्रभाव पार्न सक्ने सकारात्मक वा नकारात्मक जस्तोसुकै गतिविधि भए पनि सो को जानकारी गराउनुपर्छ | संवेदनशील सूचनाहरु एकपटक जारी गरिसकेपछि सच्याउने कार्यलाई स्वस्थ बजारको सूचक मान्न सकिन्न |  

पहिलो र दोस्रो सूचना

नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समितिले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय नेप्सेको वेवमा सार्वजनिक भयो | बजार निरन्तर घटिरहेको र केन्द्रीय बैंकले तोकेको पूँजी पुगिसकेका (तोकेको भन्दा झन्डै १ अर्ब २५ करोड बढी पूँजी भएको) बैंकले अबदेखि नगद लाभांश मात्र दिन्छन भन्दै शेयर किन्न नै छाडिसकेका लगानीकर्तालाइ बैंकको निर्णय पश्चात संजीवनी बुटीले जस्तै उत्साह थपेको थियो | तर यो उत्साह धेरै बेर कायम रहेन | बैंकको तर्फबाट प्रस्ताव गरिएको लाभांश सम्बन्धि निर्णयको पत्र ‘टंकन’ गर्ने क्रममा उल्टो परेको र वास्तविक अंक १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश हो भन्ने संशोधित सूचना पुन: नेप्सेको वेव मार्फत सार्वजनिक भयो | केहि बेर अघिसम्म शेयर किन्न उत्साहित देखिएका लगानीकर्ताको उत्साह सेलायो र बढिरहेको बजार र बैंकको भाउ घट्न लाग्यो | यसले अर्को संशय समेत थपिदियो | यो सूचना पनि संशोधन भएर अर्कै पो आउने हो की !

बोनस हैन शुद्ध सूचना

बैंकको लाभांश घोषणा सम्बन्धि दुइथरी सूचना आएपछि लगानीकर्ता र लगानीकर्ता संघ तथ्यमा प्रवेश नगरी हिलो छ्यापाछ्यापमा लाग्नु कसूरदारलाई उन्मुक्तिको मार्ग प्रशस्त गरिदिनु हो | दलाल, नेप्से र ठूला लगानीकर्ताको शंकास्पद व्यवहार भन्दै लगानीकर्ता र लगानीकर्ता संघ कुर्लिए तर बैंक विरुद्ध उजुरी गर्न कोहि गएनन् | ऐनमा वर्णित ‘झुक्क्याउने’ सूचना दिई हानी-नोक्सानी पुर्याउने बैंकका अधिकारी/पदाधिकारीसँग खरिद वा बिक्री गर्दा मूल्यमा असर परेको कारणले भएको हानी नोक्सानी भराई लिन सकिने व्यवस्था छ | ऐनको व्यवस्था नजरअन्दाज गर्दै लगानीकर्ता संघले ‘नेप्से’ लाई गाली गरेर कसूरदारको ताबेदारी गरेको देखियो | पहिले घोषणा गरेको २५ प्रतिशत बोनस पाउनुपर्ने विज्ञप्ति निकाल्यो तर शुद्ध सूचना माग गरेन | लगानी गरेपछि लाभको अपेक्षा गर्नु स्वाभाविक हो तर हामीले भने बमोजिम हुनुपर्छ भन्नु चाहिँ गलत हो | कम्पनीको संचालक समितिले प्रस्ताव गरेको कुनै पनि लाभांश शेयरधनीलाई साधारणसभा मार्फत अस्विकार गर्ने अधिकार छ तर संशोधन गर्ने अधिकार छैन |

