भनिन्छ ब्याएको दिनदेखि दिनहुँ ‘पाडो’ उचाल्दै गयो भने जवान हुँदा पनि सजिलै उचाल्न सकिन्छ रे ! तर जवान भए
पछी उचाल्न त परै जाओस छुन पनि डर मान्नुपर्छ । जसरी पनि उचाल्छु भनेर गयो भने
सिंगले आफैलाई उचाल्न बेर मान्दैन । उसको लातको मारमा परियो करंग मात्र हैन मेरुदण्ड पनि भाँचिन सक्छ र ‘गानो’ समेत जानसक्छ । यो प्रसँग बैंकको चुक्ता पूँजी
वृद्धिसँग ठ्याक्कै मेल खान्छ । ठूला भनिएका बैंकको लागि अहिले यहि स्थिति आइपरेको छ । आम्दानी र जगेडामा भएको रकमले
ठूला देखिएका तर पूँजीका हिसाबले साना बैंकको लागि पूँजी बढाउने कार्य माथि उल्लेख
गरिएको ‘पाडो उचाल्ने’ प्रसंग भन्दा कम छैन । कति बैंकलाई ‘पाडोले उचाल्ने’ हो कि लातको मारमा परेर ‘गानो’ जाने हो त्यो हेर्न धेरै दिन कुर्नुपर्ने अवस्था छैन किनभने
केन्द्रीय बैंकले आगामी २०७४ साल असार मसान्तभित्र तोकेको न्यूनतम पूँजी पुर्याउन
निर्देशन दिएर पूँजी वृद्धि योजना मागेको समय सिमा सकिएको छ । तोकिएको सयम सिमा सकिनु अघि नै
सबै बैंकले पूँजी वृद्धि योजना समेत दिएका छन् । केन्द्रीय बैंकमा के कस्तो योजना
बुझाए त्यो आधिकारिक रुपमा सार्वजनिक नगरे पछी बिभिन्न छापा तथा अनलाइन पत्रिकाले
नानाथरी कुरा लेखेर सर्वसाधारणलाई भ्रम पार्न लागेपछि केन्द्रीय बैंकले पूँजी
वृद्धि योजना आफ्नो वेबमा समेत राख्न अर्को निर्देशन समेत दिएको छ । अनौपचारिकरुपमा बाहिर आएका
योजनामा अर्को वाणिज्य बैंक गाभ्ने, बोनस शेयर जारी गर्ने र त्यतिले नपुगे अन्तिम अस्त्रको रुपमा हकप्रद
जारी गर्ने गरि पूँजी वृद्धि योजना सार्वजनिक गरेका छन् ।
सामान्यतया भाद्र महिनामा नै साधारणसभाको लागि केन्द्रीय बैंकबाट
स्वीकृति लिएर असोज महिनासम्म धेरै बैंकले वार्षिक साधारणसभा गरिसक्थे यसपटक ठूलो
चाड दशैँ समेत कार्तिकमा परेकोले दशैँ खर्च आउने गरि साधारणसभा गर्न धेरै बैंक
लालायित समेत थिए तर नगद लाभांश बाड्न निरुत्साहित गरेकोले तत्कालै साधारणसभा
गर्नुपर्ने आवश्यकता नदेखेर फूर्सदले गर्न लागेको देखिन्छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा चुक्ता पूँजी
वृद्धि गर्नुपर्ने कारण स्पष्ट पार्दै ‘बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत आधार सुदृढ गरी दीर्घकालीन
विकासका लागि आवश्यक पर्ने स्रोत परिचालन गर्न तथा वित्तीय स्थायित्व प्रवद्र्धन
गर्न न्यूनतम चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरिने छ ।’ भनेको छ । यो नीति सार्वजनिक भए पछि धेरै
