Tuesday, June 2, 2020

गणना

   
१.       एक           - १
२.      दश           - १०
३.      सय           - १००
४.      हजार         - १,०००
५.     दश हजार      - १०,०००
६.       लाख          - १,००,०००
७.     दश लाख      - १०,००,०००
८.      करोड         - १,००,००,०००
९.       दश करोड      - १०,००,००,०००
१०.    अरव          - १,००,००,००,०००
११.    दश अरव      - १०,००,००,००,०००
१२.   खरव          - १,००,००,००,००,०००
१३.   दश खरव      - १०,००,००,००,००,०००
१४.   निल          - १,००,००,००,००,००,०००
१५.  दश निल       - १०,००,००,००,००,००,०००
१६.    पद्म           - १,००,००,००,००,००,००,०००
१७.  दश पद्म        - १०,००,००,००,००,००,००,०००
१८.   शंख           - १,००,००,००,००,००,००,००,०००
१९.    दश शंख       - १०,००,००,००,००,००,००,००,०००
२०.   क्षिति          - १,००,००,००,००,००,००,००,००,०००
२१.   दश क्षिति      - १०,००,००,००,००,००,००,००,००,०००
२२.  क्षोभ          - १,००,००,००,००,००,००,००,००,००,०००
२३.  दश क्षोभ       - १०,००,००,००,००,००,००,००,००,००,०००
२४.  ऋद्धि          - १,००,००,००,००,००,००,००,००,००,००,०००
२५. दश ऋद्धि      - १०,००,००,००,००,००,००,००,००,००,००,०००
२६.   सिद्धि          - १,००,००,००,००,००,००,००,००,००,००,००,०००
२७. दश सिद्धि      - १०,००,००,००,००,००,००,००,००,००,००,००,०००
२८.  निधि          - १,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
२९.   दश निधि      - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३०.   क्षोणी         - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३१.   दश क्षोणी      - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३२.  कल्प          - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३३.  दश कल्प      - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३४.  त्राही          - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३५. दश त्राही       - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३६.   ब्रह्माण्ड        - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३७. दश ब्रह्माण्ड     - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३८.  रुद्र           - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
३९.   दश रुद्र        - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४०.  ताल          - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४१.   दश ताल       - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४२.  भार           - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४३.  दश भार       - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४४. बुरुज          - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४५. दश बुरुज      - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४६.  घंटा           - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४७. दश घंटा       - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४८.  मील          - १,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००
४९.  दश मील       - १०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,०००

