नेपालको चिनारी जलस्रोतमा धनी देशको रुपमा पनि हुने गरेको छ । ६ हजारभन्दा बढी
साना-ठूला नदीनालाबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सकिन्छ भन्ने
तथ्यांक छ । नेपालको पूर्व (कोशी), मध्य (गण्डकी) र पश्चिम (कर्णाली) क्षेत्रमा सात/सात
वटा नदीको बेजोड संगम छ । बागमति, तिनाउ, राप्ती (दांग), बबई र महाकाली पनि मुख्य
नदी प्रणालीमा पर्छन । यसबाहेक अन्य साना ठूला खोला/नदी प्रणाली पनि रहेका छन् । सम्भवत
नेपालको जस्तो सात/सातवटा संगम भएका नदी प्रणालीयुक्त क्षेत्र अन्यत्र नहुन पनि
सक्छ । तीनवटा नदी प्रणालीका २१ वटा ठूला नदी नेपालका 'शान' मात्र हैनन् 'धन' पनि
हुन । 'सेतो सुन' भनेर चिनिने यी र यस्ता कयौं नदी अहोरात्र निरन्तर बगिरहेका छन्
तर, यिनको समुचित उपयोग गर्न सकिएको छैन । ठूला नदी उपयोगविहीन भएर बगेको दुखद
पाटो त छँदैछ तर, स-साना नदी/खोला उपयोग गरेर उत्पादन गरिएको विद्युत समेत खेर
गएको दुर्दान्त पक्ष समेत छ । बिजुली खेर गएको पक्षलाई उजगार गर्दै अझ पनि खेर
जानसक्ने अन्य विद्युतको समेत संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
माग, आपूर्ति र प्रसारण
बिक्रम सम्बत १९६८ सालमा श्री ३ महाराज चन्द्र शम्सेरको पालामा फर्पिंगमा
उत्पादन गरिएको ५ सय किलोवाट क्षमताको आयोजना बिजुली यात्राको प्रस्थानविन्दु हो ।
सम्भवत यो दक्षिण एसियाको दोस्रो विद्युत उत्पादन केन्द्र हुनसक्छ । भारतमा सन्
१९०२ (बि.सं. १९५९) मा ब्रिटीश कम्पनीले कर्नाटकमा बहने काबेरी नदीबाट शिवसमुन्द्र
नामक स्थानमा ४ दशमलव ५ मेगावाट क्षमताको आयोजना बनाएको तथ्य भेटिन्छ । बि.सं.
१९६८ सालदेखि आजसम्म एकसय वर्षभन्दा बढी समयमा सरकारले करिब १ हजार मेगावाट बिजुली
उत्पादन गरेको छ । खुला र उदार अर्थव्यवस्था अपनाएपछि निजि क्षेत्रले उत्पादन
गरेको करिब ८ सय मेगावाट समेत जोड्दा बिजुली प्रणालीमा १८ सय मेगावाट आवद्ध भएको
तथ्यांक छ । अहिले करिब ३ हजार मेगावाट बिजुलीको माग भईरहेकोमा १ हजार मेगावाट
विद्युत कम भइरहेको छ । नपुग भएको १ हजार मेगावाट बिजुली भारतबाट आयात गरिएको विवरण
नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा देख्न सकिन्छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ सय मेगावाटभन्दा बढी बिजुलीको माग हुने
गरेको छ तर, प्रणालीमा आवद्ध हुने विद्युत शक्तिको दर ५० मेगावाट पनि नभए झैँ
देखिन्छ । कतिपय निर्माण सम्पन्न आयोजनाले प्रसारण लाइन नपाउँदा उत्पादित बिजुली
खेर गएको छ । निर्माणाधीन रसुवागढी, सान्जेन, मध्यभोटेकोशी, सबैभन्दा ठुलो एवम