बैंकले आफु पूँजी वृद्धि गर्न सक्षम भएको भन्दै स्वागत समेत गरेका थिए । यसो गर्नुको कारण केन्द्रीय
बैंकलाई सहयोग गरेको जस्तो देखाउनु थियो । तर भित्रभित्रै भने तर्सिएका थिए भन्ने कुरा पछिल्ला गतिविधिले
बताएको छ । यस्तो कार्यमा बैंकलाई नांगले पसल जस्तो बनाएर ‘कार्यकारी प्रमुख’ को जागिर खाइरहने र बैंकको
संचालक हुने अनि ‘राजनीतिको झोला’ बोकेर भेट्टाए ‘सांसदको पनि जागिर खानेहरु’ बढी देखिए । यस्तै चरित्रका व्यक्तिहरु केन्द्रीय बैंकमा पूँजी वृद्धि योजना पनि
बुझाउने अनि बाहिर आएर ‘गाभ्ने गाभिने प्रकृया लामो छ शेयर कारोबार रोक्का हुन्छ
लगानीकर्ताको लगानी डुब्छ भनेर अरण्यरोदन’ गर्न पनि पछि परेनन । तर यिनको अरण्यरोदनमा कोहि साथ देखिएका छैनन् किनकी लगानीकर्तालाई
पनि थाहा छ गाभ्ने प्रकृया शुरु भएपछी केही समय कारोबार रोकिन्छ त्यस्तै यो पनि
चाहन्छन कि बैंक गाभियोस र सवल सुदृढ संस्था बनोस । संस्था सवल सुदृढ भएपछी त्यसले
दिने प्रतिफल राम्रो हुन्छ । प्रसवकाल गाह्रो हुन्छ भनेर कुन स्त्रीले जायजन्म गरेका छैनन् । संस्था सवल हुनको लागि गाभिनु नै
एक मात्र बिकल्प हो । मौद्रिक नीतिले समेत ‘.....साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई एक–आपसमा गाभ्न–गाभिन र प्राप्ति गर्न थप प्रोत्साहन गरिने छ ।’ भनेर उल्लेख नै गरेको छ ।
कुन उपाय अपनाउने ?
नेपाल भन्दा सानो अर्थतन्त्र भएको देश भुटानमा समेत बैंकको पूँजी ५
अर्ब तोकेको छ । तर त्यो भन्दा ठूलो अर्थतन्त्र भएको नेपालमा भने वाणिज्य बैंकको
चुक्ता पूँजी २ अरब हुनु अत्यन्त लज्जास्पद स्थिति थियो । बासेल ३ समेतले कम्तिमा ५ अर्ब
पूँजी हुनुपर्ने कुरालाई निश्चित गरिसकेको अवस्थमा समेत यहाँ अत्यन्त न्यून पूँजी
हुनु सान्दर्भिक थिएन । कतिपय बैंकले ठूलो पूँजीको महसुस गरेर नै हरेक साल आफ्नो आम्दानीबाट
केहि पूँजी थप्दै गएको कुरा पनि यहाँ बिर्सनुहुँदैन ।
पूँजी बढ्नुपर्छ भन्ने कुरामा असहमत कोही पनि छैन । पूँजी बढाउने धेरै वितिय औजार
रहेका छन् तर कुन वित्तीय औजार उपयोग गरेर बढाउने भन्ने प्रश्न पनि मूल बिसय
हुन्आउछ । सबैभन्दा राम्रो औजार कुन हो त्यसलाई उपयोगमा ल्याउन भने सक्नुपर्छ । खुर्पा, हसिया खुकुरी बन्चरो कर्द सबै
हतियार हुन् तर कुन हतियार कुन बेला उपयोग गर्ने भन्ने कुरा उद्देश्यसंग मेल खाने
हुनुपर्छ । ‘मार हान्ने’ बेला कर्द काम लाग्दैन तर ‘चोया काढ्नु’ पर्दा भने कर्द नै चाहिन्छ । ‘घाँस काट्ने’ बेला बन्चरो काम लाग्दैन तर ‘मुढा चिर्न’ बन्चरो नै चाहिन्छ । त्यसकारण अहिले कर्द, खुकुरी वा बन्चरो कुन हतियार चलाउने भन्ने मुख्य प्रश्न उब्जेको छ । बैंकहरुले केन्द्रीय बैंकमा
