Wednesday, March 18, 2020

धितोपत्र बोर्डका अध्यक्ष : निवर्तमानको समीक्षा वर्तमानको अपेक्षा


नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्षको रुपमा भिष्मराज ढुङ्गानालाई पाएको छ । निवर्तमान अध्यक्षको कार्यकाल नसकिंदै ढुङ्गानालाई सम्भावित अध्यक्षको रुपमा हेरिएको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि ढुङ्गाना बोर्डमा विज्ञ संचालक बनेर भित्रिनासाथ उनलाई भावी अध्यक्षको रुपमा हेरिएको हो । बोर्ड अध्यक्ष भएपछि ढुङ्गानाले दिएका अभिव्यक्ति हेर्दा आगामी ४ वर्षमा नेपालको धितोपत्र बजारले नयाँ उचाई लिनसक्नेमा आशावादी हुन सकिन्छ । यसका लागि अध्यक्ष ढुङ्गानाले गर्नुपर्ने धेरै कामहरु मध्ये केही काम सूचीवद्ध गरिएको छ, जुन ढुङ्गानाका लागि सामान्य मार्गदर्शन हुनसक्छ ।

अध्यक्षको सारांश

बिक्रम सम्बत २०५० साल जेठ २५ गते गठन भएको बोर्डले २७ वर्ष पूरा गर्न लाग्दा ढुङ्गानालाई सातौं अध्यक्षको रुपमा पाएको छ । २६ वर्षमा ६ जना अध्यक्ष भएर विदा भए । यी ६ जनामध्ये डा. ढुङ्गेल र डा. नेपाल (चिरन्जीवी) सबैभन्दा धेरै र थोरै क्रमशः १० वर्ष र १५ महिना अध्यक्ष बने । कार्यकाल थोरै भए पनि डा. नेपाल (चिरन्जीवी) को पालामा धितोपत्र बजार केही व्यवस्थित हुनमा मद्दत पुगेको मानिन्छ । बोर्डका कतिपय अध्यक्षलाई अदक्षपनि भनेर ‘समीक्षा र सम्बोधन’ गरिएको पाइन्छ ।
 बोर्डका अध्यक्षहरु
क्र.सं.
अध्यक्ष
कार्यकाल
देखि
सम्म
डा. डम्बरप्रसाद ढुंगेल
२०५० जेठ २५
२०६० भदौ १४
दीपकराज काफ्ले
२०६० भदौ १५
२०६४ भदौ १०
डा. चिरन्जीवी नेपाल
२०६४ भदौ ११
२०६५ मंगसिर ११
डा. शुरवीर पौडेल
२०६५ पुष ९
२०६८ भदौ १०
बाबुराम श्रेष्ठ
२०६८ असोज ३०
२०७२ असोज २९
डा. रेवतबहादुर कार्की
२०७२ कात्तिक १
२०७६ असोज ३०

निवर्तमानको समीक्षा

निवर्तमान अध्यक्ष कार्की नेपाल राष्ट्र बैंकबाट अवकाश पाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यकारी प्रमुख हुँदै बोर्ड आइपुगेका हुन् । नेप्सेमा कार्कीको आगमन विशेष भयो ।चिच्याएर भाउ लगाउँदैहुने शेयरकारोबारले दलालको कार्यालयमा स्थानान्तर हुने अवसरसँगै अनलाइन कारोबारको जग बस्यो । त्यसैको परिणामस्वरूप अहिले आफैँले खरिद र बिक्री आदेश हाल्न मिल्ने अनलाइन आएको छ । नेप्सेमा हुँदा कार्कीले जे जति कार्य गरेर शेयरबजारलाई गुणलगाए त्यही गुणबोर्डमा आएर लाउन सकेनन् । यसो हुनुमा कार्कीमा केही हदसम्म राजनीतिक पूर्वाग्रह देखिनु पनि एक हो । बोर्ड आगमनदेखि नै दलालप्रति तीव्र रोष प्रकट गर्दै आइरहेका कार्की कार्यकालको अन्तिमतिर संसदको अर्थ समितिमा दलाललाई सक्षम, सुशासित र पारदर्शीनभएको बताएर आफैँ उदांगिए । शेयरबजारको प्राथमिक अंग दलाल प्रणालीलाई संस्थागतरूपमा शसक्त ढंगले विस्तारित गरेर अझ बढी गुण लगाउनुपर्नेमा गालीगलौजमा उत्रिए । आफू मातहतका शेयरबजार सम्वद्ध निकाय (दलाल, स्टक, केन्द्रीय निक्षेपक आदि) प्रति त पूर्वाग्रही देखिए-देखिए कुनै दलीय टाँचा नलागेका लगानीकर्ताप्रति पनि पूर्वाग्रह राखेर दलीय स्वभाव पनि राम्रैसँग देखाउन भ्याए । वित्तीय क्षेत्रको नियमन निकायमा रहेको व्यक्ति तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई विर्सेर पत्रपत्रिकामा ‘सल्लाहकारी’ लेख छाप्न पनि भ्याए ।