५०. पचुर – १ पछाडी ४९ वटा शून्य
५१. दश पचुर  - १ पछाडी ५० वटा शून्य
५२. लय - १ पछाडी ५१ वटा शून्य
५३. दश लय - १ पछाडी ५२ वटा शून्य
५४. फार - १ पछाडी ५३ वटा शून्य
५५. दश फार - १ पछाडी ५४ वटा शून्य
५६. अषार - १ पछाडी ५५ वटा शून्य
५७. दश अषार - १ पछाडी ५६ वटा शून्य
५८. वट - १ पछाडी ५७ वटा शून्य
५९. दश वट - १ पछाडी ५८ वटा शून्य
६०. गिरी - १ पछाडी ५९ वटा शून्य
६१. दश गिरी - १ पछाडी ६० वटा शून्य
६२. मन - १ पछाडी ६१ वटा शून्य
६३. दश मन - १ पछाडी ६२ वटा शून्य
६४. वव - १ पछाडी ६३ वटा शून्य
६५. दश वव - १ पछाडी ६४ वटा शून्य
६६. शंकू - १ पछाडी ६५ वटा शून्य
६७. दश शंकू - १ पछाडी ६६ वटा शून्य
६८. बाप - १ पछाडी ६७ वटा शून्य
६९. दश बाप - १ पछाडी ६८ वटा शून्य
७०. बल - १ पछाडी ६९ वटा शून्य
७१. दश बल - १ पछाडी ७० वटा शून्य
७२. झार - १ पछाडी ७१ वटा शून्य
७३. दश झार - १ पछाडी ७२ वटा शून्य
७४. भार - .१ पछाडी ७३ वटा शून्य
७५. दश भार - १ पछाडी ७४ वटा शून्य
७६. बज्र - १ पछाडी ७५ वटा शून्य
७७. दश बज्र - १ पछाडी ७६ वटा शून्य
७८. लोट - १ पछाडी ७७ वटा शून्य
७९. दश लोट - १ पछाडी ७८ वटा शून्य
८०. नजे - १ पछाडी ७९ वटा शून्य
८१. दश नजे - १ पछाडी ८० वटा शून्य
८२. पट - १ पछाडी ८१ वटा शून्य
८३. दश पट - १ पछाडी ८२ वटा शून्य
८४. तमे - १ पछाडी ८३ वटा शून्य
८५. दश तमे - १ पछाडी ८४ वटा शून्य
८६. डम्भ - १ पछाडी ८५ वटा शून्य
८७. दश डम्भ - १ पछाडी ८६ वटा शून्य
८८ कैक - १ पछाडी ८७ वटा शून्य
८९. दश कैक - १ पछाडी ८८ वटा शून्य
९०. अमित - १ पछाडी ८९ वटा शून्य
९१. दश अमित - १ पछाडी ९० वटा शून्य
९२. गोल - १ पछाडी ९१ वटा शून्य
९३. दश गोल - १ पछाडी ९२ वटा शून्य
९४. परिमित -  १ पछाडी ९३ वटा शून्य
९५. दश परिमित - १ पछाडी ९४ वटा शून्य
९६. अनन्त - १ पछाडी ९५ वटा शून्य
९७. दश अनन्त - १ पछाडी ९६ वटा शून्य
































