भारतीय
शेयरबजारमा सूचीकृत कम्पनीले आफ्नो शेयर आफैँ किन्ने (बाईब्याक) घोषणा गरिरहेका
छन् । सामान्यतया: कम्पनीले आफ्नो शेयर अरुलाई
बेचेर अरु कम्पनीको शेयर किन्ने गर्छन । आफ्नै शेयर
पनि किन्न पाइन्छ र भन्ने धेरैलाई लाग्नसक्छ । नेपालमा
सम्भवत यस्तो अभ्यास अहिलेसम्म नभएको हुँदा अनौठो लाग्नु स्वाभाविक हो । कम्पनी कानुनले तोकेको शर्त पूरा गरी कुनै पनि
कम्पनीले आफ्नो शेयर आफैँ किन्न सक्छन । भारत लगायत
अन्य देशमा यस्ता गतिविधि (बाईब्याक) साधारण कुरा हो ।
के
हो बाईब्याक
प्रारम्भिक
सार्वजनिक निर्गमन अर्थात् इनिसियल पब्लिक अफरिंग (आइपिओ) को ठिक उल्टो ‘बाईब्याक’ हो
। कम्पनीले पूँजीको अंश आइपिओ मार्फत बिक्री गरेर
पूँजी जुटाउँछन् भने बाईब्याकमा त्यसरी बेचिएको शेयर धारक (शेयरधनी) बाट फिर्ता
(खरिद) गरेर पूँजी घटाउँछन् । कम्पनीले
पूँजी जुटाउँछन् भन्ने मात्र सुनेकाको लागि आफ्नै शेयर आफैँले किनेर पूँजी
घटाउँछन् भन्दा अचम्म नलाग्ने कुरै हुन्न । तर, यो
सत्य हो र अभ्यासमा छ ।
किन
गर्छन बाईब्याक
आइपिओ
जारी गरेर पूँजी जुटाउने कम्पनीले किन बाईब्याक गरेर पूँजी घटाउँछन् धेरैलाई यो
विषयमा खुल्दुली हुनसक्छ ।
बाईब्याक गरिने केही
कारण संक्षेपमा चर्चा गरिएको छ ।
१. कम्पनीले
हरेक वर्ष खूद नाफाबाट केही रकम संचित कोष (स्वतन्त्र कोष वा जगेडा) मा राख्ने
गर्छन् । कम्पनीको संचित कोषमा रहेको रकम शेयरधनीकै
कोष भएकोले यस्तो रकम खर्च गर्नको लागि अन्य क्षेत्र नहुँदा आफ्नै शेयरधनीसंग
रहेको शेयर खरिद गर्दा लाभ आफ्नै शेयरधनीले पाउँने अवसर प्राप्त हुन्छ । कम्पनीले लाभांश दिएर पनि संचित कोषमा पर्याप्त
रकम हुने हुँदा बाईब्याक शेयरधनीको लागि दोहोरो लाभको अवसर हो । यसो गर्दा कम्पनीको पूँजी कम हुनजान्छ र बढी
प्रतिफल प्राप्त हुन्छ । शेयर कित्ता धेरै हुनुभन्दा राम्रो (धेरै)
नाफा दिनसक्ने थोरै कित्ता शेयर हुनु राम्रो कुरा हो । बजार
मूल्यभन्दा बढी मूल्य बाईब्याक गरिन्छ । कम्पनीले
शेयर बाईब्याक गरेपछि पूँजी घट्छ र पूँजी घट्दा प्रतिशेयर आम्दानी बढ्छ ।
२. कम्पनी
मजबुत अवस्थामा पनि शेयरको संख्या बढेको कारण बजारमा शेयरको आपूर्ति बढी हुँदा
शेयर मूल्यमा कमि आउँदा कम्पनीले शेयर मूल्य बढाउन पनि यस्तो घोषणा गर्नसक्छ । किनकी यसो गर्दा कम्पनीको पूँजी घट्छ र शेयर कित्ता