धितोपत्र सम्बन्धि कसूर  

शेयरको मूल्यलाई असर पार्न सक्ने सार्वजनिक नभएको सूचना वा जानकारीको आधारमा आफू वा आफन्त मार्फत शेयर कारोबार गर्नु, यस्ता सूचना अरुलाई उपलब्ध गराउनु भित्रि कारोबार हो | यसबाहेक अन्य थुप्रै धितोपत्र सम्बन्धि कसूर हुनसक्छन् | अनेक प्रकारको हल्ला चलाएर कसैलाई किन्न र बेच्न उत्साहित वा निरुत्साहित पार्ने कार्यहरु पनि धितोपत्र सम्बन्धि कसूर हो | झुक्क्याउने विवरण (सूचना) दिएर मूल्यमा उतारचढाव पार्ने कार्य पनि धितोपत्र सम्बन्धि गम्भीर कसूर हो | इन्भेष्टमेन्ट बैंकका आधिकारी/पदाधिकारीले पनि मूल्य संवेदनशील मानिने लाभांश घोषणाको सूचनालाई गलत सम्प्रेषण गरि झुक्क्याउने कार्य गरेका छन् | झुक्क्याउने सूचना सम्प्रेषण गर्नु दण्डनीय कार्य हो |

कसूर र तहकिकात

धितोपत्र सम्बन्धि कसूर गरेको वा गर्न लागेको थाहा पाएमा सरोकारवाला व्यक्तिले नेपाल धितोपत्र वोर्ड सम्बन्धि नियमावली २०६४ को अनुसूची बमोजिमको ढाँचामा बोर्ड समक्ष उजुरी दिनुपर्छ | कसूर भयो वा हुनलागेको छ भन्ने उजुरी नपरे पनि कसूर मानिने कार्य भएको वा भैरहेको कुरा कुनैपनि माध्यमबाट जानकारी प्राप्त गरेमा वा वोर्ड आफैँले थाहा पाएमा सो सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही चलाउन उजुरी नपरेको कारणले मात्र कुनै बाधा पर्दैन । उजुरी परेमा वा जानकारी प्राप्त हुन आएमा तहकिकात गर्न र मुद्दा दायर गर्नुपर्ने देखिएमा बोर्डको कम्तीमा अधिकृतस्तरको कुनै कर्मचारीलाई तहकिकात अधिकारी तोक्नुपर्ने व्यवस्था छ |

तहकिकात अधिकारीले तहकिकात गर्दा सरकारी वकिलको राय लिएर आवश्यक छानवीन गर्ने, अभियुक्त वा कसूरसँग सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण माग, बयान लिई कसूर सम्बन्धी तहकिकात गर्नेछ । प्रारम्भिक छानविनबाट मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएमा बोर्ड समक्ष सोही बमोजिमको सिफारिस गर्नुपर्छ । तहकिकात अधिकारीले कसूरदारलाई तारेखमा राख्न वा नराख्न सक्छ | कानूनी प्रक्रिया पुरा गरि जेथा जमानत लिनसक्ने व्यवस्था छ | खानतलासी लिनुपर्ने भएमा वा कुनै उपकरण वा कागजात बरामद गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति वा सँगठित संस्थालाई पूर्व सूचना दिई त्यस्तो स्थानमा प्रवेश गर्न र कसूरसँग सम्बन्धित उपकरण वा कागजात कब्जामा लिन सक्छ | तहकिकातको सिलसिलामा कुनै अभियुक्तलाई पक्राउ गर्नुपर्ने अवस्थामा बोर्डको पूर्व स्विकृती लिई पक्राउ गर्न प्रहरी कार्यालयमा लेखि पठाउन सकिन्छ ।

मुद्दा हेर्ने अधिकारी

धितोपत्र वोर्ड अर्ध-न्यायिक निकाय समेत भएकोले कानुन अनुसार कतिपय विषयमा आफैं निर्णय गर्नसक्छ | धितोपत्र सम्बन्धि कसूरको सम्बन्धमा निर्णय गर्ने अधिकारक्षेत्र वोर्ड र जिल्ला अदालतलाई तोकिएकोले कसूर हेरी वोर्डले निर्णय गर्ने र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यहोरा खुलाई सोही बमोजिमको राय सहितको प्रतिवेदन तहकिकात अधिकारीले बोर्ड समक्ष पेश गर्नुपर्छ । तहकिकात अधिकारीले सरकारी वकिलको राय लिई तहकिकातको कार्य पुरा भएको मितिले ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्छ | अदालतको फैसला चित्त नबुझेमा बोर्डले मुद्दाको तथ्य, सम्बद्ध कानुन, अदालतको फैसला तथा सम्बन्धित अन्य पक्षहरू समेतको आधारमा पुनरावेदन गर्ने वा नगर्ने कुराको निर्णय गर्नेछ ।

