नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २ सय ४ वटा (नेप्से, साप्ताहिक प्रतिवेदन, फाल्गुन १०) कम्पनीको सूचीमा एकमात्र दूरसञ्चार कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पनि रहेको छ | एउटा मात्र कम्पनी सूचीकरण भएकोले नेप्सेले यसलाई अन्य समूहमा वर्गीकृत गरेको छ | नेप्सेले सूचीकृत कम्पनीलाई व्यवसायको क्षेत्रगत प्रकृति अनुसार ११ वटा समूहमा बाँडेको छ | अन्य समूहमा परे पनि नेपालको शेयरबजारको दिशा निर्धारण गर्नेमा यसकै महत्वपूर्ण भूमिका रहेको छ | चुक्ता पूँजी र पूँजीकरणको आधारमा अग्रणी रहेको नेपाल टेलिकमले नेपालको शेयर कारोबार मापन गर्ने नेप्से सूचकांकलाई उचाल्न र खसाल्न अहिले पनि शीर्ष भूमिका निर्वाह गर्छ | समग्र बजार पूँजीकरणमा पनि नेपाल टेलिकम अग्रस्थानमा पर्ने गरेको छ | अहिलेका ठूला भनिएका र औसतमा २ सय बजार भाउ भएका ६ वटा वाणिज्य बैंक बराबरको बजार पूँजीकरण नेपाल टेलिकम एक्लैले कायम गरिदिएको छ |
६ कम्पनी ६ थरि शर्त
अहिले नेपालमा नेपाल टेलिकम सहित ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनी रहेका छन् | नेपालमा दूरसञ्चार ऐन २०५३ र नियमावली २०५४ जारी भएपछि दूरसञ्चार क्षेत्रमा सरकारी मात्र हैन निजि कम्पनीको लागि पनि बाटो खुलेको थियो | २०५६ सालमा युनाइटेड टेलिकम लिमिटेडलाई दूरसञ्चार सेवा संचालन गर्ने अनुमति दिईएपछि अन्य कम्पनीहरु पनि क्रमशः खुल्दै गए | त्यसपछि दोस्रो स्पाइस नेपाल प्रालि (हाल एनसेल प्रालि), तेस्रो एसटिएम टेलिकम संचार प्रालि (हाल सिजी कम्युनिकेसन्स प्रालि), चौथो स्मार्ट टेलिकम प्रालि र पाँचौ कम्पनीको रुपमा नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेल्लो नेपाल) ले अनुमति पाएका थिए | उल्लेखित ६ वटा दूरसञ्चार कम्पनीका अनुमतिका शर्त भने फरक-फरक रहेका छन् | नेपाल टेलिकमलाइ दूरसञ्चारका उपलब्ध सबै सेवा संचालन गर्ने अनुमति रहेको छ | तेस्रो कम्पनीको रुपमा अनुमति पाएको सिजि (एसटिएम टेलिकम) ले पूर्वान्चलका १६ जिल्लाका टेलिफोन नपुगेका ५ सय ३४ गाविसमा २ लाइन फोन पुर्याउने गरि शर्त तोकेर अनुमति दिईएको थियो | २०५६ मा नै अनुमति दिइएको एनसेल (स्पाइस नेपाल) लाई मोबाइल सेवाको लागि अनुमति दिइएको थियो | त्यस्तै स्मार्टलाई पनि पूर्वान्चल र काठमाडौं उपत्यका बाहेकका फोन नपुगेका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउन अनुमति दिइएको थियो भने अन्तिमा पाँचौ कम्पनी नेपाल स्याटेलाइटलाई मध्यपश्चिमान्चलको राप्ति भेरी र कर्णाली अंचलमा ल्याण्डलाइन र मोबाइल फोन सेवा पुर्याउन अनुमति दिइएको थियो | सिजि (एसटिएम टेलिकम) र