कम हुन्छ ।
३. कुनै
कारणवश (जस्तै कोरोना त्रासदी) कम्पनीको शेयर मूल्यमा अत्यधिक गिरावट आउन थालेपछि
कम्पनीप्रति शेयरधनीलाई विश्वास जगाउन आफ्नो शेयर आफ्नै किन्छन । यसो गर्दा कम्पनीको स्थिति मजवुत रहेको भन्ने
सन्देशले प्रवाह हुन्छ ।
४. कुनै
समूहले बढीभन्दा बढी शेयर किनेर प्रतिरोधी कब्जा (होस्टाइल बिडर) नगरोस भन्नाको
लागि पनि कम्पनीले बाईब्याक रणनीति अपनाउने गर्छन । अधिकाँश
कम्पनीले बाईब्याक गर्नुको मूल कारण यही हुन्छ । अहिले
भारतीय कम्पनीले बाईब्याक गर्नुको एउटा कारण यही हो ।
भारतीय
कम्पनीको बाईब्याक
चीनको
केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीसी) ले हाउजिंग डेभलपमेन्ट फाइनान्स
कम्पनी (एचडीएफसी) को १ दशमलव शून्य १ प्रतिशत शेयर किनेपछि भारतीय कम्पनी झस्केको
अनुमान गर्न सकिन्छ । कम्पनीले प्रकाशन गरेको मार्च महिनासम्म
कायम शेयरधनीको विवरणमा डिसेम्बरको भन्दा (शून्य दशमलव ८ प्रतिशत) २६ प्रतिशत बढी
शेयर पीबीसीको नाममा देखिएको छ । एचडीएफसीमा
पीबीसीसहित झन्डै २ हजार विदेशी संस्थाको लगानी छ । सबैभन्दा
बढी विदेशी र स्वदेशी लगानी क्रमशः सिङ्गापुर सरकार र भारतीय जीवन बिमा निगम
अर्थात् लाईफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डियाको छ । एचडीएफसी
मूलतः हाउजिंग र रियल स्टेट कम्पनी हो । एचडीएफसीले
प्रवर्द्धन गरेको एचडीएफसी बैंकमा १९ दशमलव ४३ प्रतिशत, एचडीएफसी
एसेट म्यानेजमेन्ट कम्पनीमा ५२ दशमलव ७ र एचडीएफ लाइफ इन्सुरेन्समा ५१ दशमलव ४५
प्रतिशत शेयर हिस्सा छ ।
भारतमा
बाईब्याक सामान्य प्रक्रिया हो । तर, यसपटकको
बाईब्याक अलि विशेष बनेको कारण केहीहदसम्म माथि उल्लेख गरिएको छ । मूलत घट्दो बजारमा मूल्य घट्दा प्रतिरोधी कब्जा
हुने डरले कम्पनीले बाईब्याक प्रस्ताव गरेको अनुमान गर्न सकिन्छ । मार्च महिनामा सन् फर्मास्युटिकल्स, आदित्य
भिजन, कोरल इन्डिया फाइनान्स एण्ड हाउजिंग, डाल्मिया
भारत, डेल्टा कर्प, टिप्स
इन्डष्ट्रिज, स्टरलाईट टेक्नोलोजीज, रामकृष्ण
फोर्गिन्स, मोतिलाल ओसवाल फाइनासियल सर्भिसेस, इमामी, सुप्रिम
पेट्रोलियम, एस्टर डीएम हेल्थकेयर लिमिटेड लगायत
कम्पनीले बाईब्याक घोषणा गरेर कतिपयले किनिसकेका छन् कतिपय किन्ने प्रकियामा छन ।
औषधि
निर्माता कम्पनी सन फर्मास्युटिकल्सले चुक्ता मूल्य १ रुपैयाँ भएको ४ करोड कित्ता