बुझाएको पूँजी वृद्धि योजना हेर्दा घरमा भएको बन्चरो, खुकुरी कर्द, हसिया, भाला, खुँडा लगायत सबै हतियारको विवरण
दिएको जस्तो छ ।
पूँजी योजनामा भने जस्तो सबै बैंक बोनस दिएर पूँजी बढाउन सक्षम छैनन । यस्तो अवस्थमा संस्था खरिद वा
क्षेत्रीयस्तरमा रहेका स-साना बैंक गाभ्नु उत्तम बिकल्प हो । ग्लोबल बैंकले क्षमता बढाएको
स-साना बैंक वित्तीय संस्था गाभेर नै हो । क्षेत्रीयस्तरका बैंक गाभ्दा पूँजी मात्रै थपिन्न अपितु ति बैंकले
आफ्नो क्षेत्रमा कायम गरेको साख र व्यापार पनि गाभिन्छ जसले गर्दा साबिकको वृद्धि
सजिलै हासिल गर्न सकिन्छ । क्षेत्रीयस्तरका बैंकले आफ्नो क्षेत्रमा साख कायम गरिसकेकोले त्यस
ठाउँमा त्यही संस्था अर्को ठूलो संस्थामा गाभिएर जाँदा अझ बढी साख कायम गर्नसक्छ र
जनमानसमा अझ विश्वसनीयता हासिल गर्नसक्छ र व्यापार अझ बढेर जाँदा अन्ततः त्यो
फाइदा गाभ्ने संस्थाले नै पाउन सक्छ । उदाहरणको लागि पोखरा र बुटवललाई आधार मानेर संचालन भईरहेका विकास
बैंकले जुन उपलब्धि पाएका छन् त्यसलाई अहिलेका ठूला भनिएका वाणिज्यले गाभ्ने हो
भने अत्यन्त छोटो समयमा नै उत्कृष्ट परिणाम हासिल गर्न सक्ने कुरामा शंका छैन । पूँजी योजना बुझाउन बेला
हकप्रदलाई अन्तिम विकल्पको रुपमा राख्ने तर कार्यन्वयन भने शुरुमै गरेको देख्दा ‘पाडोको सिंगले उचाल्ने’ हो कि लातको मारमा परेर ‘गानो’ जाने हो त्यो हेर्न एक वर्ष
मात्र कुरे हुन्छ । सिंगले भुडीमा उधिनेर उचाल्यो भने आन्द्रा मात्र छेडिएला कि कलेजो
फोक्सो पनि भेट्ने हो त्यो अहिले भन्न सकिन्न । लातले हानेर पछार्दा ‘गानो’ गयो भने तंग्रिन धेरै समय लाग्छ
कान्ला मुनि फाल्दियो भने मेरुदण्ड पनि भाँचिएर तंग्रिन नसक्ने हुन पनि सक्छ । ग्रान्ड बैंक (साबिक डिसीबिएल
बैंक) र किष्ट बैंक (साबिक किष्ट मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स) केहि वर्ष अघि ‘पाडो उचाल्ने’ प्रयास नगरेका हैनन् तर ‘लात हानेर कान्ला मुनि फाल्दियो’ र ‘मेरुदण्ड नै भाँचीएर वर्षौं थला’ परे पछी अहिले प्रभू (प्रभू
बैंक) ले उद्धार गरिदिनु परेको छ । संधै प्रभू उद्धारको लागि आउँछ भन्ने छैन ।
अन्त्यमा, बैंकको लागि यो अग्निपरीक्षा हो । चोरेर परीक्षा पास गरेर तह त पार
गरिएला तर केहि सिकिन्न । त्यसैले एक वर्ष ‘फेल’ भएर त्यहि कक्षा दोहोर्याएर पढ्दा सिकिन्छ र सक्षम भइन्छ भने किन
चोरेर ‘पास’ हुने रु बरु फेल हुनु राम्रो हैन र ?