महत्वाकांक्षी तामाकोशी आयोजना समेत प्रसारण लाइनको पिडामा पर्ने सम्भावना देखिएको
छ । यी उल्लेखित सबै आयोजना निर्माणाधीन अवस्थामा रहेका र आगामी वर्षभित्रै व्यवसायिक
उत्पादन गर्ने तयारीमा छन् ।
विपरित उपभोग तालिका
बिजुलीको माग दैनिक बढ्दो छ । तर, प्रणालीमा बिजुली छैन । आयातित बिजुली महँगो
छ । जहाँ (भारत) बाट बिजुली आयात गरिएको छ, उर्जा संकट त्यहाँ पनि छ । तल्लो तटीय
क्षेत्रमा पर्ने देश भारतलाई माथिल्लो तटीय क्षेत्रको देशले बिजुली बेच्नेपर्नेमा यहाँ
ठिक उल्टो भईरहेको छ । तल्लो र माथिल्लो तटमा हुनुको कारण मात्र नेपालले भारतलाई बिजुली बेच्नुपर्ने हैन । नेपाल
र भारतको उर्जा उपभोग तालिका ठ्याक्कै उल्टो हुनु पनि हो । यसलाई ईश्वर (प्रकृति)
ले दिएको अनुपम देन मान्नुपर्छ । तर, शासकीय सोच र चिन्तन अनि नीति गतिलो नहुँदा
पाएको साधन मिल्किएको छ । त्यसैले 'भिल्लको देशमा मोति मिल्कन्छ' भनिएको होला ।
नेपालको शासकीय सोच नीतिहीनता हेर्दा यो भनाई नेपालकै लागि बनेको जस्तो लाग्छ । भुटानले
भारतलाई सबै नदीनाला सुम्पेर आफू पनि सम्पन्न बन्यो र भारतको आवश्यकता पनि पूरा
गरिदिएको छ । तर, नेपालमा नीतिगत स्पष्टता नहुँदा वर्षौदेखि नेपालको पानी बगिरहेको
छ । पानी बगिरहने यी दृश्य अझ कति समयसम्म चल्ने हो अनुमान गर्न गाह्रो छ ।
नेपाललाई अधिक बिजुली चाहिने समय (हिउँद) मा कम उत्पादन हुन्छ र यही बेला भारतलाई कम
बिजुली भए पुग्छ । त्यतिबेला भारतबाट नेपालमा बिजुली ल्याएर आवश्यकता पूरा गर्न
सकिन्छ । भारतलाई बढी बिजुली चाहिने समय (वर्षा) मा नेपालमा अधिक उत्पादन हुन्छ तर,
खपत कम हुने यतिबेला बढी भएको बिजुली भारतलाई दिनसकिन्छ । एकप्रकारले हेर्दा यस्तो
स्थिति पैसा नचाहिएको बेला बैंकमा राखेर चाहिएको बेला झिके जस्तै नेपाल र भारतको
उर्जा उपभोग तालिका छ । तर, यसबाट फाईदा लिन दुवै देश चुकेका छन् ।
खेर गएको बिजुली
नेपाल र भारतको उर्जा उपभोग तालिका ठिक विपरित भए पनि नेपालले नै पर्याप्त
बिजुली दिन सकेको छैन । नेपालमा बिजुली आयोजना बेलैमा सम्पन्न हुन सक्दैनन् । यसका
विविध कारण मध्ये एउटा कारण सरकार आफैँ हो । बिजुली उत्पादन गर्न जति सजिलो छ,
त्यसलाई प्रसारण गर्न जटिलता छ । जटिलताको सर्जक स्वयं सरकार हो । वन क्षेत्रको
उपयोग नगरी आयोजना सम्पन्न गर्न सकिन्न । रमाइलो के छ भने राष्ट्रिय गौरवको
तामाकोशी आयोजनालाई प्रसारण लाइन बनाउन काट्नुपर्ने ४ हजार रुख काट्ने अनुमति पाउन
२२ महिना लागेको थियो । अहिले निर्माण सम्पन्न भएर पनि प्रसारण लाइनको अभाव
झेलिरहेका केही आयोजनाको विवरण तालिकामा देखाईएको छ । तालिकामा परेको खानीखोला र