शेयरबजारमा खपत हुने सूचना बैंकले बढी उत्पादन गर्छन र यिनै बैंकको सर्वाधिक शेयर सूचीकरणमा छ भन्ने जानेर पनि उही बैंकलाई ‘दलाल अनुमति’ दिन्छु भन्दै बारम्बार बोलेर लगानीकर्तालाइ रनभुल्लमा पारिरहे । माग भयो भन्दैमा दिन हुने-नहुने बिषयमा अध्ययन गरेर मात्र दिन सकिने वा नसकिने निर्णय गर्नुपर्नेमा ‘बातैपिच्छे’ बैंकलाई दलाल दिन्छु भन्ने रटान लगाउन बिर्सेनन । दलाल अनुमति दिनैहुन्न भन्ने पनि हैन तर, ‘कार्यविशिष्टीकरण’ को सिद्धान्तलाई स्वीकार गर्ने हो भने व्यापारको प्रकृति अनुसार स्थापित संस्थाकै क्षमता अभिवृद्धि गर्नुपर्छ । बैंक-बैंक भनेर चिच्याउनुको सट्टा फुल सर्भिस र डिस्काउन्ट दलालको अवधारणा विकास गर्न लागेनन् । संसार बहुबाट एकल स्टक एक्सचेन्जमा गईरहेको बेला भएको एक्सचेन्जको पुनसंरचना कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुको सट्टा एउटा पोखरीको पानी अर्को पोखरीमा सारेर दुइटै पोखरीसुकाउने बहुस्टकको अनावश्यक बहस गरेर समय वर्वाद पारे । भारत, पाकिस्तान लगायत एसियाली र यूरोपियन देशमा एक्सचेन्ज बन्द गरिएको र गाभिएको देख्दै देखेनन । नेप्से र बोर्ड एकै प्रकृतिको संस्था हैनन् भन्ने बुझेर पनि एक्सचेन्जका अधिकारी र पदाधिकारीसँग व्यक्तिगत टकराव लिएकै कारण एक्सचेन्जलाइ दिनुपर्ने अधिकार पनि दिएनन । उदाहरणका लागि सूचीकरण विनियमावली अनुसार सूचीकरण नवीकरण नगर्ने कम्पनीलाई एक्सचेन्जले कारवाही गर्नसक्ने अधिकार दिँदै दिएनन ।

कार्कीले बोर्ड अध्यक्षको रुपमा ‘लगानीकर्ता’ र ‘देश हित’ भन्दा कम्पनी हितमा बढी समय खर्च गरे । कम्पनीलाई अवान्छित गैर-व्यवसायिक लाभ दिनकै लागि रातारात कार्यदल बनाएर बाटो खोलिदिएका कारण कम्पनीले ४ अर्बभन्दा बढी गैर-व्यवसायिक लाभ पाउँदा लगानीकर्ताले बढी मूल्य तिरे भने सरकारले राजश्व गुमायो । माघ १ गतेबाट लागु हुनलागेको आस्बा प्रणाली लागु हुनु २ दिन पूर्व उक्त कम्पनीलाई बिक्री अनुमति दिएर त्यसको बिक्री प्रवन्धक र निष्कासन बैंकलाई समेत अवान्छित लाभ दिलाए । कार्कीले तथास्तुभनिदिएका कारण बिक्री प्रवन्धक र निष्काशन बैंकले २ महिनाभन्दा बढी समय ५० अर्ब रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा तिनले शुभलाभ पाए तर, वित्तीय प्रणाली भने असन्तुलित बन्दा त्यसको असर लामैसमय देखियो । एक हिसाबले कार्कीले गरेको यो गम्भीर आर्थिक कसुर थियो । कार्कीको कसुर यतिमा सकिन्न । लगानीकर्तालाई त्रसित पार्न अधिकारक्षेत्र विहिन सम्पत्ति शुद्धीकरण कानुन विपरीत कालोधन छानविनगर्ने भन्दै छानविन समिति पनि बनाए । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनलाई बारम्बार हतियार बनाएर प्रहार गरीरहे । यस्तै निर्देशन नेपाल राष्ट्र बैंक, बिमा समिति र अरु सूचक संस्थाले पनि जारी गरेका छन् तर, कार्कीले जति यसको त्रास अरुले देखाएनन र नियमति प्रक्रियाको रुपमा लिए । यी त कार्कीका केही प्रसंग मात्र हुन् ।