स्मार्टलाई दिइएको अनुमतिलाई ‘ग्रामिण दूरसञ्चार सेवा १ र २’ नामाकरण गरिएको थियो भने नेपाल स्याटेलाइटलाई ‘आधारभूत दूरसञ्चार सेवा’ भनेर अनुमति दिईएको थियो | नेपाल स्याटेलाइटलाई दिइएको अनुमतिमा मध्यपश्चिमान्चलमा सेवा विस्तार गरिसकेपछि सुदूरपश्चिमान्चल हुँदै अन्यत्र जानसक्ने गरि दिइएको थियो | अहिले यसको सेवा सेती,महाकाली, धौलागिरी, गण्डकी र लुम्बिनी अंचलसम्म विस्तार भएको छ |
एकीकृत अनुमतिपत्र
६ वटा दूरसञ्चार कम्पनीका लागि ६ थरि शर्त हुँदा कम्पनीको कार्यक्षेत्रमा संकुचन आएको र ‘समान धरातल’ नभएको भन्ने गुनासो आएपछि सरकारले दूरसञ्चार सेवाको अनुमतिपत्रमा समयोचित संशोधन गर्नुपर्ने आवश्यकतालाई महसुस गरी ‘एकीकृत अनुमतिपत्र’ सम्बन्धि नीतिगत व्यवस्था गर्यो | ‘एकीकृत अनुमतिपत्र’ को शुरुवात हुनु अघि हरेक सेवाको लागि अलग-अलग अनुमति लिनुपर्ने प्रावधान रहेको थियो | कुनै पनि कम्पनीले एकैपटक चाहेको सेवा दिनसक्ने स्थिति थिएन | आयको राम्रो स्रोत मानिने अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवाको अनुमति लिन विभिन्न शर्त पुरा गर्नुपर्ने हुन्थ्यो | अत: यसलाइ व्यवस्थित गर्नको लागि एकीकृत अनुमति दिनुपर्ने आवश्यकता महसुस गरि २०६९ साल जेष्ठ २ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरि सरकारले ‘एकीकृत अनुमतिपत्र’ सम्बन्धि नीतिगत व्यवस्था गरेको थियो | एकीकृत अनुमतिपत्रमा ‘स्थानीय टेलिफोन सेवा, अन्तरदेशीय टेलिफोन सेवा, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा र सेलुलर मोबाइल सेवा सहित विभिन्न ४ वटा सेवालाई आधारभूत टेलिफोन सेवाको परिभाषा भित्र समेटेको छ | यस अघि मोबाइल सेलुलर सेवा (टुजि) लाई विलासितामा सूचीकृत गरिएको थियो | यो व्यवस्थाको शुरुवात पश्चात स्मार्ट टेलिकमले पहिलोपटक एकीकृत अनुमति लिएको थियो | पछि युनाइटेड टेलिकमले पनि अनुमतिपत्र लिएको छ | सिजि (एसटिएम टेलिकम) ले एकीकृत अनुमतिपत्रको लागि आवेदन गरे पनि पाउन सकेको छैन भने नेपाल स्याटेलाइटले अनुमतिको लागि आवेदन गरेको छैन | एकीकृत अनुमतिको लागि आवेदन गरेको सिजिले धारण गरेको ९ सय व्याण्डको २ दशमलव ४ मेगाहर्ज फ्रिक्वेन्सी खोसिएको छ |
शेयरबजारमा दूरसञ्चार
साविकको नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनि लिमिटेड (कम्पनी) मा परिणत गरेपछि यसमा सरकारको मात्र हैन सर्वसाधारणको सहभागीता बढाउन सरकारले शेयर बेच्ने निर्णय गरेको थियो | १५ अर्व चुक्ता कायम गरि कर्मचारी र सर्वसाधारणलाई गरि ८ प्रतिशत अर्थात १ करोड २० लाख कित्ता बराबरका १ अर्व २० करोडको शेयर प्रिमियम मूल्यमा बिक्री गरि नेप्सेमा