Saturday, May 30, 2020

पढाईको कुरा

समय : २०४०/४१
अहिले १ कक्षा पुग्न ३ वर्ष लाग्छ तर, हाम्रो पालामा विद्यालय जानासाथ १ कक्षामा पुगिन्थ्यो | मैले पनि १ बाटै शुरु गरेको हुँ l पढ्ने किताव र कापी सबैको काठको पाटी नै हो l यस्तो पाटीमा दलिनमा हुने ध्वाँसोले लिपिन्थ्यो l अनि यसमा खरीले लेख्न सिकिन्थ्यो l घर नजिकको निमावी स्कुलमा शुरुमा पढ्न गए पनि खै किन हो त्यहाँ मेरो लागि वातावरण उचित भएन l
घर नजिकको स्कुलमा वातावरण नबनेपछि मलाई बुबाले घरदेखि झन्डै १ घण्टा समय लाग्ने मावि स्कुलमा लगेर भर्ति गरिदिनु भो l यो विद्यालयको कथा पनि गजबको छ l खासमा यो विद्यालय मेरै गाउँ (बुलुंग) को बुलुंगसिममा आएको रहेछ तर, अहिले भएको ठाउँको नाम बुलुंगसी थियो l बुलुंगसिमलाई बंग्याएर बुलुंगसीमा राखिएछ l यो विद्यालय तत्कालिन शिक्षामन्त्री भोजराज घिमिरेले उद्घाटन गरेका हुन् भन्ने सुनेको छु l हुनत विद्यालयको लागि उपयुक्त स्थान बुलुंगसी नै थियो l पर्याप्त खुला ठाउँ र ठुलो चौर पनि भएकोले बुलुंगसिम भन्दा राम्रो छ l टाढा भए पनि यस विद्यालयमा मेरो लागि वातावरण राम्रो बनेछ र रमाइलो मानेर गएँ l मावि भएकोले होला मलाई शुरुमै किताव मिल्यो l
मंगसिरमा जाँच हुन्थ्यो l सबै जना जाँच जाँच भन्थे आफुलाई जाँच भनेको के हो थाहा थिएन l जाँचको दिन सबैलाई गोलो घेरा हालेर चौरमा बस्न भनियो l हुनत पढ्ने पनि बाहिर नै थियो तर, त्यो चाहिँ विद्यालय भवनको छेउमा हुन्थ्यो l शिक्षकले २ पाना कापी दिए र त्यसमा आफ्नो नाम रोल नं. लेख्न भनियो l अरु के के लेख्न लगाए अहिले बिर्सिएँ l यसैगरी जाँच सक्कियो, स्कुल विदा भयो र खै कुन दिन हो स्कुल आउनु भनिएको थियो l
म सो दिन स्कुल गएँ l एकजना सायद शम्भु गिरी भन्ने मलाई तिमी फस्ट भयौ म सेकेण्ड भनेर सुनाएको थियो l उसले पनि आफैल जानेर भनेको हैन l सायद उसका काका (वेदबहादुर गिरी) ले उसलाई भनेको हुनुपर्छ l किनकि वेद माथिल्लो कक्षामा भएको हुँदा भनेको हुनुपर्छ l अनि मैले यो के भनेको के हो भनेर सोधें उसले अब तिमीले ३ वटा कापी र सिसाकलम पाउँछौ भनेको थियो l मलाई त पत्यार पनि लागेन l नभन्दै कुनै एकदिन कक्षा १ मा प्रथम हुने ज्योति दाहाल भनेर बोलाएका थिए l म फूर्तिसाथ उठेर गएँ र कापी लिएको थिएँ l
त्यसपछि म दुइ कक्षमा पुगें एवम क्रमले कक्षा चढ्दै गइयो l प्रथम पनि मेरो हातबाट बाहिर गएन l ६ कक्षामा पुगेपछि विभिन्न प्रावि स्कुलबाट सायद ६ जना प्रथम भएर आएका थिए l झन्डै झन्डै वार्षिक परीक्षा हुने बेलामा एक किशोरी रामेछापवाट आइन l उनलाई किन ल्याइयो भन्ने थाहा छैन l उनी राम्रो पढ्ने विद्यार्थी थिइन् l स्कुल भएको गाउँको प्रधानपन्चको भदैनी रहिछन l
त्यो वर्ष ६ कक्षाको परिणाम निकाल्ने बेलामा निकै रस्साकस्सी परेछ l मेरो कुल अंक ४ सय ८१ उनको ४ सय ६१ आएछ l यो अंक उल्टो पार्न धेरै प्रयास भएछ तर, मेरै गाउँका एक शिक्षक (कैलाश खड्का) ले यो कुरा थाहा पाए पछि त्यसो हुन् दिएनन र म ७ जना यस्ता प्रतिस्पर्धीलाई उछिनेर प्रथम भएँ l