उन्मुक्तिको बाटोमा वोर्ड

नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको कसूरको सम्बन्धमा उजुरी पर्नु पर्ने कानूनी वाध्यता छैन भन्ने तथ्य माथिका बिभिन्न प्रकरणमा उल्लेख भईसकेको छ | उजुरी नपरे पनि स्वयम जानकारीमा लिएर तहकिकात अधिकारी नियुक्त गर्नुपर्नेमा स्पष्टीकरण सोधिरहनु आवश्यक छैन | यस्ता स्पष्टीकरण सोध्ने, वयान लिने, खानतलासी लिने आदी जे जे गर्नुपर्छ तहकिकात अधिकारीले गर्छ | वोर्डले उक्त दिन भएको कारोबारको राफसाफ रोक्न दिएको निर्देशनको कानूनी अस्तित्व शून्य बराबर छ | राफसाफ रोक्ने हैन कारोबारलाई यथावत कायम राखेर उक्त दिनको ‘कुनै एउटा मूल्य’ लाई आधार मानी त्यो भन्दा बढी मूल्य तिरेका लगानीकर्तालाई क्षतिपूर्ति उपलब्ध गराउने गरि मुद्दा चलाउनुपर्छ | ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने कानूनी सुत्र छ | इन्भेष्टमेन्ट बैंकका अधिकारी/पदाधिकारीले ज्ञान वा अज्ञानमा जे जसरी भए पनि कानुनको उल्लंघन गरिसकेको छन् | कसूर मानवीय त्रुटीबाटै हुने र दण्डित पनि हुनुपर्ने भएकोले यसलाई अनेक संज्ञा दिएमा अराजकता र वेथितिको शुरुवात हुन्छ | शास्त्रीय विद्वान मनुले ‘न हि दण्डादृते शक्य: कर्तु पापविनिग्रहः अर्थात ‘पापको प्रायश्चित दण्डबाहेक अरुबाट हुन्न’ भनेका छन | वोर्डले यतिखेर शेयरबजारलाई शुद्धीकरण र सुदृढिकरणतर्फ लैजानुपर्ने आवश्यकता छ | वोर्ड उन्मुक्तिको बाटोमा नलागोस |