वर्तमानको अपेक्षा

ढुङ्गानाको आगमनपश्चात बजारमा देखिएको उत्साह सायद उनका सन्तुलित अभिव्यक्ति एउटा कारण हुनसक्छ । ढुङ्गानाले तत्काल (१) बुक बिल्डिङ विधि शुरु गराउने, (२) ऋणपत्रको कारोबार गराउने, (३) अल्पकालीन र दीर्घकालीन लगानीको परिभाषा गरी दीर्घकालीन लगानीलाई लाभकर मुक्त गर्ने, (४) संवेदनशील सूचना प्रवाहलाई व्यवस्थित गर्ने, (५) सूचीकृत कम्पनीका अधिकारी र पदाधिकारीलाई कुनै पनि संचार माध्यममा जुनसुकै बेला बोल्न रोक लगाएर त्रैमासिक विवरणमा मात्र बोल्न लगाउने, (६) कारोबार मापन गर्ने नयाँ सूचक निर्माण गर्ने, (७) सूचीकरणमा हुने विलम्ब हटाउन समय तोक्ने, (८), म्युचुअल फन्डको योजना व्यवस्थापक प्रवर्द्धक कम्पनीको सहायक कम्पनी हुन् नपाउने व्यवस्था अविलम्ब गर्ने, (९) दश कित्ते बाँडफाँड नीति अविलम्ब खारेज गरी समानुपातिक बाँडफाँड नीति लागु गर्ने, (१०) प्रविधिगत सुधार गरी स्वचालित प्रणाली विकास गर्ने, (११) भित्रि कारोबार नियन्त्रण गर्ने, (१२) धितोपत्र न्यायाधिकरण स्थापना गर्ने, (१३) हकप्रद सम्बधि कानुन जारी गर्ने, (१४) नियमन नहुने कम्पनीको आफैँले नियमन गर्ने, (१५) गाभ्ने-गाभिने सम्बन्धि निर्देशिका जारी गर्ने, (१६) सूचीकृत कम्पनीका अधिकारी पदाधिकारीलाई कारवाही गर्ने अधिकार एक्सचेन्जलाई दिने, (१७) डेरीभेटिभ उपकरण ल्याउने जस्ता कार्यलाई प्राथमिकतामा राख्नु जरुरी छ ।

सन्तुलित विचार प्रवाह गरेर बजारमा उत्साह थपेका ढुङ्गानाले आगामी ४ वर्षमा अब्बल कार्य गरेर अब्बल अध्यक्ष बन्न सकेमा नामका भिष्ममहाभारतका अविस्मरणीय पात्र भिष्मबन्नसक्ने सम्भावना छ । बोर्डको एक/एक वाक्य शेयरबजारका लागि अमूल्य हुन्छ । ढुङ्गानाले कार्कीपथ नलिउन, शेयरबजारको गुणात्मक विकास गरुन शुभेच्छा र शुभकामना ।

२१ माघ २०७६, आर्थिक अभियान दैनिक




शेयरबजारका केही असान्दर्भिक घटनाहरु


नेपालको शेयरबजारमा देखिन थालेको अनौठा घटनाको सिलसिलाले प्रोत्साहितभन्दा निरुत्साहित बनाउन मद्दत पुगेको देखिन्छ । कम्पनी गाभिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबार मूल्य समायोजन गर्ने क्रम पछिल्लोपटक जनता बैंक गाभिएपछि ग्लोबल बैंकमा पनि कायम राख्यो । त्यस्तै, सूचीकृत र असूचीकृत कम्पनी गाभिन लाग्दा सूचीकृत कम्पनीको कारोबार रोक्कालाई पनि सान्दर्भिक मान्न सकिन्न । शेयरबजारमा यी र यस्तै केही प्रसंग चर्चाको विषय बनेको छ ।

