Wednesday, September 11, 2019

एचआईडीसी : पूँजी दुरुपयोग कम्पनी


हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसी) ले शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको छ । गतवर्ष यही बेला घोषणा गरेको हकप्रद अहिले (एकवर्ष) सम्म जारी नहुनुले कम्पनीलाई पूँजीको आवश्यकता छैन र हकप्रद कसरी दुरुपयोग भईरहेको रहेछ भन्ने अर्को ज्वलन्त उदाहरण खोज्नपर्दैन । हकप्रद मात्र हैन, प्राथमिक शेयरबाट सङ्कलित पूँजी कसरी उपयोग भईरहेको छ भनेर शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र बोर्डले अहिलेसम्म खोजी गरेको छैन । यसैको परिणामस्वरूप कम्पनीले मनपरी पूँजी उठाएका छन् । कम्पनीले मनपरी हकप्रद लिनुको एउटा कारण बिक्री नहुने (अनेक तिकडम लगाएर बिक्री हुन् नदिने समेत) शेयर लिलाम गरी गैर-व्यवसायिक लाभ लिन पाउनु पनि हो । एचआईडीसीले अहिलेकै पूँजी पनि पूर्ण उपयोग गरेको छैन । पूर्ण उपयोग नहुँदा-नहुँदै पनि हकप्रद जारी गर्न अनुमति मागेको सन्दर्भमा कम्पनीको पछिल्लो स्थितिसहित संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । 

कम्पनी र उद्देश्य

सबै कम्पनीको नामले उद्देश्य प्रष्ट पार्दैन । बैंक, बीमा जलविद्युतको नामबाटै उद्देश्य प्रष्ट हुने हुँदा प्रवन्धपत्र र नियमावली हेरिरहनु पर्दैन । तर, एचआईडीसी नामैले जलविद्युत क्षेत्रमा 'लगानी र आफैँले जलविद्युतको 'विकास' गर्ने कम्पनी हो भन्ने प्रष्ट हुन्छ । तर, स्थापनाको ८ वर्ष पूरा गरिसक्दा पनि यसले विकासको नाममा सिन्को भाँचेको छैन भन्दा अत्युक्ति हुन्न । संस्थालाई काम गरेर देखाउन उमेर (वर्ष) हद लाग्दैन तर, एचआईडीसीले ८ वर्षको समयावधि ख्यालख्यालमै बिताएको छ । शुरुमै १० अरवको चुक्ता पूँजी लिएर देखा परेको कम्पनीले उद्देश्य अनुसार लगानी र विकास गरी जलविद्युत विकासमा लाग्नुपर्नेमा बैंकलाई निक्षेप दिने त्यसबाट प्राप्त ब्याजले कम्पनी संचालन र कर्मचारी पालिने बाहेक कुनै कार्य गरेको छैन । केही काम नगरी 'सेतो हात्ती' बनेरै ८ वर्षको दिनचर्या बितेको छ । भएको पूँजीको उपयोग नगरी बैंकलाई निक्षेप दिने सिलसिलामा फेरी शतप्रतिशत हकप्रदबाट प्राप्त रकम पनि बैंकलाई निक्षेप दिने बाहेक अर्को काम हुने सम्भावना देखिन्न । एचआईडीसीको पूँजी अरु केही काममा नआए पनि बैंकलाई निक्षेप चाहिँ बनेको छ ।

कहाँ कति लगानी

एचआईडीसीको नाम अनुसार आफैँ शेयरधनी र व्यवस्थापक भएर पूँजी लगानी गर्ने भन्ने सामान्य अर्थमा बुझ्नुपर्ने हुन्छ । वित्तीय संस्थाको मान्यता पाएको हुँदा लगानीभन्दा कर्जा लगानीमा जोड दिन खोजिएको पो हो कि ? यसरी कर्जा लगानी गरिएको जलविद्युत आयोजनाको संख्या ८ वटा र जडित क्षमता २७१ मेगावाट छ । (तालिका : १)
तालिका : १ कर्जा लगानीको स्थिति