शेयर अधिकतम ४ सय २५ रुपैयाँमा किन्ने घोषणा गरेको छ । बाईब्याक
प्रयोजनका लागि कम्पनीले १७ अर्ब रुपैयाँ छुट्ट्याएको छ । सिमेन्ट
उत्पादक कम्पनी डाल्मियाले २ रुपैयाँ चुक्ता मूल्य भएको ७१ लाखभन्दा बढी कित्ता
शेयर अधिकतम ७ सय रुपैयाँमा किन्नको लागि ५ अर्व रुपैयाँ छुट्ट्याएको छ । मोतिलाल ओसवाल फाइनान्सियल सर्भिसले २३ लाखभन्दा
बढी कित्ता शेयर अधिकतम ६ सय ५० रुपैयाँमा किन्न १ अर्व ५० करोड रुपैयाँ
छुट्ट्याएको छ । कम्पनीको चुक्ता मूल्य १० रुपैयाँ छ । सूचना प्रविधि कम्पनी जष्ट डायल लिमिटेडले २ अर्व
२० करोड रुपैयाँ बराबरको ३१ लाखभन्दा बढी कित्ता शेयर अधिकतम ७ सय रुपैयाँमा
किन्ने बताएको छ । यसको पनि चुक्ता मूल्य १० रुपैयाँ छ । घरायसी र सौन्दर्य सामग्री उत्पादक कम्पनी इमामी,
इन्डिया
बुल रियल स्टेट, थोमस कुक लिमिटेड लगायत कम्पनीले पनि शेयर
बाईब्याक गर्ने भएका छन् ।
नेपालमा
बाईब्याक
नेपालमा
पनि कम्पनी ऐन, २०६३ र बैंक तथा वित्तीय संस्थासम्बन्धि
ऐन, २०७३ मा आफ्नो शेयर आफैँ किन्न सक्ने व्यवस्था छ । तर,
अहिलेसम्म सम्भवत
कुनै पनि नेपाली कम्पनीले बाईब्याक गरेको देखिएको छैन । नेपालका एकादुई कम्पनीले बाईब्याक गर्नसक्ने
हैसियत राखे पनि अधिकाँश कम्पनीको हैसियत छैन । कोरोना
त्रासदीपश्चात कम्पनीको आय घट्न सक्ने आशंकाले शेयर मूल्य घटिरहेको बेला यस्ता बाईब्याकले
कम्पनीप्रतिको धारणामा शेयरधनीलाई सकारात्मक प्रभाव पार्न भारतमा शेयर बाईब्याक
गर्न लागेको देख्न सकिने एउटा कारण हो । अर्को कारणको
रुपमा शेयर भाउ घटेपछि हुनसक्ने प्रतिरोधी कब्जाबाट बच्न हो । नेपालका सूचीकृत
कम्पनी मध्ये बैंक र बिमा क्षेत्रमा संस्थापक समूहको ५१ प्रतिशत हिस्सा स्थिर रहने
हुँदा प्रतिरोधी कब्जाको सम्भावना शून्य छ । संस्थापक
समूह बाहेक बाहिर रहेको शेयर कुनै व्यक्ति वा समूहले लिएर प्रतिरोधी कब्जा
हुनसक्दैन । यी
दुई बाहेक अन्य क्षेत्रका कम्पनीमा प्रतिरोधी कब्जा हुनसक्ने सम्भावनालाई टार्न
सकिन्न । यद्धपि यसको पनि सम्भावना कम छ ।
नेपालमा
बाईब्याक गर्ने स्थिति भनेको अहिले जस्तै शेयरधनीले विश्वास गुमाउन सक्ने
सम्भावनालाई टार्नु मात्र हो । तर,
नेपालका कम्पनीसँग
संचित रकम ‘सिला’ खोजे बराबर हुँदा बाईब्याक गर्लान भन्ने आशा गर्न सकिन्न ।
१३ जेष्ठ २०७७ अभियान