मर्जपछीको समायोजन

नेप्सेमा सूचीकृत कम्पनीमध्ये बैंकिंग (देखि सम्म) मर्ज र एक्वायर भएका छन् । मर्ज र एक्वायरमा जाँदा कारोबार रोकिनु सान्दर्भिकै भए पनि गाभिएर कारोबार खुल्दा मूल्य समायोजन हुनलाई सान्दर्भिक मान्न सकिन्न । यसरी पहिलोपटक मूल्य समायोजन सम्भवत: तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक गाभिएर पहिलो कारोबार खुल्दा भएको थियो तर, थोरै रकमको अंक भएको हुँदा त्यतिबेला यस घटनालाई कसैले वास्ता गरेन । मर्जको लागि कारोबार रोकिँदा अन्तिम कारोबार मूल्य ३ सय ८२ रुपैयाँ कायम भएको एनएमवी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि नेप्सेले ३ सय ५१ रुपैयाँमा कारोबार खोलिदियो । ग्लोबल र जनता बीच गाभिने सम्झौता हुँदा ग्लोबलको अन्तिम बजार मूल्य २ सय ९५ रुपैयाँ कायम भएको थियो । ग्लोबलले आर्थिक वर्ष २०७५/७६ मा १२ दशमलब ७५ प्रतिशत बोनस शेयर बाँडेको थियो । बोनस शेयरको मात्र समायोजन गरेर २ सय ६१ रुपैयाँमा कारोबार खोल्नुपर्नेमा २ सय ५२ रुपैयाँ तोकियो । नेप्सेले यी दुबैको के कुन आधारमा समायोजन गरियो त्यसको सुत्र वा स्पष्टीकरण दिएन वा दिन आवश्यक ठानेन । शेयरबजारको तालुकी अड्डा धितोपत्र बोर्डले पनि चासो लिएन ।

सान्दर्भिकता र एक्वायर

समायोजन भनेको मिलाउने कार्य हो । यसको अर्थ र प्रयोजन ठाउँ अवस्था अनुसार हुनेगर्छ । शेयर कारोबारको सन्दर्भमा सूचीकृत कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरेपछि सोही अनुपातमा मूल्य पनि समायोजित हुनेगर्छ । समायोजन पश्चात् मूल्यमा कमी देखिए पनि शेयरधनीको कित्ता बढ्ने हुँदा हिसाब बराबर हुन्छ । यसले शेयरधनीको सम्पत्तिमा तात्विक असर पर्दैन । तर, अहिले नेप्सेले गाभिएका कम्पनीको शेयर कारोबार खोल्दा असान्दर्भिक मूल्य समायोजन गरिरहेको छ । यस्तो समायोजन नितान्त अर्थहीन छ भनेर प्रमाणको फेहरिस्त दिँदा पनि कानमा तेल हालेर बसेको छ ।

कम्पनी गाभिएपछि समायोजनको सान्दर्भिकता देखिएको बेला नेप्सेले वास्ता गरेन वा पत्तो पाएन तर, अहिले सान्दर्भिकता सकिएको बेला समायोजनगरेर उल्टो पाइला चालेको छ । कम्पनी गाभिने क्रममा शेयर आदान-प्रदान अनुपात (स्वाप) घटी, बराबर वा प्रिमियम पनि हुनसक्छ । गाभिने कम्पनीले बराबर र गाभ्ने कम्पनीले प्रिमियम पाउने सम्भावना प्राय: कमै हुन्छ । सामान्यतया: गाभिने कम्पनीले केही प्रतिशत कम स्वाप पाउँछन् । मानौं, गाभिने कम्पनीको २ शेयर बराबर गाभ्ने कम्पनीको १ शेयर (२:१) दिने गरी मर्जको सम्झौता भएमा बचेको पूँजीवापतको रकम गाभ्ने कम्पनीका शेयरधनीले पहिले नै बोनस सरहबाँडेर खाएको अवस्थामा सोहीहदसम्म मूल्य समायोजन सान्दर्भिक हुन्छ । यस्तो अभ्यासको एउटा उदाहरणमा प्रभुमा गाभिएको ग्रान्ड बैंक हो । ग्रान्ड बैंकको १ शेयरलाई प्रभु बैंकको शून्य दशमलब ६५ (०.६५) कित्ता दिएर बाँकी रहेको शून्य दशमलव ३५ (०.३५) कित्ता बराबरको रकम प्रभु बैंकले त्यतिबेला २१ प्रतिशत बोनस शेयर सरह बाँडेको थियो । तर, अहिले यसरी स्वापवापत प्राप्त हुने रकम शेयर प्रिमियमसरह पूँजीगत जगेडामा लेखांकन गरिने गरिन्छ ।

उल्लेखित प्रभु र ग्राण्ड बैंकको उदाहरणले अहिले मूल्य समायोजनको औचित्य छैन भन्ने प्रष्ट पार्छ । कम्पनी ऐन २०६३ को दफा १७७(५) ले गाभिएको कम्पनीको अस्तित्व नै सकिने र गाभिने कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्वहरू गाभ्ने कम्पनीमा सर्ने व्यवस्था गरेको छ । कम्पनी प्रशासन र संचालनको नियमन गर्ने कम्पनी रजिष्ट्रार कार्यालयले गाभ्ने स्वीकृति दिँदा गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व गाभ्ने कम्पनीमा सरेको उल्लेख गरेर गाभिने कम्पनी दर्ता खारेज गर्छ । गाभ्ने कम्पनी सर्वेसर्वा हुने हुँदा पनि मूल्य समायोजनको सान्दर्भिकता समाप्त हुन्छ ।