त्यो वर्ष स्कुलभरिमै धेरै अंक ल्याउनेमा म २ अंकले पछि परें l संयोगले मेरै दाई नाता पर्ने केशव खतिवडा ४ सय ८३ अंक ल्याएर विद्यालय प्रथम हुनुभएछ l दाई सायद त्यतिबेला ८ कक्षामा हुनुहुन्थ्यो जस्तो लाग्छ l
अर्को वर्ष ७ कक्षामा उनै प्रधानपन्चको भदैनी ५ सय ४६ अंक ल्याएर प्रथम र म ५ सय ३६ अंक ल्याएर द्वितीय हुन् बाध्य भएँ l त्यो वर्षको परीक्षाफल स्वीकार गरिन l सबै विषयको अंक मलाई चित्त बुझेन र मेरै गाउँका एकजना दाई लव खडका (हाल स्वर्गीय) ले यो हुँदै हुन्न भनेर साथ् दिनुभयो l
दाईको सहयोगमा तत्कालिन प्रधानअध्यापक बलरामप्रसाद शिवाकोटी (सुनखानी, दोलखा) लाई भेट्यौं l बलराम सर, जिरीबाट त्यस विद्यालय आउनु भएका प्रेम पाख्रिन सर (मिर्गे, दोलखा), लब दाई र म विद्यालयको पछाडी पट्टि बसेर कुरा गरियो l दुबै सरले मेरो कुरा जायज भएको तर, आफूले केही गर्न नसक्ने बताउनु भयो l लब दाईले पनि भइगो छोडीदेउ भन्नुभयो l मैले त्यतिबेला पुरस्कार दिने बेला मेरो नाम उच्चारण नगर्नु होला भनेर चेतावनी दिएँ l
मैले त्यसवर्ष एकदिन पनि हाजिर गर्दा येस सर भनिन l त्यत्तिकै हाजिर लगाए होलान सायद, मैले हेर्दा पनि हेरिन l प्रथम भएकी ति किशोरी पनि आफु प्रथम भएकोमा खास खुशी भएकी मैले महसुस गरिन l
पुरस्कार दिने दिन आयो म उपस्थित भएँ तर, मेरो नाम उच्च्चारण भएन l प्रथम भएकी ति किशोरी अनुपस्थित भइन l यदि मेरो नाम लिएको भए म त्यो पुरस्कार दुई शिक्षकलाई त्यहि समारोहमा दिने बिचारमा थिएँ l ति दुइजना शिक्षक बलराम शिवाकोटी र प्रेम पाख्रिन हैनन् अरु नै थिएँ l
८ कक्षामा म प्रथम ति किशोरी द्वितीय भयौं त्यसपछि मैले त्यो विद्यालय छोडें ति किशोरीले पनि छाडीछन् l
उनी रामेछाप नै फर्किइन् भन्नेसम्म सुनेँ l धेरैपछि उनीसँग काठमाडौंमै भेट भयो l उनीले ७ कक्षामा आफु प्रथम भएकोमा कुनै खुशी नभएको बताईन l त्यो कुरा ८ कक्षा पढ्दा नै मैले महसुस गरेको थिएँ l अचेल ति कता के गर्दैछिन् केही थाहा पत्तो छैन l
संक्षेपमा विद्यालयको परिचय
मैले पढेको मेरै गाउँको पहिलो विद्यालयको नाम श्री शारदा निम्न माध्यमिक विद्यालय थियो अहिले माध्यमिक भएको छ l अनि एक घण्टा परको विद्यालयको नाम श्री शान्ति आदर्श माध्यमिक विद्यालय लादुक हो l लादुक स्कुलको नामले चिनिन्छ l दोलखा जिल्लाको पुरानो मध्येको र उत्तरी क्षेत्रको त्यतिबेलाको एकमात्र माध्यामिक विद्यालय हो l
यसको स्थापना २०३४ सालमा भएको हो l अहिलेका बालबालिका मन्त्री पार्वत गुरुङले यहीँ पढेका हुन् l २०४८ को संसदीय चुनावमा विजयी जितवीर लामा जिम्वा र जिल्ला विकास समिति दोलखाको सभापति हुनुभएका लालकुमार केसी पनि यहिँ शिक्षक थिए l पूर्व अन्चालाधिश एवम् पूर्वान्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक जगदीश खड्काले पनि सम्भवत यहीँ पढेका हुनसक्छन l जगदीश खडका दाई स्कुल भएकै गाउँको वासिन्दा भएको हुँदा पढेको अनुमान गरेको हुँ l