आर्थिक अभियान दैनिकमा प्रकाशित


Tuesday, September 12, 2017

शेयर बजारको 'क' 'ख' र लगानी

शेयर बजारको 'क' 'ख' नपढी आउने धेरै टिक्न सक्दैनन । भदौरे भेल जस्तै आउँछन् अर्कालाइ बगाउन खोज्छन तर सक्दैनन अनि आफैं बगेर जान्छन ।
अहिले एक क्लिक गरेको भरमा सुचना जानकारी आउँछ तर यस्ता सूचना र जानकारी हेर्न भने पट्क्कै जाँगर लाएको देखिन्न ।  उचित ज्ञान जानकारी विना कुनै  पनि पेशा व्यवसाय गर्न सकिन्न । त्यसकारण सकेसम्म आफैंले पर्याप्त ज्ञान लिएर मात्रै आउनुस ।
बजार छिरेको दिनदेखी फलानोको हकप्रद कहिले आउँछ, एफपिओ किन नआएको वा सबैले दिइसके यसले किन नदिएको, बोनस कहिले आउँछ भनेर एकोहोरो पछि नलाग्नुस । शेयर लगानी प्रतिफलमा आधारित लगानी हो । कम्तिमा कम्पनीको आधारभूत पक्ष कस्तो छ भन्ने जानकारी लिएमा कम्पनीले पूँजी थप्नुपर्छ वा पर्दैन सामान्यतया जानकारी पाउन सकिन्छ । बैंकको व्यवसाय आफ्नो पूँजीको आधारमा हुन्छ । जति बढ्दो निक्षेप हुन्छ सोहि मात्रामा बैंकले पूँजी बढाउनु पर्छ । पूँजी बढाउन आर्जित आम्दानी पूँजीकरण गर्नु पर्छ । व्यवसायको आकार बढ्दो हुन्छ । आज जति पूँजीले व्यवसाय हुन्छ भोलि त्यति पूँजीले व्यवसाय चल्दैन पूँजी थपिरहनुपर्छ । सम्भवत नेपालमा निजि बैंक खुल्दा ५ करोड पूँजी थियो होला अहिले त्यही बैंकको पूँजी ८ अर्बको हाराहारीमा पुगिसकेको छ र अझ बढ्दो छ । स्मरण रहोअ केन्द्रीय बैंकले २ अर्ब पूँजी तोक्दा केही बैंकको पूँजी ५ अरबको हाराहारीमा पुगिसकेको थियो ।
प्राय सबै व्यवसायको पूँजी बढ्नै पर्छ तर जलविद्युतलाई भने हरेक साल पूँजी हाल्नुपर्दैन किनकि यो स्थिर व्यवसाय हो । यस्ले उत्पादन शुरु गरेको दिन जति क्षमता धारण गरेको हुन्छ अन्तिमसम्म त्यति नै हुन्छ । आम्दानी पनि करिबकरिब स्थिर नै हुन्छ ।
त्यही भएर व्यवसायको बढ्दो आकार हेरेर र कम्पनी चिनेर लगानी बढाऔं । लगानी गरेपछि लाभ प्राप्त हुन्छ नै ।
तर शेयरमा लगानी गरेपछि रातारात नयाँ जुनि फेरिने गरि लाभ कुम्ल्याउन आएको भए कृपया यता नआउनुस । लगानीको अरु क्षेत्र खोज्नुस ।
शेयर बजार अति सम्वेदनशिल र जोखिमयुक्त छ ।

Friday, September 8, 2017

शेयरबजारमा ठगी

आफ्नो हक नपुग्ने अर्काको हक, स्वामित्व र भोगमा रहेको चल-अचल सम्पत्ति अनेक प्रपन्च रचि सम्बन्धित पक्षको हक मेटाई लिने कार्यलाई ठगी भनिन्छ | शेयरबजारमा ठगी गर्न अनेक प्रकारका जालसाजी, धोकाधडी वा अन्य प्रपन्च अपनाइएको देखिएको छ | शेयरबाट अत्याधिक कमाइ गर्ने इच्छा, चाहना र महत्वाकांक्षी स्वभावले ठगीजन्य अपराध गर्न प्रोत्साहन मिलेको छ |

नेपोलियन मारिए !  

सन् १८१४ फ्रेबुअरी २१ तारिख सोमबारको दिन बिहान लण्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झुटो समाचार फैलाएर गरिएको धोकाधडीलाई अहिले पनि स्टक एक्सचेन्जको इतिहासमा ठूलो धोकाधडी मानिन्छ | नेपोलियन मारिएको समाचारले बढेको शेयरको भाउ वास्तविक समाचार आउनासाथ तुरुन्तै पुरानै स्थितिमा फर्किएको थियो | छानविनको क्रममा सोमबार बेचिएका अधिकाँश शेयर अगिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो | घटनामा सांसद एवम विख्यात नौसेना लर्ड थोमस कोच्रेन,  उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन  र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड  सामेल भएको पाइयो |