निकट भविष्यमा प्राइम बैंकले एक्वायर गर्ने अन्तिम तयारी गरेको कैलाश विकास बैंकको एकीकृत कारोबार हुँदा के हुन्छ भन्ने चासो देखिए पनि अनौपचारिकरुपमा बुझिएअनुसार यसको मूल्य समायोजन हुने छैन । एक्वायर भने पनि मर्ज जस्तै हुनेहुँदा यसको किन नहुने भन्ने एउटा प्रश्न जिउँदो बनेको छ । नेपालमा मर्ज र एक्वायरको एउटा मात्र फरक गाभ्ने कम्पनीको कारोबार रोक्का नहुनु हो । बाँकी सबै प्रक्रिया एकै छ ।

सूचीकृत र असूचीकृतको मर्ज

नेपालको शयरबजारमा अनौठो घटना देखिने क्रममा पछिल्ला दिनमा सूचीकृत र असूचीकृत कम्पनीको मर्जमा देखिएको छ । सूचीकृत कम्पनीले असूचीकृत कम्पनी मर्ज गर्ने क्रममा सूचीकृत कम्पनीको कारोबार रोकिनु पनि असान्दर्भिक घटना हो । यस्तो घटना हेर्दा कारोबार रोक्का राख्नुको अर्थ कम्पनीनेप्सेदुबैले नबुझेको जस्तो देखिएको छ । माथि नै भनियो एक्वायरमा गाभिने कम्पनीको कारोबार रोक्का हुन्न । हो, ठ्याक्कै यस्तै परिस्थिति सूचीकृत र असूचीकृत कम्पनी गाभिने क्रममा पनि हुन्छ तर, किन कारोबार रोक्का राखियो नेप्से र कम्पनीले प्रष्ट पारेका छैनन् । सामान्यतया सूचीकृत दुई कम्पनी गाभिंदा यति स्वाप दिने भयोभन्ने जस्तो अनर्गल गतिविधिले मूल्यमा अस्वाभाविक उतारचढाव नहोस् भन्ने हेतुले लगानीकर्ता हित संरक्षणको लागि कारोबार रोक्नु परेको हो तर, सूचीकरण नै नभएको कम्पनीसँग मर्ज हुँदा कसलाई के असर पर्छ र कारोबार रोक्नु ? यसरी असूचीकृत कम्पनीसँग मर्ज हुँदा सूचीकृत कम्पनीको कारोबार रोक्ने कार्यको शुरुवातकर्ता सम्भवत: वोमी लघुवित्त हो, त्यसपछि यसले निरन्तरता पाईरहेको छ र कहिलेवाट यस्तो कारोबार रोकिने क्रम सकिने हो कसैलाई पत्तो छैन । सूचीकृत कम्पनीले के कुन आधारमा आफ्नो कारोबार रोक्ने पत्राचार गरेका हुन् सायद ति आफैँ पनि जानकार छन् जस्तो देखिन्न । कम्पनीले कारोबार रोकिदेउ भनेर पत्राचार गरेर सूचीकरण कानुनको पालना गरेको भन्लान तर, बजार संचालक (नेप्से) ले यसमा विचार गर्नुपर्नेमा केही सोच्दै नसोची कारोबार रोकिरहेको छ ।

मर्जले बनाएको बन्धक

एक जिल्ले सहारा विकास बैंक मर्जमा जाने भन्दै कारोबार रोक्का भएको ३ वर्ष पुग्न लागिसक्दा पनि यसको मर्जको टुंगो लागेको छैन । सहयोगी विकास बैंकसँग मर्जमा जान रोकिएको कारोबार मर्ज भाँडिएपछि देव विकास बैंकसँग एक्वायरमा जान गरेको सम्झौता पनि भाँडियो । यसले जारी गरेको २ सय ५० प्रतिशत हकप्रद बिक्री गरेको २ वर्ष पुग्न लाग्दा पनि के भईरहेको छ भन्ने पनि कसैलाई पत्तो छैन । यस्तै घटना वेस्टर्न डेभलपमेन्ट बैंकमा पनि भएको छ । नमस्ते फाइनान्ससँग गाभिएर एक हप्ता पनि कारोबार नहुँदै देव विकास बैंकले एक्वायर गरी एकीकृत कारोबार गरेको ६ महिना हुँदा पनि वेस्टर्नको शेयर देवको नाममा सूचीकरण नगराई आफैँ कुमारी बैंकसँग एक्वायरमै गएको छ । यस्तै पाराले साविकको वेस्टर्नको कारोबार खुल्न अझ ६ महिना लाग्नसक्ने स्थिति हेर्दा यसको कारोबार अझ लम्बिने देखिन्छ ।