क्र.सं.
आयोजना
जडित क्षमता
प्रतिवद्धता (रु. करोड)
प्रवाहित रकम (रु. करोड)
बागमती जलविद्युत आयोजना, मकवानपुर र ललितपुर
२०
२०
१८.७
काबेली 'बि' - १ जलविद्युत आयोजना, ताप्लेजुङ
२५
२०
२०
तल्लो हेवा जलविद्युत आयोजना, पाँचथर
२१.६
१५
१५
सोलु जलविद्युत आयोजना, सोलुखुम्बु
२३.५
२०
१५.२
तल्लो सोलु जलविद्युत आयोजना, सोलुखुम्बु
८२
६०
२६.४
मिस्त्री खोला जलविद्युत आयोजना, म्याग्दी
४२
९८.६
३५.५
दोर्दी जलविद्युत आयोजना, लमजुङ
२७
५०
२०.८
न्यादी जलविद्युत आयोजना, लमजुङ
३०
४५
१३.७

जम्मा
२७१.१
३२८.६
१६५.३
स्रोत : वार्षिक प्रतिवेदन २०७४/७५
प्रतिवद्धता जनाएका तर, रकम प्रवाह नभएको जलविद्युत आयोजनाको संख्या ६, जडित क्षमता २७० मेगावाट र प्रतिवद्धता रकम ३ अर्ब २५ करोड रुपैयाँ रहेको छ । (वार्षिक प्रतिवेदन २०७४/७५) कर्जा लगानी बाहेक शेयर लगानी गर्न प्रतिवद्धता जनाएका कम्पनीको संख्या ४ वटा रहेको छ । यी कम्पनीहरुमा एचआईडीसीले कुल ९२ करोड रुपैयाँ रकम शेयर लगानी गर्न प्रतिवद्धता जनाएर करिब ३५ करोड रुपैयाँ चुक्ता गरेको छ । (तालिका : २)

तालिका : २ शेयर लगानी प्रतिवद्धता जनाएका र रकम चुक्ता गरिएका कम्पनी

क्र.सं.
आयोजना
लिन कबुल गरेको शेयर (प्रतिशत)
पूँजी अनुसार हुन् आउने रकम (रु. करोड)
चुक्ता रकम (करोड)
पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड
१४
६.३
६.३
विद्युत उत्पादन कम्पनी लिमिटेड
८०
२६.९
नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड
१५
०.२
एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड
१५
१.५
जम्मा


९२.३
३४.९
स्रोत: वार्षिक प्रतिवेदन २०७४/७५

यसबाहेक रेमिट हाइड्रो लिमिटेडको नाममा अनुमतिपत्र रहेका घुन्सा खोला जलविद्युत आयोजना (७१.५ मेगावाट) र सिम्बुवा खोला जलविद्युत आयोजना (५३.७ मेगावाट) एचआईडीसीको सहायक कम्पनीको रुपमा रहेको देख्न सकिन्छ । दुबै कम्पनीमा बराबर ५१ प्रतिशत शेयर लगानी गरिने प्रतिवद्धता जनाएको छ । यसको लागि ३ अर्ब ४५ करोड रुपैयाँ प्रतिवद्धता जनाएको छ । त्यस्तै, विद्युत उत्पदन कम्पनी लिमिटेडको नाममा अनुमतिपत्र रहेको फुकोट कर्णाली जलविद्युत आयोजना (४२६ मेगावाट) मा १ अर्ब २६ करोड रुपैयाँ बराबरको १० प्रतिशत शेयर लगानी रहने प्रतिवद्धता जनाएको उल्लेख छ । (वार्षिक प्रतिवेदन २०७४/७५)  