समाचारबाट जालसाजी

उठेदेखि नसुतेसम्म जीवनशैली सूचना प्रणालीसँग जोडिएको हुन्छ | पत्रिकामा सत्यतथ्य छापिन्छ भन्ने विश्वास गरिन्छ | पत्रकारलाई राज्यको चौथो अंगको सम्मान छ | जीवनशैलीको अभिन्न अंग बनेको पत्रिका पनि आफू लाभ लिन वा अरुलाई लाभ दिलाउन बदनियतसाथ समाचार सम्प्रेषण गरिदिन्छन | अहिले ब्रोडशिट भन्दा अनलाइन पत्रिका बढी पढिने सूचनाको माध्यम बनेको छ | धेरै पढिने माध्यम भएकोले जालसाजी गर्ने राम्रो आधार बनेको छ गभर्नरले आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति बाचन नसक्दै एउटा अनलाइन पत्रिकाले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर १ सय ८० दिनमा कायम औसत मूल्यको ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गर्यो | गभर्नरले बाचन गरेको नीतिमा प्राथमिक पूँजीको ४० प्रतिशत मार्जिन प्रकारको कर्जा प्रवाह गर्न पाइने भन्ने बाक्य थियो | समाचार पढेपछि कर्जा घट्ने चिन्ताले शेयर कर्जा लिएर लगानी गरेकाले धमाधम बेचे | यो घटना नेपोलियन मरे भनेर गरिएको प्रचारसँग हुबहु दाँज्न सकिन्छ |  

मार्केट गुरु, शेयर गुरु, बजार गुरु......

फेसबुकमा शेयरसम्बन्धि छलफल गर्ने भनेर खोलिएका समुह र सहभागी हुनेको संख्या बढेको छ | फेसबुकमा दर्ता हुन नाम, ठेगाना, तस्विर लगायत कुनै पनि वास्तविक विवरण नचाहिने भएकोले जालसाजी गर्नेको लागि बाँदरलाई लिस्नुबनेको छ | एकै व्यक्तिले बिभिन्न छद्म नाम राखेर दर्जनौं खाता खोलेर आफैँ लेख्दै आफ्नो अर्को खाताबाट टिप्पणी गर्दै जालसाजी गर्न सहज बनेको छ | छद्म नामयुक्त व्यक्तिको निहित उद्देश्य जालसाजी र धोकाधडी बाहेक अरु केहि हैन | यस्ता छद्मभेषी मार्केट गुरु, शेयर गुरु, बजार गुरु बन्दै साना लगानीकर्ताको हित संरक्षण भन्दै तिनै साना भनिएकालाई चोपल्दै निचोर्दैगर्ने गरेका छन् | अब यसको र त्यसको बढ्ने पालो भन्दै भ्रम पनि यिनै छर्छन | बंगलादेशमा यस्तै खालका दुष्प्रचार गर्ने १ सयवटा फेसबुक पृष्ठ बन्द गर्न बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले बंगलादेश टेलिकम रेगुलेटरी कमिसनलाई पत्रचार गरिसकेको छ |   

छलफलको निचोड र आमाको सल्लाह

छलफलको निचोडको आधारमा अमुक कम्पनीका अमुक कित्ता शेयर भोलि नै किन्ने निर्णय गरेको भन्दै घुमाउरो पाराले गरिएको प्रचार जालसाजीको नौलो स्वरूप हो | नयाँ स्वरूप अपनाउने क्रममा सबैभन्दा सम्मानित साइनो आमालाई पनि जालसाजीमा सामेल गराइसकेका छन् | प्रिय र आत्मीययुक्त सम्बन्ध आमाले भनेको अमुक कम्पनीको शेयर किनेर यति नाफा भो भन्दै गरिएको प्रचारमा नकरात्मक सोच्ने ठाउँ नै हुन्न | लगानीकर्ताको मनोविज्ञान पनि आमाले भनेको कम्पनी किनेर पो फाइदा हुने रहेछ भनेर त्यतापट्टी ओइरिन्छ | एउटी आमा थाहै नपाई छोराछोरीले गर्ने जालसाजीको मतियार बन्छिन अर्की आमाका छोराछोरी सम्पत्ति गुमाउँछन |

तालिम र प्राविधिक विश्लेषण

हरेक विषयको आधारभूत र सैद्धान्तिक पक्ष हुन्छ | यस्ता विषय नबुझेसम्म त्यसको व्यवहारिक पक्ष बुझ्न सकिन्न | शेयर र शेयरबजारको सैद्धान्तिक पक्षको कुरै नगर्ने र रेखा तानेर तल माथि देखाउँदै यो र त्यो सपोर्टलेभल भन्ने प्रशिक्षक र प्राविधिक विश्लेषक छन् | १/२ घण्टे गफलाई तालिमको संज्ञा दिने यस्ता अर्धज्ञानीको उद्देश्य जालसाजी बाहेक अरु केहि हुन्न | कुनै पनि तालिम र अभिमुखीकरण कम्तिमा क्रमशः १५ र ५ घण्टाको हुनुपर्छ | शेयर लगानी प्रतिफलमा आधारित भएकोले प्राविधिक विश्लेषणको औचित्य छैन |  