जिम्मेवारहरु वेजिम्मेवार

माथिका विभिन्न अनुच्छेदमा उल्लेखित प्रसंग हेर्दा नेपालको शेयरबजारमा जिम्मेवारहरु सबै बेजिम्मेवार बनेको देखिन्छ । लगानीकर्ताका संगठन हौँ, बजार सुधार भएनभन्दै नेप्सेकै ढोकामा भोक हडतालको तमाशा देखाउनेले माथि उल्लेखित विषयमा अलिकति पनि ज्ञान राखेको नदेखिँदा यी औचित्यहिन समूहमात्र हुन् भन्ने दृष्टात खोज्न धेरै सोच्नुपर्दैन । एउटा बैंकका उल्लेख्य शेयरधनी फलानो बैंकसँग मर्जमा जाने पक्का हो भन्दै भिडियो वार्ता सार्वजनिक गर्छन, तैपनि जिम्मेवार वेजिम्मेवार बन्छन् । शेयरबजारमा यस्तो बेजिम्मेवारीको हद कहिलेसम्म चलिरहने होला ?

१४ माघ २०७६, आर्थिक अभियान दैनिक  



Tuesday, February 4, 2020

मुख्य र सहायक कम्पनी

बैंकलाई दलाल अनुमति दिने प्रसंग चल्दा बैंकलाई दिने हो र ? ‘सहायक कम्पनीलाई पो दिने हो र सहायक कम्पनी खडा गर्ने मुख्य कम्पनीको भूमिका नै सकिन्छ भन्ने प्रकारको व्याख्या आयो । हुँदाहुँदा अहिले त कम्पनीले बाँड्ने लाभांश पनि सञ्चालकले सम्पत्ति बेचेर दिनुपर्छ वा दिन्छन् भन्ने र संस्थापक तथा सर्वसाधारण शेयरधनीले पाउने लाभांशसमेत घटीबढी हुन्छ भन्ने थ्योरी’ पनि नेपालको शेयरबजारमा प्रतिपादन भएको छ । कम्पनी अवधारणाको शुरुआत पूर्वीय दर्शनको नारदस्मृतिमा पुगिन्छ । देवर्षि नारदले परिकल्पना गरेको कम्पनी अवधारणालाई पश्चिमाले विस्तृत व्याख्या गरे । कम्पनी र शेयरधनीको अलग अस्तित्वशेयरधनीको सीमित दायित्वव्यक्तिसरह कम्पनीआफ्नै नामबाट कारोबारजस्ता अवधारणा विकास भयो । सर्वप्रथम व्यक्तिले कम्पनी खडा गर्छ र कम्पनीले कम्पनी खडा गर्न सक्छ । कम्पनीले खडा गर्ने कम्पनीलाई शेयर धारणअनुरूप प्रवद्र्धित’  सहायक’ गरी मूलतः दुई भागमा बाँड्न सकिन्छ । 
कानूनमा सहायक कम्पनी 
कम्पनी ऐन २०६३ को दफा २(क) मा कम्पनी भन्नाले यस ऐनबमोजिम संस्थापित कम्पनी सम्झनुपर्छभन्ने परिभाषाले सबै कम्पनीलाई जनाउँछ । त्यस्तै, सोही दफाको २(घ) र (ङ) मा क्रमशः मुख्य कम्पनीभन्नाले सहायक कम्पनीलाई नियन्त्रणमा राख्ने कम्पनी सम्झनुपर्छ र सहायक कम्पनीभन्नाले मुख्य कम्पनीको नियन्त्रणमा रहेको कम्पनी सम्झनुपर्छभनी परिभाषा गरेको छ । ऐनको दफा १४२(१)(क) मा सञ्चालक समितिको गठनमा प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण राखेरर १४२(१)(ख) मा कम्पनीको बहुमत शेयर ग्रहण गरेर मुख्य कम्पनीले सहायक कम्पनीलाई नियन्त्रण गर्न सक्नेछभन्ने व्यवस्था छ । 