सूचीकरण भएको छ | नेप्सेले अन्य समूहमा वर्गीकरण गरेको भए पनि दैनिक कारोबारमा यसको उल्लेख्य स्थान रहेको छ | कारोबार मापन गर्ने नेप्से परिसूचकलाइ अझ अरु ५ वर्ष हल्लाउन सक्ने क्षमता राख्छ | नेप्सेमा सूचीकरण भएका कम्पनी मध्ये सर्वाधिक चुक्ता पूँजीको अभिलेख अझसम्म यसैको नाममा कायम छ | नेपाल टेलिकम पश्चात दोस्रो ठूलो चुक्ता पूजी नेपाल इन्भेष्टमेन्ट बैंकको १२ अर्व ५३ करोड रहेको छ | पूँजीकरणको हिसाबले पनि नेपाल टेलिकम नै उपल्लो स्थानमा विराजमान छ | नेप्सेको पछिल्लो तथ्यांक अनुसार यसको बजार पूँजीकरण १ खर्ब ५ अर्ब रहेको छ | दोस्रो सर्वाधिक धेरै पूँजीकरण भएको नेपाल इन्भेष्टमेन्ट बैंकको ६५ अर्ब रहेको छ | तेस्रो स्थानमा नबिल बैंक रहेको छ | यी दुइ बैंकलाई नेपाल टेलिकमको पूँजीकरणलाई भेट्न अझ केहि वर्ष लाग्ने देखिन्छ | समग्र नेपालको शेयरबजारको पूँजीकरणमा नेपाल टेलिकमको मात्र योगदान झन्डै ९ प्रत्तिशत रहेको छ | दोस्रो र तेस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट र नबिलको योगदान ५/५ प्रतिशत रहेको छ |अहिलेसम्म नेपाल टेलिकम पूँजी र पूँजीकरणमा अग्रपंक्तिमा रहँदै आए पनि अबको केहि महिनामा पूँजीमा दोस्रो स्थानमा झर्ने निश्चित भएको छ | हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हुँदा अब उक्त कम्पनीको चुक्ता पूँजी नेपाल टेलिकमको भन्दा ७ अर्व बढी २२ अर्व पुग्नेछ | तर पनि नेपाल टेलिकमलाइ पूँजीकरणमा भने कम्तिमा ५ वर्षसम्म कुनै पनि कम्पनीले जित्न सक्ने सम्भावना देखिन्न | झन्डै बुक भ्यालुमा शेयर कारोबार भइरहेको नेपाल टेलिकमको लाभांश क्षमतालाइ पनि कुनै कम्पनीले जित्न सक्ने अर्को सम्भावना देखिन्न | पछिल्लो पटक कम्पनीले ५५ प्रतिशत लाभांश बाँडेको थियो | लगानीकर्ताको रोजाइमा अहिले पनि नेपाल टेलिकम पहिलो नै बनेको देख्न सकिन्छ |
अन्यलाई ल्याउने पहल
दूरसञ्चार प्रविधिमा आएको तिब्र परिवर्तन र यसको उपयोगमा हुने वृद्धिले शेयरबजारमा दूरसञ्चार कम्पनीको पनि प्रवेश हुनु जरुरी छ |छिमेकी देश भारत, बंगलादेश पाकिस्तानमा यस्ता कम्पनीहरु सूचीकरणमा गएका छन | त्यस्तै सूचना प्रविधिसँग सम्बन्धित कम्पनी पनि सूचीकृत भएका छन् | नेपालमा भने नेपाल टेलिकम मात्र सूचीकरणमा रहेको छ | नेपाल दूरसञ्चार प्राधिकरणले अबका दिनमा अन्य दूरसञ्चार कम्पनी लगायत सूचना प्रविधि कम्पनी, इन्टरनेट सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक कम्पनीलाइ पनि सूचीकरणमा जान निर्देशन दिनु आवश्यक छ | यसले कम्पनीहरुलाई स्वनियमनमा रहन समेत प्रेरित गर्ने हुँदा यसको बारेमा प्राधिकरणले यथाशीघ्र पहल गर्नु जरुरी देखिन्छ |