प्रतिवद्धता र वर्तमान अवस्था

कम्पनीले प्रकाशन गरेको पछिल्लो वित्तीय विवरण (असार मसान्त २०७६) सम्ममा वित्तीय उपकरणमा लगानी शिर्षकमा ४ अर्ब रुपैयाँभन्दा केही बढी देखाएको छ । देखाइएको रकम मध्ये १ अर्ब रुपैयाँ लगानी चरणमा रहेको हुँदा लगानी भइसकेको मान्न सकिन्न । प्रकाशित विवरण अनुसार कम्पनीको खुद लगानी रकम ३ अर्बभन्दा केही बढी मान्नुपर्छ । कम्पनीको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ र संस्थापक शेयरधनी (कर्मचारी संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको १०/१० प्रतिशत बाहेक) ले चुक्ता गरेको कल इन एडभान्स रकम ५ अर्ब रुपैयाँ समेत गरी १६ अर्ब रुपैयाँ चुक्ता पूँजी सरह रहेको छ । यसमध्ये ३ अर्ब रुपैयाँ मात्र लगानी भएको मान्दा १३ अर्ब रुपैयाँभन्दा बढी रकम बैंक निक्षेप छ । (तालिका : ३) धितोपत्र बोर्डले हकप्रदको अनुमति नदिने कुनै प्रश्न नरहेको हुँदा ढिलोचाँडो कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । लगानी अंशमा अहिले नै तात्त्विक अन्तर आउने कुनै सम्भावना नदेखिँदा हकप्रदपछि झन्डै १९ अर्ब रुपैयाँ बैंक निक्षेपमा जाने सुनिश्चित छ ।
तालिका : ३ लगानी स्थिति

क्र.सं.
लगानी शीर्षक
रकम
सहायक कम्पनी
२५,५०,००,०००
शेयर लगानी
३४,९०,५०,०००
ऋणपत्रमा लगानी
८,००,००,०००
जलविद्युत आयोजनामा ऋण लगानी
२,३३,७६,८५,०१९
ऋण लगानी चरणमा
१,०९,८२,५६,७६७
जम्मा

४,११,९९,९१,७८६
स्रोत : चौथो त्रैमासिक २०७६

जलविद्युतमा लगानी र विकास गर्न स्थापना गरिएको कम्पनीले यसरी बैंकमा निक्षेप राखेर ब्याजले २/४ जना कर्मचारी पाल्नु स्रोतको चरम दुरुपयोग हो । देश विदेशी ऋणको भार खेपिरहेको र उर्जा अभावमा रुमल्लिएको बेला उर्जा विकास गर्न स्थापित कम्पनीले स्रोतको चरम दुरुपयोग गर्दै बैंक निक्षेप राखी राज्य र नागरिकको स्रोत (रकम) ब्याजमा लगाएर 'सुदखोर' बन्ने हो भने यस्ता संस्था स्थापनाको औचित्य के हो भनेर जवाफ दिने काम सरकारको हुन्छ ।
  
विदेशको एउटा प्रसंग

एक वर्ष अघि बंगलादेशको शेयरबजार नियमक बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले डेल्टा स्पिनर्स लिमिटेडका संचालकलाई हकप्रदबाट प्राप्त रकम विवरणपत्रमा उल्लेखित क्षेत्रमा लगानी नगरेको भन्दै जनही १ लाख टाका जरीवाना गरेको थियो । एचआईडिसीलाई प्राथमिक शेयर जारी गर्दा विवरणपत्रमा उल्लेख गरेको क्षेत्रमा लगानी नगरी ब्याज खाएको अभियोगमा सजाय किन नगर्ने र चुक्ता भएको रकम (पूँजी) पूर्ण उपयोग नगरेसम्म हकप्रद अस्वीकार गर्नुको विकल्प देखिन्न ।