त्यस्तै, ऐनको दफा १४२(३) मा कम्पनीको शेयर मुख्य कम्पनी वा त्यसको सहायक कम्पनीको तर्फबाट कुनै प्रतिनिधिले ग्रहण गरेको वा त्यस्तो कम्पनीको सञ्चालक नियुक्त गर्ने अधिकार मुख्य कम्पनी वा त्यसको सहायक कम्पनीका तर्फबाट मनोनीत कुनै व्यक्तिले गर्ने भए तापनि माथि उल्लिखित १४२(१)(क) र (ख) मा लेखिएका अवस्थाहरूको परिपूर्ति भएको मानिनेछ भन्ने व्यवस्था छ । तर, मुख्य र सहायक कम्पनी निर्धारण गर्दा (१) कुनै कम्पनीले ऋणपत्र लिएको वा ऋणपत्र जारी गर्ने ट्रस्ट लिखतको आधारमा कुनै अधिकार प्रयोग गर्न पाउने भएको वा शेयर ग्रहण गरेको भएमा र (२) ऋण दिने कम्पनीले सुरक्षणका रूपमा शेयर ग्रहण गरेको भएमा यसरी कब्जा गरिएको शेयरलाई सहायक कम्पनीको शर्त पूरा भएको नमानिने व्यवस्था छ । दफा १४३(१) मा मुख्य कम्पनीले आफ्नो वासलातमा सहायक कम्पनीका (क) तत्काल समाप्त भएको आर्थिक वर्षको वार्षिक हिसाबको एक प्रति र सो अवधिको त्यस्तो कम्पनीको सञ्चालक समितिको प्रतिवेदन, (ख) लेखापरीक्षकको प्रतिवेदन, (ग) आर्थिक वर्षको अन्तमा सहायक कम्पनीमा रहेको मुख्य कम्पनीको लगानीको विवरण, (घ) मुख्य कम्पनी र सहायक कम्पनीको आर्थिक वर्ष बेग्लाबेग्लै भएमा त्यस्तो भिन्न अवधिभित्रमा सहायक कम्पनीमाथि रहेको मुख्य कम्पनीको हक कुनै प्रकारले परिवर्तन भएको रहेछ भने त्यस्ता कागजात समावेश गर्नुपर्ने व्यवस्था छ । 
त्यस्तै, मुख्य कम्पनीले सहायक कम्पनीको लेखापरीक्षकको प्रतिवेदनमा सम्बद्ध आर्थिक वर्षमा भएको नोक्सान कटाई बाँकी रहेको खुद नाफा र सो कम्पनी सहायक कम्पनी भएदेखि कम्पनीको हिसाबकिताबमा उल्लेख नगरिएको तर मुख्य कम्पनीको शेयरधनीहरूलाई सरोकार हुने नाफानोक्सान समेत उल्लेख हुनुपर्ने व्यवस्था छ । कुनै कारणवश यस्तो विवरण र लेखापरीक्षकको प्रतिवेदन (सहायक कम्पनीको) जानकारी प्राप्त गर्न नसकेमा वासलातमा सो कुराको लिखित प्रतिवेदन समावेश गरेको हुनुपर्ने व्यवस्था छ । यसका अतिरिक्त, आर्थिक वर्षको अन्त्यमा सहायक कम्पनीमा रहेको मुख्य कम्पनीको लगानीको विवरणमा सहायक कम्पनीको अचल जायजेथा धितो राखी लिएको ऋण वा तत्काल कायम रहेको दायित्व पूरा गर्नबाहेक अरू कुनै कामको लागि लिएको ऋणसमेत देखाउनुपर्ने व्यवस्था छ । दफा १४४ मा सहायक कम्पनीले मुख्य कम्पनीको शेयर वा डिबेञ्चर किन्दा वा अन्य किसिमले लगानी गर्न नहुने व्यवस्था छ । 
ऐनको दफा ६२ मा कम्पनीले आफ्नो वा आफ्नो मुख्य कम्पनी वा सहायक कम्पनीको शेयर किन्दा वा कुनै बेहोराले सो शेयरमा हक प्राप्त गर्न कसैलाई ऋण वा कुनै किसिमको आर्थिक सहयोग उपलब्ध गराउनु हुँदैन । 
ऐनको दफा ९२(१) मा सञ्चालकले आफू सञ्चालकको पदमा बहाल गरेको १५ दिनभित्र कम्पनी वा त्यस्तो कम्पनीको मुख्य वा सहायक कम्पनीको शेयर वा डिबेञ्चरको कारोबार गरेको भएमा त्यस्तो कारोबारको विषयमा र कुनै सञ्चालकको सम्बद्ध कम्पनी वा सो कम्पनीको सहायक कम्पनीसँग भएको वा हुने कुनै किसिमको ठेक्कापट्टा, कारोबार वा सम्झौतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ गाँसिएको भए वा स्वार्थ गाँसिने कुरा जानकारीमा आए निजले त्यस्तो स्वार्थको हद र सोको किसिमसमेत खुलाई सो सम्बन्धमा यथाशीघ्र कम्पनीलाई जानकारी दिनुपर्ने हुन्छ ।