Thursday, May 28, 2020

भारतीय कम्पनीको शेयर बाईब्याक


भारतीय शेयरबजारमा सूचीकृत कम्पनीले आफ्नो शेयर आफैँ किन्ने (बाईब्याक) घोषणा गरिरहेका छन् । सामान्यतया: कम्पनीले आफ्नो शेयर अरुलाई बेचेर अरु कम्पनीको शेयर किन्ने गर्छन । आफ्नै शेयर पनि किन्न पाइन्छ र भन्ने धेरैलाई लाग्नसक्छ । नेपालमा सम्भवत यस्तो अभ्यास अहिलेसम्म नभएको हुँदा अनौठो लाग्नु स्वाभाविक हो । कम्पनी कानुनले तोकेको शर्त पूरा गरी कुनै पनि कम्पनीले आफ्नो शेयर आफैँ किन्न सक्छन । भारत लगायत अन्य देशमा यस्ता गतिविधि (बाईब्याक) साधारण कुरा हो ।

के हो बाईब्याक

प्रारम्भिक सार्वजनिक निर्गमन अर्थात् इनिसियल पब्लिक अफरिंग (आइपिओ) को ठिक उल्टो बाईब्याकहो । कम्पनीले पूँजीको अंश आइपिओ मार्फत बिक्री गरेर पूँजी जुटाउँछन् भने बाईब्याकमा त्यसरी बेचिएको शेयर धारक (शेयरधनी) बाट फिर्ता (खरिद) गरेर पूँजी घटाउँछन् । कम्पनीले पूँजी जुटाउँछन् भन्ने मात्र सुनेकाको लागि आफ्नै शेयर आफैँले किनेर पूँजी घटाउँछन् भन्दा अचम्म नलाग्ने कुरै हुन्न । तर, यो सत्य हो र अभ्यासमा छ ।

किन गर्छन बाईब्याक

आइपिओ जारी गरेर पूँजी जुटाउने कम्पनीले किन बाईब्याक गरेर पूँजी घटाउँछन् धेरैलाई यो विषयमा खुल्दुली हुनसक्छ । बाईब्याक गरिने केही कारण संक्षेपमा चर्चा गरिएको छ ।

१.       कम्पनीले हरेक वर्ष खूद नाफाबाट केही रकम संचित कोष (स्वतन्त्र कोष वा जगेडा) मा राख्ने गर्छन् । कम्पनीको संचित कोषमा रहेको रकम शेयरधनीकै कोष भएकोले यस्तो रकम खर्च गर्नको लागि अन्य क्षेत्र नहुँदा आफ्नै शेयरधनीसंग रहेको शेयर खरिद गर्दा लाभ आफ्नै शेयरधनीले पाउँने अवसर प्राप्त हुन्छ । कम्पनीले लाभांश दिएर पनि संचित कोषमा पर्याप्त रकम हुने हुँदा बाईब्याक शेयरधनीको लागि दोहोरो लाभको अवसर हो । यसो गर्दा कम्पनीको पूँजी कम हुनजान्छ र बढी प्रतिफल प्राप्त हुन्छ । शेयर कित्ता धेरै हुनुभन्दा राम्रो (धेरै) नाफा दिनसक्ने थोरै कित्ता शेयर हुनु राम्रो कुरा हो । बजार मूल्यभन्दा बढी मूल्य बाईब्याक गरिन्छ । कम्पनीले शेयर बाईब्याक गरेपछि पूँजी घट्छ र पूँजी घट्दा प्रतिशेयर आम्दानी बढ्छ ।

२.         कम्पनी मजबुत अवस्थामा पनि शेयरको संख्या बढेको कारण बजारमा शेयरको आपूर्ति बढी हुँदा शेयर मूल्यमा कमि आउँदा कम्पनीले शेयर मूल्य बढाउन पनि यस्तो घोषणा गर्नसक्छ । किनकी यसो गर्दा कम्पनीको पूँजी घट्छ र शेयर कित्ता कम हुन्छ ।

३.   कुनै कारणवश (जस्तै कोरोना त्रासदी) कम्पनीको शेयर मूल्यमा अत्यधिक गिरावट आउन थालेपछि कम्पनीप्रति शेयरधनीलाई विश्वास जगाउन आफ्नो शेयर आफ्नै किन्छन । यसो गर्दा कम्पनीको स्थिति मजवुत रहेको भन्ने सन्देशले प्रवाह हुन्छ ।