आर्थिक अभियान, ३ भदौ २०७६ 

नेपाल राष्ट्र बैंकको अपूर्ण परिपत्र


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको उमेर हद सम्बन्धमा जारी गरेको परिपत्र विवादास्पद बनेको छ । परिपत्र जारी हुनु ४ दिनअघि मात्र पुनः ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति पाएका एक प्रमुख कार्यकारी अधिकृत (संक्षेपमा कार्यकारी) र ९ दशक उमेर नाघेका एक अध्यक्ष (सञ्चालक) मुख्य रूपमा शिकार भएका छन् । सतही रूपमा हेर्दा यो परिपत्रको आन्तर्य पनि यही नै थियो कि भन्ने जस्तो देखिन्छ । पद ओगटेर बसेकालाई ठिक्क पर्‍यो वा पार्‍यो भन्ने टिप्पणीको ताली देखिए पनि यस्ता परिपत्र काल पल्क्योभन्नेचाहिँ मुख्य विषय नबनेमा कालबारम्बार पल्कने र यसले संस्थागत विकासमा अवरोध आउन सक्छ । यो आलेखमा चर्चा भएका सञ्चालक र कार्यकारी मूलतः सबै कम्पनीको हकमा लागू हुने भए पनि विषय र प्रसंग नेपाल राष्ट्र बैंकको पछिल्लो परिपत्रको सन्दर्भ भएकाले बैंक तथा वित्तीय संस्थामा केन्द्रित छ । 
सञ्चालक र कार्यकारी 
साधारणसभा कम्पनीको सर्वोच्च निकाय भए पनि साधारणसभाले सबै निर्णय गर्दैन र सम्भव पनि हुँदैन । साधारणसभा वर्षमा एकपटक मात्र बसेर सञ्चालक समितिलाई आवश्यक कार्य गर्न अख्तियारी दिन्छ । साधारणसभा बाहेक विशेष सभा पनि बस्न सक्छ । साधारणसभा वर्षमा एकपटक अनिवार्य बस्नुपर्छ भने विशेष सभा कम्पनी ऐन र व्यवसाय नियमन गर्ने ऐनले तोकेको कार्य गर्न आवश्यक भएका बेला जहिले पनि बस्न सक्छ । साधारणसभाले शेयरधनीमध्येबाट सम्बद्ध ऐन र नियमले तोकेको संख्यामा सञ्चालक (निर्देशक) निर्वाचन गर्छ । सञ्चालकको अर्को नाम निर्देशकपनि हो । तर, नेपालमा यो त्यति प्रचलनमा छैन । नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति गौण भूमिकामा रहन्छ । अहिलेका सञ्चालक समितिको भूमिका दर्ताचलानीशाखामा बसेर चिठीपत्रमा छाप लगाउने मुखियाभन्दा माथि देखिँदैन । किनकि सञ्चालकले व्यवस्थापकीय हैसियतमा रहेर कार्य नगर्ने र व्यवस्थापनमा रहेर कार्य गर्ने अधिकारीले कम्पनी सचिवमार्फत ल्याएको प्रस्तावलाई सञ्चालक समितिको बैठकमा औपचारिकता दिने मात्र भएको हुँदा यस्तो भन्नु अनर्गल हुँदैन । नेपालको सन्दर्भमा सञ्चालकको उमेर धेरै वा थोरै हुनुले कम्पनी सञ्चालनको विविध पाटोमा तात्त्विक असर देखिँदैन । नेपाल राष्ट्र बैंकले सञ्चालकको हकमा गरेको उमेर सम्बन्धी परिपत्र औचित्यहीन देखिन्छ । सञ्चालक बाटोबाट टिपेर ल्याएको व्यक्ति नहुने र जायजेथा लगानी गरेको व्यक्ति हुने हुँदा यिनलाई यति वर्षभन्दा बढी उमेर पुगेपछि थाक्यौ आराम गरभन्नुपर्ने कुनै कारण देखिँदैन । बरु नियमन गर्ने जिम्मेवारी पाएको केन्द्रीय बैंकले वित्तीय अनुशासनको पाटो कस्तो रह्यो भन्ने विषयमा नियमन गर्नु श्रेयस्कर कार्य हो । सञ्चालकमा रहेर अवाञ्छित लाभ लिएमा वा दिएमा त्यस्ता सञ्चालकलाई यथोचित कारबाही गर्ने कार्यमा उमेरको हदबन्दीले रोक्न सक्दैन । 