सहायक र प्रवर्द्धित कम्पनी 
सामान्यतया सहायक कम्पनी भन्नेबित्तिकै कम्पनीले खडा गरेको अर्को कम्पनी भन्ने बुझिन्छ । नेपालमा यस्तै प्रकृतिका सहायक कम्पनी प्रचलनमा रहेको हुँदा यस्तो धारणा बनेको हो । सहायक कम्पनीमा हुने नियन्त्रणको स्वरूप हेर्दा मूलतः ३ प्रकारको देखिन्छ । पहिलो प्रकारमा, ऐनको दफा १४२(१)(क) र (ख) अनुसार एउटा कम्पनीले अर्को कम्पनीको कम्तीमा ५१ प्रतिशत शेयर धारण गरेर वा त्यति नै प्रतिशत शेयर धारण गरेर सहायक कम्पनी खडा गरिन्छ । दोस्रो प्रकारमा, दफा १४२(२) मा भएको व्यवस्था कुनै एक कम्पनी अन्य कुनै सहायक कम्पनीको सहायक कम्पनी भएमा पहिलो कम्पनी पछिल्लो कम्पनीलाई नियन्त्रण गर्ने मुख्य कम्पनीको पनि सहायक कम्पनी हुनेव्यवस्थाअन्तर्गत सहायक कम्पनीको पनि सहायक कम्पनी भएमा तेस्रो कम्पनी मुख्य कम्पनीको सहायक कम्पनी हुन्छ । एवम् क्रमले सहायकको पनि सहायकर यसको पनि सहायक कम्पनीको शृंखला नै खडा हुन्छ । सहायक कम्पनीको शृंखला जति लामो भए पनि त्यसपछिका सहायक कम्पनी पहिलो सहायक कम्पनी खडा गर्ने मुख्य कम्पनीको सहायक कम्पनी हुन्छ । तेस्रो प्रकारमा, मुख्य कम्पनीले अर्को कम्पनीको वा नयाँ कम्पनीको सीधै ५१ प्रतिशत शेयर धारण नगरेर आफू र आफ्नो सहायक कम्पनीमार्फत शेयर धारण गरेर सहायक कम्पनी खडा गर्न सक्छ । यसो किसिमको शेयर धारण दोस्रो प्रकारको शृंखलागत कम्पनीको समूहले धारण गरेर पनि सहायक कम्पनी खडा गर्न सक्छन् । यो व्यवस्था अचम्म लाग्दो जस्तो देखिए पनि अचम्म मान्नुपर्ने कारण छैन किनभने सहायक कम्पनीले अर्को कम्पनी खडा गर्ने वा शेयर किन्ने निर्णय मुख्य कम्पनीले नै गर्ने हुँदा यसलाई पनि सहायक कम्पनी मानिन्छ । 
प्रवर्द्धित कम्पनी भन्नाले कम्पनीले निश्चित प्रतिशत शेयर धारण गरेको कम्पनी भन्ने बुझिन्छ । यसमा यति नै हुनुपर्छ भन्ने नियम छैन तर ५१ प्रतिशतभन्दा कम हुनुपर्छ । कम्पनी एक व्यक्तिले पनि खडा गर्नसक्ने हुँदा एकजनादेखि लिएर जति पनि व्यक्ति वा कम्पनी कम्पनीका शेयरधनी हुन सक्छन् । विशिष्टीकृत व्यवसाय गर्ने कम्पनी (बैंक र बीमा) मा भने एक व्यक्ति, समूह वा कम्पनीको समूहले निश्चित प्रतिशतभन्दा बढी शेयर राख्न नपाइने गरी नियम बनाउन बाधा छैन । कुनै कुनै प्रवद्र्धित कम्पनी सहायक कम्पनी जस्तै प्रकृतिका पनि हुन्छन् । यसो हुनुको कारण प्रवद्र्धन गर्नेको शेयर धेरै हुनु पनि हो । 
अन्त्यमा, सहायक कम्पनी अस्तित्वका हिसाबले मुख्य कम्पनी जस्तै अलग हुन्छ तर निर्णय प्रक्रियामा मुख्य कम्पनी हाबी हुने हुँदा सहायक कम्पनी अलग हुन सक्दैन ।

७ माघ २०७६, अभियान 


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...