४.      कुनै समूहले बढीभन्दा बढी शेयर किनेर प्रतिरोधी कब्जा (होस्टाइल बिडर) नगरोस भन्नाको लागि पनि कम्पनीले बाईब्याक रणनीति अपनाउने गर्छन । अधिकाँश कम्पनीले बाईब्याक गर्नुको मूल कारण यही हुन्छ । अहिले भारतीय कम्पनीले बाईब्याक गर्नुको एउटा कारण यही हो ।

भारतीय कम्पनीको बाईब्याक

चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीसी) ले हाउजिंग डेभलपमेन्ट फाइनान्स कम्पनी (एचडीएफसी) को १ दशमलव शून्य १ प्रतिशत शेयर किनेपछि भारतीय कम्पनी झस्केको अनुमान गर्न सकिन्छ । कम्पनीले प्रकाशन गरेको मार्च महिनासम्म कायम शेयरधनीको विवरणमा डिसेम्बरको भन्दा (शून्य दशमलव ८ प्रतिशत) २६ प्रतिशत बढी शेयर पीबीसीको नाममा देखिएको छ । एचडीएफसीमा पीबीसीसहित झन्डै २ हजार विदेशी संस्थाको लगानी छ । सबैभन्दा बढी विदेशी र स्वदेशी लगानी क्रमशः सिङ्गापुर सरकार र भारतीय जीवन बिमा निगम अर्थात् लाईफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डियाको छ । एचडीएफसी मूलतः हाउजिंग र रियल स्टेट कम्पनी हो । एचडीएफसीले प्रवर्द्धन गरेको एचडीएफसी बैंकमा १९ दशमलव ४३ प्रतिशत, एचडीएफसी एसेट म्यानेजमेन्ट कम्पनीमा ५२ दशमलव ७ र एचडीएफ लाइफ इन्सुरेन्समा ५१ दशमलव ४५ प्रतिशत शेयर हिस्सा छ ।

भारतमा बाईब्याक सामान्य प्रक्रिया हो । तर, यसपटकको बाईब्याक अलि विशेष बनेको कारण केहीहदसम्म माथि उल्लेख गरिएको छ । मूलत घट्दो बजारमा मूल्य घट्दा प्रतिरोधी कब्जा हुने डरले कम्पनीले बाईब्याक प्रस्ताव गरेको अनुमान गर्न सकिन्छ । मार्च महिनामा सन् फर्मास्युटिकल्स, आदित्य भिजन, कोरल इन्डिया फाइनान्स एण्ड हाउजिंग, डाल्मिया भारत, डेल्टा कर्प, टिप्स इन्डष्ट्रिज, स्टरलाईट टेक्नोलोजीज, रामकृष्ण फोर्गिन्स, मोतिलाल ओसवाल फाइनासियल सर्भिसेस, इमामी, सुप्रिम पेट्रोलियम, एस्टर डीएम हेल्थकेयर लिमिटेड लगायत कम्पनीले बाईब्याक घोषणा गरेर कतिपयले किनिसकेका छन् कतिपय किन्ने प्रकियामा छन ।