सञ्चालक समितिले कम्पनी सञ्चालन र व्यवस्थापनका लागि सञ्चालक बाहेकको व्यक्तिलाई कार्यकारी नियुक्त गर्ने अभ्यास बैंकिङ क्षेत्रमा रहेको छ । केही वर्ष अघिसम्म नेपालका बैंक तथा वित्तीय संस्थामा सञ्चालक नै कार्यकारी अध्यक्षवा प्रबन्ध सञ्चालकको रूपमा रहेर कार्य गर्ने गरेका थिए । तर, पछि नेपाल राष्ट्र बैंकले सञ्चालक नै कार्यकारीको भूमिकामा रहँदा वित्तीय अनुशासन कायम हुन नसकेको निष्कर्ष निकाल्दै यस्तो व्यवस्था हटाएको थियो । नियुक्त हुने कार्यकारीलाई पनि लगातार दुई कार्यकाल (८ वर्ष) मात्र तोकिएको छ । ऐनले कार्यकाल तोके पनि उमेर हदको सम्बन्धमा केही व्यवस्था गरेन । अहिले केन्द्रीय बैंकले कार्यकारीको समेत उमेर हद तोक्ने परिपत्र ग¥यो । यसलाई असान्दर्भिक भन्न मिल्दैन । अन्य क्षेत्रमा कार्य गर्ने अधिकारी र पदाधिकारी र कर्मचारीको उमेर हद तोकिने हुँदा बैंकका कार्यकारीको पनि उमेर हद तोकिनुलाई राम्रो अभ्यास मान्नुपर्ने हुन्छ । विभिन्न कानूनमा विभिन्न क्षेत्रका अधिकारी र पदाधिकारी र कर्मचारीको उमेर हद तोकिएको छ । सम्भवतः उमेर हद नतोकिएको एउटा मात्र क्षेत्र शायद यही बैंकिङ नै हुनुपर्छ । 
कार्यकारी भनेको कर्मचारी नै भए पनि छुट्टै प्रकारको कर्मचारी हो । कार्यकारीको पनि उमेर हद तोकिनुपर्छ । यसमा विवाद गर्नुपर्ने अवस्था छैन । ढिलै भए पनि तोकियो राम्रो शुरुआत भएको मान्नुपर्छ । यसले कम्पनीलाई आन्तरिक रूपमा कर्मचारीको पेशागत दक्षता बढाउन लाग्न बाध्य पनि बनाउनेछ । यसबाट मानव संसाधनलाई पनि पूँजी मान्ने प्रचलन शुरू हुने अपेक्षा गर्न सकिन्छ । केन्द्रीय बैंकको कदम राम्रो हुँदाहुँदै पनि यसले गलत नजीरको शुरुआत गराउने भएको हुँदा यसमा मात्र प्रश्न उठेको हो । नत्र अरू कुनै उद्देश्य अन्तर्निहित छैन । 
परिपत्रको व्यवस्था 
माथिका विभिन्न अनुच्छेदमा विविध पक्षको चर्चा भएपछि नेपाल राष्ट्र बैंकको परिपत्र पनि उल्लेख गर्नु सान्दर्भिक हुन्छ । एकीकृत निर्देशन २०७५ मा नयाँ थप व्यवस्था नाम दिएर ७० वर्ष नाघेको व्यक्ति इजाजतप्राप्त संस्थाको सञ्चालक पदमा नियुक्त र पुनर्नियुक्त तथा मनोनीत हुन योग्य हुने छैन । साथै ७४ वर्ष नाघेको व्यक्ति सञ्चालक पदमा बहाल रहन सक्ने छैनभन्ने व्यवस्था गरेको छ । त्यस्तै, ‘६५ वर्ष नाघेको व्यक्ति इजाजतप्राप्त संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त र पुनर्नियुक्त तथा मनोनीत हुन योग्य हुने छैन । साथै ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी पदमा पदमा बहाल रहन सक्ने छैनभन्ने व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था थप गरिएको हो । परिपत्रमा प्रतिबन्धात्मक व्यवस्था अन्तर्गत बैंक वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति प्रक्रियमा संलग्न भई २०७७ असर मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस्ता संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको हकमा लागु हुने छैनभनेको छ । 
संक्रमणको अभाव 
नेपाल राष्ट्र बैंकले नीति बनाएर व्यवस्थित र नियमित गर्दै जाने कार्यलाई नराम्रो भनिहाल्न हुन्न । तर, नयाँ व्यवस्थामा जानुअघि नयाँ व्यवस्था र पुरानो व्यवस्थाबीचको अवधिको लागि संक्रमणकालीन व्यवस्थाको लागि उचित प्रबन्ध गर्नुपर्छ । काम गरिरहेको कार्यकारीलाई दिनभर काम गरेर बेलुका घर गएर भोलिपल्ट बिहान कार्यालय आउँदा नआउँदै पत्रिकामा फलानो कार्यकारी वा सञ्चालकको पद गयो भन्ने समाचार पढ्नु पर्दा कति नमज्जा हुन्छ होला ? यस विषयमा नीति निर्माताको ध्यान आकृष्ट हुनुपर्ने हो कि हैन ? अनि संस्थालाई पनि आफूलाई सञ्चालन गरिरहेको कार्यकारी वा सञ्चालक एकाएक बाहिरिँदा के असर पर्ला यो पनि मननयोग्य विषय बन्नुपर्दैन ? नीतिनियम बनेपछि संस्थालाई अर्को व्यवस्था गर्न समय दिनु पर्दैन
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ जारी हुँदा समेत नेपाल राष्ट्र बैंक चुकेको छ । त्यतिबेला सञ्चालकको संख्या र योग्यता तोक्दा पनि संक्रमणकालीन व्यवस्था गरिएन । चैत र वैशाख महीनामा ऐन लागू भयो । कम्पनीले पुस महीनामा पुरानै व्यवस्था अनुसार सञ्चालक नियुक्ति र मनोनयन गरिसकेका थिए । अचानक ऐनले निर्वाचित र मनोनीत भएर कार्य गर्न शुरू गरिसकेका सञ्चालकलाई अयोग्य सञ्चालक तुरुन्त हटाऊभन्ने फरमान जारी गरेर त्रास फैलाएको थियो । जारी परिपत्रको प्रतिबन्धात्मक वाक्यांशमा राखिएको व्यवस्था संक्रमणकालीन व्यवस्थाको लागि हैन । यो व्यवस्था कुनै अमुक व्यक्ति लक्षित देखिन्छ । त्यसको सट्टामा गाभ्ने र गाभिने वा प्राप्ति सबैलाई हुने व्यवस्थाका रूपमा नियुक्ति र मनोनयन वा निर्वाचन भइसकेकाको हकमा कार्यकाल पूरा गर्न पाउने व्यवस्था राखिनुपर्थ्यो । परिपत्र भविष्यलक्षी हुनुपर्थ्यो  । हुनुपर्ने पनि यही हो । तर, भूतलक्षी बनेको छ । कानुन सामान्यतया भूतलक्षी हुन्न भन्ने कानूनको सामान्य सिद्धान्त पनि नेपाल राष्ट्र बैंकले बुझ्न नसकेको प्रथम दृष्टिमै देखिन्छ । नेपाल राष्ट्र बैंकले अपूर्ण र गलत नजीर स्थापना गर्ने परिपत्र सच्याएर भविष्यलक्षी परिपत्र जारी गरोस् । 

आर्थिक अभियान, २७ साउन २०७६ 


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...