सिनर्जीले आँशिकरुपमा लाइन पाएका छन् । लाजमर्दो कतिसम्म छ भने खानीखोला उपत्यकाकै
ललितपुर जिल्लाको दक्षिणमा पर्छ । दोलखाको सिनर्जीले २०७० सालअघि नै उत्पादन गरेको
भए पनि आजसम्म लाइन नपाउँदा वर्षायाममा आँशिक चलाउनुपर्छ । दोलाखामै निर्माणको
अन्तिम चरणमा पुगेका तल्लो खारेखोला (११ मेगावाट), सिंगटी (२५ मेगावाट) र खानीखोला
(२५ र क्यासकेड १५ सहित ४० मेगावाट) ले पनि तत्काल लाइन पाउने सम्भावना देखिएको
छैन । यस्तै दुर्दान्त कथा सोलुखोलामा निर्माणाधीन आयोजनाको पनि देखिने सम्भावना छ
। तामाकोशीको बिजुली समेत गोंगर-खिम्ती हुँदै ढल्केबर पुगे पनि त्यहाँबाट पूर्व र
पश्चिम जाने बाटो (प्रसारण लाइन) छैन । पूर्व-पश्चिममा उच्च क्षमतायुक्त प्रसारण
लाइन नहुँदा तामाकोशीको बिजुली पनि डिब्बाबन्द हुने सम्भावना देखिन्छ ।
प्रसारण लाइन नपाएका केही आयोजना (औसत प्रतियुनिट ६ रुपैयाँको
आधारमा मूल्य निकालिएको)
आयोजना
|
जडित क्षमता
|
युनिट
|
मूल्य (अनुमानित)
|
कैफियत
|
अरुण काबेली हाइड्रोपावर
|
२५
|
१४,१७,४५,४७०
|
८५,०४,७२,८२०
|
काबेली करिडोर लाइन पूरा नभएको
|
राईराँग हाइड्रोपावर
|
९.९
|
५,६६,२४,९५५
|
३३,९७,४९,७३०
|
|
पाँचथर पावर
|
१४
|
८,२०,९५,७४२
|
४९,२५,७४,४५२
|
|
माउन्टेन हाइड्रो नेपाल
|
२१.६
|
११,६२,६१,०००
|
६९,७५,६६,०००
|
|
सिनर्जी पावर
|
१०
|
५,२४,४७,९३०
|
३१,४६,८७,५८०
|
३३ केभी आँशिक उपयोग
|
खानीखोला हाइड्रोपावर
|
६
|
३,२२,७०,०००
|
१९,३६,२०,०००
|
११ केभी आँशिक उपयोग
|
हिमालय उर्जा विकास कम्पनी
|
१९
|
११,५९,०३,७६७
|
६९,५४,२२,६०२
|
प्रसारण लाइनको पत्तो छैन
|
जम्मा
|
१०५.५
|
५९,७३,४८,८६४
|
३,५४,८०,९३,१८४
|
|
स्रोत : कम्पनीले प्रकाशन गरेको विवरणपत्र
नदी नवीकरणीय उर्जाका मुख्य स्रोत भएर पनि पर्याप्त उपयोग हुन् नसक्दा नेपाल 'सुनको
कचौरो बोकेर भिख' मागिरहेको छ । कहिल्यै नसकिने नवीकरणीय जलउर्जा उत्पादन गरी उर्जामा
निर्भरता र निर्यात समेत गरेर व्यापार घाटा कम गर्न मात्र हैन देशले विदेशी मुद्रा
समेत आर्जन गर्नसक्छ । प्रकृतिले नेपाललाई जलाधारयुक्त उच्च हिमालय क्षेत्र र
तल्लो तटमा भारत जस्तो ठुलो भू-भाग एवम जनसंख्या भएको देश दिए पनि नेपालले जल
उपयोग गरी आफुले पनि उपयोग गर्न सकेन र भारतलाई पनि दिन सकेन । परिस्थिति हेर्दा नेपालको
जलस्रोत 'माग्नेलाई हात्ती दान' जस्तो बनेको छ । नेपालको अपार जलभण्डारको समुचित
उपयोगमा दुवै देश (नेपाल र भारत) कहाँ चुके कोही कसैले बताउन सकेको देखिन्न ।
यसैको खोजी आजको टड्कारो आवश्यकता बनेको छ ।
आर्थिक अभियान, २०७६ असार २४ गते