औषधि निर्माता कम्पनी सन फर्मास्युटिकल्सले चुक्ता मूल्य १ रुपैयाँ भएको ४ करोड कित्ता शेयर अधिकतम ४ सय २५ रुपैयाँमा किन्ने घोषणा गरेको छ । बाईब्याक प्रयोजनका लागि कम्पनीले १७ अर्ब रुपैयाँ छुट्ट्याएको छ । सिमेन्ट उत्पादक कम्पनी डाल्मियाले २ रुपैयाँ चुक्ता मूल्य भएको ७१ लाखभन्दा बढी कित्ता शेयर अधिकतम ७ सय रुपैयाँमा किन्नको लागि ५ अर्व रुपैयाँ छुट्ट्याएको छ । मोतिलाल ओसवाल फाइनान्सियल सर्भिसले २३ लाखभन्दा बढी कित्ता शेयर अधिकतम ६ सय ५० रुपैयाँमा किन्न १ अर्व ५० करोड रुपैयाँ छुट्ट्याएको छ । कम्पनीको चुक्ता मूल्य १० रुपैयाँ छ । सूचना प्रविधि कम्पनी जष्ट डायल लिमिटेडले २ अर्व २० करोड रुपैयाँ बराबरको ३१ लाखभन्दा बढी कित्ता शेयर अधिकतम ७ सय रुपैयाँमा किन्ने बताएको छ । यसको पनि चुक्ता मूल्य १० रुपैयाँ छ । घरायसी र सौन्दर्य सामग्री उत्पादक कम्पनी इमामी,  इन्डिया बुल रियल स्टेट, थोमस कुक लिमिटेड लगायत कम्पनीले पनि शेयर बाईब्याक गर्ने भएका छन् ।

नेपालमा बाईब्याक

नेपालमा पनि कम्पनी ऐन, २०६३ र बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, २०७३ मा आफ्नो शेयर आफैँ किन्न सक्ने व्यवस्था छ । तर, अहिलेसम्म सम्भवत कुनै पनि नेपाली कम्पनीले बाईब्याक गरेको देखिएको छैन ।  नेपालका एकादुई कम्पनीले बाईब्याक गर्नसक्ने हैसियत राखे पनि अधिकाँश कम्पनीको हैसियत छैन । कोरोना त्रासदीपश्चात कम्पनीको आय घट्न सक्ने आशंकाले शेयर मूल्य घटिरहेको बेला यस्ता बाईब्याकले कम्पनीप्रतिको धारणामा शेयरधनीलाई सकारात्मक प्रभाव पार्न भारतमा शेयर बाईब्याक गर्न लागेको देख्न सकिने एउटा कारण हो । अर्को कारणको रुपमा शेयर भाउ घटेपछि हुनसक्ने प्रतिरोधी कब्जाबाट बच्न हो । नेपालका सूचीकृत कम्पनी मध्ये बैंक र बिमा क्षेत्रमा संस्थापक समूहको ५१ प्रतिशत हिस्सा स्थिर रहने हुँदा प्रतिरोधी कब्जाको सम्भावना शून्य छ । संस्थापक समूह बाहेक बाहिर रहेको शेयर कुनै व्यक्ति वा समूहले लिएर प्रतिरोधी कब्जा हुनसक्दैन ।  यी दुई बाहेक अन्य क्षेत्रका कम्पनीमा प्रतिरोधी कब्जा हुनसक्ने सम्भावनालाई टार्न सकिन्न । यद्धपि यसको पनि सम्भावना कम छ ।

नेपालमा बाईब्याक गर्ने स्थिति भनेको अहिले जस्तै शेयरधनीले विश्वास गुमाउन सक्ने सम्भावनालाई टार्नु मात्र हो । तर, नेपालका कम्पनीसँग संचित रकम ‘सिला’ खोजे बराबर हुँदा बाईब्याक गर्लान भन्ने आशा गर्न सकिन्न ।

१३ जेष्ठ २०७७ अभियान 

अनौठो खेल


विद्यालय पढ्दा हामी एउटा खेल खेल्ने गर्थ्यौं । यसको नाम ‘ग्याम्बल’ भन्थे । यो खेलमा दुबैतिर बराबर वा घटीबढी पनि हुन्थ्यो ।

खेल सामग्रीमा ५, ७ वा ९ वटा चप्लेटी परेका वा नमिलेका ढुङ्गा र १ वटा रवर वा थाङ्नाको भकुण्डो हुन्थ्यो । खेल पहिले कसले शुरु गर्नें भन्नलाई गाई कि त्रिशुल वा ढुङ्गामा थुकेर घाम कि पानी गरेर पालो तोकिन्थ्यो ।