त्यस्तै, नाफा जति संस्थापकले खाएर साधारण शेयरधनीलाई थोरै नाफा दिन्छन भन्ने अफवाह फैलाउने जालसाजीको अर्को रुप पनि देखिएको छ |

मुलुकी र धितोपत्र ऐन

माथि उल्लेखित समस्त गतिविधि मुलुकी ऐन, ठगीको महल तथा धितोपत्र सम्बन्धि ऐन विपरितका कार्य हुन् | ठगीको महल १ नं. मा आफ्नो हक नपुग्ने सम्पत्ति माथि अनधिकृत कब्जा जमाउन अनेक प्रपन्च रच्नु, झूटो कुरालाई सद्दे हो भन्नु र अरु जुनसुकै तवरले झुक्याउनु ठगी हो | त्यस्तै २ नं. मा नाउँ ढाट्नु, अर्कै हो भन्नु, म होइन भन्नु, अर्कोको नाउँलाई मेरो हो भन्दै बेइमानीका नियतसँग अरू कसैलाई धोकागफलत वा झुक्यानमा पारी अर्काको नोक्सान वा आफनो फाइदा हुने काम गर्नु ठगी हो |

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९८ अनुसार कसैले कसैसँग धितोपत्र खरिद-बिक्री वा विनिमय गर्ने उद्देश्य लिई (क) कसैलाई झुक्याउन कुनै प्रविधियोजना वा काम गरेमाझुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमाजालसाजी गरेको मानिने व्यवस्था छ |

ठगीमा सजाय  

मुलुकी ऐनमा ठगीको विगो कायम भएमा विगो भराई दिने र विगो कायम नभएमा ५ हजार जरिवाना र ५ वर्ष कैद हुन्छ | धितोपत्र कानुनमा जालसाजी गर्नेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्छ ।

न्यायधिकरणको आवश्यकता

धितोपत्र सम्बन्धि ठगीको लागि गरिने जालसाजीको स्वरूप बदलिंदै गएको र सुनुवाई पनि विशेष प्रकारले गर्नुपर्ने भएकोले धितोपत्र सम्बन्धि कसुरको मुद्दा हेर्न छुट्टै धितोपत्र न्यायधिकरणको आवश्यकता परिसकेको छ | वर्तमान धितोपत्र कानुनले धितोपत्र सम्बन्धि कसुरको सुनुवाई जिल्ला अदालतले गर्ने व्यवस्था गरेको छ | विशेष प्रकृतिको मुद्दा भएकोले यस्ता मुद्दा नियमित अदालतको सट्टा विशेष किसिमको अदालतबाट किनारा लगाउँदा प्रभावकारी हुने भएकोले धितोपत्र न्यायाधिकरणको टड्कारो आवश्यकता छ |

भारतमा सेक्युरिटीज अपिलियट ट्राबुनल’, बंगलादेशमा क्यापिटल मार्केट ट्राइबुनलर नाइजेरियामा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज ट्राइबुनलस्थापना भैसकेका छन् | बंगलादेशी ट्राइबुनलले सन् १९९६ र सन् २०१०/११ मा शेयरबजारमा घटेका घटनाको सुनुवाई गर्ने क्षेत्राधिकार पाएको छ | यसअघी ढाका मजिष्ट्रेटले यसको क्षेत्राधिकार ग्रहण गरेको थियो |

बंगलादेशी ट्राइबुनलले महबुव सरवर नामक एक व्यक्तिलाई ब्लग र वेवसाइट मार्फत मूल्य हेरफेर गर्न प्रभाव परेको भन्दै दुई वर्षको जेल सजाय सुनाएको थियो | सरवरले फेसबुकमा १० वटा पृष्ठ चलाउने गरेका थिए |






कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...