उल्लेखित ढुङ्गा थुपारेर माने जस्तो बनाइन्थ्यो । पालो जित्ने समूहले निश्चित दूरीबाट भकुण्डोले हानेर माने ढाल्नुपर्थ्यो । एकजनाले ३ पटक पालो पाउँथ्यो । मानेको अर्कोपट्टी छेउमा अर्को पक्षको खेलाडी भकुण्डो समाउन बस्थ्यो । माने ताकेर हानेको भकुण्डोले मानेलाई नलागी गएको भकुण्डो मानेको अर्को छेउमा बसेकोले दुइ हातले च्याप्प समातेमा भकुण्डो हान्नेको पालो जान्थ्यो । एवम् क्रमले कसैले पनि माने ढाल्न नसकेमा त्यसको पालो जान्थ्यो र विपक्षीको पालो आउँथ्यो । भकुण्डो हान्दा उचालेर हान्न पाइन्नथ्यो । कम्मरमुनिबाट जमिनसँग समानान्तर पारेर मानेलाई ताक्नुपर्थ्यो ।

माने कुनै पनि समुहले माने ढालेपछि माने ढाल्ने समुहले त्यो भकुण्डो लात्ताले गुडाएर टाढा टाढा लानुपर्थ्यो र यतिबेला त्यहि समूहले ढालिएको माने उठाउनपर्थ्यो । अर्को समुहले लात्ताले भकुण्डो गुडाउनेवाट भकुण्डो खोसेर त्यसलाई त्यहि भकुण्डोले गोलीगाँठा भन्दा माथि हिर्काउनु पर्थ्यो । यसरी हिर्काएमा त्यो समुहले पालो गुमाउने हुन्थ्यो र माने उठाएर अर्को समुहले माने ढाल्ने कार्य शुरु हुन्थ्यो तर, यसो गर्दा खेल ढिलो हुनेहुँदा पहिले ढलेको मानेलाई नै पछिल्लो समुहले ढालेको मानेर खेल जारी हुन्थ्यो ।

माने ढाल्ने समुहले आफ्ना कुनै सदस्यलाई अर्को समूहले भकुण्डोले हान्नु अघि नै माने ठड्याएमा त्यो समुहले खेल जित्थ्यो ।

कथंकदाचित भकुण्डो गुडाएर लाने क्रममा वा अर्को समुहले भकुण्डो गुडाउनेलाई हान्दा डिलमुनि पुगेर भकुण्डो हराएमा माने उठाउन रोक लगाइन्थ्यो । भकुण्डो नभेटिएसम्म रोक कायम रहन्थ्यो । हराएको भकुण्डो खोज्न दुबै समुह लाग्थ्यो र भेटिएपछि सहज ठाउँमा आएर भकुण्डो गुडाउने समुह तितरवितर हुन्थ्यो र खेल जारी हुन्थ्यो र माने उठाउन पाइन्थ्यो ।

यो खेलमा न समय तोकिएको हुन्थ्यो न माने उठाउने संख्या । मन लागुन्जेल खेलिन्थ्यो । हारजित त हुन्थ्यो तर, पैसा लेनदेन हुन्नथ्यो । शारीरिक अभ्यास खुबै हुन्थ्यो । कडा मेहनत हुने भए पनि भोक पनि लाग्दैनथ्यो । घर पुग्दा केही खानेकुरा पाए खाइन्थ्यो नत्र घरको काममा लागिन्थ्यो ।

यो खेल मैले मेरै गाउँ (जिल्ला दोलखा) मा धेरै खेलेको छु । अन्त कहाँ कहाँ यस्तो खेल प्रचलित थियो थाहा छैन र यसको खास नाम के हो पनि थाहा छैन ।

यस्तै किसिमको खेल अरु कसैले खेल्नुभएको छ ?



कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...